शरद ऋतुका अन्तिम साँझहरू चलिरहेका थिए।
बिहानपख पहाडका टुप्पाहरू कुहिरोले ढाकिन्थे, र घाम निस्किएपछि त्यो कुहिरो बिस्तारै नदीको पानीझैँ पग्लँदै हराउँथ्यो। गाउँमाथिको डाँडामा उभिएको सिमलको रुख हावासँग लय मिलाएर डुल्थ्यो। टाढाको खोल्साबाट आउने पानीको सुसाइ र चराहरूको मधुर चिरबिराहटले बिहानलाई कुनै गीतजस्तै बनाइदिन्थ्यो। प्रकृति बाहिरबाट शान्त देखिन्थी, तर मानिसको मनभित्र कहिलेकाहीँ यति धेरै आँधी चलिरहेका हुन्छन्, जुन कुनै आँधीबेहरीभन्दा कम भयावह हुँदैनन्।
त्यही सहरीकरण हुँदै गरेको गाउँको एउटा सानो घरमा बस्दथे—दिया, उनकी आमा आशा र बुवा अरुण।
दिया डिप्लोमा पढ्दै थिइन्। उमेरले जवान भए पनि अनुभवले उनलाई समयभन्दा अलि चाँडै परिपक्व बनाइदिएको थियो। उनी बोल्थिन् कम, तर हेर्थिन् धेरै। मानिसको अनुहारभन्दा आँखाभित्र लुकेको भाव पढ्न सक्ने क्षमता उनमा विस्तारै विकसित हुँदै गएको थियो।
आशा, दियाकी आमा, नजिकैको सहकारीमा काम गर्थिन्। बिहान उज्यालो नफुट्दै उठ्ने, भान्साको काम सक्ने, कार्यालय जाने, बेलुका फर्केर फेरि घर सम्हाल्ने—उनको जीवन कुनै निरन्तर घुमिरहने चक्रजस्तो थियो। उनीसँग त्यो रुटिनलाई बदल्न सक्ने समय नै थिएन। समय साँच्चै बलवान् हुँदो रहेछ।
अरुण सरकारी कर्मचारी भएकाले टाढाको जिल्लामा पोस्टिङमा थिए। महिना, दुई महिना र कहिलेकाहीँ तीन महिनामा मात्र घर आउँथे। त्यसैले घरमा अधिकांश समय आमा र छोरी मात्रै हुन्थे।
त्यही बेला घरमा आए भुपाल।
नजिकैको बैंकमा एकाउन्टेन्टको रूपमा सरुवा भएर आएका थिए। भुपालले केही समय डेरा खोजुन्जेल बस्ने ठाउँ नपाएपछि अरुणकै आग्रहमा उनकै घरमा बस्न थालेका थिए।
पहिलो दिन उनी सामान्य लागे। अरुणले आफ्नी श्रीमती आशालाई फोन गरेर भनेका थिए—
“हाम्रा नाताका भिनाजु पर्ने भुपाल हाम्रै गाउँको बैंकमा सरुवा भएर आउँदै छन्। उनले डेरा खोजुन्जेल हाम्रै घरमा बस्ने वातावरण मिलाइदिनु है।”
“हवस्...”
दोस्रो दिन पनि उनी सामान्य नै लागे।
तर त्यसपछि दियाले केही कुरा महसुस गर्न थालिन्।
भुपालको नजर आशामाथि अनावश्यक रूपमा धेरै अडिन्थ्यो। उनी बोल्दा पनि आँखाले अर्कै कुरा बोलिरहेका हुन्थे। कहिले चिया लिँदा औँला छोइहाल्ने, कहिले भान्सामा अनावश्यक रूपमा नजिकिने। दिया जस्ती चलाख र घटनालाई सूक्ष्म ढङ्गले पर्गेल्न सक्ने युवतीले पुरुषको यस्तो व्यवहार सहजै अनुमान गरिरहेकी थिइन्। उनी अब केटाकेटी पनि त रहिनन्। उनी आइटी इन्जिनियरिङ अध्ययनरत थिइन् र नयाँ प्रविधिसँग परिचित पनि।
भुपालको आमाप्रतिको व्यवहार साना थिए, तर असहज थिए। ती व्यवहार महिला हिंसाका संकेतजस्ता लाग्थे, जसले कुनै पनि महिलामा भय उत्पन्न गर्न सक्थ्यो। आशाको मुहारमा सदैव डरका रेखाहरू सलबलाइरहेका देखिन्थे। उनी दिनप्रतिदिन बढी बेचैन र तनावग्रस्त हुँदै गएको अनुभूति हुन्थ्यो।
दियाले ती सबै कुरा मौन भएर हेरिरहिन्। भुपालको आमाप्रतिको घिनलाग्दो व्यवहार र आसक्तिलाई देख्दा उनलाई गहिरो पीडाबोध भइरहेको थियो। यो कामुक महिषासुरजस्तो पुरुषलाई कसरी तह लगाउने भन्ने विचारहरू उनको दिमागमा सलबलाउन थालेका थिए।
यी सबै कुराहरूबाट बेखबर समय आफ्नै अदृश्य पाराले चिप्लिरहेको थियो। उसलाई न कसैको चिन्ता थियो, न कसैको फिक्री।
एक साँझ—
आकाशमा सुन्तले रङ फैलिएको थियो। डाँडामुनि अस्ताउँदै गरेको घामले खेतका कान्लाहरू राताम्मे बनाइदिएको थियो। आशा भान्सामा खाना पकाउँदै थिइन्। भुपाल त्यहीँ पुगे।
“मद्दत गरूँ?” उनले मुस्कुराउँदै भने।
आशाले सामान्य स्वरमा उत्तर दिइन्—“चाहिँदैन।”
तर भुपाल त्यहाँबाट हटेनन्।
दियाले बैठक कोठाबाट त्यो दृश्य देखिरहेकी थिइन्। बैठक कोठा र भान्सा नजिकै थिए। बैठक कोठाबाट भान्साको अधिकांश भाग प्रस्ट देखिन्थ्यो, किनकि भान्सामा ढोका थिएन। केवल इँटा घुमाएर बनाइएको आर्क मात्र थियो।
भुपाल आशाको निकै नजिक उभिएका थिए। उनका आँखाहरू आशाको साडी र चोलोले छोपेका अङ्गहरूका बीचमा रहेको खाली भागमा टाँसिएका देखिन्थे। यस्तो कुरा महिलाका लागि अत्यन्त पीडादायक हुन्छ, र हुनु स्वाभाविक पनि हो।
आशा एक कदम पछि हटिन्।
त्यो क्षण छोटो थियो।
तर दियाको मनभित्र गहिरो चोट पार्न पर्याप्त थियो।
त्यो रात—
बाहिर आकाश अत्यन्त सफा थियो। जूनको उज्यालो झ्यालबाट कोठाभित्र पसिरहेको थियो। पर कतै कुकुरहरू भुकिरहेका थिए। बाँसघारीबाट आउने हावाको सुसाइ कोठाभरि फैलिएको थियो। घरीघरी घरअगाडिको अलकत्रे सडकमा फाट्टफुट्ट सवारीसाधन हुइँकिन्थे। रात छिप्पिँदै थियो।
तर दियाको मनमा शान्ति थिएन।
उनी ओछ्यानमा पल्टिरहिन्। बारम्बार कोल्टे र उतानो फर्कने काम उनको जारी नै रह्यो। आफ्नी आमालाई बचाउने अनेक उपायहरूको खोजी उनको दिमागले गरिरहेको थियो।
उनको मनभित्र संवाद चलिरहेको थियो—
“मैले जे देखेँ, त्यो साँच्चै त्यही हो? कि म बढी सोचिरहेकी छु? होइन... आमाको अनुहारमा डर थियो। त्यो डर अभिनय हुन सक्दैन। उहाँ किन चुप हुनुहुन्छ? किन सहिरहनुभएको छ?”
उनको छाती भारी भयो।
“यदि बुवालाई भनौँ भने? घरमा झगडा हुन्छ। आफन्त फुट्छन्। यदि केही नभनूँ भने? यो अझ बढ्न सक्छ...!”
उनले आँखा चिम्लिइन्। डरले मान्छेलाई कि हिम्मती बनाउँछ, कि कायर। उनी कायर थिइनन्। तर आमाको मुक्तिका उपाय खोज्ने कुरा अनेकौँ तरिकाले उनको दिमागमा तछाडमछाड गर्दै आइरहेका थिए।
तर आँखाअघि फेरि उही दृश्य आयो—भुपालको नजर, आमाको असहजता।
उनी अचानक उठेर झ्यालतिर गइन्।
बाहिर चन्द्रमाको उज्यालो खेतभरि फैलिएको थियो।
“प्रकृतिमा त सबै कुरा स्पष्ट छन्। नदी नदीजस्तै बग्छ, घाम घामजस्तै उदाउँछ। तर मानिस किन आफू भित्र यति अँध्यारो बोकेर हिँड्छ? त्यो अँध्यारोले अरूलाई पनि छोप्न खोज्छ...”
उनको आँखामा हल्का आँसु टल्कियो।
उता अर्को कोठामा आशा पनि निदाउन सकेकी थिइनन्।
उनको मन पनि छटपटाइरहेको थियो।
“भुपालको व्यवहार अब असह्य हुँदैछ। तर म कसरी बोलूँ? यदि अरुणलाई भनें भने उनी रिसले फुट्नेछन्। सम्बन्ध बिग्रन्छ। यदि चुप लागिरहूँ भने? म आफैँभित्र मर्दै जान्छु... यो पीडा मैले कति दिन खप्नुपर्ने हो, उफ्...!”
अरुणले पनि सोच्नुपर्ने कुरा थियो—दुई महिलामात्र भएको घरमा परको नाता पर्ने भिनाजुलाई बासस्थान दिने कुरामा। अरुण आफूजस्ता छन्, सबैलाई त्यस्तै देख्ने र ठान्थे गर्दछन्। आज मलाई लाग्छ, सायद त्यो उनको कमजोर पक्ष थियो।
उनले लामो सुस्केरा हालिन्। मुटुको चाल तीव्र हुँदै थियो। श्वासको गति पनि उस्तै।
“दियाले केही बुझेकी त छैन?”
यो सोचले उनी झन् बेचैन भइन्।
दिया अब केटाकेटी थिइनन्। उनी वयस्क भइसकेकी छन्। उनले यस्तो कुरा नबुझ्लिन् भनेर कसरी अनुमान गर्ने?
निर्णयको अन्तिम किनारमा पुग्न उनी सकिरहेकी थिइनन्।
रात छिप्पिँदै थियो।
तर आमा–छोरी दुवैको आँखामा निन्द्रा थिएन।
दिया आफ्नी आमालाई त्यो पुरुषको घिनलाग्दो नजरबाट जोगाउने उपाय सोचिरहेकी थिइन् भने उता आशा त्यही पुरुषबाट कसरी जोगिने भन्ने मनोसंवादमा हराइरहेकी थिइन्।
घरमा दुई महिला आफ्नै–आफ्नै पाराले छटपटाइरहेका थिए।
००
बिहान कुहिरोले गाउँ पूरै ढाकेको थियो। डाँडामाथिको घाम कुहिरो चिर्दै बाहिर आउन खोजिरहेको थियो। त्यो दृश्य हेर्दा दियालाई लाग्यो—सत्य पनि यस्तै होला, केही समय कुहिरोभित्र लुक्छ, अनि अन्ततः उज्यालो खोज्दै बाहिर आउँछ।
त्यसै दिन उनले निर्णय गरिन्—
अब मौन भएर हेर्ने होइन।
तर हतार गरेर बोल्ने पनि होइन।
उनले तीनवटा साना गोप्य क्यामेरा किनिन्। मोबाइल चार्जरजस्ता देखिने, तर भित्र रेकर्डिङ हुने।
घरमा कोही नभएको समय मिलाएर उनले ती क्यामेरा बैठक कोठा, भान्सा र भुपालको कोठामा गोप्य रूपमा जडान गरिन्।
अब दियाको जीवन बदलियो।
उनी केवल छोरी रहिनन्।
उनी आफ्नी आमाको अदृश्य पहरेदार बनिन्।
एक दिन कलेज गएको बहाना गरेर उनी बिहानै साथीको घरमा बसिन्। मोबाइल खोलेर घरको दृश्य हेरिरहिन्।
आशा भान्सामा थिइन्।
भुपाल त्यहाँ पुगे।
“आज त निकै राम्री देखिनुभएको छ,” उनले मुस्कुराउँदै भने।
आशाको अनुहार मलिन भयो। चन्द्रमालाई बादलले ढाके जस्तो।
“यस्ता कुरा नगर्नुस्।”
तर भुपाल हाँसे।
त्यो हाँसोमा मर्यादा थिएन। अनुहारमा सहयोग ी भावना झल्केको थिएन।आँखाभरि वासनाका ज्वारभाटा तैरिरहेका देखिन्थे।
दियाको मुटु काँप्यो।
केही क्षणपछि भुपाल फेरि आशाको निकै नजिकिन थाले।
आशा डराएर पछि हटिन्।
त्यो दृश्यले दियाको मनमा आगो बल्यो।
“अब धेरै भयो।”
उनले सबै भिडियो सुरक्षित गरिन्। त्यसपछि उनी हस्याङफस्याङ गर्दै घरतिर लागिन्। मनमा अनौठो डर थियो।
घर पुगेर उनले सबैतिर सूक्ष्म ढङ्गले अवलोकन गरिन्। उनले सोचेजस्तो कुनै अप्रिय घटना घटेको थिएन।
सन्तोषको सास फेर्दै उनी बैठक कोठाको सोफामा थचक्क बसिन्। छोरीलाई देखेपछि आशाको अनुहारमा पनि सन्तोषका रेखाहरू सलबलाए। छोरीको आगमनले उनको मनभित्र उत्पन्न डरको पर्दा च्यातिसकेको थियो।
त्यो रात दिया निकै अबेरसम्म झ्याल नजिकब उभिएर बाहिर हेरिरहिन्।
आकाशमा बादल मडारी रहेको थियो। चन्द्रमा बेला–बेला लुकिरहेको थियो।
उनको मन पनि त्यस्तै थियो। घरी विद्रोहमा उत्रने जमरको गर्थ्यो। घरी मौनताभित्रै समस्या समाधानका उपायहरू टटोलने प्रयास गर्थ्यो। मानिसको मन र मस्तिष्क कहाँ सदैव एकनासको हुनसक्छ र !
“यदि म चुप लागेँ भने, म पनि दोषी हुनेछु। तर म कसरी रोकूँ? कसैलाई थाहा नदिई... कसरी?”
अचानक उनको मनमा एउटा विचार चम्कियो।
“यस्ता मानिस आफ्ना चाहनाभन्दा बढी आफ्नो प्रतिष्ठाबाट डराउँछन्।”
त्यही रात उनले भोलिपल्ट काठमाडौँ जाने–आउने टिकट काटिन्।
“आमा नौ बजे नै सहकारी जानुहुन्छ। पाँच बजे फर्कनुहुन्छ। त्यतिबेलासम्म त म काठमाडौँबाट फर्केर आइहाल्छु नि,” अनेकौं विकल्पहरू मध्ये यो विकल्प नै उनलाई उत्तम लाग्यो।
भोलिपल्ट बिहान उनी कलेज जाने बहाना गरेर काठमाडौँस्थित बैंकको प्रधान कार्यालय पुगिन्।
कार्यालय अगाडिको बगैँचामा गुलाबका फूलहरू फुलेका थिए। बिहानको घामले फूलमा टाँसिएका शीतका थोपाहरू चम्किरहेका थिए। तर दियाको मन अस्थिर थियो।
“यदि कसैले विश्वास गरेन भने?”
तर उनले आफूलाई सम्हालिन्।
प्रधान कार्यालयकी प्रमुख महिला रहिछिन्। उनले गोप्य भेटको आग्रह गरिन्। प्रमुखले उनलाई आफ्नो कोठातिर बोलाइन्।
दियाले सबै प्रमाण देखाइन्—फोटोहरू, भिडियोहरू, सबै।
उनको स्वर काँपिरहेको थियो, तर आँखा स्थिर थिए।
“म कसैको जीवन नष्ट गर्न चाहन्नँ,” उनले बिस्तारै भनिन्, “म केवल मेरी आमालाई सुरक्षित गर्न चाहन्छु।”
प्रमुख केही बेर मौन भइन्।
त्यसपछि गम्भीर स्वरमा भनिन्—
“तिमी ढुक्क होऊ। यो कुरा बाहिर जाँदैन। म पनि एक महिला हुँ। महिलाको पीडा म राम्रोसँग बुझ्छु।”
दियाको मन अलिक हलुका भयो। अनुहारमा सन्तोषका रेखाहरू सलबलाए। धरमरिएको विश्वासले पूर्णतालाई चुम्न सक्ने सम्भावना देख्दा मनभित्र एक प्रकारको विजयाको सम्भावना बोकी हतार हतार एयरपोर्ट तिर ट्याक्सीमा चढेर लागिन् ।
०००
भुपाल आएको पनि दुई हप्ता हुन लागेको थियो। वसन्त ऋतु सुरु भइसकेको थियो। हावामा नयाँ पालुवाको गन्ध मिसिएको थियो। प्रकृति फेरि नयाँ जीवनतर्फ फर्किरहेको थियो।
त्यो बिहान भुपाल बैठक कोठामा बसेर चिया पिइरहेका थिए।
अचानक उनको मोबाइल बज्यो।
“हेलो सर...”
केही क्षणपछि उनको स्वर चर्कियो—
“के? मेरो सरुवा? दुई हप्तामै सरुवा गर्न मिल्छ र, सर? यो त कानुनविपरीत हो! किन? यो ममाथि गरिएको अन्याय हो, सर! म अदालत जान्छु!”
भान्सामा रहेकी आशा झस्किइन्। भुपाल निकै उच्च स्वरमा बोलिरहेका थिए।
दिया चुपचाप आमासँगै थिइन्।
उताबाट के भनियो, उनीहरूले सुन्न सकेनन्।
तर बिस्तारै भुपालको अनुहार बदलिन थाल्यो।
अहंकार हराउँदै गयो।
निधारमा पसिना चम्कियो।
केही बेरपछि उनको स्वर नरम भयो—
“हस् सर...”
मौनता।
“म भोलि नै यहाँबाट रवाना हुन्छु।”
फेरि केही क्षणको मौनता।
“बुझेँ, सर... म सरको आज्ञालाई सिरोधार्य गर्छु।”
यति भन्दै उनले मोबाइल बन्द गरे।
कोठाभित्र केही बेर गहिरो सन्नाटा छायो।
पहिले आत्मविश्वासले भरिएको देखिने मानिस अहिले ओइलिएको सागझैँ देखिन्थे। त्यतिबेलासम्म आशा र दिया पनि बैठक कोठामा आइसकेका थिए।
आशाले सोधिन्—“सबै ठीक त छ?”
भुपालले आँखासमेत जुधाएनन्।
“सरुवा भयो।”
“कहाँ?” आशाको मुखबाट आश्चर्यमिश्रित हर्षित स्वर निस्कियो।
“धेरै दुर्गम ठाउँमा... जहाँ जिउन पनि गाह्रो छ।”
दियाको ओठमा अदृश्य मुस्कान नाचिरहेको थियो।
भुपाल त्यहाँबाट उठेर आफ्नो कोठातिर लागे।
भोलिपल्ट बिहान—
घरअगाडि एउटा ट्याक्सी अडिएको थियो। भुपाल सामान बाँधिरहेका थिए।
आकाश हल्का नीलो थियो। चराहरू गुँडबाट निस्किरहेका थिए। खेतमाथि बिहानी घाम बिस्तारै फैलिँदै थियो।
भुपाल र ट्याक्सी चालक सामान ओसारिरहेका थिए। नजिकै उभिएर दिया र आशा त्यो दृश्य हेरिरहेका थिए।
कस्तो विडम्बना!
प्रिय मानिस टाढा हुँदा घरमा रहेकाहरूको मन खिन्न हुन्छ, तर यहाँ यस्तो थिएन।आमा–छोरीको मन आफ्नै–आफ्नै पाराले रमाइरहेको थियो। एउटा मन मुक्तिको आनन्दले आनन्दित थियो भने अर्को मन आमाको रक्षाका लागि ढाल बन्न आफू सफल भएकोमा हर्षित थियो। आमा छोरीको नजिक आइपुगेपछि भूपालले शिर हल्लाउँदै--"म लागे है भन्ने संकेत गरे।"
भुपालको चालमा अब न गर्व थियो, न चञ्चलता न वासना। ऊ हारेको साँढे जस्तो शिर निहुराएर हिँडिरहेका थिए।
गेटबाहिर पुगेर उनले एकपटक घरतिर फर्केर हेरे।
आमा–छोरी जहाँको त्यही उभिएका थिए।
भुपाल चढेको गाडी उनीहरूको आँखाबाट बिस्तारै ओझेल हुँदै गयो।
आशाले बिस्तारै भनिन्—
“थाहा छैन किन... उनी गएपछि मन हलुका भएको छ।” आशाको स्वर यति मिहिन थियो कि नजिकै उभिएकी दियाले सुनिन् कि सुनिनन् छुट्याउन सकिन्नथ्यो।
दियाले आमातर्फ हेरिन्। तर केही बोलिनन्।
उनको आँखामा थकान थियो, तर त्यही थकानले उनलाई विजयमाला पहिर्याइरहेको थियो।
उनी आमाको काँधमा टाउको अड्याएर उभिइन्।
आशाले छोरीको कपाल सुम्सुम्याइन्।
त्यो स्पर्शमा हजार शब्दभन्दा बढी माया थियो।
दियाको मनभित्र संवाद चलिरहेको थियो—
“आमा... तपाईंलाई थाहा छैन, तर म तपाईंको ढाल बनेर छायाँझैँ पछ्याइरहेकी थिएँ। तपाईंको मर्यादा जोगाउन म मौन युद्ध लडिरहेकी थिएँ। यो कुरा न तपाईंलाई थाहा भयो, न भुपाललाई आभास भयो, न बुवाले नै पत्तो पाउनुभयो।”
दियाको आँखामा हल्का आँसु चम्कियो।
तर त्यो आँसु पीडाको थिएन।
त्यो मौन विजयको थियो।
उता आशाको मनमा पनि अनौठो अनुभूति चलिरहेको थियो—
“किन आज यति सुरक्षित महसुस भइरहेको छ? किन लागिरहेको छ, कसैले अदृश्य रूपमा मेरो भारी बोकिदियो...?”
बिहानी हावाले वरिपरिका रूखहरू हल्का हल्लायो।
चराहरू गुँडबाट बाहिरिए।
खोला आफ्नै लयमा बगिरह्यो।
प्रकृति फेरि शान्त भई।
र दियाले आकाशतिर हेर्दै मनमनै भनिन्—
“कहिलेकाहीँ सबैभन्दा ठूलो सहयोग देखिँदैन... तर त्यसको न्यानोपन जीवनभर महसुस भइरहन्छ।”