19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वयोवृद्ध र ज्ञानवृद्ध डि पी न्यौपानेको उपयोगी पुस्तक

कृति/समीक्षा नवीन पौड्याल June 6, 2026, 11:27 pm
नवीन पौड्याल
नवीन पौड्याल

नेपाली समाजमा केही यस्ता व्यक्ति छन् जो आफ्नो वयोवृद्ध उमरेमा पनि आफुले जानेको अनुभव गरेको, पाएको ज्ञानलाई पाटकलाई पनि लाभान्वित बनाउन पुस्तक प्रकाशित गर्छन्। यस्ता जाँगरिला जोसिला र उपकारी व्यक्तित्व हुन डि पी न्यौपाने। कालिम्पोङका श्री न्यौपाने उमेरले अहिले चौरानब्बे वर्षको नेटो काट्नुहहुँदैछ। आफुले त्यो समयमा शिक्षा आर्जन गरी प्राथमिक विद्यालयका शिक्षक सेवा गरी सेवानिवृत्त भएका हुन्। उनले आफ्नो लगनशीलतालाई निरन्तरता दिन ‘शब्दार्थ संगम’ नामक शब्दकोश तयार पारी प्रकाशित गरेका छन्। त्यसपछि आफु अस्ट्रेलिया गएको यात्रा अनुभवलाई समेटेर ‘तीन पत्र’ नामक पुस्तक प्रकाशित गऱेका छन्। अहिले आएर आफुले जानेको धार्मिक सांस्कृतिक ज्ञानलाई पाठकसामु प्रस्तुत गरेर पाठकलाई पनि लाभान्वित पार्ने जमर्को गरेका छन्।

लेखकको दिनहुँ रूपमा डायरी लेख्ने बानी थियो। आफुले सुनेका बुझेका गुनेका जानेका कुरालाई बेला बेलामा टिप्ने गरेका रहेछन्। तिनै टिपोटादिलाई संकलन गरेर एउटा पुस्तक नै लेख्ने तरखर गरेका रहेछ। ती टिपोटहरू कतै ठुला विद्वान र शास्त्रज्ञाताहरूले भनेको, कतै पढेको, कतै सुनेको र आफैंले नै जानेको आदिबाट ग्रहण गरेरर पुस्तक तयार पार्नुभएको रहेछ। डि पी न्यौपाने पेशाले र अध्ययनले पण्डित हुनुहुन्न तर आध्यात्मक र धार्मिकबारे निकै चासो राख्ने गर्नुहुन्छ। उमेरसँग ज्ञान र अनुभवको वृद्धिले उहाँलाई परिपक्व बनाएको छ।
यस पुस्तकमा नयाँ पुस्ताका र जनसाधारण सनातनप्रेमीहरूलाई अति उपयोगी बनेको छ। यसमा धेरै कुरा शास्त्रसम्मत र केही कुरा आफ्नो अनुभव र ज्ञानसम्मत छन्। आफ्नो जीवनकालमा कतिजनासित उनको भेटघाट बातचित भयो होला, कतिजनासित आध्यात्मिक छलफल भयो होला, कति विद्वानका ज्ञानका कार सुने होलान्, कति धार्मिक र आध्यात्मिक पुस्तकको अध्ययन गरे होलान् त्यसबाहेक कति व्यवहारिक मत सुने होलान्, कति देखे होलान् सबैलाई एकै ठाउँमा पारेर, तिनलाई निचोरेर यसरी यस्तो पुस्तक प्रकाशित गर्नु भनेको उनको उच्च विचार हो। यसमा कतिपय वैधानिक छन् कतिपय लोकाचार छन्।

यसले पुस्तकले संक्षिप्तमा भए पनि धेरै कुरा बताइरहेको छ। म को हुँ, हाम्रो संस्कार र संस्कृति के हो, जीवनमा कुन मार्ग हिँड्दा बढी आनन्दित र उपयोगी हुन्छ आदि कुरामा स पुस्तकले हामीलाई दिशासङ्केत गर्दछ। यसमा लेखकको आफ्नोभन्दा आफुले जानेको, अध्ययन गरेका कुरालाई सारसंक्षिप्तमा भन्न चाहेका छन्। यो पुस्तक मूलतः दुई खण्ड रहेका छन्- ज्ञान खण्ड र कर्म खण्ड। ज्ञान खण्डमा ब्रह्माण्डदेखि मानव जीवन, सनातन संस्कारसम्मको चिन्तन गरिएको छ। ब्रह्माण्डको चिन्तन गर्दा त्रिगुणात्मक त्रिशक्ति ब्रह्म विष्णु र महेशको अवधारणालाई आफ्नो बुझाइअनुसार सरल र स्पष्ट भाषामा प्रस्तुत गरिएको छ। ज्योतिपुञ्ज परब्रह्मबाट सारा सूर्य, तारा, ग्रहहरूको उत्पत्ति, पृथिवीको उत्पत्तिको कुराको उल्लेख पाइन्छ। यसमा पृथिवीको आयु विद्वानहरूले चार अरबभन्दा बढी बताएका छन्। यसमा पनि एक अरब पन्च्यानब्बे करोड़ अण्ठाउन्न लाख पच्यासी हजार एकसय पच्चीस वर्ष बितिसकेको कुरा उल्लेख गरिएको छ। यसैगरी सूर्यको व्यास कति छ, यसको स्वरूप के कस्तो छ भनेर शास्त्रसम्मत कुरा राखेका छन्। यीबाहेक यस पुस्तकमा अझै केही कुराहरू प्रस्तुत गरिएका छन्। उनले आफुले जानेका कुरालाई आफुभित्र सीमित राखेर चुपो लागेर बसेका होइनन् बरू आफुले जानेको आध्यात्मिक र कर्म विषयलाई यसरी पाठक सामु प्रस्तुत गर्न कम्मर कसेका हुन्।

मानव ज्ञानको श्रीवृद्धिका निम्ति केही वेद, ब्राह्मणग्रन्थ, उपनिषद, सूत्रग्रन्थ, महापुराण, उपपुराण, तन्त्रशास्त्र, इतिहासशास्त्र, दर्शनशास्त्र, स्मृतिहरू, शिक्षाशास्त्र आदि विद्यमान छन्। लेखकले केही यस्तै शास्त्रआदिको अध्ययनबाट सारतत्वजस्तो बनाएर यसमा प्रस्तुत गरेका छन्। ब्रह्माण्डको निर्माणको प्रसङ्गदेखि पृथिवीको उत्पत्ति र सात समुन्द्रको कुरा गरेका छन्। यहाँ मानव स्वभाव र सद्गुणबार ब्रह्म संहिता, नीतिविज्ञान, कठोपनिषद आदिका केही संस्कृतिका उद्धरण र त्यसको सरल नेपाली भावानुवाद प्रस्तुत गरिएको छ। यसमा उनले नारीसम्भन्धी विभिन्न मत अभिमतलाई अघि सारेर नारीको महिमा गरेका छन्। वास्तवमा हाम्रो शास्त्रले नारीलाई उच्च स्थान दिएको छ। यद्यिपि पछिबाट सामाजिक व्यवस्था राजनैतिक व्यवस्था आदिका कारणले नारीको केही अधिकारलाई खुम्याइएको कुरा उल्लेख गरिएको छ। यसमा चार वेदका बारेमा पनि साङ्केतिक रूपमा सारात्मक तत्व प्रस्तुत गरेका छन्। मानव संस्कारलाई राम्रो र सुसंस्कारित बनाउन वेद, वेदान्त, शिक्षा, ब्राह्मण ग्रन्थ लेखिए, भाषिक शुद्धताका निम्ति व्याकरण जन्मिए, भगवानको जपका निम्ति मन्त्र बनिएका हुन्। मानिसले इन्द्रिय दमनको मार्गबाट मुक्तिको युक्ति निकाले। शास्त्रहरूले मानव कल्याणका निम्ति होम यज्ञादिको मार्ग देखाए, यज्ञहरू पनि ब्रह्म यज्ञ, देव यज्ञ, भूत यज्ञ, पितृ यज्ञ, मनुष्य यज्ञको उल्लेख गरेका छन्।

ज्ञान खण्डमा अझै अघि बढेर लेखकले आफ्नो बुझाइलाई विभिन्न परिप्रेक्ष्यमा चर्चा गरेका छन्। ममानिस जन्पछि मरेसम्मका कर्मकाण्ड, सोह्रसंस्कारका पद्धतिहरू, मानवीय कर्तव्य, विवाह आदिका बारेमा पाठकलाई जानकारी गराउँदै आफ्नो कुरा अघाडि बढाएका छन्। सनातनी संस्कारमा गर्नुपर्ने धेरै कर्म र संस्कारहरू छन्, तिनको पनि केही उल्लेख गरेका छन्। मानव जीवनको सार्थक बनाउनु पर्छ भन्ने कुरामा उनको चुन्तन रहेको छ। मानिसभित्र चैतन्यलाई उकास्न के के उपाय लाउनुपर्ने हो, त्यसबारे लेखकलाई चासो छ। यी संस्कारहरू मानिसकै जीवनलाई सुगम, संस्कारित र सुसभ्य बनाउने उत्तम उपाय र माध्यम हुन् भन्ने उनको विचार रहेको छ। मानिसहरूका निति धर्माचरण नै सबैभन्दा उत्तम मार्ग हो। घर परिवार र दैनन्दिनका व्यावहारबाट पनि धर्माचरण अपनाउन सकिन्छ। मानिस घर परिवार समाज, देश, सभ्यता संस्कृति आदिबाट जेलिएको हुन्छ तर यी झण्झटका बीचमा पनि धर्माचारण यथावत् राख्न सकिन्छ। घरका माता पिता श्रीमती, छोराछोरी के हुन्, आपस्तमा के कस्तो सम्बन्ध हुनुपर्छ भन्ने धारणा पनि यहाँ प्रस्तुत गरिएको छ। यस पुस्तकमा पाञ्चायन पूजा के हो र कस्तो हुनुपर्छ, गायत्री कहिले कुन जप्नुपर्छ, उपनयन संस्कार र कसरी गर्नुपर्छ, विवाह पद्धति कस्तो हुन्छ, भाइटिका भनेको के हो, यो कसरी प्रचलनमा आयो, ऋतु परिवर्तनसँगै चाडबाड कसरी मनाउने आदिबारे खोजी गरिएको छ।

लेख न्यौपाने ज्ञान खण्डका साथै कर्म खण्डमा पनि अझ आफ्नो ज्ञानानुभाव अभिव्यक्ति गरेका छन्।यसमा शौच अशौच विचारबाररे लेखक निकै रूचि लिएर लेखेका छन्। पछिल्लो कर्म खण्डमा सुतक भनेको के हो? यो कति प्रकारका हुन्छन्? जन्म सुतक कसरी पालन गर्नुपर्ने हो? मृत्यु सुतक कसरी बारना र परिपालन गर्नुपर्ने हो? आदि बारेमा लेखकले निकै चासो दिएर लेखेका छन्। जन्म सुतकभन्दा मृत्यु सुतकमा लेखकले निकै प्रकाश पारेका छन्। मान्छे मर्दा के के विधि र संस्कार अपनाउऩु पर्छ ? को मर्दा कति दिन बार्नुपर्दछ? दाह संस्कार कसरी गर्नुपर्दछ ? हराएको मानिसको संस्कार के कसरी गर्नु ? एकै समयमा आमा बाबुको निधन भएमा के गर्नुपर्दछ ? जस्तो कुरामा कसरी दाह संस्कार र किरिया गर्नु आदि विषयमा जानकारी दिइएको छ। मृतकको मरणको अवस्था कस्तो छ, त्यही अनुसारको दाहसंस्कारादिमा लेखकले जानकारी दिएका छन्।

लेखकको उद्देश्य हाम्रो मानव चोलाको उपकार गर्नु हो। प्राणीहरूमा सर्वश्रेष्ठ मानव चोला पाएका छौं। यो मानव चोलालाई अझ सुन्दर र श्रेष्ठतम बनाउन हाम्रो एकेक संस्कार, रीति-रिवाज, धर्मपथ रहेको छ। मानव कल्याणका निम्ति नै धार्मिक र आध्यात्मिक ग्रन्थ लेखिएका हुन्। यी सबैको परिपालन गर्नु नै मानव कर्तव्य हो। मानिसमा परोपकारी भावना हुनुपर्दछ र त्यस भावनालाई अघि बढाउन विभिन्न कर्तव्य गर्नुपर्दछ। मलाई लाग्छ, लेखक श्री न्यौपाने ‘जम्दो पोखरी’ नभएर ‘बग्दो नदी’ हुन्। उमेरले नब्बे काटे पनि हात र मस्तिष्क सक्रिय छन्। आफुले जानेको कुरालाई यसरी पुस्तक प्रकाशित गरी पाठकसामु ल्याउऩु पनि उनको परोपकारी भावना हो, समाजप्रति लगाव हो, आफ्नो धर्म संस्कृतिप्रतिको गहन प्रेम हो र भावी पुस्ताप्रति आस्था हो। यसमा प्रस्तुत गरिएका विचार कतिपय शास्त्रसम्मत छन्, कतिपय अनुभवपरक छन्। कतिपय छलफलबाट र विचार मन्थनबाट उब्जेका छन्, कतिपय लोकाचार छन्।

यो पुस्तक पढ्दा आमपाठकलाई ज्ञान र कर्मको धेरै जानकारी प्राप्त हुँदछ। यसमा हाम्रो सनातनी परम्पराको साधारण ज्ञान छ, आफ्नो संस्कारबाट केही पर रहेकालाई संक्षिप्तमा भए पनि बुझाउन खोजिएको छ। हाम्रो सनातनी र वैदिक परम्परामा वैज्ञानिकता हुनाले हजारौं वर्षदेखि हाम्रो संस्कारहरू पालन भइरहेका छऩ्। यी संस्कारहरूबारे आफ्ना आफ्ना मत मतान्तर भए तापनि केही शास्त्रले भनेको खास कुरा के हो, भऩ्ने कुरामा लेखकलाई चासो रहेको छ। उनले विभिन्न धार्मिक ग्रन्थ र कर्मकाण्ड पद्धतिलाई व्यवहारिक रूपमा उतारेर लेख्दा पाठकलाई हाम्रा वैदिक संस्कार र संस्कृतिबारे धेरै कुरा थाहा लाग्दछ। पुस्तक सानो हुनाले नै पाठकका निम्ति प्रिय बन्नेछ। किनभने अहिलेको समयमा ठुल्ठुला ग्रन्थ पढ्ने धेरैको समय र धैर्य पनि रहँदैन। यसकारण यस्तो किसिमको ग्रन्थ पनि कसैलाई उपयोगी र सहायकसिद्ध हुन्छ। यो पुस्तक सानोमा धेरै कुरा छ। सूत्र लामो हुँदैन। आँखा सानो हुन्छ तर आँखाले अरूलाई धेरै देखाउँछ। अतः यो पुस्तक सङ्ग्रहनीय र पठनीय छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।