बकुलहर चोकका वरपिपल ढले। हुन त टाँडी चोकको वरपिपल पनि त ढालियो। चौतारीहरु पाताल भए। जति धेरै सामिप्यता अन्त्य हुँदा त्यतिनै धेरै पीडा। स्मृतिबाट हटाउन खोजे पनि झनै धेरै नोस्टालजिया । नारायणघाट- बुटवल, बुटवल गोरुसिङ्गें सडकखण्ड विस्तारको क्रममा उता ढल्केवर देखि जनकपुर जोड्ने सडक विस्तारको क्रममा मात्र हो र देश व्यापी रुपमा नयाँ सडक निर्माण र विस्तारको क्रममा धेरै पुराना भयङ्कर बरपिपल ढालिएका छन्। डोजरले जरा समेत उक्काईएको छ। बिहान बेलुका छिमेकी जम्मा हुने, को तिनको सितल छाहरीमा बस्ने धेरैका मनहरु कुडिएका छन्। असरल्ल परेका हाँगाविङ्गा र विशाल गोलाइहरु देख्दा आँखाहरु रसएका छन्। हेर्न नसकेर नजरहरु अर्कोतर्फ फर्किएका छन् । जन्मेको गाउँ लाम्मुको छेउमा रहेको ठूलो चौताराका वरपिपलको नामोनिसान छैन । चौतारो रहेको स्थानमा वडा कार्यालय निर्माण गरियो । वडा कार्यालय बन्नु पर्ने थियो बन्यो । तर ठुलो चौताराको बरको हाँगामा झुण्डाएर हालिने लठेपिङ्ग र त्यसमा खेल्न पाउने अवसर पनि अव सधैको लागि अन्त भयो । बाल्यकालमा ठुलो चौतारमा हुने गाउँको सभा तथा कचहरी, हजुरबाले आफुसँगै लगेर नजिकै बस्नलगाएका, मौकापर्दा चौतारको छपनीमा बसेर बागगोटे खेलेका दसी प्रमाणहरु सबै नास भए । मान्छेले अरु मान्छेलाई कतिनै सहयोग गर्न सक्छ र ? यी वर पिपल र स्वामीका रुहहरुले त हजारौं मान्छेलाई मात्र हैन लाखौंलाख चराचुङ्गी र किटपतङ्लाई वर्षौ वर्ष प्राण वायु दिए, सितलता दिए, बास दिए, खाना दिए। अनेक गुन लगाए ।
यीनै रुखको हाँगा र धोद्राहरुमा आफ्ना आमा बाबुले चुच्चोमा घरघुर्यान र छेस्कासेस्की जम्मा पारेर बनाएका घरमा हुर्किएका, तीनै रुखको वल्लो हाँगा र पल्लो हाँगा गरी उड्न सिकेका बकुल्ला, काग, ढुक्कुर लगायतका चराहरु आफ्ना बासहरु उठिबास हुँदा सडकको वारीपारी ठिङ्ग उभिएका सुरिलो जातका रुख तथा घरहरुको छानामा बसेर टोलाइ रहेका छन् । भुर्र एता, भूर्त उता गरेर आफ्ना बेदनाहरु आफ्ना मिल्दा मनसंग साटीरहेका छन्। हुन पनि आफुँ हुर्केको, बढेको र जीवनका प्रारम्भिक सीपहरु सिकेका घरहरु उजाडिएको कसलाई पो मन पर्छ र ? धुवा र धेलो उढाउदै, कर्कस आवाजका साथमा कुद्ने ती गाडीको बढ्दो चापले अस्तित्व नै संकटमा पर्ने डरले भरिएका मन लिएर बसेका छन् बिचरा चराहरु। आँफु गुँडमा बसेर आफ्नो आमाको प्रतिक्षा गरेका, आमाले ल्याएको चारा देख्दा मुख खुवाएका. त्यहि गुँडबाट नजिकैको हाँगामा उड्न प्रयास गरेका, दिनभर त्यही रुखका वल्लो हाँगा र पल्लो हाँगा गरेर बेलुकी गुँडमा नै फर्किएका दिनहरु स्मरण गरिरहेका छन् ती बिचराहरु। कतिपय बयसक्क भालेहरु मिठो आवाज निकालेर डाली डाली नाची नाची पोथीलाई आफु प्रति आकर्षण गर्न गरेका प्रयास र मायापृतिमा प्राप्त गरेका सफलता, नजिकका खेत र बारीबाट सुकेका घाँसका त्यान्द्रा खोजेर ल्याएर गुढ बनाएका, अण्डा कोरलेर चल्ला हुर्काएका ती विगतका दिनको स्मृतिदंश त तीनलाई पनि भएको होला। अर्काकको बास उठीबास पर्ने मनुवाहरुले कसरी बूझ्नु ती अमुक प्रणीका आफ्ना भाषागत संकेतहरु ।
वरपिपल र स्वामीका रुख मात्र कहाँ ढलेका छन् र तिनीसंग जोडिएको इतिहास पनि ढलेको छ। घरविहिनको बास ढलेको छ । धेरैको स्मृति ढलेको छ । विहान विहान पूजा गर्ने र जल चडाउनेको आस्थाको धरोहर ढलेको छ। गाउँघर, टोलमा छिर्ने संकेतहरु मासिदा स्थान विषेशको पहिचान पनि गुमनामा भएको छ । विगतमा गाउँको सभा वस्ने स्थान, पारदर्शी तरिकाले न्याय दिने न्यायलयहरु ढलेका छन् । बालबालिका खेल्ने स्थान, दशै तिहार लगायत चाडबाडमा पिङ्ग हाल्ने,खेल्ने र रमाइलो गर्ने स्थान हराएका छन् । ढल्केवरमा नाम त छ, ढल्केको वर,वरचौताराको वर, लहरे पिपलको लहरा, पिपल डाँडा र पिपल टारका पिपल, स्वामी टारका स्वामी कहाँ देख्न पाउनु नयाँ पुस्ताले ।
गाई भैसी चराउने गोठालाहरु चौतारीको वरपिपलको छाहारीमा ढुङ्गाका छपनीमा बसेर बागचाल र गोटा खेलेका, मस्का मस्की गरेका र माया प्रेम लगाएका स्मृतिहरु विर्षन कहाँ सजिलो होला र ? उखरमाउलो गर्मीले सताएका दिनहरुमा सितल हावा खाँदै गफगाफ गरेका,चराको चिरविर सुनेर रमाएका दिन बिर्सिन कसरी सकिएला र ? घाँस दाउरा, अन्नपात, नूनतेलका खर्पन लगायत भारी वरपिपल चौतारीको खुड्किलोमा बिसाएर लामो स्वास तान्दै टोपी तथा काधमा भएको गम्छाले पसिना पुछेर सुस्ताएका स्मृति बिस्मृति हुन पनि कठिन छ नि ।
नजिक बस्तिका पाका पुस्ताका व्यक्तिहरु जम्माभएर आफ्ना जीवनका कथाहरु र जीवनमा भोगेका पीडाका पोकाहरु फुकाउने स्थान थिए चौतारी । जवानीका कुरा निकालेर पुन एक पटक युवा जोस शरीरमा फैलाएउन सहयोग गर्थे ति वरपिपर र स्वामीले । जीवन जीउने साहाराको खोजीमा पहाडबाट मधेश झर्नेहरुले डोको भित्र विहान वेलुकीको खाना पाक्ने ताउली, ढिडो ओडाल्ने भजालो, तरकारी पाक्ने तप्के र तसला डोको माथि राखिएका गुन्द्री, मान्द्रोका भारी टुक्करुक्क विसाएर अनिश्चिततामा भविष्यको समपना देखेका यीनै वरपिपलको छाहरीका चौतारीमा त हो। कता जाने टुङ्गो नभएको अवस्थामा पनि तीनै चौतारीमा बिसाए, रुख जस्तै अडिग भए अनि रुख जस्तै मौन भएर भविष्यको कल्पाना गरें । त्याँहि भएका मान्छेलालाई सोधेर उनैको कुरामा विश्वावस गर्दै गाउँतिर छिरे होलान् बाँकी जीवन जीउने सपना बुन्दै ।
खुला रुपमा ठूला ठूला आमसभाहरु गर्न नपाइने विगतको राणा र पञ्चायतकालमा कतिले यस्तै चौतारीमा सानो समुहमा भए पनि राजनीतिक छलफल चलाए होलान्। किसानहरुले छायाँमा बसेर आफ्ना घरपालुवा जनावरको बारेमा यस्तो छ र उस्तो छ भनेर कति छलफल गरे होलान् ? कतिले घर र मन्दिरमा पुजाआजाको लागि त्यही बर पिपल र स्वामिका पातहरु लगें होलान् ? बुद्धले गयामा गएर बोधी बृक्षको फेदमा बसेर तपस्या गरे झै कति कवि र लेखकहरुले यीनै वर पिपलको छायाँमा कविता, कथा र साहित्यिक सिर्जना गरेहोलान् । कति महिलाले लिएका वर्त पुरा गर्न यी बरपिपलहरुलाई कति पटक घुमे होलान र धुपबात्ती जलाएर वर पिपलको फेदमा पुजाआजा गरे होलान् । लगाइका चन्दन, अभिर र केसरीहरुका रंगिन धब्बाहरु र थपिदै गएका धागो र ध्वजाहरुले किति सोभित भएका थिए ती वारपिपलका रुखहरु नवविवाहित युवती जस्तै । धार्मिक मात्र कहाँ हो र कति युवा युवतीले समाजको आँखा छल्न बेलुकी भेटहुने र माया पृति लागाउने, मायाको डोरी कस्ने स्थान बनाए होलान् यिनै बरपिपलका चौतारीहरुलाई ।
ति रुखहरु केवल प्रकृतिका अंग मात्र होइनन्; मानव संस्कृति पनि हुन्। ती रुखले सुनेको अभिलेख पढन् सक्ने आधुनिक उपकरण हुने हो भने त्यहाँ कति जीवन्त कथा र इतिहास होलान ? यी रुखहरुले के सुनेनन् ? के देखेनन् र ? बिहान सबेरै जलचडाउन र पुजा गर्न आउने महिलाका मनका बेदना, दौतरीका घरयासी पीडा,घरमा भएका झगडाका कथाहरु कति सुने सुने । गाउँ छिमेकमा भएका सरसल्लाह सुने, केटाकेटीका विवाहको खबर सुने, नजिकको बस्तीमा भएका मृत्युको शोक सुने। मेलापात, जात्रा र रमाइला क्षेणहरुका कुरा सुने। समाजमा हुँदै गरेका परिवर्तनको सुरुवाती सोच, त्यसमा भएका छलफल पनि त यिनै रुखले सुने। यी रुखले देख्न पनि धेरै कुरा देखें। मान्छेले गरेका अरु मान्छेले देख्न नहुने कुरा पनि देखें, समुदायलाई देखाउन गरिएका कुरा पनि देखें। गाउँघरका रमाइला नाचगान, झाँकी, देखे। युवाहरुले राज्य व्यवस्था र सामाजिक बेथितिको विरुद्धमा गोलबन्द भएका, परिवर्तनको सोच राख्ने एक युवाले अर्कोलाई बुझाएका, सत्ता र शक्तिको विरुद्धमा गरिएका प्रश्नहरु र सामाजिक अन्याय बिरुद्धमा घन्काएका नाराहरु पनि यिनै चौतारीका वरपिपलले सबैले भन्दा पहिला सुने। यत्ति हो यी वरपिपलले कहिल्यै पनि सुनेको कुरा अरुलाई भनेनन्, चाप्लुसी गरेनन् । पढ्न सकेको भए यी रुखसंग धेरै कथा थिए, मान्छेका व्याथा थिए र अथाह इतिहाँस थिए ।
सडक त चौडा भए तर मनहरू साँघुरिए, बाटो त बन्यो तर छहारी मासियो। कर्कस आवाज निकाल्दै धेरै गाडीहरु कुद्न थालेका छन् । छेउछाउमा पेटी र रंगीचङ्गी भित्ता पोताइले सडक सिगारिएका पनि छन्। विहान र झाँसपख डाङ्ग्रे, सारौं, काग बकुल्ला लगाएतका चराहरु ब्युझने र बास बस्ने बेलाका प्राकृतिक संगीत हराएका छन्। शान्त त भएको छ तर मृतशान्ति जस्तै । रुख मूनी हुने बिष्टा नहुँदा सफा त भएको छ तर हिउँ विनाको हिमाल जस्तै । नाङ्लोमा व्यवसाय गरेर विहान बेलुकीको हातमुख जोर्ने गरिवको साहारा ढलेको छ । दिनको चर्को घामा छल्न जोत्दा जोत्दै गर्मीले धकेका हलगोरु राँगाहरु जुवा सहित सितलमा उभ्याएर काँधको तौलियाले पसिना पुस्दै सुस्ताउने स्थान हराएको छ । प्रकृतिको चक्रिय प्रणाली पनि त तोडिएको छ। चराले रुखका फल खान्थे, चराको बिष्टा र झरेका कुहेका फलको मलले घाँसलाई मल हुन्थ्यो, तीनै मलमा सप्रेका घाँस र झारपात गाई बस्तुलाई चरन भएको थियो। घामको उखरमाउलो गर्मी छल्ने छाहरी मात्र हो र हजारौं मान्छेकोलागि प्राप्त हुने प्राण वायुका स्रोतहरु पनि हराएका छन् । खै मलाई त बिकासको नाममा के हराएको के हराएको जस्तो, प्यारो स्मृतिनै गाएब भएको जस्तो भान भएको छ । धेरैले भन्दैछन् बिकासले फड्को मार्यो । खै मलाई भने मान्छेका स्मृतिहरु, बिश्राम स्थलहरु, छाहरीहरु, चाराचुरिङ्गी र घरनहुने मान्छेका घरबासहरु र हामी सबैको प्राणवायुका स्रोत र पर्यावरण नास भएको देखेको छु। चौतारी र बर–पिपल केवल रुख कहाँ हुन् र ती त गाउँका इतिहास, न्याय, विश्वास र सामूहिक स्मृतिका जीवित साक्षी हुन् । मेरो मात्र होइन धेरै प्रकृति प्रेमीको मन दुखेको छ । त्यो पीडा शब्दमा व्यक्त गर्न गाह्रो छ । ती वरपिलसँग मानिसको सम्बन्ध मौन छ, न ढलेका रुख बोल्छन्, न मानिसनै आफ्नो मनको पीडा सधैँ बोल्छन् । त्यो गहिरो सम्बन्ध कहाँ शब्दमा व्यक्त गर्न सकिन्छ र । जब रुख ढल्छ, मानिसको मन पनि कतै ढल्छ। चौडा पारिएको सडको छेउमा कहिले रोपिएलान् वरपिपलका विरुवाहरु ? फेरी कहिले होलान् त्यति विशाल छाझारी दिने रुखहरु ? हाम्रो जीवनकालमा फेरी देख्न र बस्न पाइएला र त्यति भिमकाय रुख सहितको चौतारीमा ? के अबका सडक किनारहरूले फेरि यस्तै छहारी देलान् ? सोच्दा सोच्दै ढालिएका र हराएका वरपिपल सँगै मेरो मन पनि हराएको छ ।
हाल: चितवन रत्ननगर