19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रतीक्षारत प्रेम

कथा बद्री अधिकारी May 26, 2026, 8:36 am
बद्री अधिकारी
बद्री अधिकारी

गाउँका बिहानहरूमा एउटा अनौठो प्रकारको शान्ति मिसिएको हुन्थ्यो र हुन्छ।पूर्वतिरको डाँडामाथिबाट घाम बिस्तारै उदाउँदै थियो । सितले भिजेका घाँसहरू र बिरुवाका पातहरूमा अल्झेका सितका थोपाहरू सूर्यको किरणले मानव मनलाई सहजै लोभ्याउने गरी चम्की रहेका देखिँदै थिए।अनि चिसो हावाले निदाएको गाउँलाई विस्तारै ब्युँझाउँथ्यो। चराहरूको आवाजसँगै मानिसहरू दिनको संघर्षतिर फर्किरहेका थिए। प्रकृतिको त्यो क्रम वर्षौँदेखि उस्तै थियो।


निहारिका प्रायः बिहान आँगनमा बसेर घाम ताप्थिन्। हातमा पुस्तक हुन्थ्यो, तर धेरैपटक उनका आँखाहरू अक्षरमा भन्दा विचारभित्र हराइरहेका हुन्थे। उनी उमेरले जवान थिइन्, तर सोचले धेरै पर पुगिसकेकी युवती। बाबु बितेको धेरै वर्ष भइसकेको थियो। घरमा उनी र उनकी आमा विमला मात्र थिए। दुःखले विमलालाई कठोर बनाएको थिएन, मौन बनाएको थियो। उनी कम बोल्थिन्, तर छोरीको अनुहार हेरेर मनभित्रको कम्पन बुझ्न सक्थिन्।

निहारिका पढाइमा अब्बल थिइन्। गाउँभरिका अभिभावकहरूले आफ्ना छोरीहरूलाई उनको उदाहरण दिन्थे। उनी १२ कक्षामा पढ्दै थिइन्। साहित्य, दर्शन र मनोविज्ञानका पुस्तकहरू उनका निकटका साथी थिए। उनलाई लाग्थ्यो—मानिसले आफ्ना भावनालाई नियन्त्रण गर्न सक्नुपर्छ, नत्र भावना नै कमजोरी बन्छ।

तर जीवनले पनि उनलाई सिकाउदै थियो—

भावना कमजोरी होइन, मानिसको सबैभन्दा गहिरो सत्य हो।

उनीभन्दा दुई वर्ष कान्छो चञ्चल गाउँको तलपट्टि बस्थ्यो।उसको बुबा क्याप्टेन अर्जुन राणा इन्डियन आर्मीका रिटायर्ड अफिसर थिए। अनुशासन उनको रगतमा मिसिएको थियो। गाउँलेहरू उनलाई सम्मानले हेर्थे। श्रीमती बितेको वर्षौँ भइसकेको थियो। त्यसपछि उनले दोस्रो विवाह गरेनन्। आफ्नो सम्पूर्ण जीवन एउटै छोराको भविष्यमा समर्पित गरिदिए।

चञ्चल आमाविहीन बालक भएर हुर्किएको थियो।

सायद त्यसैले ऊ सम्बन्धलाई अरूभन्दा धेरै गहिराइले महसुस गर्थ्यो। बाहिर ऊ हँसिलो, चञ्चल र हलुका देखिन्थ्यो, तर भित्र कतै एउटा मौन खालीपन बोकेर हिँडिरहेको थियो।

एसीईको परीक्षा नजिकिँदै थियो। क्याप्टेनले निहारिकालाई चन्चललाई ट्युसन पढाइदिन आग्रह गरेका थिए--"यसलाई ट्युसन पढाइदेउ है, आमा बिनाको टुहुरो, अलि जिद्दी स्वभावको छ। आफूलाई मनपरेको कुरा जसरी पनि प्राप्त गर्न खोज्छ।"

चञ्चल निहारिकासँग ट्युसन पढ्न आउन थाल्यो।

पहिलो दिनदेखि नै निहारिकाले महसुस गरेकी थिइन्—यो केटो अरूजस्तो छैन।

ऊ केवल पाठ याद गर्ने विद्यार्थी थिएन। प्रश्नको अर्थ खोज्ने स्वभाव थियो उसको।

एकदिन गणित पढ्दै गर्दा उसले अचानक सोध्यो—

“तपाईंलाई लाग्छ, मान्छेले सबैभन्दा धेरै के कुरा लुकाउँछ?”

निहारिकाले पुस्तकबाट आँखा उठाइन्।

“किन यस्तो प्रश्न?”

“त्यत्तिकै।”

“त्यत्तिकै भनेर कसैले प्रश्न सोध्दैन।”

चञ्चल मुस्कुरायो।

“सायद आफूले नै नबुझेको कुरा बुझ्न खोज्दा यस्ता प्रश्न निस्किन्छन्।”

निहारिकाले केही क्षण उसलाई हेरिरहिन्।

उनलाई अचम्म लाग्थ्यो—उमेरले किशोर, तर सोचले असाध्यै परिपक्व।

दिनहरू बिस्तारै बित्दै गए।

पढाइसँगै उनीहरूबीच संवाद बढ्दै गयो।

कहिलेकाहीँ विज्ञानबाट सुरु भएको कुरा साहित्यमा पुग्थ्यो।

कहिलेकाहीँ समाजबाट सुरु भएको बहस मानिसको एक्लोपनसम्म पुग्थ्यो।

“तपाईंलाई प्रेम के जस्तो लाग्छ?” एकदिन चञ्चलले सोध्यो।

निहारिका हल्का मुस्कुराइन्।

“तिमीलाई यस्तो विषयमा किन चासो?”

“किनकि संसारका अधिकांश निर्णय भावनाले गराउँछ, तर मानिसहरू आफूलाई तार्किक ठानिरहन्छन्।”

“अनि तिमीलाई प्रेम के लाग्छ?”

चञ्चल केही क्षण मौन रह्यो।

त्यसपछि बिस्तारै भन्यो—

“कुनै मान्छे हाम्रो सोचभित्र यति गहिरो गरी प्रवेश गरिदियो कि उसलाई बिर्सन खोज्दा आफूलाई नै अस्वीकार गरिरहेको जस्तो लागोस्—सायद त्यही प्रेम हो।”

त्यो वाक्य सुन्दा निहारिकाले आफ्नो मनमा हल्का कम्पन महसुस गरिन्।

उनी आफूलाई सम्झाउँथिन्—

‘ऊ मभन्दा दुई वर्ष कान्छो हो! कसरी पत्याउनु ?

यो व्यवहार केवल उसको किशोर मनमा उब्जने आकर्षण हो। वा अन्य केही ? मनमा उब्जेको आफ्नै प्रश्नले निहारिका आत्तीन्छिन्।

चञ्चलको दिनप्रतिदिनको अनौठो व्यवहारले निहारीकालाई सताउन र पछ्याउन थाल्छ।

एक साँझ पानी परिरहेको थियो।

बिजुली गएको थियो। हल्का उज्यालोमै पढ्नुपर्ने बाध्यता सृजना भएको थियो। मैनबत्तीको उज्यालोमा पढाइ चलिरहेको थियो।

चञ्चल असामान्य रूपमा मौन थियो।

“आज यति चुप किन?” निहारिकाले सोधिन्।

उसले गहिरो सास फेर्यो।

“म एउटा कुरा धेरै दिनदेखि दबाएर रोकिरहेको छु। भनौँ या नभनौ ? नभनौ भने पनि दिनभरि केही कुराले सताइरहन्छ। भनौ भने, कसरी भनु ,डर लाग्छ।

"अरु केटाहरू जस्तो तिमी डर छेरुवा केटा त होइनौ त!"

"घरि घरि सबै कुरा भन्न जस्तोसुकै बहादुरलाई पनि डर उत्पन्न हुँदो रहेछ।"निहारिकाको आँखामा उब्जेको भावलाई पढ्ने कोसिस गर्दै उसले भन्यो।"

"मलाई सुनाउन मिल्छ भने भन कस्तो कुरा?”

केही समयको मौनता ......।

“जुन कुरा नभनी बस्दा म आफूलाई असत्य बाँचिरहेको छु कि जस्तो लाग्न थाली रहेको छ।"

हावाले मैनबत्तीको लौ हल्लियो। निहारिकले चन्चलको मुहारको भाव पढ्ने कोशिस गरिन्।

चञ्चलले सीधा उनको आँखामा जुधायो।उसले आँखाको परेली नझिमक्याई एकै श्वासमा भन्यो

“मिस ! म तपाईंलाई प्रेम गर्छु।”

केही क्षण समय नै रोकिएजस्तो भयो।

निहारिकालाई रिसभन्दा पहिले एउटा गहिरो कम्पन महसुस भयो।

मानौँ भित्र कतै लुकेको कुनै सत्य अचानक आवाज बनेर बाहिर आएको हो।

तर उनी डराइन्।

समाजसँग।

आफ्नै भावनासँग।

र त्यो सम्भावनासँग कि कतै यो केटो साँच्चै गहिरो पो छ।

“तिमीलाई थाहा छ तिमी के भनिरहेका छौ?” उनले कठोर स्वर निकालिन्।

“एकदम।”

“म तिमीभन्दा जेठी छु।”

“दुई वर्ष। त्यति फरकले केही असर गर्दैन।”

“त्यो पनि पर्याप्त हुन्छ।”

“उमेरले सम्बन्धको गहिराइ नाप्दैन।”

“तिमी अहिले भावनामा बगिरहेका छौ।”

“होइन,” उसले शान्त स्वरमा भन्यो, “भावनामा बगेको भए यो कुरा धेरैअघि भनिसक्थेँ।”

निहारिकाको स्वर झन् कठोर भयो,“भोलिदेखि यहाँ नआउ। म तिमीलाई पढाउँदिन।”

चञ्चल झस्कियो।

“किन?”

“किनकि तिमीले सीमा नाघ्यौ।”

चञ्चल केही क्षण मौन रह्यो।

त्यसपछि बिस्तारै भन्यो—

“कहिलेकाहीँ मान्छेले अस्वीकार गर्ने कुरा नै उसले सबैभन्दा गहिरो रूपमा महसुस गरिरहेको सत्य हुन्छ।”

" बकम फुसे कुरा नगर, तिमी यहाँबाट गइहाल।"

निहारिकाले झर्केर भनिनन्।

चञ्चलले किताब समेट्यो।

ढोकाबाट बाहिरिँदा उसले एकपटक फर्केर हेर्यो।

त्यो नजरमा कुनै आरोप थिएन। न कुनै क्रोध नै ।

केवल मौन पीडा थियो।जो अहिले भर्खरै अभिव्यक्त गरिएको भावनाबाट उसले प्राप्त गरेको थियो।

त्यहींबाट निहारिकाको शान्त जीवनभित्र अदृश्य हलचल सुरु भयो।

**

त्यो रात उनी सुत्न सकिनन्। छटपटीले गाँजिरह्यो।आँखा बन्द गर्दा चञ्चलको अनुहार देखिन्थ्यो।

विशेष गरी ढोकाबाट बाहिरिँदाको त्यो मौन नजर।

‘मैले धेरै कठोर व्यवहार गरेँ? कठैवरा!

‘तर मैले गलत के गरें?’

‘यदि मैले नरोक्ने हो भने ऊ अझ गहिरो डुब्छ।’

‘तर… के ऊ एक्लै डुबिरहेको छ?’

त्यो अन्तिम प्रश्नसँगै उनी आफैंसँग डराइन्।

किनकि पहिलोपटक उनले महसुस गरेकी थिइन्—

चञ्चलको भावनाले केवल चञ्चललाई मात्र छोएको थिएन।

दुई दिनपछि उनले आफैं चञ्चललाई उसको साथीद्वारा खबर पठाइन्—

“परीक्षा नसकिउञ्जेल पढ्न आउनु भन।”

चञ्चल फेरि आयो।

तर अब ऊ पहिलेको चञ्चल थिएन।

पहिले ऊ हाँस्थ्यो।

जिस्किन्थ्यो।

आँखा जुधाउँथ्यो।

अहिले ऊ चुपचाप पढ्थ्यो।

उसले आफ्नो भावनालाई सम्मानका साथ पछाडि हटाएको थियो।

उसको त्यही परिपक्वताले निहारिकालाई झन् अस्थिर बनायो।

एसीई सकियो।

रात बिते दिनहरू बित्दै गए तर निहारिकाको मनमा ऊ छाइरह्यो। उनलाई सताइरह्यो। दिनहरू बित्दै गए उनको वास्तै नगरी।

चञ्चल उत्कृष्ट अंक ल्याएर पास भयो।

क्याप्टेन अर्जुन राणाले निहारिकालाई राम्रै मिठाई र गिफ्ट ल्याइदिए। "तिमीले चञ्चललाई राम्रो अङ्कमा पास गरायौं छोरी, यो लेउ मेरो तर्फबाट।"

"मैले पढाएको फिस लिएकै थिए। यो सब किन...!"

"तिमीले मेहनतले नपढाएको भए उसले त्यो परिणाम ल्याउने थिएन।"

चान्सलको बुबाले ल्याइदिएको चिजलाई तिरस्कार गरेर उहाँलाई अपमान गर्न सक्ने क्षमता पनि उनीमा थिएन।

केही महिनापछि ऊ अमेरिका पढ्न गयो। क्याप्टेन बाले उसलाई अमेरिका पढ्न पठाइदिए।

समय बग्दै गयो।

निहारिकाले पनि आफूलाई पढाइमा केन्द्रित गरिन्। तर पनि घरि घरि उनको दिमागमा चञ्चल आउन छाडेको थिएन। उच्च शिक्षा पूरा गरेर क्याम्पसमै पढाउन थालिन्। तैपनि घरि घरि कुनै रात उनको सपनीमा चञ्चल आउँथ्यो र उनलाई एकोहोरो आश्चर्यपूर्ण ढङ्गले टुलु टुलु हेरिरहेको हुन्थ्यो।

विवाहका धेरै प्रस्तावहरू आए।

तर उनले कसैलाई स्वीकार गर्न सकिनन्।

किनकि तुलना मानिसको सबैभन्दा मौन कमजोरी हो। तर उनी अबुझ बन्दै सबैलाई एउटै व्यक्तिसँग तुलना गरिरहेकी थिइन्।

समय बित्दै जाँदा उनले एउटा कुरा बुझ्न थालेकी थिइन्—

मानिसले कहिलेकाहीँ जीवनमा प्रेम गुमाउँदैन, केवल त्यसलाई स्वीकार गर्ने समय गुमाउँछ।

***

पूरा दस वर्षपछि…

एक बिहान निहारिका आँगनमा घाम तापेर बसिरहेकी थिइन्।

हातमा पुस्तक थियो, तर आँखा फेरि विचारमै हराइरहेका थिए।

त्यत्तिकैमा एउटा कालो मोटरसाइकल घरभित्र पस्यो।

अग्लो, आत्मविश्वासी युवक बाइकबाट ओर्लियो।

“तिमी अझै बिहान घाम तापेरै दिन सुरु गर्छौ?”

निहारिकाको मन एकाएक दस वर्ष पछाडि फर्कियो।

“चञ्चल…!”

ऊ मुस्कुरायो।

पहिले ऊ आँखामा आँखा राख्न डराउँथ्यो।

अहिले उसका नजरहरू स्थिर थिए।

पहिले ऊ भावनामा अल्झिएको केटो थियो।

अहिले जीवन बुझ्न थालेको पुरुष थियो।

अब उनीहरू फेरि भेट्न थाले।

उनीहरूको संवाद अब किशोर भावनाको सतहभन्दा धेरै माथि पुगिसकेको थियो।

उनीहरू जीवन, समय, सम्बन्ध र मानिसको एक्लोपनबारे लामो कुरा गर्थे।

एकदिन कफी पिउँदै चञ्चलले भन्यो—

“विदेशले मलाई एउटा कुरा सिकायो।”

“के?”

“मानिस संसारभरि घुमे पनि अन्ततः फर्किने ठाउँ खोजिरहन्छ।”

“अनि तिम्रो त्यो ठाउँ यही गाउँ हो?”

“गाउँ होइन।”

“अनि?”

उसले बिस्तारै गहिरो पाराले उनको आँखामा हेरेको हेरेकै भन्यो-“एउटा मान्छे जो प्रतीक्षामा छ तर स्वीकार्न सकिरहेको छैन।"

निहारिका मौन भइन्। उनले पनि उसको आँखामा के के खोजिरहिन्।

एक साँझ वर्षा परिरहेको थियो।

बार्दलीमा बसेर उनीहरू चिया पिइरहेका थिए।

हावाले वर्षाका थोपा भित्रसम्म ल्याइरहेको थियो।

चञ्चलले अचानक सोध्यो—

“तिमीले बिहे किन गरिनौ?”

निहारिकाले केवल हल्का मुस्कुराउँदै भनिन् -

“सबै कुरा सबैलाई भन्न मिल्दैन।”

“मलाई मिल्छ।”

“किन?”

“किनकि त्यो कारणको एउटा हिस्सा म पनि हुँ।”

लामो मौनतापछि निहारिकाले बिस्तारै भनिन्—

“जीवन केवल चाहनाले चल्दैन चञ्चल।”

“मलाई थाहा छ।”

“तिम्रो बुबा मान्नुहुन्न।”

“बुबाले मलाई एउटा कुरा सिकाउनुभएको छ—यदि कुनै निर्णयले तिमीलाई भित्रैदेखि शान्त बनाउँछ भने त्यसलाई सम्मान गर।”

“आमा रिसाउनुहुन्छ।”

“उहाँ छोरीको दुःख चाहनुहुन्न।”

निहारिकाले गहिरो सास फेरिन्।

“तर म अझै डराउँछु।”

"कोसँग?"

"स्वयं आफैंसँग।"

चञ्चल केही क्षण चुप रह्यो।उसले उनका के के खोजी रह्यो।

त्यसपछि बिस्तारै उनको नजिक आयो।

“निहारिका ! त्यतिखेर म कमजोर थिएँ,केवल मसँग भावना थियो, तर जीवन थिएन। अहिले मसँग दुवै छन्।”

उसले हल्कासँग उनको हात समात्यो।

“निहारिका… अब तिमीले ‘नाइँ’ भन्न पाउँदिनौ।”

उनको मुटु तीव्र गतिमा धड्किन थाल्यो।

“किन?”

“किनकि म अब भागेर आएको केटो होइन।आफ्नो जीवनलाई तिमी योग्य बनाएर फर्केर आएको मान्छे हुँ।”

निहारिकाको आँखाभरि आँसु भरिए।

“यदि फेरि सबै बिग्रियो भने?” उनले फुसफुसाइन्।

चञ्चल मुस्कुरायो।

“जीवनमा सबैभन्दा ठूलो असफलता प्रेम हार्नु होइन,” उसले बिस्तारै भन्यो, “प्रेम भएर पनि स्वीकार गर्न नसक्नु हो।”

त्यो वाक्यले निहारिकाभित्र बाँधिएको अन्तिम डर पनि भत्काइदियो।

उनले बिस्तारै आफ्नो टाउको चञ्चलको काँधमा राखिन्।

केही क्षण उनीहरू दुवै मौन रहे।

बाहिर वर्षा बिस्तारै रोकिन थालेको थियो।

त्यसपछि निहारिकाले आँखा बन्द गर्दै धीमा स्वरमा भनिन्—

“हामी दुवैको एकअर्काभित्र रहेको प्रतिक्षारत प्रेमले आज सार्थकता पाएको हो !… तिमी यसमा कति खुसी छौ चञ्चल?”

चञ्चल हल्का मुस्कुरायो।

“अवकुनै गुनासो बाँकी रहेन निहारिका…”

निहारिकाले आफ्ना पाखुराहरू विस्तारै फैलाइन्।

मानौँ वर्षौँदेखिको अधुरोपनलाई अन्ततः अँगालो हाल्न खोजिरहेकी हुन्।

चञ्चल त्यो पाखुराको कैदभित्र सहजै प्रवेश गर्यो पाखुरा फैलाउदै।अनि उसले बिस्तारै उनको निधारमा चुम्बन गर्यो फुसफुसाउदै--

“निहारिका… वर्षौँदेखि मौन बसेको हाम्रो यो प्रवल चाहना आज अनन्त शब्दभन्दा माथि उठेर विश्वासिलो प्रेममा रूपान्तरित भएको छ।”

निहारिकाले आँखा बन्द गरिन्।आनन्दको एउटा गहिरो तरंग उनको सम्पूर्ण शरीरमा फैलियो।

उनले आफ्नो शिर चञ्चलको विशाल छातीमा अड्याइन्।

बाहिर बादलको चिराबाट जून निस्किएको थियो।

वर्षौँदेखि मौन बसेको प्रेम अन्ततः आफ्नो गन्तव्यमा आइपुगेको थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।