19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उनीलाई' र कवि हरिप्रपन्न शर्मालाई एकैसाथ भेटिंदाको आनन्द र यथार्थ

कृति/समीक्षा केशवराज आमोदी May 26, 2026, 8:33 am
केशवराज आमोदी
केशवराज आमोदी

निर्दोषा लक्षणवती सरीतिर्गुणभूषणा
सालङ्काररसोपेता वृत्तिर्वाक् काव्यनामभाक्।।
- आचार्य चन्द्रशेखर
भावार्थ : दोषरहित , लक्षणयुक्त , रीति र गुणले समन्वित , अलङ्कार र रसले भरिएको शब्दको वृत्तिलाई काव्य भनिन्छ ।

सन्दर्भतिर लागौं । चितवन लङ्कू निवासी गुरुपदीय धर्मनिर्वाह-कर्मबाट सेवानिवृत्त भएका अध्यात्मदर्शनका मर्मज्ञ , परम भागवत एवं कवि हरिप्रपन्न शर्मा कँडेलजीको जन्म वि. सं. २०१६ पौष २ गते माता वरदवल्लभा र पिता धरणीधर कँडेलका पुत्ररत्नका रूपमा बाग्लुङ , धम्जा डाँडाकटेरीमा भएको हो । रामानुज वेदान्ताचार्य ( सर्वप्रथम ) , नेपाली एम ए , बि एड को शैक्षिक योग्यता हासिल गर्दै , ३८ वर्षको शिक्षण अनुभव प्राप्त कँडेलले "प्रपन्नप्रवाह" ( कवितासङ्ग्रह , २०८३ ) प्रकाशनमा ल्याएका छन् । विवेच्यकृतिमा "उनीलाई" ( जीवित शोककाव्य ,२०८२ ) का सन्दर्भमा केही लेख्ने मनसाय बनाउँदै छु । शुभकामनाका पृष्ठहरूमा वैकुण्ठनाथ मन्दिर लङ्कुका पीठाधीश , परमविद्वान् स्वामी श्रीजगन्नाथाचार्यका 'स्वैच्छाले जिउँदै मर्न सक्नेप्रति ' सुन्दर गीतिलयमा शुभकामना प्रकट गरिएझैं जि वि स म का सभापति कृष्णलाल सापकोटाको शुभकामना मन्तव्य र केशवराज आमोदीको समीक्षात्मक शुभकामना र पवन कण्डेलको प्रकाशकीय विचारले कृति सजिएको छ ।

राष्ट्रकवि माधव घिमिरेको २००४ सालमा आफ्नी पत्नीको मृत्युउपरान्त 'गौरी' ( शोककाव्य ) प्रकाशित भएपश्चात् शोकजन्य कृतिहरू लेखिने र छापिने क्रम रहिरहे पनि 'गौरी' स्तरका कृतिहरू नेपाली साहित्यमा दुर्लभ नै छन् । हिन्दी साहित्यमा सूर्यकान्त त्रिपाठी 'निराला' ले आफ्नी छोरीको स्मृतिमा शोक-सृजना प्रकाशनमा ल्याएपछि अन्य एकाध कविहरूले शोक-सृजना त गरे तर उति आफ्ना भावक पाठकहरूको मन जित्न भने सकेनन् । उर्दूमा मार्सिया र अङ्ग्रेजीमा Elegy ( शोककविता ) लेख्ने परम्परा रहेको देखिन्छ । अङ्ग्रेजी भाषाका साहित्यकारहरूमा लर्ड टेनिसन , टमस ग्रे , रबर्ट लुई , मैथ्यु अर्नाल्ड आदिले मर्मस्पर्शी शोक-सृजनाहरू गरेका पाइन्छन् । अवसाद ग्रस्तावस्थामा व्यक्ति एकोहोरिदै ध्यानयोग , प्रकृति-चिन्तन वा अध्यात्म-दर्शनतिर प्रवृत्त हुनु त्यति अस्वाभाविक पनि मानिदैन ।

काव्यसृजनाको प्रयोजन वा मूलधेय आत्मिक सुखभित्र पनि व्यापक समाजहित समाहित हुने सन्दर्भ श्रीमद्भागवत महापुराणको रचनापश्चात् वेदव्यासलाई स्वान्तसुख मिल्नुको कारण सन्दर्भले पुष्टि गर्दछ । रामचरितमानसका रचनाकार सन्त तुलसीदासलाई मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको पावन चरित्रगाथाको सृजनामा मिलेको शब्दातीत स्वान्तसुखको हामी कल्पना गर्न सक्दैनौं ।

यसभन्दा भिन्न नेपाली साहित्यमा नाट्यसम्राट् बालकृष्ण समले मृत्यु-चिन्तनको नाटकीय काल्पनिक परिस्थितिको समाकलन गरी 'मृत्युपछिको अभिव्यञ्जना'मा बेजोड कल्पनाको उडानले भरेर जीवन र मृत्युका बिच हुने अनुभूति र आभासलाई दर्शाएर काव्यिक विशिष्टताको छाप छोडिदिएका छन् ।

कवि हरिप्रपन्न शर्माको 'उनीलाई' वस्तुविन्यासका दृष्टिले नाट्यसम्राट् बालकृष्ण समको 'मृत्युपछिको अभिव्यञ्जना' सँग यत्किञ्चित् जोड्न सकिए पनि शैली , शिल्प र भावका दृष्टिले नितान्त मौलिक रहेको छ । चितवनमा सञ्चालित पहिलो एफ एम रेडियो सिनर्जीबाट एक दशकपर्यन्त श्रीमद्भगवत्गीताको सारगर्भित प्रवचन दिएर क्षणभङ्गूरमय जीवन र जगत्को सारभूत रहस्यबताउँदै जीवनलाई पारमार्थिक बनाउन सतत आग्रह गर्ने महात्मा हरिप्रपन्न शर्माले काल्पनिकताका आधारमा आफू परमधाम वा परलोक गमन वा विष्णुसायुज्य प्राप्त गर्दैगर्दा विरह-वेदनाले आकुल-व्याकुल भएकी धर्मपत्नी र परिवार-जनलाई सान्त्वना दिंदै-
न जायते म्रियते वा कदाचि-
न्नायं भूत्वा भविता वा न भूय: ।
अजो नित्य: शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ।
- श्रीमद्भगवत्गीता , २/२०
जस्ता 'सर्वोपनिषदो गावो दोग्धा....'को रहस्योद्घाटन गरी वेदहरूको गूढार्थ खोलिदिने रहस्यवादी रचनाहरू ( Mystical writing ) लाई स्वयं कृष्णले उपनिषद्रूप मानेका तथ्य र गीताका अमरसूक्तिका गहन भावहरूले काव्य भरिदिएका भए यो कृतिले वैष्णव-समाजमा मात्र नभई पूरै आर्यावर्त्तीय हिन्दुसमाजमा छुट्टै चर्चा , महत्त्व र विशेष स्थान पाउँने थियो र कविलाई पनि दीर्घतर स्वान्तसुखको आभास मिल्ने थियो ।

जे होस् , काव्य प्रकाशनमा आएको छ । यसले कवि प्रतिभाको उजागरमात्र गरेको छैन अपितु कीर्तिर्यस्य स: जीवतिको लौकिक धारणालाई समेत प्रभावित तुल्याएको छ । कविको प्रयास प्रशंनीय र सार्थक रहेकाले समीक्षक वा काव्यमर्मज्ञहरूबाट काव्यको चर्चा हुने नै छ । मलाई लागेको यत्ति हो- कवि आंशिकरूपमा भौतिकवादी भए पनि समग्रमा अध्यात्मवादी नै हुन् । जीवित जीवले साहित्यिक-जीवनमा अनुभूत गरिने अनौठो कल्पनाद्वारा 'सत्यं शिवं सुन्दरम्' को महनीयताभित्रको रहस्यमयी-चर्चा अलिकम भयो कि भन्ने हो ।

अन्त्यमा काव्यमा प्रयुक्त भाषा , शैली , शिल्प सरल र सरस बनेर कालीगण्डकीको जल प्रवाहझैं प्रवाहित भएको छ । जीवित शोक काव्यमा पनि कविको कारुणिक चिन्तन र विचार मजाले खारिएर मर्मस्पर्शीरूपमा प्रकट भएको छ । शार्दूलविक्रीडित वृत्तमा संरचित शताधिक श्लोकहरू गति , यति र लय र भाव-सम्प्रेषणीयताका हिसाबले पनि कृति सुन्दर लाक्षणिक , पठनीय र सङ्ग्रहणीय बनेको छ । कविको प्रयासले सार्थकता पाएको छ । आगामी दिनमा अलि परमार्थ-केन्द्रित भगवत्भक्तिपरक रचनाहरू पढ्न पाइयोस् । कविको लेखनीले अझै गति लिन समर्थ होस् भन्ने शुभाशंसा प्रकट गर्दै लेखनी बिसाउँछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।