19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‎म नालायक हूँ

निबन्ध सन्तु गुरुङ May 26, 2026, 8:31 am
सन्तु गुरुङ
सन्तु गुरुङ

‎म जून ठाउँमा बस्छु त्यसको शिरमा महादेवको बास छ। टाढा हिमाल हेर्दा सेतो हिऊँ को च्यादर ओढि, बुद्ध ध्यान मग्न भई आँखा चिम्लेर सुति रहेको अनुभव गर्न सक्ने जगहमा मेरो बास छ। देवी देवताले झार जंगल वनस्पति हावा पानी प्रकृतिको भरपूर आशिर्वाद दिएको छ यहाँ। यस ठाउँको चमत्कार अनुभव गर्न संसारको कुना काप्चाबाट यहाँ मानिसहरूको घुइँचो लाग्छ। नव दम्पत्तिहरु माया साटा साट गर्न, बिमारहरु निको हुन,धनिहरु मस्तिष्क हलुका पार्न, कति मनको पीर भुलाउन त कति साथी संगी ईष्ट मित्र परिवार संग खुशी मनाउन यस ठाउँमा भेला हुन्छन्। विश्व विख्यात ठाउँमा बस्न पाउनु भाग्यमानी हुनुपर्छ। यस देवस्थल मा जन्मँदा आफैलाई देवतुल्य ठान्न पर्ने बेलामा म आफैलाई नालायक ठान्दछु। गोरो छाला भएका हरूले हामीलाई यहाँ रोपेको अरे। हामी बनमारा हरूलाई, केहि तितेपातीका बोटहरू चाहिँ पहिले देखिनै थियो अरे। अब कुराको चुरा खोजी गर्ने हो भने नयाँ क्षितिजको खोज (असीत राईको ऐतिहासिक उपन्यास) गर्नुपर्छ।

‎१८५६, पहिलो चिया बगानको शुरुवात भयो। चियाले उद्योगको रुप लियो। फटाफट नयाँ चिया बगान हरु खुले। कुल्लीको सन्तानहरू फस्टाए। नयाँ कुल्ली को नस्लहरू चिया बगानसंगैं हुर्के। गुलामीमा पनि कुल्ली, आजादीमा पनि कुल्ली। कैंयो पुस्ताको कुल्लीपनले गर्दा जस्तै अनुकूल समयमा पनि हाम्रो जाती (नश्लले) डोको र नाम्लो देखि माथि सोच्न सकेन। व्यक्तिगत उन्नति गरेको लछेप्रै उदाहरण हरू छन् तर सामुदायिक रूपमा हाम्रो सोच त्यो प्रथम बनमाराको बोट र तितेपातीको झ्याँग जस्तै छ। चियाको बुट्टामा फाँसी लागेर हाम्रो कैंयौं पुस्ताहरूको भविष्यले आत्महत्या गरेको छ, केवल सप्तरंगी कल्पना सजाउन। बाँचुन्जेल भोक हडताल, धर्ना, गेट मिटिङ, गमबूट, छाता, हाजिरा, बोनस, पी एफ, ग्रजुटी को लडाईंमा छोकडा़ (केटा-केटी) देखि चाउरे भएको कुल्ली हरूलाई पत्तो हुँदैन। नमरून्जेल केवल हुन्छ त सूख पाएको सपना, मिठो खाएको राम्रो लगाएको कल्पना, मालिकवर्गको शोषण दमन र कुटनीतिलाई अन्तमा हराँउदै न्याय पाउने आशा। यथार्थमा उ पहिलो‌ चियाको बुट्टा रोप्दा जहाँ थियो आज पनि त्यहीं नै छ। संसार जुनमा पुग्दा उ नूनमा पुगेको तुलना गर्न मिल्दैन। चिया उधोग यस जातिको लागि घाँटीको हड्डी बन्यो, न मरि जानु दिने न गरि खानु दिने। पुस्तौं देखि जंगल फाँडेर, झ्यार घोडेर, भीर पखेरा जोतेर स्यार- सुसार गरेको पुर्ख्यौली जमीन समेत उसको आफ्नो होईन। यिनीहरू स्वतन्त्र भारतको बंधुवा मजदूर मात्र हुन। कम्पनीको कुल्ली देखि यिनीहरूलाई आफ्नो न्यायोचित मालिकाना अधिकार दिनुपर्छ भन्ने कुनै सरकारले ख्याल गरेनन्। गरीबको सरकार, मजदुरको सरकार, धर्मनिरपेक्ष सरकार, राष्ट्रवादी सरकार, धर्मको सरकारले यिनीहरू को निम्ति कुनै सोच राखेन। तपाईं नभनिकन मपाईं हुँदै कुनै दृष्टिकोण बिनै भोट दिने अचेत जनता हुनु नै यिनीहरूको अभिशाप हो।

‎भारत देशमा स्थापित कलकत्ता पछि दोस्रो नगरपालिका (१८५०) कस्तो रैछ भन्ने जिज्ञासा भए मेरो जन्मथलो आउनुहोस्। आधा भन्दा बेसी धर्तीमा राज गर्ने गोरेहरुले यस एैतिहासिक ठाँउलाई अलविदा भन्न अघि गोरू हरूलाई हस्तान्तरण गरिदिए। बाँदरको हातमा नरिवल भन्ने उखान बुझ्न मन लागे तपाईंलाई यहाँ स्वागत छ। गोराहरूले छोडेर गएको यस विश्वविख्यात शहरलाई पछिका पुस्ताहरुले सपार्नुको सट्टा भूपार्दै गयौं। बाटो घाटो नाला झोडा यतिसम्मकी सार्वजनिक सौचालय समेत किन बेच हुने ठाउँ भयो भारतको दोस्रो एैतिहासिक नगरपालिका।राम्रो जमीन, आय हुने सम्पत्ति, व्यवसायिक प्रतिष्ठान सबै अन्यहरूलाई बेच्यौं केवल राम्रो जामा र मिठो हाम गर्नूको निम्ति। खाए सार लाए सार मरेपछि लम्पसार भन्ने उखान रचनेहरूले कहिले आफ्नो भावी सन्तानहरू लाई भलो सोच्ने छन्? गुन्द्री बजार हरायो, जिम्बेनीको खाजा घर , चाम्लिङको मासु पसल, खडकाको सब्जी पसल, प्रधानको भाँडा पसल, सुन्दासको कपडा पसल, गजमेरको सुन चाँदी पसल बिस्तारै हरायो एक पछि अर्को बेचियो। रैथानेहरूले ढाकेको दार्जिलिङ शहरमा अहिले अरूहरूकै बोल बाला चल्छ। रैथाने हरूको शहरको दैनिक अर्थतन्त्रमा सहभागिता औंलामा गन्न सकिन्छ। अहिले शहरमा व्यवसाय गर्ने अधिकतर मानिसहरूको यहाँका रैथानेसित न त भाषा मिल्छ, न भेषभुषा मिल्छ, न खानपान मिल्छ, न रहन सहन मिल्छ, न संस्कार संस्कृति मिल्छ, न देवी देवता नै मिल्छ। उनिहरूलाई कुन आधारमा आफ्नो ठान्ने? के उनिहरूले हामीलाई स्वीकार गर्लान् ? मर्ने बेलामा ओखती खाएर हुन्छ? अरूलाई औंला दिने बानीले गर्दा हात निलेको थाहा हुँदाहुँदै पनि सुध्रेनौं भने दोषी को? तिलक मैदान, चम्पा रानी राईको चम्पा सरी, गुरुङ बस्ती, प्रधान नगर, लिम्बू बस्ती, महाबीर स्थान आदि ठाउँहरु कुन चराको नाम हो भन्नै हाम्रो भावी पुस्ताले खोज्लान त?

‎भारतको प्रथम हाईड्रोपावर (१८९७), ट्वाई ट्रेन (१८८०), जिल्ला अस्पताल (१८५०), आदि थुप्रै सुविधाहरूले सैयौं बर्ष अघि विकसित भएको ठाउँ हेर्ने इच्छा भए यहाँ आउनुहोस्। हामी कहाँ थियौँ र आज कहाँ छौं। न ज्ञानी बने न धनी, न संस्कृति बचाए, न संस्कार अपनाए, न आफैलाई केहि गर्न सके न अरूलाई केहि दिन सके, केवल गन गन गरिबसे र अरूलाई दोषाईरहे। बाघको छाला ओढेको गधा र आधुनिकताको ब्रान्डेड लुगा भित्र त्यही कुल्ली को डि एन ए बगिरहेको नालायक सन्तान त कतै म होईन?

‎माथिलो सिरूबारी, खरसाड़, दार्जिलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।