19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बारुदभित्रको मानवता

कविता तोमनाथ उप्रेती May 12, 2026, 12:26 am
तोमनाथ उप्रेती
तोमनाथ उप्रेती

बारुदको गन्धले भरिएको हावामा
अझै बाँकी छ
मानवताको सास
धुवाँले छोपिए पनि
पूरै निभ्न नसकेको
दीपझैँ टल्किरहेकी।
गोलीको कर्कश आवाजबीच
एउटी आमा लोरी गाउँछिन्,
कति गहिरो विडम्बना
मृत्यु नजिकिँदै गर्दा पनि
जीवनलाई सुताउन खोजिन्छ।
ट्याङ्कको पहियाले कुचिएको बाटोमा
एउटा बालक
धुलोबाट सपना टिप्छ
जस्तो कि उसलाई अझै विश्वास छ
आकाश केवल युद्धका लागि होइन
उज्यालोका लागि पनि हो।
नेताहरू नक्सामा रेखा कोर्छन्
र सिमानाहरूले रगत बगाउँछन्
कति हास्यास्पद दृश्य!
धरतीलाई त कहिल्यै थाहा थिएन
उनी यसरी टुक्र्याइएकी छिन्।
एक सैनिक
आफ्नै छायाँसँग डराउँछ,
किनकि ऊ जान्दछ
उसले हानेको प्रत्येक गोली
कसैको कथा अन्त्य हो।
तर त्यही क्षण
एक हातले अर्को हात समाउँछ
धर्मभन्दा पर
भाषाभन्दा पर
देशभन्दा पर
केवल “मानव” भएर।
सायद यही हो
बारुदभित्रको सत्य
विनाशको गर्जनभित्र पनि
मौन, तर अटल
मानवता अझै बाँचेकी छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।