तिमी मेरा मित्र हुन सकेनौ
म कसैलाई शत्रु बनाउने सोचमा छैन
कृपया मलाई निरपेक्ष रहन देऊ
तटस्थ रहन देऊ !
मनभरि
पहिरोका माकुरे जालहरू बुन्दै
मलाई
अझ प्रगाढ मित्रताको मन्दविष नपिलाऊ ।
नियतिको सिकार भएको म
रुनै परे पनि एक्लै रुन चाहन्छु
सान्त्वनाको निहुँ पारेर
मेरो मझेरी थर्काउँदै
तिम्रा कलुषित बुटहरू नबजाऊ ।
थाहा छ –
हितैषी ठानेर
मनको बह पोखेँ भने तिमीसँग
तिमीले
मेरो सिरिखुरीमै आँखा गाड्ने छौ
र
बाटो बनाउने भन्दै
घडेरी सम्याउने भन्दै
टावर ठड्याउने भन्दै
पानी जमाउने भन्दै
गिजोलेर मेरा अङ्गप्रत्यङ्ग
मलाई मेरै घरमा
सबैको घृणाको पात्र बनाउने छौ ।
त्यसै भएर
तिमीले खान खोजेको चुम्बाले पनि
सर्पदंशको पीडा दिँदै छ मलाई ।
घाँटी निचोर्न खोज्दा
अँगालो मार्ने तिम्रो चतु¥याइँ बुझेर
एउटा सुधो गाई
र एउटा छट्टु ब्वाँसोको कथाको
सम्झना हुँदै छ मलाई ।
हुन त
तिमी यस बेला मेरै स्वगत खाँदै
मेरो आँगनमै आइपुगेका छौ ।
र मितको साइनो लाएर भए पनि
तिमी मेरा सम्बन्धित भएका छौ ।
तर
जतिजति
तिमी मेरो तनको नजिक हुँदै गएका छौ
त्यतित्यति नै
तिमी मेरो मनको टाढा हुँदै गएका छौ ।
सम्बन्ध यस्तो पनि त हुन सक्ने रहेछ
सँगै भएर पनि टाढाको जस्तो सम्बन्ध !
परिचित भएर पनि
अपरिचितहरूको जस्तो सम्बन्ध !
त्यसैले
कृपया मलाई निरपेक्ष रहन देऊ ...
तटस्थ रहन देऊ ...
भिरालो नै ठिक छु म
उकालो ओरालो नै ठिक छु म
म त साङ्ग्रिलादेश !
म त आफैँभित्र रमाएको खप्तडको लेक !
ए बुलडोजर !
ए दातृराष्ट्र !
ए साहुकार !
सम्बन्ध नै तोड बरु
तर, मेरो परिवेशलाई नधमिल्याऊ !
कृपया मलाई
तिम्रो कथित विकासको जहर नपिलाऊ !