मलाई कहिलेकाहीँ अचानक एक हुल मानवरूपी अज्ञात प्रश्नहरूले खेद्ने गर्दछन्। म पनि भागिहिँड्ने गर्दछु, र नै मानिसहरूले मलाई खोज्ने गर्दछन्। जतिजति उनीहरूले खोज्ने गर्दछन् उतिउति म भागिहिँड्ने गर्दछु। अहिले पनि म भागेर कसैको एउटा कोठाभित्र लुक्न पुगेको छु। मैले आफैलाई धेरैपल्ट सोधेको पनि छु—“यिनीहरू को हुन्? कहाँबाट आउँछन्? के चाहन्छन्?”
यी प्रश्नहरूका उत्तर दिन सक्ने एक व्यक्ति हुनुहुन्छ भन्ने सुनेको थिए। कति कोसिस गर्दा पनि उनलाई भेट्टाउन सकिरहेको छैन। तर अहिले मैले यस कोठाको खिड्कीबाट उनलाई देखेँ। मैले एक्कासि उत्साहित हुँदै उनलाई हात हल्लाएँ। उनले मलाई देख्दै देखेनन्, र मैले मनमनमा “यता! यता!” भन्दै आफूतिर फर्काउन चाहेँ। म छट्पटिएर के गरूँ, के नगरूँ भएँ। मैले कोठाभित्रको एउटा टेबलमाथिका एक-दुई सादा पन्नाहरू डल्लो पारेर उनीतिर हानेँ, तर त्यो उनीसम्म पुग्न सकेन। म झन् आफैसित तड्पिन थालेँ। त्यतिकैमा उनले एकपल्ट मतिर फर्किएर हेरे। मैले अत्तालिँदै हात हल्लाएँ, तर उनले भने मलाई देख्दै देखेनन्। मैले सानो स्वरमा सुटुक्क भने, “म यहाँ छु। एकपल्ट यहाँ आउनुहोस्।” उनले वास्तै नगरी उतैतिर हेर्दै के-के सोचे जस्तो गर्न थाले। मैले खिड्की खोलेर उनलाई आवाज दिन के खोजेको थिएँ, उनले गोजीमा केही छामेको जस्तो गरे र पुन: एकपल्ट मतिर हेरे। मैले मौका नगुमाउनलाई छिट्छिटो हात हल्लाएँ। उनी एकपल्ट मुसुक्क हाँसेर उतैतिर फर्किए र अघि गोजीबाट निकालेर हातमा राखेका एउटा सिगरेटको प्याकेटबाट एउटा सिगरेट निकाली दुई ओठले च्यापे। एकछिन त्यतिकै बसेपछि उनले एक्कासि आफ्नो प्यान्ट, सर्ट र कोटका सारा गोजीहरू छामछुम पार्न थाले।
मैले मेरो टेबलमाथि पुलुक्क हेरेँ—लाइटर रहेछ। मैले हत्तारिँदै खिड्कीबाट कराएँ, “लाइटर मसित छ।” त्यतिकैमा पुन: ढोका ढकढकाउन थाले, अज्ञात प्रश्नहरूले।
उनले मलाई देखे र इशारा पनि गरे, तर म भने उनलाई लाइटर दिऊँ कि कोठाबाट भागूँ भएँ। ढोका ढकढक गर्न बन्द भएपछि मैले उनीतिर फेरि हेरेँ—उनी उता फर्किएर सिगरेट पिउँदै उभिरहेका थिए। मैले पछाडिबाटै भए पनि उनलाई सोधेँ—“यिनीहरू को हुन्? कहाँबाट आउँछन्? के चाहन्छन्?”
दार्जीलिङ