१. नेपाली साहित्यमा अमर बानिया लोहोरो
नेपाली साहित्यमा अमर बानियाँ लोहोरोको नाम लोकप्रिय छ। अमरबहादुर छेत्री पूरानाम भएका अमर बानियाँले आफ्नो नामको पछाड़ि लोहोरो उपनाम दिएका छन्। उनको जीवन नै त्यो ढुङ्गा हो जो पहाड़बाट लोट्दै लड़्दै-पड़्दै गएर एउटा गोलो र चिल्लो बनेर एउटा उपयोगी वस्तु लोहोरो बनिन्छ। उनको जीवन पनि एक प्रकारले लोहोरो जस्तै छ जो जीवनसङ्घर्ष गर्दै एजना परिपक्व मानिस बनेका छन्। उनीभित्र कविताको प्रतिभा छ, शिप र भाव -शिल्पले उनी सुसज्जित छन्। उनी हल्ला र विज्ञापनदेखि टाड़ामा रही आफ्नै धुनमा साहित्य साधना गरिरहने, लेखनमा इमानदार रही काम गरिरहने एक सज्जन पुरूष हुन्।
अमर बानियाँ लोहोरोको जन्म ३१ जूलाई, १९५९, जङ्गु लिङथिम उत्तर सिक्किम भएको हो। उनका आमाबाबुको नाम स्व. हरिमाया छेत्री भट्टराई र भुवनसिंह बानियाँ छेत्री हो। उनी १९८९ मा आमा कविता लिएर साहित्यमा देखा परेका हुन्। हालसम्म उनका प्रकाशित कृतिहरूमा- १. भावधान (कविता सङ्ग्रह), २. काव्याणु (एक लाइन वाली कविता सङ्ग्रह), ३. जीवन-चित्र (त्रयभषिक कविता सङ्ग्रह), ४. मानव (कविता सङ्ग्रह), ५. मनको क्यानभस (कविता सङ्ग्रह), ६. शब्द समाधि (एक लाइनको कविता सङ्ग्रह), ७. भाँच्चिएको चश्मा (कविता सङ्ग्रह), ८. सम्भावनाका प्रतिबिम्ब (कविता संग्रह), ९. अनेक मनको आवाज (गीत सङ्ग्रह), १०. अन्तर-अनन्तर (कविता सङ्ग्रह) हुन्। उनको बालकथासङ्ग्रह गार्डनको सम्झना पनि प्रकाशित छ। यसैगरी उनका केही अनूदित पुस्तकहरू पनि प्रकाशित छन्- अनुदित - १. सन्त कबिरका दोहा, हिन्दीबाट नेपालीमा), २. अन्तर्मन (कविता सङ्ग्रह) (हिन्दीबाट नेपालीमा), ३. मानव (कविता सङ्ग्रह) नेपालीबाट हिन्दीमा, ४. अक्षरार्थ (कविता सङ्ग्रह) (हिन्दीबाट नेपालीमा), ५. मातृभूमि (उपन्यास, (हिन्दीबाट नेपालीमा), ६. प्रत्येक बिहान (बाल काव्य पुस्तिका) (हिन्दीबाट नेपालीमा), ७. हँसिली लीला (नाटक, हिन्दीबाट नेपालीमा), ८. राग प्रवाहिनी (कविता सङ्ग्रह) हिन्दीबाट नेपालीमा।
उनले नेपाली साहित्य सेवा गरेवापत भारत र नेपालका केही साहित्यिक सङ्घ-संस्थाबाट पुरस्कृत र सम्मानित भएका छन्। यद्यपि उनी चरैवेती चरैवेती सिद्धान्तमा रहेका छन्। उनी काम गर्दै जान्छन्, पाइलाछाप छोड्दै जान्छन्। उनी कर्म गर्दै जाने कर्मयोगी हुन् भन्न सकिन्छ।
२. प्रयोगवादी कविका रूपमा-
अमर बानियाँ लोहोरो पनि नेपाली कविताको प्रयोगशील कवि हुन्। उनले आफ्नो एक हरफे कवितालाई काव्याणु नाम दिएर नौलोपन दिएका छन्। उनको काव्याणुका बारेमा समालोचक जय क्याक्टस लेख्छन्- “एकै हरफमा प्रस्तुत गरिने कविताको सूक्ष्मस्वरूप संरचनात्मक वैशिष्ट्यले नै एक प्रयोगात्मक छ”। अमर बानियाँ लोहोरोको काव्याणु एक हरफे कविताको प्रयोग हो। गागरमा सागर भनेझैं एकै लाइनमा धेरै कुरा तप्किएको पाइन्छ। एक पंक्तिमा नै आफ्नो ज्ञान, अनुभव, विचार, सिद्धान्त र चेतनालाई प्रकट गरेका हुन्छन्।
मुक्त छन्दमा प्रस्तुत कविताको यो अन्यन्त स्थूल रूपलाई मान्नु वा नमान्नु त्यो विनम्रतापूर्ण लेख्छन्- “केही मात्रैमा पनि यदि काव्यिक तत्त्वलको अस्तित्व फेला पार्नसक्नुभयो भने त्यही नै मेरो ऐलेको ठुलो सफलता ठान्नेछ किनभनेदेखि त्यही काव्यिक तात्विक बीजबाट त्यो अथाह गर्नको सम्पूर्ण विज्ञान युगमा पनि ती मानव हृदयमा भूमिसरि यो आदिकालदेखिन कै काव्य वा कविताको अस्त्तित्व उम्रिरहोस्, फुलिरहोस् र बाँचिरहोस् भन्दै काव्याणुलाई कविताको उत्स र स्रोतको रूपमा प्रस्तुत गरेका छन्। अघिभनेझैं एकोहम् बहुस्याम अर्थात् ब्रहम्मरूपकै विस्तार भएर सृष्टि आरम्भ भए झैं त्यही ब्रह्मलाई काव्याणु भन्नु र मान्न रूचाउने कवि बानियाँको हिन्दू धार्मिक आस्थाको टेकोमा काव्याणुको चिन्तन विस्तृति फैलिएको पाउँछौं। विज्ञानी चेतनाले बीजबाटै जैवविस्तारण हुनेहुनाले काव्याणु पनि काव्यबीजको अर्थ समुचित ठहर्दछ। (जय क्याक्टस, भारतेली नेपाली कवितामा प्रयोग केही चर्चा, सन्धान अङ्क -४, २००८, पृष्ठ २९)।
३. अमर बानियाँ लोहोरोको काव्यिक चेतना
२०२४ मा प्रकाशित अमर बानियाँ लोहोरोको नवौं कवितासङ्ग्रह अन्तर अनन्तर प्रकाशित भएको छ। यसको प्रकाशक सिक्किम एकाडमी रहेको छ भने यो लगभगएकसय त्रिचालीस पृष्ठहरूको आयाममा रहेको छ। यसमा विषयानुक्रम स्वरवर्ण र व्यञ्जनवर्णका आधारमा खण्ड एक खण्ड दुई गरी अकारादि क्रम राखिएको छ। यो पछिल्लो कवितासङग्रह अन्तर अनन्तर अमर बानियाँ लोहोरोको काव्यिक चेतनाको एउटा उर्ध्वमुखी उपज हो भन्न सकिन्छ। पुस्तकको नामरखाइदेखि लिएर यसका प्रत्येक कविताले कविको परिपक्व चिन्तन जीवन अनुभव र दर्शनलाई पाठकसामु पसेकोका छन्। जीवनमा भोगेका कुराहरू पनि कवितामा आएका छन्। उनी यसमा रहेका कविताहरूको अध्ययन गर्दा अमर बानियाँलाई एक चिन्तक आध्यात्मिक कविका रूपमा चिन्न सकिन्छ। उनको चिन्तनभित्र ईश्वरीय चेतना सल्बलाइरहेको पाइन्छ। हुनसक्छ, उनको प्रयोगशील एकहरफे कविता काव्याणुले उनको जीव र जगतप्रतिको चिन्तन र जीवनानुभवलाई समेट्न नसकेर उनलाई लामै आयामका कविता को आवश्यकता परेको हो। जीवन र जगतका धेरै गहिरा कुरा एकहऱफका कविले समेट्न सक्दैनन्। जीवनलाई अँटाउन न सामान्य कविता नै चाहिन्छन्।
‘अन्तर- अनन्तर’ कवितासङग्रहभित्र जम्मा लामाछोटा गरी ७२ वटा कविताहरू रहेका छन्। यी प्रत्येक कविताले केही न केही दर्शन, काव्यवीज र चिन्तनलाई समाहित गरेका छन्। पुस्तकको भूमिकामा भूमिकाकार डा दीपक तिवारीले यसरी मूल्याङकन गरेका छन्- ‘’कवि अमर बानियाँ लोहोरोका अन्तर-अन्तर सङ्ग्रहले नेपाली कविताको आधुनिकता र परम्परागत सौन्द्रर्यलाई एकैसाथ प्रस्तुत गरेको छ”। (दीपक तिवारी, पृष्ठ - viii)।
अमर बानियाँ लोहोरो एक युगसचेत कवि हुन्। कवितामा भावगत गहिराईलाई अन्तर अनन्तर कवितासङ्ग्रहमा अभिव्यक्त गरेका छन्। कविताभित्र नैतिकताको उठान छ, मानवीय संवेदनाको लहर छ, सामाजिक जीवनका वास्तविकता, जीवन र जगतका दर्शनलाई कवितामा पोखेका छन्। उनी दार्शनिक हरूका दर्शनहरूका अनुयायी हुन्। उनको दर्शनलाई कवितामा विभिन्न राग अनुराग, प्रतीक, बिम्ब, विचार योजना, शब्दयोजना आदिबाट परोक्ष रूपमा प्रस्तुत गरेका छन्। उनी ईश्वरप्रति गहिरो आस्था राख्छन्। समय समयमा साधन सुमिरण गर्छन्। उनीभित्र कुनै अदृश्य चेतना छ, जसले उनलाई लेखाउँछ ।
४. अन्तर अनन्तरको कथ्यवस्तुको सन्धान
अमर बानियाँ लोहोरोको अन्तर-अनन्तर कवितासङ्ग्रह पढ्दा पाठक एउटा विशाल काव्य संसारमा डुबुल्की मार्न सक्छ। यसमा सात रङ्गको इन्द्रेणी जस्तै मूल सात रङ्गका कथ्यवस्तुहरूको सुसंयोजन गरी सुन्दर काव्यमय इन्द्रेणी सृष्टि गरेका छन्। काव्य पारखीहरूले उनका कविताहरूका स्वर, प्रवृत्ति, स्वभाव, वैचारिकता, दर्शन, अर्थद्यौतन र संरचना आदिका आधारमा अध्ययन गर्न सकिन्छ। ययसमा रहेका एकेक कविताले केही न केही सन्देश दिएका छन्। यसमा रहेका कविताहरूको राम्रोसँग गहिरिएर अध्ययन गर्नसके कतै ईश्वरीय चेतना, कतै नैतिक चेतना, कतै मानवतावादी, कतै जीवनवादी चेतना, कतै यथार्थवादी चेतना, कतै सौन्दर्य चेतना पाउन सकिन्छ। एकेकवटा कविता जीवन दर्शन, जीवनानुभव र आदर्शवाद पाइन्छन्। आदर्श र यथार्थको सन्तुलनबाट काव्यिक भाव तप्किएका छन्। कविताहरूका सात भाव भए पनि कविभित्र एउटा अबोधगम्य आध्यात्मिक चिन्तन रेखा छ, जसले जम्मै कविताहरूलाई आन्तरिक तहमा उनेको छ। कविताहरू विभिन्न भाव रहेता पनि अदृश्य रूपमा डोहोर्याइरहेको जस्तो भान हुन्छ। यस सङ्ग्रहमा सङ्गृहीत कविताहरूलाई स्थूलरूपमा सातवटा स्वरहरूमा वर्गीकरण गर्न सकिन्छ- ईश्वरीय चेतना, नैतिक चेतना, मानवतावादी चेतना, जीवनवादी चेतना, यथार्थवादी चेतना, आदर्शवादी चेतना र सौन्दर्य चेतना। कविमनमा उब्जेका काव्यिक चेतनालाई कवितामा उतार्ने क्रममा विभिन्न विचार, विषय, प्रसङ्ग, माध्यम, प्रतीक, विम्ब आदिको माध्यमबाट उतारेका छन्।
४.१. ईश्वरीय र आध्यात्मिक चेतना – ‘अन्तर अनन्तर’ कवितासङ्ग्रहको मूल स्वर नै ईश्वरवादी चेतना हो । यसका प्रत्येक कविताको भाव र स्वरलाई राम्रोसँग अध्ययन गरे सबै कविता थुरिएर केन्द्रबिन्दुमा गएर ईश्वरी चेतना पाउन सकिन्छ। लाग्छ कवि कुनै तन्त्र अभ्यास गर्दछन्, योग साधना गर्दछन्, कुनै दर्शन र ज्ञानमार्गमा डुबेका छन्। त्यो दर्शनमा गहन अध्यात्म छ, ईश्वरीय चेतनाको खोजी छ। उनको विचारमा कुनै अदृश्य शक्ति छ जसले मानिस त के सम्पूर्ण ब्रमाण्डलाई परिचालित गरिरहेको छ। प्रत्येक मानिसभित्र ईश्वरी शक्ति छ, चेतना छ। त्यो शक्ति सकारात्मक हुन्छ, जसलाई जान्न बुझ्न चिन्न मानिसले ईश्वरीय साधना गर्नुपर्दछ। मानिसमा भएको सकारात्मक उर्जालाई कुनै माध्यमको साधनाले उकासे प्रत्येक मानिस नै राम, कृष्ण, बुद्ध, यीशुखृस्ट बन्न सक्छन्। नियति, महासत्य, अथाहयात्रा, उपकृत छु, उसको कुरा, उसको भनाइ, उसको वचन, जङ्गलभित्रका कृतिहरू, निष्कर्ष, आदि कवितामा ईश्वरीय चेतना छन्। मानसको चेतनाभित्र एउटा परम तत्त्व छ, जो देखिन्न तर अनुभूत गरिन्छ। त्यो अनुभूत गर्नका निम्ति पनि साधना सुमिरण गर्नुपर्दछ, आफ्नो मनको अध्ययन गर्नुपर्दछ र स्वानुभूति गर्नुपर्दछ। ब्रह्म सत्यं जगन्मिथ्याद्वारा प्रतिपादित अद्वैत वेदान्त दर्शऩ आदिशङ्कराचार्यको मूल मन्त्र हो, जसको अर्थ ब्रह्म (परम चेतना) नै एकमात्र शास्वत सत्य हो अनि यो संसार परिवर्तनशील हुनाको कारण मिथ्य वा भ्रम हो जो असत्य छ। ब्रह्मको तुलनामा संसार क्षणभङ्गुर छ।
यसमा रहेका केही कविताहरूले यही कुराको पुष्टि गर्दछन्। सार सत्य कवितामा ओमलाई जीवनको सार बुझेका छन्। अ उ र मका महत्त्व यसरी प्रकट गरेका छन्-
अहो अउमको महिमा रहेछ अपार
ओम नै रहेछ जीवनको सार।
४.२. नैतिक चेतना- कवि आफैं एक नैतिकतावादी, विशुद्धवादी, सुआचरणका व्यक्ति हुनाले उनका कवितामा स्वतः नैतिक चेतना पाइने स्वाभाविक हो। मनको हरफ, मलाई थाह छ, सायद, चिन्तन आदि कवितामा यथार्थवादी चेतना पाइन्छ। कवि मानिसभित्रको सुन्दर सकारात्मक सुगुण भएको चाहन्छन्। मानिसमा दया, प्रेम, मानवता, नैतिकता आदि जस्ता गुण खोज्छन्। नैतिक चेतना नभएको मानव समाज र पशुसमाजको भिन्नता हुँदैन भन्ने कविलाई लाग्छ। जीवनका हरेक पल नै नैतिकताले भरिएको हुन्छ-
अरूहरूले
जतिसुकै वादविवाद मच्चाउन्
जतिसुकै तर्कवितर्क चर्काउन्
म मेरो नीति र सिद्धान्तमा अड़िनेछु। (१२६)
४.३. मानवतावादी चेतना- यसमा रहेका केही कवितामा मानवतावादी चेतना पाइन्छ। यस पृथ्वीमा मान्छे सर्वश्रेष्ठ प्राणी हो भन्ने विचार सर्वत्र पाइन्छ तर के मान्छेका कतिपय कुकृत्य, अमानवता हेर्दा के मान्छे सर्वश्रेण्ठ प्राणी हो के भन्ने कुरामा कविलाई आशङ्का छ। यद्यपि मान्छेभित्र मानवताको चेतना हुनुपर्छ। मान्छे दिनदिने स्वार्थी, स्वकेन्द्री अमानवीय संवेदनहीन बन्दै गाएकामा कवि निकै दु-खी छन्। मान्छे अहिले पशुभन्दा तल झरेको छ । मान्छे अब मान्छे बन्न पाएको छैन-
दिनानुदिन ममा मान्छेप्रति टीठ लाग्न थालेको छ
यस अर्थमा कि
उ मान्छेको सन्तान भएर
मान्छेबाटै जन्मिएर
पूर्ण मान्छे भई बाँच्न पाएको छैन
पूर्ण मान्छे भई मर्न पाएको छैन।
‘बदलिँदो रूपाङ्कन’ कवितामा पनि मान्छेको मानवता टाडिँदै गएकामा कवि भर्त्सना गर्दछन्-
टाडिँदै देखिन्छ कि मान्छेसित मान्छ
सन्देही देखिन्छ मान्छेसित मान्छे,
यहाँसम्म कि आफ्नै रगतका स्रोतहरू
आफ्नै रगतका उपजहरू
टाडिएर जाँदै दूरदूर
आफ्नै मुटुहरू दूरसुदूर।
कवि मानवको सिर्जनाशक्तिमाथि विश्वास गर्दछन्। मान्छेभित्र सिर्जनाका नदी हुन्छ, मान्छेकै सिर्जनाका कारण यतिधेरै उपलब्धि हासिल गरिएको हो। मान्छेभित्र अदम्य कर्म निर्वाध र स्वतःप्रवाही हुन्छ-
धरती फोरेर निस्किएका
पहाड़ फोड़ेर निस्किएका
चट्टान तोडेर बाहिरिएका
तुल्यताका सशक्त सोंचहरूलाई
नव मानवताका चेतहरूलाई ।
४.४. जीवनवादी चेतना- अमर बानियाँ लोहोरो जीवनवादी कवि पनि हुन्। जीव भोग्दा सुख-दुःखका अनुभव र अनुभूति कवितामा अभिव्यक्ति गरेका छन्। यसो हुँदा कुनै कविता आशावादी र कुनै निराशावादी छन्। सामाजिक जीवनमा चारैतिर विकृति, विसङ्गति, आडम्बर, अमानवीयता देख्दा उनी निराश हुन्छन्। उनको पहाड़ी प्रेम कविताले पनि आशावादी भाव पोखेका छन्। हिउँदमा उजाड भएको वन र रूखहरूका नयाँ पालुवा पलाएर फेरि हरियाली हुन्छ। दृश्यपटका यथार्थ, निष्कर्ष आदि कवितामा जीवनलाई ईश्वरीय साधन र उपभोगका निम्ति प्रयोग गरौं भन्ने आग्रह गरेका छन्।
संयोगक्रममा मैले मूलतः
छ किसिमका रङ्गहरू हेरें
अनि रङ्गका रङ्गहरू फिटेर हेरें
र रङ्गहरूभित्र बेरङ्ग डुबेर हेरें
जहाँ मानव मनका भावनाहरू देखेँ
र भावनानिहितका प्रचुर भावहरू भेटें। ( अन्तर अनन्तर, पृष्ठ ४१)
४.५. सौन्दर्यवादी चेतना- यसै त कविता भन्नु नै सौन्दर्यको उद्रेक हो, कलाको प्रस्फुटन हो। अमर बानिया लोहोरोको यस कवितासङ्ग्रहका केही कवितामा जीवन भोगाइका तीता मिठा अनुभवलाई कवितामा उतारेका छन्। जीवन भोग्दाका पीड़ालाई विभिन्न विम्ब, आकार दिएर उतारेका छन्। उनी पहाड़मा सौन्दर्य देख्छन्, प्रकृतिको अनुपम छटामा मुग्ध हुन्छन्। सबैभन्दा प्रबल सौन्दर्य पक्ष नै कवितामा अन्तर्निहित भावहरूमा नै सौन्दर्य चेतना पाइन्छ।
अझ झ्याम्म चाँप गुराँस देखियोस्
त्यसमा लेकाली पक्षीहरूको गान देखियोस्
तल फेदीमा झुरूम्म कुनै गाउँ देखियोस्
अनि आफु बेसींतिर झर्दैगर्दा बाँसुरीको
तिरीरी मुरली बज्यो बनैमा गाउँदैगरेको सुनियोस्..... (अन्तर अनन्तर, पृष्ठ ७२)
४.६. आदर्शवादी चेतना- नैतिकवादी जस्तै कवि एक आदर्शवादी कवि हुन्। कविको आन्तरिक चेतना नै आदर्शवादी छ। उनी मान्छेलाई नैतिकवान बनाउऩ चाहन्छन्, आफुलाई त्यो परम्ब्रह्म परमचेतनाका एक उपासक मान्दछन्। उनी शान्त निष्कलङ्क, आदर्श समाज चाहन्छन्। जीवनका रङ्गहरू, झस्काइका छापहरू, लगायत अधिकांश कविताहरूमा आदर्शका भावहरू पाइन्छन्। यतिसम्म कि कविलाई साहित्यिक पुस्तक बिक्री नभएको, पुस्तक नपढिएकामा, प्रकृतिको संरक्षण आदि जस्ता विषयमा पनि कवि चिन्तित छन्। नारीप्रति पनि कविको आदर्शभाव पाइन्छ।
रामभक्त बन्ने कि रावणभक्त
अङ्गुलिमाल हुन्छौ कि गौतम बुद्ध
ती तिम्रै इच्छा र चयनको विषय हुँदो हो। (अन्तर अनन्तर, पृष्ठ २)
५. अन्तर अनन्तर कवितासङ्ग्रहको संरचना र शैल्पिक चेतना-
अमर बानियाँ एक शैल्पिक चेतना बोकेका कवि हुन्। उनी शब्दसचेत, अर्थसचेत, रूपसचेत, शिल्पसचेत र भावसचेत कवि हुन्। उनी शब्द शब्दमा विचार भाव पोख्छन्, शब्दसित खेल्छन्, शब्दमा नै आफुलाई समाहित गर्छन्। यसमा रहेका कविताहरू लघु आयामका प्रगीतात्मक परिपाटीका छन्। कविता छोटा छन् तर खँदिला विचारका छन्। विम्ब र प्रतीक थोरै प्रयोग भएको पाइन्छ। कुनै एक पृष्ठको र कुनै तीन पृष्ठसम्मका कविता रहेका छन्। सरल शब्द, छोटा र सरल वाक्य आदिले कविता सुबोध्य छन्। यसमा रहेका अधिकांश कविताहरू प्राय दुई पृष्ठका छन् भने निष्कर्ष, यात्राबोध जस्ता कविता पाँच पृष्ठका छन्। कविता सरल वाक्य, सरल शब्द, सरल बिम्ब पनि यसको भाव भने गहन छ, गहिरिएर बुझ्नुपर्ने हुन्छ। कवितामा प्रतीक र बिम्बको जञ्जाल छैन। अमर बानियाको काव्यिक विशेषता पनि यही हो। यस कवितासङ्ग्रहको एउटै सबैभन्दा बलियो पक्ष नै भाषिक सरलता हो। डा लक्ष्मणप्रसाद गौतमले समकालीन नेपाली कविताको सरलताका प्रसङ्गमा शब्दका तहमा, वाक्यका तहमा र अर्थका तहमा भनेर तीन किसिमले वर्गीकरण गरेका छन्। यद्यपि बानियाँका कविता अध्ययन गर्दा अझ चार किसिमका सरलता पाइन्छन्- शब्दका तहमा, वाक्यका तहमा, अर्थका तहमा र समग्र भावसम्प्रेषणगत सरलता। यहाँ कुनै शब्द पनि कठिन छैनन्, जति प्रयोग भएका छन्, सरल रूपमा प्रकट हुने शब्द हुन्। वाक्य तहमा भने मुक्त कवितामा हुनुपर्ने सरलता र प्रवाहलाई निर्वाह गरिएको छ। थोरै शब्दका छोटा वाक्य तर प्रवाहमय अभिव्यक्ति कविताहरू प्रभावकारी बनेका छन्। कवितामा अर्थहरू गहन छन् तर सरल छन्। यहाँका कविताहरू सशक्त तर सरल रूपमा भावसम्प्रेषण गरिएको छ।
अमर बानिया लोहोरोको अन्तर अनन्तर कवितासङ्ग्रहमा चामलको बोराभित्र दुईचार घुन परेझैं केही कमजोरी पनि नपाइने होइनन्। यसमा रहेका अधिकांश कविताहरू बढी आदर्शवादी भएकाले पाठकलाई एकरसता दिन्छ। कतै अस्पष्ट भाव, कतै शैलीगत शिथिलता कतै भावावृत्ति जस्ता कमजोरी पनि पाइन्छन्।
६. अमर बानियाँ लोहोरोको काव्यचेतनाको मूल्याङ्कन र उपसंहार
अमर बानियाँ लोहोरो धेरै लेखेर पनि समुचित मूल्याङ्कन र समीक्षण नगरिएका साहित्यिक सर्जक हुन्। उनी एक सफल कवि, अनुवादक हुन् तर उनका बारेमा धेरै अध्ययन भएको छैन। उनको कविताहरूको राम्रोसँग अध्ययन गर्न सके आदर्शवादी, अध्यात्मवादी, नैतिकवादी, मानवतावादी चेतना प्रखर पाउन सकिन्छ। यीबाहेक उनका कविताको सौन्दर्य पक्ष, संरचना पक्ष, रूप पक्ष आदिबारे अझै धेरै विशेषता पाउन सकिन्छ। कविताहरूमा जुन आदर्शको भाव पाइन्छ, त्यसबाटे उनीभित्र एउटा अभिनव दर्शन छ जस्तो प्रतीत हुन्छ। कवि मूलतः आदर्शवादी कवि हुन् जसका कवितामा आदर्शता उदात्त भाव रमेको पाइन्छ। कविताहरू सुसंरचित, सुसंगठित र सुललित छन्। यसमा भएका कविताहरू पढ्दा पाठकले मानवता र आदर्शताका भावहरूमा रमाउँछ, आनन्दित हुन्छ।