`बिसे नगर्चीको बयान´बाट अति प्रभावित काव्यिक लेखनका कुवेर, श्रवण मुकारुङको पहिलो आख्यान हातमा पर्ने बित्तिकै उपन्यासमा कथा मात्र नभै कथामा कविता र गीतको स्वाद पाउने कुरामा कुनै दुबिधा नै थिएन । पुस्तकको कभर पेजको पनि सिरानमा मसिना अङ्ग्रेजी अक्षरमा मधुरो गरी लेखिएको `द जअ:र्नी अफ अ माउन्टेन गर्ल´ वाक्यांशले मलाई पुस्तकको मुख्य पात्रकै संघर्षको भावलाई `सलह´, `श्रवण मुकारुङ´ जस्तो प्रष्ट बुझिने गरी पुस्तकको आवरणमा लेखेर कथा भन्न किन मुकारुङले कन्जुस्याइँ गरे भन्ने कौतुहलताले झकझक्याई रह्यो, सलहको उपसंहारसम्म । सलहबाट शुरूवात भएर जीवन-जगतका अनेकन खुड्किला हिंड्न अनवरत यात्रा गर्ने नामुमाको पदचाप पछ्याउँदै गर्दा, कथा भन्न र समाज दर्शाउन ठुलो खानदानी पात्र चाहिन्न; मात्र लेखन कला र `कथा´ भए पुग्छ भन्ने स्पष्टता भेटिन्छ - सलहमा । जब सलहलाई, चामल केलाउँदा बियाँ र कनिका अनि खँड्यौली छुट्याए जसरी केलाउन थालिन्छ, तब कपालका लिखा, चम्कना र ढाडी जसरी छुट्टिन्छन् समाजका अनेकन मुकुन्डोधारी बुज्रुक - सलहहरु: जसका छ वटा होइन दुई वटा मात्र खुट्टा हुन्छन् ।
किराँत (खासगरी राई) सभ्यतासंग जोडिएका सांकृतिक अर्थ बाहक शब्दहरूलाई टपक्क टिपेर पात्रको नामाकरण गरेर मुकारुङले आफ्नो मुल थलोकिलोलाई बचाइराखेका छन । यसले आजको पुस्तामा देखिएको, आफ्ना नानी-बाबुहरुको नाम राख्दा, अर्थ न बर्थको नाम राख्ने गलत परिपाटी विरुद्ध मन्द आवाज समेत उठाएको देखिन्छ । यसका अलावा: `पिठ्युँमा ढेपिएर´ , `बेतोडले ओहोरदोहोर गरिरहेका´ , `लाहुरे फूल´ , `धुमधुम्याइरहेको बादल´ , `बल माग्नु´ , `रोइबसेँ म´ , `जुङ´, `सरम´, `खुरुम्बी´, `सेहेँ लाग्नु´, `जुहारी खेल्नु´, `हुइपा देखिनु´, `कोहरू?´,`तिमेरू´, `डिही´, `सिकुवा´, `चुलो पुज्नु´, `वाल्ल पर्नु´, `नाक्छोङ´, `देउ चड्नु´, `खायल´,`इत्रु थिस´, अडबाङे उत्तर´ आदि जस्ता सयौं नाम, कृयापद र वाक्यांशहरूले उपन्यासलाई पुर्वीय लवजको बृहत शब्दकोष नै बनाएकोछ । खासगरी भाषा-संस्कृति अध्ययनरतहरुका लागि यो एउटा गतिलो स्रोत सामाग्री पनि हो ।
(लेखकको धर्म मार्नु होईन , बचाउनु हो । मैले तिमीलाई मारेँ भने त, म समालोचक भैजान्छु र यस जुनीमा मलाई समालोचक हुनु छैन - पृ. ७) आख्यानको भुमिका खण्डमै मुकारुङले केहि लाक्षणिक त केहि सोझो अर्थमा, वर्तमान साहित्य लेखन र समालोचना लेखनमा देखिएको द्वन्द प्रष्ट पारेको भेटिन्छ । समालोचकले सृजनाको कमजोरी मात्र खोतल्न कोसिस गरिरहंदा, लेखकको कलमको भाव, मर्म र रचना गर्भमा रहेका हजारौं शब्दकोषले न्याय नपाउने कुरा उल्लेख गर्दै, आजका लेखकले समालोचना-अराजकता विरुद्ध उभिनुपर्ने कुरामा सलह मार्फत मुकारुङले खिरिलो तर्क प्रस्तुत गरेकाछन् ।
दुर्घटना होस या भवितव्य, जे भएपनि परिवारको जिम्मेवार ब्यक्तिको अकस्मातको मृत्युले, बाँचेकाहरूले बाँच्नको लागी गर्नैपर्ने संघर्षको यात्रा पनि त कम कष्टपूर्ण कहाँ हुन्छ र ! परिवारमा आउने आकस्मिक बज्रपातले मानिसलाई जिम्मेवारीको कार्यकारी प्रमुख बन्न उमेरले छेक्दैन भन्ने सामाजिक जिम्मेवारी र नैतिक जिम्मेवारीको सुचक बनेका देखिन्छन् नायुमा र माइली । (समयले माइलीलाई साइँलाको र नायुमालाई माइलीको डोबमा उभ्यायो - पृ. २१)
मानिस स्वभावत: प्राकृतिक उपज भएकोले प्रकृतिका अवयबहरुमा अन्तरघुलन हुन हरपल इच्छुक देखिन्छ । (उसलाई पुस्तक पढ्नुभन्दा आकाशको गहिराइ पढ्नु सजिलो लाग्न थाल्यो । … सर म्यामका कुराभन्दा उसलाई खोलाको कुलकुल, बतासको सिरसिर मिठो लाग्न थाल्यो । …. पृ. ३१) तर सामाजिक संस्कार र नैतिक जिम्मेवारीबाट टाढा राख्न नसकेको कारणले मानिस सांसारिक बन्धनमा समेटिएको गहिरो दार्शनिक चेत उजागर गर्न मुकारुङले च्याङबालाई अघि सारेकाछन् ।
दशबर्षे द्वन्द्वको समयकालिन परिवेशलाई कथाधार बनाएको सलहमा, कतै जनयुद्ध नाम दिइएको द्वन्द्व पनि राजनीतिक सलह मात्र त थिएन भन्नलाई पहाडका घुमाउरा मोडको साहारा बनाएका मुकारुङले बाटामा लेखिएका, विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक परिवर्तनका संबाहक नाराहरूको सहयोगमा, ब्यबस्था परिवर्तनले नेपाली जनजीवनको अवस्था परिवर्तन गर्न नसकेकोप्रति असन्तुष्टि जनाएका छन् । यतिमात्र होईन, २०६२/६३ को जन-आन्दोलन सँगै बिसर्जन भएको दशबर्षे द्वन्दको घाउको रुपमा, खासगरी पहिलो संबिधान सभा चुनाव - २०६४ को आसपासमा तत्कालीन माओवाद समर्थकहरूले, बिगतमा गरेका गल्तीहरूलाई ढाकछोप गर्न एकाअर्कालाई सिद्द्याउने खेल कसरी खेलेका थिए भन्ने मसिनो पाटो पनि छ - सलहमा । कृष्ण जस्तो वास्तविक सर्वहारा बर्गको नायकलाई पार्टीभित्रका खलनायकबाटै कसरी सफाया गरियो भन्ने कुरा पढिरहँदा, राजनीति अत्यन्त निर्दयी खेल हो भन्ने प्रष्ट हुन्छ ।
देश नबन्नुमा दोस कसको? भन्ने उप-कथा प्रश्नको वरिपरि घुमाउरो शैलीमा `बैकुण्ठ कोलोली´ र यसका बासिन्दा एवं बैकुण्ठ कोलोनी सुधार समितिका पदाधिकारीहरूको पात्र परिचय आफैंमा कथाको रुपमा पाठकको हातमा पुर्याउन मुकारुङले मसिनो मेहनत गरेका छन् । कोलोनी, कोलोनी मात्र होईन, शहरी कमैया प्रथाको प्रतिक पनि हो , जसका हरेक धनाढ्य परिवारले आधुनिक कमैया प्रथालाई निरंतरता दिइरहेका हुन्छन् । (मालिकको कुरा हामीले नमानी धर छैन । … म पनि मालिकको घरमा बसेकै हो । तेरा बाजे बज्यै पनि … । हाम्रो कर्मै यस्तो हो नानी । - पृ. ७३)
(जंगलको रुखपात सक्ने नेता र माफियाले हो । बनेल, मृग, … सक्ने … र तिमीहरूले हो । दोष चाहिँ दुई मुठा … र निगुरो टिप्ने जनतालाई लाउँछौ - पृ. ८६ ।) नेपालमा हुने नीतिगत भ्रष्टाचार र अनियमितता तर्फ तिक्तता व्यक्त गर्न समेत मुकारुङ पछि परेका छैनन् । अर्कोतिर दोष थोपर्ने र आफ्नो दुनो सोझ्याउने नेपालको खास स्थायी सरकार: कर्मचारी संयन्त्रको उछित्तो काडेको त भेटिन्छ , तर अप्रत्यक्ष रुपमा ।
नेपाली समाजको वास्तविक परिचय भन्नू नै सामाजिक रुपमा परिवार - परिवार बिचमा हुने एकता, सहयोग, मेलमिलाप मात्र नभै पारिवारिक मनमुटाव र तिनीहरुको आन्तरिक समाधान पनि हो भन्ने कुरालाई मसिनो गरि केलाइएको भेटिन्छ - सलहसँगै उडान भर्दा । (नेपाली आत्मालाई मिल्न कुनै ठुलो मौका कुर्नुपर्दैन - पृ. ९५) आ-आफ्नै कथा र ब्यथा बोकेका सहपात्रहरूको दैनिक जीवनका परिघटनाको बर्णन मार्फत नेपाली सामाजिक मूल्य-मान्यताको बर्णन पनि पो हो त - सलह । यतिमात्र होईन, नेपाली समाजकै अर्को कालो पाटो, `मुकुन्डो धारण गरेका मानिस´ समेत भेटिन्छन् - सलहमा । खासगरी, शहरीया जीवन बाँचिरहेका प्रायः सबै मानिसहरू कुनै न कुनै स्वरुपमा द्वैध चरित्रको जीवन बाँचिरहेका हुन्छन् । यो बांच्नको लागि संघर्ष मात्र नभई, देखावटी जीवनशैलीको अपरिहार्य जस्तो लाग्छ । तर कतिपय अवस्थामा भने मुकुन्डोले मानिसलाई नाङ्गो पनि पार्छ - कहिल्यै लाज नछोपिने गरी । (... मुकुन्डोभित्रको मान्छे चाहिँ सार्है घिनलाग्दो र डरलाग्दो … पृ. २७८) यसरी द्वैध चरीत्र बोकेर हिड्ने मानिसहरूको नियमित र आकस्मिक भेट, मिलन, बिछोड, साथ, माया, घृणा, इत्यादि बाट पटकपटक खारिएर जीवन चिनिरहँदा एउटा सुन्दर कथा बन्छ - द जोर्नी अफ अ माउन्टेन गर्ल ।
सामान्य स्वरूपमा उठान हुने कतिपय परिघटनाको वर्णन भित्र घोत्लिँदा, एउटा पाठक, आख्यानको सलहमा नभै, विशिष्ट श्रेणीको दर्शनशास्त्रको कक्षामा कुनै प्रा. डा.ले दिइरहेको कक्षाको विद्यार्थीको रुपमा समेत आफुलाई पाउँछ, यस्तो अवस्थामा पटकपटक एउटै पेजमा घुमिरहन मन लाग्छ ।
ब्राह्मण परिवारमा छोराको महत्त्व बढी बनाइने र छोराले गलत बाटो लिँदा बाबुआमाको मन डिप्रेसनको तहसम्म कुँडिने कुरालाई समेटेकोछ - सलहले । यसका अलावा, आफ्नो सन्तानको सदबुद्दिको लागि हदसम्मको प्रयास गरेर सन्ततिलाई कुबाटोबाट सुबाटोमा ल्याउन पनि ब्राह्मण परिवारमा बाबुको भुमिका बढी हुन्छ भन्ने तर्क गर्न, प्रज्ज्वल पौडेलको चारितृक परिवर्तनको `बाहुन सुध्रिन समय लाग्दैन - पृ. १०३।´ जस्तो सोझै व्यक्त भएको वाक्यले नेपाली समाजमा अझसम्म पनि खासगरी बाहुन परिवारमा रहने बाबुको उच्च पितृसत्तात्मक शासनको दर्बिलो चित्र पनि कोरिएको भेटिन्छ - सलह उडानमा ।
जब राजनीतिमा अमुक व्यक्तिलाई देवत्वकरण गरिन्छ, तब त्यहाँ स्वार्थ लुकेको हुन्छ । सामान्य सामाजिक जीवनमा मानिस, मानिस नै हो । राजनीतिमा कसैलाई अनावश्यक रुपमा पुकारिन्छ भने त्यहीँ गहिरो स्वार्थ लुकेको हुन्छ । (भगवान मानिसको आफ्नो कमजोरी छोप्न स्वार्थवश अज्ञानताको सहारा लिएर निर्माण गरिएको काल्पनिकी हो - पृ. १७९ ।) आत्मरतिमा रमेर शासकसँग नात-सम्बन्ध जोड्दै आफुलाई गन्नेमान्ने ठान्ने हाम्रो सामाजिक बिकृतीलाई कत्ति पनि मन परेको छैन - मुकारुङलाई । यसकारण पनि राजा (शासक)लाई देवत्वकरण अपाच्य हुन्छ । बक्ररेखामा दगुर्ने राजनीतिलाई मसलाको रूपमा प्रयोग गर्दै, २०५८ जेष्ठ १९ को दरबार हत्याको प्रसंगमा, मुकारुङले `राजनीतिमा तिब्र मौलाउने गणेश प्रवित्ति´लाई चोटिलो प्रहार गरेकाछन् ।
भनाउँदो पद र भनाउँदै प्रतिष्ठाको आडमा ठालु परिवारभित्र भैरहेको असोचनीय बाल श्रम शोषण र यौन हिंसालाई सुक्ष्म र पारिस्थितिक विश्लेषण मार्फत चित्रण गर्दै मुकारुङले, शहरीकरण भएर बत्तीको उज्ज्यालोमा नाचिरहेको समाजभित्रको अँध्यारो पाटोलाई देखाएकाछन् । यौनको मामिलामा, लगभग सबै पुरुषहरूको उस्तै-उस्तै घृणित मानसिकता हुन्छ भन्ने कुरा त पुस्तकान्तमा बासुदेव दाजुले देखाएको व्यबहारले समेत प्रष्ट पार्छ ।
व्यवस्थित शहरीकरण र शहरी सौन्दर्यकरणको नाममा, अव्यवस्थित बसोबास स्थलमा राज्यको पटकपटकको दमनको विरुद्ध समेत मुकारुङको कलम दौडिन पछि परेको छैन । (कस्तो विवेकहीन हो यो सरकार ? जिउँदा मानिसलाई लखेटेर मरेको मानिसको सालिक ठड्याउने ! बच्चा खेल्ने आँगन भत्काएर साँढे चर्ने पार्क बनाउने ! के उनीहरूका नजरमा सुकुम्बासी मानिस होइनन् - पृ. ३२६ ?) यसरी सोझै वास्तविक सर्वहाराबर्गको आवाज बोल्दिने `चमेली´ पनि पो हो त - सलह ! ठालुहरूको नजरमा सुकुम्बासी बस्ती होला, तर त्यहीँको समाजले उनीहरूलाई ठालु पल्टिरहन सहयोग गरिरहेको कुरा उक्त वर्गले कहिले बुझ्ने, खोइ ?
`स्मृति डल्लो पारिएको धागोजस्तै हो । तानिरहन मन लाग्छ तर बुन्न सकिन्न । मात्र, फेरि अर्को डल्लो पार्ने हो - पृ. ४० ।´, `आमाबाउको अन्धो मायाले छोराछोरी भुत्ते हुन्छन् - पृ. - ५० ।´, `मानिसले गरेका दुई महागल्ती भनेको नै ईश्वरको परिकल्पना र राज्यको निर्माण हो । जसले उसलाई कहिल्यै मुक्त हुन दिएन - पृ. ८९ ।´, `छोराछोरी बिगृन्छन - बाउआमाको अनावश्यक प्रेम कि त घृणाले - पृ.. १०१।´, `नारीका लागि वैवाहिक जीवन आफैंमा सुनको पिँजडा हो कि - पृ. १२७?´, `निरूपाय भएपछि मान्छेले भगवानको सहारा खोज्छ - पृ. १५१ ।´, `हिंड्न थालेपछि बाटो छुटदै जान्छ । बाटो जति कट्यो त्यति नै सहयात्री पनि छुट्दै जान्छन् - पृ. १९० ।´, `फर्किनेले पो जान्छु है भन्छ त ! नफर्किनेले बिदा कहाँ माग्छ हौ , साइँली - पृ. २३० !´, `ज्ञानले बुद्वत्व प्राप्त गर्न सकिन्न । त्यसका लागि त आत्मज्ञान चाहिन्छ - पृ. ३१५ ।´ , `संसारका सारा दु:खको जग नै असमानता हो, अज्ञानता हो र आजसम्म नमिलेको हिसाब पनि यही हो - पृ. ४१७ ।´ आदि जस्ता जीवन दार्शनिकता बोकेका सयौं वाक्यहरूले सुसज्जित सलहसँगै, पात्रहरूले उमारेका जीवन भोगाइका अनेकन बालीनालीका बोटबोटै उडान भरिरहँदा, कतिबेला थाहै नपाई आफ्नै जीवन अवरोहको सचित्र ब्याख्यामा नेत्रजलले सलहका पाना भिजेको पत्तो नै नपाइँदो रहेछ ।
आख्यानको शुरुआतमा, उपकथाहरू र सहायक पात्र परिचयको विश्लेषणात्मक प्रस्तुतिले, आख्यानको एक चौथाई ओगट्दा, मुख्य पात्र, नायुमालाई भने फड्के स्वरुपमा उभ्याइएको अनुभुति हुन्छ । तर जब कथाले बाटो सोझ्याउँछ, तब सलहको उडानको गति पनि तीव्रतामा परिणत हुन्छ । मूल कथा नायिका, नायुमाको वरिपरि घुमेपनि उनीसँगै यात्रा गर्दा बाटामा भेटिने अन्य यात्रीहरु: मंगली, जुद्दबहादुर, चन्द्रकला, माइली, सुबेदार, पौडेल बा, जुम्ली भाई, माथेमा सर, भण्डारी, गुरुङ, वासुदेव, बेखमान साहु, गायक सुपात्र, सुकुमाया र बहादुरसिंह, हेडसर दीपक राई, नुमा, प्रभुहाङ्ग, कारागारमा भेटिएका आ-आफ्नै पदचापका महिलाहरू, फूलश्वरी छेमा, इन्द्रावती, प्रधान संपादक, धरान-मंगलबारेको फुपूको होटलका नियमित ग्राहकहरू: निर्माण मजदुरहरू, बराल सर, गुञ्जमान मामा, ऋषि सर, कविजी, सुमन साहु, लगायतका अन्य यात्रीहरू प्रत्येकको आ-आफ्नै कथा छन्, ब्यथा छन् , बिगत र वर्तमान छन्; सबैभन्दा महत्त्वपूर्ण कुरा त हरेकका जीवन भोगाइका असंख्य आरोह-अवरोहका शृङ्खला नै छन् ।
रचना गर्बमा लेखक स्वयंले फरक तरिकाको कथा वाचन भनी स्वीकारिएको सलह, वास्तविक रुपमै फरक छ । कतिपय ठाउँमा उघ्र काल्पनिकता देखिएता पनि अधिकांश पानाहरू समाजबाट टपक्क टिपेर ल्याइएकाछन । आधुनिकता र परिवर्तनका नाममा मुल थलोकिलो बिर्सिएकाहरूलाई त च्याङबा मामा मार्फत मुकारुङले गाला रन्किनेगरी चड्काएका नै छन् । त्यसैले यो सखाप पार्ने होईन , सपार्ने सलह हो ।