19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दिल खाली भएको सूचना

हास्यव्यङ्ग्य ईश्वर पोखरेल June 6, 2026, 11:10 pm
ईश्वर पोखरेल
ईश्वर पोखरेल

'कोठा खाली छ’ भनेर घरको छातीमा साइनबोर्ड टाँस्न मिल्छ; 'कर्मचारीको पद खाली छ’ भनेर कार्यालयको जाँघनेर सूचना टाँस्न मिल्छ भने अविवाहित युवा–युवतीले 'दिल खाली छ’ भनेर निधारमा लेखेर हिँड्न किन नमिल्ने!

दिलको सम्बन्धमा सबैलाई थाहा छ : यो मायालुको घरघडेरी हो। हाम्रा पुरेतबालाई साक्षीकिनारामा राखेर भन्न सकिन्छ : अविवाहित हुनु भनेको चाहिँ यो घरघडेरीलाई आवाद गर्ने मानिसको चाँजोपाँजो नमिलेको अवस्था हो। घरघडेरी छ; तर घरघडेरी आवाद गर्ने मानिस छैन : छातीमा हात राखेर भन्नुहोस्— के यो सबैभन्दा असहज अवस्था हो कि होइन?

यस अवस्थालाई अब निकास दिनु जरुरी छ र यसका लागि दिल खाली भएको सूचना हरेक अविवाहितले आफ्नो निधारमा लेखेर हिँड्न आवश्यक छ।

समय विज्ञापनको हो भन्ने कुरामा सके तपाईं पनि मसँग असहमत हुनुहुन्न। भन्नुहोला—‘विज्ञापनका लागि यति धेरै पत्रपत्रिकाहरू हुँदाहुँदै निधारमा लेख्ने झन्झट किन?’ तर विज्ञापनका लागि उचित स्थानको चयन नै गर्ने हो भने मानिसको निधारको तुलना पत्रपत्रिकाहरूसँग हुनै सक्दैन।

एक त, यो शरीरको सबैभन्दा उचो स्थान हो : जोसुकैको आँखा पर्छ। दोस्रो, प्राकृतिक रूपमै यो यति सफा र चिल्लो छ : साइनबोर्ड लेख्ने टिनको पातालाई साँच्चै मानिसको निधारजस्तै चिल्लो र सफा नै बनाउने हो भने धेरै घोट्नु र पुछ्नु आवश्यक हुन्छ। तेस्रो, यो सबैभन्दा बढी पढिने स्थान पनि हो।

टुँडिखेलको चारैतिरका सडकको पेटीमा मानिसको निधार पढ्नलाई तम्तयार भएर बस्नेहरू, बेला–कुबेला तुक–बेतुकका भविष्यवाणी गरेर नेपाली मान्छेको गिदी खाने र नेपालको राजनीतिक वृत्त हल्लाउनेहरू र तिनको आर्थिक चमत्कारको हिसाब निकालेर तपाईं यसका बारेमा यकिन गर्न सक्नुहुन्छ। बरु पत्रपत्रिका पढ्नलाई भने मानिस यति व्यग्र भएर बसेको मैले देखेको छैन। (धन्य, व्यापार प्रवर्धन गर्न विज्ञापनका लागि उचित स्थानको छनोट गर्ने सन्दर्भमा भाग्यवश कसैको आँखा मानिसको निधारमाथि परेको छैन। नत्र, मानिसका घर, भित्ता र सार्वजनिक स्थलमा कतै पनि एक वित्ता खाली देख्न नसक्ने ‘होर्डिङबोर्ड’ वालाहरूले मानिसको निधारलाई अहिलेसम्म किन बाँकी राख्थे होलान् र!) चौथो कुरा, सबै मानिससँग एक–एक थान निधार छ : यसको अर्थ हो— वर्गीकृत विज्ञापनका लागि एक सर्वोत्तम स्थान सबै अविवाहित युवायुवतीका लागि निःशुल्क सुरक्षित छ। पाँचौँ, विज्ञापन लेखेरै भए पनि अब हरेक मानिसले आफ्नो निधार आफैँले ओगट्नुपर्ने अवस्था छ : अन्तको अवस्था त्यति मेसो छैन; मानिसले दर्ता गर्न, लालपुर्जा बनाउन र पिल्लर ठड्याउन चारकुना मिलेको समथर जग्गाजमिन उपत्यकाभित्र चाहिँ अब थोरै मात्र बाँकी छ : यसैमा तपाईँ–हाम्रो निधार पनि पर्छ।

कसैले प्वाक्क भन्न सक्छः 'अविवाहित हुँदैमा दिल खाली नै हुन्छ भन्न मिल्छ र!’

म त भन्छु– 'गज्जबले मिल्छ।’

खास कुरा जेसुकै होस्; कसले पो चासो राखेको छ र? दरबन्दी खाली भएको सूचना प्रकाशित गरी अड्डाहरूले बेरोजगारहरूको भीडलाई पङ्क्तिबद्ध गराउन मिल्छ भने कसैको दिलमा कसैले डेराडण्डा गरेको छ भन्दैमा दिल खाली भएको जनाउ दिन मिल्दैन भन्ठान्नु हुँदैन। सबैलाई थाहा छ : अड्डाले दरबन्दी खाली भएको सूचना प्रकाशित गर्छ र हाकिम आफ्नो मान्छेलाई भित्रभित्रै नियुक्त गर्छ। अविवाहितहरूले पनि आफ्नो दिलमा अस्थायी, सट्टा, करार, ज्यालादारी वा दिनगन्तीमा 'डेरा जमाउने’लाई नै अड्डाका हाकिमहरूकै सिको गरेर खुसुक्क 'स्थायी’ गरिदिए त भइगयो नि।

तर्क हुन सक्छ : 'विवाह गर्नुलाई घरबार गर्नु भन्ने गरिएको छ। यसै आधारमा अविवाहितहरूले दिल खाली छ भन्नुको साटो घर खाली छ भन्नु उचित होइन र!’

केही दिन भयो, म झोक्राएकोझोक्रायै छु । डेटिङमा जान नपाएपछि मलाई जहिले पनि यस्तै हुन्छ । प्रेमिका नभएर होइन; पैसा छैन; गोजी खाली छ । जाबो गोजी खाली भएकै बेलादेखि मेरो आफ्नो प्रेयसीसँगको भेटघाट र बोलचाल बन्द छ। यसरी वर्षौँवर्षदेखि ‘हाउसफुल’का साथ चल्दै आएको आफ्नो प्रेमसम्बन्ध जाबो गोजी खाली भएको जस्तो मामुली कारणले हठात् अन्त्य भएको मेरो आफ्नै निजी अनुभव छ । तपाईंले पनि आफ्नो पकेट खाली भए पनि घर खाली नभएको जनाउ दिएर मान्छेहरूले ऐनमौकामा इज्जत धान्दै आएको देख्नुभएकै होला। अवस्था यस्तो छ। यस्तो अवस्थामा अविवाहितहरूले आफ्नो अवस्था जनाउन आफैँले सरासर'घर खाली छ’ भनेर लेख्नुपर्छ भन्ने तर्कसँग, तपाईँ नै भन्नुहोस्, कसरी सहमति जनाउन सकिन्छ!

कसैले भन्न सक्छ : 'युवायुवतीहरू दिल भनेर छातीतिर देखाउँदै आएका छन्। दिलको कुरा निधारमा लेख्दा अनर्थ त हुँदैन?’

म भन्छु– 'हुँदैन।’

काठमाडौँको जग्गा दलालले सडक छेउको जग्गा देखाएर हाम्रा साहिँला काकासँग कुस्त पैसा लिएछ र जग्गापास गरेछ। लालपुर्जा हातमा परेपछि केही दिन त काका पनि मख्ख परेछन्। तर पछि दलालले देखाएको जग्गामा घरको जग हाल्न जाँदा काकालाई मानिसहरूले लाठो लिएर झम्टेछन्। बुझ्दै जाँदा थाहा भयो– काकाले पास गरेको जग्गा बागमती खोलाको 'एकलौटी भोगचलन’मा रहेछ।

कतिपयले त भने पनि— 'मूर्खहरू तत्कालका बारेमा सोच्छन्। दूरदर्शी भएकाले साहिँला काकाले चाहिँ जीवनपछिको बसोबासका लागि उचित जोहो मिलाएछन्।'

बिचरा बूढा अझै पुर्पुरो ठोक्दै छन्।

समयले यसरी फड्को मारेको छ।

अतः दिलको कुरा छातीमा लेख्नुपर्छ भन्ने कुरा सोह्रैआना गलत छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।