19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जब घमण्ड चुक्यो

कथा बद्री अधिकारी June 11, 2026, 8:56 am
बद्री अधिकारी
बद्री अधिकारी

असारको साँझ थियो। काठमाडौंको आकाशभरि वर्षाका काला बादल गुम्सिएका थिए। दिनभरि परेको झरी केही रोकिएको जस्तो लागे पनि सडकहरू अझै भिजेका थिए। बिजुलीका खम्बाबाट पानीका थोपा टपटप झरिरहेका थिए। पसलका साइनबोर्डहरू पानीमा धमिला चम्किरहेका थिए। सडकभरि गाडीका टायरले पानी उछिट्याउँदै हतारका आवाज निकालिरहेका थिए।

रत्नपार्कको बस स्टप सधैँझैँ कोलाहलले भरिएको थियो। कोही छाता समातेर उभिएका थिए। कोही मोबाइल हेर्दै बस कुरिरहेका थिए। कोही चिया पसलको ओतमा भिज्नबाट जोगिइरहेका थिए।

त्यत्तिकैमा एउटा पुरानो हरियो बस कराउँदै आएर रोकियो। बस रोकिएलगत्तै यात्रुहरूको भीड समुद्रको छालझैँ उर्लियो। ओर्लिने र चढ्ने यात्रुबीच तँछाडमछाड मच्चियो।

त्यही भीडबीच एक महिला थिइन्—प्रणिता।

उनको नामजस्तै अनुहारमा शान्त पूर्णता झल्किन्थ्यो। उनले हल्का गुलाबी कुर्ता लगाएकी थिइन्। काँधमा झोला थियो, अनि आँखामा दिनभरिको थकान। उनी एक निजी विद्यालयमा संगीत सिकाउँथिन्। स्वरले मानिसको मन छुन सक्ने ती महिला स्वभावले पनि अत्यन्त मृदुल थिइन्।

मुस्किलले उनी बसभित्र छिरिन्। भित्र खुट्टा टेक्ने ठाउँसमेत थिएन। माथिको फलामे डन्डी समातेर उनी उभिइन्। अरू यात्रुहरू पनि त्यसरी नै अडिएका थिए।

बसभित्र पसिनाको गन्ध, भिजेका कपडाको चिसोपन र मानिसहरूको गुनगुनाहट मिसिएको थियो। बाहिर पानी परिरहे पनि बसभित्र अधिकांश यात्रुले गर्मी महसुस गरिरहेका थिए।

नजिकैको सिटमा दुई पुरुष बसेका थिए।

एक थिए हाडजोर्नी विशेषज्ञ—डाक्टर सुगम। अर्का थिए अधिवक्ता—निश्चल।

दुवै अपरिचित थिए। बसको यात्रामा कहाँ सबै चिनेजानेका हुन्छन् र!

सुगम अस्पतालबाट ड्युटी सकेर फर्किरहेका थिए भने निश्चल अदालतको बहस सकेर घरतिर लागेका थिए।

बस चल्न नपाउँदै फेरि बाहिरबाट यात्रुहरू हतारिँदै चढ्न थाले। आजकल ठूला सहरमा भीड अत्यधिक बढ्दै गएको थियो।

त्यही भीडसँगै एक युवक धकेल्दै बसभित्र पस्यो।

उसको नाम थियो—प्रबल।

उसको शरीर बलिष्ठ थियो। कालो टिसर्टभित्र बलिष्ठ मांसपेशी स्पष्ट देखिन्थे। पाखुरामा ठूलो ट्याटु थियो। आँखा कठोर थिए, अनुहारमा उद्दण्डता झल्किन्थ्यो।

“ए, साइड! साइड!” भन्दै ऊ अघि बढ्न खोज्यो।

उसको कुहिनो र काँधले यात्रुहरूलाई बेसरी धकेलिरहेका थिए।

अचानक उसको बलियो धक्का प्रणितामाथि पर्‍यो।

“आऽह!”

प्रणिताको शरीर नियन्त्रणबाहिर हुत्तियो। उनी लड्न लागेकी थिइन्, तर उनको कम्मर बसको फलामे सिटको हत्थामा जोडले ठोक्कियो।

टन्न आवाज आयो।

उनको अनुहार क्षणभरमै फुस्रो भयो। हातको पकड छुट्नै लागेको थियो।

डाक्टर सुगम झसङ्ग भए। उनी तुरुन्त उठे।

“सावधान!” भन्दै उनले प्रणितालाई समातेर आफू बसेको सिटमा बसाए।

प्रणिता सिटमा बसिन्, तर पीडाले उनको अनुहार खुम्चिएको थियो।

उता निश्चलले प्रबललाई तीखा आँखाले हेरे।

“तपाईं आँखा खोलेर हिँड्न सक्नुहुन्न?”

प्रबल झर्कियो।

“भीडमा यस्तै हुन्छ!” उसको स्वर अहंकारले भरिएको थियो।

“भीडमा मान्छेलाई घाइते बनाउन पाइन्छ?” निश्चलको स्वर कठोर भयो।

बसभित्र केहीबेर मौनता छायो। यात्रुहरू उत्सुकताका साथ त्यतैतिर हेरिरहेका थिए।

सुगमले प्रणिताको अवस्था हेर्दै सोधे, “दुखाइ धेरै छ?”

“कम्मर... धेरै पोलिरहेको छ।”

सुगमको अनुभवले संकेत दिइरहेको थियो—यो सामान्य चोट थिएन।

“उभिन सक्नुहुन्छ?”

प्रणिताले प्रयास गरिन्, तर फेरि पीडाले कराइन्।

सुगम गम्भीर भए।

“हड्डीमा चिरा परेको हुन सक्छ।”

यो सुन्नेबित्तिकै केही यात्रुहरूले प्रबलतिर घुरेर हेर्न थाले।

प्रबल अझै जिद्दी मुद्रामै थियो।

“मैले जानाजान गरेको होइन।”

निश्चलले शान्त तर धारिलो स्वरमा भने, “जानाजान नभए पनि जिम्मेवारीबाट भाग्न पाइँदैन।”

बाहिर पानी झन् जोडले परिरहेको थियो। बिजुली चम्कँदा बसका झ्यालहरू क्षणभर सेता भएर टल्किन्थे।

सुगमले चालकलाई भने, “भाइ, नजिकको अस्पतालमा रोक्नुस्। बिरामीको अवस्था ठीक छैन।”

★★

केही मिनेटपछि बस ट्रमा सेन्टरअगाडि रोकियो। पानी अझै झमझम परिरहेको थियो। सडकबत्तीको उज्यालो पानीमा टुक्रिएर चम्किरहेको थियो।

सुगम र निश्चलले मिलेर प्रणितालाई सावधानीपूर्वक बसबाट ओराले। प्रणिताका खुट्टा थर्थर काँपिरहेका थिए।

प्रबल पनि बसबाट ओर्लियो। यसपटक उसको अनुहारमा पहिलेको उग्रता थिएन।

“म पनि आउँछु,” उसले बिस्तारै भन्यो।

निश्चलले उसलाई हेरे।

“आउनै पर्छ, नत्र प्रहरीद्वारा झिकाउन सकिन्छ।”

अस्पतालको आकस्मिक कक्ष भीडले भरिएको थियो। घाइतेहरूको कराह, स्ट्रेचर गुडेको आवाज र नर्सहरूको दौडधुपले वातावरण तनावपूर्ण बनेको थियो।

सुगम डाक्टर भएकाले अस्पतालका कर्मचारी र चिकित्सकहरूले उनलाई चिन्थे। उनलाई देख्नासाथ स्टाफहरूले तुरुन्त सहयोग गरे।

प्रणितालाई एक्स–रे कक्षमा लगियो।

बाहिर कुर्दै गर्दा निश्चलले प्रबललाई सोधे, “के गर्नुहुन्छ तपाईं?”

“व्यायाम प्रशिक्षक,” उसले छोटो उत्तर दियो।

“शरीर बलियो बनाउनु राम्रो कुरा हो,” निश्चलले भने, “तर बलले अरूलाई चोट दिन थालेपछि त्यो शक्ति होइन, आफ्नै लागि खतरा बन्छ।”

प्रबल चुप रह्यो।

सायद पहिलोपटक कसैले उसको शक्तिलाई प्रशंसा होइन, जिम्मेवारीको दृष्टिले हेरेको थियो।

उसले टाउको झुकायो। सायद उसको घमण्ड भित्रैबाट चर्किन थालेको थियो।

उसको मन अनायासै विगततिर फर्कियो। सानैमा ऊ आफ्नी दिदीसँग निकै घुलमिल थियो। दिदीसँग खेल्दै, रमाउँदै बित्ने बाल्यकाल अचानक उनको मृत्यु भएपछि सुनसान बनेको थियो। त्यसपछि ऊ बिस्तारै झर्किने, रिसाउने र साथीहरूसँग झगडा गर्ने स्वभावतिर ढल्किँदै गयो। समय बित्दै जाँदा उसले कठोर बन्नुलाई नै शक्ति सम्झिन थाल्यो। त्यही रुखोपनले आज उसलाई यो अवस्थामा पुर्‍याएको थियो।

केहीबेरपछि रिपोर्ट आयो।

सुगमको अनुहार गम्भीर भयो।

“कम्मरको हड्डीमा सामान्य चिरा परेको छ। फ्र्याक्चर होइन, तर सावधानी अपनाउनुपर्छ।”

प्रणिताको आँखामा डर झल्कियो।

“निको हुन्छ?”

“हुन्छ,” सुगमले आश्वस्त पार्दै भने, “तर केही हप्ता आराम गर्नुपर्छ।”

निश्चलले प्रबलतिर हेरे।

“अब बुझ्नुभयो?”

प्रबलको अनुहार मलिन भयो।

“म... मैले यति ठूलो चोट लाग्ला भनेर सोचेकै थिइनँ।”

“गल्तीको आकार नियतले होइन, परिणामले देखाउँछ,” निश्चलले भने।

★★★

उपचार सुरु भयो। औषधि, एक्स–रे, बेल्ट र जाँच—सबै गर्दा खर्च बढ्दै गयो।

प्रणिताले झोलाभित्रको पर्स समातिन्।

उनको स्वर कमजोर थियो।

“मसँग त्यति पैसा छैन...”

त्यसैबेला प्रबल अघि बढ्यो।

“सबै खर्च म तिर्छु।”

सुगम र निश्चल दुवैले उसलाई हेरे।

निश्चलले सोधे, “दबाबले हो कि जिम्मेवारीबोधले?”

प्रबल केही क्षण मौन रह्यो।

“जिम्मेवारी महसुस भएर,” उसले बिस्तारै भन्यो।

बाहिर पानी अझै परिरहेको थियो। झ्यालको सिसाबाट बग्ने पानीका धर्काहरू उसका आँखामा पनि झल्किएका थिए।

“आज मैले बुझेँ,” उसले बिस्तारै भन्यो, “बलियो हुनु भनेको अरूलाई दबाउनु होइन, जोगाउनु रहेछ।”

उसले आफ्नो एटीएम कार्ड निकाल्यो। सबै उपचार खर्च उसैले तिर्‍यो।

त्यसैबेला प्रणिताको मोबाइल बज्यो।

फोन उनकी आमाको थियो।

“छोरी, कहाँ छस्?”

प्रणिताले कमजोर स्वरमा सबै घटना सुनाइन्।

करिब आधा घण्टापछि अस्पतालमा उनका बुबा, आमा र सानो भाइ आइपुगे।

आमा आतुर हुँदै छोरीतिर दौडिइन्।

“कस्तो भयो, नानी?”

बुबाको अनुहार चिन्ताले भरिएको थियो।

सुगमले शान्त स्वरमा सबै अवस्था बुझाए।

“डराउनुपर्ने अवस्था छैन, तर केही समय आराम गर्नुपर्छ।”

प्रणिताका बुबाले हात जोड्दै भने, “डाक्टर साब, वकिल साहब! तपाईंहरू नभएको भए के हुन्थ्यो कुन्नि...”

निश्चलले मुस्कुराउँदै भने, “हामीले गर्नुपर्ने कर्तव्य मात्र गरेका हौँ।”

त्यतिबेला प्रबल केही पर उभिएको थियो। उसको टाउको झुकेको थियो।

प्रणिताकी आमाले उसलाई देखेर सोधिन्, “यिनै हुन्?”

प्रबलको अनुहार झन् मलिन भयो।

उसले अघि बढेर बिस्तारै भन्यो, “माफ गर्नुहोस्, अंकल, आमा... मेरो कारणले यस्तो भयो। तपाईंहरूले मलाई जे सजाय दिए पनि म स्वीकार्छु।”

कोठाभित्र केही क्षण मौनता छायो। प्रबलको त्यो वाक्यले सायद सबैको मन छोयो।

प्रणिताका बुबाले उसलाई ध्यानपूर्वक हेरे।

उनी रिसाउन खोजिरहेका थिए, तर युवकको अनुहारमा देखिएको पश्चात्तापले उनको क्रोध बिस्तारै पग्लिँदै गयो।

“गल्ती ठूलो भयो, बाबु। तर गल्ती स्वीकार गर्ने साहस सबैसँग हुँदैन। तिमीले त्यो साहस देखायौ। त्यो तिमीभित्रको सुधारयोग्य गुण हो। अब तिमीमा नम्रताको सुरुवात भइसकेको छ। मलाई विश्वास छ—अब तिमीबाट यस्ता गल्तीहरू दोहोरिने छैनन्।”

प्रबलका आँखामा आँसु टिलपिलाए।

सायद जीवनमा पहिलोपटक उसले आफूलाई साँच्चिकै कमजोर महसुस गरिरहेको थियो।

प्रणिताले प्रबललाई हेरिन्।

हिजो बसभित्र देखिएको उद्दण्ड युवक अहिले बिल्कुलै फरक देखिएको थियो।

“तपाईंको घरमा दिदीबहिनी छैनन्?” उनले सोधिन्।

प्रबल केहीबेर मौन रह्यो।

“दिदी थिइन्... सानैमा बित्नुभयो। त्यसपछि म कठोर बन्दै गएँ। मलाई लाग्थ्यो, नरम हुनु भनेको कमजोर हुनु हो।”

प्रणिताको आँखामा करुणा भरियो।

उनले बिस्तारै आफ्नो हात अगाडि बढाइन्।

“आजदेखि म तिम्रो दिदी।”

प्रबल झसङ्ग भयो।

“दिदी?”

“हो,” प्रणिताले हल्का मुस्कुराउँदै भनिन्, “तर एउटा सर्तमा। अब तिमीले आफ्नो शक्ति कसैलाई चोट पुर्‍याउन होइन, जोगाउन प्रयोग गर्नुपर्नेछ।”

प्रबलका आँखाबाट आँसु झर्‍यो।

उसले काँपिरहेको हातले प्रणिताको हात समात्यो।

“वाचा गर्छु, दिदी! अब म आफूलाई सुधार्नेछु। विश्वास गर्नुहोस्, यो मेरो प्रतिज्ञा भयो।”

कोठाभित्र अनौठो शान्ति फैलियो।

सुगमले मुस्कुराउँदै निश्चलतिर हेरेर भने—

“कानुनले सजाय दिन सक्छ, तर सम्बन्धले मान्छे बदल्न सक्छ।”

बाहिर वर्षा बिस्तारै थामिएको थियो।

आकाशमा बादल फाट्दै थिए।

बिहानको हल्का घाम अस्पतालको झ्यालबाट भित्र पस्यो र प्रणिताको बेडछेउमा उज्यालो छरियो।

त्यो उज्यालो केवल कोठाभित्र मात्र सीमित थिएन। त्यो एउटा उद्दण्ड युवकको चेतनाभित्र पनि बिस्तारै फैलँदै थियो।

प्रणिताले सुगम, निश्चल र प्रबलतिर हेरेर भनिन्—

“भाइहरू हो! तिमीहरू एकजुट भएर काम गर्‍यौ भने यो समाजलाई उन्नत बनाउन एउटा इँटा थप्न सक्छौ।”

तिनै जनाले एकैसाथ भने—

“तपाईंको यो आशीर्वाद हामीलाई लागोस्, दिदी!”

अस्पतालको कोठाभित्र आत्मीयता र खुसी फैलियो।

प्रणिताका आमाबुबा र भाइ पनि मुस्कुराइरहेका थिए। मानौँ पूरै कोठा मुस्कानले उज्यालिएको थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।