सुनाखरी सपना,
चट्टानको छाती चिरेर फुलेको
अडिग आशाको नाम हो,
जहाँ माटो छैन,
तर भरोसा छ ।
यो सपना, सपना नै थियो,
हावाले हानेको,
घामले डढाएको,
अभावले निथ्रुक्क भिजाएको,
तर झुकेको छैन ।
भन्ने ले भने,
“यहाँ फूल फुल्दैन,”
तर सुनाखरीले
चट्टानसँग सम्झौता गरेन,
उसले आफ्नो बाटो
आफैं रोज्यो ।
सुनाखरी सपना
त्यसैको हो
जो भीडले अस्वीकारेको छ,
जो कमजोर ठानिएको छ,
तर भित्र भित्रै
अडान बोकेको छ ।
यसको जरा
गहिरो माटोमा होइन,
विश्वासको दरारमा छ,
जहाँ आँसु खसेका छन्
त्यहीँबाट
जीवन उम्रिएको छ ।
यो सपना चम्किलो छैन
बजारको झिलिमिलीझैँ,
तर मौनमा सुगन्ध छ,
जो नजिक आएपछि मात्र
महसुस हुन्छ ।
सुनाखरी सपना
प्रतीक्षाको फल हो,
असफलताको पाठ हो,
र हार नमानेको
हठी मनको
उपहार हो ।
जब संसारले
ढोका बन्द ग–यो,
यसले झ्याल खोजेन,
यसले
पर्खालमै फूल फुलायो ।
एक दिन,
उही चट्टान
गर्व गर्छ
“मेरै छातीमा
यो सौन्दर्य जन्मिएको हो ।”
सुनाखरी सपना,
तिमी सम्झाइरह,
जहाँ बाटो हुँदैन,
त्यहाँ पनि
फूल फुल्न सक्छ ।
गैंडाकोट–२, नवलपरासी