राङ्का धजे, पूर्व सिक्किम निवासी हुनुहुन्छ श्री बालकृष्ण शर्मा। विद्युत् विभागबाट अवकाशप्राप्त एकजना कर्मचारी, राङ्का भेगमा व्यापार व्यावसाय शुरु गर्ने व्यक्तित्व, गाउँदेखि शहरसम्मका उक्काली-ओह्रालीहरूमा धेरै पसिना चुहाएका एकजना परिश्रमी व्यक्तित्व। समग्रमा राङ्काका एकजना जीवित इतिहास, जसले धेरैकुरा देख्नुभएको छ, धेरै कुरा भोग्नुभएको छ। उहाँसँग 29 अप्रेल 2026-को दिन उहाँकै निवासस्थानमा पुगेर विगतदेखि वर्तमानसम्मका कुराकानी गर्ने अवसर प्राप्त भएको थियो। कुराकानीमा श्री शर्माले धजे-राङ्का क्षेत्रको पुरानो सामाजिक अवस्था, सड़क र व्यापारको शुरुआत, सरकारी सेवा, उहाँको सङ्घर्षपूर्ण जीवन, शिक्षाको महत्त्व र युवापुस्ताका लागि प्रेरणादायी विचारहरू राख्नुभएको छ। उहाँका अनुभवहरूले विगतको कठिन जीवनशैली मात्र होइन, मेहनत, आत्मनिर्भरता र धैर्यको मूल्य पनि स्पष्ट रूपमा देखाउँछ। अतः उहाँसँगका कुराकानीलाई यहाँ यथासम्भव जस्ताको तस्तै राख्ने प्रयास गरिएको छ।
पारिवारिक परिचयः-
आफ्नो परिवारको बारेमा जानकारी गराउँदै श्री बालकृष्ण शर्मा भन्नुहुन्छ, “मेरो परिवारमा तीनजना छोरा र दुईजना छोरी छन्। छोरा-छोरीका नाति-नातिनीहरू पनि छन्। जेठा छोरा मोहन र माइला छोरा ओमप्रकाश पेशाले शिक्षक हुन्। कान्छा छोरा रमेश अधिवक्ता हुन्। जेठी बुहारी शान्ति शर्मा राङ्का स्कूलमा र माइली बुहारी लक्ष्मी राई फेञ्जोङ स्कूलमा छन्। दुवै शिक्षण पेशामै छन्। कान्छी बुहारी चन्द्रकला शर्मा भू-राजस्व विभागमा कार्यरत् छिन्। जेठी छोरी लीला पनि शिक्षिका नै हुन्। रानीपुलमा कार्यरत छिन्। कान्छी छोरी मञ्जु स्वास्थ्य विभागमा सेवारत् छिन्, सिङ्ताम अस्पतालमा। हामी श्रीमान-श्रीमती घरमै बस्छौँ।” मेरो जिज्ञासामा उहाँ अझ भन्नुहुन्छ, “जीवनका जिम्मेवारीहरू धेरै हदसम्म पूरा भइसकेका छन्। सबैले आ-आफ्नै लगानीमा लागिसकेका छन्। एकप्रकार ढुक्क छौँ हामी।”
जीवनप्रतिको दृष्टि
श्री बालकृष्ण शर्मा सतहत्तर वसन्तको यात्रामा हुनुहुन्छ। जीवनको यति लामो भोगाइ अथवा अनुभवबारे जान्न चाहँदा उहाँ भन्नुहुन्छ- “जीवन भनेको सङ्घर्ष हो। मानिस जन्मिएपछि सङ्घर्ष गर्दै अगाड़ि बढ्छ। अन्ततः एक दिन जीवनको अन्तिम क्षण आउँछ। त्यसैले मेरो बुझाइमा जीवनको सार नै सङ्घर्ष हो। अर्थात जीवन भनेकै सङ्घर्ष हो।” हो, उहाँको विगतलाई फर्केर हेर्ने हो भने वास्तवमै जीवन सङ्घर्ष नै हो भन्ने बुझिन्छ। त्यही सङ्घर्षले उहाँलाई सफलताको मिठो परिणामसम्म पुर्याएको छ।
नोकरी र सङ्घर्ष
लामो समय विद्युत् विभागमा कार्यरत् रहनुभएका शर्मा “नोकरीमा कसरी प्रवेश गर्नुभएको थियो?” भन्ने प्रश्नको जवाबमा भन्नुहुन्छ, “1974-मा केन्द्र सरकारअधीनस्थ सीडब्ल्यूपीसीमा लागेँ, पावरमा। त्यहाँ 1984 सम्म काम गरेँ। त्यसपछि सन् 1984 -मा मेरो भागलपुर, बिहार ट्रान्सफर भयो। गएको पनि थिएँ, तर फर्किहालेँ। घरमा स-साना नानीहरू, काम गर्ने कोही थिएनन्। घरमा दुःख हुन्छ होला, नानीहरूको पढ़ाइ बिग्रिन्छहोला, बरु यतै काम गर्छु भनेर उता जोइन नगरी फर्की आएँ।”
भागलपुरबाट फर्कनुको मुख्य कारणबारे बोल्दै उहाँ अझ भन्नुहुन्छ, “त्यहाँको उखरमाउलो गर्मी सहनै गाह्रो। छोराछोरी पनि घरमा थिए। त्यसैले ‘बिजोकले बस्नुभन्दा फर्कन्छु’ भनेर आएँ। उता सेन्ट्रल गभर्मेन्टको जागिर छोड़ेर पुनः सिक्किम फर्किएँ अनि पावर डिपार्टमेन्टमा अन्तर्वार्ता दिएँ र फेरि जागिर शुरु गरेँ।”
वास्तवमा सिक्किम छोड़ेर भागलपुर जानुको कारण के थियो? भन्ने मेरो प्रश्नमा थोरै हाँस्दै उहाँ भन्नुहुन्छ, “त्यो समय पैसा-रुपियाँको कमी थियो, दुःख थियो। उता जाँदा सेलेरी अलिक बेसी। अरू साथीहरू पनि थिए। तर, उहाँ पुग्दा गर्मीले हरेश खायौँ।”
विद्युत् विभागमा जानुअघि उहाँले ‘डेञ्जोङ डेरी’ मा काम गरेको सम्झना गर्दै भन्नुहुन्छ, “त्यसअघि मैले डेञ्जोङ डेरीमा काम गरेँ। डेञ्जोङ डेरी वर्तमान डेञ्जोङ सिनेमा हलको पछाड़ि थियो। अहिलेजस्तो डेञ्जोङ हलको अगाड़ि, लालबजारमुनि बिल्डिङहरू थिएनन्। कच्चा घरहरू मात्र थिए। त्यहाँ मैले 1970-मा जोइन गरेर 1972 सम्म काम गरेँ। त्यतिबेला म्यानेजिङ डाइरेक्टर हुनुहुन्थ्यो डा. शर्माको भाइ। चेयरम्यान हुनुहुन्थ्यो नकुल प्रधान। उहाँका छोरा पछि सेण्ट्रल पाण्डामको विधायक पनि बन्नुभएको थियो। शेयरमा काशिराज प्रधान हुनुहुन्थ्यो। त्यो बेला छोग्यालकै शासन थियो। 1972 पछि डेरी राम्रोसँग सञ्चालन हुन सकेन। त्यसपछि म पीडब्ल्यूडीमा गएँ र त्यहाँ केही समय काम गरेँ।” त्यहाँ काम गर्दागर्दै भारत सरकारद्वारा सञ्चालित विद्युत् सेवामा अवसर खुलेको हुनाले विद्युत् विभागमा गएको बताउँदै भन्नुहुन्छ, “विद्युत् विभागमा त्यतिबेला तलब पनि बढ़ी थियो, त्यसैले अन्तर्वार्ता दिएँ र छनोट भएँ अनि शुरुमा रानीपुल लेग्यापमा कार्यरत् रहेँ। त्यसबेला मुख्य कार्यालय मिन्तोकगाङको पल्लोपटि थियो।” उहाँ अझ विस्तृतमा जानकारी गराउँदै भन्नुहुन्छ, “यता पीडब्ल्यूडीमा 120 रुपियाँ मात्रै थियो सेलेरी, उता सेण्ट्रल गभर्मेन्टले 217 रुपियाँ दिँदै थियो। यो 1974-को कुरा हो, गएर इन्टरभ्यू दिएको थिएँ, पास भएँ। त्यसपछि जालिपुलमा ड्युटी खटाइएको थियो। तर, त्यतिबेला शुरुआत मात्रै थियो। क्वार्टरहरू बनिएका थिएनन्। केही थिएन। एक वर्षपछि क्वार्टरहरू बनिएका हुन्।”
पहिले रानीपुल बसे पनि गर्मीले गर्दा सपरिवार राङ्का बसोबास गर्न थालेको हुनाले राङ्कादेखि नै पैदल हिँड़ेर नोकरी गरेको सम्झँदै भन्नुहुन्छ, “त्यतिबेला राङ्कामा रोड थिएन। राङ्कादेख ठाड़ो ओह्रालो हिँड़ेर अदम्पुल पुगिन्थ्यो, त्यहाँबाट रानीपुल। रानीपुलबाट लेग्याप पुग्नुपर्ने। अहिलेजस्तो सजिलो थिएन। धेरै दुःख थियो।” यसो भनिरहनुहुँदा पनि यतिबेला उहाँको मुहारमा सन्तुष्टिका धर्साहरू सल्बलाइरहेका मैले स्पष्टै देखिरहेको थिएँ। उहाँ मुस्कुराउँदै बोलिरहनु भएको थियो। उहाँको मुस्कुराहटमा मैले आत्मसन्तुष्टि महसुस गरिरहेको थिएँ।
नोकरीको सन्दर्भमा “अहिलेजस्तो कठिन थिएन, सजिलै नोकरी पाइन्थ्यो” भन्दै उहाँ भन्नुहुन्छ, “अहिलेको तुलनामा त्यसबेला नोकरी पाउन धेरै सजिलो थियो।” बिचैमा थपिएको मेरो प्रश्नमा उहाँ अझ भन्नुहुन्छ, “अन्तर्वार्ता त हुन्थ्यो, तर मानिसको काम गर्ने क्षमता हेरेर पनि अवसर दिइन्थ्यो। मैले पीडब्ल्यूडी, सेण्ट्रल गभर्मेन्ट र पछि पावर डिपार्टमेन्ट-सबैतिर अन्तर्वार्ता दिएरै काम पाएको हुँ।”
वर्तमानमा एकदिन गाड़ी नपाउँदा राङ्काबाट विद्यार्थीहरू स्कूल पुग्दैनन्, कलेज पुग्दैनन्। कर्मचारी तथा अधिकारीहरू कार्यालय जाँदैनन्। तर, त्यही राङ्काबाट सन् 1970 को दशकमा मानिसहरू हिँड़ेरै गान्तोक आउनु-जानु सामान्य कुरो थियो। यसै सन्दर्भमा सड़क र यातायातको अवस्था कस्तो थियो भन्ने जानकारी गराउँदै भन्नुहुन्छ, “त्यतिबेला यहाँ राम्रो सड़क थिएन। धेरैजसो हिँड़ेरै आउजाउ गर्नुपर्थ्यो। जिरोबाट तल झिल झरेर अदम्पुल पुग्नुपर्ने, त्यहाँबाट जालीपुलसम्म पुग्नुपर्थ्यो। घरको सरसौधा गान्तोकबाट बोकेर ल्याउनु पर्थ्यो। सक्नेले आफैँ बोकी ल्याउँथे। नसक्नेले कुल्ली लगाएर बोकाउँथे। रानीपुलदेखि गान्तोक जाने गाड़ी त पाइन्थ्यो, तर अत्यन्तै थोरै। एउटा ट्याक्सी छुटेपछि अर्कोका लागि एकघण्टा कुर्नुपर्ने अवस्था थियो। पैसा नभएका बेला त रानीपुलबाट गान्तोक पनि हिँड़ेरै पुगिन्थ्यो। फेरि पैसा हुँदा पनि एउटा गाड़ी छुट्यो भने अर्को गाड़ीको लागि घण्टौँ पर्खिनुभन्दा हिँड़ेरै पुगिन्थ्यो।
उद्यमीहरू कहिल्यै एकल व्यवसाय अथवा नोकरीमा निर्भर रहेर बस्नै सक्दैनन्। उनलाई फुर्सदको समय कुनै न कुनै काम विशेषमा उपयोग गरिरहेको हुनुपर्छ। त्यस्तै विचारका व्यक्तित्व हुनुहुन्थ्यो बालकृष्ण शर्मा। उहाँलाई चिन्ता थियो, सरकारी नै भए तापनि सामान्य नोकरीको आयले जीवन धान्न त जसोतसो सकिएला तर आफ्ना छोरा-छोरीहरूको उज्ज्वल भविष्य निर्माणका लागि त्यतिले पर्याप्त हुँदैन भन्ने राम्ररी बुझ्नु भएको थियो। त्यसैले नोकरीसँगै श्रीमान-श्रीमती मिलेर व्यापार-व्यावसाय पनि शुरु गर्नुभएको थियो।
राङ्कामा व्यापारको शुरुआत
श्री बालकृष्ण शर्माले राङ्कामा व्यापार व्यावसाय शुरु गर्दा अरू दोकानै थिएन। त्यसैको सम्झना गर्दै भन्नुहुन्छ, “हो, त्यतिबेला धजे क्षेत्रमा पसलै थिएन। शुरुमा डोमा सिस्टरका श्रीमान् (ढाटुक भोटिया) र मैले पसल शुरु गरेका थियौँ। पछि धेरैले मलाई पसलका कारण चिन्न थालेका हुन्।”
“कसरी लाग्नुभयो त व्यापारतर्फ?” भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, “नोकरीले मात्रै पुराउनु गाह्रो थियो। स-साना बालबच्चा हुर्किरहेका थिए। कमाउने म एकजना। त्यसैले लु दोकान खोल्नुपर्छ भनेर हामी दुई बुढ़ा-बुढ़ीको सल्लाह भयो। मेरो मनमा सानैदेखिको नै व्यापार गर्ने इच्छा पनि थियो। शुरुमा मैले एकजना साथीको सहयोगमा सानो दोकान शुरु गरेँ।” उहाँ अझ भन्नुहुन्छ, “पहिले त माथि स्कूलको माथिल्लोपटि शुरु गरेका हौँ। पछिबाट साइँला ससुरा श्री केएम पाण्डेले यहाँको जग्गा किन्नुभयो र मलाई यहीँ आएर बस्न तथा व्यापार गर्न सुझाउ दिनुभयो। त्यसपछि सन् 1979-को जनवरीदेखि हामीले दोकान चलाउन शुरु गर्यौँ।”
“त्यस समय आफ्नो घरको सौदापात ल्याउन कुनै गाड़ी थिएन, सड़कै थिएन। त्यसैले दोकान चलाउन मात्रै पनि एकप्रकार समाज सेवासरह थियो। कत्तिको गाह्रो थियो सरसामान ल्याउन?” भन्ने जानकारी दिँदै उहाँ भन्नुुहुन्छ, “त्यो समयमा सामान ओसार्न कुल्लीको भर पर्नुपर्थ्यो। दस-बाह्र जना कुली लिएर सामान ल्याइन्थ्यो। आफै पनि बोकेर आउँथेँ। उनीहरूलाई खाना खुवाउनुपर्थ्यो, ज्याला दिनुपर्थ्यो। त्यतिबेला एकजनालाई पचास केजीको भारी बोक्दा पाँच रुपियाँ दिनुपर्थ्यो। धेरै दुःख गरेर व्यापार चलाउनुपरेको थियो।”
“एकातिर घरदेखि त्यति टाढ़ा पैदल हिँड़ेर नोकरी गर्नुपर्ने अर्कोतिर दोकानपाट सम्हाल्नुपर्ने। समय कसरी व्यवस्थित गर्नुहुन्थ्यो?” भन्ने प्रश्न गर्दा उहाँ भन्नुहुन्छ, “मान्छेलाई बाध्यता, अभाव र परिस्थितिले सबै गराउँदो रहेछ। आफूले थोरै मेहनत गर्नुपर्ने रहेछ। अल्सी गर्नुभएन।” थोरै बिसाएजस्तो केही मधुर मुस्कानसित अझ भन्नुहुन्छ, “खासमा यो पसल मेरो पनि थिएन। यसलाई कसरी चलाउने, ग्राहकहरूसित कसरी र कस्तो व्यवहार गर्ने भन्ने कुरा मलाईभन्दा उसैलाई राम्रो अनुभव छ। लाइसेन्स नै उसैको नाममा छ” भनिरहनुहुँदा हामीविपरीत बसरहनुभएकी उहाँकी धर्मपत्नी श्रीमती सावित्री शर्मा मुसुमुसु हाँसिरहनु भएको थियो। उहाँ अझै भन्नुहुँदै थियो, “मैले त साथ-सहयोग दिन्थेँ मात्र। मेरो नाइट ड्युटी थियो। काम खासै हुँदैन थियो। पैसा-रुपियाँ हेर्नुपर्थ्यो। बिहान भएपछि अर्कोलाई जिम्मा लगाएर रानीपुलसम्म हिँड़ेर आउँथेँ। त्यहाँदेखि कोहीबेला हिँड़ेर कोहीबेला गाड़ीमा गान्तोक पुगेर दश-बाह्रजना मान्छे लगाएर सौदा ल्याउँथेँ। समय पाउँदा घरमा अरू काम पनि भ्याउँथेँ। बेलुकी फेरि दगुरीहाल्थेँ। त्यसैले दोकान सम्हाल्ने त उसैको जिम्मेवारी थियो।”
राङ्कामा बिजुली र सड़क
राङ्का धजे निवासी श्री केएम पाण्डेले ‘अभिव्यक्ति’ अन्तर्वार्ता सङ्ग्रहको लागि मैले लिएको अन्तर्वार्तामा “राङ्कामा सन् 1975-80-देखि मात्रै बिजुली आएको हो।” भन्नुभएको थियो। यही सन्दर्भमा उहाँ भन्नुहुन्छ, “मलाई सम्झना भएअनुसार सन् 1983 तिर जस्तो लाग्छ, ठ्याक्कै यो वर्ष भनेर थाहा छैन। 83 मै होला ‘ट्रान्सफर्मर’ जड़ान गरिएको थियो। एउटा ट्रान्सफर्मर राङकामा राखिएको थियो। पछि धजेमा पनि जड़ान गरिएको थियो।”
पुराना दिनहरूलाई फर्केर हेर्दा आफ्नै जीवन धेरै सङ्घर्षमय लाग्ने बताउँदै उहाँ भन्नुहुन्छ, “त्यतिबेलाको जीवन धेरै दुःख र सङ्घर्षमय थियो। तर मेहनत र धैर्यले नै जीवन अगाड़ि बढ्दोरहेछ भन्ने अनुभव भयो। अहिले फर्केर हेर्दा ती सङ्घर्षहरू नै जीवनका सबैभन्दा ठूला पाठ जस्ता लाग्छन्।”
गाउँको विकासक्रममा बिजुली र सड़क दुवै बुनियादी सुविधाले केही वर्षको अघिपछि मात्रै प्रवेश गरेको इतिहास पाइन्छ। राङ्कामा सड़क निर्माणबारे श्री शर्मा भन्नुहुन्छ, “सन् 1979-मा गान्तोकबाट हेर्दा यता रोड खनिँदै थियो। तर गाड़ी चलेको थिएन। बोजोघारी जाने माथिल्लो रोड पहिलै खनिएको हो। तर ठ्याक्कै कुन वर्ष हो भन्ने मलाई सम्झना छैन। राईगाउँ, सिच्छे हुँदै गान्तोक जाने तल्लो रोड चाहिँ दोजीकाजी स्पिकर भएको समयमा खिनिएको हो”, उहाँलाई सम्झना छ।
राङ्कामा गाड़ी
“राङ्कामा क्रमैसित सड़क आयो, बिजुली आयो, दोकान शुरु भयो। गाड़ी कहिले र कसले ल्याए त?” भन्ने प्रश्न राखेको थिएँ। उहाँ भन्नुहुन्छ, “पहिलो गाड़ी किन्ने चाहिँ साङ्तोङबाट फिगुसदार (श्री सोनाम नर्बु भोटिया) हुनुहुन्थ्यो। उहाँपछि धजेबाट मैले किनेको थिएँ। त्यो समय गाड़ी हुनु ठूलो कुरा मानिन्थ्यो।” गाड़ी किन्नुको कारण बताउँदै उहाँ यसो भन्नुहुन्छ, “गान्तोकबाट दोकानको सौदा मान्छेलाई बोकाएर ल्याउनुभन्दा गाड़ीमा भारा तिरेर ल्याउनु सस्तो पर्दोरहेछ। अझै आफ्नै गाड़ी भए त अझ सस्तो पर्ने भयो भनेर सानो गाड़ी किनेको थिएँ।”
वैवाहिक जीवन र बाल्यकाल
कुराकानीलाई अर्कोतिर मोड्दै मैले उहाँको वैवाहिक जीवनबारे जान्न खोजेँ। उहाँ भन्नुहुन्छ, “मेरो जन्म माछोङमा भएको हो। उता मेरो सानो जग्गा पनि अझै छ। म सानै हुँदा बुवा बित्नुभयो। त्यसको केही समयपछि आमा पनि बित्नुभयो। भाइ थियो, ऊ पनि नौ वर्षको हुँदा खस्यो। सानैदेखि अभाव र एक्लोपनमा हुर्किएँ। पछि विरक्त भएर गान्तोकतिर पसेँ। यही क्रममा उनीसित भेटघाट हुँदै गयो र पछि धुमधामसितै विवाह पनि भयो।” संक्षिप्तमा सबै बताउँदै मुस्कुराइरहनु भएको उहाँले अन्य आफ्ना-आफन्तका बारेमा भनिरहनु भएको थियो, “काका-बड़ाबाउ लुङ्चोकमा हुनुहुन्छ। सोमवारे दरामदिनदेखि तल लुङ्चोकमा।
आफ्नो बाल्यकाल र शिक्षार्जन कति सहज थियो? भन्नेबारे उहाँ भन्नुहुन्छ, “मेरो बाल्यकाल माछोङमै बित्यो। निक्कै सङ्घर्षय नै बित्यो भनौँ न, किनभने सानैमा बा-आमा बित्नुभयो।” उहाँ अझ भन्नुहुन्छ, “माछोङ स्कूल नै पढ़ेँ। त्यतिबेला अहिले जस्तो सुविधा थिएन। चित्राको स्कूल थियो। स्कुलमा राम्रो लुगा पनि थिएन। सेतो सर्ट र पछाटड़ि क्रस भएको नीलो हाफपाइन्ट लगाएर जानुपर्थ्यो। झाड़ु थिएन। चिलाउनेको स्याउलाले क्लासरूप बढ़ाड्दा सबै ढेँड़ुजस्तो भइन्थ्यो। लुगा सबै फुस्रै हुने। बेलुका घर आएर लुगा धुनुपर्थ्यो। तर आमाब-बुबा नभएपछि कसरी कमाउने र खाने भन्ने चिन्ता थियो। त्यसैले धेरै पढ़न सकिएन।”
“मानिसको जीवनमा शिक्षाको एकदमै धेरै महत्त्व हुन्छ। अत्यन्त आवश्यक कुरा हो शिक्षा।”, मलाई हेर्दै भन्नुहुन्छ, “शिक्षा छैन भने केही पनि छैन। मेरो विचारमा सबैभन्दा ठूलो धन भनेकै शिक्षा हो। मानिसले पढ़ेको छ भने जहाँ गए पनि केही न केही गरेर खान सक्छ। धन-सम्पत्ति मात्रै भएर हुँदैन, शिक्षा, ज्ञान नभए त्यसको सदुपयोग गर्न सकिँदैन।”
वर्तमानमा बढ्दो शिक्षितवर्ग र खस्किँदो रोजगारीबारे बोल्दै भन्नुहुन्छ, “सरकारो नोकरी पाइन भनेर बेरोजगारी हुने कुरामा युवाहरू निराश बन्नु हुँदैन। अहिलेको समयमा सरकारले धेरै सुविधा दिएको छ। व्यापार गर्न चाहनेलाई ऋण दिन्छ। डेरी, बाख्रापालन, सुँगुरपालन, व्यवसाय-जुनसुकै क्षेत्रमा पनि अवसर छन्। सरकारी जागिरको पछि मात्र लाग्नु हुँदैन। व्यवसायतर्फ पनि ध्यान दिनुपर्छ। त्यसो गर्दा निराश हुनैपर्दैन। कसैको दबाउ पनि नपर्ने। आफ्नो इच्छाले काम गर्न सकिन्छ। म त भन्छु व्यापारमा सरकारी नोकरीभन्दा राम्रो अवसर छ।” व्यापार-व्यवसायको अनुभव र यसको महत्त्वपूर्णबारे अझ भन्नुहुन्छ, “व्यवसायमा स्वतन्त्रता हुन्छ। जागिरमा जस्तो सधैँ कसैको अधीनमा बस्नुपर्दैन। तर हामीले सानो स्तरबाट व्यवसाय शुरु गर्नुपर्छ। यसो व्यवसायमा नाफा-नोक्सानबारे बुझ्न सजिलो हुन्छ। ठूलो लगानीबाट शुरु गर्दा धेरै जोखिम हुन्छ। मेहनत र धैर्य भए व्यवसायले मानिसलाई धेरै अघि बढ़ाउँछ।”
सन् 2008 मै अवकाशप्राप्त गरिसक्नुभएका श्री शर्मा अहिले पनि स्वस्थ तथा तन्दुरुस्त देखिनुहुन्छ। गाउँ-समाज साहित्यिक तथा सामाजिक कार्यक्रमतिर उहाँको उपस्थिति अहिले पनि पाउन सकिन्छ। “यसको रहस्य के छ?” भनेर जान्न चाहँदा उहाँ भन्नुहुन्छ, “स्वास्थ्यका लागि मुख्यगरी खानपानमा ध्यान दिनुपर्छ। शरीरलाई सुहाउने खाना खानुपर्छ। हरियो सागसब्जी, दही, दूध जस्ता पोषिलो खानेकुरा उपयोगी हुन्छन्। जताभावी खानु हुँदैन। मेरो अनुभवले यही भन्छ।”
युवावर्गलाई सुझाउ-
कुराकानीको अन्तमा युवावर्गलाई सुझाउ दिँदै भन्नुहुन्छ, “शिक्षालाई प्राथमिकता दिनुपर्छ। राम्रो शिक्षार्जन गरे सबै सही भएर जान्छ। सरकारी नोकरी पाए राम्रो हो। नपाए निराश हुनु हुँदैन। स्वरोजगारी बन्नसक्नु पर्छ। व्यापार व्यवसायमा अझै पनि राम्रो अवसर छ। मैले सरकारी नोकरी गर्दै भए पनि घरमा श्रीमतीलाई व्यापारमा साथ दिएँ। दुवैले दुःख-सङ्घर्ष गरेर परिवारलाई हुर्कायौँ। छोरा-छोरीलाई पढ़ायौँ, बढ़ायौँ। नभए मेरो सानो सरकारी नोकरीले मात्र यो सम्भव थिएन। त्यसैले म भन्न चाहन्छु-परिश्रम गर्न नछोड्नुहोस्, निराश नहुनुहोस्।”