ओम रिजालको `पैकेलो´ र निलम कार्की निहारिकाको `राजमाता´ संगै नेपालको इतिहासमा नलेखिएका पराक्रम र राजकाजका वास्तविक कथाहरूले माथा इतिहासमा रन्थनिरहेको केहि दिनमा नै स्तम्भकार एवं पद्मश्री साहित्य पुरस्कार (२०७७)बाट पुरस्कृत अब्बल लेखक , केशव दाहाल कृत अर्को ऐतिहासिक आख्यान हातामा पर्यो । बलात्कारको पिडाबाट अग्निस्नानसम्मको निर्णयमा पुगेकी पुर्व कुमारीलाई म्याजिकल रियलिज्म शैलीबाट प्रस्तुत गर्दै स्वनिर्बन्धमा पुर्याउने र ` जीवन हुनुजति सुन्दर कुरा जीवनमा अरु केही छैन । जब जीवन हुन्छ , त्यसपछि यसको अर्थ , औचित्य र प्रयोजन प्रारम्भ हुन्छ - पृ. ३७६ ।´ भन्ने दृढता सहितको नवजीवन दिलाउने नारी आवाज, नारी प्रतिज्ञा र नारी विप्लवको त्रिआयाममा गाँसिएको इतिहास र कथाको सुन्दर माला हो - ``इथा´´ ।
कुनै अमुक पद/प्रतिष्ठा/उपादीले मानवीय समवेदनालाई रोक्न सक्दैन , तर उल्लेखित सामाजिक बन्धनकारी डोरीमा आफूलाई देखावटी बन्धकी बनाउने फोस्रो अभिप्रायले एक सबल मानिसमा मानसिक बिचलन आउँछ भन्ने सुक्ष्म विश्लेषणात्मक टिप्पणी उठाएर शुरु भएको इथाले माथामा प्रत्येक परिघटना पढिरहँदा ज्वारभाटा उत्पन्न गराउँछन् । अनावश्यक सामाजिक बन्धनले मानिसलाई स्व-अन्त्यसम्म पुर्याउने कुरामा दाहाल प्रष्ट देखिन्छन् । (... त्यही अनुछेंमा बस्थी कुमारी वसुधा । जसले राधा जन्मोत्सवको दिन अग्निस्नान गर्ने निर्णय गरेकी थिई - पृ. ४ ।) प्रेममा समर्पणको नारा देखाएता पनि पुरूषहरू प्रेममा स्वार्थपूर्तिका आकांक्षाबाट बाहिर आउन नसक्ने तितो यथार्थको विश्लेषणात्मक पुष्टि गर्न दाहालले झण्डै-झण्डै पच्चीस सय बर्ष अगाडिको कथामा मिहिनेत गरेका छन् । खासगरी दरबारीया र कुलीन खानदानी पुरुषहरू प्रेमको टेकोमा यौनको सिद्दी पछि अलप हुन्छन् भन्ने कुरा राजकुमार शुभकामदेवले वसुधामा गरेको `भोग´को परिघटनाले स्पष्टता दर्शाउँछ । यस्ता स्वार्थप्रेरित प्रेमबाट पीडित महिलाहरू आत्महत्यासम्मको निर्णयमा पुग्छन् । (म यसकारण इन्द्राजात्राको दिन शुभकामदेवको आँखै अगाडि अग्निस्नान गर्न चाहन्छु , ता कि उसलाई जिन्दगीभर आत्मग्लानि होस - पृ. २६) व्यभिचारी पुरूषको नग्नता यहाँ भेटिन्छ । यतिमात्र होईन , आफ्नो यौन दुर्बलता कुनैपनि हालतमा स्विकार्न नसक्ने पुरूष मानसिकता उजागर गर्न दाहालले `महासमागम´ जस्तो सिङ्गो च्यापटर नै राखेका छन् , जसमा यौन भन्दा बढी पुरुष घमण्ड देखिन्छ । सार्वजनिक समारोहमा एउटी नारीलाई नङ्ग्याउनुलाई उनीहरू धर्म ठान्छन् । आफ्नो यौन उत्तेजनामा तथाकथित पुरूषत्व सिद्ध गर्न नरबली समेतको कुकृत्य गर्न पछि नपर्नु पुरूष उदण्डता र सत्ता उन्मादको प्रतिक होईन र ?! सँगसँगै , आफ्नो मालिकत्व र पुरूषार्थ सिद्द गर्न बहुविवाहमा रम्ने राजा प्रमाती अहंकार र अरूको स्वतन्त्रता अस्वीकार्य पुरूष शासक हो । यतिमात्र होइन , सौमर राजा जेतेदास्तीको नारीप्रतिको आसक्तिपना पनि निच पुरूष शासनको मानसिकताको चित्रण हो ।(स्त्रीहरूका कुनै पनि मामला निजी हुदैनन् , ती सबै पुरूषका मामला हुन्छन् - पृ. २५४) यस प्रकारको सोचाइको आत्मरतीमा रमाउने शासकलाई भने दाहालले चोटिलो झापट भने दिएका छ्न । (... तपाईं आसक्तिलाई प्रेम ठान्नुहुन्छ र अहंकारलाई पुरूषत्व … तर म गरिमाबिनाको प्रेमलाई मूल्यहीन ठान्छु - पृ. २५५) नारी प्रतिज्ञा मार्फत कठोर बिद्रोहको चेतले आख्यानलाई थप ससक्त बनाएकोछ ।
म्याजिकल रियालिज्ममा टाइम मसिनको अवधारणा मिश्रित तथा कतिपय ऐतिहासिक घटनालाई पौराणिक तर `एक्स्ट्रीम क्राइम थृलर´ शैलीमा पस्किएको इथालय , एउटा अदभूत लेखनको सपाट नमूना हो जसले लेखन शैलीको मात्र होइन, सोचन शक्तिको पनि भरपूर प्रयोग गरेको छ ।
बलात्कार जस्तो जघन्य सामाजिक एवं कानुनी अपराधबाट पीडित नारीको दृष्टिकोणबाट लेखिनु पनि इथाको अर्को अलौकिक शैली हो , जसमा बदनाम होईन बदलाको गहिरो प्रतिज्ञा भेटिन्छ । (आफूले कहिल्यै नगरेको गल्तीका लागि म किन उदास बन्ने ? बस त्यही क्षण उसले आफूलाई हीनभाव र दोषबाट निर्मल गरिदिई - पृ. ६१) कथा पौराणिक शैलीमा अघि बढेपनि नारी शोषणको परिघटनाको प्रस्तुतिमा वर्तमान समाज नै दर्पित हुन्छ , जो आफैंमा म्याजिकल रियलिज्म हो ।
मुल कथाको अतिरिक्त इथामा लगभग पच्चीस सय बर्ष अगाडिको तत्कालीन समाजका खासगरी शासक वर्गले सृजना गरेका वास्तुकलाका नमुनाहरू समेतको विवेचनात्मक प्रस्तुति पनि भेटिन्छ । (दरबारका खापाजरूमा सहस्र खापाहरू थिए । … ती स्वर्णजडित खम्बा , चाँदीझैं टल्कने बढेमानका ढोका , … वरिपरि बुट्टेदार झ्यालहरू, … - पृ. ८४; … कलात्मक टँडालहरू, जसलाई नियालेर हेर्दा देखिन्थे , यौन र प्रेमका रोमाञ्चक कथा… पृ. ९३) शासकहरूको विलासिताको जीवनशैलीको स्पष्टता हो इथा जसको पुर्णताको लागि लेखकले हरेकजसो परिघटनाको वर्णनमा आउने झिलमहल जस्ता भवनहरुको चिनारीमा लामै समय खर्चिएका छन् । अर्कोतिर , मगध सम्राट , बिम्बिसारको राजमहलको द्वारपालका लागि निर्मित विश्रामगृहको रुग्णताको बर्णन हेर्दा तत्कालीन सामाजिक बर्ग विभेदको पनि सपाट चित्रण हुन्छ । सँगसँगै उपकथामा बुनेर दाहालले प्राचीन किराँतहरूको उपत्यका प्रवेश , खुवालुङको पुजन र महत्त्व , तत्कालीन जीवनशैली आदि बडो सुन्दर माला स्वरुपमा बुनेकाछन ।
ऐतिहासिक पृष्ठभूमिमा लेखिएको भएता पनि इथाले आधुनिक जीवन-दर्शनलाई समेत संगसगै बोकेर हिडेकोछ । (पानी निरन्तर बगिरहन्छ , यो आंशिक सत्य हो , जब पानी घैलामा राखिन्छ , त्यो स्थिर हुन्छ - पृ. १३६ ।) वर्तमान राजनीतिलाई समेत स्पष्ट पार्ने पितृहन्ता पुत्र , अजातशत्रुको तानाशाही सत्ताहत्याको बर्णन हो , जसमा सत्ता पाउनको लागी गरिने कुकृत्य र कुकर्म छर्लङ्ग हुन्छ । यसका अलावा , जीवन भोगाइको अनवरत यात्रामा , मानिसले आरोह भन्दा अवरोहमा आफूलाई बढी महसुस गर्दछ (दु:खको आफ्नै घनत्व र तौल हुन्छ , रानी । कसका दु:ख भारी र कसका हलुका , त्यो दु:ख बोक्नेको सामर्थ्यले बताउने कुरा हो - पृ.१६० ।) भन्ने दार्शनिकता दिन पनि दाहाल पछि परेका छैनन् । नियमित जीवन भोगाइलाई परिवर्तन गरेपछि मानिसमा अनिश्चितता बढ्नु स्वभाविक नै हो तर जीवन दर्शनको अठोट परिवर्तन गर्नुहुन्न (बाटोले कतै पुर्याँदैन, खासमा बाटो हामीलाई पर्खिबसेको हुन्छ, हामी आउँछौँ र बाटोमाथि चढेर स्वयम् अगाडि बढछौँ -पृ.२०४) भन्ने गहन चेतले भरिपूर्ण कथाको इतिहास हो - इथा । नजानिदो पारामै दार्शनिक चेतको गहनता पस्किन खप्पिस दाहालले धरती , वायु , पानी , आकाश र आगो जस्ता अनन्त प्राकृतिक बस्तुहरू मानव जीवनका सबैभन्दा ठुला पाँच गुरू हुन भनेका छन , जसबाट मानिसमा जीवन भोगाइका अमेट्य पाँच विज्ञानहरू: समानता , गतिशीलता , जीवन्तता , व्यापकता र न्यायको महाज्ञान प्राप्त हुन्छ । धर्म , ज्ञान सत्य , मानवता आदि परिभाषित गर्ने क्रममा उनले सभ्यताको जननी राजधर्म, प्रजाधर्म र समाजधर्मको योग हो भनेका छन् । प्रभुत्व `म´बाट चेतन `म´मा परिवर्तन हुनका निम्ति मानिसले गर्नुपर्ने कठिन साधनाको शृङ्खलाबद्ध प्रस्तुतिले त्रिपिटकको चुरो उजागर गरेकोछ ।
किराँत सभ्यताको मानव उत्पति चरण देखि चराचर जगत सम्मको अन्तरबस्तुमा गहन अध्ययन गरेका दाहालले पञ्च तत्वको समिश्रणबाट चल्ने मानव जीवनमा इश्वर नै प्रकृति र प्रकृति नै ईश्वर हुन् भन्ने सौमर दार्शनिकता प्रस्तुत गरेका छन् ।
झन्डैझन्डै संपूर्ण आख्यानको गुदीलाई केन्द्रविन्दुमा राखेर पस्किएको `महायज्ञ´ एउटा यस्तो यज्ञको स्वरूपमा प्रस्तुत गरिएकोछ , जसमा `सर्वधर्म मानवधर्म´लाई केन्द्रीकृत गरिएकोछ । यसमा विभिन्न नाम र संप्रदायमा बिभाजन भएको समाजलाई `मानव समाज´ बनाउने अभिप्राय स्पष्ट हुन्छ । (ज्ञानानवरन , दर्शनावरण ,वेदनीय ,मोहनीय , अन्तराय , आयु , नाम र गोत्र यी आठ चीजबाट मान्छे मुक्त भयो भने ऊ ईश्वर बन्छ - प्र. ३१०) ठाउँठाउँमा कुनै महापूराण श्रवण गरेको अनुभुति हुने इथाको दार्शनिक गुदीमा रुमलिएर हिड्दा मानिसलाई सांसारिक भ्रमको भ्रमणबाट आत्मिक भ्रमणमा लिन हुन अभिप्रेरणा प्राप्त हुन्छ । हरेक वाक्य र वाक्यांश नै उच दार्शनिक चेतबाट बगेको यो यज्ञ छिचोल्न पाठकले पनि अलि बढी नै समय खर्चिनुपर्ने देखिन्छ ।
नारीवादको आत्मामा लेखिएको तर बुद्ध दर्शनको सेरोफेरोमा घुमाउरो शैलीमा हिड्ने सिलसिलामा एक पात्रले स्वयं नै सारनाथमा तथागत बुद्धसंग संवाद गर्नु , एउटा संयोग मात्र नभै अहिंसा र जैविक न्यायको पर्याय बुद्ध दर्शन हो भन्नु बुद्ध दर्शनको प्रमाण हो । नयनताराले हर क्षण युद्धको अस्विकार गर्नु र शान्तिपूर्ण जीवनको पक्षपोषण गर्नु पनि उल्लेखित अर्को तथ्य हो । `म दयामा भन्दा न्यायमा धेरै विश्वास गर्छु - पृ. २४९ ।´ जस्ता बुद्ध दर्शनका आदर्श सहित अघि बढिरहँदा नारी भित्र हुने मानवीय समवेदनशीलताको स्निग्ध चित्र भेटिन्छ । साथै बुद्ध दर्शनका चार उप-दर्शनहरूको विश्लेषणात्मक बर्णन पनि भेटिन्छ - इथामा । जन्म , मृत्यु , आत्मा , जीवन आदि चराचर जगतको परिभाषा गर्ने क्रममा पनि बुद्ध दर्शनको गहिरो अध्ययनको दर्पणा भेटिन्छ । विश्वशान्तिलाई केन्द्रीय भुमिकामा राखिएको महायज्ञ , दाहालको विश्वबन्धुत्वको मनोकांक्षाको उपज हो । यसले मानिसलाई जान-अन्जानमा गरेका गल्तीमा ग्लानी गर्दै बाँकी जीवनलाई वास्तविक मानव भएर बाँच्ने उत्प्रेरणा जगाउँछ ।
(कहिलेकाहीँ बिद्रोह आफैं धर्म बन्छ , जब त्यसमा न्याय प्रज्ज्वलित हुन्छ - प्र. ३६४) समाज परिवर्तनको लागि कलम र कदम दुईवटा सँगसँगै उठाउन सके अधिकार स्थापना गर्न सकिन्छ भन्ने दार्शनिक चेत स्थापनार्थ निर्वित्त कुमारी, जो जीवनको बिसौं दसकको मध्याह्नमा, एक खोपीमा निर्दिष्ट जीवन बाँचिरहेकी छन , उक्त पात्र (वसुधा)को मानसिक संवेदनशीलतालाई तृतीय पुरूषमा वर्णन गरिरहँदा , प्रथम र द्वितीय पुरूष बिचको वार्तालापलाई सान्दर्भिकता सहितको प्रस्तुतिले पठनलाई औपन्यासिक भन्दा बढी काव्यिक नाटक स्वरुपको बनाएको छ । समय सापेक्ष राज्य विप्लव समेत न्यायोचित हुने रचना गर्भबाट सृजित इथा त्यसकारण अलौकिक लेखनको नमुना हो , जसमा मिथकमा सत्यता वा भनौं सत्यतामा मिथकको समिश्रण भेटिन्छ । हुन त दाहाल स्वयंले प्रारम्भमा नै इथाको शाब्दिक अर्थ दिने बेला इथालाई कल्पना र सत्यलाई मिलाएर गाउने गीत भनेका छन । त्यसैले पनि यो काव्यिकता बोकेको इतिहास जस्तो तर कस्तो-कस्तो कथा हो । यसमा दर्शन , साहित्य र इतिहासको त्रिवेणी छ , जसलाई एक पटक नदी, अर्कोपटक दोभान र तेस्रोपटक त्रिवेणी स्वरुपमा तर्नु उपयुक्त हुन्छ ।