संसारमा संगीत थियो ,
त्यसैले तपाईं-हाम्रो कान बन्यो ,
नकि हाम्रो कान भएर हामीले ,
संगीत सुनेका हौं ।
सुन्दरता भएरै चर्म-चक्षु बनेका हुन ,
नकि आँखा भएर संसार देखेको होस ।
बास्ना लिनको लागि नासिका बन्यो ,
नकि नाकले गन्ध सुङेको होस ।
चराहरूको सुमधुर संगीत थियो र नै ,
बाजागाजाको तालमेल पछि
जन्मियो आधुनिक संगीत ,
यही दिब्यज्ञानको सुइँकोबाट भागेर ,
बन्द कोठाको चारभित्ताभित्र कसैले लगेर ,
कर्णलोतीमा ओष्ट जोडी सुनाएका ,
भ्रान्तिपूर्ण शब्दलाई आत्माज्ञानको
शब्दकोष बनाइ खोपीको छानोलाई ,
खोपडीको ज्ञान सम्झेपछी,
बन्छ चटके महाराजको,
एक खोलाको गीत ।
तर्न नसकिने जँघार मरीतरी तरेर ,
आफैं हराउने जंगलबाट
स्वाँस्वाँ-फ्वाँफ्वाँ गर्दै उम्केर ,
चुँडिने तुइनको त्यान्द्रोबाट
त्यान्द्रै सास सहित उछिट्टिएर ,
भस्म बनाउने लप्काबाट अधपिल्सो निस्केपनि ,
निष्कलङ्क नवागन्तुक सम्झी बेसुरा ताल ,
बजाउँदै बजारै-बजार बरालिएर बहकिने
बदमास चोला बनेपछि ,
बन्छ डाडु-पन्यु संगीतको,
एक खोलाको गीत ।
संगीत नभरेको मात्र हो ,
दुनियाँमा जिउँदालाई रुवाएर मार्नु ,
अनि मरेकोलाई रुँदै-रूँदै काँधमा बोक्नु ,
बिछोड बिछ्याइएको बिछ्यौनामा ,
केहि बाहेक सबैले
आर्तनादको रंगशाला बनाएर
एकाएक एकाअर्कालाई हेर्दै ,
नेत्रजल खसाउँदा बन्छ ,
एक खोलाको गीत ।
बस्तीमा बलेको भौतिक आगो,
निभाउन गर्छन् सबैले हातेमालो,
तर सल्काएर मनको डढेलो ।
एकदिन ...
तिनै मन डढाउनेहरु,
तपाईंको भौतिक शरीरमा ,
झोस्छन आगो ,
घरको आगो निभाउन हातेमालो गर्नेहरु ,
तोरी देखि चिनीसम्म खन्याइ ,
मट्टीतेलसम्म छर्केर ,
हरियो बाँसको फबल्याँटोले ,
घोची-घोची ,
लागिपरेका हुन्छन् ,
जलाउन तपाईंलाई ,
फगत ``छिटो´´ काम निम्ट्याउन ,
अनि बित्छ केहि घण्टा ,
बन्छ सग्लो शरीर ,
एक मुठ्ठी खरानी ,
हुन्छन् फेरि भेला रुने कराउनेहरु ,
बगाउँछन खरानी ,
छ्यापी-छ्यापी पानी ,
बग्छ खरानी ,
मधुर संगीत नदिसंगै ,
अनि बन्छ जीवन,
एक खोलाको गीत ।
धरान