भारतेली नेपाली साहित्यका सशक्त कवि, कथाकार, गजलकार, सम्पादक तथा अनुवादक उदय थुलुङ समकालीन साहित्यका एक महत्वपूर्ण हस्ताक्षर हुन्। सन् १९६७ सनको नोभेम्बरमा दार्जिलिङ जिल्लाको मङपुमा जन्मिएका थुलुङले विज्ञान विषयमा स्नातक (बी.एस्सी.) तथा शिक्षा विषयमा बी.एड. उत्तीर्ण गरेका छन्। उनी शारदा उच्चतर माध्यमिक विद्यालय, मङपुमा शिक्षकका रूपमा कार्यरत छन्। साहित्यिक यात्राको सुरुवात विद्यालय जीवनमै भए पनि सन् १९८३ मा सरस्वती पत्रिकामा प्रकाशित ‘यो जीवन’ कविताबाट उनको साहित्यिक उपस्थिति औपचारिक रूपमा स्थापित भएको मानिन्छ। त्यसयता उनले कविता, कथा, लघुकथा, गजल तथा अनुवादका क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका छन्। उनका प्रमुख कृतिहरूमा दुख्दो त यहाँ जिन्दगी नै छ (१९९२), विकल्प (१९९३), प्रत्यागमन (२००१), अनावृत आकाश (२००५), गोजिका (२००६), एकान्तवास (२००८), बिम्ब कविता (२०१५), अक्षरेखा (२०१७), सुनसान रेस्तुरा (२०२२) तथा उडिया कविताको अनुवादकृति प्रियतमा (२०२३) विशेष उल्लेखनीय छन्। साहित्यिक सिर्जनाका अतिरिक्त उनले सूर्योदय लगायत विभिन्न पत्रपत्रिकाको सम्पादनसमेत गरेका छन्। उनको साहित्यिक योगदानको कदरस्वरूप युग परिबोध रसिक पुरस्कार (१९९४), स्रष्टा पुरस्कार (२००३), पूर्ण राई स्मृति पुरस्कार (२००६), एकान्तवास कथा सङ्ग्रहका लागि साहित्य अकादेमी पुरस्कार (२०१२) तथा गोर्खा दुःख निवारक सम्मेलन, दार्जिलिङद्वारा प्रदत्त श्रेष्ठ शब्दकार सम्मान (२०१८) प्राप्त गरेका छन्। उनका रचनाहरू हिन्दी, अंग्रेजी, उडिया, बंगला र असमिया भाषामा समेत अनुवाद भएका छन्। प्रस्तुत छ उनीसँग गरिएको साहित्यिक कुराकानी-
वैद्यनाथ उपाध्यायः हजुरले लेखनको सुरूवात कहिले र कसरी गर्नुभयो? कुनै स्मरणीय घटना पनि थियो कि?
उदय थुलुङः स्कुले जीवनदेखि मैले लेख्न सिकेँ अथवा सुरू गरेँ। अपरिपक्व साहित्य-सिर्जनात्मक प्रयास थियो त्यो। साहित्यका पुस्तकहरू मेरा पिताजीले पढ्थे। मनलाई अल्मल्याउने र मनोरञ्जनका प्रसस्त साधनहरू नहुँदा यी पुस्तकहरूलाई जानी नजानी दोहोऱ्याई तेहऱ्याई पढ्ने अवसर खुबै पाइयो। प्रकाश 'कोविद्'का भाषा र कल्पनाशीलताले पनि धेरै असर पाऱ्यो । तरूण उमेरका मनोभावनालाई आफैले मात्रै बुझ्न सकिने कविता बनाइयो। यहीक्रम दशौँ श्रेणीमा पुग्दा लेख्ने कला अलिकति निख्खारिन गयो । यो थियो अस्सीको उत्तरार्द्धको अन्तिम बेला । त्यसपछि कविता र छुटपुट् कथा लेखनतर्फ अग्रसर भइयो ।
जीवनमा भुल्नै नसकिने एउटा रोचक घटना नै भनौँ यसलाई- म आठौँ श्रेणीको विध्यार्थी थिएँ । घरदेखि ६ किलोमिटर टाडो जङ्गलको बाटो हिँडेर गएर स्कुल पुगिन्थ्यो । एकदिन स्कुलमा साहित्य अकादमी पुरस्कार पाएका पाँचजना लेखकहरू आउँदैछन् र ठूलो कार्यक्रम हुँदैछ भन्ने हल्ला सुनेँ । मेरो मनमा जिज्ञासा बढ्यो साहित्य अकादमी पुरस्कार पाउने लेखकहरू कस्ता हुन्छन् होला भन्ने मेरो बाल मनमा खुल्दुली भयो । मैले सो कार्यक्रम हेर्ने नै अठोट गरेँ । कार्यक्रम भयो तर कार्यक्रम साँझदेखि सुरू भयो । सधैँ ठीक समयमा घर पुग्ने मान्छे, मैले त्यो दिन समयलाई बिर्सिपठाएँ । बढो भव्यताको साथ अकादमी पुरस्कार प्रापक इन्द्रबहादुर राई, ओकियामा ग्वाइन्, असीत राई, एम. एम. गुरूङ र शिवकुमार राईलाई स्कुलले स्वागत गऱ्यो । पेट्रोमेक्सको उज्यालोमा उज्यालिएको अघिल्तिर भूईँमा हाफप्यान्ट लाएर पलेँटी कसेर बसेको मैले रातको दशबजे कार्यक्रम सकिँदा यी विद्वान साहित्यकारका दिव्य वक्तव्य; कथा-कविता-निबन्ध प्रतियोगितामा विजय बनेका प्रतियोगीका विजयी प्रसन्न मुद्रा-मोहदेखि आफुलाई झसङ्ग ब्युँझाएँ । कार्यक्रम सकियो । स्कुलको आगनमा गाउँ जाने साथीहरू कोही नदेख्दा थाहा भयो, घर टाडो भएकोले कार्यक्रममा कोही बसेनन् रहेछ । मनभरि कार्यक्रमको धङधङी लिएर घर पुगेँ । घरमा आमा-पापा आत्तिनुसम्म आत्तिएछन् । म तल्लो बाटो हिँडेर घर पुगेँ, पापा माथिल्लो बाटो हिँडेर स्कुल पुगेर फेरि तल्लोबाटै फर्केछन् । सुतिसकेको मलाई उठाएर पापाले पाँच बेत हानेपछि रिस झारे। अघिको साहित्यमय आनन्द पाँच बेतमै कता पुग्यो कता । मैले रूँदै घटनाको जानकारी दिएँ । अहिले सम्झिन्छु, पापाले त्यो दिन रिसको झोँक मै पनि आफ्नो छोरोको रूचीलाई थाह पाएर पनि थाहा नपाएको अभिनय गरे होला । कविता, कथा र सर्जकप्रति देखिएको आकर्षण वास्तवमा मेरो साहित्यप्रतिको रूचिको सानो सङ्केत थिएछ भन्ने मलाई त्यो स्कुले बाल- जीवनको घटना सम्झिँदा, बोध भइरहन्छ । वास्तवमा स्कुले जीवनदेखि नै मेरो लेखनले यसरी अँकुर तयार गरेको हो भन्ने लाग्छ ।
वैद्यनाथ उपाध्यायः लेखकीय जीवनका केही संस्मरण भन्नुपर्दा के भन्नु हुन्छ ?
उदय थुलुङः लेखकीय जीवनका धेरैवटा राम्रा-नराम्रा संस्मरणहरू हुँदारहेछन् । राम्रा र स्मरणीयमध्ये-
(क) कलेज पढ्दा साथीहरूसित मिलेर 'युवा साहित्य मञ्च' गठन गऱ्यौँ । हामी सबै सिकारू लेखकहरू थियौँ । सङ्गती र 'मञ्च'को संसर्गले लेखन-अध्ययनमा निख्खार ल्याउन ठूलो सहयोग पुग्दोरहेछ भन्ने मैले बुझेँ । आज तीन भाग ती साथीहरू भारतेली नेपाली साहित्यमा परिचित नामहरू भएका छन् । एक भागले आफ्नो सर्जक गुणलाई दबाएर राखे । 'युवा साहित्य मञ्च' को सचिव विमल छेत्री हामी सबैको मनमा बसेको व्यक्ति हुन् । हामी उनलाई यो उमेरमा आइपुग्दा पनि सम्झना गरिबस्छौँ। उनी यति चाँडै भगवानको प्यारो नभएको भए अहिले एक प्रखर साहित्यकार र ठूला राजनैतिक व्यक्ति वा नेता बन्थे ।
(ख) साहित्य अकादमी पुरस्कार थाप्न दिल्ली गइयो । सुन्दर र भव्य होटलमा हामीलाई राखिएको थियो । बिहान चिया-नास्ताको समयमा चौबीस भाषाका पुरस्कार प्रापकहरू होटलको डाइनिङ रूममा भेला भयौँ । धेरै अघिदेखि खुबै मनपराएर पढिँदै गरिएका कवि चन्द्रकान्त देवतालेज्यू पनि चौबीस जनामध्ये एक थिए । परिचय हुनसाथ उनले मलाई ग्वाम्ल्वाङ्ग अङ्गालो हाले र भने, "ओहो थुलुङजी ! आप से मिलकर बहुत खुश हुँ । मैं लास्ट इयर काठमाण्डु गया था...।" त्यसपछि उनले निक्कै बेर नोस्टाल्जिक भएर नेपाल यात्राका कुराहरू सुनाइरहे । उनी बिसाएपछि सुस्तरी भने मैले, "सर, साहित्य अकादमी पुरस्कार नेपाल के साहित्यकारों को भी दिया जाता है ?" मुस्कुराएँ म । उनी झस्किए । मैले नम्रतासित कुरा बढाएँ, "मै दार्जीलिङ, पश्चिम बङ्गाल राज्य से हुँ । सुगौली सन्धी के बाद भारत मे हुँ । नेपाली भाषी गोर्खा हुँ । नेपाली साहित्य का स्तर कई भारतीय भाषा साहित्य का स्तर से उपर है ।" र फेरि मुस्कुराएँ ।उमेर धेरै पुगेका, चन्द्रकान्त देवतालेज्यूले मेरो कुरालाई सहर्ष स्वीकारे । समर्थन गरे । रमाए । मेरो कुरा बुझे र विषयसित अपडेट भएकोमा आभार व्यक्त गर्दै मलाई अङ्गाले । यत्तिसम्म गरे कि त्यहाँ भएका कति साहित्यकारसित आफै अगाडि बढेर मेरो परिचय राखे । त्यहाँ रहँदा केही पत्रकारहरूलाई समेत विनम्रतापूर्वक उनीहरूका अनभीज्ञतामा यही कुरा राख्नु परेको थियो । हुन त यस्ता अस्वाभाविक क्षणहरूसित भारतका अन्य ठाँउहरूतिर जाँदा पनि जम्काभेट नभएको होइन । अरू साहित्यकारले पनि यस्ता अस्वाभाविक अनुभूतिहरू सेयर नगरेका होइनन् । मलाई लाग्छ हामीले हाम्रो परिचय यत्रो विशाल भारत देशको भीडभाड जनसंख्या र होहल्ला बीच कराएर मात्रै होइन मधुरो तर रङ्गीन आवाजले पनि सुनाउनु पर्ने आवश्यकता रहेछ । हाम्रो परिचयको एउटै पाटोलाई मात्रै अगाडि नराखेर अरू रङ्गीन पाटाहरूलाई पनि उत्तिकै महत्व दिँदै देशको मझेरीमा सबैले देख्ने गरी फैलाउनु पर्ने समयको माग रहेछ । मेरो लेखकीय जीवनमा मैले यस्ता अनुभवहरू पाँए र समय समयमा अरूसित यो अनुभव सेयर पनि गर्छु।
वैद्यनाथ उपाध्यायः हजुर किन लेख्नु हुन्छ ?
उदय थुलुङः सुरूमा त लहडले लेखियो । उमेरले अलिकति बुज्रुक हुँदै गएपछि साहित्यिक उत्तरदायित्वबोध आफैआफ हुँदोरहेछ । जीवन र जगतलाई बुझ्दै गएपछि यी कुराहरूले अनुभूत हुन दिइरहेका सङ्गती-विसङ्गती, दु:ख-सुखले अझ धेर संवेदनशील बनाउँदोरहेछ । व्यक्तिको असन्तुलित नियती र समाज व्यवस्थाको कुरूप विम्ब देख्दा यो लेखन मन साह्रै सक्रिय भइदिन्छ । म यी कुराहरूलाई लेखन मार्फत् प्रकाशमा ल्याएर गुण-दोषको आलोचनासँगै समीक्षा गर्छु । पाठकलाई पनि सहभागी बनाउँछु र लेखक-पाठकको समयले उभेको मोडमा उभेर समाजपट्टि फर्केर हेर्न लाउँछु । लेखन-सन्देश मार्फत मेरो सिर्जनाले समाजकै हित गरोस् भन्ने उद्देश्य राख्छु ।
वैद्यनाथ उपाध्यायः हजुरको सम्पूर्ण लेखनको विषयमा संक्षेपमा भन्नुपर्दा के भन्नुहुन्छ ?
उदय थुलुङः मेरो लेखनको खासै विधा कविता र कथा नै हो । मेरो प्रथम प्रकाशित कविता 'यो जीवन' सरस्वती पत्रिकामा सन् १९८३ सालमा र प्रथम कथा 'साँध छुट्टिएको जिन्दगी' सुस्केरा पत्रिकामा सन् १९८६ मा प्रकाशित भएको हो । मेरो प्रथम कविता सङ्ग्रह 'दुख्दो यहाँ जिन्दगी नै छ' – १९९२ मा प्रकाशित भएपछि थप तीनवटा कविता सङ्ग्रह, चारवटा कथा सङ्ग्रह प्रकाशित गरेँ । साना-छोटा कवितामा प्रयोग स्वरूप एकशब्द, दुईशब्द, तीन शब्द, चार शब्दहरूका शीर्षकहीन चार हरफे 'बिम्ब कविता' नाम गरेर किताब निकालेँ । यसका धेरै अनुयायीहरू अझसम्म छन् । गजल लेख्थेँ, यसैले 'सुनसान रेस्तुँरा' भनेर गजल सङ्ग्रह प्रकाशित गरेँ । उडिया कवि डा. फनि महान्तीको कविता सङ्ग्रह 'प्रियतमा' लाई अनुवाद गरी प्रकाशित गरेँ । हालमा पाठ्य पुस्तकतिर छापिएका बाल रचनालाई लिएर बाल साहित्य पुस्तक डिटिपिमा छ ।
वैद्यनाथ उपाध्यायः हजुरले पढ्नुभएको कुनै उल्लेखयोग्य पुस्तकको विषयमा केही भन्नुहोला ।
उदय थुलुङः मन परेर पढेका धेरै राम्रा राम्रा पुस्तकहरू छन् । एक समय साहित्यकार विन्ध्या सुब्बाको 'अथाह' उपन्यास पढेर साह्रै विह्वल भएको छु । त्यो पुस्तक साह्रै उल्लेखयोग्य थियो र साहित्य अकादमी पुरस्कारले सम्मानित पनि भयो। 'सिजोफ्रेनिया' ले ग्रस्त पात्रा प्रीतिको मूल कथा भएको उपन्यास भए तापनि मानवनियोजित विविध घटनाहरूले ग्रस्त पारेका अरूका पनि उस्तै सिजोफ्रेनिक अवस्थाहरू उपन्यासभरि छन् । यस्ता पात्र-पात्राहरूका अन्तर व्यथाले निर्मित कथानक बोकेको उपन्यास 'अथाह' मलाई खुब मन परेको उपन्यास हो ।
वैद्यनाथ उपाध्यायः हजुरको दृष्टिमा जीवन के हो ?
उदय थुलुङः जीवन सरल-जटिल परिस्थितिहरूकै सञ्जाल हो । परिस्थितिहरूका विविध परीक्षणमा आफू खरो उत्रिन सके त्यो अनुभूति जीवन हो ।
वैद्यनाथ उपाध्यायः अहिले बाँचेको जीवनसित हजुर सन्तुष्ट हुनुहुन्छ ?
उदय थुलुङः साह्रै सन्तुष्ट छु। पुरानो जमाना र एआईको जमाना भेट्नु नै मेरो जीवनको सौभाग्य हो । दुवै जमानाका भौतिक संसाधनहरूसित मेरो जीवनले अभ्यस्त हुने अवसर पायो । अहिलेको मानव समाज पनि उत्तिकै उन्नत विचारशील छ। अर्को चोटि मानव जीवन पाइएन भने पनि यसै चोटिको मेरो जीवनसितै म सन्तुष्टि लिन्छु ।
वैद्यनाथ उपाध्यायः हजुरको दिन चर्या कस्तो छ ? लेखकको लागि दिनचर्या र चरित्रको के स्थान छ ?
उदय थुलुङः मेरो दिन चर्या साधारण किसिमको छ । बिहान एक घण्टा पढ्छु वा लेख्छु । एक लगनी शिक्षकको काम छ । साँझ म एक-दुई घण्टा पढ्छु वा लेख्छु । समाजका काम कुरातिर पनि समय दिन्छु । लेखकले दिनचर्याप्रति धेरै ख्याल गर्नुपर्छ । काम फारो गर्ने वा टार्दै लाने प्रवृत्तिले लेखकको सिर्जना समयसित अघि बढ्न सक्दैन । लेखकलाई समाजले एक आदर्श मान्छे ठानेरै उसको विचार र दर्शनलाई पछ्याउने प्रयास गर्छ । आफ्नो विचार र दर्शन विपरीत कमजोर चरित्र लेखकसित भयो भने त्यो धिक्कारपूर्ण हुन्छ ।
वैद्यनाथ उपाध्यायः अहिले मोबाइल र तकनीकको युगमा पुस्तक पढ्ने संस्कृति नै मासिँदै गएको जस्तो छ । यसबारे हजुर के सोच्नु हुन्छ ?
उदय थुलुङः एउटा प्रविधिको आदतले अर्को प्रविधिको आदतलाई आक्रमण गरिरहेको अवस्था हो यो । तीनसय रूपियाँ रिचार्जमा हर-सेकेण्ड संसारका कुनाकुनासित सम्पर्कित हुने अवसर छ एकापट्टि; अर्कोपट्टि सीमित पात्र-पात्रा र सीमित घटनाहरूसित शब्दहरूले भनिरहेको अर्थ-निर्देशमा भुलिनु पर्ने वाध्यता । आजको मान्छेको एक थोकबाट अनेक थोकको फेसिलिटि खोज्ने प्रवृत्ति भएकै कारण मोबाइल मोहलाई देखाएर पुस्तक पढ्ने संस्कृतिमा ह्रास आएको हो । तर मोबाइललाई मात्र दोष दिएर हुन्न । मान्छेको पुस्तक पढ्ने रूचिलाई यथावत राख्नु उसको चेतनाको कुरा हो । यसो भए कुनै समस्या देखिन्न । मलाई लाग्छ, पुस्तकको माग अझै पनि छ । पुस्तक मात्रै यस्तो चिज हो जो तथ्यहरूसितै कहिल्यै डिलिट भएर जाँदैन । समाज, देश, काल, इतिहासलाई खोजेर पाइने स्थायी ठेगाना त पुस्तक नै हो ।
वैद्यनाथ उपाध्यायः आउने पीढिले हजुरलाई कसरी याद राखोस भन्ने चाहनु हुन्छ?
उदय थुलुङः मेरा सिर्जनाहरू मेटिएर नजाउन् । यी सिर्जनाहरू मार्फत् आउने पीढिले मलाई याद राखुन् भन्छु ।
वैद्यनाथ उपाध्यायः पुस्तक संस्कृतिबाट डिजिटलको चकाचौँध तर्फ लम्किरहेको समाजमा एकजना लेखकको रूपमा आफैलाई कहाँ उभिएको पाउनु हुन्छ ?
उदय थुलुङः लेख्न सुरू गर्दा डिजिटल समयबारे कल्पनासमेत गरिएको थिएन । आजको तडकालो यथार्थ भनेको डिजिटल समय हो । स्वीकारिएन भने सर्भाइब गर्न सकिन्न । लेखकको काम सिर्जना गर्नु हो; यसलाई पुस्तक संस्कृति र डिजिटल युगले बराबर महत्व दिएको होस्। यही कुरा सोंच्छु र म अलमल्ल परिहालेको छुइनँ ।
वैद्यनाथ उपाध्यायः नयाँ लेखकलाई के सुझाउ दिन चाहनुहुन्छ ?
उदय थुलुङः नयाँ लेखकहरू भविष्यमा भारतेली नेपाली साहित्यलाई राष्ट्रिय-विश्व स्तरमा लैजान सक्ने ऊर्जावान् प्रतिभाहरू हुन् । अध्ययन र लेखनमा धेरै ध्यान दिउन् । मूल्याङ्कन पर्खि नबसून् । समयले प्रत्येक सिर्जनाको मूल्याङ्कन गर्छ, एकदिन। यति मनमा राखून् ।