19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मानिस उखान-टुक्के: संवाद बकम्फुसे

कथा डिल्लीराम कट्टेल May 12, 2026, 12:24 am
डिल्लीराम कट्टेल
डिल्लीराम कट्टेल

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट्टेलसरलाई खासै कथा सुनाउने इच्छा त थिएन , तर आजकाल विद्यार्थीको जिद्दी अघि के नै गर्न सकिन्छ र ! अनि अल्छि-पाराले केहि न केहि त भन्नै पर्यो, त्यसपछि शुरु गरे , छेउ न टुप्पोको कथा ।)

ऊ कार्यलयबाट भर्खर घर आइपुगेको छ ।

के ट्वाल्ल परेर हेरेको ? उसले सोध्यो ।

हैन किन च्यांठिनु ? उनले थपक्कै फर्काइन ।

खायो ढिडो , हल्लियो हिड्यो , कति मजा है तिम्लाइ ! उनले वचन लगाइन ।

हो नि ! म त काम न काज , खाने बेलामा लाज भएको मान्छे ! उसले व्यंग्य कस्यो !

अल्छी तिघ्रो , स्वादे जिब्रोले बोल्ने यस्तै त हो , उनी झन चर्किइन ।

हो त नि ! अल्छीले जति कसैले जान्दैनन् भन्ने थाह छैन र ! ऊ अझै रौसिन थाल्यो ।

ईख बिनाको मान्छे र बिष बिनाको सर्प के काम , अब इलम गर , उनले आखा तरिन ।

भो भो , अजिङ्गरको आहरा दैवले पुर्याउछन , ऊ ठट्यौलीमा लाग्यो ।

घर चलाउन कस्तो हुन्छ , अचानोको पीर खुकुरीलाई के थाहा उनले रिस पोखिन ।

त्यही त , तिमी नै हनुमान , तिम्रै पुच्छरमा घिउ दलेको टालो बांधेको, तिमीले नै लङ्का जलाको , उसले मौकामा चौका हान्यो ।

हो हो , तिम्रो त जिब्रो चिप्लो , मन भने कालो क्या, उनले आँखा कर्काइन ।

तिमी त बत्तीस लक्षण कि खोज्दा नि नपाइने , कसैलाई नि नचाहिने ऊ अझै जोसियो ।

आज तलब आउने दिन, मिठो-मसिनो केही ल्याए होला भन्यो , हात्ती आयो हात्ती आयो फुस्स, उनले दुखेसो पोखिन ।

एटीएम कार्ड तिमीलाई नै देको छु त , बादरको हातमा नरिबल बनाको छ, अहिले जिब्रो फट्कार्नु पर्ने ! उसले शब्द वाण तेर्स्यायो ।

तिमीसंग बोलेर के सक्नु , आलु खाइ पेडाको धाक लाउने बानी परेकै छ, उनको कन्पारो तातो ।

हो हो , अरुले घोडा चढेको देखेर आफू धुरी नचढ्नु है भन्दा एक कानले सुनेर अर्कोले उढाउने को हो , उसले पनि दियो दनक !

ए साच्चि ! बा-आमा भेट्न गाउँ जाउँ न, डाँडामाथिको जुन भैसक्नुभो , उनले कुरा कोट्याइन ।

कसैलाई के धन्दा , घरज्वाइँलाई खानकै धन्दा , ऊ झर्कियो ।

यही त होला नि आमाबाबुको मन छोराछोरी माथि , छोराछोरीको मन ढुङ्गा-मुडा माथी भनेको , उनले ओठे जवाफ लाइन ।

पोहोर साल बाले बिना सित्ती धान खाने मुसो, चोट पाउने भ्यागुतो बनाएपछि मेरो मन भाँच्चिएको छ, उसले वेदना पोख्यो ।

होइन नि ! बा ले छोरी कुटी बुहारी तर्साको पनि हुन सक्दैन र ? उनले कुरा मिलाउन खोजिन ।

खुबै ! आफ्नो दिउँ त मरिजाउँ , अर्काको पाउँ त चारमाना खाउँ खालका आफन्त छन गाउँमा, तिमी धेरै पुराण नलगाई बस , ऊ त झनै तात्तियो ।

अर्ती र ओखती तितो हुन्छ क्या , उनले संम्हाल्न खोजिन ।

जो होचो , उसको मुखमा घोचो , किन गरे त बा ले ! ऊ त बर्बराउन पो थाल्यो ।

यसरी तिललाई पहाड नबनाउ, बा ले पनि मुखमा राम-राम , बगलीमा छुरा गर्‍या होइन होला त, उनले सुझबुझ देखाउंदै कुरा मोडिन , बिनाकारण लहरो तान्दा , पहरो गर्ज्यो ।

खाजा के छ ? उसले चर्को स्वरमा सोध्यो ।

पहिला लुगाफाटो धोऔं न , उनले काम तेर्स्याइन ।

अघाएको भन्छ डाडापारी खाउँ , भोकाएको भन्छ डाडावारी खाउँ , उसले आँखा राता पार्दै लुगा धुन सघाउन थाल्यो ।

एकैछिनमा ऊ च्यापुमा हात लाएर बस्यो । किन नुन खाको कुखुरा जस्तो झोक्राको, उनले सोधिन । जागीर पनि नखाउं भने दिनभरको शिकार , खाउं भने कान्छा बाउको अनुहार भा´छ , उसले वेदना पोख्यो ।

त्यसो भन्नू हुन्न, न मामा भन्दा , ... मामा बेस, उनले ढाडस दिन खोजिन ।होइन हौ , यस्तै ताल हो भने त धोबिको कुकुर , घरको न घाटको भइने भो नि , ऊ अझै निरासिन थाल्यो । ह्या !! छोडिदेउ यी सब कुरा , उसैले कुरा मोड्यो ।


संगत गुनाको बुद्धि , बिउ गुनाको फल , भन्छन् , नानी खोइ त ? छोरीको बारेमा चासो राख्यो ।

त्यसलाई नि तातो पिँडालु , निल्नु न ओकल्नु भा छ , नयाँ स्कूल , होमवर्कको राश ! उनले नाक खुम्च्याइन ।

तरबार भन्दा कलम बलियो भन्छन् , पढोस न त , अलिकति सकारात्मक सास फेर्‍यो उसले ।

केहि क्षणमा सिङ्गार-पटार गरेर सानी नानी बाहिर निस्की, हे कली ! धपक्कै बली , बाउको नली छोराको मुरली ! उसले दाह्रा किट्यो ।

होमवर्क गर्न बसेकी छोरी यसरी बाहिर आउँदा कस्को पो टाउको तात्दैन र !

आकाशमा थुकी, मुखमा छिटा, होला नि फेरि! झिल्के भएर हिडेने बाउकी छोरी न परी , खेल्न जाने रे क्या ! उनले व्यंग्यात्मक ठट्यौली पारामा चोसो फिजाइन ।

भो भो , धेर छोरीलाई टाउकोमा नटेकाउ, अनिकालमा बीउ र हुलमुलमा जीउ जोगाउनुपर्छ , उसले थप्यो ।

आफ्नो थैलीको मुख बलियो बाध्नु , साथीलाई चोर भन्नै पर्दैन भन्ने त कानमा पर्‍या होला नि ! उसले शंकाको घेरा लगायो ।

ह्या ! शंकाले लङ्का जलाको राम्रो होइन क्या , जंगली काडालाई तिखार्नु पर्दैन , हाम्री नानी हुने बिरुवाको चिल्लो पात हुन् , उनले आफ्नी छोरीमा भरोसा जताइन ।

कहिलेकाही नपत्याउने खोलाले बगाउँछ भन्ने मात्रै मेरो कुरो , ऊ सम्हालियो ।

बाह्रवर्ष ढुङ्ग्रामा हाल्यो , कुकुरको पुच्छर बाङ्गै , हाम्रो बाबा कहिल्यै चेन्ज नहुने , सानीले पनि एक दनक दिएर खेल्न हिडी ।

हाहाहाहा ! देख्नुभो , खुकुरी भन्दा कर्द लाग्ने , उनको हाँसोको फोहोरा छुट्यो ।

जस्तालाई तस्तै , ढिँडालाई निस्तै पो दिएर गै त , छोरीले ! उसले पनि टाउको हल्लाउनै पर्‍यो ।

गफैगफमा लुगा नि धोइयो , उनले भित्रबाट अलिकति दहि-चिउरा ल्याइन, खाजको रुपमा । यो के ल्याएको , हात्तीको मुखमा जीरा , उसलाई खाजामा आँखा लागेन ।

पैसा न कौडी , बजार बजार दौडी , मनग्गे खान त हुनुपर्‍यो नि पोल्टामा , उनले भुइँमा वचन खस्न दिइनन । भोलि खेती तिर जाउं न , सागसब्वी नि ल्याउं , बा-आमालाई नि भेटौं , एक पन्थ , दुई काज उनले फेरि अघिको कुरा कोट्याइन ।

म गर्छु आग्राको कुरा, तिमी गर्छौ गाग्राको कुरा , ऊ झनक्क झन्कियो ।

यो पशुपतिको यात्रा , सिद्राको ब्यापार गर्न त तिमीलाई कस्ले पो सक्छ र !

भाइ फुटे , गंवार लुटे त थाहा होला नि ! यसरी अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सिनु हुँदैन । अघिको तितो , पछिको मिठो बिर्सनु हुन्न, उनले कुरा सपार्न थालिन ।

आफन्त जति सबै उल्फाको धन , फुपूको श्राद्द गरेर बस्या छन , यो कामकुरो एकातिर , कुम्लो बोकी ठिमीतिर , मलाई चाहिँ चित्त बुझेन , उसको अझै आफ्नो जिद्दी छोड्ने छाँट देखिन्न ।

कहिलेकाही दिसा पुछेर फालेको काठ पनि काम लाग्छ , यसरी हामीले लत्तो छोड्यो भने त उनीहरूलाई कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाइदिनु झै भैहाल्छ नि ! केहि पाउन , केहि गुमाउनु नि पर्छ ! अब ढिलो नगरौं , काम सांची आफुलाई , खान सांची अरुलाई भन्छन् । अब कानमा तेल हालेर नबसौं ,यसरी भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देखेर बस्नु त भएन नि । अहिले गाउँमा चुनावमा गएको बहाना पनि हुन्छ , नत्र पोहोर मरिन सासू , अहिले आए आशु हुन के बेर ! उनको हतारमा आशंका देखिन्थ्यो !

लामो गलफती पछि दुबै जोई-पोइ केहिबेर चुप बसे । बहस न हो , जति गरेपनि सकिन्न । तर निष्कर्षमा त पुग्नुपर्छ नै । त्यही भएर र पो हो कि , धेरैबेरको मौनतापछि उसले मन बदल्यो ।

सजीव देवता भेट्न जाने कुरामा के को आलटाल , यो त अल्प ज्ञान भयंकर सरह भै गो नि । सुन त, अकबरी सुनलाई कसी लाउनु पर्दैन क्या , अघि त मैले तिम्रो मन पो चोर्‍या त , अब बेर नगरौं , जाउँ , गाउँ ।

उसका कुराले उनको मन फुरुङ्ग भयो , हतार-हतार पोको पन्तुरो बाध्न थालिन ।

हतपतको काम लतपत होला है , उसले सम्झाउने प्रयास गर्‍यो । भो भो, नमच्चिने पिङको सय झट्का, कत्ति न आफु चाहिँ सधैं दुधले नुहाउने जस्तो । ठट्यौली पारामा उनले कामलाई निरन्तरता दिइन ।

गाउँ पुगेर फेरि बस्न पाँए भन्दैमा थ्याच्च नबस्नु, बोल्न पाँए भन्दैमा प्याच्च नबोल्नु , खान पाँए भन्दैमा क्वाप्प नखानु नि ! उनले सावधानी अपनाउने बाटो देखाइन । इन्द्रको अगाडि स्वर्गको बखान नगर न हौ , जन्मेर हुर्केको गाउँ हो त्यो मेरो , अतिको नतिजा खति हुन्छ भन्ने मलाई राम्रोसँग ज्ञान छ क्या ! उसले आफ्नै खुट्टामा बन्चरो नहान्ने बाचा गर्‍यो ।

कहिलेकाहीँ त तिमी आफ्नो आङको भैंसी नदेखी अरुको आङको जुम्रो देख्छौ ,र पो सम्झाको त !

मलाई अर्काको घरको खीर भन्दा आफ्नै घरको ढिंडो मीठो लाग्छ । अब म गाउँमा कुनै उपद्रव मच्चाउने छैन , उसले आस्वस्त पार्यो ।

के थाहा , आँखा लोभी मन पापी भन्छन् , लागेको पुरानो आदत बल्झिने पो हो कि भन्ने पिर नि , उनको शंका कायमै थियो ।

छोड्देउ यी सब कुरा, अब मलाई आफुले खनेको खाल्डोमा आफैं पर्नु छैन , ऊ अझै आफुलाई साधु सावित गर्नमै ब्यस्त थियो ।


अधि खेल्न निस्किएकी छोरी हातमा बढेमानको बलुन, चिजबल , कुरकुरे ... लिएर फर्कि ।

हेर त, आम्दानी आठानी खर्छ रुपियाँ । खेल्न गको मान्छे पसलै उठाएर आउँछन् त , उसले छोरीलाई अलि चर्को स्वरमा सम्झाउने प्रयत्न गर्‍यो ।

पसलको आन्टी मोबाईलमा बिजी हुनुहुन्थ्यो , जे जे चाहिन्छ लैजाउ भन्नुभो , आफ्नो हात जगन्नाथ , मैले पनि मनपर्ने सबै उठाएँ , उखानेकी छोरीले उखानमै जवाफ फर्काई ।


छोरी ! भित्र गएर अर्को कपडा लगाउ, आज हामी गाउँ जाने हजुरबुबा-आमा भेट्न । आमाको कुराले खुशी भएकी छोरीका भुइँमा खुट्टा थिएनन् । उमेरमा त्यति ठुली नभए नि छोरी नयाँ लुगा , यात्रा , श्रृङ्गार-पटार भनेपछि अलि बढी नै उत्ताउली बन्छे ।

एकैछिनमा सानी चिरिच्याट्ट परेर बाहिर निस्की , म कत्तिको राम्री भएँ ? , कसैले तपाईं भनोस नभनोस , आफैं मपाईं शैलीमा आमालाई प्रश्न गरी ।

कस्तुरीलाई सुँघिरहनु पर्दैन छोरी, उनले ट्वाक्कै उत्तर दिइन् । कच्चा वैद्यको मात्रा , यमपुरीको यात्रा होला है नानी ! उम्रदैको तीनपाते बनेर आमाको मेकअपका सामान धेर नघस है , उसले सम्झाउने शैलीमा कुरा लग्यो ।

मामु पनि , बाबा पनि , खाली गाली मात्रै गर्ने ? ओरालो लागेको बाछालाई मृगले पनि लखेट्छ है , सानीले पनि लगाई ओठे जवाफ । आखिर छोरी कस्की ? उखानेकी ! हाहाहा !


कुरैकुरामा उनीहरूका पोकापन्तुरा तयार भए । अघिपछि स्याहार , चोर आउने दिन बिस्याहार होला है , उसले झ्याल-ढोका राम्रोसँग लागे नलागेको एकिन गर्न खोज्यो ।

भान्साकोठाको झ्यालको छिड्किनी बिग्रेको रैछ , मैले त डोरीले बाँधे , अडको पड्को तेलको धुप, उनले कुरा नलुकाइ बताइन् ।


हतार-हतारमा निस्कने सुरसारमा उनीहरू बस बिसौनी पुगे । परबाट एउटा चिटिक्क परेको गाडी आयो , हर्न बजाउँदै । यसो चढन खोजेको त पुरै भरिभराउ , आसलाग्दो केटो जेठाजु पर्‍यो , अब कसरी जाने होला , उसले कन्पारोमा हात राख्यो । एकछिन पर्खौं न , काठमाडौबाट आउने नाइट कहिलेकाहीँ त खाली नै आउँछ हौ गाउँतिरको , उनले आशा राखिन ।

मनको लड्डु घिउसँह खाउ , पर्खिंदा-पर्खिंदा घामले टाउको फुटाउने भैसक्यो , कतिबेला आउँछ तिम्रो नाइट , लगन पछिको पोते ।

यत्तिकैमा एउटा माइक्रोबस आयो, दुइटा सीट खाली लिएर , मौका आउँछ पर्खदैन, बग्या खोला फर्कदैन , हत्तपत्त चढे , गाउँको यात्राको लागि ।


गाउँको घच्याकघुच्चुक बाटो , हुइँकियो माइक्रो । अलिबेरमा एउटा ब्यारियल तेर्सियो , पालिका कर रे , कहिँ नभएको जात्रा हाँडीगाउँमा , कति ठाउँमा , के-के कर हो , के-के कर । यातायात कार्यलयमा वार्षिक कर तिरेपछि त हुनुपर्ने होईन र ?! एउटाको जरा नउखेली अर्काको पात सपृन्न भन्थे हो रैछ , हामीले पाइलैपिच्छे कर नतिरे त नेताको मुखमा माड लाग्दैन क्यारे । उसले उनीसँग गरेको कुरा सुनिरहेको स्टकोट धारी नेता जस्तै देखिने, अर्को सिटमा बसिरहेको मानिसलाई चित्त बुझेनछ , फ्याट्टै बोलिहाल्यो , ए भाइ ! यसरी सबैलाई एउटै टोकरीमा नहाल्नु है कान छाम्नु छैन कागको पछि दगुरेर केही हुन्न ।

हरे शिव ! एउटा कुहिएको आलुले सारा बोरा कुहाउँछ भनेको यही होला , कसले कति गल्ती गर्‍यो दोस जति सबै नेता कार्यकर्तालाई !

नेताको कुराले उसलाई झन चुर्मुर्यायो , एक पटकको चोर सदा दिनको चोर , देश बनाउने कसम खाएकाले एक थुकी सुकी , सय थुकी नदी शैलीमा काम गर्नको साटो औंला दिंदा डुडुँलो निले झैं बजेट झ्वाम पार्नुपर्छ त ? नत्र यो बाटो यस्तै हुन्थ्यो , कुरा गर्‍यो कुरैको दु:ख । जनताको कुरा कसैले सुने पो । अरु देशका नेता आँखामा हाल्दा नबिझाउने हुन्छन् , हाम्रो देशका त हेर न , काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ , उसले भएभरको आक्रोश ओकल्न थाल्यो । पर अर्को सिटमा बसीरहेको अधबैंसेले पनि हो मा हो मिलाउँदै इस्ट्कोटे नेताको काटेको घाउमा नुन-चुक छर्कियो ।


लोग्नेको पारो अनायासै तातेको थाहा पाएपछि उनले कुरा मोढ्ने प्रयास गरिन , तीललाई पहाड नबनाउनु न । टाढाको देउता भन्दा नजिकैको भुत काम लाग्छ , उहाँ हाम्रै गाउँको समाजसेवी जस्तो देखिनुहुन्छ । उनको सान्त्वनायुक्त कुराले नेताजीको अलि सास आए जस्तो देखिन्थ्यो ।

हेर्नुस् सर , खाएको विष पो लाग्छ , तपाई त्यसै-त्यसै पड्केको देख्दा , नबर्सिने मेघ गर्झिन्छ धेर भनेको याद पो आयो ।

नेता जीको व्यंग्यले उसलाई झन जोस्यायो ,जो चोर , उसकै ठुलो स्वर! हेर्नुस् , टल्किँदैमा सबै चिज सुन हुँदैनन , राम्रो काम गर्ने नेता पाउनु भनेको स्यालको सिङ्ग समात्नु जस्तै हो , ऊ रोकिने छाँटकाँटमा थिएन ।

गाडीभित्रको माहोल बिग्रदै गएपछि भने उनले हस्तक्षेप गर्ने बिचार गरिन । लोग्नेको कान सुटुक्क फुकिन , दशा बाजा बजाएर आउँदैन, अब भो , धेर बहस नगरीकन बस्नुस, यी नेताले के-के गर्या छ्न / छैनन् त गाउँ पुगेर हेरेपछि दुधको दूध, पानीको पानी भैहाल्छ नि । तपाईंलाई यहाँ कसैले पाती लाइदिंदैन , चुप लाग्नुस, नबोल्नेले सधैं जित्छ । थाहा छ त तपाईंलाई , सबैजना धमिलो पानीमा माछा मार्न खप्पिस हुन्छन् । अहिले माहोल बिगारेर हात हालाहाल भयो भने ... रिसमा कसैले पनि वेद पढदैन ।


श्रीमतीका कुराले ऊ केही शान्त बन्यो , नेता जीले अर्कोतिर मुन्टो बटारे , तर गाडीको पछाडिको सिटमा बसेर कानमा तारको ठेडी कोचिरहेको नवयुवालाई यो सब बहस कानो गोरुलाई औंसी न पुर्णे जस्तो भैरहेको थियो । हुन त कुखुरा नबास्ने गाउँमा पनि उज्यालो त हुन्छ नै , त्यसैले कागलाई बेल पाक्यो , हर्ष न बिष्मात शैलीमा बसेको होला ऊ ।


केहिबेरमा माइक्रोबस आफ्नो स्टेसनमा पुग्यो । सबैजना उत्रिए , उनीहरू पनि उत्रिएर लागे आफ्नो पुर्ख्यौली घरतिर । हिँड्दै जाँदा उनीहरुले गाउँमा केही परिवर्तन भएको पक्कै देखे तर सोचेजस्तो चाहिं होइन ।


(ट्यार्‍ररररर घण्टी बज्यो, कक्षा सकिएको जानकारीका लागि । कट्टेल सर कथानक, पात्र , समय सन्दर्भ , समस्या कथन , समाधान आदि इत्यादी केहि नभएको ‘भनाउँदो कथा’ सकिएको जानकारी दिएर कक्षाबाट निस्कन लागेका थिए, फेरि उनै छात्रा , (जसले कथा भन्न अनुरोध गरेकी थिइन्)ले प्रश्न गरिन ``सर! यति धेरै उखान कहाँ सिक्नुभयो ?´´ नानी ! मैले यी सबै उखानहरु `हजुरआमा विश्वविद्यालय´मा सिकेको हुँ , हजुरआमा विश्वविद्यालयमा सिकेको शिक्षाको प्रमाणपत्र त हुन्न , तर जीवनोपयोगी दर्शन , ब्यबहारिक सीप , सामाजिक चेत , पारिवारिक संस्कार , मानवीय संबेदनशीलता र भावनात्मक एकताको सुत्र भने भेटिन्छ ।´´ कट्टेल सरका कुरा कति बुझिन कुन्नी , अर्को पिरियड शुरु हुँदा समेत उनी अघिल्लो पिरियडकै धङधङीमा रुमल्लिरहेकी देखिन्थिन । सायद कट्टेलसरले कथाका तत्वहरु समेटिएको मिठो कथाको सट्टा उखान टुक्कालाई वाक्यमा प्रयोग गर्ने प्रयास गरेको उनले बुझिन कि?!?!)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।