19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विनाशविरुद्धको सङ्कल्प

कविता कृष्ण बाउसे June 13, 2026, 6:21 pm
कृष्ण बाउसे
कृष्ण बाउसे

अबदेखि
उद्योगको नाउँमा
पिरो धुवाँ उडाउँदिन म ।
परिवेशलाई दूषित बनाउने
वाहनहरू गुडाउँदिन म ।
आन्दोलन चर्काउने बहानामा
मेरो सहरको फोक्सो नै सुन्निने गरी
थोत्रा टायरको धूप लगाउँदिन म ।

अबदेखि
युद्धप्रेमीहरूको लहैलहैमा लागेर
घातक हतियारका साथमा
आफूलाई कतै पनि उभ्याउँदिनँ म ।
हेपेर व्यवहार गरेपछि त
मित्र पनि शत्रु हुन्छ ।
अन्तरिक्षमै पनि
यानले निसृत गरेको फोहरले
वितण्डा मच्चाउन थाल्यो भनिँदै छ ।
मेरै सेवामा जुटिरहेको
प्लास्टिक नामधारी सेनाको पल्टनले नै पनि
अपमानको बदलामा
आतङ्क मच्चाइरहेको देखिँदै छ ।

अबदेखि
आफैँ अबुझ भएर
मित्रलाई शत्रु बनाउँदिन म ।
आफैँलाई टेक्ने आधार दिने माटोलाई नै
अजैविक फोहरले छोपेर
बन्जर भूमिमा परिणत गराउँदिन म ।

अबदेखि
कालो ब्याट्री र सेतो पारोलाई नदीमा सेलाउँदै
निर्दोष जलचरहरूलाई
आँसुको दहमा डुवाउँदिन म ।
अत्यधिक अन्नपानीको दुरुपयोग गर्दै
कोच्याइएको कृत्रिम पोषणको भरमा
ढुस्स फुलाइएका विवश प्राणीको मासु देखेर
अबदेखि
¥याल चुहाउँदिन म ।

नदीको मखुन्डो ओढेका ढलहरूले
नहरलाई बोकाएर उपहारस्वरूप पठाइदिएको कोकसँग
रासायनिक मलको पिज्जालाई चपाउँदाचपाउँदै
आफैँ रुग्ण भएको अन्नलाई
अबदेखि
आफ्नो उदरमा खन्याउँदिन म ।

फेसनदार कपडा बनाउनेहरूले
मानव जीवनलाई रङ्गिन बनाइदिने नाउँमा
नदीमार्फत् पठाएको
घिनलाग्दो पिप पिइरहनु परेको छ
निर्दोष जीव, वनस्पति र माटोले ।
अबदेखि
नदीको इज्जत राखेको प्रमाण देखाउने वस्त्रलाई मात्र
आफ्नो शरीरको शोभा बनाउँछु म ।

उडिरहेको जहाजले पनि
आकाशलाई फोहोर पारिरहेको हुन्छ
अबदेखि
कि त
स्वच्छऊर्जाले चलेका वाहनमा मात्र चढ्छु
कि त
आफूलाई जमिनमै हिडाउँछु म ।

अंश त हुँदै हुँ
हावाको, पानीको, माटोको ।
अंश त हुँदै हुँ
घामको, पृथ्वीको, आकाशको ।
अंश त हुँदै हुँ
तारा मण्डलको, ब्रह्माण्डको ।
अब
सबैको नाममा एकमुष्ट कसम खाएर
परोपकारको मन्त्रलाई
साकार गराउँछु म ।

मेरी प्यारी आदिमा !
तिमी चिन्ता नगर ।
तिम्रा सन्तानको रक्षाका खातिर
अधिक प्राणवायुको उत्पादन गर्ने
झयाम्म परेको लेकाली पिपल,
तुलसी, काई–लेउ
र सागरमा तैरिरहने
सूक्ष्म वनस्पति पादप–प्लवकको साथ लाएर
अबदेखि
आफ्नो हंसलाई नै
सातै महादेश र पाँचै महासागरमा
प्रेमिल स्पर्श बाँड्न पठाउँछु म ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।