19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘मिस्कल’ लघुकथासङ्ग्रह: सामाजिक विकृतिउपर गतिलो प्रहार

कृति/समीक्षा भेषराज रिजाल June 5, 2026, 12:21 am
भेषराज रिजाल
भेषराज रिजाल

डा.श्यामप्रसाद न्यौपाने नेपाली साहित्यमा सुपरिचित र सुविख्यात हस्ताक्षर हुनुहुन्छ । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका, वडा नं.४, कुरुङ्चेमा जन्मी हाल नवलपरासी जिल्लाको सुनवल नगरपालिका, वडा नं.१२, भुमहीका स्थायी बासिन्दा डा.न्यौपानेका कविता, खण्डकाव्य, गीत, गजल, मुक्तक, समालोचना, लघुकथा, ताङ्का आदि विभिन्न साहित्यिक विधाका सत्रवटा कृति प्रकाशित छन् । नेपालीमा स्नातकोत्तर र भाषा विज्ञानमा विद्यावारिधिको उच्च शैक्षिक योग्यता हासिल गर्नुभएका डा.श्यामप्रसादज्यूको सत्रौँ साहित्यिक कृति एवं दोस्रो लघुकथासङ्ग्रह हो ‘मिस्कल, २०८२’ । साहित्य परिषद्, नवलपरासीले प्रकाशन गरेको यो कृतिमा प्रा.हुमकान्त पाण्डेको भूमिका रहेको छ ।

छोटो कथानक र थोरै शब्दमार्फत गहनभाव समेटी साहित्यानुरागीको मन छुने लोकप्रिय साहित्यिक उपविधा हो लघुकथा । लोटामा सागर भने र्झै लघुकथामा सीमित पात्र, अर्थपूर्ण वाक्य र स्पष्ट सन्देश हुन्छ । यसमा घटना र कथावस्तु श्रङ्खलाबद्ध हुनाका साथै कथानक, पात्र, परिवेश र भाषा शैलीको संयोजनबाट प्रभावकारी निष्कर्ष निकालिएको हुन्छ । डा.श्यामप्रसाद न्यौपानेकृत पचासवटा लघुकथाहरूको सङ्गालो ‘मिस्कल, लघुकथासङ्ग्रह’ भित्र पनि समाजमा व्याप्त राजनीतिक, आर्थिक, सामाजिक लगायत सबै प्रकारका विकृति, विसङ्गतिप्रति कटु आलोचना छ । मुलुकको राजनीतिक पद्धति सुधार भई लोकतन्त्र संस्थागत हुन सकोस् भन्ने निस्वार्थ कामना छ । मान्छेको आचरण, संस्कार र व्यवहार सुधार भएर नेपाली सभ्यता उन्नत र सुसंस्कृत बनोस् भन्ने हार्दिक शुभेक्षा पनि छ ।

अचेल बालकदेखि वृद्धसम्मका अधिकांश व्यक्ति अत्यावश्यकीय दैनिक कर्म त्यागेर मोबाइल फोनमा झुत्ती खेलिरहेको देखिन्छ । यस्तै वैयक्तिक एवं सामाजिक कुलतप्रति व्यङ्ग्य गर्ने ध्येयले यस कृतिको नामाकरण गरिएको हुनुपर्छ । आममान्छेको दैनिकी सुधार्न यस्ता उपकरणको अनावश्यक प्रयोग नियन्त्रण गर्न जरुरी छ । शीर्षक एवं चौबीसौँ लघुकथा ‘मिस्कल’ मा पनि त्यस्तै विरोधाभाषयुक्त दैनिकीले दिदीबहिनीको सम्बन्ध चिसिएको छ । यो मनोवैज्ञानिक लघुकथा पनि हो । मोबाइल स्क्रिनमा मिस्कल देखिए पनि बहिनीले गरेको वास्तविक कल थियो त्यो । उठाउनुपर्नेले नउठाउँदा सिष्टममा त्यो मिस्कल दर्ता हुनपुग्यो । घरभाडा तिर्ने रकम सापट वा सहयोग माग्न बहिनीले शुरुमा दिदी र पछि भिनाजुसँग याचना गर्न फोनै गरेकी थिइन् । तर, दिदी आफूले त फोन आएको थाहा पाइनन् र उठाइनन् पनि । उता लोग्नेको मोबाइलमा अङ्कित मिस्कल भने देखिहालिन् । बहिनीले लाख सम्झाउन खोजे पनि भिनाजुसँग मस्ती गर्न खोजेको आरोप लगाउँछिन् दिदी । यस्तै परिघटनावश कयौँको घरबार भत्किएको वास्तविकता उजागर गरेको छ यस लघुकथाले ।

सरल शब्दमा सामाजिक पीडा उत्खनन गर्नसक्नु डा. श्यामप्रसादज्यूको विशेषता हो । उदाहरणस्वरूप लघुकथा ‘घर’ मा प्रयुक्त कथावस्तु र पात्रको सम्वादलाई लिन सकिन्छ । यस लघुकथामा श्रीमतीको मृत्युपछि निरञ्जनानन्द जोगी भई घरगृहस्थ त्याग्दछन् । घर फर्काउन आएका छोराछोरीलाई निरञ्जनानन्द सम्झाउँछन्– “सबैतिरको सम्बन्धको तारतम्य मिलाइदिने त श्रीमती पो रहिछिन् । राँडो बुढाको कुरो न न छोरासँग मिल्छ, न त बुहारीसँग । न त छिमेकीसँग । बुढो मानिसलाई त जहाँ बुढी त्यहीँ घर हुँदो रहेछ । मन शान्तिका लागि म यहाँ आएको हुँ, तिमीहरू फर्क ।” (पृष्ठ २)

आफैले आन्दोलन गरेर ल्याएको आरक्षण व्यवस्थाले बनाएका डाक्टरले अपरेशन गर्दा आफ्नै बाबुको मृत्यु भएको छ यहाँ । अहिंसा परमो धर्म कार्यक्रमका प्रमुख अतिथिलाई मांसाहारी भोजन चाहिएको छ । वृद्धाश्रम सेवामा छोराले गरेको भाषण र घरमा रोगी आमाको पीडाको तुलना गर्ने कुनै मानक बनेको छैन । स्वदेशमै केही गर भन्ने आमाको वचन नाघेर परदेश पुगेको छोराले अकुत सम्पत्ति कमाए पनि आखिर एक्लो जिन्दगी बाँच्न विवश छ । लकडाउनको ऐनामा विपद्बाट फाइदा उठाउन उद्यत पदाधिकारी र कर्मचारीको अनुहार छर्लङ्ग देखिएको छ । पञ्चायतदेखि हालसम्म हालीमुहाली गरिरहेकाहरू नै चाकरी नगर्ने, पहाडझैँ अटल र स्वाभिमानी कहलिएका छन् । कार्यकर्ताको विश्वासघात र कुटिल व्यवहारले इमान्दार नेता पनि पराजित हुनुपरेको छ । पार्टी उम्मेदवार छान्ने राजनीतिक दलको स्वार्थप्रेरित र अप्रजातान्त्रिक पद्धतिले भ्रष्टाचार र अव्यवस्था मौलाएको छ । आफ्नाको मरिहत्ते समर्थन र विपक्षीको सत्तोसराप गर्ने कार्यकर्ताको बिगबिगी छ । निर्वाचन प्रक्रिया, राजनीतिक संस्कार र जनचेतनामा विश्वास गर्नुपर्नेमा धाँधली र घात अन्तर्घातको शङ्कामा अल्झिनुपरिरहेको छ । विभिन्न उम्मेदवारले अनेक प्रलोभन देखाए पनि जनमत ती उम्मेवारको विपक्षमा पर्दा समेत राजनीतिक दलले असल उम्मेदवार उठाएको पाइँदैन । सीमापार भेट्न बोलाउने व्वायफ्रेन्डकी प्रेमिका अहिले खुसी नै होलिन् कि बिलखबन्दमा– सबैको मनभरि चिन्ता छ । स्वजन संस्कारी भई मर्यादित भेषभूषामा सजिनुपर्ने मान्यता राख्नेहरू नै बाहिरफेर छोटा र उत्ताउला पहिरन गर्नेप्रति आकर्षित हुने गरेका छन् । भाषा, साहित्य, कला, संस्कृतिको उत्थानको नारा लगाए पनि व्यवहार विपरित रहेको यथार्थले घोचिरहेछ । सर्वस्व गुमाएर हुर्काएका आफ्नै सन्तानले आमाबाबुलाई बुढेसकालमा वृद्धाश्रम पठाउँदा ती वृद्धवृद्धाका मनभरि असरल्ल पीडा र वेदना छन् । यी र यस्तै यावत् अत्याचारी अव्यवस्था, परिपाटीहीन कुबाटा, नैतिकता चिरिएका दैनिकी, स्खलित मूल्यमान्यता र भत्किएका आचरणउपर तीव्र उपेक्षा छ यस लघुकथासङ्ग्रहमा ।

लघुकथा ‘आमाबाबुको आशिर्वाद’ ले देखावटी ढोँग र लोकाचारको पर्दाफास गरेको छ । छोराले वृद्ध बिरामी आमालाई भेट्ने फुर्सदै पाउँदैन् । आमा बितिसकेपछि उनको नामको सारा सम्पत्ति बिक्री गर्छ । मोजमस्ती गर्दै कार चढेर हिँड्छ । कारको पछाडि लेखाएको छ– आमाबाबुको आशिर्वाद । ‘विकास’ लघुकथाले भर्खरै शहर बन्न लागेको बस्तीको विकासको नमूना पेश गरेको छ । छोरालाई कापी किन्न निस्केकी बुधनीले पूरै शहर चाहार्दा पनि कुनै कापी पसल खुला भेटिनन् । तथापि भट्टी पसलमा भने मान्छेको उत्पात भीड छ । बुधनीको जस्तै सबैको मनमा पनि यत्ति कुरा खेलिदिए कस्तो हुन्थ्यो होला– “यी मानिस घरका बाबुआमा एवं श्रीमतीलाई के भनेर यहाँ आएका होलान् ?” (पृष्ठ १४)

‘पछुतो’ लघुकथामा दरखाने दिनको सम्झनाले खपिनसक्नु हुन्छ पार्वतीलाई । आमाले पकाएको अनदीको खाजा, भैँसीको दूधको ढाकनी र तामाको तरकारी सम्झिन्छिन् । आमाबाबु बितिसकेको भए पनि माइत पुग्छिन् र थकाइ मार्न खाटमा पल्टिन्छिन् । भाउजुले सञ्चोविसञ्चो र भोकप्यास नसोध्दा घर फर्कने सोच बनाउँछिन् । त्यतिबेलै भाउजुले मायालु पाराले सोध्छिन्– “थकाइ मेटिएको भए अनदीको खाजा र तामाको तरकारी तयार छ ।” माइतीघरको मायाले नतमस्तक हुन्छिन् र पछुतोमा पर्छिन् पार्वती । सानो कथानकभित्र आफ्ना मान्छेको गहिरो प्रेम लुकेको छ । ‘गहना’ लघुकथामा महङ्गा वस्त्राभूषण नै सौन्दर्य प्रसाधन हुन् भन्ने नीलमको विचार परिवर्तन भएको छ । उनले साथीलाई सम्झाउँछिन्– “गार्गी, मैत्रेयी, हेलेनकेलर, नाइटिङ्गेल, योगमाया जस्ता नारीहरू महङ्गा वस्त्र आभूषण लगाएर विश्वविख्यात भएका होइनन् । बुद्धिविवेक प्रयोग गरी लोकहितमा आफूलाई समर्पित गरेकाले चर्चित भएका हुन् ।” (पृष्ठ २४)

‘टिकट’ लघुकथाले दिलोज्यान दिएर पार्टीमा लागे पनि नेतृत्वको मूल्याङ्कनमा नपरेका इमान्दार कार्यकर्ता बुधन चमारप्रति जनमनको सहानुभूति अङ्कुरित गराएको छ । बुधन निरंकुशतावादीबाट प्रताडित त छँदैथियो, मुठभेडमा परी खजाहा समेत भएको छ । तर, चुनावमा खर्च गर्नसक्ने अयोधीप्रसादले टिकट पाउँछ । अन्त्यमा कार्यकर्ताले अयाधीप्रसादकै नारा लगाउँदा बुधन अक्क न बक्क भएको छ । ‘भाषिक पीडा’ लघुकथामा अमेरिकामा जन्मेहुर्केका नातिनातिना र नेपाली हजुरबा हजुरआमाको अव्यक्त पीडा प्रकट भएको छ । विद्यालयमा संयुक्त परिवारसम्बन्धी पढाइ भएपछि र आफ्ना हजुरबा हजुरआमा छन् भन्ने थाहा पाएपछि छोराछोरीले बाबुआमासँग हजुरबा हजुरआमालाई अमेरिका बोलाउन जिद्दी गर्छन् । हजुरबा हजुरआमा खुसी हुँदै अमेरिका पुग्छन् । हजुरबा हजुरआमा र नातिनातिनाबीच अगाध माया, ममता र स्नेह भए पनि बोलचाल हुन नसकी केबल हेराहेर मात्र हुने गरेको छ । यस लघुकथाले जहाँ गए पनि आफ्ना सन्ततिलाई मातृभाषा सिकाउनुपर्ने सन्देश दिएको छ ।

‘सम्पादक’ लघुकथामा कथित नामुद साहित्यकारको लेख रचना सम्पादन गर्दाको अवस्था चित्रण गरिएको छ । ठूला साहित्यकारको लेख रचना जीवनोपयोगी, मर्मस्पर्शी र सिर्जनात्मक होला भन्ने अपेक्षा विपरित पत्रु निस्कन्छ । रचना सङ्कलकसँगको सम्वादमा सम्पादक भन्छन्– “यो लेख अन्टार्कटिकाको पहाडजस्तो छ, जीवनरहित । न विचार, न भाषिक शुद्धता ।” (पृष्ठ ८३) पाठकभन्दा लेखक धेरै रहेको वर्तमानमा गुणस्तरीय साहित्य लेखनको टड्कारो कमी उजागर गर्दछ प्रस्तुत लघुकथा ।

‘धनभन्दा विद्या ठूलो’ लघुकथाले वादविवाद कार्यक्रममा खग्गुप्रसादलाई प्रमुख अतिथि बनाइएको विषय उठान गरेको छ । यसमा प्रधानाध्यापक बाहेकका अन्य शिक्षकहरू सन्तुष्ट छैनन् । धन आर्जन गर्नका लागि इज्जत, जमान, नैतिकता र संस्कार परित्याग गर्ने व्यक्तिलाई अघि सार्न नहुने बारे बहस प्रारम्भ हुन्छ । तब, क्षितिजतिर हेर्दै प्रधानाध्यापकले अरू अध्यापकलाई सम्झाउँछन्– “सबै खर्च बेहोर्छु भनेपछि खग्गुलाई नै प्रमुख अतिथि आमन्त्रण गर्नै प¥यो ।” यस लघुकथाले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण जस्ता कुकृत्यमा निर्लिप्त वर्तमान समाजको विद्रुप तस्वीर सार्वजनिक गरिदिएको छ ।

स–साना परिघटनामा साहित्यिक मिठास र सुन्दरता भर्नसक्नु डा.श्यामप्रसाद न्यौपानेज्यूको विशेषता हो । ‘स्पर्शशील’ लघुकथामा प्रयुक्त कथावस्तु, परिवेश र पात्रबीच भएको उचित संयोजन यसको ज्वलन्त उदाहरण हो । यस लघुकथामा सुप्रसिद्ध कविका साहित्यिक रचना वाचन भइरहेको छ । सबै आकर्षित र आह्लादित थिए । तब एकजना दुःखी व्यक्ति कार्यक्रम स्थलमा प्रवेश गरी आफ्नो दीनहीन अवस्था प्रस्तुत गर्दै दयाको याचना गर्दछ । उसको अभिव्यक्ति छन्दहीन भए पनि उपस्थित सबैको हृदय पग्लिन्छ र गह टिल्पिलाउँछन् । अनि त चेतना दीप बल्नेगरी लघुकथाको पात्र मणिरत्न बोल्छ– “अहो ! पीडा त प्राकृतरूपमा पो बढी स्पर्शशील हुँदो रहेछ ।” (पृष्ठ ८८)

‘भगुमान’ लघुकथाले भगुमानहरूको मुखुन्डोले छोपिएको अनुहार, पापले भरिएको हृदय र निर्लज्ज सोच उदाङ्गो पारिदिएको छ । कम्बल बाँड्दा भगुमान् देख्ने दीनहीनहरूले पवनपुत्रको नदीजन्य पदार्थ दोहन गर्ने कालो मन देख्न सकेनन् । उनीहरूले के देखुन्, देख्नुपर्ने निकायले समेत देखेन, बरु आँखा चिम्लियो । एकदिन बाढी आयो । सबै गाउँलेहरू बगे । उनीहरूका बाख्रापाठा, घरझुप्रा र सर्वश्व बगायो । भगुमानको घर भने अग्लो स्थानमा सुरक्षित थियो । छाता ओढेर भगुमान्ले मज्जाले हे¥यो । “गाउँ त पूरा नदी भएछ, उसले मनमनै सोच्यो । उसले मानिसको रोदनचित्कार केही सुनेन । बगेका जन्तु र मानिसका लास केही देखेन । उसका आँखाले अर्को साल नदीजन्य पदार्थ उत्खनन् क्षेत्र बढेको देखे । आम्दानी क्षेत्र बढेकोमा ऊ खुसी हुँदै विशाल बगरमा परिणत गाउँलाई हेरिरह्यो ।” (पृष्ठ ९७)

‘मिस्कल’ लघुकथासङ्ग्रहका लघुकथाहरूको कथानक सरल छ, अनि प्रस्तुती बौद्धिक र तर्कशील छ । पाठकलाई समस्याका जडमा पु¥याई समाधानबारे सोच्न बाध्य पारिएको छ । गाउँबस्तीमा दैनिक देखेभोगेका पात्रहरू कथामा अटाएका छन् । अधिकांश लघुकथामा नवीन बिम्ब र अलङ्कारको प्रयोग गरिएको छ । लघुकथाको संङ्क्षिप्त ढाँचाभित्र गहनभाव प्रस्तुत गर्नसक्नु डा. श्यामप्रसादज्यूको विशेषता हो । लघुकथाले समाजका पुरातन सोच, संस्कृति र आचरणमा व्यापक सुधारको खाँचो औँल्याएका छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।