“तिमीलाई अहिले कस्तो हुँदैछ?”
“बिस्तारै सहज हुँदैछ।”
निरजले स्वीकृतिको अनुहार हेरेर हल्का मुस्कुरायो। छ महिनाअघिको शल्यक्रियापछि उनी अहिले निकै स्वस्थ भइसकेकी थिइन्। कोठाको सजावट पनि सादा तर आकर्षक देखिन्थ्यो। झ्यालबाट बिहानको घाम भित्र छिर्दै थियो। वर्षाले पखालिएको आँगनमा रहेको तुलसीको मठ चम्किरहेको थियो।
स्वीकृति सिरानीमा अडेस लागेर बसेकी थिइन्।
त्यही बेला ढोका खुल्यो।
एक पुरुष चियाको ट्रे लिएर भित्र पसे। उनले कपहरू टेबलमा राख्दै सहज स्वरमा भने—
“निरजजी! पुराना साथी भेट्दा रमाइलै हुन्छ। यदि स्वीकृति तपाईंकी साथी नहुन्थिन् भने सायद उनी आज यहाँ यसरी बसिरहेकी पनि हुने थिइनन् होला।”
निरजले हल्का नजर उठायो।
स्वीकृतिले पनि उसैतिर हेरिरहेकी थिइन्।
पुरुष फेरि बोले—
“म बजार जान्छु, फर्किन करिब दुई घण्टा लाग्ला।”
“हुन्छ,” स्वीकृतिले बिस्तारै भनिन्।
ढोका बन्द भयो।
कोठाभित्र मौनता फैलियो।
त्यो मौनता असहज थिएन। बरु धेरै वर्षदेखि मनभित्र थुनिएका शब्दहरूको थकित विश्रामजस्तो थियो।
निरजले चियाको कप समाउँदै सोध्यो—
“ऊ... तिम्रो श्रीमान्? तिमीलाई निकै सघाउँदा रहेछन्।”
स्वीकृतिले टाउको हल्लाइन्।
“हो। समर्पण।”
निरज केही क्षण चुप रह्यो।
स्वीकृतिले भनिन्—
“ऊलाई तिमीबारे सबै थाहा छ?”
“सबै।”
“हो?जति थाहा हुनुपर्थ्यो, त्यति सबै।”
निरज मुस्कुरायो।इरज मुस्कुरायो उनको पवित्रात्मा प्रति..।
बाहिर हावा चल्यो। तुलसीका पातहरू बिस्तारै हल्लिए। आँगनको कुनामा राखिएको काठको सानो पाटीमा लेखिएको एउटा शब्द निरजको आँखामा पर्यो—
‘पुस्तकालय...’
निरज हल्का मुस्कुरायो।
स्वीकृतिले पनि त्यही शब्द दोहोर्याइन्—
“पुस्तकालय...”
“सम्झियौ?” उनले बिस्तारै सोधिन्।
“कसरी बिर्सन सकिन्छ र?” निरजले उत्तर दियो।
“हामी दुवैलाई सबैभन्दा धेरै भेटाउने ठाउँ त्यही त थियो।”
“जहाँ किताबभन्दा बढी एकअर्कालाई पढ्ने प्रयास गर्थ्यौँ,” निरजले मुस्कुराउँदै भन्यो।
स्वीकृति पनि मुस्कुराइन्।
“र जहाँ हामी प्रतिस्पर्धी पनि थियौँ, साथी पनि।”
केही क्षण दुवै चुप रहे।
पुस्तकालय उनीहरूको प्रेमको साक्षी थिएन। तर उनीहरूको मित्रता, प्रतिस्पर्धा र मौन समझदारीको पहिलो साक्षी भने अवश्य थियो।
त्यो शब्दले दुवैलाई एकै क्षणमा धेरै वर्ष पछाडि पुर्यायो—
जहाँ बालपन थियो।
रमाइला पल थिए।
र समय अझै यति छिटो दौडिन सिकेको थिएन।
★★
विद्यालयको घण्टी बजिरहेको थियो।
शिरीषको विशाल रुखले आधा मैदान ढाकेको थियो। राताम्मे फूलहरू हावासँगै बिस्तारै झरिरहेका थिए। बिहानको घाम ती फूलमाथि परेर आँगनलाई अचम्मै चम्किलो बनाइरहेको थियो।
विद्यार्थीहरू त्यही रूखको शीतल छहारीमा समूह–समूहमा बसेर गफ गरिरहेका हुन्थे। कोही खाजा खान्थे, कोही खेल्थे, कोही किताबका पाना पल्टाइरहेका हुन्थे। साँच्चै, त्यो समय कति आनन्ददायी थियो!
निरजका आँखामा अतीतका दृश्यहरू सलबलाउन थाले।
“निरज, फेरि तिमी पहिलो?”
शिक्षकको आवाज गुञ्जियो।
“स्वीकृति, आज तिमीले पनि राम्रो गर्यौ।”
कक्षा सात।
उमेर सानो थियो।
तर प्रतिस्पर्धा ठूलो।
चञ्चलता पनि ठूलै थियो।
हाजिरीजवाफमा कहिले निरजको समूह जित्थ्यो, कहिले स्वीकृतिको। साथीहरू उनीहरूलाई प्रतिद्वन्द्वी भन्थे। शिक्षकहरू उनीहरूको स्मरणशक्तिको प्रशंसा गर्थे। कक्षामा उनीहरू सधैं अगाडि बस्थे। अरू विद्यार्थीहरू बल्ल कम्प्युटरमा अक्षर टाइप गर्न सिकिरहेका बेला उनीहरू चित्र कोर्थे, आकृति बनाउँथे र नयाँ–नयाँ कुरा सिक्न उत्साहित हुन्थे।
तर त्यो उमेरको मनले पाठ्यपुस्तकभन्दा बाहिरका कुरा पनि बुझ्न थालेको थियो। सायद समयको प्रभाव थियो, सायद वरिपरिको परिवेशको। बाबुआमाले मोबाइल किनिदिएका थिएनन्, तर मौका मिल्दा उनीहरू मोबाइलका संसारसँग अपरिचित पनि थिएनन्। घरघरमा मोबाइल पुग्न थालेको समय थियो।
एक दिन निरजले एउटा सानो कागज निकाल्यो। धेरै बेरसम्म केही लेख्न सकेन। अन्ततः उसले लेख्यो—
“तिमीलाई देख्दा मेरो मन किन यति शान्त हुन्छ, म बुझ्न सक्दिनँ।”
उसले त्यो कागज स्वीकृतिको पुस्तकभित्र राखिदियो।
स्वीकृतिले पढिन्।
उनको अनुहार रातो भयो।
हात काँप्यो।
मुटुको धड्कन तीव्र भयो।
डर लाग्यो।
ऊ सिधै प्रधानाध्यापककहाँ गइन्।
त्यसपछि विद्यालयभरि हल्ला फैलियो—
“प्रेमपत्र रे!”
“यिनीहरू त सानैदेखि...”
साथीहरू हाँसे।
केही शिक्षकहरू गम्भीर भए। गम्भीर हुने कुरा पनि थियो। कतिले त्यसलाई मजाकमा उडाए।
घरमा कुरा पुग्यो।
अभिभावकहरू अचम्मित भए।
चिया पसलहरूमा बहस चल्न थाल्यो—
“मोबाइलले बालबालिकाको मन बिगार्दैछ।”
“आजकालका बालबालिका चाँडै भड्किन्छन्।”
तर कसैले त्यो उमेरको मन बुझ्ने प्रयास गरेन।
पहिलो आकर्षण प्रेमभन्दा बढी जिज्ञासा हुन्छ। मनले कसैलाई अरूभन्दा अलग देख्न थाल्छ। तर त्यस अनुभूतिलाई के नाम दिने भन्ने कुरा उसलाई थाहा हुँदैन। त्यसैले बालमन डराउँछ पनि, तानिन्छ पनि, आतिन्छ पनि।
दुवैको मन आतिएको थियो।
त्यसपछि निरज र स्वीकृति कम बोल्न थाले।
तर आँखाले अझै बोल्थे।
विद्यालय सकियो।
जीवन अलग–अलग बाटोमा बग्यो।
समय बित्दै गयो।
रुखका पातहरू पलाए, हराए र फेरि झरे।
काठमाडौँ फेरियो।
अग्ला घरहरू बने।
सडकहरू विस्तार भए।
सहरको स्वरूप बदलियो।
तर केही सम्झनाहरू समयसँगै पनि उस्तै रहे।
साँझपख पशुपतिनाथको आरती अझै उस्तै सुनिन्थ्यो। बागमतीको पानीमा बत्तीहरू काँप्थे। स्वयम्भू डाँडाबाट हेर्दा सहर ताराजस्तै टल्किन्थ्यो।
निरज अहिले प्रसिद्ध मिर्गौला शल्यचिकित्सक बनिसकेको थियो।
र आज, आँगनको कुनामा लेखिएको “पुस्तकालय” भन्ने शब्दले दुवैलाई फेरि अतीततिर फर्कन विवश बनाएको थियो।
वर्तमानमा फर्कँदै स्वीकृतिले बिस्तारै भनिन्—
“निरज!”
“भन न।”
“ऊ त्यो शब्दलाई हेर त।”
“देखेँ।”
“त्यो शब्दले केही सम्झायो?”
“सम्झायो त।”
“के?”
“हामी दुवैको अतीत।”
दुवैको आँखाअगाडि स्मृतिका पानाहरू फेरि खुल्न थाले।
★★★
स्वीकृति अहिले एक प्रतिष्ठित महाविद्यालयकी प्रधान थिइन्।
र एक दिन—
अस्पतालको शय्यामा उनीहरू फेरि भेटिए।
“तिमीलाई सम्झना थियो?” स्वीकृतिले बिस्तारै सोधिन्।
निरज मुस्कुरायो।
“केही कुरा बिर्सन खोजे पनि बिर्सन सकिँदैन।”
“मैले तिमीलाई धेरै चोट दिएको थिएँ।”
“त्यो चोट थिएन।”
“त्यसो भए?”
“समय थियो।”
बाहिर फेरि हल्का पानी पर्न थाल्यो।
छानाबाट थोपा झरिरहेका थिए।
स्वीकृतिले केही क्षण निरजतिर हेरिरहिन्।
“जब डाक्टरहरूले उपयुक्त दाता भेट्टाउन सकेनन्, समर्पणले धेरै प्रयास गरेका थिए,” उनले भनिन्।
“पछि तिम्रो रिपोर्ट मिल्यो।”
निरज चुपचाप सुनिरह्यो।
“तिमीलाई जोखिम थाहा थियो।”
“म चिकित्सक थिएँ,” उसले शान्त स्वरमा भन्यो, “जोखिम कति हुन्छ भन्ने पनि थाहा थियो।”
“तैपनि निर्णय गर्यौ?”
“केही निर्णयहरू धेरै सोचेर गरिँदैनन्।”
स्वीकृतिको स्वर अझ गम्भीर भयो।
“तिमीले मलाई किन बचायौ?”
निरज केही बेर चुप रह्यो।
“किनकि तिमी बाँच्नुपर्थ्यो।”
“यति मात्रै?”
“हो।”
“त्यो प्रेम होइन?”
“यदि प्रेम हुन्थ्यो भने म बदलामा केही खोज्थेँ।”
“प्रेम स्वार्थी हुन्छ?”
“सायद।”
“म यो मान्दिनँ।”
“किन?”
“तिमीले नमानेर सत्य बदलिन्छ?”
“मैले बुझिनँ।”
“बुझेका छौ। बुझ्न नखोजेजस्तो मात्रै गरिरहेका छौ।”
कोठाभित्र फेरि मौनता छायो।
निरज स्वीकृतिको अनुहारका रेखाहरू पढ्ने प्रयास गरिरहेको थियो।
स्वीकृतिको आँखामा आँसु भरियो।
“त्यसो भए यो के हो?”
“कुन कुरा?”
“अझै पनि तिमी बालहठ गरिरहेका छौ।”
“त्यसो भए तिमीले आफ्नो मिर्गौला दिएर मलाई किन बचायौ?”
निरजले झ्यालतिर हेर्दै बिस्तारै भन्यो—
“तिमी बाँच्नुपर्ने थियो।”
“किन? कसका लागि?”
“समर्पणका लागि। केवल त्यति मात्र।”
“अरू?”
“थाहा छैन।”
“तिमीले भन्नैपर्छ। आफ्नो कुरा।”
“तिमी अहिले पनि उस्तै जिद्दी छौ।”
“यो ढिपी मात्र होइन, मेरो अधिकार हो।”
निरज केही क्षण मौन रह्यो।
अन्ततः उसले भन्यो—
“त्यसो भए सुन, म तिमीलाई बाँचेको देख्न चाहन्थेँ।”
“किन?”
“आफू रहुन्जेल तिमीलाई हेर्नका लागि।”
स्वीकृतिका ओठमा फिक्का मुस्कान तैरियो, जसमा कुनै चञ्चलता थिएन।
निरज पनि हल्का मुस्कुरायो।
फेरि मौनता छायो।
दुवैले एकअर्कालाई केही समयसम्म हेरिरहे, मानौँ उनीहरू मनका कुरा अनुहारमा पढ्न खोजिरहेका छन्।
“निरज! विवाह गर्दैनौ?”
“गर्थेँ।”
“किन गरिनौ त?”
निरजले झ्यालबाहिर हेर्यो।
“जीवनमा केही सम्बन्धहरू पूरा नभए पनि मनभित्र बसेर रहन्छन्।”
स्वीकृति चुप भइन्।
“त्यसपछि अरू कसैलाई आधा मन दिएर न्याय गर्न सकिनँ।”
“अझै पनि?”
“सायद केही कुरा समयले लैजान सक्दैन।”
“कोसँग?”
निरज मुस्कुरायो।
“तिम्रो प्रतिबिम्बसँग।”
दुवैको ओठमा हल्का मुस्कान नाच्यो।
त्यही बेला समर्पण कोठाभित्र प्रवेश गरे।
ऊ नजिकैको कुर्सीमा बसे।
केही क्षण उनीहरूतिर हेरेर मुस्कुराए।
वर्षौँअघि स्वीकृतिले आफ्नो बाल्यकालको त्यो घटना उनलाई सुनाएकी थिइन्। अस्पतालका कठिन दिनहरूमा उनले निरजलाई नजिकबाट पनि चिनेका थिए।
उनको मनमा ईर्ष्या थिएन।
किनकि उनले बुझिसकेका थिए—निरज र स्वीकृतिबीचको सम्बन्ध अपूरो प्रेमभन्दा बढी सम्मान, सम्झना र सद्भावको सम्बन्ध थियो।
त्यसैले उनको मनमा केवल कृतज्ञता थियो।
बाहिर गुलमोहरका फूल फेरि झरिरहेका थिए।
“तिमी आफ्नो शरीरको अङ्ग दिएर पनि किन यति सहज भएर बोल्न सक्छौ?” स्वीकृतिले सोधिन्।
निरज हल्का मुस्कुरायो।
“किनकि बाँच्नेहरू धेरै हुन्छन्...”
ऊ केही क्षण रोकियो।
“तर बचाउनेहरूले आफ्ना भावनाभन्दा अरूको जीवनलाई अगाडि राख्नुपर्छ।”
“त्यसैले?”
“त्यसैले कहिलेकाहीँ उनीहरू बाहिरबाट पत्थरजस्ता देखिन्छन्।”
स्वीकृतिको आँसु झर्यो।
“तिमीलाई सम्झँदा अब मलाई त्यो प्रेम याद आउँदैन, निरज।”
निरजले सोध्यो—
“के आउँछ त?”
स्वीकृतिले बिस्तारै भनिन्—
“श्रद्धा आउँछ। आफूलाई अभयदान दिनेको।”
बाहिर वर्षा रोकिएको थियो।
तुलसीका पातमा अड्किएका पानीका थोपा घाममा चम्किन थालेका थिए।
र कोठाभित्र—
दुई पुराना बालमनहरू वर्षौँपछि पहिलोपटक एकअर्कालाई साँच्चै बुझिरहेका थिए।
“समर्पण! सुन्नुहोस् त, यिनी के भन्दैछन्।”
समर्पणले श्रीमतीतिर हेरे।
“यिनी मेरो प्रतिबिम्बसँग विवाह गर्छन् रे!”
समर्पण हाँसे।
“तिम्रो प्रतिबिम्ब छ त। विवाह गराइदिउँ।”
निरजले चकित हुँदै सोध्यो—
“को हो?”
“स्वीकृति!तिम्री बहिनी निष्ठा। अहिले अस्ट्रेलियामा छिन्। तिमीभन्दा पाँच वर्ष कान्छी।”
स्वीकृति मुस्कुराइन्।
“हामीलाई त धेरैले छुट्याउनै सक्दैनन्।”
समर्पणले मोबाइल निकालेर भने—
“म तपाईंलाई उनको फोटो देखाउँछु।”
उनले मोबाइल निरजतिर बढाए।
निरजले फोटो हेर्यो।
केही क्षण ऊ निःशब्द रह्यो।
साँच्चै अचम्म थियो।
निष्ठाको अनुहार स्वीकृतिसँग अत्यन्त मिल्दोजुल्दो देखिन्थ्यो।
समयले अनुहारहरू बदल्छ, तर कहिलेकाहीँ प्रकृतिले एउटा अनुहार अर्कोमा दोहोर्याइदिन्छ।
निरजका ओठमा हल्का मुस्कान फैलियो।
“साँच्चै अचम्म रहेछ,” उसले बिस्तारै भन्यो।
“अब तिम्रो विवाहको कुरा अगाडि बढाऔँ त?” समर्पणले हाँस्दै सोधे।
निरजले स्वीकृति र समर्पण दुवैतिर हेर्यो।
“खै, म के भनूँ,” ऊ मुस्कुरायो, “तिमीहरू नै जान।”
बाहिरबाट आएको हावाको झोका झ्यालबाट छिरेर कोठाभरि फैलियो।
तुलसीका हाँगाहरू हल्का हावासँगै झुमिरहेका थिए।
मानौँ प्रकृतिले पनि निस्वार्थ मौनताको त्यो सुन्दर क्षणलाई मौन आशीर्वाद दिइरहेकी थिइन्।