19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भ्रमभङ्ग

लघुकथा खगराज बराल June 11, 2026, 8:40 am
खगराज बराल
खगराज बराल

चिया पसल असामान्य रूपमा भरिएको थियो । चियाका गिलास र बहसका विषय फेरिँदै थिए, तर एउटा विषय भने अडिग थियो— संस्कृति ।
"यसरी त हाम्रो मौलिकता नै हराउँछ," एक युवाले मोबाइल चलाउँदै भन्यो ।
"सरकारले जोगाएन, नयाँ पुस्ताले मानेन," अर्को स्वर थपियो ।
"देशको सांस्कृतिक क्रमभङ्ग भइसक्यो," कसैले निष्कर्ष सुनायो ।
चिया पसलेले फेरि गिलास थपिदियो । बहससँगै बिक्री पनि बढिरहेको थियो ।
कुनाको बेन्चमा बसेका वृद्ध चुपचाप सुनिरहेका थिए । अन्ततः उनले सोधे, "हामीले परम्परा छोडेका छैनौँ भन्ने आधार के हो?"
"दशैँ, तिहार, तीज, होली, शिवरात्री— सबै मनाउँछौँ," जवाफहरू एकपछि अर्को आए ।
वृद्धको नजर एउटी युवतीको मोबाइलमा पुग्यो । स्क्रिनमा लेखिएको थियो— ह्याप्पी बर्थ डे डियर हज्बेन्ड !
"जन्मदिनमा के गर्छौ?" उनले सोधे ।
"केक काटिन्छ ।"
"त्यसभन्दा अघि ?"
"मैनबत्ती बालिन्छ। "
"अनि ?"
"फुकिन्छ ।"
केही क्षण मौनता छायो ।
"बिहेमा?"
"रिसेप्सन, पार्टी ।"
"बेबी सावर ?"
युवतीले बेलुन, उपहार र केकले सजिएको कार्यक्रमको तस्बिर देखाइन् ।
वृद्धले मोबाइल फिर्ता गर्दै टेबलभरि नजर डुलाए । बहसको तापक्रम अचानक घटेजस्तो लाग्यो ।
उनी उठे, चियाको पैसा काउन्टरमा राखे र ढोकासम्म पुगेर फर्किए ।
"संस्कृति हराएको हो कि ऐना हराएको हो, एकपटक हेर्नू ।"
उनी बाहिरिए ।
भित्र केही बेर चम्चाले गिलास छोएको आवाज मात्र सुनियो । एउटा युवकले फेसबुकमा खुलै रहेको स्टाटसतिर हेर्‍यो— 'हाम्रो संस्कृति संकटमा छ...'
उसले बिस्तारै सबै अक्षर मेटायो ।
चिया चिसिइसकेको थियो । बहस पनि ।
टेबल वरिपरि बसेकाहरू पहिलोपटक आफ्नै अनुहार खोज्दै थिए, मोबाइलको कालो स्क्रिनमा, चियाको सतहमा, र सायद आफूभित्र पनि ।

पोखरा, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।