19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विकासको जहर !

कविता कृष्ण बाउसे May 10, 2026, 4:35 am
कृष्ण बाउसे
कृष्ण बाउसे

तिमी मेरा मित्र हुन सकेनौ
म कसैलाई शत्रु बनाउने सोचमा छैन
कृपया मलाई निरपेक्ष रहन देऊ
तटस्थ रहन देऊ !

मनभरि
पहिरोका माकुरे जालहरू बुन्दै
मलाई
अझ प्रगाढ मित्रताको मन्दविष नपिलाऊ ।
नियतिको सिकार भएको म
रुनै परे पनि एक्लै रुन चाहन्छु
सान्त्वनाको निहुँ पारेर
मेरो मझेरी थर्काउँदै
तिम्रा कलुषित बुटहरू नबजाऊ ।

थाहा छ –
हितैषी ठानेर
मनको बह पोखेँ भने तिमीसँग
तिमीले
मेरो सिरिखुरीमै आँखा गाड्ने छौ

बाटो बनाउने भन्दै
घडेरी सम्याउने भन्दै
टावर ठड्याउने भन्दै
पानी जमाउने भन्दै
गिजोलेर मेरा अङ्गप्रत्यङ्ग
मलाई मेरै घरमा
सबैको घृणाको पात्र बनाउने छौ ।

त्यसै भएर
तिमीले खान खोजेको चुम्बाले पनि
सर्पदंशको पीडा दिँदै छ मलाई ।
घाँटी निचोर्न खोज्दा
अँगालो मार्ने तिम्रो चतु¥याइँ बुझेर
एउटा सुधो गाई
र एउटा छट्टु ब्वाँसोको कथाको
सम्झना हुँदै छ मलाई ।

हुन त
तिमी यस बेला मेरै स्वगत खाँदै
मेरो आँगनमै आइपुगेका छौ ।
र मितको साइनो लाएर भए पनि
तिमी मेरा सम्बन्धित भएका छौ ।

तर
जतिजति
तिमी मेरो तनको नजिक हुँदै गएका छौ
त्यतित्यति नै
तिमी मेरो मनको टाढा हुँदै गएका छौ ।

सम्बन्ध यस्तो पनि त हुन सक्ने रहेछ
सँगै भएर पनि टाढाको जस्तो सम्बन्ध !
परिचित भएर पनि
अपरिचितहरूको जस्तो सम्बन्ध !

त्यसैले
कृपया मलाई निरपेक्ष रहन देऊ ...
तटस्थ रहन देऊ ...

भिरालो नै ठिक छु म
उकालो ओरालो नै ठिक छु म
म त साङ्ग्रिलादेश !
म त आफैँभित्र रमाएको खप्तडको लेक !

ए बुलडोजर !
ए दातृराष्ट्र !
ए साहुकार !
सम्बन्ध नै तोड बरु
तर, मेरो परिवेशलाई नधमिल्याऊ !
कृपया मलाई
तिम्रो कथित विकासको जहर नपिलाऊ !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।