19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विश्वासको सङ्कट

लघुकथा खगराज बराल May 26, 2026, 8:26 am
खगराज बराल
खगराज बराल

काठमाडौँमा त्यस देशको भिसा सहजीकरण केन्द्र थिएन । बाध्य भएर दिल्ली जानुपर्ने भयो । म एयर इन्डियाको उडानबाट दिल्ली पुगेँ ।
दिल्ली मेरा लागि अपरिचित शहर भने थिएन । केही पटकको ओहोरदोहोरले यहाँका सडक, भीड र हतार सामान्य भइसकेका थिए । भिसा सहजीकरण केन्द्र पत्ता लगाउन पनि कठिन भएन—गुगल म्यापले बाटो सजिलै देखाइदियो । कागजात बुझाएपछि पाँच दिन कुर्नुपर्ने भयो ।
चार दिनको खाली समय । कुनै निश्चित योजना थिएन । त्यही बेला मनमा एकाएक एउटा इच्छा पलायो—आग्राको ताजमहल हेर्ने । होटलको रिसेप्सनमा सोध्दा रेलमार्गबाट करिब ४ घण्टाको यात्रा रहेछ । योजना तत्कालै बन्यो ।
भोलिपल्ट बिहान म रेलवे स्टेसन पुगेँ । रेलयात्रा मेरो लागि नौलो अनुभव थियो । कुन ट्रेन, टिकट कहाँ, कसरी—सबै अनिश्चित । मनमा गाउँका पुराना कथाहरू झल्झली आए—भीडभाड, चोरी, ठगी, टिटी, जेल… अझ त्यसमाथि गाउँलेहरूले भन्ने गरेको एउटा वाक्य बारम्बार गुञ्जिरह्यो, “भारतमा त जिउँदो नेपालीलाई लासले पनि ठगिदिन्छ ।”
त्यही डर बोकेर मैले एक जना युवकलाई सोधेँ, “आगरा जाने के लिए कौन सी ट्रेन का टिकट बुक करें?”
ऊ सहज मुस्कानसहित नजिक आयो, “मैं भी आगरा जा रहा हूँ, आइए साथ चलते हैं ।”
उसको सहजतामा पनि मलाई शङ्का लाग्यो । ‘कहीं ठग त होइन ?’ तर विकल्प पनि थिएन । म उसकै पछि लागेँ । उसले एक सय रुपये माग्यो । मनले नमान्दानमान्दै दिएँ ।
केही बेरमै ऊ फर्कियो—दुवैको सामान्य सिटको टिकट लिएर ।
“डिलक्स में बैठना है”, उसले भन्यो, “टिटी के आने पर टिकट के साथ सौ रुपये दिखा देना, सब सेट हो जाएगा ।”
उसको योजना सुन्दा म झन् सशङ्कित भएँ । ‘यो त पक्का ठग हो।’ त्यसैले मैले आफ्ना पैसाहरू अलग–अलग खल्तीमा सुरक्षित राखेँ ।
बन्दे भारत एक्सप्रेस नामको रेल आयो । उसले मलाई सिधै डिलक्स कोचमा पुर्‍यायो । ऊ आरामले सुत्ने तयारी गर्न थाल्यो । तर मलाई भने बाहिरको संसार हेर्ने उत्सुकता थियो । म सामान्य कोचतिर झरेँ र ढोकामा बसेर दृश्यहरू नियाल्न थालेँ ।
केही समयपछि टिटी आयो । मैले टिकटसँगै एक सय रुपैयाँ दिएँ । उसले चुपचाप पैसा लिएर अगाडि बढ्यो । म एकछिन चकित भएँ—‘सुनेका कुरा यति सजिलै सत्य भए!’
आग्राको स्टेशन नजिकिँदै गर्दा त्यो युवक मलाई खोज्दै आयो ।
“टिटी आ गया?”,ख उसले सोध्यो ।
मैले टाउको हल्लाएँ । ऊ हल्का मुस्कुरायो ।
उसले झोलाबाट सुन्तला निकालेर दिँदै भन्यो, “खाइए ।”
तर मेरो मन अझै खुल्न सकेन। ‘कतै बेहोस बनाउने औषधि त सुईबाट हालेको त छैन?’ मैले इन्कार गरेँ । साटोमा स्याउ दिएँ । उसले बिना हिच्किचाहट खायो । मैले पनि खाएँ ।
स्टेसन आइपुग्यो । झर्ने बेला उसले फेरि सोध्यो, “आप कहाँ रुकेंगे?”
मैले ताजमहल हेर्न आएको र होटल तय नभएको बताएँ ।
उसले तुरुन्त मोबाइलबाट गाडी बोलायो। चालकलाई भन्यो, “गेस्टको सीधे अच्छे और किफायती होटल में पहुँचाना, कोई असुविधा न हो ।”
उसले मलाई शुभकामना दियो र नमस्कार गर्दै भीडमा हरायो ।
ट्याक्सीले मलाई होटल ओभरायमा पुर्‍यायो। व्यवस्थित, शान्त र आरामदायी ठाउँ ।
तर, मनमा एउटा प्रश्न बारम्बार उठिरह्यो, म किन यति धेरै सशङ्कित भएँ ?
उसले त सुरुदेखि अन्त्यसम्म सहयोग मात्र गरेको थियो । तर मैले उसलाई विश्वास गर्न सकिनँ । न मैले उसको नाम सोधेँ, न परिचय, न सम्पर्क ।

पोखरा, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।