19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘बन्द कोठाको आँखीझ्याल’ बाट चियाउँदा

कृति/समीक्षा भेषराज रिजाल May 26, 2026, 8:06 am
भेषराज रिजाल
भेषराज रिजाल

कृष्णादेवी शर्मा (श्रेष्ठ) नेपाली साहित्यमा बहुआयामिक र सिद्धहस्त साहित्यकारको नाम हो । बिक्रम सम्बत् २००९ साल फागुन १५ गते पर्वत जिल्लाको साविक मुडिकुवा गाविस हाल फलेवास नगरपालिकामा उहाँको जन्म भएको हो । पिता नारायणदत्त गौडेल (रेग्मी) एवं माताद्वय तुलसा गौडेल (जन्मदिने) र भागीरथी पौडेल (कर्म दिने) का सुपुत्री हुनुहुन्छ उहाँ । कवि, गजलकार, कथाकार, आख्यानकार, समीक्षक, समालोचक, महाकाव्यकार आदि व्यक्तित्वका धनी कृष्णादेवीज्यूका १४ वटा कृति प्रकाशित छन् । उहाँ विभिन्न साहित्यिक संघ संस्थाबाट ११ वटा पुरस्कार प्राप्त गर्नुका साथै ५९ भन्दा बढी संघ संस्थाबाट सम्मानित हुनुभएको छ । शिक्षण पेशाबाट निवृत्त भएपछि नारी साहित्यसमाज, नवलपुरको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ र विभिन्न साहित्यिक संघ संस्थामा समेत आवद्ध रहनुभएको छ ।
कृष्णादेवीज्यूको चौथौँ कृति ‘बन्द कोठाको आँखीझ्याल (मुक्तकसङ्ग्रह), २०८०’ का बारेमा पाठकीय प्रतिक्रिया अभिव्यक्त गर्ने जमर्को गर्दैछु म यतिखेर ।
मुलुकका राजनीति, सामाजिक, आर्थिक सुधारका क्षेत्र एवं मानव प्रेम, संस्कार, करुणा जस्ता व्यवहारगत पक्षमा समेत विहङ्गम दृष्टि दिँदै रचित ३३२ वटा मुक्तकहरूको सङ्ग्रह हो ‘बन्द कोठाको आँखीझ्याल’ । नारी साहित्यसमाज, नवलपुरबाट प्रकाशित यस कृतिमा साहित्यकार केशवराज आमोदीको भूमिका रहेको छ भने साहित्यकारहरू डा.श्यामप्रसाद न्यौपाने, सरुभक्त, गोविन्दराज विनोदी र लकाश पौडेलको शुभकामना रहेको छ ।
चतुष्पदीय, आफैमा स्वतन्त्र र पद्यात्मक रचना मुक्तक हो । गहन भाव र तीक्ष्ण विचार सम्प्रेषण हुने मुक्तक विधा नेपाली साहित्यमा दिनानुदिन लोकप्रिय हुँदै गइरहेको छ । कृष्णादेवीज्यूका अधिकांश मुक्तकमा पनि मुलुकी अव्यवस्था, विकृति, विसङ्गती र अपद्धतिप्रति सटिक प्रहार छ । समाजमा सचेतना वृद्धि गर्दै उज्यालो संसार निर्माणको तीव्र हुटहुटी समेत छ ।
अनैतिकहरूमा नैतिकता ल्याओस् नयाँ वर्षले
नारी दमन र बलत्कार हटाओस् नयाँ वर्षले
फोहोरी राजनैतिक खेल र भ्रष्टाचार हटाई
सारा नेपालीमा सुख र शान्ति छाओस् नयाँ वर्षले । (मुक्तक नं.८७)
नारी प्राणी जगतका शक्ति, साहस र जीवन हुन् । नारी मानवता, दया, माया र करुणाका अजश्र मुहान हुन् । धर्ती सिँगार्ने क्षमता मात्र होइन, मन–मनका कलुषित कुविचार हटाउने साहस र दृढता पनि हुन्छ नारीमा । नारी उत्थान, सशक्तिकरण र सबलीकरणका लागि उद्घोष गर्नुहुन्छ कवि कृष्णादेवीज्यू पनि–
नारी हामी बढौँ अघि सहयात्रा गर्दै
उषालाई ल्याउनु छ निशाालाई चिर्दै
दुःख पायौँ सास्ती खायौँ आफै नजानेर
अलिकति चेतना त आएको छ फिर्दै । (मुक्तक नं.१३९)
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसीको गहिरो भाव आत्मसात् गर्दै जन्मदाता आमाबाबु, आफ्नो गाउँबस्ती र सुन्दर प्रकृतिलाई ढुकढुकीमा सजाउनुभएको छ, हृदयमा बसाउनुभएको छ ।
सबैभन्दा प्यारो ठाउँ कालीतीर मेरो
अझै अर्को प्यारो लाग्ने पाखाभीर मेरो
जन्मिएर हुर्किएको ठाउँ कस्तो प्यारो
ज्ञादी कुश्मा त्यतैतिर झुक्छ शिर मेरो । (मुक्तक नं.१९१)
माया, प्रेम, सम्बन्ध, सद्भाव, प्रेरणा, सहकार्य विना जीवन उर्जाशील बन्न सक्दैन । ज्ञान, चेतना, कल्पना र भावनाले जीवन जगत उजिल्याउँछन् । खुसी हुन सक्दा संसार सुन्दर देखिन्छ । मन छुने साहित्यिक रङ तरङ्गले छुँदा मन मझेरी झन् विशाल हुन जान्छ । मानवलाई आनन्दित बनाउँछन् कला, साहित्य र सङ्गीत । नूतन धुन झङ्कृत भइरहे जस्ता कृष्णादेवीज्यूद्धारा रचित मुक्तकहरूले मोहित पार्दछन् ।
तिम्रो सम्झनाले आँखा रसाउँछ
तिमी हिँड्ने बाटो मलाई बसाउँछ
माया भन्ने भाव पनि कस्तो अनौठो
हेर्दा तिम्रो तस्वीर मुटु धसाउँछ । (मुक्तक नं.२१०)
छन्दोबद्ध पद्यात्मक रचनाका लागि प्रसिद्ध हुनुहुन्छ महाकाव्यकार कृष्णादेवीज्यू । उहाँको यो विशेषता मुक्तकहरूमा पनि देखिएको छ । शार्दूलविक्रीडित छन्दको यो मुक्तकले लोकमा अन्धकारपछिको आलोक र सङ्घर्षपछिको उन्मुक्तिको आशा जगाएको छ ।
कालो रात गयो झिमिक्क नगरी थोरै उज्यालो भयो
डस्नै सम्म डसे किटाणुहरूले भन्नै कठिन पो छ यो
फालेँ हात दुबै म मन्द गतिले उम्केर योद्धा भएँ
पक्कै मिल्दछ मुक्ति दुष्टसितको गर्दैछु आशा म यो । (मुक्तक नं.३१०)
ससम्मान सम्झाउँदा नलाग्ने गतिछाडाहरूलाई व्यङ्ग्य प्रहार नगरी हुँदैन, तब लाजकाज अलिकति दच्कन्छ ऊ । राजनीतिक, आर्थिक क्षेत्रमा भ्रष्टाचार, कुशासन, अनियमितता र अव्यवस्थाको हालीमुहाली हुँदा भजनमण्डलीबाट लुटेराहरूकै भजन र स्तुतिगान भइरहन्छ । सामाजिक, साँस्कृतिक क्षेत्र अलि सुकिलै रहनुमा कवि, साहित्यकारहरूको योगदान र सक्रियताले भूमिका खेलेको छ भन्न धक मान्नु पर्दैन । यस मुक्तकसङ्ग्रहका कतिपय मुक्तकहरू व्यङ्ग्य चेतले भरिएका छन् र तिनले नहिच्किचाई लुटेराहरूको हुर्मत लिएका छन् ।
तिमी चोर म पनि चोर, चोर–चोर जुटौँ
अर्थतन्त्र मात्र होइन जन्ता पनि भुटौँ
यस्तो मौका आएन र आउने छैन फेरि
यही याम मिलाएर लुट्नसम्म लुटौँ । (मुक्तक नं.१४)
युवाशक्ति परदेशिने रोगले ग्रस्त छ मुलुक । एकातिर आमाबाबु कसैको मुठ्ठीमा बन्धक छन् भने अर्कोतिर आफ्नो मुलुकमा सङ्घर्ष र मेहनत नगरी परदेश ताक्ने सन्तानका प्रवृत्तिले दुखित पनि छन् । यो दयनीय अवस्था विकराल भन्दै जाँदा भविष्यमा युवाविहिन गाउँघर कस्ता देखिएलान् ? कस्ले रुँगिदेला वृद्धाश्रम जस्ता गाउँबस्तीलाई ? मुक्तककार पनि बेस्सरी चिन्तित हुनुहुन्छ ।
बाबा बेहोशी
आमा बेखुसी
घर चुइने
म परदेशी । (मुक्तक नं.१०३)
सरल शब्दमा गहन भाव प्रयुक्त गहकिला र चोटिला मुक्तक सिर्जना गर्नु कृष्णादेवीज्यूको विशेषता नै हो । अरुको मन जित्न तिनका मनभित्र जमेर कटकटी काट्ने छुरा जस्ता भएका दुख्ख दर्दका पत्रहरू पनि उप्काएर फालिनुपर्छ । घाउको उपचार गर्दा एकछिन चह¥याउला तर ओखतीमूलो गर्नुपर्छ । चुहिने आँखा ओभाना हुन एकदर्को झरी दर्किनुपर्छ । आफ्नासँग आफ्नाले मन खोल्नुपर्छ र दुख्ख वेदना बिसाउनुपर्छ ।
तिमी नै त हौ मेरो समाउने डाली
तिमी नै त हौ मेरो माया राख्ने प्याली
तिमी नै त हौ मेरो प्रकाशिलो दीप
तिमी छौ र छैन यो मन खालि खाली । (मुक्तक नं.२१८)
कति घिच्छौ ए भष्मासुरहरू हो ? दीन–हिनहरूका सपना र विपना खर्लप्पै निल्दा तिम्रो भुँडीमा कस्तो सुखानुभूति ओर्लिन्छ ? तिम्रो मनमुटुमा कस्तो आनन्द पौडिन्छ ? फेरि मौका नआउला झैँ घाँटी नै च्यातिनेगरी भएभरको राज्यस्रोत आफ्नै उदरमा हुल्दा सधैँ आरामै भइरहला ? कविको यो सरल प्रश्नको जवाफ छ तिमीहरूसँग यतिखेर ?
दुई गज भूमिमा अटिन्छ
पाँच मुठी खानाले बाँचिन्छ
दौलत जोड्न दौडा–दौड छ
थाहा छैन मृत्यु कैले खटिन्छ ? (मुक्तक नं.२)
यो कृति काव्यात्मक रसमाधुर्य, जनमनका आवाज र सिर्जना सौन्दर्यले सुललित बनेको छ । त्यसैले त कृतिको भूमिकामा साहित्यकार केशवराज आमोदी लेख्नुहुन्छ– “स्वत्वबोध, युगबोध, स्वाधिनताबोध, नारी उन्मुक्तिबोध र अधिकारबोध नै कृतिका विशिष्ट्य हुन् ।” साहित्यकार डा.श्यामप्रसाद न्यौपानेको मत छ– “यस किसिमका सुष्ठु, मृदु एवम् तीक्ष्णभावयुक्त मुक्तक लामो साधनाको सातत्यबाट थोरै सष्टाबाटा मात्र प्राप्त गर्न सकिन्छ ।” कवि सरुभक्त भन्नुहुन्छ– “अनेक समस्यामा परेको देशलाई उज्यालोको आवश्यकता छ । कृष्णादेवीको मुक्तकीय आँखीझ्यालले यही बिम्बलाई अन्तर्यमा राखेको छ ।” साहित्यकार गोविन्दराज विनोदीले मुक्तकीय शुभकामना दिँदै बन्द कोठाको आँखीझ्यालभित्र मसिनरी नियाल्दै निष्कर्ष निकाल्नुभएको छ–
अन्यायको कालो जालो हटाउन खोज्छिन् उनी
विभेदको विषवृक्ष ढलाउन खोज्छिन् उनी
जलाएर समाजका थोत्रा रीति परम्परा
स्वच्छ, उन्नत, मानव बस्ती बसाउन खोज्छिन् उनी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।