कृष्ण बजगाईं नेपाली साहित्यमा स्थापित नाम हो । उनको पछिल्लो कृति ‘डायस्पोरा र सपना’ले मुटुको एक टुक्रा स्वदेशमा र शरीर परदेशमा छोडेका लाखौँ नेपालीहरूको भोगाइलाई काव्यिक शब्दमार्फत चित्रण गरेको छ ।
यस सङ्ग्रहका कविताहरूले मुख्यतया विदेशका सहर, गल्ली र बाटाहरुमा हिँडिरहँदा पनि नेपाली पन र नेपाली माटो खोजिरहेको भाव देखिन्छ । कविताभित्र बाल्यकालको आँगन, गाउँको सुगन्ध र नेपालको प्राकृतिक सौन्दर्यलाई बडो मार्मिक ढङ्गले कविले सम्झिएका छन् । यो पुस्तक केवल कविताहरूको सङ्ग्रह मात्र नभएर, विरानो भूमिमा नेपाली परिचय खोजिरहेको एउटा ‘ग्लोबल नेपाली’ को आत्मसंलाप पनि हो ।
कृष्ण बजगाईंको कवितासंग्रह ‘डायस्पोरा र सपना’ मा समाविष्ट ३० वटै कविताहरूले भिन्न भाव र सन्देश बोकेका छन् । थेम्स र सपना कवितामा लेखकले परदेशी जीवनको मूल प्रश्न उठाएका छन् ।
थेम्स नदीको पानीमा जब ठोकिन्छ
फुर्सदको एक टुक्रा समय
तैरिन्छन् समयका आँखाहरू पानीमा
उम्रिन्छन् आँखामा सपनाहरू हरेक पल
परदेशमा समयको पल भन्नु
घरदेशको एक टुक्रा सपना पनि हो
त्यही सपनामा जोडिएका हुन्छन्
बा, आमा, श्रीमती र छोराछोरीका खुसीहरू ।
यहाँ ‘थेम्स नदी’ केवल भौगोलिक नदी होइन, प्रवासीको आँसु, सम्झना र विछोडको प्रतीक बनेर कवितामा आएको छ । बाहिर नदी बगेपनि भित्र पीडा बगेको सहज महशुस हुन्छ ।
‘सेल्फी र देशको’ तस्बिर कवितामा सामाजिक सञ्जालमा देखिने चम्किला सेल्फीहरूले परदेशीको भित्री पीडा, एक्लोपन र घर फर्कन नसकेको बाध्यतालाई लुकाउने कोशिस गरेको देखिन्छ । तस्बिरमा हाँसो देखिए पनि मनमा देशको ‘टिठलाग्दो’ तस्बिर रहेको यथार्थ यस कविताले बोल्छ । ‘कोलम्बस पाइलाहरू’ कवितामा गरिबी र ऋणको भारीले थिचिएका नेपाली युवाहरूलाई आधुनिक ‘कोलम्बस’ सँग तुलना गरिएको छ । नयाँ संसार खोज्न निस्किएका यी पाइलाहरू बाध्यताको ‘हाइवे’ मा दौडिरहेका छन्, तर अन्त्यमा उनीहरूको गन्तव्य मातृभूमि नै हुनेछ ।
‘ब्राइटनको समुद्र’मा परदेशको खुलापन र समुद्री किनारको स्वतन्त्रताका बिचमा एक परदेशीले भोग्नुपरेको शारीरिक तथा मानसिक अतृप्ति र परिवारभन्दा टाढा रहँदाको यन्त्रणालाई यसले चित्रण गर्छ । ‘देशको अनुहार’ कवितामा नेपालको राजनीतिक विकृति, भ्रष्टाचार र युवा पलायनमाथि कडा व्यङ्ग्य गरिएको छ । रेमिटेन्सको हिसाब गर्ने तर बाकसमा फर्कने लासको पीडा नबुझ्ने राज्यसत्ताको अनुहार यसमा देखाइएको छ । यसले बास्तविक राज्यसत्ताको चरित्रमाथि धावा बोलेको छ ।
‘यात्रारत दुःख’ कवितामा दुःख कहिल्यै हराउँदैन, मात्र ठाउँ बदलिन्छ, परदेश पुग्दा सुख पाइने आशामा हिँडेकाहरूको साथमा दुःख झन् गहिरो साथी बनेर बसेको भाव छ । ‘पासपोर्टको रङ’मा बाध्यताले गर्दा हरियो पासपोर्ट (नेपाली) बाट रातो पासपोर्ट (विदेशी) मा परिणत हुनुपर्ने पीडादायी अवस्था । नागरिकता र ठेगाना बदलिए पनि आमा र मातृभूमिको स्मृति कहिल्यै नबदलिने सत्य यसले बोकेको छ । ‘वेस्टमिन्सटर र प्रवासी’ कविताले विश्वको पुरानो प्रजातन्त्रको केन्द्र वेस्टमिन्सटरअगाडि उभिएर एउटा प्रवासीले आफ्नो अस्तित्व र अधिकारका लागि गरिरहेको संघर्ष र त्यहाँको नाम मात्रको स्वतन्त्रतालाई देखाएको छ ।
‘पारदर्शी प्रश्न’ कवितामा ‘घरदेश छाडेपछि मनको देशमा के बाँकी रहन्छ ?’ भन्ने गम्भीर प्रश्न उठाइएको छ । भौगोलिक सिमानाभन्दा पनि मानिसको संघर्ष र पहिचान ठुलो हुने दर्शन यसमा छ । ‘मेनिन गेट र पप्पी फूलहरू’ कवितामा विश्वयुद्धमा मारिएका गोर्खाली सैनिकहरूको वीरता र बलिदानको स्मरण छ । विदेशीका लागि रगत बगाउने गोर्खालीहरूको इतिहास र अहिलेको श्रम आप्रवासनबिचको सम्बन्धलाई यसले जोडेको छ । ‘मनको ग्लेसियर’ कवितामा परदेशको एकान्तमा आमा र मातृभूमिको सम्झनाले मन पग्लिएर ‘ग्लेसियर’ जस्तै बग्ने कुरा व्यक्त गरिएको छ । आमाको सपना र छोराको परदेशको भोगाइबिचको भावनात्मक सम्बन्ध यस कवितमा आएको छ ।
‘समय र घडी’ कवितामा परदेशमा मानिस घडीको दास भएको चित्रण छ । अलार्मको घन्टीसँगै मेसिन जस्तै दौडनुपर्ने र समयको ‘झ्यालखाना’ मा थुनिएर श्रम गर्नुपर्ने परदेशीको व्यस्त दैनिकी यस कविताको मुख्य भाव हो । ‘परदेशमा हराइरहेको मान्छे’ कवितामा हरेक दिन ‘अब त पक्का फर्कन्छु’ भन्ने झुटो आश्वासन आफैलाई र परिवारलाई दिँदादिँदै कतिपय परदेशीहरू अन्त्यमा बाकसमा बन्द भएर घर फर्कन्छन् भन्ने कारुणीक यथार्थताको शब्दचित्र छ । ‘विदेश र पसिना’मा परदेशीको पसिनालाई बजारले ‘ब्रान्ड’ बनाएर बेच्छ, तर उसको श्रमको वास्तविक सुगन्ध र मूल्य कसैले बुझ्दैनन् भन्ने भाव बोकेको यस कवितामा मातृभूमिको नुनको भारा तिर्न परदेशमा पसिना बगाउनेहरूका कथा छन् ।
‘प्रवास र चोट’ कवितामा परदेशमा विदेशी हुनुको अपमान, विभेद र मानसिक चोट सहँदासहँदै पनि एउटा प्रवासी सतिसालझैँ उभिएर आफ्नो अस्तित्व जोगाउन लडिरहने भाव यसले बोकेको छ । ‘ग्लोबल भिलेज’ कवितामा डिजिटल युगले संसारलाई जोडे पनि मानिसहरू झन् एक्ला भएका, प्रविधिले गर्दा गोपनीयता हराएको र मातृभूमि एउटा ’टचस्क्रिन’ मा मात्र सीमित भएको आधुनिक समयको चित्रण छ ।
‘लन्डनमा गोर्खा सिपाहीको सालिक’ कविताले लन्डनको सडकमा रहेको गोर्खालीको सालिकले गर्व र स्वाभिमानको महसुस गराए पनि, फेरि अरूकै लागि लड्नुपर्ने बाध्यता र कहिल्यै नफर्कने पुर्खाहरूको पीडालाई सम्झाउँछ । ‘जिन्दगीको हाइवे’ कवितामा परदेशको झिलिमिली सहरभित्र मनको अँध्यारो बोकेर हिँड्ने यात्रीको कथा उजागर भएको छ । जतिसुकै आधुनिक सहर भए पनि सगरमाथामुनिको अँध्यारो नै प्यारो लाग्ने राष्ट्रवादी सोच यसमा आएको छ । ‘परदेश र सपना’ कवितामा परदेशमा रहे पनि नेपालीहरूले आफ्नो चाडबाड, संस्कृति र भाषालाई जोगाएर राखेका, सपनामा सीमा नाघेर घर पुग्ने र आमालाई भेट्ने चाहनाहरु मिठोरुपमा व्यक्त भएका छन् ।
‘आँखा र राजनीति’ नेपाली राजनीतिले जनताका सपनाहरू कसरी चोरेको छ र राजनेताहरूले जनतालाई कसरी अन्धो बनाएका छन् भन्ने कुरालाई ‘आँखा’को बिम्बमार्फत प्रस्तुत गरिएको छ । ‘उता घरदेशमा’ कवितमा गाउँहरू उजाडिँदै गएको र युवाहरू पलायन भएकोमा चिन्ता व्यक्त गर्दै, लन्डन जस्ता सहरमा नेपालीहरूले आफ्नो छुट्टै सांस्कृतिक पहिचान र ‘डायस्पोरा विश्वविद्यालय’ बनाउन सक्ने सम्भावना देखाइएको छ । यो कविता निक्कै मार्मिक पनि छ ।
‘अन्तिम इच्छा’ कवितामा बाध्यताले नागरिकता त्यागे पनि मृत्युको समयमा आफ्नो सद्गत जन्मभूमिकै माटोमा होस् भन्ने एउटा परदेशीको अन्तिम इच्छालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । ‘सुसाइड नोट’ कवितामा परदेशमा आत्महत्या गर्ने प्रवासीको खल्तीमा भेटिएको ‘सादा कागज’ले ऊसँग भन्नुपर्ने धेरै कुरा भए पनि सुन्ने कोही नभएको र उसको मौनता नै सबैभन्दा ठुलो सुसाइड नोट भएको भाव दिन्छ । ‘स्पिकर्स कर्नरमा निर्वस्त्र मन’ लन्डनको हाइड पार्कस्थित स्पिकर्स कर्नरमा पाइने अभिव्यक्ति स्वतन्त्रताको प्रसङ्ग उठाउँदै, त्यहाँको खुलापन र आफ्नो देशको मौनताबिचको अन्तरलाई यसले देखाएको छ । मौनता साँधेर पनि जीउनुको अर्थ यस कवितामा भेटिन्छ ।
‘रित्तो देश’ कवितामा दक्ष युवा र सपना देख्ने आँखाहरू परदेश पलायन भएपछि देश कसरी रित्तिँदै छ र त्यहाँ केवल नेताहरूको स्वार्थ मात्र बाँकी रहेको यथार्थ चित्र छ । ‘अधुरा योजना’ कवितामा घरको छाना हाल्ने, बहिनीको विवाह गर्ने र कलेज पढ्ने जस्ता साना तर महत्वपूर्ण सपनाहरू बोकेर परदेश गएका नेपालीका योजनाहरू श्रमको चापमा कसरी अधुरै रहन्छन् भन्ने चित्रण यसमा छ । ‘सम्बन्ध’ कवितामा सम्बन्धले नै मानिसलाई परदेश पुर्याउने, त्यही सम्बन्धले फेरि घरदेश फर्काउन खोज्ने, परदेशमा भोगिने दुःख र उपेक्षाका बिचमा मातृभूमिसँगको सम्बन्ध नै जीवनको सहारा हुने भाव छ ।
‘लेख्नु छैन’ यस कविताले कवि अब आँसु र पीडाका कथा मात्र लेख्न चाहँदैनन् भन्ने भाव देखाउँछ । उनले एयरपोर्टको रुवाबासी र श्रमशिविरको कष्टभन्दा माथि उठेर एउटा उज्यालो सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ‘बेलायतमा जङ्गबहादुर राणाको पाइला’ कवितामा इतिहासको सन्दर्भ जोड्दै जङ्गबहादुरले सुरु गरेको बेलायत यात्रा र अहिलेको नेपाली डायस्पोराको अवस्थालाई तुलनात्मक रूपमा हेरिएको छ । यसले इतिहास र वर्तमानलाई जोड्न कोशिस गरेको छ । पुस्तकको अन्तिम कविता ‘आरोहण’मा संघर्ष गर्दै, हण्डर खाँदै परदेशमा आफ्नो अस्तित्वको उचाइ खोज्ने र सफलताको शिखर चढ्न खोज्ने प्रवासीको अदम्य साहसलाई प्रस्तुत गरिएको छ ।
गौतम बुद्ध प्रवासिएर
मातृभूमिलाई ज्ञान पठाएथे
प्रवासिएका नेपाली सन्तानहरूले
पठाइरहेका छन्
रेमिटेन्स नामको पसिनाका थोपा,
ज्ञान, सिप र आधुनिक प्रविधिहरू ।
प्रतीक्षा गर्नुपर्छ,
अबको केही वर्षपछि
घरदेश र परदेशका नेपालीहरूले
बनाउने छन् समृद्ध र खुसी नेपाल ।
यहाँ शान्ति दुर भएको अवस्था, रेमिट्यान्सले मुलुक धानेको चित्रभित्र समृद्ध र खुशी नेपाल खोजिएको परदेशीको पीडा उतारिएको छ ।
समग्रमा हेर्दा यो सङ्ग्रह पठनीयमात्र छैन, जीवन, संघर्ष र दर्शनलाई बुझ्ने कला यसले सिकाउँछ । परदेशको चमकधमकभित्र लुकेको दुःख, पीडा, रिक्तता र स्वदेशको अभावभित्रको आत्मीयता बीचको द्वन्द्व प्रखररुपमा यस सङ्ग्रहमा उतारिएका छन् ।
यस कवितासङ्ग्रहभित्र तीन विशेषता पाइन्छन्– पहिलो, यहाँ डायस्पोरिक पीडा उजागर भएको छ । परिचयको संकट, एक्लोपन र विदेशी भूमिमा भोग्नुपर्ने सांस्कृतिक भिन्नतालाई कविताहरूले कुशलतापूर्वक चित्रण गरेका छन् । सपना मात्र होइन, ती सपना पूरा गर्न चुकाउनु परेको मूल्यको लेखाजोखा यसमा पाइन्छ । दोस्रो, यसले विश्व परिवेश र मानवता झल्काएको छ । अर्थात बजगाईंका कविताहरू देशको सीमामा मात्र बाँधिएका छैनन् । उनले विश्वका समसामयिक घटना, युद्ध, र मानवीय संवेदनालाई पनि उत्तिकै गहिराइमा पुगेर अभिव्यक्त गरेका छन् । तेस्रो, यस संग्रहमा शिल्प, शैली र भाषाको उच्चतम संयोजन भेटिन्छ । कविको काव्यिक शिल्प सरल तर अर्थपूर्ण देखिन्छ । उनले लामा र क्लिष्ट शब्दहरूभन्दा पनि दैनिक जीवनमा प्रयोग हुने विम्ब र प्रतीकहरूको प्रयोग अधिकतम गरेका छन् । हिमाल, गुराँस, र माटोका विम्बहरूले पाठकलाई सिधै नेपालको स्मृतिमा पु¥याउँछन् भने राहदानी, विमानस्थल र मरुभूमिका विम्बले वर्तमानको कठोर यथार्थ झल्काउँछन् । कविले जटिल दर्शन छाँट्नुको सट्टा ‘राहदानी’, ‘विमानस्थलको वेटिङ रुम’, ‘भिडियो कल’ र ‘सुटकेस’ जस्ता समकालीन विम्बहरू प्रयोग गरेका छन् । यी विम्बहरू आजको हरेक नेपाली परिवारको दैनिकीसँग मेल खान्छन् ।
अर्को पक्ष, अधिकांश कविताहरू गद्य शैलीमा भए तापनि तिनमा एउटा आन्तरिक लय र संवेगात्मक प्रवाह छ, जसले पाठकलाई अन्त्यसम्म बाँधिराख्छ । एउटा कविता पढेर किताव बन्द गरौं भन्ने मनस्थितिमा पाठकलाई कदापी रहन दिँदैन । मलाई लाग्छ यो नै कृतिकारको सफलता हो ।
यस कृतिको अर्को बलियो पक्ष भनेको यसको इमानदारिता हो । कविले कृत्रिम बौद्धिकता देखाउनुभन्दा पनि मुटुको ढुकढुकीलाई कागजमा उतारेका छन् । यस सङ्ग्रहले डायस्पोरामा रहेका नेपालीहरूलाई ‘आफनै कथा’ जस्तो लाग्छ भने स्वदेशमा बस्नेहरूका लागि परदेशको यथार्थ बुझ्ने यथार्थ डायरी बनिदिन्छ । ‘सपनाहरूले देश छोड्छन्, तर देशले सपनालाई कहिल्यै छोड्दैन’ भाव नै कवितासङ्ग्रहको प्राण हो । पुस्तकको शीर्षकमा रहेको ‘सपना’ शब्दले दुईवटा कुरा भन्छ । एउटा त्यो सपना, जुन बोकेर मान्छे विदेश जान्छ, र अर्को त्यो सपना जुन उसले निद्राामा मात्र आफ्नो देश फर्केको देख्छ ।
परदेशमा भौतिक रूपमा सम्पन्न भए तापनि सांस्कृतिक र भावनात्मक रूपमा मान्छे कति ‘गरिब’ छ भन्ने कुरा कवितामार्फत आएका छन् । चाडबाडका बेला विदेशी सडकमा एक्लै हिँड्दाको पीडालाई कविले शब्दमार्फत जीवन्त पारेका छन् ।
‘डायस्पोरा र सपना’ नेपाली काव्य परम्परामा डायस्पोरिक चेतनालाई थप उचाइ दिने कृति हो । कृष्ण बजगाईंले शब्दमार्फत एउटा यस्तो पुल निर्माण गरेका छन्, जसले सात समुद्र पारिको भूगोल र नेपालको मुटुलाई जोड्ने काम गरेको छ । कवितामा रुचि राख्ने र प्रवासको जीवन बुझ्न चाहने हरेक पाठकका लागि यो पुस्तक संग्रहणीय र पठनीय छ ।
अन्त्यमा, विदेशमा बसेर नेपाली साहित्यलाई उचाइ दिने स्रष्टा कृष्ण बजगाईंको पछिल्लो कृति ‘डायस्पोरा र सपना’ एउटा यस्तो ऐना हो, जहाँ संसारभरि छरिएका नेपालीहरूले आफ्नो अनुहार देख्न सक्छन् । यो सङ्ग्रह केवल कविताहरूको सँगालो मात्र नभएर, मुटुको एउटा टुक्रा स्वदेशमा र शरीर परदेशमा छाडेका लाखौँ नेपालीहरूको भोगाइलाई शब्दमा उतारेको एउटा जीवन्त काव्यिक दस्ताबेज हो ।
दमक, झापा