मन्दिरको आँगनमा डुब्दै गरेको सूर्यको सुनौलो प्रकाश छरिएको थियो। घामको किरण पीपलका पातहरूबीचबाट छिर्दै भुइँमा छरिएको थियो। मन्दिरको घण्टी केहीबेरअघि मात्र बजेको थियो,त्यसको धुन अझै हावामा अल्झिएजस्तो लाग्थ्यो।
श्रेयाले पूजा सकेर सिँढीतिर पाइला बढाएकी थिइन्। नौ वर्षले धेरै कुरा फेरिसकेको थियो। समयले घाउ सुकाइदिएको थियो, तर दागहरू अझै बाँकी थिए।
त्यही बेला पछाडिबाट एउटा स्वर आयो—
“श्रेया...!”
“...”
“एकछिन रोकिऊ न।”
श्रेयाले बिस्तारै फर्केर हेरिन्।
नौ वर्षअघि छोडेर गएको अनुहार अहिले उनको अगाडि उभिएको थियो।
“मसँग भन्न बाँकी के छ, अद्वैत?”
“धेरै छ।”
“मसँग छैन।”
“त्यसैले त म बोल्न आएको हुँ।”
“नौ वर्षपछि?”
“ढिलो भएँ।”
“ढिलो मात्र होइन, धेरै ढिलो।”
“मलाई थाहा छ।”
“थाहा भएको भए आज यो दिन आउँदैनथ्यो।”
“म स्वीकार्छु।”
“के स्वीकार्छौ?”
“मैले तिमीमाथि अन्याय गरेको थिएँ।”
श्रेयाले केही क्षण उनको अनुहारतिर हेरिन्।
“अन्याय?”
उनको ओठमा हल्का तीतोपन मिसिएको मुस्कान आयो।
“त्यो शब्दले सबै कुरा समेट्दैन, अद्वैत।”
“मलाई थाहा छ।”
“साँच्चै थाहा छ?”
“छ।”
श्रेयाले गहिरो सास फेरिन्।
“त्यसो भए सम्झ। म दिनभर घरमा तिम्रो बाटो हेरेर बस्थेँ। साँझ पर्थ्यो। चुलो बाल्न धौधौ पर्थ्यो। घरमा चामल सकिन्थ्यो। म तिमीलाई सम्झाउँथेँ। तिमी झर्किन्थ्यौ।”
अद्वैत चुप रह्यो।
“तिमी बिहान निस्किन्थ्यौ। राति अबेर फर्किन्थ्यौ। कहिले काम भएन भन्थ्यौ, कहिले साथीसँग बसेको भन्थ्यौ। म विश्वास गर्थेँ। फेरि पनि गर्थेँ।”
“श्रेया...”
“अहिले बीचमै नबोल।”
अद्वैत मौन भयो।
“म तिमीलाई झगडा गर्न होइन, घर सम्हाल्न भन्थेँ। भविष्यको सोच्न भन्थेँ। दुई जनाको जीवनलाई अलिकति व्यवस्थित बनाउन भन्थेँ। तर तिमीलाई मेरो हरेक कुरा गुनासो लाग्थ्यो।”
“म गलत थिएँ।”
“त्यति मात्र?”
“होइन।”
“अनि?”
“मैले तिम्रो मन बुझेको थिइनँ।”
“अझै बाँकी छ।”
अद्वैतले आँखा झुकायो।
“मैले तिमीलाई सम्मान दिन सकिनँ।”
श्रेयाको स्वर नरम भएन।
“गरिबीले मात्र घर भत्किँदैन, अद्वैत।”
“मलाई थाहा छ।”
“घर तब भत्किन्छ, जब एउटाले अर्कोको मन देख्न छोड्छ।”
“त्यही गल्ती मैले गरेँ।”
“अनि एक दिन तिमीले हात उठायौ।”
अद्वैतको घाँटी सुकेको जस्तो भयो।
“त्यो क्षण सम्झँदा आज पनि आफैँसँग लाज लाग्छ।”
“तर मेरो जीवनको सबैभन्दा ठूलो निर्णय पनि त्यही दिन भयो।”
“घर छोड्ने?”
“हो।”
“मलाई एक्लै छोडेर।”
“होइन।”
“अनि?”
“पहिले तिमीले नै मलाई एक्लै छोडिसकेका थियौ। म त केवल घरबाट निस्किएकी थिएँ।”
मौन।
मन्दिरको आँगनमा हावा चल्यो।
पीपलका केही पात भुइँमा झरे।
“श्रेया।”
“हँ?”
“म तिमीलाई रोक्न आएको होइन।”
“अनि?”
“एकपटक क्षमा माग्न आएको हुँ।”
“क्षमा?”
“हो।”
“यति सजिलो हुन्छ?”
“छैन।”
“अनि?”
“त्यसैले त नौ वर्ष लाग्यो।”
श्रेयाले केही भनिनन्।
“म भोलि फेरि आउँछु।”
“किन?”
“किनकि नौ वर्षको कुरा एकै दिनमा सकिँदैन।"
★★
अद्वैत भोलिपल्ट फेरि आयो।
अर्को दिन पनि आयो।
त्यसपछि पनि।
कहिले दुईचार कुरा हुन्थ्यो।
कहिले मौनता मात्र।
तर ऊ आउन छोडेन।
एक दिन श्रेयाले सोधिन्—
“तिमी किन यति धेरै धाइरहेका छौ?”
“किनकि भागेर थाकिसकेको छु।”
“केबाट?”
“आफ्नै गल्तीबाट।”
“गल्ती सम्झेर मात्र जीवन चल्दैन।”
“त्यसैले त सच्याउन खोज्दै छु।”
“सबै कुरा सच्याउन मिल्दैन।”
“मलाई थाहा छ।”
“अनि?”
“जे मिल्छ, त्यति त मिलोस् भन्ने चाहना हो।”
मौन।
“अस्ट्रेलिया कस्तो थियो?”
अद्वैत केहीबेर चुप रह्यो।
“बाहिरबाट राम्रो।”
“भित्रबाट?”
“रित्तो।”
“किन?”
“काम थियो। पैसा थियो। सुविधा थियो।”
“अनि?”
“कामबाट फर्केर कोठामा पस्दा घण्टौँ झ्यालबाहिर हेरेर बसिरहन्थेँ। तर त्यहाँ आफ्नाहरूको न्यानोपन थिएन। दुःख बिमार सोध्नेहरु पनि कोही थिएनन्।
श्रेयाले नजर अन्तै लगिन्।
केही दिनपछि श्रेया बिरामी परिन्।
उच्च ज्वरोले थला परिन्।
अद्वैतले खबर पायो।
उनी हतारिँदै पुगे।
“डाक्टरलाई देखाएको?"
“सामान्य ज्वरो हो।”
“तिमीलाई सधैँ सबै कुरा सामान्य लाग्छ।”
“अद्वैत, अहिले बहस गर्ने मन छैन।”
“म पनि बहस गर्न आएको होइन।”
“अनि?”
“बस्न आएको।”
“किन?”
“किनकि बिरामी मान्छेलाई एक्लै छोड्न मन लागेन।”
त्यो रात अद्वैत त्यहीँ बस्यो।
औषधि खुवायो।
पानी ततायो।
निधारमा चिसो कपडा राख्यो।
दोस्रो दिन पनि।
तेस्रो दिन पनि।
ज्वरो घटेपछि श्रेयाले सोधिन्—
“तिमी घर गएनौ?”
“गएँ भने तिमीले समयमा औषधि खान्नौ।”
“अहिले पनि आदेश दिन्छौ?”
“पहिले आदेश दिन्थेँ।”
“अहिले?”
“अनुरोध गर्छु।”
“तिमी त बदलिएछौ पो।”
“धेरै ढिलो गरी।”
“किन?”
“किनकि जीवनले पढाएको पाठ ढिलो बुझें।”
“कस्तो पाठ?”
“मान्छेलाई जित्नुभन्दा उसको मनलाई जित्नेकुरा ठूलो रहेछ।”
“तिमीले अर्को विवाह गर्यौ?”
“गरिनँ।”
“किन?”
“मन नै तयार भएन।”
★★★
मन्दिरको आँगन अब उनीहरूको भेट्ने ठाउँ बनेको थियो।
पहिले जस्तो असजिलोपन थिएन।
पहिले जस्तो तीतोपन पनि थिएन।
“श्रेया।”
“हँ?”
“मसँग एउटा कुरा छ।”
“भन।”
“काठमाडौँमा एउटा घर किनेको छु।”
“त्यसपछि?”
“सानो काम पनि सुरु गरेको छु।”
“अनि?”
“त्यहाँ एउटा कोठा खाली छ।”
“घुमाएर कुरा गर्ने बानी अझै गएकै रहेनछ।”
“सीधै भनूँ?”
“भन।”
“म चाहन्छु, तिमी फेरि मेरो जीवनमा फर्किऊ।”
“तिमीले मलाई किन यति धेरै कुर्यौ?”
“किनकि म आफूलाई क्षमा गर्न सकेको थिइनँ।”
“र यदि म कहिल्यै नभेटिएको भए?”
“तिमी जहाँ भए पनि सुखी होऊ भनेर कामना गर्थें।”
“यति सजिलो?”
“सजिलो थिएन।”
“प्रेम भनेको कहिलेकाहीँ आफ्नो चाहनाभन्दा अर्कोको सुख रोज्नु पनि रहेछ।”
“यदि मैले ‘होइन’ भनेँ भने?”
“स्वीकार गर्छु।”
“यदि मैले ‘पर्ख’ भनेँ भने?”
“पर्खन्छु।”
“यदि मैले ‘ल, हिँडौँ’ भनेँ भने?”
“त्यो दिन मेरो जीवनको सबैभन्दा सुन्दर दिन हुनेछ।”
“अद्वैत।”
“हँ?”
“हाम्रो पुनर्मिलन भयो भने हामी केमा जान्छौँ?”
अद्वैत हाँस्यो।
“मन्दिरको गेट बाहिर मैले कार अड्याएको छु।”
“तिमी त साँच्चै बदलिएछौ पो।”
“पहिले तिमी अगाडि हिँड्थ्यौ।”
“अहिले?”
“सँगै हिँड्न खोज्छौ।”
“एक्लै हिँडेर घर पुगिएला, तर घर बसाउन सकिँदैन।”
“मलाई अझै डर लाग्छ।”
“मलाई पनि।”
“डर लाग्दैमा बाटो रोकिन्न।”
“त्यो डर मेटाउने जिम्मा मेरो हो।”
“कसरी?”
“वचनले होइन।”
“अनि?”
“मनको कुरा बुझेर।”
"बुझ्न सक्छौ!"
"भर गर।"
"धोका त हुँदैन!"
"हुँदैन! विश्वास गर, म आफ्नो गल्ती सुधार्छु।"
श्रेयाले पुलुक्क हेरिन्--
"पहिला पनि त विश्वास गरेकै थिए।"
"पहिले विश्वासको मूल्य बुझिनँ। अहिले बुझ्छु।"
"साँच्चै!"
"सत्य।"
मौनता,केही समय
“हिँडौँ न।”अद्वैतले कर गर्यो
हिँड्दा हिँड्दै श्रेयाको कदम रोकिए,उसको अनुहारलाई नियालेर हेर्दै। श्रेया भित्र दुविधा भएजस्तो देखिँदै थियो।
अद्वैतले आफ्नो दायाँ हात अगाडि बढायो। श्रेयाले उसको हात र अनुहारलाई हेरिरहिन्।
त्यो क्षण निर्णायक प्रतीक्षाको क्षण जस्तै थियो। अद्वैतको मुटुको चाल तीव्र, आँखामा याचनाको झल्को!
""श्रेया, जाऔँ?"
"..."
"बाटो सजिलो हुने वाचा गर्न सक्दिनँ।"
"अनि?"
"तर यसपटक तिमी एक्लै हिँड्नुपर्ने छैन।"
"आधार के छ?"
"यसपटक तिमीले ममाथि गरेको विश्वास।"
श्रेयाले उसको हात बिस्तारै समाइन्।
दुवै सँगसँगै मन्दिरको सिँढी उत्रन थाले।
साँझको सुनौलो उज्यालो उनीहरूको पछाडि फैलिएको थियो।
नौ वर्षअघि फरक फरक दिशा छुट्टिएका दुवैका पाइला त्यस साँझ एउटै दिशातिर अघि बढिरहेका थिए।
समयले
सुख नासोझैँ फर्कायो,
दुःख आफूसँगै लग्यो।