19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मुन्धुम पदमार्ग एक अविस्मरणीय पल

नियात्रा दुर्गा राई ‘चामलिङ’ May 10, 2026, 4:29 am
दुर्गा राई ‘चामलिङ’
दुर्गा राई ‘चामलिङ’

पहिलो दिन
यात्राको आरम्भ र एमिग्रेसनको झन्झट
१२ अप्रेल २०२६, आइतबारको बिहान—हाम्रो यात्राको पहिलो अध्याय अलिक सहज, अलिक असहज अनुभूतिहरूबीच सुरु भयो। यात्रा केवल गन्तव्यमा पुग्ने माध्यम मात्र होइन, यो त अनुभूति, भेटघाट र संघर्षहरूको समष्टि पनि हो। यिनै साना–ठूला क्षणहरूले जीवनलाई ताजगी दिन्छन् भन्ने अनुभूति त्यही दिनदेखि सुरु भयो।

बिहान करिब साढे छ बजेतिर झोला बोकेर म सार्क रोडस्थित प्रशान्त थुलुङ सरको घरको गेटमा पुगेँ। सर पहिले नै तयारी अवस्थामा हुनुहुन्थ्यो। गाडी आउन बाँकी थियो, त्यसैले केही समय पर्खनुपर्ने भयो। केहीबेरपछि पानीट्याङ्की जाने गाडी आइपुग्यो, जसले हाम्रा सहयात्री धनराज राई र दिलकुमार राईलाई पनि लिएर आएको थियो। हामी दुईबाट चार भयौँ, र त्यसैसँग यात्राको उत्साह पनि दोब्बर भयो।

गाडी एसियन राजमार्गमा गुड्दै गर्दा हामी सबै आफ्ना-आफ्ना कल्पना र अपेक्षामा डुबेका थियौँ। तर सिलगढी पुग्दा दृश्य फरक थियो—अत्यधिक भीड। त्यो भीडको कारण पनि विशेष नै थियो। पश्चिम बङ्गालमा विधानसभा चुनावको माहोल थियो, र त्यसै अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले शहर झन् व्यस्त बनेको थियो। हामी पनि त्यही भीडको एक अंश भयौँ, जहाँ हरेक अनुहार कुनै न कुनै गन्तव्यतर्फ दौडिरहेको देखिन्थ्यो।

करिब एघार बजेतिर हामी पानीट्याङ्की पुग्यौँ। यहाँबाट हाम्रो यात्रामा अप्रत्याशित मोड आयो। भूटानी सहयात्री धनराज राई र दिलकुमार राईको एमिग्रेसन प्रक्रियामा समस्या उत्पन्न भयो। कागजपत्र जाँच, सोधपुछ र लामो प्रतीक्षाले हामीलाई केही समय रोकेको मात्र होइन, यात्राको जटिल पक्ष पनि उजागर गर्‍यो। धेरै प्रयास गर्दा पनि समस्या समाधान हुन सकेन, र अन्ततः ती साथीहरू त्यहीँबाट फर्कन बाध्य भए। “भोलि सबै कागजपत्र मिलाएर फेरि आउनेछौँ” भन्ने वाचासहित उनीहरू जयगाउँ फर्किए। त्यो क्षण केही खिन्न बनाउने खालको थियो।

त्यसपछि म र प्रशान्त सर इ-रिक्सामा चढेर सीमा पार गर्दै नेपाल प्रवेश गर्‍यौँ। काँकडभिटामा डा. सुरेन्द्र चामलिङ र सौरभ राई बिहानैदेखि हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो। भेटघाटसँगै नयाँ ऊर्जा थपियो। केहीबेरमै हामी पुनः चारजनाको टोली बन्यौँ—यात्रा अघि बढाउने उत्साह फेरि जाग्यो।

त्यसपछि दिवाभोजन, सानो किनमेल गर्दै हामी धरानतर्फ लाग्यौँ। गाडीको यात्राभरि हाँसो, कुराकानी र अनुभव आदानप्रदानले वातावरण रमाइलो बनायो। सहयात्रीहरूबीच आत्मीयता झन् गहिरिँदै गयो। एमिग्रेसनको अवरोधले हामीलाई एउटा गहिरो पाठ सिकायो—यात्रा केवल गन्तव्यमा पुग्ने नाम होइन, यो धैर्य, समझदारी र सहकार्यको परीक्षा पनि हो।
साँझतिर हामी धरान पुग्यौँ, जहाँ प्रशान्त सरका भतिज राजु राई हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो। उहाँले हामीलाई आत्मीयतापूर्वक घरमा स्वागत गर्नुभयो। न्यानो आतिथ्य र पारिवारिक वातावरणले दिनभरको थकान एकैछिनमा हरायो। यसरी, पहिलो दिनका चुनौती र मिठा अनुभूतिहरूसँगै हाम्रो यात्राको आरम्भ अविस्मरणीय बन्यो।
********
दोस्रो दिन
धरानदेखि चाखेवा (भोजपुर)सम्मको यात्रा
बिहानको मधुरो उज्यालोसँगै धरानको शीतल हावाले हाम्रो निद्रा विस्तारै खोलेको थियो। पहिलो दिनको थकान अझै बाँकी भए पनि नयाँ यात्राको उत्साहले हामी सबैलाई चनाखो बनाएको थियो। हतार-हतार बिहानको तयारी सकेर हामी पाँच बजे नै गाडी चढ्ने उद्देश्यले धरानको घण्टाघरअगाडि पुग्यौँ। तर, यात्राको सुरुआत नै नेपाली समयतालिकाको यथार्थसँग जोडिएको थियो—पाँच बजे भनिएको गाडी करिब साढे छ बजे मात्र आइपुग्यो। त्यो प्रतीक्षा पनि कुनै झन्झट होइन, बरु यात्राको एउटा रमाइलो अध्यायझैँ लाग्यो।

गाडीमा बस्दै हामीले धरानबाट भोजपुरतर्फको यात्रा आरम्भ गर्यौँ। बाटोमा पर्ने चिन्डे डाँडा, लेउती पुल, मुलघाट हुँदै तमोर खोला पार गर्दा देखिएको प्राकृतिक सौन्दर्यले हामीलाई मन्त्रमुग्ध बनायो। उकालो-ओरालो, हरियाली पहाड, खोला र झरनाले भरिएको दृश्यले यात्रालाई अझै रोचक बनाइरहेको थियो। धनकुटा र हिलेका हरिया बनजङ्गलले मनलाई ताजगी दिए भने अरुण खोला पार गर्दा प्रकृतिको विशालता अनुभूत भयो।

प्याउली बजार हुँदै दिउँसो करिब २:१० बजे पावादुङ्मा नगरपालिका प्रवेशद्वारमा पुग्दा हामीले यात्राको आधा दूरी पार गरेको अनुभूति गर्यौँ। तिवारी भञ्ज्याङमा रोकिएर पिएको तातो कालो कफीले शरीर मात्र होइन, मनलाई पनि नयाँ ऊर्जा प्रदान गर्यो। यहीँबाट यात्राको अर्को रमाइलो पाटो सुरु भयो—अपरिचितहरूबीचको परिचय।

हामीसँगै गाडीमा रहेका किरण टी. लिम्बू, राजु केशी र स्थानीय बासिन्दा विवश राई बान्तवा क्रमशः नजिकिँदै गए। विवश राई बान्तवाले मलाई देख्नेबित्तिकै आफ्नो भानिजझैँ ठानेर “भानिज” भनेर सम्बोधन गरे, र मैले पनि उनलाई “मामा” भनेर सम्बोधन गर्न थालेँ। त्यो सम्बन्ध रगतको नभए पनि आत्मीयताको थियो—क्षणमै बनेको तर गहिरो।

भोजपुर बजार पुग्दा हामी चढेको विद्युतीय गाडीलाई पुनः चार्ज गर्नुपर्ने भयो। करिब एक घण्टाको समय सदुपयोग गर्ने सोचले हामी पाँच जना बजारतर्फ हिँड्यौँ। भोजपुर देउराली डाँडाबाट ओरालो झर्दै गर्दा एउटा सानो मन्दिर भेटियो। त्यहीँ केही समय विश्राम गर्दै हामीले यात्राको थकान बिसायौँ।

भोजपुर बजारमा खुकुरी किन्ने अनुभव भने विशेष रह्यो। त्यो केवल किनमेल होइन, आफ्नो संस्कृतिसँग जोडिने एउटा अनुभूति थियो। हामीले प्रतीकस्वरूप खुकुरी किन्यौँ, जुन भोजपुरको पहिचान हो।

साँझ करिब चार बजे देउरालीको खुकुरी चोकमा पुग्दा दिनको यात्रा अन्त्यतिर थियो। विवश मामाले आफ्नो जीवनका पीडादायी र प्रेरणादायी कथा सुनाए—उनको कथा भने अरूभन्दा अलि भिन्न थियो। उनी मूलतः चाखेवाका बासिन्दा रहेछन्, तर समयको प्रवाहसँगै परिवारसहित बसाइँ सरेर इटाहरी पुगेका थिए। जीवनले उनलाई धेरै मोडहरूबाट गुजारेको रहेछ। उनका दुई छोरीहरू छन्—आशाका दुई उज्याला दीपजस्तै। तर नियतिले कहिलेकाहीँ उज्यालोमाथि पनि अचानक अँध्यारो फ्याँकिदिन्छ।

केही वर्षअघि उनकी जेठी छोरी स्कुटी दुर्घटनामा परिछिन्। त्यो दुर्घटना सामान्य थिएन—एक बटुवाको ज्यान गयो, अर्का एक गम्भीर घाइते भए। उपचारपछि घाइतेले नयाँ जीवन पाए पनि मृतकको परिवारका लागि त्यो क्षति कहिल्यै पूर्ति हुन सक्ने थिएन। कानुनले त्यस घटनामा उनकी छोरीलाई दोषी ठहर गर्‍यो, र उनी जेल जीवन बिताउन बाध्य भइन्।
त्यो बेला उनी भने आफ्नै घरदेशमा थिएनन्; खाडी मुलुकको तातो मरुभूमिमा पसिना बगाउँदै परिवारका लागि भविष्य खोजिरहेका थिए। परदेशको कमाइले घर बनाउने सपना देखिरहेका उनका लागि त्यो खबर बिजुलीझैँ बज्रियो। छोरीको दुर्घटना, जेल सजाय, परिवारको पीडा—यी सबैले उनलाई भित्रैदेखि गलायो। अन्ततः उनले परदेशको जागिर त्यागे र आफ्नो माटोमा फर्किए।

फर्किएपछि उनको जीवन फेरि शून्यबाट सुरु भयो। विगतका पीडा, सामाजिक प्रश्न, आर्थिक चुनौती—सबैलाई बोकेर उनले नयाँ सुरुआत गरे। बिस्तारै सानो–सानो काम गर्दै, दुःखलाई शक्ति बनाउँदै, उनले फेरि जीवनको गाडी अघि बढाए। उनको कथाले बताउँछ—मानिसको जीवनमा दुर्घटना, पीडा र पतन आउन सक्छ; तर साहस, जिम्मेवारी र पुनःउत्थानको इच्छाशक्तिले फेरि उभिन सकिन्छ। उनका आँखामा आज पनि विगतका आँसुका डोबहरू देखिन्थे, तर त्यसभित्र भविष्यप्रतिको अडिग विश्वास पनि चम्किरहेको थियो। परदेशको संघर्ष, छोरीसँग जोडिएको दुर्घटना, र त्यसपछि फेरिएको जीवनयात्रा। ती कथाले हामीलाई गहिरो रूपमा छोयो।

अन्ततः साँझ ढल्दै गर्दा हामी चाखेवा पुग्यौँ र गोठेसिंह होमस्टेतर्फ लाग्यौँ। विवश मामा त्यहीँबाट आफ्नो घरतर्फ लाग्नुभयो—भोलि भेट्ने वाचासहित। तर, कहिलेकाहीँ जीवनले सबै वाचा पूरा गर्न दिँदैन। त्यो भेट नै हाम्रो अन्तिम भेट बन्यो, तर सम्झनामा भने सधैँ जीवित रहनेछ।
**********
तेस्रो दिन
टेम्के डाँडा – संस्कृतिको शिखर
तेस्रो दिनको बिहान, चाखेवाको चिसो हावासँगै हाम्रो यात्रा फेरि सुरु भयो। आजको पैदल दूरी तुलनात्मक रूपमा छोटो थियो—चाखेवाबाट टेम्के डाँडासम्म करिब तीन घण्टाको यात्रा। हामी सबै निर्धारित समयमै तयार भयौँ। साथीहरू भन्दै थिए—“आजको हिँडाइ त अभ्यास जस्तो मात्रै हो।” तर हामीलाई थाहा थिएन, यो छोटो यात्रा भित्र कति गहिरो अनुभूति लुकेको छ।

टेम्के डाँडा चढ्नुअघि एउटा बेस क्याम्पसम्म गाडीको व्यवस्था गरिएको थियो। हामी सबै गुरुरु बसमा चढ्यौँ। गाडी खचाखच भरिएको थियो—बस्ने सिटसमेत थिएन। म उभिएको थिएँ, तर केही बेरमा एउटा खालीजस्तो सिट देखेँ। त्यतै पस्दा थाहा भयो—सिटमुनि ग्यास सिलिण्डर राखिएको रहेछ। त्यसै सिलिण्डरमाथि खुट्टा राखेर टुक्रुक्क बसेँ। छेउमा एउटी विदेशी युवती थिइन्।

कुराकानी सुरु भयो—सामान्य चिनजानबाट। उनले आफ्नो नाम “इन्जिना” बताइन्, उनी रसियाबाट आएकी थिइन्। अझ रोचक कुरा त के थियो भने—उनी नेपाली भाषामा कविता लेखिरहेकी थिइन्। उनले आफ्नो कविता देखाइन् र सच्याइदिन आग्रह गरिन्। मैले हेरेँ—भाषा अझै सिक्दै थिइन्, तर भाव अत्यन्त सुन्दर थियो। त्यस क्षण मैले महसुस गरेँ—भाषा सीमाभन्दा परको कुरा रहेछ। नेपालीप्रतिको उनको प्रेमले मन छोयो।

केही समयमै गाडीको यात्रा समाप्त भयो, अनि सुरु भयो वास्तविक उकालो यात्रा। हामीबीच औपचारिक परिचय गराउने कोही थिएन—तर हाँसो, ठट्टा र आत्मीयताले हामीलाई आफैं नजिक बनायो। बाटोभरि गुराँसका अग्ला रुखहरू थिए—कहीं फुलिसकेका, कहीं अझै फुलेको अवस्थामा। प्रकृतिको त्यो सौन्दर्यले हिँडाइलाई अझ रमाइलो बनाइरहेको थियो।
पूर्वी नेपालको भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित टेम्के डाँडा साँच्चै प्रकृति, संस्कृति र अध्यात्मको अद्भुत संगमस्थल रहेछ। समुद्री सतहबाट करिब ३,०१० मिटरको उचाइमा रहेको यो डाँडा केवल भौगोलिक रूपमा अग्लो छैन, यसको महत्त्व प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले पनि उत्तिकै उच्च रहेछ।

टेम्के डाँडाको नाम सुन्नासाथ मनमा उठ्ने पहिलो चित्र हो—विशाल दृश्यावलोकन। यहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, मकालु, लोत्से लगायत दर्जनौँ हिमश्रृङ्खलाहरू स्पष्ट देख्न सकिनेरहेछ। उत्तरतर्फ हिमालहरूको सेतो गौरव, दक्षिणतर्फ तराईका हरिया फाँटहरू—यी दुई विपरीत भू–दृश्यलाई एउटै थलोबाट नियाल्न पाउनु आफैंमा दुर्लभ अनुभव हुनेरहेछ। लाग्थ्यो, प्रकृतिले आफ्ना सबै उत्कृष्ट रङहरू यहीँ आएर पोखिदिएकी छिन्।

यस डाँडाको अर्को विशेष पक्ष यसको धार्मिक महत्त्व हो रहेछ। डाँडाको शिरमा अवस्थित टेम्केश्वर महादेवको मन्दिर श्रद्धा, विश्वास र आस्थाको केन्द्र रहेछ। विशेषगरी शिवरात्रि र बाला चतुर्दशीमा यहाँ लाग्ने मेला केवल धार्मिक अनुष्ठान मात्र नभई सांस्कृतिक मिलन पनि हुनेरहेछ। किराँत र हिन्दू दुवै समुदायका लागि यो स्थल समान रूपमा पवित्र मानिनु यसको सामाजिक र सांस्कृतिक समन्वयको सुन्दर उदाहरण हो।

जब हामी टेम्के डाँडा पुग्यौँ, त्यहाँको दृश्यले यात्राभरको थकानलाई एकैछिनमा हरायो। चारैतिर फैलिएको हरियाली, तल बेँसीमा देखिने फाँटहरू, टाढासम्म फैलिएको क्षितिज, अनि खुला आकाशको असीम विस्तार—यी सबैले मनलाई यति फुरुङ्ग बनायो कि शरीरको थकानको अनुभूति नै हरायो। त्यहाँ एउटा भ्यू टावर थियो, तर त्यो देख्दा लाग्यो—यस विराट प्राकृतिक शिखरअगाडि भ्यू टावरको छुट्टै अस्तित्व के नै होला र? पूरै टेम्के डाँडा आफैंमा एउटा विशाल प्राकृतिक भ्यू टावर थियो, जहाँ उभिएर पृथ्वीलाई नयाँ आँखाले हेर्न सकिन्थ्यो।
त्यसै नजिकै रहेको टेम्केश्वर महादेव मन्दिरमा पुगेर हामीले श्रद्धापूर्वक परिक्रमा गर्यौँ। केही तस्बिरहरूमा क्षणहरू कैद गर्यौँ, अनि केही समय शान्त भएर बस्यौँ। त्यहाँको मौनता, शीतलता र आध्यात्मिक वातावरणले मनभित्र अद्भुत शान्ति भरिदियो। बतासले शरीर छोएर जाँदा केवल चिसोपन मात्र होइन, नयाँ ऊर्जा, ताजगी र आत्मिक स्फूर्ति पनि साथमा ल्याइरहेको थियो।

साँच्चै, टेम्के डाँडाको यात्रा केवल भौगोलिक आरोहण थिएन। यो त आफ्नै संस्कृति, प्रकृति र आस्थासँग पुनर्मिलन गर्ने अवसर थियो। यहाँ पुग्दा महसुस भयो—शिखर केवल उचाइको मापन होइन, त्यो चेतना, अनुभूति र पहिचानको पनि नाम रहेछ। टेम्के डाँडाले हामीलाई केवल दृश्य होइन, दृष्टि पनि दियो; केवल गन्तव्य होइन, आत्मिक उचाइको अनुभूति पनि दियो।

फर्किने बेला उकालो चढेर आएको बाटो अब उरालो बनेर हाम्रो अगाडि फैलिएको थियो। चढाइँमा जसरी सासहरू गह्रौँ भएका थिए, अब ओरालोमा पाइला हलुका भए पनि अनुभवहरू झन् गहिरिँदै गइरहेका थिए। प्रकृतिको त्यो बाटो केवल हिँड्ने मार्ग थिएन, नयाँ भेटघाट, संवाद र आत्मीयताको अर्को अध्याय पनि बन्दै थियो।

त्यही क्रममा हाम्रो भेट चिनियाँ साथीहरूसँग भयो—चुङ्लिङ, जसलाई नेपाली नाम “हीना” दिइएको रहेछ; चाङ्लुङ, जसलाई सबैले “रीमा” भनेर बोलाउँदा रहेछन्; र उनीहरूका सहयात्री खिम। विदेशी भूमि, फरक भाषा र फरक संस्कृतिका यी साथीहरू नेपाली नामसहित हाम्रो यात्रामा जोडिनु आफैंमा रोचक अनुभूति थियो। हामीले उनीहरूसँगै गफिँदै बाटो काट्ने निधो गर्यौँ। यात्रामा कहिलेकाहीँ दूरी छोट्याउने सबैभन्दा राम्रो उपाय संवाद नै हुँदो रहेछ।

कुराकानीका क्रममा थाहा भयो—हीना र रीमा दुवै चीनको एउटै ठाउँबाट नेपाल आएका रहेछन्। हीना पेशाले शिक्षिका रहिछिन्। उनी सरल, संवेदनशील र विचारशील लाग्थिन्। उनले आफ्ना परिवारबारे बताउँदा मुस्कुराउँदै भनिन्—“मेरो परिवारमा आमा र बाबा हुनुहुन्छ।” उनको बोलीमा परिवारप्रतिको आत्मीयता झल्किन्थ्यो। अर्कोतर्फ, रीमा सिभिल इञ्जिनियर रहिछिन्—आत्मविश्वासी, प्रस्ट वक्ता र निकै जिज्ञासु। उनले आफ्ना परिवारबारे सुनाउँदा भनिन्—“हाम्रो घरमा आमा, बाबा र एक बहिनी छिन्। मेरी बहिनी अहिले विश्वविद्यालयमा अध्ययन गर्दैछिन्।” उनका शब्दहरूमा परिवारको गौरव र बहिनीप्रतिको स्नेह स्पष्ट सुनिन्थ्यो।

भाषा फरक भए पनि भावना उस्तै हुँदारहेछन् भन्ने अनुभूति त्यही संवादले गरायो। हामी फरक देशका थियौँ, तर परिवार, सपना, संघर्ष र संवेदनाका सूत्रहरू उस्तै रहेछन्। यही समानताले यात्रालाई अझ आत्मीय बनाउँदै लग्यो।

हिँड्दै जाँदा संवादको क्रम विस्तारै कवितातर्फ मोडियो। प्रकृतिको काखमा, उरालो बाटोमा, थकित खुट्टा र उत्साहित मनसँगै कविता सुनाउनु आफैंमा छुट्टै आनन्द थियो। शब्दहरू बाटोसँगै बगिरहेका थिए, र भावनाहरू हावासँगै मिसिइरहेका थिए।

त्यही क्रममा हीनाले सहज रूपमा केही हरफ सुनाइन्—तर ती हरफ केवल शब्द थिएनन्, यात्राको दर्शनजस्तै लागेः
“भाँचिएको लट्ठी र गलेको खुट्टामा के फरक छ,
बाङ्गो बाटो र थाकेको शरीरमा के फरक छ।”

उनका यी पङ्क्तिहरू सुन्नासाथ केही क्षण हामी सबै मौन भयौँ। ती शब्दहरूमा यात्राको पीडा पनि थियो, सौन्दर्य पनि; थकान पनि थियो, दार्शनिक गहिराइ पनि। वास्तवमा, यात्रामा शरीर थाक्छ, बाटो बाङ्गो हुन्छ, पाइला लरखराउँछन्—तर त्यही संघर्षभित्र जीवनको सुन्दरता पनि लुकेको हुँदो रहेछ।

हीनाको कविता केवल उनको व्यक्तिगत अनुभूति थिएन; त्यो हामी सबै यात्रुहरूको साझा अनुभव थियो। भाँचिएको लट्ठी र गलेको खुट्टा, बाङ्गो बाटो र थाकेको शरीर—यी सबैले मानौँ जीवनकै प्रतीकात्मक रूप लिएका थिए।

त्यस दिनको उरालो केवल डाँडाबाट तल झर्ने यात्रा थिएन; त्यो त संस्कृतिबीचको संवाद, भावनाबीचको पुल र कवितामार्फत जोडिएको आत्मीयताको यात्रा थियो। विदेशी साथीहरूसँगको त्यो भेटले महसुस गरायो—भाषा फरक हुन सक्छ, भूगोल फरक हुन सक्छ, तर कविता र संवेदनाले संसारलाई एउटै परिवारमा बाँध्न सक्छ।

केही समयपछि हामी नमुना होटल पुग्यौँ, जहाँ हाम्रो लागि दिवा भोजनको व्यवस्था गरिएको थियो। स्वादिष्ट खानासँगै विश्राम पनि मिल्यो।

चाखेवा मैदानमा त्यस दिन विशेष रैथाने खाना महोत्सव आयोजना गरिएको थियो। आज पहिलो वैसाख अर्थात नेपाली नयाँ वर्ष । सबै मानिसको अनुहारमा उत्साहले भरिएका देखिन्थे । भेट्दा एकापसमा नयाँ वर्षका शुभ कामना साटा-साट गर्थे । त्यो क्षणको दृश्यले हृदय प्रफुल्लित भएर आउँथ्यो । स्थानीय परिकारहरू—माटोको गन्ध बोकेका, परम्पराको स्वाद मिसिएका—हाम्रो जिब्रो मात्र होइन, हाम्रो पहिचानलाई समेत स्पर्श गरिरहेका थिए।

त्यसपछि अन्तर्राष्ट्रिय स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा राजन मुकारुङ, डा भक्त राई, दीप श्रेष्ठ, मोहन दुङ्माली जस्ता प्रतिष्ठित स्रष्टाहरूको उपस्थिति थियो। प्रमुख अतिथि बिनोद बान्तवाको उपस्थितिले कार्यक्रमलाई अझ गरिमामय बनायो।

मुन्धुम पदमार्गको औपचारिक सुरुवात र शिल्ली नृत्यको प्रस्तुतिले हामीलाई आफ्नै जरा सम्झायो—हामी कहाँबाट आएका हौँ र हाम्रो संस्कृति कति गहिरो छ भन्ने अनुभूति दिलायो।
यसरी, टेम्के डाँडाको तेस्रो दिन केवल एउटा यात्रा थिएन—यो त संस्कृतिसँगको पुनर्मिलन थियो, आत्मासँगको संवाद थियो।
**********
चौथो दिन
छिमालुङमा – हावाको गीत
बिहानको घामले आजको यात्रालाई उज्यालो संकेत दिएको थियो। गोठेसिंह होमस्टेमा हाम्रो अन्तिम दिन—एक किसिमको मिठो पीडा बोकेको क्षण। चाखेवाबाट विदा लिनु थियो, त्यो पनि केवल स्थानबाट होइन, त्यहाँका मान्छे, आत्मीयता र अनुभूतिबाट। केही सहयात्रीहरू यहीँबाट फर्किने तयारीमा थिए—वरिष्ठ सङ्गीत स्रष्टा दीप श्रेष्ठ, गायिका लोचन भट्टराई, साहित्यकार धिरेन्द्र प्रेमर्षी, वसन्त वित्यासी थापा, राजु केसी लगायत। हिजोसम्म एउटै बाटोमा हिँडेका पाइला आज फरक दिशामा मोडिन लाग्दा मन अलिकति भारी भयो।
वसन्त वित्यासी थापाज्यूसँग कास्कीको एक साहित्यिक कार्यक्रममा भेट भएको थियो। उहाँ हाल नेपाल गीतकार संघमा अध्यक्ष हुनुहुन्थ्यो । उहाँसँगको पुनः भेटले कास्कीका ती रमाइला पल र दृश्यहरूलाई फेरि स्मृतिमा ताजा बनायो। साहित्यकार धिरेन्द्र प्रेमर्षीज्यूसँग करिब चौध वर्षअघि आदिकवि भानुभक्त आचार्यको द्विशत जन्मजयन्तीको अवसरमा उत्तर–पूर्वीय भारतको भ्रमण गर्ने अवसार जुराएको थियो । उनीहरूसँगको संवादले इतिहासका पानाहरू फेरि खुलाए। यात्राले केवल दूरी मात्र घटाउँदैन, समयलाई पनि नजिक ल्याउँछ भन्ने अनुभूति त्यहीँ भयो।

गोठेसिंह होमस्टेका साहुजी प्रकाश राई थिए। श्रीमती र छोरीसँगै मिलेर उनीहरूले होमस्टे सञ्चालन गरिरहेका थिए। पहाडी भेगको त्यो आतिथ्यपूर्ण घर केवल व्यवसाय मात्र थिएन, श्रम, परिवार र आत्मीयताको संयुक्त कथा थियो। पाहुनालाई स्वागत गर्ने उनीहरूको शैलीमा कुनै कृत्रिमता थिएन; त्यो त आफ्नै घरमा आएका आफन्तलाई गरिने सत्कारझैँ लाग्थ्यो।
प्रकाश राईकी श्रीमतीसँग कुराकानी गर्दै जाँदा गाउँको यथार्थता झन् स्पष्ट हुँदै गयो। उनको गुनासो थियो—“काम गर्ने मान्छे नै पाइँदैन। हाम्रै गाउँका युवाहरू बरु खाडी मुलुक पुगेर आफ्नो श्रम बेच्न तयार हुन्छन्, तर आफ्नै देशमा बसेर काम गर्न लाज मान्छन्।” उनको स्वरमा पीडा थियो, गुनासो मात्र होइन, गाउँ र देशको बदलिँदो सामाजिक संरचनाप्रतिको चिन्ता पनि मिसिएको थियो। साँच्चै, आफ्नो माटोमा पसिना बगाउनुभन्दा परदेशको कठोर मरुभूमिमा श्रम बेच्नु धेरैका लागि बाध्यता र प्रतिष्ठा दुवै बनेको छ।

उनी भन्थिन्, “कहिलेकाहीँ त यस्तो भिड हुन्छ कि थेगिनसक्नु, तर यस्तो चहलपहल सधैँ भइरहन्छ।” यसले गोठेसिंह होमस्टेको लोकप्रियता मात्र होइन, त्यस क्षेत्रको पर्यटन सम्भावनालाई पनि उजागर गर्थ्यो। त्यहाँ दुईवटा होमस्टे रहेछन्—दाजुभाइका। परिवारभित्रैको सहकार्यले आतिथ्य व्यवसायलाई अझ मजबुत बनाएको देखिन्थ्यो।

जम्मा पैँसठ्ठी रोपनी क्षेत्रफलमा फैलिएको विशाल गोठेसिंह होमस्टे प्राकृतिक सौन्दर्यले भरिएको थियो। हामी तल्लो भागको बासस्थानमा बसेका थियौँ, जहाँबाट वरिपरिको हरियाली, पहाडी शान्ति र ग्रामीण जीवनको लयलाई नजिकबाट अनुभव गर्न पाइन्थ्यो। बिहानको स्वच्छ हावा, साँझको चिसो स्पर्श र परिवारको आत्मीय व्यवहारले त्यो बसाइ केवल रात बिताउने ठाउँ रहेन, सम्झनाको अमिट अध्याय बन्यो।

उहाँहरूको आतिथ्य-सत्कारले हामीलाई साँच्चै आनन्दविभोर बनायो। खानपानदेखि व्यवहारसम्म, हरेक कुरामा अपनत्व थियो। त्यहाँ हामी पाहुना कम, परिवारका सदस्य बढी जस्ता भयौँ। गोठेसिंह होमस्टे केवल विश्रामस्थल होइन, श्रम, संघर्ष, आत्मीयता र नेपाली ग्रामीण जीवनको सजीव प्रतिबिम्ब रहेछ।

९ बजेतिर हामी विदा भयौं। घाम, खुला आकाश र रमाइलो मनसँगै पाइला अघि बढे। हाम्रो लस्करलाई ड्रोनले कैद गरिरहेको थियो भने हामी आफैं पनि क्षणहरूलाई मोबाइलमा थुन्दै थियौं। मानौँ यात्रा केवल गन्तव्य होइन, सम्झनाहरू सङ्कलन गर्ने प्रक्रिया हो। हामी लस्करै अघि बढ्दै गयौं। हाम्रो यात्रालाई पुनजीले ड्रोन क्यामेरामा कैद गरिरहेका थिए। कहिले मोबाइलमा फोटो खिच्दै, कहिले गीत गाउँदै हामी अगाडि बढिरहेका थियौं।

कविता राई नाना हाम्रो गाइड जस्तै थिइन्—कविता र कथाजस्तै सरल र गहिरो। उनीसँगै हामी प्रकृति र संस्कृतिको कथा सुन्दै अघि बढ्यौं। उनले बाटोभरि ठाउँ–ठाउँको परिचय गराउँदै यात्रालाई अझ अर्थपूर्ण बनाइन्। भञ्ज्याङमा पुगेपछि “हार्दिक स्वागत छ गोठेसिंह होमस्टे” लेखिएको बोर्डले पछाडि छोडेको ठाउँलाई फेरि मनमा उभ्यायो। जसले फेरि गोठेसिंह होमस्टेको सम्झना दिलायो।

गोरेटोबाट मुन्धुम ट्रेलको मुख्य बाटो भेटियो। अब हाम्रो यात्रा अझ व्यवस्थित भयो। बीच–बीचमा विश्राम गर्दै, झोलामा बोकेका खानेकुरा बाँडेर खाँदा परिवारजस्तै आत्मीयता महसुस हुन्थ्यो।

बाटोमा चुत्रोका बोटहरू प्रशस्तै थिए। औषधीय गुणले भरिपूर्ण यो वनस्पतिले आजकल बजारमा पनि राम्रो माग पाएको छ। लालीगुराँसका फूलहरूले प्रकृतिलाई रङ्गीन बनाएका थिए। ती फूलहरू हेर्दा लाग्थ्यो—सुन्दरता बाँड्दै थाकेका मौन युवतीहरू हुन्।

करिब तीन घण्टाको पैदल यात्रापछि हामी मलुवा पोखरी पुग्यौं। समुद्र सतहबाट २४५५ मिटर उचाइमा रहेको त्यो पोखरीले सबैलाई चकित बनायो। पहाडको टाकुरामा यस्तो पोखरी कसरी बनेको होला भन्ने जिज्ञासा भए पनि हामी अनुसन्धानभन्दा अनुभवमै रमाइरहेका थियौं। हामीले त्यसको विज्ञान खोजेनौं, केवल सौन्दर्य अनुभव गर्‍यौं।

अचानक मौसम बदलियो। आकाश धमिलो भयो र केहीबेरमै असिनासँगै पानी पर्न थाल्यो। असिना र वर्षाले यात्रामा चुनौती थप्यो । हामी नजिकैको टहरा (टउवा) मा शरण लियौं। त्यहाँ आगो बालेर शरीर ततायौं, भिजेका कपडा सुकायौं। धुवाँले भरिएको त्यो सानो ठाउँमा पनि हाम्रो उत्साह कम भएन।

पानी रोकिएपछि यात्रा पुनः सुरु भयो। दिउँसो करिब १ बजे हामी दलसिंगे पुग्यौं (२६६२ मिटर)। शरीर थाकिसकेको थियो, बिहानको खाना पनि पचिसकेको थियो। थकान बढ्दै थियो, तर गन्तव्य नजिकिँदै थियो।

साँझ ५ बजेतिर “धोद्रे देउराली” लेखिएको बोर्ड भेट्दा हामी उत्साहित भयौं, किनकि त्यहीँ बस्ने सोचेका थियौं। तर अझै केही दूरी बाँकी रहेछ। थकानले अनुहार मलिन भए पनि हामी अघि बढ्यौं।

अन्ततः साँझको रिमझिम उज्यालोमा छिमालुङ गोठबास पुग्यौं। उकालो बाटो, भोको पेट र थकित शरीरका बाबजुद त्यहाँ पुग्दा मनमा अद्भुत सन्तोष थियो।

त्यो दिन केवल हिँडाइ मात्र थिएन—प्रकृति, सम्बन्ध, संघर्ष र अनुभूतिको गीत थियो, जसलाई हावाले पनि गुनगुनाइरहेको जस्तो लाग्थ्यो। छिमालुङमा पुग्दा लाग्यो, आज हामीले हावाको गीत सुनेका छौं।
*********
पाँचौँ दिन
मैयुङको डाँडामा गुराँसको बोट
छिमालुङ गोठबास, धोद्रे डाँडाबाट मैयुङतर्फको हाम्रो पाँचौँ दिनको यात्रा आत्मीय विदाइसँग आरम्भ भयो। बिहान ठीक ९ बजेर ४५ मिनेट जाँदा छिमालुङ गोठबासको न्यानो आतिथ्यलाई हृदयमा सजाउँदै हामीले नयाँ गन्तव्यतर्फ पाइला चाल्यौँ। स्थानीय वडा अध्यक्ष नरबहादुर राई र वडा सदस्यहरूले फूलको गुच्छासहित गरेको सम्मानपूर्ण विदाइ केवल औपचारिकता थिएन; त्यो मुन्धुम पदमार्गप्रतिको स्थानीय प्रेम, संस्कृति र आत्मीयताको जीवन्त प्रतीक थियो।

त्यस अवसरमा प्रमिला राई चाम्लिङले मुन्धुम पदमार्गको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन महत्त्वबारे दिएको संक्षिप्त तर गहकिलो परिचयले यात्रालाई अझ गम्भीर आयाम दियो। अध्यक्षको प्रेरणादायी मन्तव्य, चिनियाँ सहभागी चुङ्लिङ (नेपाली नाम हीना) को आत्मीय अभिव्यक्ति, गोठबासका मालिक सुदीप राईको सरल आतिथ्य, टेम्केमैयुङ गाउँपालिकाको पहिचान, साथै सिन्थिया, फिलिपिन्सकी एलाइजा लगायत अन्तर्राष्ट्रिय सहभागीहरूको उपस्थितिले त्यो क्षणलाई विश्वव्यापी सांस्कृतिक संवादमा रूपान्तरण गरिदियो।

हामीसँग चाखेवा गोठेसिंह होमस्टेबाट यहाँसम्म सहयात्री बनेर आएका कविता राई नाना, सिक्किमबाट सहभागी मोहन दुङ्माली र उहाँकी धर्मपत्नी लगायत केही साथीहरू धोद्रेबाटै फर्किनुभयो। विदाइका ती क्षणहरूले यात्राको अर्को सत्य सम्झाए—हरेक सहयात्रीको बाटो सधैँ एउटै हुँदैन, तर सँगै बिताएका क्षणहरू स्मृतिमा दीर्घकालीन रहिरहन्छन्।
मैयुङतर्फ उकालो लाग्दै गर्दा प्रकृतिले फेरि आफ्नो रहस्यमय रूप देखाउन थाल्यो। धुम्मिएको आकाश, चिसो हावा र अनिश्चित मौसमले यात्रालाई चुनौतीपूर्ण बनाइरहेको थियो। हिजोको वर्षाको स्मृतिले मनमा केही त्रास बाँकी थियो, तर यात्राप्रतिको उत्साह अझ प्रबल थियो। विशाल हरियो फाँटहरू प्रकृतिले ओढाएको हरियाली च्यादरझैँ देखिन्थे। खुला चौरमा स्वतन्त्र रूपमा चरिरहेका चौँरी गाई, घोडा र भेडाका बथानहरूले त्यो भू-दृश्यलाई अनुपम सौन्दर्यले भरिदिएका थिए। कतै उकालो, कतै ओरालो, कतै समथर बाटो—प्रकृतिको यही विविध लयले यात्रालाई एकरस हुन दिएन।

त्यो शान्त, सुरम्य र सम्मोहक परिवेशले मनमा अनौठो अनुभूति जगायो—मानौँ समय यहीँ रोकियोस् र हामी यही हरियालीको काखमा केहीबेर अझै हराइरहौँ। गुराँसका बोटहरू, कुहिरोले छोपिएका डाँडाहरू र चिसो बतासले यो पदयात्रालाई केवल यात्रामा सीमित राखेन; यसले आत्मा र प्रकृतिबीचको अदृश्य संवादलाई जीवित बनायो। प्रकृतिको विशाल क्यानभासमा हामी केवल यात्रु थिएनौँ, बरु त्यस सौन्दर्यका मौन साक्षी थियौँ।

यात्राकै क्रममा बाटो अलमलिँदा हामी निर्धारित मार्गभन्दा केही पर पुग्यौँ। फोन नेटवर्कको अभावले यात्रा निर्देशक डा. भक्त राईको अनुहारमा केही चिन्ताका रेखाहरू देखिए। तर यस्तै अन्योल, यस्तै अनिश्चितता र यस्तै चुनौतीहरूले नै यात्रालाई अझ स्मरणीय बनाउने रहेछन् भन्ने अनुभूति भयो। वास्तवमा यात्रा भनेको केवल गन्तव्यमा पुग्नु मात्र होइन; बाटोमा भोगिएका अन्योल, संघर्ष र अप्रत्याशित अनुभवहरूको समष्टि पनि रहेछ।

अन्ततः दिउँसो २ बजेर ३० मिनेटमा हामी मुन्धुम किराँत गोठबास पुग्यौँ। ढिलो आइपुग्दा हाम्रो निम्ति तयार पारिएको भोजन केही सेलाइसकेको थियो, तर गोठबासकी साहुनी पुष्पा राईको मातृत्वपूर्ण आतिथ्यले त्यो थकानलाई क्षणभरमै बिर्साइदियो। उहाँले फेरि तातो भात र लोकल कुखुराको सुप तयार पारिदिनुभयो। त्यो केवल भोजन थिएन; थकित यात्रुका लागि पुनर्जीवन थियो। चिसो मौसम, थकित शरीर र लामो पदयात्रापछि प्राप्त त्यो न्यानोपनले शरीर मात्र होइन, मनसमेत ततायो। त्यो क्षणमा अनुभूति भयो—हामी कुनै होमस्टेमा होइन, आफ्नै घरको भान्सामा परिवारसँग बसेका छौँ।

यस यात्रामा दक्षिण कोरिया, सिङ्गापुर, फिलिपिन्सलगायत विभिन्न देशबाट आएका सहभागीहरू—पासाङ शेर्पा, सुजित तामाङ, किरण टी. लिम्बू, नीमा, सौरभ राई, सोफिया र एलाइजालगायत सबैले मुन्धुम पदमार्गलाई केवल पदयात्रामा सीमित राखेनन्; यसलाई संस्कृतिहरू जोड्ने जीवित सेतु बनाइरहेका थिए। भाषाहरू फरक थिए, भूगोल फरक थिए, संस्कार फरक थिए—तर प्रकृतिप्रतिको प्रेम र यात्राप्रतिको सम्मानले हामीलाई एउटै सूत्रमा बाँधेको थियो।

छिमालुङ, धोद्रे डाँडादेखि मैयुङसम्मको यो यात्रा केवल भूगोलको दूरी पार गर्नु थिएन; यो आत्मीयता, संस्कृति, प्रकृति र मानवीय सद्भावको गहिरो अनुभूति थियो। पाँचौँ दिनको यो पदयात्राले स्पष्ट सन्देश दियो—जब मानिस प्रकृतिसँग जोडिन्छ, तब यात्रा केवल पाइला होइन, आत्माको उत्सव बन्छ। मैयुङको डाँडामा उभिएका गुराँसका बोटहरूजस्तै, यो दिन पनि हाम्रो स्मृतिमा सधैँ फक्रिरहनेछ।
**********
छैटौँ दिन
डुवर्सको क्यामेरामा मिर्मिरे तस्बिर
बिहान सधैँझैँ घाम झुल्कियो, तर त्यो दिनको घाम केवल आकाशमा मात्र उदाएको थिएन—हाम्रो मनभित्र पनि नयाँ ऊर्जा लिएर उदाएको थियो। हिजोको थकान मानौँ रातको अँध्यारोसँगै हराइसकेको थियो। सुनौलो सूर्यकिरणले चिसो शरीरमा स्फूर्ति भर्दै नयाँ यात्राको संकेत गरिरहेको थियो। आजको बाटो कस्तो होला, कहाँ पुगिने होला, कस्ता दृश्यहरूले स्वागत गर्लान्—यी सबै प्रश्नहरू अनुत्तरित थिए, तर अनिश्चितताभित्र पनि यात्राको आनन्द लुकेको थियो।

बिहान उठेर सबैले आ–आफ्नो नित्यकर्म सकेपछि चौँरीगाईको दूध मिसिएको तातो चिया र कालो चियाले शरीर ततायो। गोठभित्रको अर्को कुनामा चिनियाँ साथीहरू हिना चुङ्लिङ, रिमा चाङ्लुङ र हर्क साउथ आगो ताप्ने प्रयासमा थिए। तर आगोभन्दा धुवाँको साम्राज्य बढी थियो। आँखाभरि धुवाँले आँसु झारिरहेका हिना र रिमा, अनि आगो बलाउन संघर्षरत हर्क साउथज्यूलाई देख्दा जीवनकै एउटा प्रतीक आँखाअघि उभियो—जिन्दगी पनि कहिलेकाहीँ यस्तै धुवाँभित्र आगो खोजेजस्तो कठिन हुँदो रहेछ। बाध्यता, असहजता र संघर्षबीच नै मानिसले आफ्नो बाटो बनाउँदो रहेछ। मुन्धुम पदमार्गको यो यात्राले पनि जीवनका त्यस्तै अनेक बाध्यता र सौन्दर्यलाई एकैसाथ अनुभूति गराइरहेको थियो।

केही समयपछि मुन्धुम किरात गोठबासका साहु सनम राई र साहुनी पुष्प राईले आलु, अण्डा र लोकल स्वादले भरिएको मिठो खाजा पस्किनुभयो। लसुन, प्याज र खोर्सानी मिसिएको खस्रो अचारसँग त्यो भोजन केवल स्वादको विषय थिएन; त्यो स्थानीयपनको आत्मा थियो। भोजनपश्चात् गुराँसको फूलको गुच्छा हातमा थमाउँदै र निधारमा सेतो चामलको टीका लगाउँदै गरिएको विदाइले मनलाई भावुक बनायो। हिजो मात्र पुगेको ठाउँ आज आफ्नै घरझैँ लाग्न थालेको थियो।

समय साँच्चै क्षणभङ्गुर रहेछ। हिजोको आगमन आज स्मृतिमा रूपान्तरित हुँदै थियो। वरिपरिका गुराँस, हरिया चौर र विशाल प्रकृतिले ओढाएको सौन्दर्यलाई फेरि कहिले देख्न पाइएला भन्ने अनिश्चितताले मन अलि भारी बनायो। विदाइका हात हल्लाइरहेका पुष्प राई र सनम राईका अनुहारमा आत्मीयता थियो, हाम्रो मनमा कृतज्ञता।

हामीसँग मुन्धुम किरात गोठबास परिवारकी आशिका राई हाँसपोखरीसम्म सहयात्री बनिन्। भर्खरै एसएलसी सकेकी आशिकाको सरलता र उत्साहले बाटोलाई अझ आत्मीय बनायो। हाँसपोखरी पुग्दा प्रकृतिले मानौँ आफ्नो अर्को रहस्य खोलेको अनुभूति भयो। पहाडको थाप्लोमा अवस्थित त्यो हाँस आकारको पोखरी शान्त, सुन्दर र सम्मोहक थियो। दुईवटा हाँस आकारका डुङ्गा, अनि पर तैरिरहेको एउटा एक्लो हाँस—त्यो दृश्य केवल रमणीय मात्र थिएन, भावनात्मक पनि थियो।

त्यो एक्लो हाँसलाई देख्दा मनमा अनगिन्ती प्रश्नहरू उठे—कहाँ छुट्यो होला यसको परिवार? के यसले पनि आफ्ना प्रियजन सम्झन्छ? मानिसले आफ्नो आस्था र भाकलका नाममा कहिलेकाहीँ अन्य प्राणीलाई पनि एकान्तमा छोडिदिँदो रहेछ। त्यो हाँस केवल एउटा चराचुरुङ्गी थिएन; त्यो त मानवीय संवेदनाको मौन प्रतीकजस्तै लाग्यो।

हाँस आकारको डुङ्गामा केही परसम्म तैरिँदा लाग्यो—प्रकृतिको काखमा जीवन साँच्चै कति सुन्दर छ। हामी सबैले मोबाइल क्यामेरामा तस्बिरहरू कैद गर्यौँ, किनकि यात्राबाट फर्कँदा मानिसले साथमा लैजाने सबैभन्दा अमूल्य वस्तु भनेकै स्मृति रहेछ। तस्बिरहरू केवल दृश्य होइनन्; ती भविष्यका सम्झनाका ढोका हुन्।

त्यस पोखरीको एक कुनामा नेपाली गीत–सङ्गीतका प्रख्यात गीतकार हर्क साउद र म पालैपालो तस्बिर खिचिरहेका थियौँ। तस्बिर खिच्दै मैले भनेँ—“तपाईंको यो तस्वीर म भारतको डुवर्स पुर्याउनेछु। तपाईंको तस्वीर हेर्दै तपाईंका गीत सुन्नेछु, अनि भन्नेछु—यी गीतका रचनाकार यही व्यक्ति हुन्।” उहाँ केवल मुसुक्क मुस्कुराउनुभयो। त्यो मुस्कानमा नै हाम्रो आत्मीयता गहिरिएर बसेको महसुस हुन्थ्यो।

हाँसपोखरीबाट अघि बढेपछि यात्रा फेरि उकालो–ओरालोमा फैलियो। केही समय म एक्लै यात्रु बनेँ। अगाडि–पछि कोही थिएन। निर्जन पदमार्गमा एक्लै हिँड्दा जीवनको अर्को यथार्थ अनुभूत भयो—मानिस जन्मँदा एक्लै, हिँड्दा कहिलेकाहीँ एक्लै, र अनुभवहरू पनि धेरैजसो एक्लैले बोक्नुपर्ने रहेछ। त्यो एकान्तले डर होइन, आत्मसंवाद जन्मायो।

बुल्के भन्ने स्थानमा पुग्दा मुन्धुम पदमार्ग निर्माणमा संलग्न रमिला रुङ्माङसँग भेट भयो। उहाँले वरिपरिका भूगोल र छुटेको मैयुङ डाँडाको सौन्दर्यबारे सुनाउनुभयो। छुटेको दृश्यप्रति केही खिन्नता भए पनि अर्को यात्राको सम्भावनाले मन फेरि उत्साहित बन्यो। यात्रामा सबै कुरा एकैपटक प्राप्त नहुनु पनि अर्को आकर्षण रहेछ—केही अधुरा दृश्यहरूले नै पुनः फर्कने चाहना जगाउँछन्।

बाटोमा दीपक प्रधानसँगको भेटले स्थानीय आशा र पर्यटनको सम्बन्ध स्पष्ट गरायो। उहाँका शब्दहरू सरल थिए—“तपाईंहरूजस्ता यात्रुहरू आइरहनुपर्छ।” वास्तवमा पदयात्रा केवल व्यक्तिगत अनुभव मात्र होइन; यसले स्थानीय जीवन, अर्थतन्त्र र पहिचानलाई पनि स्पर्श गरिरहेको हुन्छ।

दिउँसो करिब ११ बजे हामी एकराते पुग्यौँ। भीरको थाप्लोमा रहेको त्यो विश्रामस्थलमा पसल, तातो पानी र थकित शरीरका लागि आवश्यक भोजनको राम्रो व्यवस्था गरिएको थियो। हामीले रमाउँदै दिवा भोजन गर्यौँ। तातो भातसँग तातो लोकल कुखुराको सुपले हाम्रो थकानलाई मानौँ पूर्ण रूपमा हराइदियो। भोजनपछि हामीले त्यही ठाउँमा तस्बिरहरू खिच्यौँ, आ–आफ्नो देशका लोकगीतहरू गायौँ र चौँरीको छुर्पीको स्वाद लियौँ।

हामी एकरातेबाट विस्तारै अघि बढ्यौँ। दिवा भोजनले शरीरमा नयाँ स्फूर्ति भरिएको थियो। सबै रमाउँदै एक तमासले हिँडिरहे। केही साथीहरू गीत गुनगुनाउँथे, कोही एकापसमा कुरा गर्थे। हाम्रो लस्करमा जम्मा ३२ जना थियौँ—नेपालका विभिन्न भूभागदेखि नेपालबाहिरका विदेशी सहयात्रीसम्म। जीवन नै एउटा यात्रा रहेछ; जहाँ भेट हुन्छ, त्यहाँ सम्बन्ध स्थापित हुन्छन्, सामीप्यता बढ्दै जान्छ। हिजोसम्म नदेखेका, नभेटेका, सपनामा पनि नसोचेका फरक–फरक मुलुकका हामीहरू आज एउटै यात्रामा सम्बन्धको सूत्रमा बाँधिएका थियौँ।
हामी अघि–पछि हुँदै हिँडिरह्यौँ। केहीबेर हिँड्थ्यौँ, केहीबेर बिसाउँथ्यौँ, थकान मेटाउँथ्यौँ, झोलामा बोकेका खानेकुरा खान्थ्यौँ। टर्कीका मित्र जाहिद—जसलाई हामीले माया गरेर दिएको नेपाली नाम ‘घिमिरे दाइ’—हामीभन्दा अगाडि पुगेर ठूलो स्वरमा कराउँथे, “छिटो छिटो आउनुहोस्! अल्छी नगर्नुहोस्!” उहाँको त्यो बालसुलभ उत्साह सुन्दा लाग्थ्यो, मानौँ भर्खरै बोली फुटेको निश्चल बालक हो।

केही उकालो, केही ओरालो, कहीँ तेर्सो, कहीँ चिप्लो बाटो पार गर्दै हामी पकुवा भञ्ज्याङ आइपुग्यौँ। त्यहाँ पुग्दासम्म आकाश कालो भइसकेको थियो। हामी सबैले रेन्कोट लगायौँ र फेरि उकालो बाटो समात्यौँ। केहीबेरमै आकाशबाट पानी दर्कन थाल्यो। झरीको कुनै प्रवाह नगरी हामी अघि बढिरह्यौँ। बाटो अलमलपूर्ण थियो, त्यसैले एक स्थानीयवासी हाम्रो अगाडि–अगाडि हिँडिरहनुभएको थियो। जति झरी चर्किन्थ्यो, त्यति नै हाम्रो रोमाञ्च बढ्थ्यो। उकालोमा त ठिकै थियो, तर ओरालोमा चिप्लो र भिरालो बाटोले त्रास पनि थप्थ्यो।

झरीका कारण हाम्रो समूह केहीबेर तितरबितर भयो। निथ्रुक्क भिजेर हामी भीर थाप्लो पुग्यौँ। त्यहाँको एउटा सानो पसलमा पसेर रेन्कोट फुकाल्यौँ, न्यानो भयौँ र तातो चियाले शरीर ततायौँ। सुन्ताले जान गाडीको प्रतीक्षा सुरु भयो। हाम्रो सम्पूर्ण यात्राका व्यवस्थापक डा. भक्त राई झरीका कारण गाडी भीर थाप्लोसम्म नआउने सम्भावनाले तनावमा देखिनुहुन्थ्यो। तर निक्कै प्रतीक्षापछि “स्वप्निल शुभम” लेखिएको बस आइपुग्यो। हामी सबै बसमा चढ्यौँ। केही साथीहरू माथितिर रोकिएका थिए—प्रशान्त सर, सुरेन्द्र चाम्लिङ सर र जाहिद—उहाँहरूलाई पनि समेट्दै बस सुन्तालेतर्फ अघि बढ्यो।

भिरालो र भर्खरै खनिएको बाटो पार गर्दै हामी सुन्ताले बाघखोर पुग्यौँ। त्यहाँ पुग्दा केही साथीहरू अर्को बाटो हुँदै अघि नै आइपुगेका रहेछन्, तर अस्ट्रेलियन साथी स्टेफन भने हराइरहनुभएको खबर आयो। समूहमा चिन्ता थपियो। यात्राका सहयात्री तथा अवकाशप्राप्त प्रहरी महानिरीक्षक टेक तामाङज्यूले स्थानीय प्रहरी चौकीमा खबर गर्नुभयो। केही समयपछि स्टेफन सुरक्षित भेटिनुभयो। त्यस घटनाले फेरि सम्झायो—सहयात्रा भनेको केवल सँगै हिँड्नु मात्र होइन, एकअर्काको जिम्मेवारी बन्नु पनि हो।

बेलुकी हामीले स्मिका आशिका होटल एण्ड लजमा नेपाली स्वादले भरिएको स्वादिष्ट भोजन गर्यौँ। खाना खाइसकेपछि त्यहाँबाट विदा हुने क्रममा स्थानीयवासीहरूले खादा र मालाले सम्मानपूर्वक विदाइ गरे। प्रसाद तामाङलगायत स्थानीय समुदायको प्रेममय सद्भावले मन हर्षविभोर बनायो।

रातको करिब ९ बजे हामी त्यहाँबाट विदा भयौँ। हाम्रो यात्रा समूहको अन्तिम दिन भएकाले मन भारी थियो। मैले सम्झनाका लागि गाडीभित्र तस्बिर खिचेँ। पछाडि बसिरहनुभएका हर्क साउदज्यूले हाँस्दै भन्नुभयो—“डुवर्सको क्यामेरामा हाम्रो मिर्मिरे तस्बिर!” सबैजना गलल हाँस्यौँ। थकित शरीर गाडीको सिटमा बिसायौँ। गाडी भोजपुरको बाटो हुँदै अघि बढ्यो। गुरुजीले बत्ती निभाउनुभयो, र बत्तीसँगै हामी निदायौँ।

गाडीले अनेक घुम्ती पार गर्दै आफ्नै गतिमा गुडिरह्यो। दिक्तेललगायत विभिन्न ठाउँहरू पार गर्दै बिहान २ बजेर ३० मिनेटमा हामी हलेसी पुग्यौँ। त्यहीँबाट हाम्रो सामूहिक यात्रा टुङ्गिनु थियो। निदाइरहेका साथीहरू ब्युँझिए। मैले सबैसँग अन्तिमपटक हात मिलाएँ। मनमा खिन्नता छायो—फेरि यो भेटको संयोग कहिले मिल्ला या नमिल्ला?

हलेसी मन्दिरको प्रवेशद्वारसम्म टेक तामाङज्यू र डा. भक्त राईज्यू हामीलाई छाड्न आउनुभयो। बस्ने व्यवस्था पनि टेक तामाङज्यूले नै मिलाइदिनुभएको थियो। हर्क साउदज्यू पनि पछि–पछि आइपुग्नुभयो। उहाँहरूसँग हात मिलाउँदै, अङ्कमाल गर्दै हामी छुट्टियौँ। तलबाट बसले हर्न बजायो, र त्यो ध्वनिसँगै एउटा अविस्मरणीय यात्राको अध्याय समापनतिर बढ्यो। गाडी विस्तारै हलेसीदेखि काठमाडौं पदमार्गतिर अघि बढ्यो।

डा. भक्त राईज्यू यात्राभरि हामी सबैका अभिभावकझैँ हुनुहुन्थ्यो। हरेक कठिनाइ, हरेक अप्ठ्यारो र प्रत्येक चुनौतीको क्षणमा उहाँ सधैँ हाम्रो अगाडि दृढ साथका साथ उभिनुहुन्थ्यो। यस सातदिने पदयात्राको सफल संयोजनकर्ता पनि उहाँ नै हुनुहुन्थ्यो। उहाँकै कुशल नेतृत्व, दूरदृष्टि र प्रेरणादायी अगुवाइका कारण हामीले यो अविस्मरणीय यात्रालाई सुखद, सार्थक र जीवनोपयोगी अनुभवका रूपमा आत्मसात् गर्ने अवसर पायौँ। उहाँको स्नेह, आत्मीयता र संरक्षणप्रति हामी सदैव ऋणी रहनेछौँ। हाम्रो स्मृतिपटलमा उहाँको व्यक्तित्व, योगदान र स्नेहमय तस्वीर सधैँ अमिट अक्षरमा अंकित रहनेछ।

डा. भक्त राईका अनुसन्धानका प्रमुख क्षेत्रहरू अत्यन्तै व्यापक, गहन र बहुआयामिक छन्। उहाँको अध्ययनको मूल केन्द्र सांस्कृतिक अध्ययनअन्तर्गत संस्कृति सिद्धान्त, सांस्कृतिक इतिहास, सांस्कृतिक अन्तरक्रिया तथा अन्तरसंस्कृतिक सञ्चारजस्ता विषयहरूमा केन्द्रित रहेको छ। संस्कृति केवल परम्पराको निरन्तरता मात्र नभई समाजको चेतना, पहिचान र परिवर्तनशील यात्राको आधार हो भन्ने मान्यताका साथ उहाँले नेपाली संस्कृतिको विविध आयामलाई गहिराइबाट अध्ययन गरिरहनुभएको छ।

त्यसैगरी मानवशास्त्रअन्तर्गत सांस्कृतिक मानवशास्त्र, लोकजीवन, नृवंशविज्ञान तथा लोककथात्मक परम्पराहरू उहाँका विशेष रुचिका क्षेत्रहरू हुन्। नेपाली समाजका मौलिक जीवनशैली, परम्परागत विश्वास, सामाजिक संरचना, लोकसंस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौखिक परम्पराहरूको सूक्ष्म अध्ययनमार्फत उहाँले नेपाली सभ्यताको जरा र यसको सामाजिक बनोटलाई थप स्पष्ट पार्ने प्रयास गर्नुभएको छ।

नेपाली इतिहास, ऐतिहासिक घटनाक्रम, सांस्कृतिक विकासक्रम तथा नेपाली भाषा-साहित्यप्रतिको उहाँको अध्ययनले नेपालको सांस्कृतिक संरचनालाई अझ व्यापक, समृद्ध र बहुआयामिक रूपमा विश्लेषण गर्ने आधार प्रदान गर्दछ। गुणात्मक तथा परिमाणात्मक दुवै अनुसन्धान पद्धतिहरूको सन्तुलित र प्रभावकारी प्रयोगमार्फत उहाँ नेपाली समाजका सांस्कृतिक अभ्यास, परम्परा, विश्वास प्रणाली र सामाजिक रूपान्तरणका विविध पक्षहरूको गहन अध्ययनमा निरन्तर समर्पित हुनुहुन्छ।

डा. राईको मूल लक्ष्य नेपाली संस्कृतिको गहनता, ऐतिहासिक महत्त्व र वैश्विक सान्दर्भिकतालाई उजागर गर्दै यसलाई अन्तर्राष्ट्रिय बौद्धिक विमर्शसँग जोड्नु हो। उहाँको अनुसन्धान केवल शैक्षिक उपलब्धिमा सीमित नभई नेपाली सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र विश्वमञ्चमा यसको गरिमामय पहिचान स्थापित गर्ने दिशातर्फ उन्मुख छ।

यात्राका सहयात्रीहरू—जाहिद (टर्की), टेक तामाङ, प्रसाद तामाङ, सबैसँग बाँडिएका संवादहरूले यो यात्रालाई केवल पदयात्रा नभई विश्वमैत्रीको सेतु बनाइरहेका थिए। छैटौँ दिनको यो यात्रा डुवर्सको क्यामेरामा कैद भएको मिर्मिरे तस्बिरजस्तै रह्यो—धुवाँ, गुराँस, हाँसपोखरी, एकान्त, आत्मीयता र प्रकृतिको अद्वितीय सौन्दर्यले भरिएको। यस दिनले सिकायो—यात्रा केवल पाइला चाल्नु होइन, आफूभित्रका अनेक दृश्यहरूलाई पनि चिन्नु हो। मुन्धुम पदमार्गमा बितेका यी क्षणहरू अब केवल स्मृति होइनन्; ती जीवन बुझ्ने एउटा जीवित पाठ बनेर मनभित्र बसिरहनेछन्।

मुन्धुम पदमार्गको इतिहासमा यो यात्रा केवल एउटा साधारण पदयात्रा थिएन; यो त सांस्कृतिक, साहित्यिक र विश्वमैत्रीको अनुपम अध्याय थियो। पहिलोपटक नेपालका सातै प्रदेशका स्रष्टाहरू र विश्वका ११ मुलुकबाट आएका साहित्यकार, कलाकार तथा बौद्धिक व्यक्तित्वहरूलाई एउटै यात्रामा समेट्दै अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन सम्पन्न गरिनु आफैँमा ऐतिहासिक उपलब्धि बन्यो। यस अभियानले मुन्धुम पदमार्गलाई स्थानीय भूगोलको सीमाबाट उठाएर अन्तर्राष्ट्रिय चिनारी दिने महत्वपूर्ण आधार तयार गर्‍यो। आयोजकहरूको विश्वास थियो—जब स्वदेशी तथा विदेशी स्रष्टाहरूले यो पदमार्गलाई आफ्नै आँखाले देख्नेछन्, यसको सौन्दर्य, सभ्यता र सांस्कृतिक गहिराइलाई अनुभूत गर्नेछन्, तब उनीहरू आफ्ना सिर्जनामा मुन्धुमलाई विश्वमञ्चसम्म पुर्याउने सेतु बन्नेछन्।

यो केवल भ्रमणको आयोजना थिएन; यो त मुन्धुम पदमार्गलाई विश्व साहित्य, संगीत र सांस्कृतिक संवादसँग जोड्ने दूरदर्शी परियोजना थियो। स्रष्टाहरूलाई प्रत्यक्ष पदयात्रा गराएर, यहाँको भूगोल, इतिहास, किरात सभ्यता, मुन्धुम दर्शन र स्थानीय जीवनशैलीबारे गहिरो जानकारी प्रदान गरिने, त्यसपछि उनीहरूबाट मुन्धुम पदमार्गबारे गीत र साहित्य सिर्जना गराइने योजना अत्यन्त दूरगामी देखिन्थ्यो। अझ ती सिर्जनाहरूलाई स्वदेशी तथा विदेशी गायकगायिकाहरूबाट स्वरबद्ध गराई रेकर्ड गर्ने लक्ष्यले मुन्धुम पदमार्गलाई केवल नेपालको सम्पदा नभई विश्व सांस्कृतिक सम्पर्कको साझा आवाज बनाउने संकेत दिइरहेको थियो।

यस ऐतिहासिक यात्रामा नेपालका सातै प्रदेशबाट स्रष्टाहरूको गौरवपूर्ण उपस्थिति थियो। मधेस प्रदेशबाट धीरेन्द्र प्रेमर्षि, बागमती प्रदेशबाट लक्ष्मी रुम्बा, सुस्मिता नेपाल र सविता रेग्मी, गण्डकी प्रदेशबाट वसन्त वित्यासी थापा र भीम मास्की, लुम्बिनी प्रदेशबाट देव राना, कर्णाली प्रदेशबाट सागर उद्गम र अम्बिका गौतम तथा सुदूरपश्चिमबाट हर्क साउदजस्ता स्रष्टाहरूको सहभागिताले यो यात्रालाई राष्ट्रिय प्रतिनिधित्वको विराट स्वरूप दियो।

नेपालबाहिरबाट पनि सहभागिताको दायरा उत्तिकै प्रभावशाली थियो। भारतको दार्जिलिङबाट डा. सुरेन्द्र चामलिङ र सौरभ राई, डुवर्सबाट प्रशान्त थुलुङ र दुर्गा राई चामलिङ, सिक्किमबाट मोहन दुङ्माली र उहाँका धर्मपत्नी, भुटानबाट धनराज राई र दिलकुमार राई; चीनबाट चुङलिङ र चाङलुङ; अष्ट्रेलियाबाट स्टिफन फोडेहम; टर्कीबाट जाहिद र एर्कान टेटिकलगायत रसियाबाट इन्जिना, सिङ्गापुरबाट सोफिया, फिलिपिन्सबाट एलिजा, जापान खिरिडा र कोरियाका स्रष्टाहरूको सहभागिताले मुन्धुम पदमार्गलाई साँच्चै विश्वको साझा यात्रास्थल बनाइदियो।

फरक भाषा, फरक संस्कृति, फरक भूगोल र फरक पहिचान बोकेका यति धेरै मानिसहरू एउटै पदमार्गमा हिँड्दा महसुस भयो—साहित्य र यात्रा दुवैले सीमाना चिन्दैनन्। मुन्धुम पदमार्गमा पाइला चालिरहेका ती स्रष्टाहरू केवल यात्रु थिएनन्; उनीहरू संस्कृतिका दूत, सभ्यताका संवादकर्ता र भविष्यका इतिहासलेखकजस्ता लाग्थे। यो सम्मेलनले प्रमाणित गर्‍यो कि मुन्धुम केवल किरात सभ्यताको मौखिक शास्त्र मात्र होइन, विश्व समुदायलाई जोड्न सक्ने सांस्कृतिक दर्शन पनि हो।

यसरी हेर्दा, मुन्धुम पदमार्गको यो अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन एउटा यात्राको समापन मात्र थिएन; यो त विश्वसामु पूर्वी नेपालको सभ्यता, सौन्दर्य र सृजनात्मक चेतनालाई स्थापित गर्ने आरम्भ थियो। भविष्यमा जब विभिन्न भाषामा मुन्धुमका गीतहरू गुञ्जिनेछन्, तब यस यात्राका ती पाइला केवल बाटामा सीमित रहने छैनन्—ती विश्वसाहित्य र विश्वसङ्गीतको स्मृतिमा अमिट पदचिन्ह बनेर बाँचिरहनेछन्।
***********
सातौँ दिन
हलेसीको आध्यात्मिक आलोकदेखि घरफिर्तीको बाटो
बिहानको मधुरो उज्यालो कोठाभित्र पसेसँगै मेरो निद्रा खुल्यो। हामी हलेसीस्थित कर्मा नर्वु होटल एण्ड गेष्ट हाउसको न्यानो ओछ्यानमा थियौँ। घरबाट निस्किएको सात दिन पूरा भइसकेको थियो। समयले कति तीव्र गतिमा यात्रा गर्छ भन्ने अनुभूति यस दिन विशेष गरी भयो। हिजोसम्म हामी एउटा विशाल साहित्यिक, सांस्कृतिक र यात्रामय समूहमा थियौँ, तर आज त्यो हुलबाट छुट्टिएर केवल चार जनामा सीमित भएका थियौँ—म, सौरभजी, प्रशान्त सर र सुरेन्द्र सर। मानौँ, विशाल बथानबाट छुट्टिएको हरिणको सानो समूह, जसले अब आफ्नै लयमा अन्तिम यात्राको अध्याय लेख्दै थियो।

हलेसीको चिसो बिहानमा तातो चियाको चुस्कीसँगै मनमा अनौठो शान्ति र उत्साह मिसिएको थियो। नित्यकर्म सकेपछि हामी हलेसी महादेवको दर्शनका लागि अघि बढ्यौँ। होटल साहुनी जानुका मगरज्यूको पसलबाट प्रशान्त सर र सुरेन्द्र सरले फूलमाला, धूप र पूजा सामग्री लिनुभयो। बिहानको ताजापनले आँखामा अझै निद्राको हल्का छाया बाँकी राखे पनि शरीरमा यात्रा र दर्शनको स्फूर्ति थियो।

समुद्री सतहदेखि करिब ४,७३६ फिट उचाइमा अवस्थित हलेसी केवल धार्मिक तीर्थस्थल मात्र रहेनछ, यो त सभ्यता, सहिष्णुता र आध्यात्मिक समागमको जीवित प्रतीक रहेछ। हिन्दूहरूका लागि भगवान शिवको तपोभूमि, बौद्ध धर्मावलम्बीका लागि गुरु पद्मसंभवको साधनास्थल, र किराँत समुदायका लागि सांस्कृतिक स्मृतिभूमि—हलेसीले तीन धाराहरूलाई एउटै शिखरमा उभ्याएको अनुभूति भयो।

गुफाभित्र प्रवेश गर्दा पृथ्वीको गर्भमा छिरेझैँ लाग्यो। पापद्वार, धर्मद्वार, स्वर्गद्वार, जन्मद्वार र घोप्टे द्वार पार गर्दा केवल धार्मिक विश्वास मात्र होइन, जीवनका प्रतीकात्मक मोडहरू पनि पार गरिरहेको भान भयो। साँघुरा ढुङ्गे द्वारहरूले शरीरलाई मात्र होइन, मनलाई पनि परिक्षण गरिरहेका थिए। त्यहाँको प्राकृतिक बनावटले प्रकृति आफैँ एउटा अदृश्य शिल्पी रहेछ भन्ने पुष्टि गर्थ्यो।

माथिल्लो र तल्लो गुफाको दर्शन तथा परिक्रमा सम्पन्न गरेपछि हाम्रो यात्राले अर्को सांस्कृतिक उचाइ समात्यो—तुवाचुङ डाँडाको दृश्यावलोकन। हलेसीको आध्यात्मिक गहिराइबाट निस्केर अब हामी किराँती सभ्यताको आदिम स्पन्दनतर्फ उक्लिँदै थियौँ। दुईवटा अटोमा चढ्दा हामी चार जनाको समूह विस्तारिएर छ जनामा परिणत भयो। यस नयाँ यात्रामा सोलुखुम्बुबाट आएका मामा–भानिज दावा शेर्पा र दावा जाङ्बु तामाङ पनि हाम्रो सहयात्री बने। नवागन्तुक अनुहारहरूसँगको यो सहयात्राले यात्रालाई अझ जीवन्त बनायो, किनकि नयाँ मान्छेसँगको संगतले नयाँ दृष्टि र नयाँ अनुभव पनि थप्दो रहेछ।

करिब पन्ध्र मिनेटको छोटो तर रमणीय यात्रापछि हामी तुवाचुङ डाँडाको फेदीमा पुग्यौँ। उकालोमाथि उठिरहेको मलाथुम्की डाँडाको शिरमा अवस्थित तुवाचुङ जायजुम केवल प्राकृतिक सुन्दरताको केन्द्र मात्र होइन, यो त राई जातिको सभ्यता, संस्कृति र आदिम अस्तित्वको गहिरो स्रोत रहेछ। खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७, काभ्रेमा रहेको यो पवित्र स्थल किराँती इतिहासको मौन अभिलेख जस्तै लाग्यो।

जनविश्वास अनुसार यही भूमिमा किराँत चेली तायामा–खियामाले धागो कात्ने, तान बुन्ने र कपडा उत्पादनको प्रारम्भ गरेकी थिइन्। खोक्चिलिपाको तानढुङ्गामा सभ्यताको पहिलो धागो बुनेको किंवदन्ती केवल कथा मात्र होइन, त्यो किराँती चेतनाको सांस्कृतिक घोषणा हो। यसर्थ तुवाचुङ जायजुमलाई राई जातिको उद्गमस्थल, आदिमभूमि तथा सांस्कृतिक जन्मस्थलका रूपमा लिइन्छ। त्यहाँको हावा, ढुंगा र डाँडाले मानौँ अझै पनि तिनै आदिम कथाहरूको प्रतिध्वनि गरिरहेका थिए।

हलेसी जहाँ हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र बनेको छ, त्यहीँ तुवाचुङले किराँती सभ्यताको मौलिक पहिचानलाई उचाइ दिएको छ। यही दुई ऐतिहासिक–धार्मिक धरोहरको संयुक्त महत्वलाई आत्मसात गर्दै “हलेसी तुवाचुङ” नगरपालिका नामाकरण गरिएको रहेछ भन्ने तथ्यले भूगोल र इतिहासबीचको अद्भुत सम्बन्ध उजागर गर्‍यो।

तुवाचुङको शिरमा पुग्दा पर्खनबहादुर राईद्वारा चढाइएको लिङ्गो केवल काठको संरचना लागेन; त्यो त किराँती अस्मिता, स्वाभिमान र सांस्कृतिक अस्तित्वको प्रतीकजस्तै देखिन्थ्यो। त्यहाँ उभिँदा हामीले केवल दृश्यावलोकन गरेनौँ, बरु आफ्नै जातीय स्मृति, ऐतिहासिक गौरव र सभ्यताको जरालाई नजिकबाट स्पर्श गर्यौँ।

दावा शेर्पा, दावा जाङ्बु तामाङ र हाम्रो अटो चालक अशोक राईसँगको त्यो क्षण झन् विशेष बन्यो। फरक भूगोलका मानिसहरू एउटै सांस्कृतिक थलोमा उभिएर इतिहासलाई महसुस गर्नु आफैँमा यात्राको सार थियो। तुवाचुङ डाँडाले हामीलाई सिकायो—यात्रा केवल नयाँ ठाउँ हेर्नु होइन, आफ्ना जरा, आफ्नो पहिचान र सभ्यताको स्रोतसम्म पुग्नु पनि हो। त्यहाँबाट फर्कँदा हामीसँग केवल तस्बिर थिएनन्, चेतनामा अंकित एउटा गहिरो सांस्कृतिक अनुभूति पनि साथमा थियो।

तुवाचुङबाट फर्केर हामी होटल पुग्दा होटलका साहुनी जानुका मगरज्यूले स्वादिष्ट भोजन तयार पारिसकेका थिए। यात्राको अन्तिम दिनको त्यो भोजन केवल पेट भर्ने साधन थिएन, त्यो आतिथ्य, अपनत्व र यात्राको समापनको मिठास थियो।

खाना सकेर हामी ट्राफिक चोकतर्फ लाग्यौँ, जहाँबाट काकँडभिट्टातर्फ जाने सवारी समात्नुपर्ने थियो। करिब डेढ घण्टाको प्रतीक्षापछि “मकालु” लेखिएको बस आयो। हामी गाडीमा चढ्यौँ। गाडी बिस्तारै अगाडि बढ्यो। झ्यालबाहिरका पहाडहरू पछाडि हट्दै गए, तर मनभित्रका स्मृतिहरू अझ गाढा हुँदै गए। गाडीमा गीत घन्कीरह्यो । घरमा चाहिँ चिटिक्क परेकी प्यारी - नेपाली गीत ।

बाटो अफ्ठ्यारो, खाल्टा खुल्टी र भिरालो । हामी पछाडिदेखि अघिको सिटमा बसेका थियो । अफ्ठयारो बाटोमा गाडीले रफ्तर बडाउँदा हाम्रो टाउको माथि ठोकिन्थ्यो । दुध केशी तामा कोशीको तीर हुँदै गाडि गुडी रह्यो । हरियाली वन पाखा, सुन्दर दृश्यहरू नजरमा आउँदै पछि जान्थ्यो । यस्तो लाग्थ्यो, हामीलाई विदाइको हात हल्लाइरहेछ ।

उकालो–ओरालो, भीर–पहरा र अनवरत यात्राको थकानले शरीर क्रमशः गल्दै गएको थियो। सात दिनसम्मको हिँडाइ, भेटघाट, दर्शन र अनुभूतिले शरीरलाई विश्रामको माग गराइरहेको थियो, तर यात्राको गति भने आफ्नै लयमा चलिरहेकै थियो। त्यसैले कहिले निद्राको अधखुला संसारमा हराउँदै, कहिले अचानक ब्युँझिएर यथार्थमा फर्किंदै हाम्रो यात्रा अगाडि बढिरह्यो। बसभित्र बजिरहने गीतका स्वरहरू निद्राभित्र पनि चेतनाको कुनामा तरंगित भइरहेका थिए। कहिलेकाहीँ अचानक ब्रेक लाग्दा शरीर झस्किन्थ्यो, आँखाहरू खुल्थे, अनि फेरि झ्यालबाहिर अन्धकारसँगै दौडिरहेका पहाड, गाउँ र सडकका रेखाहरू देखिन्थे। ती क्षणहरूले अनुभूति गराइरहेका थिए—यात्रा केवल बाहिरी दूरी पार गर्नु होइन, यो त चेतना र अनुभूतिको गहिरो आवागमन पनि हो।

रात गहिरिँदै गयो, तर यात्राको कथाले विश्राम मानेन। धेरै समयपछि बस रातको करिब १२:३० बजे सप्तरीको बरमझिया पुग्यो। लामो समयको हल्ला, गति र थकानपछि बस रोकिँदा एक प्रकारको मौन विश्राम महसुस भयो। म बाहिर निस्किएँ। मध्यरातको समय भए पनि त्यहाँको वातावरणमा आफ्नै प्रकारको जीवन थियो। उज्यालो बत्तीमुनि देखिएको “नयाँ बुढा बाजेको पेडा” लेखिएको बोर्डले मेरो ध्यान अनायासै तान्यो। त्यो केवल एउटा पसलको नाम थिएन; त्यो त यात्राको बीचमा भेटिने स्थानीय पहिचान, स्वाद र संस्कृतिको सानो झ्यालजस्तै थियो।

केहीबेरपछि प्रशान्त सर र सुरेन्द्र सर पनि बाहिर निस्कनुभयो। सुरेन्द्र सरको स्वभाव सधैँझैँ जिज्ञासुले भरिएको थियो। उहाँ वरिपरिको ठाउँ, नाम, ठेगाना र पसलहरूबारे चासोपूर्वक सोधखोज गर्दै हुनुहुन्थ्यो। लोलाएका आँखाले डाइरीमा केही टिपोट गरिरहँदा यस्तो लाग्थ्यो, मानौँ उहाँ अर्धनिद्रामै पनि यात्राका प्रत्येक दृश्य र विवरणलाई शब्दमा कैद गरिरहनुभएको छ। उहाँलाई हेर्दा फेरि अनुभूति भयो—साँचो यात्रु केवल गन्तव्यमा पुगेर सन्तुष्ट हुँदैन; ऊ त बाटोका प्रत्येक संकेत, प्रत्येक दृश्य, प्रत्येक नाम र प्रत्येक स्थानीय स्पर्शसँग पनि संवाद गर्न चाहन्छ। यात्राको सार नै यही रहेछ—हेर्नु मात्र होइन, बुझ्नु; पुग्नु मात्र होइन, अनुभूत गर्नु।

सौरभजी भने बाहिर निस्कनुभएन। उहाँ मस्त निद्रामा डुबिरहनुभएको थियो, मानौँ सात दिनदेखिको अधुरो निद्रा आजै पूरा गर्ने अठोटमा हुनुहुन्थ्यो। वरिपरि वातावरण अशान्त थियो, यात्राको कोलाहल आफ्नै लयमा चलिरहेकै थियो, तर त्यस सबैबीच उहाँको निद्रा अद्भुत शान्तिको प्रतीक बनेको थियो। यस्तो लाग्थ्यो, कोलाहलले भरिएको संसारमा पनि केही मानिसहरू आफ्नै मौन विश्रामभित्र गहिरो शान्ति भेट्टाउन सक्छन्।

बरमझियाको त्यो मध्यरातीन विश्राम यात्राको सामान्य विरामभन्दा धेरै ठूलो अर्थ बोकेको थियो। त्यो क्षणले सात दिनको यात्रालाई मनभित्र पुनः एकपटक क्रमबद्ध गराइदियो—मुन्धुम पदमार्गका उकालाहरू, चाखेवाको आत्मीयता, टेम्के डाँडाको उचाइ, छिमालुङको शान्ति, हलेसीको आध्यात्मिक गहिराइ र तुवाचुङको सांस्कृतिक चेतना। ती सबै दृश्यहरू एक–एक गरेर स्मृतिपटलमा उज्यालिँदै गए।

यस सातदिने यात्राले केवल भूगोल नापेन; यसले इतिहासका पदचिह्नहरू छोयो, संस्कृतिको जरा अनुभूत गरायो, अध्यात्मको उचाइ देखायो र आत्मीयताको अमूल्य पाठ सिकायो। हलेसीको अन्तिम दिनले विशेष गरी एउटा गहिरो सत्य उजागर गर्यो—यात्रा कहिल्यै केवल गन्तव्यमा पुगेर समाप्त हुँदैन। वास्तविक यात्रा त त्यसपछि सुरु हुन्छ, जब देखिएका दृश्यहरू स्मृतिमा रूपान्तरित हुन्छन्, भेटिएका मानिसहरू अनुभूतिमा बस्छन्, र हिँडिएका बाटाहरू चेतनाभित्र स्थायी मार्ग बन्छन्।

हाम्रा पाइला घर फर्किने दिशातर्फ अघि बढिरहेका थिए, तर मनभित्रको यात्रा अझै रोकिएको थिएन। त्यो यात्रा अब सम्झनामा, लेखाइमा, अनुभूतिमा र आत्माको गहिराइमा निरन्तर चलिरहनेछ। यही नै यात्राको सबैभन्दा सुन्दर सत्य हो—गन्तव्य समाप्त हुन सक्छ, तर यात्राको प्रभाव कहिल्यै समाप्त हुँदैन।

डुवर्स, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।