राधिका अर्याल समकालीन नेपाली आप्रवासी साहित्यमा संवेदनशील चेतना, नारी अनुभूति र मानवीय करुणाको सशक्त स्वरका रूपमा उदाएकी प्रतिभाशाली कवि हुन्। काठमाडौंमा जन्मिएर स्याङ्जाको सांस्कृतिक माटोमा हुर्किएकी अर्यालले समाजशास्त्र, शिक्षाशास्त्र, नर्सिङशास्त्र र नर्सिङ व्यवस्थापनजस्ता विविध विधामा उच्च अध्ययन गरी ज्ञान र सेवाको अद्वितीय समन्वय प्रस्तुत गरेकी छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुई दशकभन्दा बढी समर्पित सेवा गरेपछि हाल क्यानाडामा नर्सिङ व्यवस्थापकका रूपमा कार्यरत रहँदै साहित्य साधनालाई निरन्तरता दिइरहेकी छन्। उनको काव्यकृति ‘अङ्कुर’ ले आप्रवास, प्रेम, स्मृति, नारी चेतना र मानवीय मूल्यलाई मार्मिक कलात्मकतासहित अभिव्यक्त गर्दै नेपाली साहित्यमा आशामूलक नयाँ काव्यस्वर थपेको छ।
आप्रवास भौगोलिक दूरी मात्र होइन यो स्मृति, पहिचान, संस्कृति र भावनाको निरन्तर यात्रा पनि हो। नेपालीहरू विश्वका विभिन्न देशमा फैलिँदै जाँदा उनीहरूसँगै नेपाली भाषा, साहित्य र सांस्कृतिक चेतना पनि सीमापार पुगेको छ। क्यानडाको भूमिमा विकसित नेपाली साहित्यिक गतिविधि त्यसैको जीवन्त उदाहरण हो। विशेषतः कविता विधाले आप्रवासी नेपाली मनको संवेदना, एक्लोपन, संघर्ष, मातृभूमिप्रतिको मोह र नयाँ परिवेशको अनुभवलाई अभिव्यक्त गर्ने सशक्त माध्यमका रूपमा आफूलाई स्थापित गरेको छ।
क्यानडामा नेपाली साहित्यिक चेतनाको विकाससँगै जन्मिएका कृतिहरूमध्ये ‘अङ्कुर’ जस्ता काव्यसङ्ग्रहहरूले आप्रवासी जीवनका मनोवैज्ञानिक तथा सांस्कृतिक आयामलाई उजागर गरेका छन्। यहाँका कविताहरूमा स्मृतिको पीडा, नारी अनुभूति, आत्मपहिचानको खोज, सम्बन्धहरूको भावनात्मक ताप र मातृभूमिसँगको अदृश्य सम्बन्ध व्यक्त भएको पाइन्छ।
क्यानडाको बहुसांस्कृतिक परिवेशमा नेपाली भाषा र साहित्यलाई जीवित राख्नु स्वयंमा सांस्कृतिक प्रतिरोध र आत्मसंरक्षणको अभियान हो। यस सन्दर्भमा नेपाली कविहरूले सिर्जना गरेका काव्यकृतिहरू नेपाली अस्तित्व, पहिचान र सांस्कृतिक निरन्तरताका उज्याला प्रतीक बनेका छन्।
नेपाली साहित्यको इतिहास भूगोलभित्र सीमित छैन यो विस्थापन, स्मृति, पीडा, प्रेम र सांस्कृतिक चेतनासँगै विश्वभर फैलिएको चेतनाको प्रवाह पनि हो। नेपाली भाषा जहाँ पुग्छ, त्यहाँ नेपाली आत्माको स्पन्दन पुग्छ। यही स्पन्दनको एक संवेदनशील अभिव्यक्ति हो भट्टराईको काव्यकृति ‘अङ्कुर’। क्यानाडाको आप्रवासी भूमिमा बसेर सिर्जना गरिएको यो संग्रह विस्थापनको मानसचित्र, नारी चेतनाको अन्तःसंवाद, प्रेम र स्मृतिको मनोवैज्ञानिक यात्रा तथा आत्मपहिचानको भावात्मक दस्तावेज पनि हो।
क्यानाडामा नेपाली साहित्यिक गतिविधिको विकासक्रमसँगै जन्मिएको यो कृति आप्रवासी नेपाली साहित्यको महत्त्वपूर्ण उपलब्धिका रूपमा देखा परेको छ। ‘अङ्कुर’ शीर्षक आफैंमा प्रतीकात्मक छ अँध्यारो माटोभित्र दबिएको सम्भावनाले उज्यालोतर्फ टाउको उठाउनु। यो शीर्षकले कवयित्रीको सर्जनात्मक यात्रालाई मात्र होइन, सम्पूर्ण आप्रवासी नेपाली चेतनालाई पनि प्रतिनिधित्व गर्दछ।
कविता मूलतः अनुभूतिको कलात्मक विस्फोट हो। जब शब्दहरू हृदयको गहिराइबाट निस्कन्छन्, तिनले भाषा मात्र बोल्दैनन्; तिनले जीवनको मौनता बोल्छन्। राधिकाका कवितामा यही मौनताको गहिरो स्वर सुन्न सकिन्छ। उनका कविताले आप्रवासको चिसो भूगोलमा पनि स्मृतिको आगो निभ्न नदिएको देखिन्छ। उनी कहिले जन्मभूमिको धूलो सम्झन्छिन्, कहिले आमाको आँचल, कहिले गाउँको बाटो, त कहिले सम्बन्धका बिछोडले बनाएका अदृश्य घाउहरू।
यस संग्रहको प्रमुख शक्ति यसको भावनात्मक प्रामाणिकतामा निहित छ। यहाँ कृत्रिमता छैन। अनुभूति छ। प्रदर्शन छैन। आत्मस्वीकार छ। कवयित्रीले आफ्नो जीवनभोगाइलाई नारी संवेदना, सामाजिक यथार्थ र मानवीय सम्बन्धको गहिराइसँग जोडेर अभिव्यक्त गरेकी छन्। यही कारणले उनका कवितामा आत्मीयता पैदा हुन्छ।
राधिकाका कवितामा नारी जीवनका अनेक रूप उद्घाटित भएका छन्। उनी नारीलाई प्रेमको प्रतीकका रूपमा मात्र प्रस्तुत गर्दिनन् संघर्ष, धैर्य, उत्तरदायित्व र आत्मसम्मानको शक्तिका रूपमा पनि चित्रण गर्छिन्। “हिमाल चढ्नु, तराई जोत्नु, पहाड खन्नु छ” भन्ने अभिव्यक्तिले नारी चेतनाको विद्रोही स्वर बोकेको छ। यो स्वर लैङ्गिक समानताको माग मात्र होइन यो इतिहासले दबाएको अस्तित्वको उद्घोष पनि हो। यहाँ कवयित्रीको चेतना भारतीय कवयित्री महादेवी वर्माको करुण संवेदनासँग कताकता मेल खान्छ भने पश्चिमी कवयित्री सिल्भिया प्लाथको आत्मपीडात्मक अभिव्यक्तिसँग पनि समानान्तर देखिन्छ। तर राधिका पूर्णतः निराशावादी छैनन् उनी पीडाभित्र आशाको हरियो पात खोज्छिन्।
उनका कवितामा नस्टाल्जियाको प्रभाव अत्यन्त गहिरो छ। स्मृति यहाँ अतीतको सम्झना होइन आत्मपहिचानको पुनर्निर्माण हो। आप्रवासी जीवनले मानिसलाई भौतिक रूपमा सम्पन्न बनाए पनि भावनात्मक रूपमा एक्ल्याउँछ। यही एक्लोपन उनका कवितामा बारम्बार प्रतिध्वनित हुन्छ। यो अनुभूति पाब्लो नेरुदाका कवितामा पाइने भावुक आत्मसंवादसँग नजिक देखिन्छ। नेरुदाले जस्तै राधिकाले पनि प्रेम र बिछोडलाई व्यक्तिगत अनुभूति होइन, मानवीय नियतिको साझा पीडाका रूपमा चित्रण गरेकी छन्।
प्रेम उनका कविताको अर्को महत्वपूर्ण आधार हो। तर यो प्रेम रोमान्टिक आकर्षण होइन सम्बन्धको उत्तरदायित्व र भावनात्मक गहिराइ हो। उनी कृत्रिम प्रेमको आलोचना गर्छिन् र गाउँको स्वच्छ सम्बन्धलाई महत्त्व दिन्छिन्। “घरको पुष्टकरी कुहाउनेहरुले बजारमा रङ्गीन प्लाष्टिकले छोपिएका चकलेटहरु नछरुन् बाटोभरी” भन्ने पंक्तिले आधुनिक समाजको कृत्रिम उपभोक्तावादी संस्कृतिमाथि व्यङ्ग्य गरेको छ। यहाँ कवयित्रीको दृष्टि सामाजिक आलोचकको रूपमा देखिन्छ। यो चेतना टी. एस. इलियटको आधुनिक सभ्यताप्रतिको वितृष्णासँग तुलना गर्न सकिन्छ। इलियटले द वेस्ट ल्याण्डमा जस्तै आधुनिक जीवनको आध्यात्मिक शून्यता चित्रण गरेका थिए, राधिकाले पनि बजारवादले मानवीय सम्बन्धलाई कसरी कृत्रिम बनाइरहेको छ भन्ने प्रश्न उठाएकी छन्।
यस संग्रहको अर्को महत्वपूर्ण पक्ष यसको आध्यात्मिक संवेदना हो। राधिकाका कवितामा प्रत्यक्ष धार्मिक भाष्य कम भए पनि आत्मा, स्मृति, प्रेम, करुणा र अस्तित्वको खोज निरन्तर उपस्थित छ। उनी जीवनलाई भौतिक घटनाको शृङ्खला मान्दिनन् अनुभूतिको आध्यात्मिक यात्रा ठान्छिन्। यही कारण उनका कवितामा मौनता पनि बोल्छ, पीडा पनि प्रार्थना जस्तो सुनिन्छ। यस सन्दर्भमा उनको काव्यचेतना रवीन्द्रनाथ टैगोरको आध्यात्मिक मानवतावादसँग निकट देखिन्छ। टैगोरले जस्तै राधिकाले पनि प्रेमलाई आत्माको मुक्ति र सम्बन्धलाई मानव अस्तित्वको सारका रूपमा ग्रहण गरेकी छन्।
कविताको भाषा सरल भए पनि भाव गहिरा छन्। उनी जटिल प्रतीक र बौद्धिक संरचनाभन्दा सहज अनुभूतिमा विश्वास गर्छिन्। यही सहजताले कवितालाई आत्मीय बनाएको छ। कतिपय कवितामा लोकलयको प्रभाव पनि देखिन्छ। यसले कवितालाई सांस्कृतिक जरा प्रदान गरेको छ। आप्रवासी भूमिमा बसेर पनि मातृभाषा र संस्कृतिप्रतिको मोह उनका कवितामा गहिरोसँग व्यक्त भएको छ।
संग्रहमा प्रकृतिको प्रयोग पनि उल्लेखनीय छ। प्रकृति यहाँ केवल दृश्यचित्र होइन भावनाको समानान्तर भाषा हो। हिमाल, नदी, गाउँ, वर्षा, बाटो, फूल, जून यी सबै वस्तुहरू कवितामा प्रतीकका रूपमा आएका छन्। प्रकृतिप्रतिको यस्तो आत्मीय सम्बन्ध विलियम वर्ड्सवर्थको प्रकृतिवादी चेतनासँग तुलना गर्न सकिन्छ। विलियम वर्ड्सवर्थका लागि प्रकृति आत्माको गुरु थियो राधिकाका लागि प्रकृति स्मृति र आत्मपहिचानको आश्रय हो।
उनका कवितामा सामाजिक चेतना पनि प्रखर छ। आप्रवासको बाध्यता, मुलुकप्रतिको वितृष्णा, आर्थिक संघर्ष, सम्बन्धको दूरी, सांस्कृतिक विचलन आदिका प्रश्न कवितामा बारम्बार आएका छन्। यसले कवितालाई व्यक्तिगत अनुभूतिमा सीमित राखेको छैन सामाजिक दस्तावेजको रूप दिएको छ। कवयित्रीले आधुनिक समाजमा बढ्दो आत्मकेन्द्रितता र सम्बन्धको विघटनप्रति चिन्ता व्यक्त गरेकी छन्।
राधिकाका कवितामा आमाको ममता अत्यन्त मार्मिक रूपमा आएको छ। आमा यहाँ स्मृति, सुरक्षा र अस्तित्वको केन्द्र हो। आमाको सम्झनामा लेखिएका कविताले पाठकलाई भावुक बनाउँछन्। यही संवेदना नेपाली कवि लक्ष्मीप्रसाद देवकोटा को मानवीय करुणासँग कताकता मिलेको अनुभव हुन्छ। देवकोटाले जस्तै राधिकाले पनि मानवीय सम्बन्धलाई साहित्यको आत्मा मानेकी छन्।
काव्य संरचनाका दृष्टिले हेर्दा संग्रहमा छोटा र मध्यम आकारका कविताहरू बढी छन्। मुक्तछन्दको प्रयोग प्रमुख छ। कतिपय कवितामा गद्यात्मक लय पनि पाइन्छ। भाषा सरल र संप्रेषणीय भएकाले कविता सहजै पाठकसम्म पुग्छन्। यद्यपि केही कवितामा भाव दोहोरिने समस्या पनि देखिन्छ। कतै–कतै कविताले सम्पादनको थप अनुशासन खोजेजस्तो अनुभव हुन्छ। तर पहिलो कृतिका रूपमा हेर्दा यी कमजोरीहरू स्वाभाविक मान्न सकिन्छ।
राधिकाको काव्य चेतनामा विद्रोहभन्दा बढी करुणा छ। उनी आक्रोशित भएर होइन, संवेदनशील भएर बोल्छिन्। यही कारण उनका कविताले पाठकलाई चिच्याएर होइन, भित्रैबाट छोएर प्रभाव पार्छन्। उनका कवितामा जीवनको थकान छ, तर हार छैन। पीडा छ, तर आशा पनि छ।
यस संग्रहको शीर्षक ‘अङ्कुर’ अत्यन्त सार्थक छ। अङ्कुर सम्भावनाको प्रतीक हो। बीउ फुटेर नयाँ जीवन शुरु हुनु। राधिकाको काव्ययात्रा पनि यही सम्भावनाको संकेत हो। उनका कविताले देखाएको संवेदनशीलता, सांस्कृतिक चेतना, नारी अनुभूति र मानवीय करुणाले भविष्यमा अझ परिपक्व काव्य सिर्जनाको सम्भावना उजागर गरेको छ।
विश्व साहित्यमा हेर्ने हो भने आप्रवासी साहित्यले सदैव स्मृति, पहिचान र विस्थापनको प्रश्न उठाउँदै आएको छ। महमूद दरवेशले मातृभूमिको पीडालाई कविता बनाएका थिए। रूमीले आत्माको यात्रालाई प्रेमको भाषामा व्यक्त गरेका थिए। माया एन्जेलोले आत्मसम्मान र प्रतिरोधको स्वरलाई कविता बनाइन्। राधिकाका कवितामा विस्थापन, प्रेम, आत्मसंवाद, नारी चेतना र मानवीय करुणायी सबै चेतनाका हल्का प्रतिध्वनिहरू भेटिन्छन्।
यस संग्रहको सबैभन्दा ठूलो उपलब्धि यसको इमानदार अभिव्यक्ति हो। यहाँ कृत्रिम बौद्धिकता छैन। कवयित्रीले आफूले देखेका, भोगेका र महसुस गरेका अनुभूतिलाई सिधा हृदयबाट शब्दमा उतारेकी छन्। यही इमानदारीले कवितालाई विश्वसनीय बनाएको छ।
‘अङ्कुर’ आप्रवासी नेपाली महिलाको आत्मकथा हो। यहाँ स्मृतिको आँसु छ। प्रेमको उज्यालो छ। नारी चेतनाको संघर्ष छ। संस्कृतिप्रतिको मोह छ र जीवनलाई सुन्दर बनाउने अथक प्रयास छ। यो कृति पढ्दा लाग्छ कविता अझै जीवित छ, किनकि मानिसको हृदय अझै पूर्ण रूपमा मरिसकेको छैन।राधिकाको काव्ययात्रा यही अङ्कुरबाट विशाल वृक्ष बनोस्। उनका शब्दहरूले अझ धेरै संवेदना, चेतना र सौन्दर्यका फूल फुलाओस्। नेपाली आप्रवासी साहित्यको आकाशमा यो अङ्कुर हरियो सम्भावनाको उज्यालो बनिरहोस्।