हरपल प्रेमोत्सवमय हुनु प्रेमनगरको विशेषता थियो । प्रेमनगरमा प्रेम गर्नेहरूको भीड थियो । संसारमा प्रेमको खँडेरी पर्दै गएकाले प्रेमको प्रवद्र्धन गर्न प्रेमनगरको स्थापना गरिएको थियो ।
प्रेमनगरमा विभिन्न प्रकारका प्रेमीप्रेमिका हुन्थे– टिनएजरदेखि वृद्धसम्म । प्रेमनगरमा महिला हुन्थे, पुरुष हुन्थे र हुन्थे तेस्रो लिङ्गीहरू । प्रेमनगरमा दलित हुन्थे, जनजाति हुन्थे, मधेशी हुन्थे, वृद्ध हुन्थे, बालक हुन्थे । तर जो हुन्थे ती सबै प्रेमको आकाङ्क्षा लिएर प्रेमनगर आएका हुन्थे ।
प्रेमलाई सङ्कुचित आँखाले हेर्ने यो संसारमा प्रेमनगर जस्तो स्वच्छन्द प्रेम गर्न पाइने ठाउँ पाइएकाले प्रेम पारखीहरूको लागि प्रेमनगर आकर्षणको केन्द्र थियो । प्रेमका पुजारीहरूका लागि प्रेमनगर एक तीर्थस्थल जस्तै थियो ।
प्रेमका पारखीहरू प्रेमको तृष्णा बोकेर प्रेमनगर पुग्थे । प्रेमका पुजारीहरू तीर्थयात्रीको रुपमा प्रेममा आस्थापूर्वक प्रेमनगर पुग्थे । प्रेमलाई ढोग्थे र इच्छा लागेकाहरूसँग प्रेम प्रस्ताव राख्थे ।
प्रेमनगरमा नगरगुरु थिए । उनलाई अनुयायीहरूले प्रेमगुरु भनेर पनि चिन्थे । नगरगुरुले प्रेमनगरमा प्रेमसम्मबन्धी केही नियमहरू बनाएर थिति बसालेका थिए, जो प्रेमनगरका सबैले पालना गनुपथ्र्यो । जस्तो कि ः
– प्रेमनगरमा जो कसैले पनि जोसुकैसँग प्रेमप्रस्ताव राख्न सक्थ्यो, तर कसैलाई पनि कसैसँग प्रेम गर्न बाध्य पार्न सकिँदैनथ्यो ।
– प्रेम एकअर्कालाई गरिने क्रियाकलापभन्दा पनि बढी यो मानवीय स्वभाव हो, प्रेम स्वस्फूर्त हुने गर्छ, प्रेम प्रस्ताव राख्नु र स्वीकार गर्नु त प्रेमको अभिव्यक्ति मात्र हो भन्ने कुरामा प्रेमनगरमा बस्ने सबैको सहमति हुनुपथ्र्यो ।
– प्रेमनगरको अनिवार्य चाहिँ के थियो भने हरेकले कोही न कोहीसँग प्रेम गर्नैपथ्र्यो । प्रेमको स्वस्फूरण भएकाहरू मात्र प्रेमनगर पुग्थे । प्रेम निरपेक्षहरूलाई प्रेमनगरमा प्रवेश निषेध थियो । त्यसैले प्रेममा उदासिनहरू प्रेमनगरमा प्रवेश गर्दैनथे ।
– प्रेम विपरीतलिङ्गी बिच मात्र हुने क्रिया हो भन्ने परम्परागत मान्यतालाई प्रेमनगर स्वीकार गर्दैनथ्यो ।
– प्रेमी–प्रेमिका बिच जात, धर्म, उमेर, नाता, रङ्ग, लिङ्ग, वर्ण, वर्ग, क्षेत्रको विभेद हुनु हुँदैनथ्यो । प्रेम गर्नेहरू सबै समान मानिन्थे ।
– महिनाको एकपटक प्रेमसमागम हुन्थ्यो, प्रेम गर्नेहरूलाई प्रोत्साहित गर्न उक्त समागममा एक अर्काका प्रेमका अनुभव र अनुभूतिको आदानप्रदान हुन्थ्यो ।
प्रेमसमागममा एक नवयौवना युवतीले आफ्नो प्रेमकहानी यसरी सुनाएकी थिई ः
स्नेहलता हो मेरो नाम । जब म प्रेमनगरमा प्रवेश गरेँ, तब म प्रेम प्रस्ताव गर्नका लागि नवजवान खोज्दै थिएँ । विशेषतः मैले मेरो उमेर समूहलाई पछ्याइरहेकी थिएँ । एक जना युवक मेरो नजरमा परेका पनि थिए, तर मैले उनलाई प्रेम प्रस्ताव राख्ने आँट गर्न सकेको थिइनँ । प्रस्ताव गर्नुअगाडि म उनको नजरमा परेको छु कि छैन भन्ने कुरा मलाई जान्नु थियो । म उनको गतिविधि लुकिलुकि चिहाइरहेको थिएँ, कतै मेरो नजर उनीमाथि भए जस्तै उनको नजर अरु कसैमाथि पो छन् कि ?
एकदिन म प्रेमनगरको चौतारीमा बसेर तिनै नवयुवाको खोजीमा नजर घुमाउँदै थिएँ, तर टाढासम्म पनि उनी मेरो आँखामा पर्न सकेका थिएनन् । एकटकले मेरा आँखा ती नवयुवकलाई खोज्दै थिए, कसैले मेरो पछाडिबाट मेरो काँधमा हात राख्यो ।
मलाई स्वर्गानुभूति भयो । मनमनै सोचेँ– वा ! मेरो प्रेम । आखिर उनले पनि मलाई लुकिलुकी खोजी नै रहेका रहेछन् । मेरो प्रेम सफल भयो । मेरो खुसीको सीमा रहेन ।
म विस्तारै पछाडि फर्किएँ । पछाडि फर्किँदा पो म झसङ्ग भएँ । मेरो काँधमा मैले खोजेका युवाको होइन, एकजना वृद्धको हात थियो ।
आफूलाई सम्हालेँ र मैले आदरपूर्वक ती वृद्धलाई नमस्कार गर्न हात जोडेँ । मैल आवाज निकाल्न नपाउँदै मैले जोडेको हातमा उनका दुई हात थपिए ।
मेरो जोडी हातलाई उनका दुई हातले च्याप्प समातेर मेरा आँखामा आँखा जुधाउँदै उनले मलाई भने– ‘स्नेहलता ! म तिमीलाई प्रेम प्रस्ताव राख्दछु ।’
उनको प्रस्ताव सुनेर म छाँगाबाट खसे जस्तै भएँ । अलिकति क्रोध पनि जाग्यो । एक मनले त लाग्यो– यस्तो बूढो भएर म जस्तो नातिनी उमेरकीलाई प्रेम प्रस्ताव राख्नेलाई गालामा चड्काइदिऊँ । तर त्यसो गर्न प्रेमनगरको आचारसंहिताले दिँदैनथ्यो । म लाचार थिएँ ।
म उनलाई केही नभनी चौतारीबाट अर्कोतिर मोडिएँ । अलि पर पुगेर पछाडि फर्केर हेरेँ । उनी म गएतिर नै हेरिरहेका रहेछन् । त्यसो त मैले पनि पछितिर फर्केर उनीतिर नहेरेको भए उनले मलाई हेरेको पो मैले कहाँ देख्थेँ र ?
त्यस दिनदेखि प्रेमनगरमा म उनीसँग तर्केर हिँड्न थालेँ । तर उनले मलाई लुकिलुकि नै किन नहोस्, पछ्याउन छाडेनन् ।
विना थकान उनका आँखाले मलाई पछ्याउन नछाडेपछि म पनि लुकिलुकि उनको गतिविधि नियाल्न थालेँ । मैले उनलाई हेर्दा उनी हरपल मलाई नै नियालिरहेका हुन्थे । तर मेरो अगाडि आएर थप बोल्ने आँट भने गर्न सक्दैनथे ।
म देख्दै थिएँ, मलाई प्रेम प्रस्ताव राखेको दिनदेखि विस्तारै उनको अनुहारमा चमक बढ्दै गएको थियो, उनी आफ्नो लवाइखुवाईमा पनि दिनप्रतिदिन ध्यान दिन थालेका थिए । उनको उमेर दिनप्रतिदिन बढ्दै गइरहेको थियो, तर देख्दा उनको उमेर घट्दै कि छ कि भने झैँ देखिन थालेका थिए ।
बाँकी कुरा अब उहाँले नै भन्नुहुन्छ । स्नेहलताले तिनै वृद्धतर्फ देखाउँदै भनिन् । वृद्धले बाँकी कथा यसरी अगाडि बढाए ः
नमस्कार । मेरो नाम प्रेमदत्त । तर एक समय प्रेमबाट तिरस्कृत थिएँ म । जब म प्रेमनगरमा प्रवेश गरेँ, त्यसबेला कुनै प्रेमहीन नगरबाट आएको मान्छे थिएँ । मान्छे त के भन्नु मान्छेको जस्तो आकृति थियो मेरो । कोही मान्छे प्रेमबाट विमुख हु्न्छ भने त्यसलाई मान्छे ठान्नुको अर्थ नै के हुन्छ र ?
मेरा छोरा थिए, छोरी थिए, नाति थिए, नातिनी थिए, धनसम्पत्ति थियो । मसँग प्रेमबाहेकको सबै कुरा थियो । तर प्रेम बिनाको सबैथोक मेरा लागि शून्य थियो ।
मेरी श्रीमतीले मलाई छोडेर स्वर्गको बाटो रोजेकी थिइन् । श्रीमतीले छोडेपछि म एक्लो थिएँ, फगत एक्लो । परिवार भएर पनि म परिवारविहीन थिएँ ।
छोराबुहारी दुवै जागिर खान्थे । नाति नातिना विदेशमा थिए । शरीरले सकुञ्जेल त घरको चार दिवारभित्र मैले एक्लो जीवन बिताएँ । तर जब म शारीरिक रुपमा अशक्त भएँ, त्यसपछि छोराबुहारीले घरमा हेरविचार गर्ने मान्छे भएन भन्दै वृद्धाश्रम पु¥याइदिए ।
मलाई वृद्धाश्रम होइन, प्रेमाश्रम चाहिएको थियो । म वृद्धाश्रमबाट भागेर प्रेमनगर आएँ । जब मैले प्रेमनगरमा स्नेहलतालाई देखेँ, तब मेरो विगत पुनरावृत्ति भएर आयो । मेरी स्वर्गीय पत्नी सुश्मलता यिनै स्नेहलता जस्तै थिइन् । सुश्मलता मलाई असाध्यै माया गर्थिन् । उनी मेरो उर्जा थिइन् । मैले स्नेहलतामा तिनै मेरी पत्नी सुश्मलताको प्रतिरुप देखेँ ।
जब मैले स्नेहलतालाई देखेँ, म जीवनको पूर्वाद्धमा फर्केँ, जुन बेला मैले मेरी पत्नी सुश्मलतालाई प्रेम गरेको थिएँ । मेरो त्यो विगत सम्झँदा यो उमेरमा मलाई यति उर्जा आयो कि मेरो स्मृति यौवनावस्थामा फर्कियो । स्मृति मात्र फर्केको होइन, मन बदलियो । मेरो मन मात्र बदलिएन, विचार बदलियो, अनुहार बदलिलियो, विस्तारै शरीर पनि हृष्टपुष्ट हुँदै गयो ।
झन स्नेहलताले मेरो प्रेम स्वीकार गरेपछि त मेरो सारा संसार बदलियो । यतिबेला ममा प्रेमको उर्जा छ, यौनको उर्जा छ, शारीरिक उर्जा छ, मानसिक उर्जा छ ।
स्नेहलताले मलाई प्रेम गरेपछि मलाई के थाहा भयो भने प्रेमले नै मर्न लागेको मानिसलाई जीवन दान दिन सक्छ, प्रेम विना जिउँदो मानिस पनि पटकपटक मर्छ ।
प्रेम जीवनको उर्जा बढाउने संसारको सबैभन्दा शक्तिशाली औषधी हो । म एकीनका साथ भन्न सक्छु कि, संसारमा प्रेम जस्तो स्वास्थवद्र्धक औषधी अर्को आविष्कार भएकै छैन ।
000
स्नेहलता र प्रेमदत्तको प्रेमकहानी सुनेर सबैले ताली बजाएर उनीहरूको आदर्श प्रेमप्रति सम्मान प्रकट गरे ।
प्रेमनगरमा प्रेममा कुनै बन्देज र शर्त नभएकै कारण त एक वृद्ध र नवयुवती बिच प्रेम भएको थियो ।
प्रेमनगर प्रेम गर्ने थलो मात्र थिएन, आदर्श प्रेम, यथार्थ प्रेम, प्रेमभित्रको प्रेम, महान् प्रेम, आत्मिक प्रेम, भावनात्मक प्रेम जस्ता प्रेमका विभिन्न स्वरुपहरूको बारेमा बहस गर्ने थलो पनि थियो । प्रेम प्रदर्शन गर्ने विषय होइन तर प्रेमको अनुभूति आदानप्रदान गर्ने विषय हो, जसले प्रेमको वास्ताविक स्वरुप चिन्न अरुलाई समेत अभिप्रेरित गरोस् भन्ने मान्यता प्रेमनगरको थियो ।
आफ्नो प्रेम अनुभव सुनाएपछि प्रेमनगरका नगरगुरुले प्रेमको अनुभूति सुनाउनेहरूलाई केही प्रश्न राख्थे । अरु जिज्ञासुले पनि प्रेमको अनुभववाचकलाई प्रेम बारे प्रश्न सोध्ने छुट थियो ।
नगरगुरुले सोध्नुभो– ‘प्रेमदत्त ! तपाईँलाई आफूभन्दा पाँच दशक कम उमेरकी युवतीसँग प्रेम प्रस्ताव राख्न असहज महसुस भएन ?’
म प्रेमनगरमा प्रवेश गरेपछि उमेर, जात, अनुहार, योग्यता हेरेर प्रेम गरिन्छ भन्ने रुढीवादी विचारबाट मुक्त भएर नै मैले स्नेहलतासामु प्रेम प्रस्ताव राखेको हुँ । मैले यो पनि बुझेँ कि गुरुदेव ! प्रेम गर्नु अगाडि नै तेस्र्याइने उमेर, जात, अनुहार, वर्ण, लिङ्ग र योग्यताले प्रेमलाई संसारबाट कुरुप बनाइरहेछ ।’
नगरगुरुले स्नेहलतालाई पनि उस्तै गरी सोधे– ‘तिमीले असहज महसुस ग¥यौ कि स्नेहलता ?’
स्नेहलताले थपी– ‘म प्रेमनगरमा प्रवेश गर्नु अगाडि प्रेम भन्ने कुरा जात, धर्म, पेशा, उमेर, विचार मिल्नेसँग हुुनुपर्छ भन्ने ठान्थेँ । तर प्रेमनगरका नगरगुरुको साश्वत प्रेम सम्बन्धी प्रवचन र प्रेमदत्तले मप्रति गरेको अनवरत र अगाध प्रेमले मेरो सोचमा परिवर्तन गरिदियो । मान्छेलाई परिवर्तन गर्ने सबैभन्दा ठूलो अस्त्र नै प्रेम रहेछ, गुरुदेव ।’
‘ठीक भन्यौ स्नेहलता ! रिस र क्रोधले प्रेमलाई कुरुप बनाउँछ, प्रेमको सुवासले रिस र क्रोधलाई पनि शान्तिमा परिणत गरिदिन्छ । प्रेम संसारको सबैभन्दा ठूलो हतियार हो, जसले कहिल्यै विनास गर्दैन, सकारात्मक परिवर्तन मात्र गर्छ ।’ गुरुले थपे ।
एक नवयुवकले प्रेमदत्तसँग जिज्ञासा राख्यो– ‘तपाईँ यस्तो वृद्ध उमेरको हुनुहुन्छ, यो उमेरमा के तपाईँ आफ्नी नवयौवना प्रेमिकाको यौनेच्छा पूरा गर्न सक्नुहुन्छ ?’
‘अवश्य सक्छु । यौन भनेको उमेर र शरीर मात्र होइन, भावना र इच्छाशक्ति हो, त्यो स्नेहलताले राम्ररी बुझेकी छिन् ।’ प्रेमदत्तले अगाडि अझ थपे– ‘प्रेममा शारीरिक आकर्षण गौण कुरा हो, नवयुवक ।’
नवयुवकलाई यसो भन्दै गर्दा प्रेमदत्तको अनुहारमा कुनै हीनताबोध थिएन । बरु दृढता र विश्वासको चमक देखिइरहेको थियो ।
प्रेमदत्तको कुरामा स्नेहलताले पनि सहमतिको टाउको हल्लाई ।
प्रेमदत्तको कुरा सुनेर एक शारीरिक अपाङ्गता भएकी युवतीले प्रश्न गरी– ‘प्रेमदत्तले प्रेममा शरीरिक आकर्षण गौण कुरा हो भन्नुभो, यदि प्रेममा शरीर गौण हो भने म जस्ती अपाङ्गता भएकी युवतीसँग किन कोही पनि प्रेम गर्न तयार छैन त ? जब कि, मैले प्रेमनगरमा प्रेमको प्रतीक्षा गरेको दुई वर्ष बित्यो ।’
‘के तिम्रो अपाङ्गतामाथि यो प्रेमनगरमा कसैले घृणा गर्छन् रुपा ?’ रुपाको कुरा सुनिरहेका नगरगुरुले सोधे ।
‘घृणा त गर्दैनन् गुरुदेव ! प्रेमदत्तको प्रेम अनुभूतिमा प्रेम र शरीरको सम्बन्धको प्रसङ्ग आएको भएर मात्र मैले प्रश्न राखेको हुँ । तर मलाई प्रेम नगर्नेहरूसँग पनि मेरो कुनै गुनासो छैन गुरुदेव ।’ रुपाले भनी ।
000
रुपाले प्रेम र शरीरको सम्बन्ध बारे प्रश्न राखेको दुई दिनपछि एउटा नवयुवकले रुपा नजिकै आएर भन्यो– ‘रुपा ! म तिमीलाई प्रेम प्रस्ताव गर्दछु । मेरो दृष्टिमा तिमी अपाङ्ग होइनौ, बरु तिमी रुपाङ्ग हौ । म तिमीलाई मेरो अर्धाङ्गिनी बनाउन चाहन्छु । के तिमी मेरो प्रस्ताव स्वीकार्छौ ?’
आफूलाई प्रेम प्रस्ताव राख्ने युवकको कुरा रुपाले पत्याइन । आफूलाई जिस्क्याएको ठानेर उसले अलि अफ्ठ्यारो मानी । तर प्रतिवाद गरिन ।
युवक फेरि बोल्न अगाडि स¥यो– ‘तिमी अफ्ठ्यारो नमान रुपा । मेरो प्रेम स्वीकार गर । तिमीले प्रेमसमागममा गरेको प्रश्नले मेरो मन बदलियोे । मेरो प्रेमप्रतिको अद्र्धज्ञानको ढोका खुल्यो । म प्रेमको पूर्णज्ञानको मैदानमा प्रवेश गरेँ । अपाङ्गता तिमीमा होइन रहेछ, बरु हाम्रो सोचमा रहेछ । खोट तिम्रो शरीरमा होइन, हाम्रो दृष्टिकोणमा रहेछ ।’
रुपा अझै केही बोलिन ।
युवक निरन्तर बोलिरह्यो– ‘मैले आजसम्म अपाङ्गता भएका व्यक्तिहरूप्रति राखेको दृष्टिकोणप्रति म प्रायश्चित्त गर्न चाहन्छु रुपा । तिमी मेरो प्रेम स्वीकार गर ।’
रुपा एकदम खुसी भई । खुसी यस अर्थमा होइन कि उसलाई युवकले प्रेम ग¥यो, खुसी यस अर्थमा भई कि युवकले अपाङ्गता भएका व्यक्तिहरूप्रतिको आफ्नो दुष्टिकोण परिवर्तन ग¥यो ।
रुपाले युवकलाई अँगालो हाली र भनी– ‘तिम्रो प्रेम मलाई स्वीकार्य छ अभिनव ।’
000
एक दिन प्रेमनगरका नगरगुरु नगरको बिच भागमा रहेको चौतारीमा बसेर नगरवासीसँग भलाकुसारी गर्दै थिए । एक नवयुवक गुरुको अगाडि उभियो र दुई हात जोड्दै भन्यो– ‘गुरुदेव ! मेरो प्रणाम स्वीकार गर्नुहोस् ।’
गुरुले आफू बसेको ठाउँबाट उठेर युवकले जोडेको दुवै हातलाई आफ्नो दुवै हातले समातेर आफ्नो नजिक बस्ने आग्रह गरे ।
युवक गुरुको छेउपट्टी बस्यो ।
‘के तिमीले कसैसँग प्रेम ग¥यौ नवयुवक ?’ नगरगुरुले सोधे ।
‘गरेँ गुरुदेव । तर .....’
‘तर के ?’
‘तर उसले गरिन ।’
‘प्रेम हदृयको भाषा हो, मुखको होइन । पक्कै पनि तिमीले उनीसँग आवाजले मात्र प्रेम ग¥यौ । जसलाई तिमी प्रेम गर्न चाहन्थ्यौ, सायद तिम्रो मुखबाट निस्केको प्रेमको भाषाले उनको हृदयस्पर्श गरेन होला । मन परेको मान्छेलाई निरन्तर हृदयदेखि प्रेम गर्दै रहू नवयुवक ।’ गुरुले युवकलाई ढाडस दिए ।
‘अवश्य गुरुदेव ! उनले मलाई प्रेम नगरुन्, तर म उनलाई निरन्तर हृदयदेखि प्रेम गरिरहने छु ।’ युवकले बडो शान्त स्वरमा भन्यो ।
‘तिमी प्रेम गर्दै रहू, उनको मन एकदिन अवश्य तिमीप्रति प्रेमिल बन्नेछ युवक । प्रेमको नियम नै यही हो कि, प्रेमले प्रेमलाई तान्छ ।’ गुरुले प्रेमप्रति युवकलाई थप आश्वस्थ गराउन खोजे ।
‘प्रेमले प्रेमलाई तान्छ भन्ने त्यो नियम मेरो जीवनमा अब कहिल्यै लागू हुने छैन गुरुदेव ।’ युवकले भन्यो ।
‘मतलब ?’ गुरुले अलि आश्चर्यभावमा सोधे ।
‘जसलाई मैले प्रेम गरेँ, जसले राखेको प्रेम प्रस्ताव मैले सहजै स्वीकार गरेँ, उनले भने मलाई केही समय प्रेम गरिन्, अनि दिएको प्रेमको वचन तोडिन् । बरु एकपटक प्रेम गरेर पछि तोड्ने उनको त्यो प्रेमलाई चाहिँ म प्रेम भनौँ कि नभनौँ गुरुदेव ? रणभुल्लमै छु ।’ युवकले भन्यो ।
‘कुरा अलि प्रष्टसँग भन युवक ।’
‘उनीसँग मेरो प्रेमले स्पर्श गर्न नसकेको होइन, गुरुदेव । बरु मेरो जातले उनको जातलाई स्पर्श गर्न सकेन । म तल्लो जातको अरे । उनी माथिल्लो जातको परिन् अरे ।’
‘पहिले प्रेम गर्ने अनि जातको कुरा निकालेर अरुको मन तोड्ने ? यो त प्रेमनगरको आचारसंहिता विपरीत भो । प्रेमनगरमा बसेर प्रेमको मूल्यमान्यताको उल्लङ्घन गर्ने त्यो को हो ? उसको नाम भन युवक । म उसलाई कारवाही गर्छु ।’ गुरु अलि आक्रोशित भए ।
‘शान्त गुरुदेव शान्त । म उनको नाम भन्न सक्दिनँ, किन कि आफूले प्रेम गरेकी प्रेमिकालाई म कारवाही गराउन चाहन्न । न त म उनलाई घृणा गर्छु । म त उनलाई हिजो पनि प्रेम गर्थे, आज पनि गर्छु र जीवनभर गरिहने छु । उनी मेरो मनकी प्रेमिका थिइन्, छन् र रहिरहनेछिन् । भौतिक रुपमा उनी अरु कसैकी होऊन्, म त्यसको पर्वाह गर्दिन, तर आत्मिक रुपमा उनी मेरी प्रेमिका हुन् र म उनको प्रेमी हुँ ।’ युवकले बढो दृढताका साथ भन्यो ।
युवकको दृढ वचनले गुरु किंकर्तव्यविमुढ भए ।
८८८८८
केही दिनपछि हरेक महिना हुने प्रेमसमागममा नगरवासी सबै उपस्थित थिए ।
नगरगुरुले आदरपूर्वक सबैलाई सम्वोधन गर्दै भने– ‘मेरा प्रिय प्रेमिल मनहरू ! यस प्रेमनगरमा कसैले पनि प्रेमनगरको आचारसंहिता उल्लङ्घन गर्नुहुने छैन भन्नेमा म ढुक्क छु । संसारमा प्रेमको आदर्श र साश्वत मूल्यमान्यतामाथि खिया लाग्दै गएको अवस्थामा एक अर्कालाई प्रेम गरेर यसरी प्रेमको महत्ता र गरिमालाई उच्च राख्न प्रेमनगरवासीले गरेको योगदानको उच्च प्रशंसा गर्दछु । पक्कै पनि प्रेमनगरवासी कसैले पनि प्रेममाथि कालो धब्बा पोत्नुभाको छैन, प्रेमनगरको गुरुको हैसियतले म त्यसमा म गर्व गर्दछु ।’
नगरगुरु बोल्दै हुनुहुन्थ्यो, मानवी नाम गरेकी एक युवतीले आफू बसेको ठाउँबाट जुरुक्क उठेर हात जोड्दै भनी– ‘माफ पाउँ गुरुदेव ! मबाट गल्ती भयो ।’
किन युवती, माफ माग्नुपर्ने तिमीले के त्यस्तो गल्ती ग¥यौ ?
‘गल्ती मात्र होइन गुरुदेव ! मैले ठूलो अपराध गरेँछु । मैले प्रेमको महत्ता बुझ्न सकिनँछु । जसले मलाई प्रेम दियो, त्यसको बदला उसलाई मैले घृणा दिएँछु । तर मैले घृणा दिँदा पनि उसले मलाई प्रेम गर्न छोडेन । कसैले आफूलाई घृणा गर्छ भन्ने थाहा हुँदाहुँदै कोही मान्छे त्यही आफूलाई घृणा गर्ने मान्छेलाई नै जीवनभर प्रेम गरिरहन्छु भन्छ भने आदर्श प्रेमको यो भन्दा चरम उदाहरण के होला गुरुदेव ? मलाई सजाय होस् गुरुदेव । म शरद विश्वकर्माको प्रेमको हत्यारा हुँ ।’
युवती निरन्तर बोल्दै गई– ‘मैले शरद विश्वकर्माको जात बुझेँछु, तर प्रेम बुझिनँछु । मैले उसलाई मान्छे त देखेँ, तर मान्छेभित्रको मानवता बुझ्न सकिनँछु । मैले उसलाई सामाजिक आँखाले त हेरेँछु, तर मानव अधिकारको आँखाले बुझिनँछु । त्यसैले म सजायको भागिदार हुँ गुरुदेव ! मलाई सजाय होस् ।’
मानवी सभाको विचमा उभिएर नगरगुरु र सभामा उपस्थित प्रेमिल मनहरूलाई आफ्ना कुरा भन्दै थिई । मानवीका आँखा भने शरदलाई खोज्दै थिए । तर शरद त्यहाँ थिएन ।
मानवी दौडिएर शरद बस्ने गरेको कोठामा पुगी । कोठामा पनि शरद थिएन । कोठामा शरद मात्र नभएको होइन, उसको लगाउने लुगाकपडा समेत केही थिएन । मानवीका आँखा रसाए ।
मानवीले प्रेमनगरको वरिपरि आँखा डुलाई । हातमा झोला बोकेर शरद विश्वकर्मा प्रेमनगरको मूलद्वारतिर अगाडि बढ्दै थियो । लाग्थ्यो– शरद विश्वकर्मा सधैँका लागि प्रेमनगरबाट बाहिरिँदै छ ।
मानवी दौडिँदै प्रेमनगरको मूलद्वारमा पुगी । द्वारबाट बाहिरिँदै गरेको शरदको अगाडि उभिएर उसको बाटो छेक्दै भनी– ‘तिमी प्रेमनगरबाट बाहिर नजाऊ शरद । म तिमीलाई प्रेम गर्छु । मलाई माफ गरेर तिमी प्रेम नगरमै रहू ।’
८८८८८
प्रेमनगरमा थरिथरिका कहानी थिए ।
एकजना भागवत वाचक पण्डितको छोराले विदेशी केटी विवाह गरेर नेपाल ल्याएपछि अन्तरदेशीय, अन्तरर्जातीय, अन्तरधार्मिक विवाह अस्वीकार्य छ भन्दै परिवारद्वारा घरबाट निकालिएछि त्यो जोडी प्रेमनगरमा आएको थियो ।
अर्को एउटा जोडी थियो, समलिङ्गीको । उनीहरूको सम्बन्धलाई परिवार र समाजले स्वीकार नगरेपछि धित मरुन्जेल एकअर्कालाई प्रेम गर्न पाउने ठाउँको खोजिमा उनीहरू प्रेमनगर आइपुगेका थिए ।
एक मुस्लिम युवती र एक हिन्दू युवक बिच प्रेम भएको कुरा उनीहरूका परिवारले थाहा पाएर एकअर्काबाट छुट्ट्याउन खोजेपछि भागेर प्रेमनगर आएका थिए ।
एकजना एकल महिलालाई गाउँका केही उरण्ठेउलाहरूले गिद्धे नजर लगाएपछि उनी सुरक्षित स्थानको खोजीमा प्रेमनगरमै आएर बसेकी थिइन् ।
सन्तानविहीन एकजना वृद्धा आफूलाई माया गर्ने कोही नभएपछि भौतारिएर मायाको खोजीमा प्रेमनगर आएकी थिइन् । प्रेमनगरमा उनको कोही आफन्त थिएनन्, तर प्रेमनगरवासी सबै उनका प्रेमी थिए ।
अवैध रुपमा गर्भाधान गरी बच्चा जन्माउनेबित्तिकै बोरामा बेरेर झाडीमा फालिएको एक नवजात शिशुलाई प्रेमनगरवासीले भेट्टाएर प्रेमनगर ल्याएका थिए । ऊ प्रेमनगरवासी सबैको प्रेमी थियो ।
प्रेमनगरमा धन थिएन, सुविधा थिएन, आलिशान भवन थिएनन्, महँगा गाडी थिएनन्, राम्रा लुगा र मिठो खाना थिएन । तर यी सबैभन्दा ठूलो कुरा त्यहाँ उदार मन थियो, मनभन्दा पनि ठूलो कुरा त्यहाँ प्रेम थियो । जो जति बाँडे पनि सकिँदैनथ्यो, बरु दिन प्रतिदिन बढ्दै जान्थ्यो ।
संसारमा सबैभन्दा धनी कोही थियो भने ती प्रेमनगरबासी नै थिए ।