नेपाली साहित्यको लघुतम तर अत्यन्तै शक्तिशाली विधा मुक्तकको फाँटमा स्रष्टा अञ्जु शर्माको ‘अञ्जुली’ एउटा अर्थपूर्ण आगमन हो ।
‘अञ्जुली’ भित्रका भावनाहरूलाई नियाल्दा यसको पहिलो र मुख्य पाटो ‘प्रेम, मिलन र विछोड’ को त्रिवेणीका रूपमा देखा पर्छ । स्रष्टाले प्रेमलाई केवल एउटा शब्दमा सीमित नगरी यसलाई ‘अपार शान्ति’ र ‘मधहोसता’ को संगमका रूपमा व्याख्या गरेको पाइन्छ । श्रष्टाका मुक्तकहरूले प्रेमको आदर्श पक्षलाई मात्र होइन, यसमा लुकेका धोका, भ्रमजाल र विछोड पछिको छटपटीलाई पनि उत्तिकै मार्मिक ढङ्गले प्रस्तुत गरेकी छन् । ‘चौबाटोमा एक्लै छोडेर गएको’ प्रेमीको बिम्ब होस् वा ‘पिठ्युँमा चलाइएको छुरा’को प्रसङ्ग, प्रेमभित्रको कुरुपता र पीडालाई शर्माले निकै सटिक रूपमा उतारेर नेपाली साहित्यमा एउटा इटा थप्न सफल भएको अनुभूति यो पुस्तक पढ्ने हरेक पाठकलाई हुन्छ ।
पुस्तकको अर्को एउटा निकै सशक्त र सम्झनै पर्ने पक्ष ‘राजनीतिक विकृति र राष्ट्रिय चिन्ता’ हो । स्रष्टा शर्माले आफ्नो लेखनीलाई समाजका विसंगति विरुद्धको धारिलो हतियार बनाएको पाइन्छ । प्रवासमा रहेर पनि नेपाली समाजमा व्याप्त ‘काण्डै काण्ड’, ‘भ्रष्टाचार’, ‘महँगी’ र ‘नेता–तस्करको भाइचारा’ माथि कडा व्यंग्यले जोकोही सचेत पाठकलाई झक्झक्याउँछ । ‘चोरलाई चौतारो र साधुलाई सुली’ देख्ने न्याय प्रणालीको कुरूप तस्विर र ‘अमृत रोपेर विष फलाउने’ शासकहरूको चरित्रमाथि श्रष्टाले मुक्तक मार्फत नै कडा प्रहार गरेकी छन् । यसले के पुष्टि गर्छ भने अञ्जु शर्मा केवल कोमल भावकी कवयित्री मात्र नभएर एक विद्रोोही चेत भएकी सचेत नागरिकको रुपमा पनि चित्रण गर्दछ ।
‘नारी संवेदना र अस्तित्वको खोजी’ यस सङ्ग्रहको प्राण हो । एउटी नारीले ‘भित्र रोएर पनि बाहिर हाँस्नुपर्ने’ बाध्यता र ‘अरूलाई खुसी पार्नकै लागि बाच्नुपर्ने’ सामाजिक यथार्थलाई शर्माले निकै गहिरो गरी छामेकी छन् । नारीलाई केवल त्यागको प्रतिमा मात्र ठान्ने समाजलाई उनले ‘मेरो पनि त दुख्ने मन–मुटु हुन्छ’ भन्दै चुनौती दिएकी छन् । संग्रहका नारी पात्रहरू निरीह छैनन्, बरु उनीहरू आफ्नो अस्तित्व र स्वाभिमानका लागि संघर्षरत छन् । संग्रहभित्रको ‘मातृत्व’ शीर्षकको पाटो झन् हृदयस्पर्शी छ, जहाँ ‘आमालाई माया र ममताको खानी र दिव्यता सिकाउने ज्ञानी’ का रूपमा उच्च सम्मान दिइएको कुरा कोहीसामु छिप्दैन ।
प्रवासमा बसेकी एक सर्जक हुनुका नाताले उनका मुक्तकहरूमा ‘प्रवासी जीवन र स्वदेशको सम्झना’ छताछुल्ल भएर पोखिएका छन् । बेलायतको ‘लण्डनको आकाश’ र ‘समुद्रका छाल’ हरूमा रमाइरहँदा पनि उनको मन पर्वतको ‘ठूलीपोखरी’, ‘उकाली–ओराली’ र ‘पुरानो झुपडी’मा नै अल्झिएको देखिन्छ । अर्को महत्वपूर्ण पाटो ‘देशमा केही नभएपछि परदेश लाग्नुपर्ने’ तीतो बाध्यता र ‘आँसुले मुहार धोएका’ क्षणहरूले वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीहरूको साझा पीडालाई प्रतिनिधित्व गरेका छन् ।
शिल्प र शैलीका दृष्टिले हेर्दा ‘अञ्जुली’ मा सरलता, लयात्मकता र व्यंग्यात्मकता’ को सुन्दर संयोजन छ । मुक्तकका शास्त्रीय नियमहरू– काफिया र रदिफको प्रयोगमा शर्मा निकै सचेत देखिन्छिन् । उनका मुक्तकहरू ‘गेय’ छन्, जसलाई सजिलै वाचन गर्न सकिन्छ । ‘मैले के गर्ने’ जस्ता पदावलीहरूको आवृत्तिले मुक्तकमा थप मिठास र साङ्गीतिकता भरेको छ । उनको भाषा सरल छ तर त्यसले बोकेको अर्थको गम्भीरता निकै ठुलो र ओझिलो पनि छ ।
नेपाली साहित्यको लघुतम तर अत्यन्तै मर्मभेदी विधा मुक्तक, चार पङ्क्तिभित्रै एउटा पूर्ण विचार वा दर्शन अटाउन सक्ने सामथ्र्यका कारण लोकप्रिय छ भन्दा अतिसयोक्ती नहोला । यही लोकप्रिय विधाको मियो समातेर स्रष्टा अञ्जु शर्माले आफ्नो कृति ‘अञ्जुली’ मार्फत मानवीय संवेदना, सामाजिक विसङ्गति र प्रवासी पीडाका अनेकौँ रङहरूलाई प्रस्तुत गर्न सफल भएको देखिन्छ ।
संग्रहको सुरुवातमै स्रष्टाले पाठकलाई प्रेमको एउटा यस्तो संसारमा पुर्याउँछिन्, जहाँ मिलनको उल्लास मात्र छैन, बरु स्मृतिहरूको एउटा गहिरो सागर छ । यहाँ श्रष्टाका केही मुक्तकहरु जस्ताको तस्तै लिएर भाव संक्षेप खिच्ने प्रयत्न गरेको छु ः
मध्यरातमा मिठो गीत लौ कसले गायो
मन्त्रमुग्ध धुनसँगै अनौठो खुसी छायो
तिमीसँग घुमेको सपना देखेको थिएँ,
तिम्रै सम्झनाले त बिहानै बाडुली आयो ।
यो मुक्तकले प्रेमको कोमलतालाई बिम्बका रूपमा प्रस्तुत गरेको छ । यहाँ बाडुली आउनु केवल शारीरिक प्रक्रिया होइन, बरु त्यो त एउटा गहिरो आत्मिक सामीप्यताको संकेत हो । तर, शर्माका मुक्तकहरूमा प्रेम सधैँ यति कोमल मात्र छैन । जब प्रेममा विश्वासघात र अहंकारको प्रवेश हुन्छ, तब उनको कलमले कठोर सत्य ओकल्छः
मेरो पनि त दुख्ने मन–मुटु हुन्छ
चोट दिएपछि त्यही मन झन् रुन्छ
आफ्नैले दुखाउँछन्, अरू के भन्नु र !
तिनैको घमण्डले पो शिखर छुन्छ ।
यहाँ श्रष्टाले नारी संवेदनालाई निकै गहिराइबाट नियालेको तितो यथार्थ उजागर भएको छ । ‘आफ्नैले दुखाउने’ पीडा र त्यसका बाबजुद पनि पीडकको ‘घमण्डले शिखर छुने’ विरोधाभासपूर्ण सामाजिक यथार्थले पाठकको मनमा एउटा गम्भीर प्रश्न उब्जाउँछ । यहाँ केवल एउटी नारीको आवाज मात्र नभएर अन्यायमा परेका तमाम मानिसहरूको सामूहिक चित्कारको प्रतिनिधित्व गरेको छ ।
पुस्तकको अर्को सशक्त पाटो राजनीतिक र सामाजिक व्यङ्ग्य हो । शर्माले आफ्नो ‘अञ्जुली’ मा देशको विद्रूप अवस्थालाई निकै निडरताका साथ पोखेको पाइन्छ । वर्तमान नेपाली राजनीतिको अस्थिरता र नैतिकताको स्खलनलाई उहाँ यसरी प्रस्तुत गरिएको छः
तिमीले मलाई के के गरेर गयौ
मेरो तन–मनलाई हरेर गयौ
मसित अब सम्झना मात्र बाँकी छ,
धोका दिई भ्रमजाल छरेर गयौ ।
यद्यपी यो मुक्तक प्रेमपरक देखिन्छ, तर यसलाई देशको राजनीतिक परिप्रेक्ष्यमा राखेर हेर्ने हो भने, यसले सत्ता र शक्तिले जनतालाई कसरी ‘भ्रमजाल’ मा पारेर ‘धोका’ दिइरहेका छन् भन्ने कुरालाई संकेत गर्छ । झन् देशको न्याय व्यवस्था र भ्रष्टाचारमाथि उनको प्रहार अझै तीखो छः
महँगी र भ्रष्टाचारको मिठो सम्बन्ध
भाइचाराझैँ नेता–तस्करको सम्बन्ध
अदालतलाई पनि खै भनौँ र यहाँ,
वकिल र न्यायाधीशको प्यारो सम्बन्ध ।
यो मुक्तकले आजको नेपाली समाजको तीतो यथार्थलाई ऐना झैँ छर्लङ्ग पारिदिएको छ । नेता, तस्कर र न्यायमूर्तिको ‘प्यारो सम्बन्ध’ माथि गरिएको यो कडा कटाक्षले पाठकलाई आक्रोशित मात्र बनाउँदैन, बरु सोच्न बाध्य पनि पार्छ ।
स्रष्टा अञ्जु शर्माका मुक्तकहरूमा ‘डायस्पोरिक’ चेतना र मातृभूमि प्रतिको अनुराग निकै गहिरो छ । ‘भेन्टिलेटर’ र ‘मनिटर’ का बीचमा पनि उनको मन पर्वतको ठूलीपोखरी र नेपालको माटोमा नै अल्झिएको छः
पर्वतकी छोरी हुँ म, गोरखामा मेरो घर
देश छाडी परदेश आएँ, यहाँ अर्को घर
घुमन्तेको जस्तै ठेगाना बदलिइरहे पनि,
जहाँजहाँ बस्न पुगेँ, लाग्यो आफ्नै जस्तो घर ।
प्रवासको व्यस्त जीवनमा पनि आफ्नो अस्तित्व र पहिचानको खोजी गर्नु यस कृतिको अर्को सुन्दर पक्ष हो । यहाँ परदेशिनुको बाध्यतालाई पनि निकै मार्मिक ढंगले उतारिएको छः
पानी परेपछि म रोएको त्यो दिन
घरको सम्झनाले छोएको त्यो दिन
म निरीह बन्नु सिवाय केही थिएन,
आँसुले नै मुहार धोएको त्यो दिन ।
आँसुले मुहार धुनु पर्ने यो निरीहता संसारभरि छरिएका लाखौँ नेपालीहरूको साझा कथा हो । यसले पाठकलाई एउटा गहिरो भावनात्मक सहानुभूतिको तहमा पुर्याउँछ ।
संग्रहको अन्त्यतिर पुग्दा, पाठकले जीवनप्रतिको एउटा सकारात्मक दृष्टि (Optimism) पनि भेट्छन् । शर्माको बुझाईमा– ‘जीवन जान्यो भने आनन्द हो, नजाने जात्रा हो । उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि हाँस्न र बाँच्न उत्प्रेरित गरेको पाइन्छ ।
मुक्तक ६६ मा प्रेम र जीवनलाई हेर्ने एउटा विशेष दृष्टिकोण उजागर भएको पाइन्छ । जहाँ भनिएको छः
तिमीले पकाएको खिर मिठो
तिम्रो नयनको त्यो तीर मिठो
भन्नु धेरै छ तर केही भन्दिनँ,
प्रेममा गढेको त्यो झिर मिठो ।
यस्तै मुक्तक नं ७६ मा राजनीति गर्ने नेता र घुसखोरी, भ्रष्टाचारी र ठेक्कापट्टा गरेर कमिसन मार्नेहरुमाथि चोटिलो ब्यंग्य प्रहार गरिएको पाइन्छः
धुस र कमिसनले अघाएको छैन
गर्नुपर्ने काम केही सकाएको छैन
ठेक्कापट्टा भन्ने सबै उसकै हातमा,
भ्रष्टाचारी’ भने नि, ऊ लजाएको छैन ।
यी र यस्ता अनेकन मुक्तकहरुमा करुणा भाव र मिठास पनि छ । जसरी एउटा ‘अञ्जुली’ मा थापेको पानीले प्यास मेट्छ, त्यसरी नै यो कृतिले नेपाली साहित्यका तिर्खाएका पाठकहरूको मनलाई तृप्त बनाउनेछ । भन्न कतिपनि हिच्किचाइरहनुपर्ने देखिँदैन ।
समकालीन साहित्य प्रतिष्ठान बेलायतद्वारा प्रकाशित यो संग्रहले प्रवासमा रहेर पनि नेपाली माटो, समाज र मानवीय संवेदनालाई कति गहिराईबाट छाम्न सकिन्छ भन्ने दरिलो प्रमाण पेस गरेको छ । कृतिभित्रका १ सय ५६ वटा मुक्तकहरूले पाठकलाई केवल शब्दको रसास्वादन मात्र गराउँदैनन्, बरु समकालीन नेपाली समाजको ऐनाका रूपमा जीवनका विविध रङहरूलाई प्रस्तुत गरेको पाइन्छ ।
१ सय ४ पेजको यो पुस्तक केवल शब्दको जाल मात्र होइन्, यसले समाजको जीवन्त चित्रण गरेको छ भने प्रत्येक चार हरफभित्रै एउटा पूर्ण विचार वा दर्शन अटाउन सक्ने लेखिकाको खुबी प्रशंसनीय छ ।
कृतिको प्रवर्धन र चर्चामा समकालीन साहित्य प्रतिष्ठानको भूमिकाले यसलाई थप ओजपूर्ण बनाएको छ । यसका सम्पादक वसन्तराज अज्ञात रहेका छन् भने प्रथम संस्करण (वि.सं. २०८२/ सन् २०२६) रहेको पुस्तकको सर्वाधिकार मुक्तककारमा रहेको उल्लेख छ । पुस्तकको आवरण परिकल्पनाकार सुनिल लामिछाने छन्, भने यसको मूल्य ः रु. २२५।– (विदेशमा ५ पाउन्ड) तोकिएको छ ।
निष्कर्षमा भन्नुपर्दा, ‘अञ्जुली’ केवल शब्दहरूको थुप्रो होइन, बरु यो त अञ्जु शर्माको हृदयको ढुकढुकी, समाजको ऐना र युग चेतनाको प्रतिध्वनी हो । यसले पाठकलाई कहिले प्रेमको आनन्दमा डुबाउँछ, कहिले सामाजिक अन्यायमा आक्रोशित बनाउँछ त कहिले मातृभूमिको यादमा भावुक बनाउँछ । नेपाली साहित्यलाई यस्तो उम्दा कृति दिनु श्रष्टाको सिर्जनशीलताको परिपक्वता पनि हो । यो संग्रहले नेपाली मुक्तक साहित्यको श्रीवृद्धिमा एउटा महत्वपूर्ण इँटा थपेको छ र आगामी दिनमा यसले अझै चर्चा र सम्मान पाउने अपेक्षा गर्न सकिन्छ ।
दमक, झापा