रातभरि परेको वर्षाले काठमाडौँ
उपत्यकाको अनुहार धोएर पखालेको थियो।
बिहानको घाम शिवपुरीका डाँडामाथि विस्तारै उक्लिँदै थियो। वर्षापछिको स्वच्छ आकाश नीलो काँचझैँ देखिन्थ्यो। नागार्जुनका हरिया वनहरू ताजगीले झन् गाढा देखिएका थिए। घरका कौसीमा अड्किएका पानीका थोपाहरू घाममा चम्किरहेका थिए। परेवाहरू पखेटा फट्कार्दै घाम तापिरहेका थिए भने, भँगेराहरू छाना र कौसीमाथि उफ्रिँदै चिरबिराइरहेका थिए। प्रकृतिले मानौँ सहरलाई नयाँ दिनको शुभकामना दिइरहेकी थिई। गाउँबाट सपना बोकेर काठमाडौँ आएको उसले अभावसँग सम्झौता गरेको थियो, तर सपनासँग होइन।
त्यस दिन बेलुकाको खाना पकाउनु थियो।
ऊ कालिमाटी तरकारी बजार पुगेको थियो।
तर मध्यान्ह नजिकिँदै जाँदा काठमाडौँ फेरि आफ्नै गतिमा फर्कियो। सडकहरू सवारीसाधनले भरिए। मानिसहरू हतारिँदै आफ्ना गन्तव्यतर्फ लागे। पसलहरू खुले। बजारहरू जागे।
त्यही व्यस्त सहरभित्र सानो कोठामा डेरा गरी बस्ने समिर पनि आफ्नो दिनचर्यामा व्यस्त थियो।
समिर स्नातक तहमा अध्ययनरत युवक थियो। बिहान कलेज, बेलुका क्याफेमा काम, र राति अध्ययन—यही थियो उसको जीवन। गाउँबाट सपना बोकेर काठमाडौँ आएको उसले अभावसँग सम्झौता गरेको थियो।
त्यस दिन बेलुकाको खाना पकाउनु थियो। ऊ कालिमाटी तरकारी बजार पुगेको थियो।
कालिमाटी सधैँझैँ चहलपहलले भरिएको थियो। तरकारीका थुप्राहरू, ग्राहकहरूको मोलमोलाइ, भरियाहरूको आवतजावत, पसलेहरूको हाक्काहाक्की—सबै मिलेर एउटा छुट्टै संसार बनाइरहेका थिए।
समिरले केही तरकारी किन्यो।
“चार सय पचास रुपैयाँ भयो भाइ,” पसले भन्यो।
समिरले खल्तीबाट हजार रुपैयाँको नोट निकालेर दियो।
पसले नोट लिएर केहीबेर हेर्यो। उज्यालोतिर फर्कायो। फेरि पल्टायो।
“अर्को नोट छैन हजुर?”
“किन र?”
“यो नोट अलि अप्ठ्यारो छ।”
“के भयो?”
“झुत्रो भइसकेको छ। त्यसमाथि केही लेखिएको पनि छ।”
समिरले नोट फिर्ता लियो। अर्को नोट दिएर हिसाब मिलायो।
तर फर्कँदै गर्दा उसको ध्यान त्यही नोटमा अड्कियो।
उसले नोट निकालेर हेर्यो।
एउटा कुनामा नीलो मसीले मोबाइल नम्बर लेखिएको थियो।
त्यसको तल साना अक्षरमा—
..........
(२०७८)
समिर एकछिन टोलायो।
अहिले २०८३ साल चलिरहेको थियो।
पाँच वर्ष।
एक हजारको नोट पाँच वर्षसम्म कति हात घुम्यो होला?
उसले नोट खल्तीमा राख्यो।
तर त्यो नम्बर भने उसको मनमा अड्किरह्यो।
राति खाना खाइसकेपछि ऊ पढ्न बस्यो। तर अक्षरहरू आँखामा देखिए पनि मनमा अडिएनन्। बारम्बार ध्यान त्यही नोटतिर फर्किरह्यो।
अन्ततः उसले किताब बन्द गर्यो।
नोट फेरि निकाल्यो।
मोबाइल नम्बर।
..........
(२०७८)
उसले मनमनै सोच्यो—
“आजकाल मानिसहरू मोबाइलमै नम्बर सुरक्षित गर्छन्। कसैले नोटमा नम्बर किन लेख्ला?”
अर्को विचार आयो—
“सायद कुनै सम्झना होला।”
“वा कुनै प्रतीक्षा।”
जिज्ञासाले अन्ततः उसलाई जित्यो।
उसले मोबाइल उठायो।
नम्बर डायल गर्यो।
फोनको घण्टी बज्न थाल्यो।
एकपटक।
दुईपटक।
तीनपटक।
चौथो घण्टीमा फोन उठ्यो।
“हेलो।”
स्वर कोमल थियो। कुनै युवतीको झैँ लाग्थ्यो।
समिर केही क्षण मौन रह्यो।
“हेलो... बोल्नुभएन?”
“एउटा कुरा बुझ्न खोजेको।”
“भन्नुस्।”
“यो नम्बर कसको हो?”
उताबाट केही क्षण मौनता छायो।
“पहिला तपाईंले यो नम्बर कहाँबाट पाउनुभयो?”
“एउटा हजारको नोटमा लेखिएको थियो।”
“साँच्चै?”
स्वरमा आश्चर्य मिसिएको थियो।
“हो।”
“त्यो नोट अहिले तपाईंको हातमा छ?”
“छ।”
“नोटको अवस्था कस्तो छ?”
समिर अलि अचम्मित भयो।
उसले सोचेको थिएन—पहिलो प्रश्न नोटको अवस्थाबारे हुनेछ भनेर।
“झुत्रो छ। धेरै हात घुमिसकेको जस्तो देखिन्छ।”
उताबाट हल्का सास तानिएको आवाज आयो।
“त्यो स्वाभाविक हो। पाँच वर्ष कम समय होइन।”
अब समिरको जिज्ञासा झन् बढ्यो।
“मैले एउटा कुरा सोध्न मिल्छ?”
“मिल्छ।”
“तपाईंले नोटमा नम्बर किन लेख्नुभएको थियो?”
केही क्षण मौनता रह्यो।
त्यसपछि युवतीले बिस्तारै भनिन्—
“त्यो साल देख्नुभयो?”
..........
(२०७८)
“हजुर।”
“त्यो बेला म एउटा सानो प्रयोग गर्न चाहन्थेँ।”
“कस्तो प्रयोग?”
"एक्लोपनसँग खेल्दै रमाउन चाहन्थेँ।एउटा हजारको नोट पाँच वर्षभित्र फेरि मसम्म आइपुग्छ कि आइपुग्दैन भनेर।”
समिर मुस्कुरायो।
“त्यसका लागि मोबाइल नम्बर?”
“यदि कसैलाई जिज्ञासा लाग्यो भने फोन गर्ला भन्ने सोचेकी थिएँ।”
“अनि आज फोन आयो।”
“हजुर।”
“कस्तो लाग्यो?”
उताबाट हल्का हाँसो सुनियो।
“अचम्म!”
“किन?”
“किनकि म अझै त्यो नोट फर्किन्छ कि फर्किँदैन भनेर सोचिरहेकी थिएँ।”
पहिलो पटक दुवै हाँसे।
अनुहार नदेखे पनि स्वरले दूरी घटाइरहेको थियो।
कुराकानी केहीबेर अझै चलिरह्यो।
फोन राखेपछि समिर लामो समयसम्म झ्यालबाहिर हेरिरह्यो।
उता, सहरको अर्को कुनामा एउटी युवती पनि झ्यालछेउ उभिएकी थिइन्।
उनको नाम सीया थियो।
उनको हातमा अर्को हजार रुपैयाँको नोट थियो।
कहिलेकाहीँ त्यो नोट निकालेर हेर्थिन् र मनमनै सोच्थिन्—
यदि पहिलो नोट कुनै दिन फर्किएर आयो भने, यसमा पनि अर्को नम्बर र अर्को साल लेखेर फेरि यात्रामा पठाउनेछु।
झ्यालबाहिर रात विस्तारै गाढा हुँदै गइरहेको थियो।
तर त्यो रात समिर र सीयाको मनभित्र भने एउटा नयाँ जिज्ञासाको उज्यालो बलिसकेको थियो।
**
भोलिपल्ट बिहान काठमाडौँको आकाश एकदम खुला थियो। रातिको वर्षाले धोएर पखालेका रूखका पातहरू घाममा टल्किरहेका थिए। सडकका छेउछाउमा जमेको पानी विस्तारै सुक्दै थियो। हावामा भिजेको माटोको हल्का सुवास अझै बाँकी थियो।
तर समिरको मनमा भने अघिल्लो रातको संवाद ताजै थियो।
कलेजको कक्षाकोठामा प्राध्यापक पढाइरहेका थिए। विद्यार्थीहरू टिपोट गर्न व्यस्त थिए, तर समिरको ध्यान बारम्बार अन्तै पुग्थ्यो।
“पाँच वर्षपछि पनि त्यो नोट फर्किन्छ कि फर्किँदैन भनेर सोचिरहेकी थिएँ...”
कोइलीको जस्तो मिठो स्वरको त्यो वाक्य उसको मनमा दोहोरिइरह्यो।
उसले आफूलाई सम्झायो—
“एउटा सामान्य फोन मात्र हो।”
तर मनले त्यो तर्क स्वीकार्न मानेन।
त्यो दिन बेलुका उसले धेरै बेरसम्म फोन गरेन। आफूलाई व्यस्त देखाउन खोज्यो। किताब खोलेर बस्यो। क्याफेको काम गर्यो। साथीहरूसँग सामान्य कुराकानी पनि गर्यो।
तर रात गहिरिँदै जाँदा उसको संयम कमजोर हुँदै गयो।
अन्ततः उसले नम्बर डायल गर्यो।
फोन बज्यो।
एकपटक।
दुईपटक।
तीनपटक।
तर उठेन।
उसले केहीबेरपछि फेरि फोन गर्यो।
फेरि उठेन।
अचानक उसको मनमा एउटा अनौठो खालीपन आयो।
“किन नउठाएकी होलिन्?”
“व्यस्त होलिन्।”
“सायद नम्बर चिनिनन्।”
“सायद उठाउनै नचाहेकी होलिन्।”
मानिसको मन पनि कस्तो विचित्र हुन्छ! क्षणभरमै सयवटा अनुमान गर्न थाल्छ।
उता सीया भने आफ्ना बुवासँग बाहिर गएकी थिइन्। मोबाइल कोठामै छुटेको थियो।
राति फर्किएर मोबाइल हेर्दा दुईवटा मिसकल देखिन्।
नम्बर देख्नेबित्तिकै उनको अनुहारमा हल्का मुस्कान फैलियो।
उनले तुरुन्तै फोन फर्काइन्।
पहिलो घण्टीमै फोन उठ्यो।
मानौँ समिर त्यही प्रतीक्षामा बसेको थियो।
“हेलो।”
“माफ गर्नुहोस्, फोन साथमा थिएन।”
“मलाई लाग्यो, तपाईंले उठाउन चाहनुभएन कि।”
उताबाट हल्का हाँसो सुनियो।
“कुनै अपरिचित व्यक्तिको फोन नउठाउनु र उठाउन नपाउनु एउटै कुरा होइन नि।”
“अब त अपरिचित भन्न मिल्छ र?”
“त्यो त तपाईंले नै भन्नुपर्ला।”
दुवै केही क्षण मौन रहे।
त्यो मौनता असहज थिएन।
बरु, दुवैलाई एकअर्काको उपस्थिति महसुस गराइरहेको थियो।
त्यस दिनदेखि उनीहरूका कुराकानीहरू नियमित हुन थाले।
कहिले साहित्यको कुरा हुन्थ्यो।
कहिले यात्राको।
कहिले मानिसले किन केही वस्तुसँग भावनात्मक सम्बन्ध गाँस्छन् भन्ने विषयमा बहस हुन्थ्यो।
एक रात समिरले सोध्यो—
“यदि त्यो नोट कहिल्यै फर्किएन भने के हुन्थ्यो?”
सीया केहीबेर चुप रहिन्।
“केही हुन्थेन।”
“यति धेरै वर्षको प्रतीक्षा त्यसै खेर जान्थ्यो नि।”
“प्रतीक्षा कहिल्यै खेर जाँदैन।”
“किन?”
“किनकि प्रतीक्षाले परिणामभन्दा बढी मानिसलाई बदल्छ।”
समिर केही क्षण मौन रह्यो।
उसलाई त्यो उत्तर मन पर्यो।
एक रात सीयाले सोधिन्—
“तपाईंलाई एक्लोपन लाग्दैन?”
“लाग्छ।”
“अनि त्यसलाई कसरी जित्नुहुन्छ?”
“सपनाहरूलाई व्यस्त राखेर।”
“त्यो उपाय सधैँ काम गर्छ?”
“सधैँ त गर्दैन।”
“अनि?”
“कहिलेकाहीँ एउटा अपरिचित आवाजले पनि साथ दिन्छ।”
उताबाट केहीबेर कुनै उत्तर आएन।
तर त्यो मौनताले धेरै कुरा भनिसकेको थियो।
दिनहरू बित्दै गए।
फोनको घण्टी उनीहरूको दिनचर्याको हिस्सा बन्न थाल्यो।
कुनै दिन सीयाको फोन नआए समिरलाई दिन अधुरो लाग्थ्यो।
कुनै दिन समिरले फोन नगरे सीयाको साँझ खालीखाली लाग्थ्यो।
तर दुवैले त्यो कुरा खुलस्त कहिल्यै भनेनन्।
उनीहरूबीचको सम्बन्धको नाम थिएन।
तर त्यसमा आत्मीयता भने विस्तारै बढ्दै गइरहेको थियो।
एक साँझ सीया झ्यालबाहिर हेर्दै थिइन्।
आकाशमा बादलहरू पश्चिमतिर बिस्तारै बगिरहेका थिए।
अचानक उनले भनिन्—
“मलाई कहिलेकाहीँ लाग्छ, जीवनमा केही रिक्तताहरू सधैँ रहिरहन्छन्।”
“जस्तै?”
उताबाट लामो सास सुनियो।
“आमा।”
समिर चुप रह्यो।
सीयाले बिस्तारै भनिन्—
“म जन्मिएलगत्तै मेरी आमा बित्नुभएको थियो।”
समिरको मन एकाएक गम्भीर भयो।
“बुवाले कहिल्यै आमाको अभाव महसुस हुन दिनुभएन। उहाँले बाबु र आमा दुवैको भूमिका निर्वाह गर्नुभयो।”
उनको स्वर नरम भयो। फेरि उनले कुरा जोडिन्।
“तर केही रिक्तताहरू यस्ता हुन्छन्, जसलाई माया र स्नेहले पनि पूर्ण रूपमा भरिदिन सकिँदैन।”
समिरसँग त्यसको उत्तर थिएन।
त्यस रात उनीहरू लामो समयसम्म मौन रहे।
किनकि केही पीडाहरूको उत्तर शब्दले होइन, उपस्थितिले दिनुपर्छ।
समयसँगै उनीहरूको जिज्ञासा झन् गहिरिँदै गयो।
दुवैले एकअर्काको अनुहार देखेका थिएनन्।
तर आवाज चिन्थे।
सोचाइ चिन्थे।
मौनता चिन्थे।
र कहिलेकाहीँ मानिसको अनुहारभन्दा उसका विचारहरू पहिले परिचित हुन्छन्।
एक रात सीयाले हाँस्दै भनिन्—
“हामी यति धेरै कुरा गर्छौँ, तर एकअर्कालाई देखेका छैनौँ।”
“त्यसैले त रोचक छ।”
“सधैँ रोचक रहन्छ?”
“सायद रहँदैन।”
“अनि?”
“एक दिन जिज्ञासाले उत्तर खोज्छ।”
“त्यो दिन कहिले आउँछ?”
समिर केही क्षण चुप रह्यो।
“जब हामी दुवै तयार हुन्छौँ।”
त्यसपछि भेट्ने कुरा चल्न थाल्यो।
केही दिनको आलटालपछि अन्ततः एउटा दिन तय भयो।
सीयाले समय सोधिन्।
समिरले आफूले काम गर्ने क्याफेको नाम बतायो।
अनि भन्यो—
“पूर्वतर्फको झ्याल नजिकको टेबलमा बस्नुहोला।”
“अनि तपाईं?”
“म आइहाल्छु।”
भेट हुने दिन बिहानदेखि नै समिरको मन अस्थिर थियो।
सीयाको मन पनि त्यत्तिकै उत्सुक थियो।
निर्धारित समयभन्दा केही अघि नै सीया क्याफे पुगिन्।
पूर्वतर्फको झ्यालछेउको टेबलमा बसेर उनले कफी मगाइन्।
कहिले ढोकातिर हेर्थिन्।
कहिले मोबाइलतिर।
कहिले झ्यालबाहिर।
प्रतीक्षाको समय सधैँ लामो लाग्छ।
उता समिर भने क्याफेमै थियो। उसले सीयालाई पहिलो पटक देख्यो।
र केही क्षण स्थिर भयो।
उनको अनुहारमा एउटा स्वाभाविक उज्यालोपन थियो।
आत्मविश्वास थियो।
शालीनता थियो।
समिरका मनमा एकाएक अनेकौँ विचारहरू उम्लिए।
“यिनी नै हुन्?”
“फोनमा यति सहज भएर कुरा गर्ने व्यक्ति?”
“यति सुन्दर युवतीले मलाई मन पराउलिन्?”
उसले आफ्नो कालो वर्ण सम्झियो।
आफ्नो सामान्य जीवन सम्झियो।
आफ्नो अभाव सम्झियो।
र पहिलो पटक उसलाई आफ्नो स्वरूप नै बोझजस्तो लाग्यो।
हीनताबोधले उसको आत्मविश्वासलाई बिस्तारै ढाक्न थाल्यो।
सीया भने अझै प्रतीक्षामा थिइन्।
अन्ततः समिरले मोबाइल निकाल्यो।
क्याफेको अर्को कुनामा गएर नम्बर डायल गर्यो।
सीयाले तुरुन्तै फोन उठाइन्।
“हेलो?”
समिरको स्वर सामान्य थिएन।
“क्षमा गर्नुहोस्। आज कामको निकै चाप पर्यो। आउन सकिनँ।”
केही क्षण मौनता रह्यो।
“ए... त्यसो भए अर्को दिन।”
सीयाले यति मात्र भनिन्।
तर त्यो छोटो वाक्यभित्र लुकेको निराशा समिरले महसुस गर्यो।
फोन काटियो।
सीयाले कफीको अन्तिम चुस्की लिइन्।
झ्यालबाहिर केही क्षण हेरिन्।
अनि बिस्तारै उठेर बाहिरिइन्।
समिर भने त्यहीँ उभिएर उनलाई हेरिरह्यो।
उनी सडकको भीडमा नहराउँदासम्म।
र त्यसपछि पनि केहीबेर।
उसलाई थाहा थियो—
आज उसले भेट टारेको थियो।
तर जिज्ञासालाई भने झन् गहिरो बनाएको थियो।
***
भेट हुनुपर्ने दिन भेट हुन सकेन।
तर त्यसपछि पनि उनीहरूबीचको संवाद रोकिएन।
बरु, झन् गहिरिँदै गयो।
कहिलेकाहीँ समिरलाई लाग्थ्यो— सीयाले उसको अनुहारभन्दा उसको मन चिन्न थालेकी छन्। कहिलेकाहीँ सीयालाई लाग्थ्यो— आफूले कहिल्यै नदेखेको मानिस किन यति परिचित जस्तो लागिरहेको छ?
दिनहरू बिस्तारै बित्दै गए।
ऋतु फेरिन थाल्यो।
वर्षाले धुने र पखाल्ने काम सकिसकेको थियो। बिहानका आकाशहरू नीला देखिन थालेका थिए। साँझपख बादलहरू पहाडका टाकुरामाथि सुनौलो घाम बोकेर तैरिरहेका देखिन्थे। हावामा अब वर्षाको चिसोपनभन्दा शरदको स्वच्छता बढ्दै गइरहेको थियो।
त्यस्तै एउटा साँझ सीया फेरि त्यही क्याफे पुगिन्।
पहिलो भेट अधुरै रहँदा पनि उनले त्यो ठाउँ छोड्न सकेकी थिइनन्।
कहिले पुस्तक बोकेर आउँथिन्।
कहिले केवल कफीको कप अगाडि राखेर झ्यालबाहिर हेरिरहन्थिन्।
कहिलेकाहीँ मनमनै सोच्थिन्—
“सायद आज भेट होला।”
तर प्रत्येक पटकझैँ त्यो दिन पनि प्रतीक्षाले मात्र उनको साथ दियो।
उता समिर भने उनलाई देख्थ्यो।
कहिले काउन्टर पछाडिबाट।
कहिले टेबल मिलाउने बहानामा।
कहिले ग्राहकको अर्डर पुर्याउने क्रममा।
उसले सीयालाई देख्थ्यो।
तर आफूलाई देख्न दिँदैनथ्यो।
उसको मनभित्र एउटा डर गहिरिँदै गइरहेको थियो।
“फोनमा बनेको संसार प्रत्यक्ष भेटमा भत्कियो भने?”
“उनले मलाई देखेर निराश भइन् भने?”
“मेरो स्वर उनलाई मन परेको हो कि मेरो व्यक्तित्व?”
यस्ता प्रश्नहरूले उसलाई निरन्तर घेरेका थिए।
एक दिन फोनमा कुरा हुँदै थियो।
सीयाले हाँस्दै भनिन्—
“तपाईं सायद संसारकै व्यस्त मानिस हुनुहुन्छ।”
“किन?”
“किनकि भेट्ने कुरा गर्दा सधैँ कुनै न कुनै काम निस्किहाल्छ।”
समिर पनि हल्का हाँस्यो।
“कहिलेकाहीँ मानिस आफैँबाट पनि भागिरहेको हुन्छ।”
“आफैँबाट भागेर कहाँ पुगिन्छ र?”
यसपटक समिरसँग उत्तर थिएन।
उसले विषय परिवर्तन गर्यो।
तर सीयाको मनमा त्यो वाक्य भने अड्किरह्यो।
दिनहरू फेरि बिते।
एक दिन साँझ क्याफेमा सामान्य चहलपहल थियो।
बाहिर अस्ताउँदै गरेको घामका किरणहरू झ्याल हुँदै भित्र पसिरहेका थिए।
सीया फेरि त्यही पूर्वतर्फको टेबलमा बसेकी थिइन्।
अगाडि आधा बाँकी कफी थियो।
अचानक उनको अनुहार फिक्का देखिन थाल्यो। उनलाई लाग्न थाल्यो अस्तिको जस्तै आज पनि असह्य छाती दुखेर बेहोस पो हुने हुँ कि!
उनले छातीमा हात राखिन्।
सास फेर्न असहज भइरहेको थियो।
उठ्न खोजिन्।
तर खुट्टाले साथ दिएन।
अर्को क्षण उनी लडखडाउँदै भुइँमा ढलिन्।
क्याफेभरि हलचल मच्चियो।
कसैले पानी ल्यायो।
कसैले चिकित्सकलाई फोन गर्नुपर्छ भन्यो।
तर सबैभन्दा पहिले समिर त्यहाँ पुगेको थियो।
त्यो क्षण उसले आफ्नो सबै डर बिर्सियो।
आफ्नो पहिचान लुकाइराख्ने प्रबल चाहनालाई भत्कायो।
उसले तुरुन्तै सीयालाई सम्हाल्यो।
एम्बुलेन्स बोलायो।
क्याफे सञ्चालकतिर फर्केर भन्यो—
“म उहाँलाई अस्पताल पुर्याएर आउँछु।”
र केही मिनेटमै उनीहरू एम्बुलेन्समा थिए।
अस्पताल पुग्नेबित्तिकै चिकित्सकहरूले उपचार सुरु गरे।
सीयालाई आपत्कालीन कक्षमा लगियो।
समिर बाहिरको कुर्सीमा बसेर प्रतीक्षा गर्न थाल्यो।
पहिलो पटक उसलाई समय यति ढिलो बगेजस्तो लागेको थियो।
करिब एक घण्टापछि सीयाको मोबाइल बज्यो।
स्क्रिनमा लेखिएको थियो—
“बुबा”
समिरले फोन उठायो।
“हेलो?”
उताबाट चिन्तित स्वर आयो—
“सीया कहाँ छे?”
समिरले घटनाको सम्पूर्ण विवरण सुनायो।
उताबाट केही क्षण मौनता रह्यो।
त्यसपछि केवल एउटा वाक्य आयो—
“म तुरुन्तै आइपुग्छु।”
केही समयपछि सीयाका बुबा अस्पताल आइपुगे।
चिन्ताले उनका आँखा रसाएका थिए।
उनी सिधै समिरतिर आए।
“तिमीले नै खबर गरेको?”
“हजुर।”
“तिमीले नै अस्पताल ल्याएको?”
“हजुर।”
वृद्धले केही क्षण समिरलाई हेरिरहे।
त्यसपछि काँपेको स्वरमा भने—
“धन्यवाद छोरा।”
त्यो धन्यवादमा एउटा बाबुको भय, राहत र कृतज्ञता मिसिएको थियो।
“तिम्रो नाम?”
“महेन्द्र।” उसलाई यो प्रश्न आउँछ भन्ने पूर्व आभास भइसकेको थियो।
केही घण्टापछि चिकित्सकहरूले सीया खतरामुक्त रहेको जानकारी दिए।
त्यसपछि मात्र सबैले राहतको सास फेर्यो।
सीयाका बुबाले महेन्द्रको हात समाउँदै भने—
“एक दिन घर पनि आउनू है।”
समिरले नम्रतापूर्वक टाउको हल्लायो।
केही दिनपछि उनी सीयाको घर पुगे।
घर सम्पन्न थियो।
तर त्यो सम्पन्नताभन्दा ठूलो कुरा त्यहाँको आत्मीयता थियो।
कुराकानीकै क्रममा सीयाका बुबाले बिस्तारै भने—
“सीया जन्मिएलगत्तै उनकी आमा बितेकी थिइन्।”
उनको स्वर गम्भीर भयो।
“त्यसपछि म नै उनको बाबु पनि भएँ, आमा पनि।”
केही क्षण उनी चुप रहे।
“सकेसम्म उनको मन दुख्ने काम मैले कहिल्यै गरिनँ। नानीको मन धेरै कोमल छ।”
समिर मौन रह्यो।
त्यस क्षण उसले सीयालाई अझ गहिरोसँग बुझ्न थाल्यो।
त्यही दिन सीयाले समिरको मोबाइल नम्बर मागिन्।
समिरले आफूले सधैँ कुरा गर्ने नम्बर दिएन।
बरु अर्को एनसेल नम्बर दियो। बीचमा सीयाले एकपटक सोधिन्— “महेन्द्रजी! तपाईंको स्वर त मैले यो भन्दा अगाडि पनि सुने जस्तो लाग्छ!”
“कतिपय मानिसको स्वर मिल्दोजुल्दो हुन्छ।”
“सायद यस्तो पनि हुन सक्ला!”
उसले अझै सत्य लुकाइराख्न चाहेको थियो।
किनकि उसको मनमा पुरानै डर बाँकी थियो—
“सीयाले म नै त्यो समिर हुँ भन्ने थाहा पाएपछि के सोच्लिन्?”
तर सत्य सधैँ लुकिरहन सक्दैन।
एक साँझ फोनमा कुरा हुँदै थियो।
कुराकानीको प्रवाहमा समिर झुक्कियो।
उसले भनिदियो—
“त्यो दिन क्याफेमा तिमी धेरै बेर पर्खिएकी थियौ...”
वाक्य सकिन नपाउँदै ऊ चुप लाग्यो।
उताबाट मौनता छायो।
“तिमीलाई त्यो कुरा कसरी थाहा भयो?”
“कुन कुरा?”
“क्याफेमा म कसैलाई पर्खिरहेकी थिएँ! भन्ने कुरा।”
सीयाको स्वर यसपटक गम्भीर थियो।
समिरसँग अब लुकाउने ठाउँ बाँकी रहेन। न उसँग कुनै जवाफ नै थियो।
उसले लामो सास फेर्यो।
“सीया... एउटा कुरा धेरै दिनदेखि भन्न सकिरहेको थिइनँ।”
"निर्ढुक्कसँग भन न।"
"कुनै दिन तिम्रैमा आएर सबै कुरा भनौँला।"
"तिमीलाई मेरो घर कहाँ पर्छ, थाहा छ?"
"पहिला नै मैले पत्ता लगाइसकेको छु।"
"तिमीले जासुसी गर्नुपर्थ्यो र?"
"प्रश्नको बाणले मलाई नघोच। तिमीसँग भेटेर सबै कुरा भन्नेछु।"
"कहिले आउने?"
"तिमी जहिले भन्छौ।"
"भोलि नै आउन त, म पर्खिरहनेछु।"
भोलिपल्ट।
सीयाकै घरमा उनीहरू एउटै सोफामा बसेका थिए। सीया अचम्म साथ समिरलाई हेरिरहेकी थिइन्।
सत्यको जानकारी पाएपछि सीयाको मलाई हेर्ने दृष्टिकोण त बदलिँदैन? कतै उनले मलाई घृणा त गर्दिनन्! मुटुको चाल तीव्र हुँदै थियो। परिणाम जेसुकै होस्। सीयाको घरमा आज ऊ सत्य उजागर गर्ने पक्षमा आएको थियो।
साँझको घाम झ्यालबाट भित्र छिरिरहेको थियो।
हावामा अनौठो शान्ति थियो।
सीयाले सीधै उसको आँखामा हेरिन्। उनका आँखामा चञ्चलता नाचिरहेको थियो।
“अब भन्नुस् महेन्द्रजी,”
समिर केही क्षण मौन रह्यो।
त्यसपछि बिस्तारै भन्यो—
“समिर पनि म नै हुँ।”
सीया स्थिर भइन्।
“महेन्द्र पनि म नै हुँ।”
उनका आँखामा आश्चर्य क्रमिक घट्दै थियो।
समिर हल्का मुस्कुरायो।
“र त्यो हजारको नोटले तिमीसम्म पुर्याएको व्यक्ति पनि त म नै हुँ।”
केही क्षण समय नै रोकिएजस्तो भयो।
सीया निस्पन्द बसिरहिन्।
उनका आँखामा उब्जेको आश्चर्य विस्तारै खुसीमा बदलिन थाल्यो।
त्यसपछि उनी मुस्कुराइन्।
त्यो मुस्कानमा कुनै गुनासो थिएन। न घृणाको भाव नै...।
केवल राहत थियो। खुसी थियो।
वर्षौँदेखि खोजिरहेको उत्तर भेट्टाएको सन्तोष थियो।
उनी बिस्तारै समिरनजिक सरिन्।
“हेर,” उनले मधुर स्वरमा भनिन्, “हजारको नोटमा भएको नम्बरमा फोन गर्ने समिरलाई म धेरै अघिदेखि मन पराउन थालेकी थिएँ।”
समिर चुपचाप सुनिरह्यो।
“र मेरो ज्यान बचाउने महेन्द्रप्रति सम्मान पनि उत्तिकै थियो।”
उनले मुस्कुराउँदै थपिन्—
“आज थाहा भयो, ती दुवै व्यक्ति एउटै रहेछन्।”
समिरका आँखामा पनि उज्यालो भरियो।
सीयाले बिस्तारै आफ्नो टाउको समिरको काँधमा अड्याइन्।
“त्यो हजारको नोटमा मैले पैसा गुमाएकी थिइनँ।”
उनको स्वर हल्का काँपिरहेको थियो।
“त्यो हजारको नोट बाट मैले तिमीलाई पाउन लेखेको रहेछ।”
बाहिर साँझ ढल्दै थियो।
आकाश सुनौलो हुँदै बिस्तारै गाढा नीलो रङ्गमा बदलिँदै थियो।
भँगेराहरू आफ्ना गुँडतिर फर्किरहेका थिए।
र पाँच वर्षअघि एउटा झुत्रो हजारको नोटमा लेखिएको मोबाइल नम्बरले अन्ततः आफ्नो यात्रा पूरा गरेको थियो।
त्यो नोट फिर्ता आएको मात्र थिएन—
त्यसले दुई अपरिचित जीवनलाई एउटै यात्रामा बाँधिदिएको थियो।