19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खोलाको गीत

कविता डिल्लीराम कट्टेल June 11, 2026, 9:12 am
डिल्लीराम कट्टेल
डिल्लीराम कट्टेल

संसारमा संगीत थियो ,

त्यसैले तपाईं-हाम्रो कान बन्यो ,

नकि हाम्रो कान भएर हामीले ,

संगीत सुनेका हौं ।

सुन्दरता भएरै चर्म-चक्षु बनेका हुन ,

नकि आँखा भएर संसार देखेको होस ।

बास्ना लिनको लागि नासिका बन्यो ,

नकि नाकले गन्ध सुङेको होस ।

चराहरूको सुमधुर संगीत थियो र नै ,

बाजागाजाको तालमेल पछि

जन्मियो आधुनिक संगीत ,

यही दिब्यज्ञानको सुइँकोबाट भागेर ,

बन्द कोठाको चारभित्ताभित्र कसैले लगेर ,

कर्णलोतीमा ओष्ट जोडी सुनाएका ,

भ्रान्तिपूर्ण शब्दलाई आत्माज्ञानको

शब्दकोष बनाइ खोपीको छानोलाई ,

खोपडीको ज्ञान सम्झेपछी,

बन्छ चटके महाराजको,

एक खोलाको गीत ।

तर्न नसकिने जँघार मरीतरी तरेर ,

आफैं हराउने जंगलबाट

स्वाँस्वाँ-फ्वाँफ्वाँ गर्दै उम्केर ,

चुँडिने तुइनको त्यान्द्रोबाट

त्यान्द्रै सास सहित उछिट्टिएर ,

भस्म बनाउने लप्काबाट अधपिल्सो निस्केपनि ,

निष्कलङ्क नवागन्तुक सम्झी बेसुरा ताल ,

बजाउँदै बजारै-बजार बरालिएर बहकिने

बदमास चोला बनेपछि ,

बन्छ डाडु-पन्यु संगीतको,

एक खोलाको गीत ।

संगीत नभरेको मात्र हो ,

दुनियाँमा जिउँदालाई रुवाएर मार्नु ,

अनि मरेकोलाई रुँदै-रूँदै काँधमा बोक्नु ,

बिछोड बिछ्याइएको बिछ्यौनामा ,

केहि बाहेक सबैले

आर्तनादको रंगशाला बनाएर

एकाएक एकाअर्कालाई हेर्दै ,

नेत्रजल खसाउँदा बन्छ ,

एक खोलाको गीत ।

बस्तीमा बलेको भौतिक आगो,

निभाउन गर्छन् सबैले हातेमालो,

तर सल्काएर मनको डढेलो ।

एकदिन ...

तिनै मन डढाउनेहरु,

तपाईंको भौतिक शरीरमा ,

झोस्छन आगो ,

घरको आगो निभाउन हातेमालो गर्नेहरु ,

तोरी देखि चिनीसम्म खन्याइ ,

मट्टीतेलसम्म छर्केर ,

हरियो बाँसको फबल्याँटोले ,

घोची-घोची ,

लागिपरेका हुन्छन् ,

जलाउन तपाईंलाई ,

फगत ``छिटो´´ काम निम्ट्याउन ,

अनि बित्छ केहि घण्टा ,

बन्छ सग्लो शरीर ,

एक मुठ्ठी खरानी ,

हुन्छन् फेरि भेला रुने कराउनेहरु ,

बगाउँछन खरानी ,

छ्यापी-छ्यापी पानी ,

बग्छ खरानी ,

मधुर संगीत नदिसंगै ,

अनि बन्छ जीवन,

एक खोलाको गीत ।

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।