19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

महाभारतकालीन मिथकको काव्यिक पुनर्जन्म: "मत्स्यगन्धा महाकाव्य"

कृति/समीक्षा कृष्णप्रसाद पोखरेल June 13, 2026, 5:53 pm
कृष्णप्रसाद पोखरेल
कृष्णप्रसाद पोखरेल

​ विशिष्ट गजलकार एवं वरिष्ठ साहित्यकार केशवराज आमोदीको १६ औं कृतिका रूपमा वि.सं. २०८१ मा प्रकाशित "मत्स्यगन्धा महाकाव्य" नेपाली साहित्य जगत्‌का लागि एक अमूल्य उपहार हो । प्रकाशित भएदेखि नै मेरो मनमा यस कृतिप्रति तीव्र कौतुहलता र अध्ययन गर्ने अभिलाषा थियो, तर दुई वर्षसम्म त्यो अवसर जुरेको थिएन । संयोगवश, २०८३ जेष्ठ २३ गते चम्पानगर, चितवनमा 'नवसाहित्य मञ्जरी' द्वारा आयोजित ज्येष्ठ तथा वरिष्ठ साहित्यकारहरूको रचना वाचन कार्यक्रम सम्पन्न पछि नारायणगढतर्फ सँगै फर्कने क्रममा आदरणीय कविवर स्वयंले मेरो हातमा यो महाकाव्य थमाउनुभयो । त्यो क्षण मेरा लागि "के खोज्छस् कानो? आँखा!" भनेझैं सुखद र उल्लासमय बन्यो । म कृतज्ञ भावले पुस्तक झोलामा राखेर घर पुगेँ र उत्सुकताका साथ तुरुन्तै अध्ययनमा डुबेँ ।

इच्छाकामना साहित्य प्रवाहद्वारा प्रकाशित इच्छा दर्पण–३ मा नियात्राकार चिरञ्जीवी दाहाल ले 'मत्स्यगन्धाको माइती गाउँमा मत्स्यगन्धा विमोचन' शीर्षकमा यस कृतिको गहन, सूक्ष्म र घनिभूत समीक्षा प्रस्तुत गर्नुभएको छ। उहाँको समीक्षाले कृतिको विषयवस्तु, भावभूमि र साहित्यिक मूल्यलाई यति आकर्षक ढङ्गले उजागर गरेको छ कि यस कृतिप्रति मेरो जिज्ञासा र पढ्ने भोक झन् तीव्र बनेको थियो। समीक्षा पढ्दै जाँदा कृतिलाई स्वयं अध्ययन गरेर त्यसको रसास्वादन गर्ने उत्कट इच्छा जागृत भएको अनुभूति भएको थियो ।
पहिले नै सुनिसकेको पौराणिक कथालाई कवितात्मक शैलीमा पढ्न पाउँदा म असीम आनन्दमा विभोर भएँ ।

​हाम्रै ऐतिहासिक एवं भौगोलिक सेरोफेरोमा आधारित यस महाकाव्यमा कवि आमोदीले अत्यन्त उच्च कल्पनाशीलता र प्रखर कवित्वशक्तिको प्रदर्शन गर्नुभएको छ । उहाँको विस्तृत र प्रवहमान काव्यिक छटाले गर्दा यो महाकाव्य हरेक वर्गका पाठकका लागि मनमोहक र सन्तोषप्रद बन्न सफल भएको छ ।

महाकाव्यको कथानक र पौराणिक पृष्ठभूमि
​यो महाकाव्य महाभारतको सुरुवातमा आउने 'मत्स्यगन्धा' को लोकप्रसिद्ध कथामा आधारित छ । मत्स्यगन्धाको जन्म र उत्पत्तिका सन्दर्भमा प्राचीन कालदेखि नै विभिन्न रोचक आख्यानहरू प्रचलित छन् । त्यस्तै एउटा प्रख्यात कथन अनुसार:
​प्राचीन समयमा सुधन्वा नामक राजा शिकार खेल्न वनविहारमा गएका बेला दरबारमा उनकी रानी रजस्वला भइन् । गर्भाधानको उपयुक्त समय भएकाले रानीले राजाकहाँ एउटा पक्षीमार्फत पत्र पठाइन् । राजाले पत्र पाए पनि धेरै टाढा भएकाले उनले आफ्नो वीर्य एउटा पातको टपरी (खोची) मा सुरक्षित राखी सोही पक्षीमार्फत दरबारतर्फ पठाए । दुर्भाग्यवश, बाटोमा उक्त पक्षीलाई अर्को पक्षीले आक्रमण गर्दा त्यो वीर्य नदीमा खस्यो र एउटी विशाल माछीले निलिन् ।

​फलस्वरूप, त्यो माछी गर्भवती भई र केही समयपछि एक माझीको जालमा परी । माझीले माछीलाई राजाको दरबारमा पुर्‍याएर पेट चिर्दा त्यसबाट दुईवटा मानव शिशु—एक छोरा र एक छोरी निस्किए । छोरालाई राजाले आफैंसँग राखे भने छोरीलाई 'तिमीले नै पाल्नू' भनी माझीलाई सुम्पिदिए ।

​ती बालिकाको शरीरबाट माछाको जस्तो गन्ध आउने भएकाले उनको नाम 'मत्स्यगन्धा' राखियो । समय बित्दै गयो र उनी बैंसालु सुन्दरी भइन् । उनी आफ्ना पितालाई नदीमा डुङ्गा तार्ने काममा सघाउने गर्थिन् ।

​एक दिन पराशर ऋषि नदी तर्ने क्रममा मत्स्यगन्धाको डुङ्गामा सवार भए । मत्स्यगन्धाको अनुपम शारीरिक सौन्दर्य र यौवन देखेपछि ऋषि मोहित भए र उनीसँग यौनप्रस्ताव राखे । सुरुमा मत्स्यगन्धाले असहमति जनाउँदै भनिन्— "म एक त माझीकी छोरी, अर्को मेरो शरीरबाट दुर्गन्ध आउँछ र म आफ्नो कौमार्य पनि गुमाउन चाहन्न ।"

​ऋषि पराशरले उनको संशय मेटाउँदै वरदान दिए— "यसमा चिन्ता लिनुपर्दैन । म तिम्रो शरीरको माछाको गन्ध सदाका लागि हटाइदिन्छु र मेरो संसर्गबाट तिम्रो कौमार्य पनि नष्ट हुने छैन ।" तत्पश्चात् ऋषिले आफ्नो तपोबलले नदीको बीचमै बाक्लो कुहिरोको सृजना गरी उनीसँग समागम गरे । ऋषिको वरदानले मत्स्यगन्धाको दुर्गन्ध हराएर कस्तूरीको जस्तो सुगन्ध आउन थाल्यो र उनी 'सत्यवती' का रूपमा चिनिइन् । सोही संसर्गबाट पछि सत्यवतीले एक प्रतापी पुत्रलाई जन्म दिइन्, जो पछि गएर वेदव्यास (व्यास ऋषि) का नामले प्रख्यात भए ।

नेपाली माटो र भूगोलसँगको जीवन्त सम्बन्ध
​यो पौराणिक एवं अलौकिक घटना नेपालको तनहुँ जिल्लाको मध्यभागमा अवस्थित मादी र सेती नदीको पवित्र सङ्गमस्थल दमौलीमा भएको मानिन्छ । यस ऐतिहासिक तथ्यलाई पुष्टि गर्ने अनेकौं आधारहरू आज पनि जीवन्त छन्:
​दमौलीमा ऐतिहासिक 'पराशर गुफा' अवस्थित छ ।
​यसै क्षेत्रलाई केन्द्र मानेर स्थानीय तहको नाम 'व्यास नगरपालिका' राखिएको छ ।
​दमौलीमा हाल व्यास ऋषिको १०८ फीट अग्लो भव्य मूर्ति निर्माण भइरहेको छ ।
​त्यहाँ सत्यवतीको स्मृतिमा 'सत्यवती माध्यमिक विद्यालय' समेत सञ्चालित छ ।

​निष्कर्ष
​यसरी हाम्रो आफ्नै माटो, सभ्यता र गौरवसँग जोडिएको पौराणिक मिथकलाई आधार बनाएर वरिष्ठ साहित्यकार एवं गजल गुरु केशवराज आमोदीले "मत्स्यगन्धा" महाकाव्यको सिर्जना गर्नुभएको हो । यो कृतिले नेपाली पौराणिक काव्यपरम्परालाई समृद्ध मात्र बनाएको छैन, बल्कि हाम्रा ऐतिहासिक तीर्थस्थलहरूको सांस्कृतिक महत्वलाई पनि कलात्मक ढंगले उजागर गरेको छ । उत्कृष्ट शब्दशिल्प र मनमोहक प्रवाहात्मकताले भरिएको यो महाकाव्य नेपाली साहित्यप्रेमीहरूका लागि संग्रहणीय र सर्वथा पठनीय कृति बनेको छ । अस्तु

कवि: केशवराज आमोदी
कृति: मत्स्यगन्धा महाकाव्य (१६ औं कृति)
प्रकाशन वर्ष: २०८१

इच्छाकामना चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।