आज धेरै वर्षपछि कालुङखोला किनारको एउटा ढुङ्गामा बस्न पुगेँ। विगतमा झैँ दुवै खुट्टाका घुँडामुनिको भाग पानीमा डुबाएँ। समुद्रमा जस्तो छाल उठ्ने र जाने त कुरा भएन । साना भए पनि खोलाका छाल त उठ्ने र जाने गर्ने नै भए । छालसँगै विगतका यादहरु चलचित्रका दृश्य जस्तै सरसरर्ती आउँदै जाँदै गरेँ। पानीको कलकल आवाजसँगै कति दृश्यहरु मानसपटलमा ताजा भए । पानीको मूख्यधार नेर च्याप्टो परेर सुतेको ढुङ्गा खोज्यो मनले । आमाले तामाको ताउलोमा खरानीको बाहानमा पकाएका कपडाहरु पछारी पछारी, छ्याप्लप् छ्याप्लप् पार्दै धुने त्यहि ढुङा थियो । त्यतिबेला साबुनले धुने कपडा त निकै कम थिए । केवल बा र हजुरबाका ढाका टोपी, हाम्रा दुई-चारावटा ट्र्यालिङका कपडा मात्र । हामी केटाकेटीलाई आमाको नजिक नजिक खोलामा खेल्न निकै रमाइलो हुने । जहाँ आमा, मायाकी खानी त्याहीँ हामी । खोलाको किनारमा विभिन्न रङ्ग र आकारका ढुंङ्गाहरु, पानी तालिएको ठाउँमा खुट्टा राख्दा खुट्टानै ठुग्न आउने विभिन्न आकारका माछा । माछाका भुरा पनि हामीसंग खेल्न रमाएका हुन् कि?, कतिवेला कतिवेला पानी माथी उम्लिन्थे त कतिवेला पेटको चंकिलो सेतो भाग आकाश तर्फ फर्काइदिन्थे । ताउलामा कपडा धोएर सकिए पछि पिँधमा कपडा सँगै खरानीमा पाकेका पिडालुका गाना खान मन पर्थ्यो । कपडा नसकिएसम्म ति पिडालु झिक्न मिल्दैनथ्यो । त्यही च्याप्टो ढुङ्गामा त हो आमाले हामीलाई बसाएर नुहाइदिने । कपडा धोएर सकिए पछि हाम्रो नुहाउने पालो आउथ्यो । कपडा धुने साबुन कडा र सुकेका हुन्थे, घोट्दा घोट्दा गाज आउदैं नआउने । सावुन लगाउदा कलिलो छालामा विरालाले केतरे जस्तो दुख्थ्यो, आँखा अचक्ली पिरो हुन्थ्यो । नुहाउनु ठूलै सजाय भोग्नु सरह थियो ।
यही कालुङखोलासंग जोडिएको छ जीवन हामी धेरै कालुङ्खोलेको । हुन त पानी नभए जीवन काहाँ सम्वभ छ र ? चन्द्रममा र मंगलग्रहमा पानी छैन, जीवन छैन । पृथ्विमा पानी छ जीवन छ । खोला पानीको मुहान हो । खोलाले मान्छेमात्र हो र अनेक जीव, जनावर, पञ्छि र रुख विरुवा समेतलाई जीवन दिएको छ । यही कालुङ्खोलाले विगतमा कहिले लडायो, कहिले बगायो, कहिले हाँसायो, कहिले हौसायो, कहिले कुरायो, कहिले रुवायो कहिले झगडा निम्त्यायो ।
खोला यही हो तर नाम भने बग्ने ठाउँ अनुसार फरक फरक । यही खोलालाई अलि टाढाबाट देख्ने कालीपारे र अरुहरुले कालुङ्खोला भने । कसैले ठूलो खोला, कसैले ठेउले खोला । सपाउदे, खाल्टे, गोस्ती लगायतका साना खोला र खोल्साहरु मिसिने र अरु खोला भन्दा ठूलो हुनाले लाम्सु, लावर, देवलधारा, बिजुवा, टाउका, घिउर, समलवारी, मुलाबारी, पिपलारुख बस्नेहरुले ठूलो खोला भनेर नाम दिए होलान् । खोला वारी पारी गर्दा ठेउले गाउँको नजिकमा पुगेर यस खोलालाई तर्नु पर्ने हुनाले मादी, पैञ्यू, सर्कुवा, विरौनीका बासिन्दाले ठेउले खोला नाम राखे होलान् । कतिपए पाकापुरानाले एकपटक त्यस भेगमा ठेउला रोग निकै फैलिएको थियो । त्यतिवेला बाहिरबाट त्यस खोलाको क्षेत्रमा पुग्नेले फैलिएको रोगको नामबाट खोलाको नामाकरण गरेका हुन् भन्ने पनि गर्थे । खोलाको दुवै तर्फ रुखविरुवा र हरियाली भएको, खोलाले जंगलबाट पात समेत बगाएर ल्याउने, पहिरा पहिरी यसैमा समहित हुने, बर्सादमा कालै भएर बग्ने हुनाले होला सायद यस खोलालाई दमेक, विरौनी, एकराते, मग्लास, कुश्मि शेरा, फलेबास, ज्ञादी, बाच्छा बस्ने हरुले टाडाबाट हेर्दा कोलो देखे होलान र भने होलान् कालुङ्खोला ।
यो त भयो नामको कुरा । नाम जेसुकै भए पनि यस खोलाको पहुँचमा रहेकालाई जीवन धान्न पुर्याएको सहयोग अवर्णनीय छ । दहको धुरी देखि कालापातल, नाम्दु, डाडाखानी, हाडिकोट, ब्याजथला, माइकाथानको धुरीसम्मको पानी यसै खोलामा मिसिन आँउछ । यी धुरीहरुले बनाएको बृत्त भित्र बस्ने बासिन्दाको बनालीको पानी यही खोलामा समाहित हुन्छ । यसै खोलाको पानीले सिञ्चेर फलाएका अन्नबाली यसै क्षेत्रका बासिन्दाको भकारीमा पुग्छन । ढुंगैढूगाका बगर, ढाँड मिलाएर बनाएका गह्राहरुलाई जंगलको मल, बलौटे माटो भरी मलिलो र उभ्रर बनाइदिने यही खोला । एक सरो रोपेको धानलाई मुठिभरीको गाँज बनाइदिने, बाला झुलाइ दिने यहि खोला । गहुँ, मकै, आलु लगायतका बालीलाई सिञ्चित गरी किसानलाई मख्ख पारिदिने यहि खोला ।
यसै खोलमा पाइने असला माछाको स्वाद धेरैको जिब्रोमा झुण्डिन्छ । बर्सादमा जाल, बल्छी, हिउदमा ढडिया र खुँवाको माध्यमबाट खोलाका माछा पौरखीले भान्छामा पुर्याउछन् । यहि खोलाको पानीले किसानहरुले धान रोप्न दिनभर खेतमा माटो हिलो पर्दछन्, हिलोमा लतपतिन्छन, हिलोसँगै रमाएर धान रोप्छन् र बेलुकी यसै खोलामा पुगेर शरीरको हिलो बगाउछन् । भनौ काम गर्दा धुलो, हिलो मैलो भएकालाई यसै खोलाले सुकिलो मुकिलो बनाउछ । हिउँदमा जम्मा भएको फोहर बर्षादमा यसै खोलालो बगाउछ । फोहरलाई मान्छेले बोकेर डम्पिङसाइडमा लैजान पर्दैन यसै खोलाले गाउँघर वरपर सफा गरिदिन्छ । गर्मिले धपक्कै परेकालाइ प्यास मेटाउन पेटभर पानी पिउन मात्र होइन चोपलिएर शरीर भिजाउन र पौडि खेल्न समेत मौका दिन्छ । कसलाई के दिएन र ? पिउन चिसोपानी खोज्नेलाई किनारमा हुने जरुवबाट चिसो पानी, पुस माघको शरीर कपाउने जाडोमा यिनै जरुवाबाट नुहाँउनालई बाफ पुत्त्ताउने तातो पानी ।
रजस्वला भएका युवतीहरु सफा हुन, रसिला कपाल र गालाराता बनाउन उज्यालो नहुदै यही खोलामा । मनमिलेका युवा युवतीले अरुको आखा छली माया लगाउन यही खोलाको किनार । बच्चा जन्मदा सालनाल गर्न, शरीर सफागर्न यहि खोलाको पानी । मान्छे मर्दा सतगत गर्न यहि खोलो चाहिने । अकालमा वितेका साना बच्चाको लास दपनाउन यहि खोलाको किनार । काखको नानी गुमाएका बैसालु आमाहरुले आँसु बगाउन यहि खोलाको किनार । आफन्तको मृत्यू भएर जलेको मनलाई शान्त पार्न यहि खोलाको किनार । किनारको ढुङ्गामा बसेर निरन्तर बगिरहने कञ्चन पानीमा ध्यान दिँदा जलेको मन सितल र शान्त हुने, गुम्सिएको मनलाई निकास दिने, निरास मनलाई आशा दिने, सर्जक मनलाई नयाँ श्रृजनाको जन्म दिने ।
कालुङखोलाले विगतमा आफ्ना अनेक रुप देखायो । बर्षादमा कहिले बहुलाए जसरी गड्गडायो । वारी पारिको पाही भएका किसानलाई धेरै दुख पनि दियो । दिउसो काम गर्दा भोकाएका पेटलाई शान्त पार्न पर्याउनै लागेको अर्नि बगायो, काम गर्नेहरुको दिन भर पेट खाली बनायो । कहिले वारिका वारी र पारिका पारी घरमा नै पुग्न नसकेर अर्काको गोठ खोजर बस्नु पर्ने पनि बनायो । कति किसानका गोरु बगायो, कतिका हलोजुवा बगायो । कुनै कनै बर्ष यही खोलाले देखाएको रौद्र रुपले किसानलाइ उभिएकै स्थानमा थचक्कै बसेर टाउको समाउने बनायो । विहान उठेर आफ्नो खेत हेर्दा हिजोसम्म हरियाली, हराभरा गहिरी खेतमा खोलो हिडेको छ । कसैको दुइ चार मुरी कसैको विसौ मुरी धान हुने खेत बगर बनेको छ, । बर्ष भरी भकारी रित्तै हुने, के खाने ? भनेर सोच्दा सोच्दै बेहोस हुने बनाएको छ, कसैलाई बहुलाउने बनायो । कहिले मान्छे नै बगाएर धेरै परिवारमा रुवाबास बनायो ।
कहिले खोला शान्त शौम्य बन्यो । कहिले निकै सानो भएर अस्तित्वनै छैनकी जस्तो बन्यो । आकाशबाट बर्षा कम भयो, हिउद लाग्यो, यहि खोलाको पानी कुलाहरुमा यता र उदा लैजादा खोलानै सुके जस्तो । खोला सुक्दा पनि किसानका निद्रा भाग्ने, पसिना छुट्ने । खोलामा पानी कम छ, कुलामा पानी छैन कसरी खेत भिजाउने, कसरी धान रोप्ने ? चिन्ताले धेरैको टाउकै दुखायो ।
यही खोलाले साना वालवलिकालाई विभिन्न आकारका ढुङ्गा, पानीमा पाइने माछा, चेपागाडा, पाहा, गगटा जस्ता प्राणी देख्ने, चिन्ने, धरै कुरा सिक्ने मौका पनि दियो । जाँगर हुनेहरुले यही खोलाले बगाएर ल्याएका काठ र ठुटा बटुलेर बर्षभरीलाई दाहुराको जोहो गरे । उद्यमीले यही खोलाको पानीलाई फर्काएर किनारमा घट्ट बनाइए । पानी घट्ट चल्दा घरकाजी महिलालाई राती राती जातोमा पिसिनु पर्ने अवस्थाबाट केही फुर्सद दिलायो ।
समयसँगै जव यहि खोलाको पनिबाट धान कुट्ने, पिठो पिस्ने, तोरी पेल्ने मिल चल्यो कालुङ्खोलेको जीवनमा एक किसिमको क्रान्तिनै ल्यायो । रातारात ढिकिजाँतो गर्नु पर्ने, बल लगाएर कोलडाँडामा भएको कोल घुमाउनु पर्नेहरुले बोरामा धान, मकै, गहुँ र तोरी बोकेर ओराले झरे । सजिलै कुटन पिसन र पेलन गरेर घरघर फर्कदा कति सजिलो । महिलालाई मात्र ठेकिएका कुटन पिसनका काम पुरुषको जिम्मामा पनि पुगे । महिलाले पानी पधेरोमा भेटहुँदा दिदीबहिनीका दुख शुखका गफ गरे जस्तै पुरुषहरुलाई पनि वारीपारीका गाउँका आफन्त, साथीभाइ भेट भएर गफ चुट्ने र पालो पर्खने मौका दियो पानी मिलले । साना जलविद्धुत आयोजना खोलामा पुगे पछि त कालुङ्गखोला उर्जा खोला र उज्यालो खोलामा परिवर्तित भयो । विजुलीको आविस्कारले मानव जीवनमा ल्याएको क्रन्ति कालुङ्गखोलाले वारी पारिका गाउँहरुमा पुर्यायो ।
दुख परे यहि खोलाको किनार, मृत्यू भयो कपडा जलाउन, कपाल खौरन, नुहाउन, क्रिया पुत्री चोखो हुन यहि खोला । खुशी भए भोज भतेर गर्न, विवाह भयो जन्तेबाख्रो खान यहि खोलाको किनार । यसै खोलाको किनारमा, ढुङ्गाको छेलपारेर कति युवा युवतीले मनका कुरा पोखे होलान्, माया पृति जोडे होलना र मानव जीवनलाई निरन्तरता दिन गर्नु पर्ने कर्म गरे होलान ? त्यसको त के लेखा जोखा । आज फेरि त्यही खोलाको किनारमा पुरानो यादमा हराउन पुगेको छु। मन भावुक भएको छ। कसरी व्याख्या गर्न सकूँला र यस खोलाको यो अजस्र महिमा!
हाल: चितवन