19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आरोह-अवरोह

कविता शरद निरोला May 28, 2026, 11:58 pm
शरद निरोला
शरद निरोला

महत्वाकांक्षाको चरम सीमा छुनु थियो, छोएँ
त्यहाँबाट अझ माथि फड्को हान्न
प्रस्तरको कुनै सोपान थिएन
त्यसैले
इच्छाको वशीभूत
मस्तिष्कका द्वन्द्वग्रस्त भावनाहरू कुल्चिंदै
म धरातलोन्मुख हुँदै गएँ

अत्यन्तै तीब्र गतिको त्यस स्खलन प्रकरणमा
धमिरा लागेका स्मृतिका पानाहरु
फरर फर्फराउँदै गए
प्रत्येक पानाभित्रका रुग्ण इतिहास खोतलिंदै गए
म शून्य छु, निराकार छु भन्ने आत्मबोध त थियो नै
अझ बढी अन्तरिक्षभित्र
एकाकार भएको पत्तै भएन

अब त्यही चुचुरो फेरि पर्गेल्ने कुनै उत्कण्ठा छैन
किनभने त्यहाँबाट माथि उक्लने ठाउँ नै छैन
जति उपलब्धि हुनु थियो भइसकेको थियो
चुचुरोमाथिको निराकार ब्रम्हाण्ड
झन् झन् अभेद्य हुँदै थियो
स्खलन नै आरोहणको पराकाष्ठा हुँदो हो भने
स्खलन त पहिले नै शुरू भइसकेको थियो ।

मेरिल्यान्ड, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।