19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आँसु

कविता ईश्वर पोखरेल May 12, 2026, 12:18 am
ईश्वर पोखरेल
ईश्वर पोखरेल

पाँच वर्षअघि आएका थिए- छोरी ज्वाइँ
र, खुशीले बिछट्टै उत्ताउली भएकी थिई- नवीना
त्यतिबेला उसको जाँगर
उसको फुर्तिफार्ति
उसको उत्साह
आहा, त्यति उज्याली त मैले उनलाई
कहिल्यै देखेको थिइनँ

त्यतिबेला उनले छोरी ज्वाइँलाई
कहाँ मात्र लगिनन्
मन्दिर लगिन्
पार्कमा लगिन्
केबुलकारमा संगै चढिन्
मोबाइलले खिच्ने फोटो उनलाई चित्तै बुझेन
हर्षमानको पुरानो फोटो स्टुडियोमा पनि लगिन्
त्यतिबेलै खिचेका थियौं- एउटा फोटो
छोरी र ज्वाइँसंग बसेर

मैले त भनेकै थिएँ :
'फारु गरेर खुशी हौ- नवीना!'
र, पछि पछुताएको थिएँ
खुशीमा पनि केको बन्देज भनेर

उनीहरू गै हाले ।
कुराकानी त हु्न्छ
सन्चोबिसन्चो थाहा त हुन्छ
एउटी आमालाई
त्यतिले मात्र नपुग्ने रहेछ क्यार
अचेल चकमन्न रातमा सुक्क सुक्क सुन्छु
सपना बिग्रिए पनि सुक्क सुक्क
घरमा केही मीठो पाके पनि सुक्क सुक्क
चाड आए पनि सुक्क सुक्क
छिमेकमा छोरी ज्वाइँ आए पनि सुक्क सुक्क
कसैले केही नमिठो भनिदिए पनि सुक्क सुक्क

फारु गरेर रोऊ' नवीना!
आँसु पनि सकी हाल्नु हुँदैन
केही आँसु त एक्कासी खुशी आउँछ कि भनेर
त्यतिबेला बगाउनका लागि पनि साँच्नु पर्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।