19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अजिङ्गरको छाया

कथा बिजु सुवेदी विजय June 20, 2026, 1:22 am
बिजु सुवेदी विजय
बिजु सुवेदी विजय

१ : फ्रस्ट्रेसनको बीउ
वर्षाको पानी परेपछि सुकुमवासी बस्तीको गल्ली हिलोले भरिन्थ्यो । सानो विजय चप्पल हातमा बोकेर नाङ्गो खुट्टाले हिँड्थ्यो । हिलोले खुट्टा मात्रै होइन, उसले देखेको संसार पनि बेरिरहन्थ्यो । कतै खुला ढल, कतै टिनको छानोबाट चुहिने पानी, कतै रातभर खोकीले छटपटाउने बूढी आमाहरू । बिहानको घामसँगै जीवन सुरु हुन्थ्यो, तर आशा भने साँझपखको धुवाँजस्तै फिक्का हुँदै जान्थ्यो ।
विजयको बस्ती शहरको नक्सामा थियो, तर राज्यको स्मृतिमा थिएन । उसले पहिलो पटक "सरकार" भन्ने शब्द आफ्नी आमाको मुखबाट सुनेको थियो ।
"पानीको धारा जडान गरिदिन्छु भनेर फेरि आएनन् रे," आमा छिमेकीलाई भन्दै थिइन् ।
"चुनाव नजिकिएपछि फेरि आउनेछन्," छिमेकीले हाँसो र व्यङ्ग्य मिसिएको स्वरमा उत्तर दिएकी थिइन् ।
त्यतिबेला विजय सात वर्षको थियो । उसले सरकारलाई कुनै मान्छेजस्तो कल्पना गर्यो—जो वाचा गर्छ, तर फर्केर आउँदैन ।
उसको बुबा बिहान सबेरै मजदुरीमा निस्किन्थे । बेलुका थकित शरीर लिएर फर्कँदा कहिलेकाहीँ खाली हात हुन्थे ।
"आज काम पाएन," बुबाले छोटो उत्तर दिन्थे ।
त्यो वाक्यले घरको भान्सामा पकिरहेको दालको गन्ध पनि फिका पारिदिन्थ्यो ।
विजयले सरकारी विद्यालयमा पढ्यो । विद्यालयको भवन चर्किएको थियो । कहिलेकाहीँ शिक्षक आउँदैनथे । पुस्तक ढिलो आइपुग्थे । शौचालय बिग्रिएको हुन्थ्यो । स्वास्थ्य चौकीमा औषधि सकिएको हुन्थ्यो । नागरिकता बनाउन हप्तौँ धाउनुपर्थ्यो ।
उसले विस्तारै बुझ्दै गयो—समस्या एउटा घटना होइन, जीवनशैली थियो ।
राज्यसँग सम्बन्धित हरेक अनुभव निराशाको अर्को अध्याय बन्दै गइरहेको थियो ।

समयसँगै विजय किशोरावस्थामा प्रवेश गर्यो । बस्तीका उसका धेरै साथीहरू पढाइ छोडेर खाडी गए । कोही भारततिर लागे । कोही मोटरसाइकलमा खाना डेलिभरी गर्न थाले ।
"यहाँ बसेर के हुन्छ?" साथी टेकले सोध्यो ।
विजयसँग उत्तर थिएन ।
उ ऊभित्र केही उम्लिरहेको महसुस गर्थ्यो । तर त्यो रिस हो कि दुःख, उसलाई थाहा थिएन ।
कलेज पुगेपछि उसले पहिलो पटक सामाजिक सञ्जाललाई मनोरञ्जनभन्दा ठूलो कुरा ठान्न थाल्यो । त्यहाँ मानिसहरूले आफ्ना कथा सुनाइरहेका थिए । कतै अस्पतालले बिरामी फर्काएको कथा । कतै भ्रष्टाचारको प्रमाण । कतै बेरोजगार युवाको आक्रोश । कतै सुकुमवासी बस्ती हटाउने सूचना । त्यहाँ उसले आफूजस्तै हजारौँ अनुहार भेट्यो—जसलाई राज्यले कहिल्यै गम्भीरतापूर्वक सुनेको थिएन । सामाजिक सञ्जाल उनीहरूको वैकल्पिक चौतारी बन्यो । सडकमा पुग्न नसक्ने आवाजहरू त्यहाँ लेखिन्थे । प्रश्नहरू त्यहाँ उठ्थे । उत्तर मागिन्थ्यो ।
विजयले पनि लेख्न थाल्यो ।
पहिलो पोस्ट धेरै साधारण थियो—
"हाम्रो बस्तीमा तीन दिनदेखि पानी आएको छैन । कर तिर्ने नागरिक हौँ भने सेवा किन पाइँदैन ?"
केही साथीहरूले प्रतिक्रिया दिए । अर्को पोस्टमा उसले विद्यालयको तस्वीर राख्यो । त्यसपछि स्वास्थ्य चौकीको । त्यसपछि बेरोजगार युवाको कथा । शब्दहरू उसका व्यक्तिगत गुनासा थिएनन्; तिनले बिस्तारै सामूहिक पीडाको आकार लिन थाले ।

तर प्रश्नहरू बढ्दै जाँदा सत्ताको असहजता पनि बढ्दै गइरहेको थियो । एक साँझ विजय मोबाइल स्क्रोल गर्दै थियो । अचानक सञ्जालभरि एउटै समाचार फैलियो । सरकारले केही सामाजिक सञ्जाल प्लाटफर्म बन्द गर्ने निर्णय गरेको थियो ।
उसले समाचार फेरि पढ्यो ।
फेरि ।
र फेरि ।
उसलाई विश्वास लागेन ।
"किन ?" उसले आफैँलाई सोध्यो ।
बुबाले टिभीको पर्दातिर हेर्दै भने, "अब त बोल्ने ठाउँ पनि बन्द गर्ने भएछन् कि क्या हो !"
आमाले केही बुझिनन् ।
"सामाजिक सञ्जाल बन्द भयो भने के हुन्छ र ?" उनले सोधिन् ।
विजय केही क्षण मौन रह्यो ।
"हामीजस्ता मान्छेको आवाज बन्द हुन्छ, आमा," उसले बिस्तारै भन्यो ।
"हामी कहाँ गएर प्रश्न सोध्ने ?"
कोठाभित्र अचानक भारीपन छायो । टिनको छानामाथि परेको वर्षाको आवाज तीव्र हुँदै गयो । विजयलाई लाग्यो, कसैले ढोका मात्र होइन, सास फेर्ने झ्याल नै बन्द गरिदिएको छ ।

त्यो रात उसले निदाउन सकेन । उसले मोबाइलको मधुरो उज्यालोमा आफ्ना पुराना पोस्टहरू पढ्यो । साथीहरूको टिप्पणी पढ्यो ।
अनजान मानिसहरूले लेखेका पीडाहरू पढ्यो ।
कसैले लेखेको थियो—
"हामीलाई सडकमा निस्कन पनि डर लाग्छ । यहाँ लेखेर मात्रै भए पनि मन हलुका हुन्छ ।"
अर्कोले लेखेको थियो—
"हामी नागरिक हौँ कि दर्शक ?"
विजयको मनमा एउटा प्रश्न बारम्बार दोहोरिन थाल्यो—
यदि प्रश्न सोध्ने ठाउँ नै बन्द भयो भने नागरिक हुनुको अर्थ के रहन्छ ?
बाहिर पानी रोकिएको थियो । तर ऊभित्र अर्को आँधी उठिरहेको थियो । उसले मोबाइल बन्द गर्यो । झ्याल खोलेर अँध्यारो शहरतिर हेर्‍यो । दूर कतै सडकबत्ती झिलिमिली गरिरहेका थिए । ती उज्याला देखिन्थे, तर त्यसभित्र कति अन्धकार थियो, कसैले देख्दैनथ्यो ।
त्यसै बेला उसले महसुस गर्यो—
फ्रस्ट्रेसन अचानक जन्मिने चीज होइन रहेछ । यो त वर्षौँदेखि जम्मा हुँदै आएको साना-साना अपमान, अधुरा वाचा, असफल व्यवस्था र नसुनिएका आवाजहरूको बीउ रहेछ ।
र त्यो बीउ अब मौन माटोभित्र अट्ने अवस्थामा थिएन । कतै न कतै, कुनै दिन, यसले अंकुर फुटाउने थियो ।
विजयलाई अझै थाहा थिएन—
त्यो अंकुरले एउटा आन्दोलनको रूप लिनेछ ।
त्यो आन्दोलनले सत्ता बदल्नेछ ।
र त्यही आन्दोलनको छायाँभित्र उभिएर एक दिन उसले आफैँलाई सोध्नेछ—
"हामीले अजिङ्गरबाट बच्न खोज्दा, कतै अर्को अजिङ्गरको छायाँतिर त हिँडिरहेका छैनौँ ?"
२ : सडकको आगो
सहरमा त्यो बिहान केही फरक थियो । आकाश उस्तै थियो । धुलो उस्तै थियो । चिया पसलका रेडियोहरू उस्तै बजिरहेका थिए । तर मानिसहरूको आँखामा केही बदलिएको थियो । लामो समयदेखि थुनिएको क्रोधले अब शब्द खोज्न छाडेको थियो । उसले बाटो खोज्न थालेको थियो ।
विजय बिहानै उठ्यो । रातभर सामाजिक सञ्जालमा एउटा सन्देश घुमिरहेको थियो—
"अब पोस्टले मात्र पुग्दैन । सडकमा भेटौँ ।"
उसले मोबाइल बन्द गर्यो ।
आमाले भान्साबाट सोधिन्,
"आज कलेज जाँदैनस् ?"
"आज अर्को पाठ पढ्नुपर्छ, आमा," उसले जुत्ता लगाउँदै भन्यो ।
"कस्तो पाठ ?"
विजय केहीबेर मौन रह्यो ।
"नागरिक हुनुको ।"
आमाले उसको अनुहार हेरिन् । त्यो अनुहारमा उनी आफ्नो छोरो कम र कुनै अज्ञात यात्रातर्फ निस्किएको मान्छे बढी देखिरहेकी थिइन् ।
"सावधान भएर जा," उनले त्यति मात्र भनिन् ।

सडकमा पुग्दा विजय अचम्मित भयो । ऊ एक्लो थिएन । उसले सामाजिक सञ्जालका प्रोफाइल तस्वीरहरूलाई वास्तविक अनुहारमा रूपान्तरित भएको देख्यो ।
कलेजका विद्यार्थी । खाडी जान भिसा कुरिरहेका युवा । रिक्सा चलाउनेका छोराछोरी । सुकुमवासी बस्तीका किशोरहरू । दलित बस्तीका विद्यार्थी । जनजाति समुदायका युवतीहरू । शारीरिक श्रम गरेर जीवन धानेका मानिसहरू ।
सबैको हातमा एउटै कुरा थियो—
क्रोध ।
र त्यसभित्र लुकेको आशा ।
"विजय !"
ऊ फर्कियो ।
टेक दौडँदै आएको थियो । बाल्यकालको साथी । बस्तीको साथी । ह्वाग्रा खेलेको साथी । फुटबल खेलेको साथी । विद्यालयको टुटेको बेञ्च बाँडेको साथी ।
"यत्रो मानिस आउलान् भन्ने सोचेको थिइस् ?" टेकले हाँस्दै सोध्यो ।
विजयले टाढासम्म फैलिएको भीड हेर्यो ।
"साँच्चै होइन," उसले बिस्तारै भन्यो ।
सडक अब नदीजस्तो देखिन्थ्यो ।
र त्यो नदीमा पुस्तौँदेखिको निराशा बगिरहेको थियो ।

दिन बित्दै गए ।
सडकमा नारा थपिन थाले ।
कसैले लेखेको प्लेकार्डमा थियो—
"हामी उद्धारकर्ता खोजिरहेका छैनौँ, उत्तर खोजिरहेका छौँ ।"
अर्कोमा—
"मेरो बुवा गाडीमा छैनन्, तिम्रो जस्तो खाडीमा छन् ।"
अर्कोमा—
"हामीलाई देखाऊ, हामी पनि नागरिक हौँ ।"
विजयले माइक समात्न सिक्यो ।
उसले भाषण गर्न सिकेको थिएन । तर पीडा बोल्न सिकाउँदो रहेछ ।
"हामी कसैको विरोधमा मात्र होइनौँ," उसले भन्यो,
"हामी यस्तो राज्यको पक्षमा छौँ जसले नागरिकलाई नागरिक ठान्छ ।"
भीडबाट ताली बज्यो । कसैले उसको काँध समात्यो । कसैले आँसु पुछ्यो ।
कसैले भन्यो—
"पहिलो पटक लाग्यो, हामी एक्ला छैनौँ ।"

तर आन्दोलन बढ्दै जाँदा सडकको ताप पनि बढ्दै गयो । सुरुमा पानीका फोहरा आए । त्यसपछि लाठी । त्यसपछि अश्रुग्यास । त्यसपछि भागदौड ।
एक साँझ आन्दोलनबाट फर्किँदा टेकले भन्यो,
"डर लाग्दैन तँलाई ?"
विजय केहीबेर चुप रह्यो ।
"लाग्छ ।"
"त्यसो भए किन आउँछस् ?"
विजयले वरिपरि हे¥यो । सडकछेउमा एक वृद्धा आफ्नी नातिनीलाई च्यापेर बसिरहेकी थिइन् । एक युवकले टाउकोमा पट्टी बाँधेको थियो । एक युवती साथीको घाउमा पानी हाल्दै थिइन् ।
"किनकि उनीहरू पनि डराएका छन्," विजयले भन्यो,
"तर घर फर्किएका छैनन् ।"
टेक मुसुक्क हाँस्यो ।
"त्यसो भए म पनि फर्किन्न ।"

आन्दोलन देशभर फैलियो । सञ्चारमाध्यमहरूले यसलाई नाम दिन थाले । विश्लेषकहरूले व्याख्या गर्न थाले । राजनीतिज्ञहरूले स्वार्थ खोज्न थाले ।
तर सडकमा उभिएका मानिसहरूका लागि यसको अर्थ सरल थियो—
"अब पुग्यो ।"
त्यसैबीच मृतकहरूको सूची आउन थाल्यो ।
पहिलो नाम ।
दोस्रो नाम ।
तेस्रो नाम ।
विजयले ती नामहरू ध्यान दिएर पढ्यो । तीमध्ये कोही सम्पन्न परिवारका थिएनन् । कोही सुकुमवासी बस्तीका थिए । कोही दलित समुदायका । कोही दैनिक ज्यालादारी गर्ने मजदुरका सन्तान । कोही विदेश जाने तयारीमा रहेका युवा । कोही पहिलो पुस्ताका कलेज विद्यार्थी ।
उसले महसुस गर्यो—
इतिहासका पानामा सबैको रगत एउटै रङ्गको लेखिए पनि, सडकमा सबैभन्दा धेरै रगत सधैँ सीमान्तकृतहरूको बग्ने रहेछ ।
त्यो रात उसले निदाउन सकेन । उसले मृतकहरूको सूची फेरि पढ्यो । नामहरू अब समाचार रहेनन् । ती अनुहार बन्दै गइरहेका थिए । कसैको आमा थियो । कसैको भाइ । कसैको प्रेम । कसैको सपना ।

आन्दोलनको तेह्रौँ दिन ।
सहरको एउटा चोक । नारा गुञ्जिरहेको थियो । अचानक भीड तितरबितर हुन थाल्यो ।
अश्रुग्यास ।
ढुङ्गा ।
चिच्याहट ।
दौड ।
विजयले टेकलाई खोज्न थाल्यो ।
"टेक !"
उत्तर आएन ।
"टेक !"
उसले भीड चिर्दै अघि बढ्यो । त्यसपछि उसले देख्यो । सडकको किनारमा टेक लडिरहेको थियो । उसको छातीमुनि रगत फैलिँदै थियो ।
"टेक !"
विजय घुँडा टेकेर बस्यो ।
"केही हुँदैन," ऊ करायो,
"एम्बुलेन्स बोलाऊ !"
टेकले मुस्किलले आँखा खोल्यो ।
ओठ काँपिरहेका थिए ।
"विजय..."
"चुप लाग् । अस्पताल जाऔँ ।"
टेक हल्का मुस्कुरायो ।
"हामी... जित्छौँ होला ?"
विजयको घाँटी बन्द भयो ।
"जित्छौँ," उसले झूट बोल्यो,
"निश्चय जित्छौँ ।"
टेकको आँखा आकाशतिर गयो ।
"त्यसो भए... मेरो आमालाई भन्नू..."
उसको आवाज हरायो ।
"के भन्नु ? टेक ! बोल !"
"म... डराएको थिइनँ..."
त्यसपछि उसका हातहरू बिस्तारै निस्पन्द भए । सडकमा नारा अझै गुञ्जिरहेका थिए । तर विजयका लागि संसार अचानक मौन भयो ।

टेकको शव बस्तीमा ल्याइँदा हजारौँ मानिस जम्मा भए । उसकी आमाले छोरोको निधार छामिरहिन् ।
"काम खोज्न गएको भए त फर्किन्थ्यो होला," उनले रुँदै भनिन्,
"देश खोज्न गयो... फर्किएन ।"
कसैसँग उत्तर थिएन ।
विजय शवको छेउमा उभिएको थियो । उसका हातमा अझै टेकको रगतको दाग बाँकी थियो । त्यो रगत साबुनले पखालिएला । तर स्मृतिबाट कहिल्यै नमेटिने थियो ।
त्यस क्षण उसले बुझ्यो—
आन्दोलन नारा मात्र होइन रहेछ । यो त मान्छेहरूले आफ्ना सबैभन्दा प्रिय मानिसहरूलाई जोखिममा राखेर गरेको विश्वासको अर्को नाम रहेछ । र त्यो विश्वासको मूल्य सधैँ बराबरीमा तिरिँदैन रहेछ ।

रात ढल्दै थियो । बस्तीका टिनका छानामाथि हावा कराइरहेको थियो ।
विजय एक्लै बसेर टेकको अन्तिम प्रश्न सम्झिरह्यो—
"हामी जित्छौँ होला ?"
सहरमा आन्दोलन अझै बलिरहेको थियो । सत्ता अझै अडिग देखिन्थ्यो । मृतकहरूको सूची अझै बढ्न सक्थ्यो । तर अब विजयसँग फर्किने बाटो थिएन । किनकि आन्दोलन अब उसको राजनीतिक निर्णय मात्र थिएन । त्यो टेकको अधुरो वाक्य थियो । अधुरो सपना थियो । अधुरो जीवन थियो ।
र सडकमा बलिरहेको आगो अब केवल टायरको आगो थिएन—
त्यो पुस्तौँदेखि नसुनिएका मानिसहरूको अस्तित्वको आगो थियो ।
त्यो निभेमा केवल आन्दोलन हार्ने थिएन । एउटा पुस्ताले आफूलाई फेरि एकपटक अदृश्य घोषित गरेको स्वीकार गर्नुपर्ने थियो ।
टाढा कतै सायरन बजिरहेको थियो।
विजयले आँखा पुछ्यो ।
र पहिलो पटक उसले महसुस गर्यो—
कुनै आन्दोलन ठूलो बन्छ भनेर कसैले योजना बनाउँदैन ।
त्यो त तब ठूलो हुन्छ, जब मानिसहरूले आफ्ना मृतकहरूलाई काँधमा बोकेर पनि घर फर्कन अस्वीकार गर्छन् ।
३ : विजयको भ्रम
टेकको मृत्यु भएको दिनदेखि विजयलाई चाडपर्व मनाउन मन लाग्न छाडेको थियो । बस्तीमा दसैँ आयो । टिकाको तयारी भयो । बालबालिकाले नयाँ कपडाको कुरा गरे । तर टेकको घरको ढोका आधा खुला, आधा बन्द नै रह्यो । उसकी आमाले त्यो वर्ष टीका लगाइनन् ।
भित्तामा टाँसिएको टेकको तस्वीरमा मालाको फूल सुकिसकेको थियो ।
विजय जब-जब त्यहाँ पुग्थ्यो, टेकको अन्तिम प्रश्न उसको कानमा गुञ्जिन्थ्यो—
"हामी जित्छौँ होला ?"
ऊसँग अझै उत्तर थिएन ।

आन्दोलनले देशको राजनीतिक हावा बदलिसकेको थियो । सडकका नाराहरू अब सभाहलका बहस बनेका थिए । टीभी स्टुडियोहरूमा विश्लेषण भइरहेका थिए । पुराना अनुहारहरू रक्षात्मक बनेका थिए । नयाँ अनुहारहरू आशाको प्रतीक बनिरहेका थिए ।
सामाजिक सञ्जालमा एउटै वाक्य बारम्बार देखिन्थ्यो—
"अब परिवर्तन रोकिँदैन ।"
निर्वाचनको घोषणा भयो । बस्तीमा पनि असामान्य उत्साह देखिन थाल्यो । पहिलो पटक मानिसहरूले चुनावलाई औपचारिक कर्मकाण्डभन्दा बढी अर्थ दिन थाले ।
चिया पसलहरू बहसले भरिन थाले ।
"अब यिनलाई एक मौका दिनुपर्छ," कसैले भन्थ्यो ।
"हामीले सडकमा रगत बगाएका हौँ, अब मत पनि दिनुपर्छ," अर्कोले थप्थ्यो ।
विजय चुपचाप सुन्थ्यो ।
उसले टेकको अनुहार सम्झिन्थ्यो । यदि ऊ बाँचेको भए, आज यही बहसमा सबैभन्दा अगाडि हुन्थ्यो होला ।

निर्वाचनको दिन ।
बिहानैदेखि मतदान केन्द्रबाहिर लामो लाइन लाग्यो । विजयले लाइनमा उभिएका अनुहारहरू नियाल्यो । सुकुमवासी बस्तीकी वृद्धा । विदेश जानुअघि मतदान गर्न आएका युवक । काखमा बच्चा बोकेकी महिला । लठ्ठी टेकेका बूढाबूढी ।
सबैका आँखामा एउटै चाहना थियो—
"यसपटक फरक होस् ।"
मतदान गरेर निस्कँदा विजयले आफ्नो औँलाको निलो मसी हेर्यो ।
उसलाई अनौठो अनुभूति भयो ।
सडकमा उठेको आवाज अब मतपत्रमा झरेको थियो ।
टेकको अन्तिम प्रश्न सम्झँदै उसले मनमनै भन्यो—
"सायद, हामी जित्दै छौँ ।"

मतगणना सुरु भयो । देशभर उत्सुकता फैलियो । मोबाइलको पर्दा, टेलिभिजनका स्क्रोल, रेडियोका समाचार—सबैतिर परिणामको प्रतीक्षा । बस्तीमा मानिसहरू एउटै घरमा भेला भए । जब नयाँ दलका उम्मेदवारहरू लगातार अगाडि बढ्न थाले, कोठाभरि हर्षको आवाज उठ्यो ।
"हेर ! जित्दैछन् !"
"अब त केही हुन्छ !"
"हामीले जित्यौँ !"
कसैले पटाका पड्कायो । कसैले मिठाई बाँड्यो । कसैले रोएर एकअर्कालाई अँगालो हाल्यो ।
विजयको आमाले पनि मुस्कुराउँदै भनिन्,
"तिमीहरू सडकमा निस्किएको खेर गएनछ ।"
विजयले लामो समयपछि आमाको अनुहारमा आशा देख्यो । त्यो आशा देखेर उसको घाँटी भरियो ।

जब अन्तिम परिणाम सार्वजनिक भयो, देश स्तब्ध भयो । नयाँ शक्तिले अभूतपूर्व समर्थन प्राप्त गरेको थियो । अन्ततः सरकार गठन भयो ।
रास्वपाको नेतृत्वमा नयाँ अध्याय सुरु भएको घोषणा गरियो । शपथ ग्रहणको प्रत्यक्ष प्रसारण हेर्दै बस्तीमा मानिसहरूले ताली बजाए ।
"अब सुकुमवासीको समस्या समाधान हुन्छ ।"
"अब रोजगारी आउँछ ।"
"अब भ्रष्टाचार रोकिन्छ ।"
"अब हाम्रो पालो हो ।"
शब्दहरू हावामा उडिरहेका थिए । आशा संक्रामक हुन्छ । त्यो छिट्टै फैलिन्छ । र त्यो साँच्चिकै सुन्दर पनि हुन्छ ।

केही दिनपछि आन्दोलनका केही साथीहरू फेरि भेटे । पहिले जुलुस निस्किएको चोक नजिकैको चिया पसलमा ।
सुधा, निरज, प्रतीक्षा र विजय ।
"हेर त," निरजले उत्साहित हुँदै भन्यो,
"हामीले इतिहास बदल्यौँ ।"
"इतिहास होइन," प्रतीक्षाले हाँस्दै भनिन्,
"सरकार बदल्यौँ ।"
"दुवै एउटै कुरा होइन र ?" निरजले प्रतिप्रश्न गर्यो ।
सुधाले चिया चलाउँदै भनिन्,
"मलाई अझै विश्वास लाग्दैन । यति सजिलै सम्भव होला भन्ने लागेको थिएन ।"
सबै केहीबेर मौन भए ।
त्यसपछि निरजले विजयतिर फर्केर सोध्यो,
"तँ किन चुप छस् ?"
विजयले झ्यालबाहिर हेर्यो ।
त्यही सडक थियो । त्यही फुटपाथ । त्यही आकाश । तर टेक थिएन । मृतकहरूको सूचीका नामहरू थिएनन् ।
"के सोचिरहेको छस् ?" सुधाले सोधिन् ।
विजय बिस्तारै बोल्यो,
"हामीले ढोका खोलेका छौँ ।"
"त्यो त राम्रो कुरा हो नि ।"
"हो," उसले टाउको हल्लायो,
"तर ढोकाभित्र के छ, हामीलाई अझै थाहा छैन ।"

उसलाई डर लागिरहेको थियो । परिवर्तनको होइन । परिवर्तनमाथि गरिएको अन्धविश्वासको । सडकमा उभिएका धेरै मानिसहरूले कुनै उद्धारकर्ता खोजेका थिएनन् । उनीहरूले राज्यले आफ्नो न्यूनतम दायित्व पूरा गरोस् भन्ने मात्र माग गरेका थिए । तर अब उसले सामाजिक सञ्जालमा नयाँ प्रकारका पोस्टहरू देख्न थाल्यो ।
"अब प्रश्न सोध्ने बेला होइन ।"
"सरकारलाई पाँच वर्ष समय दिनुपर्छ ।"
"आलोचना गर्नेहरू परिवर्तनका शत्रु हुन् ।"
उसेको मन चसक्क भयो । हिजो प्रश्न सोध्नु नागरिक कर्तव्य थियो । आज प्रश्न सोध्नु अपराध बन्न थालेको थियो ।
यति छिट्टै ?

त्यो रात विजय टेकको घर गयो । टेककी आमा आँगनमा बसिरहेकी थिइन् ।
"सरकार बदलियो रे ?" उनले सोधिन् ।
"हो, आमा," विजयले उत्तर दियो ।
"अब राम्रो हुन्छ ?"
उनको प्रश्न सरल थियो । तर उत्तर कठिन ।
विजय केही क्षण मौन रह्यो ।
"म चाहन्छु, राम्रो होस् ।"
"तिमीलाई विश्वास छैन ?"
उसले आकाशतिर हेर्यो ।
"विश्वास छ," ऊ बिस्तारै बोल्यो,
"तर डर पनि छ ।"
"कस्तो डर ?"
विजयले टेकको तस्वीरतिर हेर्यो ।
"हामीले परिवर्तनलाई मानिसमा सीमित गरिदियौँ कि भन्ने ।"
टेककी आमाले बुझिनन् ।
तर उनले एउटा कुरा भने बुझिन्—
आशा जोगाउन पनि साहस चाहिन्छ ।

रात ढल्दै थियो । मोबाइलको पर्दामा नयाँ सरकारको प्रशंसाले भरिएका पोस्टहरू आइरहेका थिए । मानिसहरू उत्साहित थिए । देश उत्साहित थियो ।
विजय पनि खुसी थियो । उसले त्यो खुसी अस्वीकार गर्न चाहँदैनथ्यो ।
तर ऊभित्र कतै एउटा सानो आवाज उठिरहेको थियो—
"सडकको यात्रा संसद्को ढोकामा पुगेर सकिँदैन ।"
उसले आफ्नो पुरानो डायरी खोलेर लेख्यो—
"हामीले जितेका छौँ कि छैनौँ, इतिहासले पछि बताउला ।
तर यति थाहा छ—सरकार परिवर्तन हुनु नै परिवर्तनको अन्तिम परिभाषा होइन ।
यदि हामीले प्रश्न सोध्न छाड्यौँ भने, आन्दोलन मरेको दिन त्यही हुनेछ ।"
डायरी बन्द गरेर उसले झ्यालबाहिर हेर्यो । सहर निदाइरहेको थियो । सपना देख्नेहरू पनि निदाइरहेका थिए । तर इतिहास सायद कहिल्यै सुत्दैन । र विजयलाई पहिलो पटक स्पष्ट भयो—
विजय कहिलेकाहीँ अन्त्य होइन रहेछ । त्यो त भ्रम पनि हुन सक्दोरहेछ । एउटा सुन्दर, आवश्यक, तर खतरनाक भ्रम ।
किनकि सबैभन्दा कठिन यात्रा सत्ता परिवर्तनको होइन—
सत्तालाई जवाफदेही बनाइराख्ने यात्राको सुरुवात थियो ।
र त्यो यात्रा अझै बाँकी थियो ।
४ : सुकुमवासीको पीडा
सरकार बनेको तीन महिना पनि पूरा भएको थिएन । तर सुकुमवासी बस्तीका बिहानहरू फेरि पुरानै चिन्ताले भरिन थालेका थिए । पहिला मानिसहरू पानी आउने समय कुरेर उठ्थे । पछि ज्यालादारी पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा ।
अहिले भने अर्को डरले उनीहरूलाई सबेरै उठाइदिन्थ्यो—
"आज डोजर आउँछ रे !"
विजयले पहिलो पटक त्यो खबरलाई अफवाह ठानेको थियो ।
"यति चाँडै त होइन होला," उसले निरजलाई फोनमा भनेको थियो ।
"हिजो वडा कार्यालयबाट मान्छे आएका थिए," निरजको आवाज गम्भीर थियो, "मापन गरेर गएछन् ।"
"तर सरकारले त समाधान गर्ने भनेको थियो ।"
फोनको अर्को छेउमा केही क्षण मौनता छायो ।
"हामी पनि त्यही सोचिरहेका छौँ, विजय ।"

त्यो बस्ती कुनै सरकारी कागजमा अवैध हुन सक्थ्यो । तर त्यहाँका मानिसहरूका लागि त्यो उनीहरूको संसार थियो ।
त्यहीँ विजय जन्मिएको थियो । त्यहीँ उसले पहिलो पटक हिँड्न सिकेको थियो । त्यहीँ टेकसँग फुटबल खेलेको थियो । त्यहीँ टेकसँग ह्वाग्रा खेलेको थियो । त्यहीँ उसकी आमाले बिरामी छोरोलाई काखमा बोकेर रात कटाएकी थिइन् ।
टिनका छाना, बाँसका खम्बा र जस्तापाताले बनेका ती घरहरूमा केवल इँटा र माटो मात्र थिएनन् । त्यहाँ स्मृतिहरू थिए । जीवनका टुक्राहरू थिए । आश्रय थियो । अस्तित्व थियो ।

एक बिहान बस्तीको प्रवेशद्वारमा सरकारी गाडी रोकियो । केही कर्मचारी ओर्लिए । उनीहरूसँग नापजाँचका उपकरण थिए । प्रहरी पनि थिए ।
बस्तीभरि खबर फैलियो ।
"आएछन् !"
मानिसहरू घरबाट बाहिर निस्किए । महिलाहरूले बच्चाहरूलाई पछाडि सार्न थाले । बूढाबूढीहरूले कागजपत्र खोज्न थाले । कसैले नागरिकता ल्यायो । कसैले कर तिरेको रसिद । कसैले पुरानो निवेदन ।
सबैसँग एउटै प्रश्न थियो—
"अब कहाँ जाने ?"
विजय अगाडि बढ्यो ।
"हामीसँग छलफल नगरी किन यस्तो ?" उसले सोध्यो ।
एउटा कर्मचारीले औपचारिक स्वरमा उत्तर दियो,
"हामी आदेश कार्यान्वयन गर्दैछौँ ।"
"तर हामी नागरिक हौँ ।"
"त्यो माथिको निर्णय हो ।"
विजयले महसुस गर्यो—
व्यवस्था बदलिएको थियो । भाषा भने उस्तै थियो ।

त्यो दिन बस्तीमा कुनै डोजर चलेन । तर डर चल्यो । आमाहरूले रातभर सुत्न सकेनन् । बालबालिकाले आफ्ना किताबहरू झोलामा राखेर सुत्न थाले । कतै घर भत्कियो भने कम्तीमा प्रमाणपत्र त जोगियोस् भन्ने सोच । विजयकी आमाले पुराना तस्वीरहरू एउटा बाकसमा राखिन् ।
टेकसँगको बाल्यकालको एउटा तस्वीर पनि त्यही बाकसमा थियो ।
"यो किन ?" विजयले सोध्यो ।
"के थाहा," आमाले बिस्तारै भनिन्, "कुन बेला के हुन्छ ।"
त्यो वाक्यले उसको मुटु भित्रसम्म काट्यो ।

त्यस रात आन्दोलनका पुराना साथीहरू फेरि भेला भए ।
सुधाको अनुहार तनावले भरिएको थियो ।
"हिजो सुकुमवासी परिवारहरू रोइरहेका थिए," उनले भनिन् ।
निरज रिसले काँपिरहेको थियो ।
"हामीले कसका लागि आन्दोलन गरेका थियौँ ?"
कसैले उत्तर दिएन ।
प्रतीक्षाले बिस्तारै भनिन्,
"जसको बलमा सरकार बनेको हो, त्यही मानिसहरू फेरि असुरक्षित छन् ।"
कोठाभित्र मौनता फैलियो । विजयले टेकलाई सम्झियो ।
उसले आफ्नो रगत बगाएर खोजेको परिवर्तन यही थियो ?

केही दिनपछि एउटा वृद्धा विजयको घरमा आइन् । उनले काँपिरहेको हातले एउटा पुरानो फाइल अगाडि सारिन् ।
"बाबु, यो सबै कागज हो," उनले भनिन् ।
त्यसमा निवेदन थिए । सिफारिस थिए । रसिद थिए । बस्ती वैधानिक बनाउन गरिएका वर्षौँका प्रयासका प्रमाण थिए।
"म पढ्न जान्दिनँ," वृद्धाले आँखा पुछ्दै भनिन्,
"यी कागजले हाम्रो घर बचाउँछन् कि बचाउँदैनन् ?"
विजयसँग उत्तर थिएन ।
उसले फाइल समातिरह्यो ।
त्यो कागजको गन्धमा वर्षौँको प्रतीक्षा मिसिएको थियो ।

सामाजिक सञ्जालमा भने फरक दृश्य थियो ।
कसैले लेखिरहेको थियो—
"विकासका लागि कठोर निर्णय आवश्यक हुन्छ ।"
कसैले भनिरहेको थियो—
"अवैध संरचना हटाउनै पर्छ ।"
कसैले त व्यङ्ग्य गर्दै लेखेको थियो—
"भावुक भएर राज्य चल्दैन ।"
विजयले ती टिप्पणीहरू पढ्यो । उसलाई रिस उठेन । बरु दुःख लाग्यो । किनकि ती शब्दहरू लेख्ने धेरै मानिसहरूले सुकुमवासी बस्तीलाई कहिल्यै घरको रूपमा देखेका थिएनन् ।
उनीहरूका लागि त्यो केवल "संरचना" थियो ।
विजयका लागि त्यो आमा थिइन् । बाल्यकाल थियो । टेकको हाँसो थियो । उसको सम्पूर्ण जीवन थियो ।

त्यो साँझ ऊ टेक जलाएको घाट पुगेको थियो । घाम अस्ताउँदै थियो । उसले लामो समय केही बोलेन ।
त्यसपछि बिस्तारै भन्यो,
"टेक, हामीले गल्ती गर्यौँ त ?"
हावाले घाँस हल्लायो ।
कुनै उत्तर आएन ।
"हामीले सर्पबाट बच्न खोज्यौँ ।"
उसको घाँटी भरियो ।
"तर..."
उसले बाल्यकालमा हजुरबाले सुनाएको उखान सम्झियो—
"सर्पले टोकेर भाग्दा अजिङ्गर खायो ।"
त्यतिबेला त्यो केवल उखान थियो । आज त्यो अनुभव बनेको थियो । उसले सोचेको थियो—सर्पलाई चिनिन्छ । उसको विष थाहा हुन्छ । तर अजिङ्गरको खतरा फरक हुन्छ ।
ऊ नचिच्याई आउँछ । उसले छायाँ दिन्छ । विश्वास दिलाउँछ । र बिस्तारै बेर्छ । सास फेर्ने ठाउँ साँघुरो बनाउँदै जान्छ ।

घर फर्किँदा आमाले सोधिन्,
"के सरकार खराब हो त ?"
विजयले केहीबेर सोचिरह्यो ।
"मलाई थाहा छैन," उसले उत्तर दियो ।
"तिमीहरूले त जितेका थियौ नि ?"
"जितेका थियौँ ।"
"अनि ?"
उसले आमाको आँखामा हेर्यो ।
"सायद सरकार खराब हुनु र सरकारबाट गल्ती हुनु फरक कुरा हुन् ।"
"त्यसो भए ?"
"गल्ती देख्दा चुप लाग्नु अझ ठूलो गल्ती हो ।"
आमाले उसको टाउकोमा हात फेरिन् ।
"त्यसैले तिमी फेरि बोल्छौ ?"
विजयले टाढा बस्तीतिर हेर्यो । टिनका छानाहरू साँझको उज्यालोमा चम्किरहेका थिए । भित्रभित्रै डराइरहेका मानिसहरू खाना पकाउँदै थिए । बालबालिका गृहकार्य गर्दै थिए । कसैले भोलिको चिन्तामा आँखा चिम्लिरहेका थिए ।
"हो," उसले बिस्तारै भन्यो,
"यसपटक पनि बोल्नुपर्छ ।"
"आफ्नै मान्छेविरुद्ध ?"
विजयको उत्तर तुरुन्त आयो ।
"यदि आन्दोलन व्यक्तिका लागि होइन, मूल्यका लागि थियो भने—हो ।"

त्यो रात उसले डायरी खोलेर लेख्यो—
"आन्दोलनका बेला हामीले राज्यलाई प्रश्न गरेका थियौँ ।
आज प्रश्न सत्तामा पुगेका आफ्नै सपनाहरूलाई गर्नुपर्ने अवस्था आएको छ ।
हामीले नयाँ देवता खोजेका थिएनौँ ।
हामीले केवल न्यूनतम न्याय खोजेका थियौँ ।
यदि त्यो खोजी अधुरो छ भने यात्रा अझै बाँकी छ ।"
डायरी बन्द गरेर उसले झ्यालबाट बाहिर हेर्यो ।
टाढा कतै सहर उज्यालो थियो ।
तर सुकुमवासी बस्तीको अँध्यारोमा एउटा नयाँ सत्य जन्मिइरहेको थियो—
परिवर्तनको सबैभन्दा ठूलो परीक्षा सत्ता प्राप्तिमा होइन,
सत्ताले आफ्ना सबैभन्दा कमजोर नागरिकसँग कस्तो व्यवहार गर्छ भन्नेमा हुन्छ ।
र विजयले पहिलो पटक स्पष्ट रूपमा महसुस गर्यो—
अजिङ्गरको छाया साँच्चै फैलिन थालेको थियो ।
५ : सार्वभौमिकताको घाउ
जेन-जी आन्दोलनको आगो निभेको थिएन । त्यो केवल सडकबाट संसद्सम्म सरेको थियो । सुरुका केही महिनासम्म विजयले आफूलाई संयमित राख्न खोज्यो ।
उसले सोचेको थियो—नयाँ सरकारलाई काम गर्ने समय दिनुपर्छ । प्रत्येक निर्णयमा हतारिएर निष्कर्ष निकाल्नु उचित हुँदैन । आखिर उनीहरू पनि मानिस नै थिए, देवता होइनन् ।
तर केही प्रश्नहरू समयले होइन, संवेदनशीलताले उत्तर खोज्छन् ।
र राष्ट्रिय स्वाभिमान त्यस्तै प्रश्न थियो ।

त्यो बिहान विजय चिया पसलमा बसेर मोबाइल हेर्दै थियो । अचानक एउटा भिडियो क्लिप सामाजिक सञ्जालभरि फैलियो ।
प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्ति ।
भूमि र सीमासम्बन्धी विवादको प्रसङ्ग ।
उनको बोलीमा हल्कापन थियो कि कूटनीति, त्यो विजयले छुट्याउन सकेन । तर एउटा वाक्यले उसलाई भित्रसम्म चिसो बनायो ।
उसले भिडियो फेरि हेर्यो ।
फेरि ।
अनि फेरि ।
चिया चिसिँदै गयो ।
उसको हातमा समातेको गिलास काँपिरहेको थियो ।
चिया पसलका मालिकले सोधे,
"के भयो बाबु ?"
विजयले मोबाइल अगाडि सार्यो ।
"यो सुन्नुभयो ?"
बूढो पसलेले ध्यान दिएर भिडियो हेरे ।
केही क्षणपछि उनले गहिरो सास फेरे ।
"हामी गरीब हुन सक्छौँ," उनले बिस्तारै भने, "तर देश त गरीब हुनु हुँदैन नि ।"

घर फर्किएपछि विजयलाई हजुरबाको याद आयो । हजुरबा धेरै पढेका मानिस थिएनन् । तर उनले बाल्यकालमा एउटा कुरा सिकाएका थिए ।
"देश भन्नु नक्साको रेखा मात्र होइन, बाबु ।"
"त्यसो भए के हो ?"
"मान्छेको आत्मसम्मान हो ।"
"आत्मसम्मान भनेको ?"
हजुरबा मुस्कुराउँथे ।
"भोकै सुत्न सकिन्छ । तर आफ्नो घर अरूको हो भनेर सुन्न सकिँदैन ।"
त्यतिबेला विजयले त्यो कुरा बुझेको थिएन ।
आज, वर्षौँपछि, त्यो वाक्यको भार उसले महसुस गरिरहेको थियो ।

उसले सामाजिक सञ्जालमा लेख्यो—
"सरकारको आलोचना गर्नु देशको आलोचना होइन ।
तर देशको सार्वभौमिकता र भू-अखण्डताको प्रश्नमा सरकारको अभिव्यक्तिमाथि प्रश्न उठाउनु नागरिकको दायित्व हो ।
हामीले जुनसुकै दललाई मत दिएका भए पनि, देशभन्दा माथि कोही हुन सक्दैन ।"
पोस्ट अपलोड भएको केही मिनेटमै प्रतिक्रिया आउन थाले ।
केहीले लेखे—
"धन्यवाद, यही प्रश्न हामीले पनि उठाइरहेका छौँ ।"
तर धेरै प्रतिक्रियाहरू फरक थिए ।
"अहिले नै विरोध गर्न हतार नगर ।"
"प्रधानमन्त्रीले जे बोले पनि राष्ट्रहितकै लागि बोलेका हुन् ।"
"तिमीहरू परिवर्तनविरोधी हौ ।"
"पुराना दलका एजेन्टहरू सक्रिय भए ।"
विजय स्तब्ध भयो । उसले पोस्ट फेरि पढ्यो ।
कहाँ देशविरोधी कुरा लेखेको थियो ?
कहाँ अपमान गरेको थियो ?
उसले केवल प्रश्न सोधेको थियो ।

त्यो साँझ आन्दोलनका पुराना साथीहरू फेरि भेटिए ।
पहिलेझैँ चिया पसलमा । तर वातावरण बदलिएको थियो ।
निरजले रिसाउँदै भन्यो,
"राष्ट्रियताको विषयमा पनि विभाजित हुने ?"
सुधाले गम्भीर स्वरमा उत्तर दिइन्,
"मलाई लाग्थ्यो, कम्तीमा यो विषयमा हामी एउटै ठाउँमा उभिन्छौँ ।"
प्रतीक्षाले भनिन्,
"विचार फरक हुन सक्छ । नीति फरक हुन सक्छ । तर देशको भूमिको प्रश्नमा त..."
उनले वाक्य अधुरै छाडिन् ।
विजय मौन थियो ।
"तँ के सोचिरहेको छस् ?" निरजले सोध्यो ।
उसले झ्यालबाहिर हेर्दै उत्तर दियो,
"हामीले आन्दोलन गर्दा दलभन्दा माथि देशलाई राखेका थियौँ ।"
"अनि अहिले ?"
"अहिले कतिपयले देशभन्दा माथि दललाई राख्न थालेका छन् ।"

सामाजिक सञ्जाल युद्धभूमि बनेको थियो । मानिसहरू दुई शिविरमा बाँडिँदै थिए ।
एक पक्षले प्रश्न उठाइरहेको थियो ।
अर्को पक्षले प्रश्न उठाउनेहरूलाई शत्रु घोषणा गरिरहेको थियो ।
कसैले तथ्य राख्थ्यो ।
कसैले गाली ।
कसैले तर्क ।
कसैले आस्था ।
विजयले पहिलो पटक नयाँ प्रकारको डर महसुस गर्यो । पुराना सरकारका समर्थकहरूलाई उसले बुझ्थ्यो । त्यहाँ निराशा थियो, स्वार्थ थियो, बानी थियो ।
तर आन्दोलनबाट जन्मिएको नयाँ पुस्तामा पनि आलोचनाप्रति यस्तो असहिष्णुता ?
त्यो उसले कल्पना गरेको थिएन ।

एक दिन बस्तीका वृद्ध शिक्षक हरिप्रसाद सरसँग उसको भेट भयो ।
सरले सोधे,
"तिमीहरू आन्दोलन गर्ने युवाहरू अहिले किन चिन्तित देखिन्छौ ?"
विजयले सबै कुरा सुनायो ।
सर चुप लागेर सुन्दै रहे ।
त्यसपछि उनले भने,
"लोकतन्त्रको सबैभन्दा ठूलो परीक्षा चुनाव होइन ।"
"अनि के हो, सर ?"
"आफूले मन पराएको मानिसलाई पनि प्रश्न गर्न सक्ने साहस ।"
विजयले गम्भीर भएर सुनेको थियो ।
सरले थपे,
"राष्ट्रियता भनेको झण्डा हल्लाउने कुरा मात्र होइन । जब नागरिकले आफ्नो देशको गरिमामाथि प्रश्न उठ्दा संवेदनशीलता गुमाउँछ, त्यहाँ समस्या सुरु हुन्छ ।"

त्यो रात विजयले फेरि टेकलाई सम्झियो ।
यदि ऊ बाँचेको भए के गर्थ्यो ?
सायद ऊ पनि पोस्ट लेख्थ्यो ।
सायद ऊ पनि गाली खाइरहेको हुन्थ्यो ।
सायद ऊ भन्थ्यो—
"देशको माया गर्ने जिम्मा कुनै दलको एकाधिकार होइन ।"
विजय मुस्कुराउन खोज्यो ।
तर मुस्कान अधुरै रह्यो ।

डायरी खोलेर उसले लेख्यो—
"हामी फरक विचार राख्न सक्छौँ ।
फरक सरकार रोज्न सक्छौँ ।
फरक राजनीतिक बाटो हिँड्न सक्छौँ ।
तर जब राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानको प्रश्न आउँछ, हामी एउटै ठाउँमा उभिन सक्नुपर्थ्यो ।
आज मलाई सबैभन्दा बढी दुःख विरोधीहरूको प्रतिक्रियाले होइन, आफ्नै पुस्ताको विभाजनले दिएको छ ।"
उसले कलम रोक्यो । झ्यालबाहिर हेर्दा सहर सामान्य थियो । मानिसहरू हाँसिरहेका थिए । सवारीसाधन गुडिरहेका थिए । जीवन चलिरहेको थियो । तर उसको मनमा एउटा गहिरो चिरा परेको थियो । उसले आन्दोलनका दिनहरू सम्झियो । त्यतिबेला उनीहरू फरक जात, वर्ग, समुदाय र भूगोलबाट आएका थिए ।
तर एउटा कुरामा एकमत थिए—
देश नागरिकको हो, र नागरिकको आवाज देशप्रतिको प्रेमको प्रमाण हो ।
आज भने प्रेम र अन्धसमर्थनबीचको सीमारेखा धमिलिँदै गएको थियो ।
र पहिलो पटक विजयलाई लाग्यो— लोकतन्त्र केवल सत्ताको परिवर्तनले बच्दैन । त्यो नागरिकको विवेकले बाँच्छ । यदि विवेकले प्रश्न गर्न छाड्यो भने, राष्ट्रभक्ति पनि नारा मात्र बन्न सक्छ ।
उसले डायरी बन्द गर्यो ।
र मनमनै भन्यो—
"हामीलाई बाहिरी शत्रुभन्दा पहिला आफ्नै मौनताले हराउन सक्छ ।"
टाढा कतै राष्ट्रिय झण्डा हावामा फर्फराइरहेको थियो ।
तर विजयलाई लाग्यो—
झण्डाको कपडामा होइन, त्यसको अर्थमा चिरा पर्न थालेको छ ।
६ : इम्युनिटीको भ्रम
आन्दोलनका दिनहरूमा विजयले एउटा कुरा बारम्बार सुनेको थियो—
"जवाफदेहिता चाहिन्छ ।"
त्यो नारा थियो ।
त्यो माग थियो ।
त्यो सपना थियो ।
सडकमा उभिएका मानिसहरूले कुनै चमत्कारी नेता खोजेका थिएनन् । उनीहरूलाई देवता चाहिएको थिएन । उनीहरूलाई यस्तो राज्य चाहिएको थियो जहाँ प्रधानमन्त्रीदेखि वडा सदस्यसम्म कसैले पनि आफूलाई जनताभन्दा माथि नठानोस् ।
तर समय बित्दै जाँदा विजयले एउटा नयाँ शब्द सुन्न थाल्यो—
"म्यान्डेट ।"
शब्द आफैँमा गलत थिएन । जनताले दिएको विश्वास नै म्यान्डेट थियो । तर समस्या तब सुरु भयो, जब त्यो म्यान्डेटलाई विशेष छुट ठान्न थालियो ।
मानौँ, चुनाव जितेपछि प्रश्नबाट मुक्त भइन्छ ।
मानौँ, जनमतले आलोचनामाथि ढालको काम गर्छ ।
मानौँ, संसद् जवाफ दिने ठाउँ होइन, जोगिने ठाउँ हो ।

एक साँझ विजय संसद्को प्रत्यक्ष प्रसारण हेरिरहेको थियो । प्रतिपक्षका सांसदहरूले प्रश्न उठाइरहेका थिए । केही विषयमा स्पष्टता मागिरहेका थिए । तर सत्ता पक्षका अनुहारहरूमा कुनै बेचैनी देखिँदैनथ्यो ।
कसैले हाँसे । कसैले विषयान्तर गर्यो । कसैले प्रश्न उठाउनेहरूलाई नै नियतमाथि शङ्का गर्यो । विजयले टेलिभिजन बन्द गर्यो । उसलाई आन्दोलनका दिनहरू सम्झना आए । त्यतिबेला उनीहरू यही कारणले सडकमा निस्किएका थिए । शक्ति जवाफदेहिताभन्दा माथि पुगेको विरोधमा ।
आज फेरि त्यही दृश्य ?
फरक केवल कुर्सीमा बस्ने अनुहारहरूको थियो ।

"जनताले जिताएका हुन् ।"
"हामीसँग बहुमत छ ।"
"पाँच वर्ष काम गर्न दिनुपर्छ ।"
यी वाक्यहरू यति धेरै दोहोरिन थाले कि तिनले अर्को अर्थ लिन थाले । मानौँ बहुमतले नैतिकता निर्धारण गर्छ । मानौँ मतपत्रले प्रश्नको अधिकार खोस्छ ।
विजयको मनमा एउटा प्रश्न उठ्यो—
यदि जनताले प्रतिनिधित्व दिएको हो भने, त्यो जवाफदेहिताको सम्झौता हो कि इम्युनिटीको प्रमाणपत्र ?

त्यसैबेला अर्को बहस सुरु भयो ।
विद्यार्थी संगठनहरूको विषय ।
कलेज र विश्वविद्यालयमा राजनीतिक संगठनको भूमिका सीमित गर्नुपर्ने चर्चा उठ्यो ।
सामाजिक सञ्जालमा धेरैले ताली बजाए ।
"विद्यार्थीले राजनीति किन गर्ने ?"
"पढ्ने ठाउँमा आन्दोलनको के काम ?"
"सबै संगठन बन्द गरिदिनुपर्छ !"
विजय केही क्षण चुप लागेर ती प्रतिक्रिया पढिरह्यो । उसलाई आफ्नो कलेज जीवन सम्झना आयो । विद्यार्थी संगठनहरूसँग उसका सबै सहमति थिएनन् । त्यहाँ विकृति थिए । गुटबन्दी थियो । दबाब पनि थियो ।
तर एउटा सत्य उसले बिर्सन सकेन—
नेपालका धेरै लोकतान्त्रिक आन्दोलनहरूको सुरुवात विश्वविद्यालयका प्राङ्गणबाट भएको थियो ।
विद्यार्थीहरूले प्रश्न सोधेका थिए । विद्यार्थीहरूले जेल भोगेका थिए । विद्यार्थीहरूले लाठी खाएका थिए । विद्यार्थीहरूले व्यवस्था बदल्ने सपनालाई शब्द दिएका थिए । त्यसैले समस्या संगठनको अस्तित्वमा थिएन । समस्या त त्यसको दुरुपयोगमा थियो ।

विजय आफ्नो पुरानो कलेज गयो । प्राङ्गण उस्तै थियो । पुरानो पीपलको रूख । भित्तामा फिका हुँदै गएका नारा । क्यान्टिनको चिया । त्यहाँ उसले राजनीतिशास्त्र पढाउने प्राध्यापक कृष्ण सरलाई भेट्यो ।
"सर, विद्यार्थी राजनीति बन्द गर्नुपर्छ भन्ने आवाज बढ्दै गएको छ," विजयले भन्यो ।
सर केहीबेर चुप लागे ।
"तिमीलाई के लाग्छ ?" उनले प्रतिप्रश्न गरे ।
"विकृति त छन् ।"
"विकृति त संसद्मा पनि छन्," सर मुस्कुराए, "त्यसो भए संसद् बन्द गर्ने ?"
विजय मौन रह्यो ।
सरले अगाडि भने,
"लोकतन्त्रको अभ्यास गर्दै सुधार गर्ने हो । प्रतिबन्ध लगाएर होइन ।"
"तर धेरैलाई लाग्छ, विरोध गर्ने ठाउँ नै समस्या हो ।"
कृष्ण सरको स्वर गम्भीर भयो ।
"त्यही सोचबाट त अधिनायकवाद जन्मिन्छ, विजय ।"

घर फर्कँदा विजयलाई आन्दोलनको एउटा दृश्य याद आयो ।
टेक माइक समातेर चिच्याइरहेको थियो—
"हामीलाई बोल्न देऊ !"
त्यो माग केवल सरकारविरुद्ध थिएन । त्यो भावी सरकारहरूका लागि पनि चेतावनी थियो । यदि आवाजलाई व्यवस्थित रूपमा कमजोर बनाइयो भने, सत्ता जति नयाँ भए पनि स्वभाव पुरानै रहन्छ ।
________________________________________
सामाजिक सञ्जालमा विजयले एउटा लामो पोस्ट लेख्यो—
"जनताले प्रतिनिधि चुनेका हुन्, मालिक होइन ।
म्यान्डेट भनेको उत्तरदायित्व हो, इम्युनिटी होइन ।
विद्यार्थीले प्रश्न सोध्नु लोकतन्त्रको कमजोरी होइन, जीवन्तता हो ।
हामीले आन्दोलन कुनै नयाँ शक्तिलाई आलोचनामुक्त बनाउन गरेका थिएनौँ ।
हामीले त शक्ति सधैँ प्रश्नको दायरामा रहोस् भनेर गरेका थियौँ ।"
यसपटक प्रतिक्रिया अझ तीखा आए ।
"तिमीहरू कहिल्यै खुसी नहुने !"
"देश चलाउन सजिलो छ ?"
"आलोचना गर्ने बानी नै रोग हो !"
तर केही सन्देशहरू अलग थिए ।
एउटा विद्यार्थीले लेखेको थियो—
"दाइ, हामी डराउन थालेका छौँ । प्रश्न सोध्दा देशद्रोही भनिन्छ ।"
अर्कोले लेखेको थियो—
"हामीले आन्दोलनलाई यस्तै सम्झेका थियौँ । धन्यवाद, सम्झाइदिनुभएकोमा ।"
विजयले ती सन्देश धेरैबेरसम्म हेरिरह्यो ।

त्यो रात ऊ टेकको तस्वीरअघि बस्यो ।
"तँलाई थाहा छ ?" उसले बिस्तारै भन्यो, "हामीले सायद एउटा गल्ती गरेका थियौँ ।"
मौनता ।
"हामीले सोचेका थियौँ, समस्या मानिसहरू हुन् ।"
उसले गहिरो सास फेर्यो ।
"तर समस्या त शक्ति आफैँ पनि रहेछ ।"
शक्ति जसले प्रश्न मन पराउँदैन । शक्ति जसले प्रशंसा चाहन्छ । शक्ति जसले आलोचनालाई विश्वासघात ठान्छ । र शक्ति जसले जनमतलाई ढाल बनाउँछ ।

डायरी खोलेर उसले लेख्यो—
"लोकतन्त्र चुनावले सुरु हुन्छ, तर चुनावमै समाप्त हुँदैन ।
संसद् जवाफदेहिता अभ्यास गर्ने ठाउँ हो, सुरक्षित आश्रयस्थल होइन ।
म्यान्डेटलाई इम्युनिटी ठान्ने दिनदेखि नागरिक फेरि प्रजामा रूपान्तरण हुन थाल्छ ।
र जब विद्यार्थीहरू प्रश्न गर्न डराउन थाल्छन्, तब समाजको भविष्य मौन हुन थाल्छ ।"
उसले कलम बन्द गर्यो । बाहिर रात गहिरिँदै थियो । सहर शान्त देखिन्थ्यो ।
तर विजयलाई थाहा थियो—
सबैभन्दा खतरनाक मौनता बन्दुक पड्किएपछि आउने मौनता होइन । त्यो त प्रश्न सोध्न सक्ने मानिसहरूले आफ्नै शब्दमाथि शङ्का गर्न थालेपछि आउने मौनता हो ।
र उसले महसुस गर्यो—
अजिङ्गरको छाया केवल सत्तामा थिएन ।
त्यो बिस्तारै नागरिकको मनभित्र पनि पस्दै थियो—
जहाँ मानिसहरूले स्वतन्त्रतालाई सुविधाका लागि साट्न थाल्छन्,
र जवाफदेहिताभन्दा शक्तिलाई प्रेम गर्न थाल्छन् ।
७ : डेलिभरी बनाम प्रक्रिया
सहरलाई अहिले परिणाम मन पर्न थालेको थियो । कसैले सडकको खाल्डो पुरिदियो भने त्यसको भिडियो भाइरल हुन्थ्यो । कुनै कार्यालयमा आकस्मिक अनुगमन भयो भने ताली बज्थ्यो । कुनै कर्मचारीलाई सार्वजनिक रूपमा हप्काइयो भने लाखौँ भ्युज आउँथे ।
सामाजिक सञ्जालमा एउटै वाक्य घन्किन्थ्यो—
"कम्तीमा काम त गरिरहेको छ !"
जस्तो कि "काम" शब्दले बाँकी सबै प्रश्नहरूलाई चुप लगाइदिन्थ्यो । विजयले पनि सुरुमा यस्ता भिडियोहरू हेरेर खुसी भएको थियो । आखिर नागरिकलाई राज्यले काम गरेको अनुभूति चाहिन्थ्यो । वर्षौँदेखि "डेलिभरी" नपाएका मानिसहरूका लागि साना परिवर्तन पनि ठूलो आशा बन्न सक्थे ।
तर केही समयपछि उसले एउटा अनौठो कुरा देख्न थाल्यो । सबैले परिणामको कुरा गरिरहेका थिए । तर कसैले प्रक्रियाको कुरा गरिरहेको थिएन ।

एक दिन बस्तीको चिया पसलमा केही युवाहरू उत्साहित हुँदै बहस गरिरहेका थिए ।
"हेर न, कस्तो दमदार काम !"
"हो, यस्तै चाहिएको हो ।"
"नियम-कानुन धेरै हेर्दा देश कहिल्यै बन्दैन ।"
त्यो अन्तिम वाक्यले विजयलाई झस्कायो ।
उसले चिया टेबलमा राख्यो ।
"नियम-कानुन नहेरी काम गर्ने हो भने ?" उसले सोध्यो ।
एक युवक हाँस्यो ।
"दाइ, जनता परिणाम चाहन्छन् ।"
"तर परिणाम कसरी आयो भन्ने महत्त्वपूर्ण हुँदैन ?"
"काम भयो भने पुग्यो नि !"
विजय केही क्षण मौन रह्यो ।
त्यसपछि बिस्तारै भन्यो,
"यदि भोलि कसैले तिम्रो घर भत्काएर अस्पताल बनायो भने ? अस्पताल राम्रो काम हो । तर तिम्रो घर भत्काउने प्रक्रिया गलत भयो भने ?"
युवक चुप लाग्यो ।
विजयले थप्यो,
"डेलिभरीले परिणाम देखाउँछ । प्रक्रियाले नियत देखाउँछ ।"

त्यो रात उसले आन्दोलनका दिनहरू सम्झियो । उनीहरूले सडकमा उभिएर केवल विकास मागेका थिएनन् । उनीहरूले सम्मान मागेका थिए । पारदर्शिता मागेका थिए । कानुन सबैका लागि बराबर होस् भनेका थिए । उनीहरूले गलत प्रक्रियाबाट आएको सही परिणाम पनि खतरनाक हुन सक्छ भन्ने विश्वास गरेका थिए ।
किनकि आज राम्रो मानिसले नियम तोड्यो भने भोलि नराम्रो मानिसले त्यही उदाहरण प्रयोग गर्छ ।
र त्यतिबेला रोक्ने आधार बाँकी रहँदैन ।

सरकारका समर्थकहरू बारम्बार एउटै कुरा दोहोर्याउँथे—
"हामी डेलिभर गर्न आएका हौँ ।"
यो वाक्य आकर्षक थियो ।
दुःखी नागरिकलाई आशावादी बनाउने खालको ।
तर विजयको मनमा अर्को प्रश्न उठ्थ्यो—
"यदि डेलिभरीका नाममा प्रक्रिया मिचियो भने ?"
"यदि नियमलाई झन्झट ठानियो भने ?"
"यदि कानुन परिणामको बाधकजस्तो देखिन थाल्यो भने ?"

एक दिन उसले पुराना आन्दोलनकारी साथीहरूलाई भेट्यो ।
सुधाले मोबाइल देखाउँदै भनिन्,
"हेर, आज फेरि एउटा भिडियो भाइरल भएको छ ।"
कुनै अधिकारीलाई सार्वजनिक रूपमा अपमानित गरिएको दृश्य थियो ।
कमेन्टहरू प्रशंसाले भरिएका थिए ।
"वाह ! यस्तो नेतृत्व चाहिन्छ !"
"यिनले कसैलाई बाँकी राख्दैनन् !"
निरजले गम्भीर स्वरमा भन्यो,
"हामीलाई न्याय चाहिएको हो कि प्रदर्शन ?"
प्रतीक्षाले थपिन्,
"राज्य चलाउनु र कन्टेन्ट बनाउनु एउटै कुरा होइन ।"
विजय चुपचाप भिडियो हेरिरह्यो ।
उसलाई अचानक लाग्यो—
देशलाई शासन होइन, दर्शक बनाइँदै छ । जहाँ नागरिकले नीति होइन, क्लिप हेर्छन् । प्रक्रिया होइन, दृश्य खोज्छन् । सत्य होइन, भाइरल हुने कुरा पत्याउँछन् ।

सामाजिक सञ्जालको भाषा पनि बदलिँदै थियो ।
पहिले मानिसहरू लेख्थे—
"प्रश्न सोधौँ ।"
अब धेरैले लेख्न थाले—
"यति पनि आलोचना नगर्नुहोस् ।"
"अहिले बोल्ने समय होइन ।"
"चुप लागेर काम गर्न दिनुपर्छ ।"
विजयले आफ्नै औँलाहरूलाई मोबाइलको किबोर्डमाथि रोकेको पायो ।
उसले एउटा पोस्ट लेख्यो ।
मेटायो ।
फेरि लेख्यो ।
फेरि मेटायो ।
अचानक ऊ आफैँसँग डराएको थियो ।
"मानिसहरूले के भन्लान् ?"
"फेरि देशविरोधी भनिएला ।"
"परिवर्तनविरोधी ठहरिएला ।"
त्यसपछि ऊ झस्कियो । यो डर बाहिरबाट आएको थिएन । यो त भित्र पसिसकेको थियो ।
सेल्फ सेन्सरसिप ।
आफ्नै शब्दमाथि पहरा बसाल्ने बानी । बोल्नुअघि सयपटक सोच्ने अवस्था । सत्यभन्दा प्रतिक्रियाको डर ठूलो हुने अवस्था ।

त्यो रात विजय टेकको पुरानो च्याट पढ्दै थियो ।
आन्दोलनको सुरुवाततिर टेकले लेखेको थियो—
"डर लागे पनि बोल्नुपर्छ ।
नत्र भोलि हामी आफैँलाई चिन्न सक्दैनौँ ।"
विजयको आँखामा आँसु भरियो । टेक जीवित हुँदो हो त ? के ऊ पनि आज पोस्ट लेख्नुअघि डराउँथ्यो ? के ऊ पनि आफ्ना शब्दहरू मेटाउँथ्यो ?
कि फेरि माइक समातेर चिच्याउँथ्यो—
"हामीले नयाँ देवता खोजेका होइनौँ !"

डायरी खोलेर विजयले लेख्यो—
"डेलिभरी आवश्यक छ ।
जनताले सेवा पाउनुपर्छ ।
तर प्रक्रिया त्यागेर आएको परिणाम टिकाउ हुँदैन ।
रुल अफ ल' लाई बेवास्ता गरेर प्राप्त गरिएको लोकप्रियता लोकतन्त्रको विजय होइन ।
राज्य सञ्चालन भाइरल कन्टेन्ट निर्माण होइन ।
जब नागरिकहरू आफ्नै प्रश्नहरू लेख्न डराउन थाल्छन्, त्यतिबेला अधिनायकवाद घोषणा गरेर आउँदैन ।
ऊ त बिस्तारै मानिसहरूको मनभित्र बसाइँ सर्छ ।"
उसले कलम बन्द गर्यो । झ्यालबाहिर सहर अझै उज्यालो थियो । मोबाइलका पर्दाहरू अझै चम्किरहेका थिए । क्लिपहरू भाइरल भइरहेका थिए । तालीहरू बजिरहेका थिए ।
तर विजयलाई लाग्यो—
लोकतन्त्र कहिल्यै एकैचोटि मर्दैन । ऊ सानो-सानो सम्झौतामा कमजोर बन्छ । प्रश्नभन्दा लोकप्रियतालाई ठूलो मान्ने बानीमा । प्रक्रियाभन्दा परिणामलाई पूज्ने संस्कृतिमा ।
र अन्ततः त्यस दिन—
जब नागरिकले आफ्नै मनभित्र उठेको प्रश्नलाई आफैँ चुप लगाउँछन् ।
विजयले डायरी बन्द गर्दै मनमनै भन्यो—
"हामीले सडकमा उभिएर आवाज मागेका थियौँ । अब त्यो आवाज बचाइराख्ने लडाइँ सुरु भएको छ ।"
टाढा कतै अर्को भिडियो भाइरल हुँदै थियो ।
तर सहरको कोलाहलभन्दा गहिरो आवाज विजयले आफ्नै भित्र सुनेको थियो—
"सावधान, अजिङ्गर कहिल्यै एकैचोटि निल्दैन ।
ऊ पहिले बोल्ने बानी खोस्छ ।"
८ : गुड लुकिङ कल्चर
टेकको मृत्यु भएको एक वर्ष पुग्न लागेको थियो । सहर फेरि सामान्य देखिन थालेको थियो । जुलुसका नारा अब सामाजिक सञ्जालका स्मृतिहरू बनेका थिए । सडकका धुलाम्मे तस्बिरहरू पुराना पोस्टमा सीमित भएका थिए । आन्दोलनको समयमा वीरतापूर्वक बोल्ने धेरै अनुहारहरू अब सरकारी भवनका बैठक कोठामा देखिन थालेका थिए ।
र विजयले एउटा अनौठो परिवर्तन महसुस गर्न थाल्यो । पहिले मानिसहरू नेताको वरिपरि भेला हुन्थे । अहिले पनि भेला भइरहेका थिए । फरक केवल अनुहारको थियो ।

एक साँझ विजयलाई एउटा फोन आयो ।
"भोलि भेट्न सकिन्छ ?" आवाज परिचित थियो ।
समीर ।
आन्दोलनका दिनहरूको साथी ।
जसले टेकको शव काँधमा बोकेको थियो ।
जसले अश्रुग्यासको धुवाँबीच उभिएर कराएको थियो—
"सत्ता जनताको सेवक हो !"
विजय मुस्कुरायो ।
"अवश्य ।"

भोलिपल्ट उनीहरू शहरको एउटा नयाँ क्याफेमा भेटे ।
पहिले चिया पसलमा बस्ने समीर अहिले सफा सुटमा थियो । उसको हातमा महँगो मोबाइल थियो । टेबलमा राखिएको गाडीको चाबी चम्किरहेको थियो ।
"कस्तो छस् ?" विजयले सोध्यो ।
"राम्रो," समीर हाँस्यो, "धेरै व्यस्त पनि ।"
"सुनेको थिएँ, सरकारसँग काम गर्न थालेछस् ।"
"हो । सल्लाहकार टोलीमा छु ।"
विजयले बधाई दियो । उसलाई साँच्चै खुसी लागेको थियो । उनीहरूमध्ये कोही निर्णय प्रक्रियामा पुगेको थियो । सायद, त्यही परिवर्तनको अर्थ थियो।
तर कुराकानी अगाडि बढ्दै जाँदा केही बदलिएको महसुस हुन थाल्यो।

"सुकुमवासीको विषयमा तिमीहरू किन चुप ?" विजयले सोध्यो ।
समीरले पानीको गिलास उठायो ।
"सबै कुरा सार्वजनिक रूपमा बोल्नु उचित हुँदैन ।"
"तर तिमी त पहिले सबैभन्दा अगाडि बोल्थ्यौ ।"
"अब जिम्मेवारी फरक छ, विजय ।"
"जिम्मेवारी भनेको चुप लाग्नु हो ?"
समीर केही क्षण मौन रह्यो ।
"देश चलाउन सजिलो हुँदैन ।"
"त्यसैले प्रश्न नै नगर्ने ?"
"तिमीहरूले पनि बुझ्नुपर्छ । अहिले सरकारलाई स्थिरता चाहिएको छ ।"
विजयले समीरको अनुहार हेर्यो ।
त्यही आँखाहरू ।
त्यही स्वर ।
तर शब्दहरू बदलिएका थिए ।

क्याफेबाट निस्कँदा विजयलाई आन्दोलनको एउटा दृश्य याद आयो । अश्रुग्यासले भरिएको सडक । समीर उसको काँध समातेर चिच्याइरहेको थियो—
"चुप लाग्ने हो भने हामी किन निस्कियौँ ?"
आज उही समीर भनिरहेको थियो—
"अहिले बोल्ने बेला होइन ।"
विजयलाई अचानक भारी लाग्यो । उसले समीरलाई दोष दिन खोजेन । सायद शक्ति नजिक पुग्दा मानिसहरू जटिल निर्णयहरूलाई भार बुझ्न थाल्छन् ।
तर एउटा प्रश्नले उसलाई छोडेन—
के जिम्मेवारीले विवेक खोस्नुपर्छ ?

त्यसपछि उसले सामाजिक सञ्जाल नियाल्न थाल्यो । त्यहाँ एउटा नयाँ संस्कृति जन्मिएको थियो । सरकारको वरिपरि बसेका मानिसहरूले गल्तीलाई गल्ती भन्न छाडेका थिए । साना उपलब्धिलाई असाधारण उपलब्धि घोषणा गरिन्थ्यो । आलोचना गर्नेहरूलाई नियतले आक्रमण गरिन्थ्यो ।
समर्थनलाई निष्ठा भनिन्थ्यो ।
मौनतालाई परिपक्वता ।
र प्रश्नलाई विश्वासघात ।
विजयलाई अंग्रेजीको एउटा शब्द सम्झना आयो—
Good Looking Culture.
बाहिरबाट सबै सुन्दर देखिने संस्कृति ।
जहाँ मुस्कान हुन्छ ।
ताली हुन्छ ।
प्रशंसा हुन्छ ।
तर भित्रको समस्या देखाउने ऐना फुटाइन्छ ।

उसले पुराना सरकारहरू सम्झियो।
त्यतिबेला पनि यस्तै थियो ।
वरिपरि मानिसहरू हुन्थे ।
"हजुर ठीक हुनुहुन्छ" भन्नेहरू ।
"जनताले बुझेनन्" भन्नेहरू ।
"यो आलोचना होइन, षड्यन्त्र हो" भन्नेहरू ।
त्यतिबेला आन्दोलनकारीहरूले त्यसको विरोध गरेका थिए ।
आज ?
उही संस्कृति नयाँ अनुहारसहित फर्किएको थियो ।

त्यो रात विजय टेकको आमालाई भेट्न गयो ।
"समीरलाई भेटेर आएँ," उसले भन्यो ।
"राम्रो छ त ?" उनले सोधिन् ।
"राम्रो छ ।"
"अनि ?"
विजय चुप लाग्यो ।
"केही छैन," उसले मुस्कुराउन खोज्यो ।
तर टेककी आमाले उसको अनुहार पढिसकेकी थिइन् ।
"मान्छे बदलियो ?"
"सायद ।"
"वा परिस्थिति बदलियो ?" उनले बिस्तारै भनिन् ।
विजयले उत्तर दिन सकेन ।
त्यसपछि वृद्ध आमाले अर्को कुरा थपिन्—
"बाबु, नजिक बस्ने मान्छेले गल्ती देखाएर बचाउँछ । टाढा बस्नेले ताली बजाएर बिगार्छ ।"
विजय स्तब्ध भयो ।
टेककी आमाले विद्यालय पढेकी थिइनन् ।
तर जीवनले उनलाई गहिरो शिक्षा दिएको थियो ।

त्यो रात उसले डायरी खोलेर लेख्यो—
"हामीले पुराना अनुहार हटाउन आन्दोलन गरेका थियौँ ।
तर पुरानो संस्कृति हटाउन अझ कठिन रहेछ ।
सत्ताको वरिपरि बस्नकै लागि आलोचना नगर्ने प्रवृत्ति फेरि फर्किँदै छ ।
प्रशंसा आवश्यक छ, तर विवेकविहीन समर्थन खतरनाक हुन्छ ।
नेतालाई देवता बनाउने संस्कृतिले अन्ततः नेता र जनतालाई दुवैलाई धोका दिन्छ ।"
उसले केही क्षण रोकिएर अर्को हरफ थप्यो—
"हामीले नयाँ मानिस खोजेका थियौँ ।
तर नयाँ संस्कृतिको निर्माण गर्न बिर्सियौँ कि ?"

झ्यालबाहिर सहर उज्यालो थियो ।
सरकारका समर्थकहरू उत्सवमा थिए ।
विरोधीहरू आक्रोशमा ।
र धेरै नागरिकहरू बीचमा उभिएर अन्योलमा ।
विजयलाई लाग्यो—
लोकतन्त्रको सबैभन्दा ठूलो शत्रु सधैँ खुलेआम आउने अधिनायकवाद मात्र होइन ।
कहिलेकाहीँ त्यो प्रशंसाको स्वरमा आउँछ ।
मुस्कान बोकेर आउँछ ।
नजिकको सर्कल बनेर आउँछ ।
र बिस्तारै सत्तालाई यति सुन्दर ऐना देखाउँछ कि उसले आफ्नो वास्तविक अनुहार नै देख्न छोड्छ ।
उसले डायरी बन्द गर्यो ।
र समीरको विदाइको वाक्य सम्झियो—
"अहिले आलोचना होइन, समर्थन चाहिएको छ ।"
विजयले मनमनै उत्तर दियो—
"समर्थनले सरकार बनाउन सक्छ, समीर ।
तर आलोचनाले मात्र लोकतन्त्र बचाउँछ ।"
टाढा कतै अर्को प्रशंसात्मक पोस्ट भाइरल भइरहेको थियो ।
र अजिङ्गरको छायाँ अझै फैलिँदै थियो—
यसपटक डरको रूपमा होइन,
तालीको रूपमा ।
९ : मुर्दाको सम्मान
कहिलेकाहीँ एउटा शब्दले समाजको चरित्र उजागर गरिदिन्छ ।
त्यो दिन पनि यस्तै भयो ।
समाचार च्यानलहरूमा एउटै विषय घुमिरहेको थियो । सामाजिक सञ्जालमा बहसको बाढी आएको थियो । प्रधानमन्त्रीले आफूलाई "मुर्दा" भनिएको प्रसङ्गप्रति सार्वजनिक असन्तुष्टि व्यक्त गरेका थि ए। समर्थकहरू आक्रोशित थिए । विरोधीहरू व्यङ्ग्य गरिरहेका थिए ।
देश केही दिनका लागि एउटा शब्दको वरिपरि घुम्न थालेको थियो—
"मुर्दा ।"
विजयले मोबाइल बन्द गर्यो । उसको मनमा भने अर्को दृश्य चलिरहेको थियो ।
टेकको निस्पन्द शरीर ।
रगतले भिजेको सडक ।
रोइरहेकी उसकी आमा ।
र ती सबै मृतकहरू, जसको नाम आन्दोलनको इतिहासमा त लेखियो, तर न्यायको पर्खाइ अझै सकिएको थिएन ।

"मुर्दा..."
उसले मनमनै त्यो शब्द दोहोर्‍यायो ।
उसलाई लाग्यो, यो शब्दलाई अपमानका रूपमा प्रयोग गर्ने समाजले मृत्युको अर्थ बुझ्न छोड्दै गएको छ ।
उसको हजुरआमाले भन्थिन्,
"मरेका मान्छेलाई नराम्रो बोलिँदैन, बाबु ।"
"किन ?"
"किनकि उनीहरूले आफ्नो यात्रा पूरा गरिसकेका हुन्छन् । बाँकी जिम्मेवारी जीवितहरूको हुन्छ ।"
बाल्यकालमा उसले त्यो कुरा सामान्य संस्कार ठानेको थियो ।
आज त्यो नै दर्शनजस्तो लागिरहेको थियो ।

त्यही साँझ विजय टेकको रामकोटको घर पुग्यो । टेककी आमा आँगनमा साग टिपिरहेकी थिइन् । उनी पहिलाभन्दा धेरै बूढी देखिन्थिन् ।
आँखाका डिलमा स्थायी थकान बसेको थियो ।
"आउनुस्, बाबु," उनले भनिन् ।
विजय केहीबेर चुपचाप बसिरह्यो ।
अन्ततः उसले सोध्यो,
"आमा, टेकको कुरा अहिले कसैले गर्छ , उसले त ताकतका लागि हरीप खुवाउनु पर्छ हैन ?"
वृद्ध आमाले इशारा गर्दै सागको टोकरी एकातिर राखिन् ।
"चुनावको बेला धेरै आए ।"
"अहिले ?"
"कहिलेकाहीँ पत्रकार आउँछन् ।"
"सरकारबाट ?"
उनी मुस्कुराइन् ।
त्यो मुस्कानमा कटुता थिएन ।
केवल स्वीकार थियो ।
"हामी त पर्खिन सिकेका मान्छे हौँ, बाबु ।"
विजयको घाँटी सुकेको महसुस भयो ।
"न्यायको पनि ?"
"त्यो त अझै बढी ।"

अर्को हप्ता ऊ आन्दोलनमा ज्यान गुमाएका अर्का युवक रोशनको घर गयो । सहरको छेउमा रहेको सानो कोठा । भित्तामा प्रमाणपत्रहरू टाँसिएका थिए । रोशन पहिलो पुस्ताका कलेज विद्यार्थी थिए । ऊ दुःख गरी एउटै कोठामा गुजारा गरी संकुचित भई बसेको पीडा पोख्दा टेकले ऊ पनि बसेको उसको कोठाकै साइजमा तर १० जना कसरी एउटै कोठामा महासंकुचित भई ऊभन्दा राम्रो पढेको देखेपछि उसमा धेरै नै ऊर्जा दिलाएको थियो ।
उनकी बहिनीले एउटा पुरानो डायरी निकालिन् ।
"दाइले लेख्नुहुन्थ्यो," उनले भनिन् ।
विजयले डायरी खोलेर पढ्यो ।
एउटा पानामा लेखिएको थियो—
"यदि म डराएर चुप लागेँ भने, भोलि मेरो भाइले पनि यही जीवन बाँच्नुपर्छ ।"
उसले डायरी बिस्तारै बन्द गर्यो ।
रोशन अब "मृतक नम्बर चार" थिएनन् ।
ऊ एउटा सपना थियो । एउटा जिम्मेवारी थियो । एउटा अधुरो भविष्य थियो ।

घर फर्केर विजयले लामो लेख लेख्न थाल्यो ।
शीर्षक थियो—
"मुर्दाको सम्मान"
उसले लेख्यो—
हामी मृत शरीरलाई किन यति सजिलै अपमानको प्रतीक बनाउँछौँ ?
एउटा मृत शरीरले पनि अन्तिम क्षणसम्म योगदान गरिरहेको हुन्छ । ऊ प्रकृतिमा फर्किन्छ । माटो बन्छ । त्यही माटोबाट नयाँ जीवन अंकुराउँछ ।
मृत्यु निष्क्रियता होइन, जीवनचक्रको निरन्तरता हो ।
ऊ केहीबेर रोकियो ।
टेकको अनुहार सम्झियो ।
फेरि लेख्यो—
आन्दोलनमा ज्यान गुमाएकाहरू आज पनि न्यायको प्रतीक्षामा छन् ।
उनीहरूको बलिदानले सरकार परिवर्तन गर्‍यो । तर उनीहरूका परिवार अझै उत्तर खोजिरहेका छन् ।
यदि हामीलाई "मुर्दा" भन्ने शब्दले चोट लाग्छ भने, हामीले ती मुर्दाहरूलाई सम्झनुपर्छ जसको रगतले इतिहासको दिशा बदल्यो ।
उसले कलम रोक्न सकेन ।
हामीले मृतकको नाममा राजनीति गर्‍यौँ कि ?
उनीहरूको तस्वीर बोकेर नारा लगायौँ, तर उनीहरूका आमाहरूको ढोका बिर्सियौँ कि ?
यदि त्यस्तो हो भने, अपमान शब्दमा होइन, हाम्रो स्मृतिमा छ ।

लेख प्रकाशित भएपछि प्रतिक्रियाहरू आउन थाले ।
कसैले लेखे—
"भावुकता फैलाउन खोजिएको छ ।"
कसैले भने—
"राजनीतिमा यस्ता कुरा सामान्य हुन् ।"
तर धेरै प्रतिक्रियाहरू फरक थिए ।
एउटी महिलाले लेखिन्—
"मेरो छोरा पनि आन्दोलनमा घाइते भएको थियो । तपाईंको लेख पढेर रोएँ ।"
एउटा युवकले लेख्यो—
"हामी मृतकलाई नारा बनाउँछौँ, मान्छे होइन ।"
विजय धेरैबेर ती सन्देशहरू पढिरह्यो ।

केही दिनपछि आन्दोलनका पीडित परिवारहरूको सानो भेटघाट भयो । कोही लाठीचार्जमा खुट्टा गुमाएका थिए । कोही अझै उपचार गराइरहेका थिए । कोही आफ्ना प्रियजनको तस्वीर बोकेर आएका थिए । त्यहाँ कुनै नारा थिएन । कुनै मञ्च थिएन । कुनै क्यामेरा थिएन । केवल मौनता थियो ।
रोशनकी बहिनीले बिस्तारै भनिन्,
"हामीलाई धेरै कुरा चाहिएको छैन ।"
"के चाहिएको छ ?" विजयले सोध्यो ।
"कसैले सम्झियोस् ।"
टेककी आमाले थपिन्,
"र न्याय ।"
त्यो शब्द कोठाभरि फैलियो ।
न्याय ।
सजिलो शब्द ।
तर सबैभन्दा कठिन प्रतिज्ञा ।

त्यो रात विजयले डायरी खोलेर लेख्यो—
"मृतकहरूलाई सम्मान गर्नु भनेको उनीहरूको तस्वीरमा माला चढाउनु मात्र होइन ।
उनीहरूले किन मर्नुपर्‍यो भन्ने प्रश्न जोगाइराख्नु हो ।
उनीहरूको परिवारलाई बिर्सन नदिनु हो ।
उनीहरूको बलिदानलाई राजनीतिक पुँजीमा सीमित हुन नदिनु हो ।"
ऊ केहीबेर रोकियो ।
अन्तिम हरफ लेख्यो—
"मलाई 'मुर्दा' शब्दले दुःख दिँदैन ।
मलाई दुःख तब लाग्छ, जब जीवित मानिसहरूले आफ्ना मृतकहरूप्रति जिम्मेवारी बिर्सिन्छन् ।"
उसले डायरी बन्द गर्यो ।
झ्यालबाहिर रात गहिरिएको थियो । सहरमा बहसहरू अझै चलिरहेका थिए । शब्दहरू उछालिइरहेका थिए । अपमान र प्रतिअपमानका खेलहरू जारी थिए ।
तर विजयलाई लाग्यो—
इतिहास अन्ततः शब्दहरूले होइन, स्मृतिले न्याय गर्छ ।
र कुनै पनि समाजको नैतिकता यसले निर्धारण गर्छ—
उसले आफ्ना मृतकहरूलाई कसरी सम्झन्छ ।
टेक ।
रोशन ।
र ती सबै नामहरू, जो सूचीमा सीमित गरिए ।
उनीहरू मुर्दा थिए ।
तर उनीहरूकै कारण धेरै जीवित मानिसहरूले भविष्यको कल्पना गर्न सकेका थिए ।
त्यसैले विजयले मनमनै बाचा गर्यो—
"तिमीहरूलाई नारा बनाएर बिर्सिने छैनौँ ।
तिमीहरूलाई सम्झेर प्रश्न सोधिरहनेछौँ ।"
टाढा कतै रात फुटेर बिहानको पहिलो उज्यालो फर्फरिन थालेको थियो ।
र त्यो उज्यालोमा, मृतकहरूको मौनताभित्र पनि एउटा आग्रह जीवित थियो—
"हामीलाई श्रद्धाञ्जली होइन, न्याय देऊ ।"
१० : नेपोटिजमको नयाँ रूप
आन्दोलनको समयमा एउटा नारा धेरै लोकप्रिय भएको थियो—
"अब आफ्ना मान्छेको पालो होइन, योग्य मान्छेको पालो ।"
त्यो नारा केवल राजनीतिक परिवर्तनको माग थिएन । त्यो संस्कृतिको परिवर्तनको माग थियो ।
विजयलाई अझै सम्झना थियो, टेकले हाँस्दै भनेको थियो—
"अब त जागिर खान मन्त्रीको आफन्त हुनुपर्दैन होला, है ?"
त्यतिबेला सबै हाँसेका थिए । किनकि उनीहरूलाई लाग्थ्यो, त्यो हाँसो अब इतिहास बन्नेछ ।
तर इतिहास कहिलेकाहीँ आफूलाई नयाँ अनुहार लगाएर दोहोर्याउँदो रहेछ ।

सरकार गठन भएको केही समयपछि विभिन्न नियुक्तिहरूबारे चर्चा हुन थाल्यो । कसलाई स्वकीय सचिव बनाइयो । को कुन मन्त्रीको निकट व्यक्ति रहेछ । कसले टिकट पायो । कसले पाएन । कुनै निर्णय औपचारिक रूपमा गलत साबित भएका थिएनन् । कानुनी रूपमा धेरै कुरा मिलेकै देखिन्थ्यो । तर विजयलाई असहज बनाउने कुरा कानुनको अक्षरभन्दा बढी थियो ।
त्यो थियो—ढाँचा ।
उही पुरानो ढाँचा ।
फरक केवल पात्रहरू थिए ।

चिया पसलमा मानिसहरू बहस गरिरहेका थिए ।
"त्यो त विश्वासको मान्छे राख्नै पर्छ ।"
"मन्त्रीलाई काम गर्ने आफ्नै टोली चाहिन्छ ।"
"राजनीति भनेकै यही हो ।"
यी तर्कहरू उसले पहिले पनि सुनेको थियो । फरक के थियो भने, पहिले यी वाक्यहरू सुन्दा उसले आक्रोश महसुस गर्थ्यो । आज भने उसलाई थकान महसुस भइरहेको थियो । किनकि यिनै वाक्यहरूको विरोध गर्दै उनीहरू सडकमा उत्रिएका थिए ।

त्यो दिन विजयले समीरलाई भेट्न बोलायो । पहिलेको जस्तै चिया पसलमा । समीर अब झन् व्यस्त देखिन्थ्यो । फोन लगातार बजिरहेको थियो । बीचबीचमा कसैलाई निर्देशन दिइरहेको थियो ।
"के भयो ?" समीरले सोध्यो ।
"तिमीलाई यी नियुक्तिहरू ठीक लाग्छन् ?"
"कुन ?"
"स्वकीय सचिवदेखि टिकट वितरणसम्म ।"
समीर केहीबेर चुप लाग्यो ।
"राजनीति आदर्शले मात्र चल्दैन, विजय ।"
"त्यसो भए ?"
"विश्वासको घेरा चाहिन्छ ।"
"योग्यताको के ?"
"योग्यता र विश्वास दुवै चाहिन्छ ।"
"तर विश्वासको नाममा उही अनुहारहरू वरिपरि घुमिरहे भने ?"
समीरले गहिरो सास फेर्यो ।
"तिमी धेरै आदर्शवादी छौ ।"
विजय मुस्कुरायो ।
"सायद," उसले भन्यो, "तर आन्दोलन आदर्शवादी मानिसहरूले नै गरेका थिए ।"

घर फर्कँदै गर्दा उसले आन्दोलनको सुरुवात सम्झियो । सुकुमवासी बस्तीका युवकहरू । दलित समुदायका विद्यार्थीहरू । दैनिक ज्यालादारी गर्ने मजदुरका छोराछोरी ।
ती सबैले एउटै विश्वास गरेका थिए—
अब अवसर पहुँचवालाको सम्पत्ति रहने छैन । अब योग्यताको मूल्य हुनेछ । अब पार्टी कार्यालयका बन्द ढोकाभित्र भविष्य तय गरिने छैन ।
तर अहिले समाचारहरू पढ्दा उसलाई लाग्थ्यो—
ढोका उस्तै छन् । भित्र बस्ने अनुहार मात्र बदलिएका छन् ।

टेककी आमाले एक दिन सोधिन्,
"बाबु, तिमीहरूले ल्याएको परिवर्तन यही हो ?"
उनको स्वरमा आरोप थिएन । केवल जिज्ञासा थियो ।
विजयसँग फेरि उत्तर थिएन ।
"मलाई थाहा छैन, आमा," उसले बिस्तारै भन्यो ।
"तिमीहरू त धेरै आशावादी थियौ ।"
"थियौँ ।"
"अनि अहिले ?"
उसले धेरै बेर सोच्यो ।
"अहिले म आशावाद र अन्धविश्वासबीचको फरक बुझ्न सिक्दैछु ।"

केही दिनपछि उसले सामाजिक सञ्जालमा एउटा लेख लेख्यो ।
शीर्षक थियो—
"नेपोटिजमको नयाँ रूप"
उसले लेख्यो—
नेपोटिजम भनेको केवल आफन्तलाई अवसर दिनु मात्र होइन ।
यो आफ्नो घेराभित्रका मानिसहरूलाई निरन्तर प्राथमिकता दिने संस्कृतिको नाम पनि हो ।
फेभरिटिजम र घेरा संस्कृति लोकतन्त्रका मौन शत्रु हुन् ।
उसले अगाडि लेख्यो—
जब टिकट वितरण पारदर्शी हुँदैन, प्रश्न उठ्छ ।
जब नियुक्तिका आधार स्पष्ट हुँदैनन्, प्रश्न उठ्छ ।
जब आलोचनात्मक आवाजभन्दा नजिकको निष्ठालाई प्राथमिकता दिइन्छ, प्रश्न उठ्छ ।
र प्रश्न उठ्नु अस्वाभाविक होइन ।
प्रतिक्रियाहरू अनुमानित थिए ।
"सबै दलमा यस्तै हुन्छ ।"
"परफेक्ट राजनीति खोज्दै नबस ।"
"कम्तीमा यिनीहरू अरूभन्दा राम्रो छन् ।"
त्यो अन्तिम वाक्यमा विजयको नजर अड्कियो ।
"अरूभन्दा राम्रो ।"
कहिलेदेखि नागरिकको आकांक्षा यति सानो भयो ?
कहिलेदेखि उत्कृष्टताको मागलाई अव्यावहारिक ठान्न थालियो ?

त्यो रात ऊ टेकको तस्वीरअगाडि बस्यो । "हामी धेरै भोला थियौँ, है ?" उसले बिस्तारै भन्यो ।
"हामीले सोचेका थियौँ, खराब मानिस हटे समस्या हट्छ ।"
उसले तस्वीरतिर हेर्दै थप्यो,
"तर समस्या त संस्कृतिमा पनि रहेछ ।"
त्यो संस्कृति जसले आफ्नो घेरा बनाउँछ । आफ्नालाई जोगाउँछ । प्रश्न सोध्नेहरूलाई बाहिर राख्छ । निष्ठालाई योग्यता मान्छ । र आलोचनालाई कृतघ्नता ठान्छ ।
________________________________________
डायरी खोलेर उसले लेख्यो—
"हामीले व्यक्तिहरू परिवर्तन गर्यौँ ।
तर के हामीले राजनीतिक संस्कृतिलाई परिवर्तन गर्यौँ ?
यदि घेरा उस्तै रह्यो भने, अनुहार फेरिनुले मात्र इतिहास बदलिँदैन ।
नेपोटिजम केवल रगतको सम्बन्धबाट जन्मिँदैन ।
ऊ निकटताको राजनीति, मौन समर्थन र पारस्परिक संरक्षणबाट पनि जन्मिन्छ ।"
उसले अन्तिम हरफ लेख्यो—
"लोकतन्त्रको स्वास्थ्य यसले निर्धारण गर्छ—सत्ताले आफ्ना आलोचकलाई कति ठाउँ दिन्छ, आफ्ना समर्थकलाई कति होइन ।"
कलम टेबलमा राखेर ऊ झ्यालतिर गयो । बाहिर सहर उस्तै थियो । गाडीहरू गुडिरहेका थिए । पोस्टहरू भाइरल भइरहेका थिए । भाषणहरू भइरहेका थिए । तर विजयभित्र केही निर्णायक रूपमा बदलिसकेको थियो । उसको असन्तुष्टि अब आकस्मिक प्रतिक्रिया थिएन । त्यो क्रमशः बनेको निष्कर्ष थियो ।
उसले पहिलो पटक स्पष्ट रूपमा स्वीकार गर्यो—
समस्या केवल पुराना दलहरू थिएनन् । समस्या त्यो संस्कृतिमा थियो, जसले सत्तालाई प्रश्नभन्दा ठूलो बनाउँछ । र जब नयाँ शक्तिले पुरानै संस्कृतिलाई नयाँ भाषामा दोहोर्याउन थाल्छ, त्यतिबेला निराशा क्रोधभन्दा गहिरो हुन्छ ।
किनकि त्यो केवल हारको अनुभूति हुँदैन—
त्यो आफ्नै सपनासँगको मोहभङ्ग हुन्छ ।
टाढा कतै बिहानको उज्यालो फैलिन थालेको थियो ।
विजयले डायरी बन्द गर्यो ।
र मनमनै भन्यो—
"सर्पलाई चिनिन्थ्यो ।
अजिङ्गरलाई चिन्ने काम अझै बाँकी रहेछ ।"
क्रमशः…
११ : बिहानीको संकेत
तीन महिना ।
क्यालेन्डरमा हेर्दा धेरै ठूलो समय होइन । तर राजनीतिक परिवर्तनपछि नागरिकको मनोविज्ञान बुझ्न त्यो पर्याप्त समय हुन सक्छ । आन्दोलनका दिनहरूमा तीन दिन पनि युगजस्तै लाग्थे । तीन महिना त झन् एउटा भावनात्मक ऋतुजस्तै थिए—आशा, उत्साह, अन्योल, असन्तुष्टि र आत्मपरीक्षणले भरिएको ।
विजयले डायरीको पुरानो पाना पल्टायो ।
त्यहाँ उसले सरकार गठन भएको रात लेखेको एउटा वाक्य थियो—
"हामीले इतिहासको नयाँ अध्याय सुरु गरेका छौँ ।"
उसले त्यो वाक्य लामो समय हेरिरह्यो ।
अनि आफूलाई सोध्यो—
"के साँच्चै नयाँ अध्याय सुरु भएको थियो ?"

सहरमा एउटा नयाँ बहस सुरु भएको थियो ।
"सरकारलाई समय दिनुपर्छ ।"
"तीन महिनामा के हुन्छ र ?"
"पाँच वर्ष नपुग्दै निष्कर्ष निकाल्नु अन्याय हो ।"
विजयले यी तर्कहरू धेरैपटक सुनेको थियो । र ती तर्क पूर्णतः अस्वाभाविक पनि थिएनन् । राज्य परिवर्तन एक दिनमा हुँदैन । संरचना बदलिन समय लाग्छ । पुराना जालोहरू काट्न धैर्य चाहिन्छ ।
तर अर्को प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण थियो—
यदि पहिलो तीन महिनाले दिशाको संकेत दिन्छ भने ?

केही दिनअघि सरकारले सुकुमवासी बस्तीसँग संवाद गर्ने निर्णय गरेको थियो । पहिले भएका कठोर व्यवहारप्रति सार्वजनिक रूपमा आत्मालोचना गरिएको थियो । पीडित समुदायसँग माफी मागिएको थियो । वार्ताको प्रतिबद्धता व्यक्त गरिएको थियो । बस्तीमा मानिसहरूबीच हल्का राहत फैलिएको थियो ।
विजयकी आमाले पनि टेलिभिजन हेर्दै भनिन्,
"कम्तीमा गल्ती स्वीकार त गरे ।"
विजयले टाउको हल्लायो ।
"हो, आमा । त्यो सानो कुरा होइन ।"
उनले पहिलो पटक सरकारको एउटा कदमलाई खुलेर प्रशंसा गर्यो । गल्ती स्वीकार गर्नु कमजोरी होइन । त्यो परिपक्वता पनि हुन सक्छ ।
विशेष गरी नेपाली राजनीतिमा, जहाँ गल्ती स्वीकार्नुभन्दा त्यसलाई ढाकछोप गर्नु सामान्य संस्कार बनेको थियो ।

तर बस्तीको साँघुरो गल्लीमा हिँड्दै गर्दा उसले अर्को सत्य पनि देख्यो । टिनका छाना अझै उस्तै थिए । अस्थायी घरहरू उस्तै थिए । भूमि अधिकारको समस्या उस्तै थियो । नागरिकताको जटिलता उस्तै थियो । अनिश्चितता उस्तै थियो । माफीले पीडा कम गर्न सक्थ्यो । तर संरचना परिवर्तन गर्दैनथ्यो ।
विजयले महसुस गर्यो—
संवेदनशीलता आवश्यक छ, तर पर्याप्त होइन ।

त्यो साँझ आन्दोलनका पुराना साथीहरू फेरि भेटिए ।
सुधाले भनिन्,
"कम्तीमा गल्ती सच्याउने प्रयास भएको छ ।"
निरजले उत्तर दियो,
"तर समस्या त उही छ ।"
प्रतीक्षाले थपिन्,
"हामीलाई मानिसहरूको नियत पनि हेर्नुपर्छ, परिणाम पनि ।"
"अनि प्रक्रिया ?" विजयले सोध्यो ।
सबै चुप लागे ।
उसले बिस्तारै भन्यो,
"सायद तीन महिनाले सबै उत्तर दिँदैन । तर यसले प्रश्नहरूको दिशा भने देखाउँछ ।"

त्यो रात सामाजिक सञ्जालमा उसले एउटा पोस्ट देख्यो—
"पाँच वर्ष पर्ख । त्यसपछि मूल्याङ्कन गरौँला ।"
विजय लामो समय त्यो वाक्यतिर हेरिरह्यो । अचानक उसलाई आन्दोलनको समय सम्झना आयो । त्यतिबेला पनि नागरिकहरूले पाँच वर्ष कुर्दै आएका थिए । दशकौँ कुर्दै आएका थिए ।
प्रत्येक चुनावपछि उनीहरूलाई भनिएको थियो—
"अझै समय दिनुस् ।"
प्रत्येक असफलतापछि—
"अहिले आलोचना नगर्नुस् ।"
प्रत्येक प्रश्नपछि—
"यो सही समय होइन ।"
उसले आफूलाई सोध्यो—
लोकतन्त्रमा सही समय कहिले आउँछ ?
चुनावअघि बोल्न पाइँदैन । चुनावपछि पाँच वर्ष कुर्नुपर्छ । बीचमा प्रश्न सोध्न मिल्दैन । यदि यस्तो हो भने नागरिकको भूमिका के रहन्छ ? मत हाल्ने दिनमा मात्र अस्तित्व हुने ?

त्यस रात उसले एउटा लामो टिप्पणी लेख्यो—
"तीन महिनाको सरकारलाई अन्तिम निर्णय सुनाउनु अनुचित हुन सक्छ ।
तर तीन महिनाका संकेतहरूको मूल्याङ्कन गर्नु नागरिकको दायित्व हो ।
प्रशंसा र आलोचना दुवै लोकतन्त्रका उपकरण हुन् ।
गल्ती सच्याउने प्रयासको स्वागत गर्नुपर्छ ।
तर संरचनागत समस्यालाई समयको बहानामा बिर्सनु हुँदैन ।"
उसले अगाडि लेख्यो—
"पाँच वर्ष पर्खनु भनेको पाँच वर्ष मौन बस्नु होइन ।
नागरिकको निगरानी चुनावी चक्रभन्दा ठूलो जिम्मेवारी हो ।"

त्यो रात ऊ टेकको तस्वीरअघि बस्यो ।
"टेक," उसले बिस्तारै भन्यो, "सायद हामी अधैर्य पनि हुन सक्छौँ ।"
उसले केहीबेर मौनता सुनेजस्तो गर्यो ।
"तर हामी मौन हुन सक्दैनौँ ।"
उसलाई टेकको पुरानो वाक्य सम्झना आयो—
"डर लागे पनि बोल्नुपर्छ ।"
आज उसले त्यसलाई अर्को अर्थमा बुझ्यो—
"आशा बाँकी रहे पनि बोल्नुपर्छ ।"
किनकि आलोचना सधैँ निराशाबाट जन्मिँदैन । धेरैपटक त्यो आशाबाट जन्मिन्छ । अझ राम्रो सम्भावनामा विश्वास गर्ने साहसबाट जन्मिन्छ ।

डायरीको अन्तिम पानामा उसले लेख्यो—
"बिहानीको पहिलो किरणले दिन कस्तो हुन्छ भन्ने पूर्ण उत्तर दिँदैन । तर दिशाको संकेत भने दिन्छ । हामीले अन्धकारलाई उज्यालो घोषणा गर्नु हुँदैन । तर उज्यालोको सम्भावनालाई पनि अस्वीकार गर्नु हुँदैन । लोकतन्त्र भनेको यही कठिन सन्तुलन हो—आशा र प्रश्नलाई सँगसँगै जोगाइराख्ने कला ।"
उसले डायरी बन्द गर्यो ।
बाहिर पूर्वतिर आकाश हल्का उज्यालो हुन थालेको थियो । बिहानीको त्यो उज्यालो पूर्ण दिन थिएन । तर पूर्ण रात पनि थिएन । विजयले झ्यालबाट टाढासम्म फैलिएको सहर हेर्यो । उहाँहरूले ल्याउन खोजेको परिवर्तन अझै अधुरो थियो ।
अजिङ्गरको छाया अझै हटेको थिएन ।
तर क्षितिजमा एउटा अर्को सत्य पनि देखिन्थ्यो—
बिहानीको संकेतले दिन सुनिश्चित गर्दैन ।
तर जागा रहनेहरूलाई दिशा भने अवश्य देखाउँछ ।
क्रमशः…
१२ : संविधान संशोधनको निमन्त्रणा
देश फेरि एउटा नयाँ बहसको मोडमा पुगेको थियो । यसपटक विषय सरकारको डेलिभरी थिएन । न कुनै मन्त्रीको अभिव्यक्ति । न कुनै नियुक्ति ।
विषय थियो—
संविधान संशोधन ।
समाचारमा भनिएको थियो—कार्यदल बनाइनेछ । सुझाव लिइनेछ । आवश्यक संशोधन गरिनेछ । नयाँ ऊर्जा र नयाँ सहमतिका साथ देशलाई अघि बढाइनेछ ।
पहिलो दृष्टिमा यो सकारात्मक सुनिन्थ्यो । संविधान कुनै धार्मिक ग्रन्थ होइन । त्यो जीवित दस्तावेज हो । समयानुकूल सुधार आवश्यक पर्न सक्छ । तर विजयलाई असहज बनाउने कुरा विषयवस्तुभन्दा पहिले प्रक्रिया थियो ।

उहाँहरूको बस्तीमा एकजना वृद्ध शिक्षक थिए—हरिप्रसाद सर । एक दिन चिया पसलमा भेट हुँदा उनले समाचारपत्रको एउटा शीर्षक देखाउँदै भने,
"संविधान संशोधनको कुरा सुरु भएछ ।"
"हो, सर," विजयले उत्तर दियो ।
"के लाग्छ तिमीलाई ?"
विजय केहीबेर सोच्यो ।
"संशोधन गलत होइन ।"
"अनि ?"
"तर संशोधन कसरी गरिन्छ भन्ने कुरा संशोधन के गरिन्छ भन्नेभन्दा कम महत्त्वपूर्ण छैन ।"
हरिप्रसाद सर मुस्कुराए ।
"अन्ततः तिमी फेरि प्रक्रियामै फर्कियौ ।"
"किनकि प्रक्रिया नै विश्वासको आधार हो, सर ।"

केही दिनपछि विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई सुझावका लागि बोलाइएको खबर आयो । समयसीमा छोटो थियो । सार्वजनिक संवाद सीमित थियो । आमन्त्रणको शैलीले धेरैलाई असहज बनायो । मानौँ एउटा ऐतिहासिक दस्तावेजमाथिको विमर्श होइन, कुनै औपचारिक कार्यक्रमको उपस्थिति सुनिश्चित गरिँदै थियो ।
कसैलाई लाग्यो—
"हामीलाई सहभागी होइन, दर्शक बनाइँदै छ ।"
विजयलाई आन्दोलनका दिनहरू सम्झना आए । त्यतिबेला मानिसहरूले आफ्ना आवाज सुनाउन सडक भरेका थिए । आज संविधानजस्तो विषयमा नागरिकलाई केही दिनभित्र राय दिन भनिँदै थियो ।
ऊ सोच्न बाध्य भयो—
इतिहास निर्माण यति हतारमा गर्न मिल्छ ?

त्यो रात आन्दोलनका साथीहरू फेरि भेला भए ।
निरजले रिसाउँदै भन्यो,
"यत्रो विषयमा यति छोटो समय ?"
सुधाले गम्भीर स्वरमा थपिन्,
"संविधान संशोधन गर्ने हो भने गाउँसम्म बहस पुग्नुपर्छ ।"
प्रतीक्षाले भनिन्,
"कागजमा सुझाव सङ्कलन गरेर मात्रै सहमति बन्दैन ।"
विजय चुपचाप सुनिरह्यो ।
अन्ततः उसले बिस्तारै भन्यो,
"हामीले संविधानसँग सहमत हुनैपर्छ भन्ने होइन । त्यसको आलोचना पनि गर्न सकिन्छ ।"
"तर ?" निरजले सोध्यो।
"तर संविधानमाथिको विश्वास प्रक्रिया मार्फत निर्माण हुन्छ । अपमानजनक हतारमार्फत होइन ।"

त्यो रात घर फर्किँदा आमाले सोधिन्,
"संविधान फेरि बदल्ने हो ?"
"सायद केही कुरा संशोधन गर्न खोजिएको छ ।"
"के फेरिन्छ ?"
विजयले लामो सास फेर्यो ।
"थाहा छैन, आमा ।"
"तिमीलाई के लाग्छ ?"
उसले झ्यालबाहिर हेर्दै उत्तर दियो,
"संविधानमा सुधार हुन सक्छ । हुनुपर्छ पनि ।"
"अनि ?"
"तर केही आधारभूत उपलब्धिहरू खेलौना होइनन् ।"
आमाले बुझिनन् ।
"कुन उपलब्धि ?"
विजयको स्वर स्थिर थियो ।
"गणतन्त्र ।"
"संघीयता ।"
"समावेशिताको सिद्धान्त ।"
"नागरिक बराबरीको अवधारणा ।"
"यी कुनै सरकारको लोकप्रियतासँग आउने-जाने विषय होइनन् ।"

उसलाई हजुरबाको पुस्ता सम्झना आयो ।
राजतन्त्रको भय ।
नागरिक स्वतन्त्रतामाथिका सीमाहरू ।
काठमाडौँबाट गाउँसम्म नपुगेको राज्य ।
पछाडि पारिएका समुदायहरूको मौनता ।
अनि त्यसपछि भएका आन्दोलनहरू ।
जनयुद्ध ।
जनआन्दोलन ।
संविधानसभाको यात्रा ।
कति सहमति । कति असहमति । कति बलिदान ।
संविधान पूर्ण थिएन ।
तर त्यो इतिहासको लामो संघर्षको निष्कर्ष थियो ।
त्यसलाई मन नपर्ने कारण हुन सक्थे ।
तर त्यसलाई हल्का रूपमा छुन मिल्दैनथ्यो ।

विजयले सामाजिक सञ्जालमा लामो लेख लेख्यो ।
शीर्षक थियो—
"संशोधनको अधिकार, विघटनको होइन"
उसले लेख्यो—
संविधान संशोधन लोकतन्त्रविरोधी कार्य होइन ।
बरु समयअनुसार सुधार लोकतन्त्रको जीवन्तता हो ।
तर सुधारको नाममा आधारभूत सहमतिमाथि हतार, दबाब वा अपमानजनक प्रक्रियाबाट निर्णय थोपर्न खोज्नु खतरनाक हुन्छ ।
उसले अगाडि लेख्यो—
गणतन्त्र कुनै सरकारको उपहार होइन ।
संघीयता कुनै दलको निजी सम्पत्ति होइन ।
यी ऐतिहासिक संघर्षबाट प्राप्त राजनीतिक सहमतिहरू हुन् ।
तिनको समीक्षा हुन सक्छ, सुधार हुन सक्छ, तर तिनलाई भावनात्मक उत्तेजना वा क्षणिक लोकप्रियताको आधारमा उल्टाउने प्रयासले समाजलाई थप विभाजित बनाउँछ ।
अन्त्यमा उसले लेख्यो—
हामीलाई संशोधन चाहिन सक्छ ।
तर त्यसका लागि सम्मानजनक संवाद, पर्याप्त समय र व्यापक सहभागिता अपरिहार्य छन् ।

प्रतिक्रियाहरू फेरि विभाजित थिए ।
"तिमी परिवर्तनको विरोधी भयौ !"
"संविधान छुनै नहुने हो ?"
"सबै फेरिनुपर्छ !"
तर केहीले लेखे—
"पहिलो पटक कसैले प्रक्रिया र सिद्धान्तलाई छुट्याएर कुरा गर्यो ।"
"असहमति देशद्रोह होइन ।"
विजयले ती प्रतिक्रियाहरू पढ्दै सोच्यो—
सायद लोकतन्त्रको सबैभन्दा कठिन पक्ष यही हो । हामीलाई मन नपर्ने विचारलाई पनि सुन्नु । तर मन नपर्ने प्रक्रियाको आलोचना गर्नु ।

त्यो रात उसले डायरी खोल्यो ।
र लेख्यो—
"संविधान पत्थरमा कुँदिएको वाक्य होइन । तर यो क्षणिक उत्तेजनामा लेखिने फेसबुक स्टाटस पनि होइन ।
यसमा एउटा राष्ट्रको सम्झना, संघर्ष र सहमति बसेको हुन्छ ।
त्यसैले संशोधन गरौँ—तर सम्मानका साथ ।
सुधार गरौँ—तर हतारमा होइन ।
असहमति राखौँ—तर आधारभूत लोकतान्त्रिक उपलब्धिलाई नष्ट गरेर होइन ।"
उसले कलम बन्द गर्यो ।
बाहिर रात शान्त थियो । टाढा कतै मानिसहरू संविधान बचाउने नारा लगाइरहेका थिए । कतै संविधान बदल्ने । कतै संविधान भत्काउने । र कतै संविधान नै नपढी त्यसको पक्ष-विपक्षमा बहस गरिरहेका थिए ।
विजयले झ्यालबाट बाहिर हेर्दै मनमनै भन्यो—
"हामीले परिवर्तनको अधिकार पाएका छौँ ।
तर इतिहासप्रति जिम्मेवारी पनि बोक्नुपर्छ ।"
किनकि बिहानीको संकेत देखिसकेपछि,
अब उसले अर्को सत्य बुझ्न थालेको थियो—
लोकतन्त्रको परिपक्वता परिवर्तन गर्न सक्ने क्षमतामा मात्र होइन, के बचाइराख्नुपर्छ भन्ने विवेकमा पनि निहित हुन्छ ।
१३ : वर्गीय चेतना
केही नारा आन्दोलन समाप्त भएपछि पनि मर्दैनन् । ती भित्ताबाट मेटिन्छन् । पोस्टरबाट हराउँछन् । सामाजिक सञ्जालका ट्रेन्डहरूबाट विस्थापित हुन्छन् । र तिनीहरू मानिसहरूको स्मृतिमा बाँचिरहन्छन् ।
विजयलाई पनि एउटा नारा बारम्बार सम्झना आइरहन्थ्यो—
"मेरो बुवा गाडीमा, तिम्रो बुवा खाडीमा ।"
त्यो केवल तुकबन्दी थिएन । त्यो एउटा पुस्ताको आत्मकथा थियो । एउटा देशको वर्गीय नक्सा थियो । एउटा मौन क्रन्दन थियो ।

आन्दोलनका दिनहरूमा विजयले त्यो नारा पहिलो पटक सुनेको थियो ।
एकजना दुब्लो युवकले माइक समातेर कराएको थियो—
"मेरो बुवा गाडीमा, तिम्रो बुवा खाडीमा !"
भीड एकै स्वरमा दोहोरिएको थियो । त्यतिबेला विजयलाई त्यो नारा प्रभावशाली लागेको थियो । आज, वर्षौँपछि, उसले त्यसको अर्थ बुझ्न थालेको थियो ।
"गाडी" केवल सवारी साधन थिएन । त्यो सुविधा थियो । पहुँच थियो । सुरक्षा थियो । उत्तराधिकार थियो । र "खाडी" केवल एउटा भूगोल थिएन । त्यो बाध्यता थियो । ऋण थियो । विदेशी भूमिमा पसिना बेचेर घर चलाउनुपर्ने नियति थियो ।

टेकका बुवाले पनि जीवनको धेरै समय विदेशमै बिताएका थिए ।
कतार ।
दुबई ।
साउदी ।
घर फर्कँदा उनीहरूको झोलामा चकलेट आउँथ्यो । सस्तो अत्तर आउँथ्यो । कहिलेकाहीँ खेलौनाहरू आउँथे ।
तर टेकले एकपटक विजयलाई भनेको थियो,
"बुवाले मलाई चिन्नेभन्दा फोटो धेरै हेरेका छन् ।"
त्यो वाक्य सुन्दा विजय हाँसेको थियो ।
आज उसलाई त्यो हाँसोमाथि लाज लाग्थ्यो ।

बस्तीमा आन्दोलनका मृतकहरूको सूची हेर्दा एउटा कुरा स्पष्ट देखिन्थ्यो । धेरैजसो निम्न आय भएका परिवारका थिए । सुकुमवासी बस्तीका । दैनिक ज्यालादारी गर्नेका छोराछोरी । विदेशी श्रम बजारमा निर्भर परिवारका सदस्य । दलित समुदायका । सीमान्तकृत भूगोलबाट आएका विद्यार्थीहरू ।
विजयले आफूलाई प्रश्न गर्यो—
किन ?
किन सडकमा लाठी खानेहरू यिनै थिए ?
किन आँखा गुमाउनेहरू यिनै थिए ?
किन मृतकहरूको सूचीमा उनीहरूको नाम बढी थियो ?
उत्तर असहज थियो ।
किनकि अन्याय सबैले महसुस गरे पनि, त्यसको मूल्य सबैले बराबरीमा तिर्दैनन् ।

मध्यम वर्गको एउटा हिस्सा आन्दोलनको पक्षमा थियो । उनीहरूले पोस्ट लेखे । विश्लेषण गरे । बहस गरे । मत दिए । त्यो महत्त्वपूर्ण थियो । तर आन्दोलनको शारीरिक मूल्य कसले चुकायो ?
विजयले टेकको अनुहार सम्झियो । रोशनको डायरी सम्झियो । सुकुमवासी बस्तीकी वृद्धा सम्झियो । खाडीमा रहेका बुवाहरू सम्झिए ।
त्यसपछि उसले महसुस गर्यो—
यो केवल पुस्तागत विद्रोह थिएन ।
यो वर्गीय पीडाको विस्फोट पनि थियो ।

एक दिन ऊ टेककी आमासँग बसिरहेको थियो ।
"टेक किन यति अगाडि लाग्थ्यो?" उसले सोध्यो ।
वृद्ध आमाले केहीबेर सोचिन् ।
"ऊ भन्थ्यो—मसँग गुमाउन धेरै छैन, आमा ।"
विजय चुप लाग्यो ।
"के भन्न खोज्थ्यो होला ?" उनले सोधिन् ।
उसको घाँटी भरियो ।
"सायद," उसले बिस्तारै भन्यो, "उसले आफ्नो जीवन अरूले जस्तो सुरक्षित ठानेको थिएन ।"
वृद्ध आमाले टाढा हेरिन् ।
"गरीब मान्छेले जोखिम रोज्दैन, बाबु," उनले भनिन्, "उसलाई जोखिमले रोज्छ ।"
विजय स्तब्ध भयो ।
त्यो वाक्य कुनै विश्वविद्यालयको सिद्धान्तभन्दा गहिरो थियो ।

सामाजिक सञ्जालमा आन्दोलनलाई लिएर नयाँ व्याख्याहरू आउन थालेका थिए । कसैले त्यसलाई युवाहरूको भावुकता भन्यो । कसैले डिजिटल क्रान्ति । कसैले नेतृत्वको करिश्मा ।
विजयलाई लाग्यो—
यी सबै व्याख्यामा केही सत्य हुन सक्छ । तर एउटा सत्य छुटिरहेको थियो ।
वर्गीय असमानता ।
त्यो असमानता, जसले एउटालाई विदेश धकेल्छ र अर्कोलाई अवसरको सुरक्षा दिन्छ । त्यो असमानता, जसले एउटाको असफलतालाई दुर्घटना बनाउँछ र अर्काको असफलतालाई विनाश । त्यो असमानता, जसले एउटालाई मौन बस्ने सुविधा दिन्छ र अर्कोलाई बोल्न बाध्य बनाउँछ ।

त्यो रात उसले एउटा लेख लेख्यो ।
शीर्षक थियो—
"नाराभित्र लुकेको वर्ग"
उसले लेख्यो—
"मेरो बुवा गाडीमा, तिम्रो बुवा खाडीमा" केवल व्यङ्ग्य होइन ।
यो हाम्रो समाजको वर्गीय संरचनाको सार्वजनिक उद्घोष हो ।
यसले अवसरको असमानता, श्रमको अवमूल्यन र सामाजिक दूरीलाई उजागर गर्छ ।
उसले अगाडि लेख्यो—
आन्दोलनहरू केवल विचारले हुँदैनन् ।
तिनलाई शरीर चाहिन्छ ।
र धेरैपटक ती शरीरहरू समाजका सबैभन्दा कमजोर वर्गबाट आउँछन् ।
अन्तिम हरफमा उसले लेख्यो—
यदि हामीले आन्दोलनलाई केवल नेतृत्वको कथा बनायौँ भने, हामीले त्यसलाई सम्भव बनाउने वर्गीय पीडालाई बिर्सनेछौँ ।

लेख प्रकाशित भएपछि प्रतिक्रियाहरू मिश्रित थिए ।
"सबै कुरा वर्गमा सीमित नगर ।"
"यो विभाजनकारी सोच हो ।"
तर धेरैले लेखे—
"मेरो बुवा पनि खाडीमै हुनुहुन्छ ।"
"दाइ, पहिलो पटक कसैले हाम्रो कथा लेखिदियो ।"
"हामी आन्दोलनमा थियौँ, तर इतिहासमा छैनौँ ।"
विजयले ती प्रतिक्रियाहरू धेरैबेर पढिरह्यो ।
त्यसपछि उसले महसुस गर्यो— वर्गीय चेतना घृणा होइन । त्यो समाजको अदृश्य असमानतालाई देख्ने आँखा हो ।

त्यो रात डायरी खोलेर उसले लेख्यो—
"आन्दोलन केवल राजनीतिक परिवर्तनको माग थिएन ।
यो सम्मानको माग थियो ।
अवसरको माग थियो ।
देखिन चाहने मानिसहरूको पुकार थियो ।
हामीले यदि वर्गीय पीडालाई नबुझेँ भने, आन्दोलनको आत्मालाई बुझ्न सक्दैनौँ ।"
ऊ केहीबेर रोकियो ।
अन्तिम हरफ लेख्यो—
"मेरो बुवा गाडीमा, तिम्रो बुवा खाडीमा—यो नारा समाप्त भएको छैन ।
यो अझै प्रत्येक श्रम स्वीकृति, प्रत्येक वैदेशिक रोजगारको लाइन, प्रत्येक सुकुमवासी बस्ती र प्रत्येक असमान अवसरभित्र जीवित छ ।"
उसले डायरी बन्द गर्यो ।
झ्यालबाहिर रात गहिरिँदै थियो ।
कतै विमानस्थलमा अर्को युवक विदेश उड्न तयारी गर्दै थियो । कतै एउटा बच्चाले भिडियो कलमा बुवालाई शुभरात्रि भन्दै थियो । कतै एउटा गाडी रातको सहर चिर्दै गुडिरहेको थियो ।
र विजयलाई लाग्यो—
देशलाई बुझ्न नक्सा मात्र हेरेर पुग्दैन ।
कहिलेकाहीँ बुझ्नुपर्छ—
कसका बुवा गाडीमा छन्,
र कसका बुवा खाडीमा ।
किनकि त्यही अन्तरभित्र,
एउटा आन्दोलनको सबैभन्दा गहिरो सत्य लुकेको हुन्छ।
१४ : छानबिन समितिको छाया
समय बित्दै जाँदा आन्दोलनहरू दुई भागमा विभाजित हुन थाल्छन् । एउटा भाग स्मृतिमा बाँच्छ । अर्को भाग फाइलमा थन्किन्छ । सडकमा गुञ्जिएका नाराहरू विस्तारै सरकारी प्रतिवेदनका अनुच्छेद बन्छन् । आँसु तथ्याङ्क बन्छ । मृत्यु संख्या बन्छ । घाउ प्रमाण बन्छ ।
र त्यसपछि सुरु हुन्छ अर्को लडाइँ—
सत्यको लडाइँ ।

एक बिहान विजयले समाचारमा फेरि पुरानो विषय देख्यो । आन्दोलनका क्रममा भएका घटनाबारे बनेका छानबिन प्रतिवेदनहरू ।
गौरीबहादुर कार्की नेतृत्वको समितिको निष्कर्ष ।
मानवअधिकार आयोगको प्रतिवेदन ।
घटनाको पुनर्निर्माण ।
जिम्मेवारीको प्रश्न ।
अत्यधिक बल प्रयोगका आरोपहरू ।
राज्यका संयन्त्रमाथि उठेका प्रश्नहरू ।
उसले समाचार धेरैबेरसम्म हेरिरह्यो । टेकको अनुहार फेरि स्मृतिमा आयो ।
रोशनको डायरी ।
अश्रुग्यासले भरिएको सडक ।
भागदौड ।
र गोली चलेको आवाज ।

आन्दोलनका दिनहरूमा विजयका लागि सत्य सरल थियो । उता राज्य थियो । यता जनता । उता दमनकारी । यता पीडित । त्यतिबेला विभाजन स्पष्ट देखिन्थ्यो ।
तर समयसँगै उसले अर्को कठिन सत्य बुझ्न थालेको थियो—
न्याय केवल आफूलाई मनपर्ने सत्यको पुष्टि होइन ।
न्याय भनेको असहज प्रश्नहरूलाई पनि स्वीकार गर्ने साहस हो ।

त्यो साँझ आन्दोलनका पुराना साथीहरू भेटिए । समाचारले सबैलाई गम्भीर बनाएको थियो ।
निरजले रिसाउँदै भन्यो,
"अब पनि अनुसन्धानको के अर्थ ? सबैले देखेकै कुरा हो ।"
सुधाले प्रतिवाद गरिन्,
"देखेको कुरा र प्रमाणित भएको कुरा फरक हुन्छ ।"
प्रतीक्षाले बिस्तारै भनिन्,
"यदि हामीले प्रक्रियामाथि विश्वास नगर्ने हो भने, भोलि कसरी न्याय माग्ने ?"
सबैको नजर विजयतिर गयो । उसले केहीबेर मौनता रोज्यो ।
अन्ततः भन्यो,
"म अनुसन्धान चाहन्छु ।"
"तर टेकलाई गोली लागेको हामीले देखेका थियौँ," निरजले भन्यो ।
"हो," विजयले उत्तर दियो, "तर अनुसन्धान बिना न्याय भावनामा सीमित हुन्छ ।"
"तिमीलाई राज्यमाथि विश्वास छ ?"
विजय मुस्कुरायो ।
"विश्वासभन्दा पनि आवश्यकता छ ।"

त्यो रात ऊ टेककी आमालाई भेट्न गयो ।
"फेरि छानबिनको कुरा चलेछ," उनले भनिन् ।
"हो, आमा ।"
"न्याय पाइन्छ त ?"
यो प्रश्न उनले पहिलो पटक सोधेकी थिइनन् । हरेकपटक विजयसँग उत्तर हुँदैनथ्यो । यसपटक पनि भएन ।
"थाहा छैन," उसले बिस्तारै भन्यो ।
"तर खोज्न छाड्नु हुँदैन ।"
वृद्ध आमाले टेकको तस्वीरतिर हेर्दै भनिन्,
"मलाई कसैलाई झुटो फसाउन मन छैन ।"
विजयले टाउको उठायो ।
"के ?"
"जसले गल्ती गरेको हो, उसैलाई सजाय होस् । निर्दोषलाई होइन ।"
उनको स्वर काँपिरहेको थियो ।
"मेरो छोराको नाममा अर्को आमाको छोरा अन्यायमा नपरोस् ।"
विजयको आँखामा आँसु भरियो । त्यो वाक्यमा पीडाभन्दा ठूलो नैतिकता थियो ।

घर फर्केर उसले फाइलहरू पल्टाउन थाल्यो ।
समाचारका कटिङहरू ।
मानवअधिकारसम्बन्धी प्रतिवेदनका सारांशहरू ।
घटनाका फरक-फरक संस्करणहरू ।
उसले महसुस गर्यो—
सत्य कहिलेकाहीँ सीधा रेखाजस्तो हुँदैन ।
त्यो टुक्राटुक्रामा भेटिन्छ ।
साक्षीहरूको बयानमा ।
भिडियो फुटेजमा ।
राज्यका अभिलेखमा ।
घाइतेहरूको शरीरमा ।
र मृतकका परिवारको प्रतीक्षामा ।

उसले आफूलाई एउटा कठिन प्रश्न सोध्यो—
यदि अनुसन्धानको दायरामा आफ्नै साथीहरू पनि परे भने ?
आन्दोलनका क्रममा सबैले संयमता गुमाएका क्षणहरू थिए । ढुङ्गा हानिएका थिए । आक्रोश उर्लिएको थियो । उत्तेजना फैलिएको थियो । यदि अनुसन्धान निष्पक्ष हुने हो भने, त्यसले केवल राज्यलाई मात्र होइन, आन्दोलनकारीहरूको भूमिकालाई पनि हेर्नुपर्ने हुन सक्छ।
के ऊ त्यसका लागि तयार थियो ?
उसले लामो समय सोचेपछि डायरीमा लेख्यो—
"न्यायको अर्थ आफ्नो पक्षलाई सफाइ दिनु मात्र होइन ।
यदि हामीले निष्पक्ष अनुसन्धान माग्छौँ भने, त्यसले आफूलाई पनि जाँच्ने साहस हुनुपर्छ ।"
उसले अर्को हरफ थप्यो—
"निर्दोषलाई जोगाउन चाहने समाजले दोषीलाई पनि पहिचान गर्न सक्नुपर्छ ।
नत्र न्याय प्रतिशोधमा बदलिन्छ ।"

केही दिनपछि उसले एउटा लेख प्रकाशित गर्यो ।
शीर्षक थियो—
"छानबिनको छाया"
उसले लेख्यो—
मृतकहरूको सम्मान भावनात्मक स्मरणले मात्र हुँदैन ।
सत्यको खोजीले हुन्छ ।
उसले अगाडि लेख्यो—
छानबिन समिति र मानवअधिकार प्रतिवेदनहरू अन्तिम सत्य नहुन सक्छन् ।
तर तिनलाई बेवास्ता गर्नु पनि सत्यप्रतिको बेइमानी हो ।
हामीलाई निष्पक्ष, विश्वसनीय र पारदर्शी अनुसन्धान चाहिन्छ ।
अन्तिम अनुच्छेदमा उसले लेख्यो—
यदि अनुसन्धानको दायरामा राज्यका अधिकारी पर्छन् भने उनीहरूले जवाफ दिनुपर्छ ।
यदि आन्दोलनकारीहरू पनि कानुनी सीमाभन्दा बाहिर गएका प्रमाणित हुन्छन् भने उनीहरू पनि प्रश्नबाट मुक्त हुनु हुँदैन ।
किनकि न्याय पक्षको होइन, सिद्धान्तको विषय हो ।

प्रतिक्रियाहरू तीखा थिए ।
"तिमी आन्दोलनकारी भएर पनि आफ्नै पक्षविरुद्ध ?"
"राज्य र जनता बराबर हुन्छन् ?"
"यो त विश्वासघात हो !"
तर केही प्रतिक्रिया फरक थिए ।
"सत्यलाई रोज्नु सजिलो हुँदैन ।"
"हामीलाई बदला होइन, न्याय चाहिएको हो ।"
"पहिलो पटक कसैले हाम्रो पीडालाई राजनीतिक निष्ठाभन्दा माथि राखेर लेख्यो ।"
विजयले ती सन्देशहरू धेरैबेर पढिरह्यो ।
उसले महसुस गर्यो—
लोकतन्त्रको सबैभन्दा कठिन परीक्षा चुनाव होइन । न आफ्ना पक्षको विजय । बरु त्यो क्षण हो, जब सत्यले आफ्नै विश्वासलाई असुविधामा पार्छ ।

त्यो रात डायरीको अन्तिम पानामा उसले लेख्यो—
"सडकले आन्दोलन जिताउन सक्छ ।
तर न्याय संस्थाले दिनुपर्छ ।
संस्था कमजोर भए सुधार गरौँ ।
तर अनुसन्धानको विचारलाई नै शत्रु नठानौँ ।"
ऊ केहीबेर रोकियो । टेकको तस्वीर सम्झियो । रोशनको मुस्कान सम्झियो ।
अनि धेरै भावुक हुँदै अन्तिम हरफ लेख्यो—
"म आफ्ना मृतकहरूलाई यति धेरै सम्मान गर्छु कि उनीहरूको नाममा झुटो सत्य स्वीकार गर्न सक्दिनँ ।
र न्यायलाई यति धेरै सम्मान गर्छु कि त्यसको दायराबाट आफ्ना मानिसहरूलाई पनि बाहिर राख्न चाहन्नँ ।"
आँखा टिलपिल पार्दै उसले डायरी बन्द गर्यो । झ्यालबाहिर रात गहिरिँदै थियो । कतै प्रतिवेदनहरू अलमारीमा थन्किएका थिए । कतै पीडित परिवारहरू अझै प्रतीक्षामा थिए । कतै नेताहरूले पुराना घाउ बिर्सन आग्रह गरिरहेका थिए ।
तर विजयलाई लाग्यो—
घाउ बिर्सनु र घाउ निको पार्नु एउटै कुरा होइन ।
र कुनै पनि लोकतन्त्र तब मात्र परिपक्व हुन्छ,
जब उसले आफ्ना शहीदलाई सम्मान गर्छ,
आफ्ना संस्थालाई प्रश्न गर्छ,
र सत्य जहाँ पुगे पनि त्यसको पछि हिँड्ने साहस राख्छ ।
किनकि अजिङ्गरको छायाँ केवल शक्तिको दुरुपयोगमा मात्र हुर्किँदैन—
ऊ सत्यभन्दा निष्ठालाई ठूलो मान्ने बानीमा पनि हुर्किन्छ ।
१५ : चुपचाप समर्थनको खतरा
पहिले उनीहरू एउटै भीड थिए ।
उही सडक ।
उही नारा ।
उही ड र।
उही सपना ।
अश्रुग्यासको धुवाँले भरिएको त्यो साँझ, जब उनीहरू भाग्दै फेरि फर्किएका थिए, विजयलाई लागेको थियो—यी सम्बन्धहरू अब कहिल्यै टुट्ने छैनन् ।
टेकले काँधमा हात राखेर भनेको थियो—
"अब हामी केवल साथी होइनौँ, इतिहासका साक्षी हौँ ।"
त्यतिबेला कसैले कल्पना पनि गरेको थिएन कि इतिहासका साक्षीहरू एक दिन इतिहासको अर्थमै विभाजित हुनेछन् ।

सरकार बनेको तीन महिना बित्दा आन्दोलनका पुराना साथीहरू फेरि भेटिए । यो भेटघाटमा पहिलेजस्तो उत्साह थिएन । न त भविष्यका योजनाहरू थिए । अब उनीहरू मूल्याङ्कन गर्न बसेका थिए । चिया चिसिँदै गयो । शब्दहरू तातिँदै गए ।
"मलाई लाग्छ, अझै समय दिनुपर्छ," समीरले भन्यो ।
"कम्तीमा काम गर्ने इच्छा त देखिएको छ ।"
निरजले सहमति जनायो ।
"हो । अरूजस्तो त छैनन् । डेलिभरी भइरहेको छ ।"
"तर प्रक्रियाको कुरा ?" प्रतीक्षाले सोधिन् ।
"अहिले परिणाम हेर्नुपर्छ," समीरले उत्तर दियो ।
"प्रक्रिया पछि सुधारिएला ।"
विजय चुप लागेर सुनिरहेको थियो । उसलाई यो बहस परिचित लागिरहेको थियो ।
फरक यति मात्र थियो—
पहिले यस्तै तर्क उनीहरूले अरूबाट सुन्थे । आज आफ्नै साथीहरूबाट सुनिरहेका थिए ।

"यदि प्रक्रिया नै बिग्रियो भने ?" विजयले अन्ततः सोध्यो ।
"तिमी सधैँ नकारात्मक किन हुन्छौ ?" निरजले प्रतिप्रश्न गर्यो ।
"म नकारात्मक होइन," विजयले शान्त स्वरमा भन्यो, "म प्रश्न गरिरहेको छु ।"
"सबै कुरा प्रश्न गर्ने हो भने देश कसरी चल्छ ?"
"प्रश्न नगर्ने हो भने देश कसरी बच्छ ?"
कोठामा मौनता छायो ।
समीरले बिस्तारै भन्यो,
"विजय, कहिलेकाहीँ समर्थन पनि आवश्यक हुन्छ ।"
"चुप लाग्नु समर्थन हो ?"
"कम्तीमा सार्वजनिक रूपमा आक्रमण नगरौँ ।"
"किन ?"
"किनकि यसले गलत शक्तिलाई बल दिन्छ ।"
पहिलेकाले भन्थे कि हामीलाई विरोध गर्दा प्रतिगामीलाई फाइदा भइरहेको छ । विजयले आफ्ना साथीहरूको अनुहार हेर्यो । उनीहरू खराब मानिस थिएनन् । उनीहरू भ्रष्ट थिएनन् । उनीहरू अझै परिवर्तन चाहन्थे । तर उनीहरू थाकेका थिए । र थकानले मानिसलाई मौनताको तर्क सिकाउँदो रहेछ ।

त्यसपछि भेटघाटहरू कम हुन थाले । सामूहिक च्याटहरू निस्तेज भए । पहिले राजनीतिक बहसले भरिने समूहमा अब शुभप्रभातका तस्वीर आउन थाले । कसैले प्रतिक्रिया जनाउँदैनथ्यो । कसैले असहमति राख्दैनथ्यो ।
मानौँ सबैले एउटा अदृश्य सम्झौता गरेका थिए—
"चुप बसौँ ।"

विजयले यो मौनताको अर्थ बुझ्न खोज्यो । सबै मानिस डराएका थिएनन् । कतिपय निराश थिए । कतिपय व्यावहारिक बनेका थिए ।
कतिपयले सोचे—
"यसपटक आलोचना गरियो भने फेरि पुरानै शक्तिहरू फर्किन्छन् ।"
कतिपयले सोचे—
"मलाई राजनीति गरेर के फाइदा ?"
र कतिपयले आफ्नो जीवनतिर फर्किन रोजे ।
बैंकको किस्ता ।
छोराछोरीको पढाइ ।
विदेश जाने तयारी ।
बिरामी आमाबुबाको उपचार ।
जीवन आफैँ ठूलो संघर्ष थियो ।
लोकतन्त्रको पहरेदार भएर बस्ने फुर्सद सबैसँग कहाँ हुन्थ्यो र ?
विजयले पहिलो पटक आफ्ना साथीहरूप्रति रिसभन्दा बढी करुणा महसुस गर्यो ।

एक दिन टेककी आमाले सोधिन्,
"आजकल तिम्रा साथीहरू आउँदैनन् ?"
"सबै व्यस्त छन्," विजयले उत्तर दियो ।
"तिमी ?"
"म पनि ।"
"अनि किन यति धेरै सोचिरहन्छौ ?"
विजय केहीबेर मौन रह्यो ।
"मलाई डर लाग्छ, आमा ।"
"केको ?"
उसले धेरै समयपछि आफ्ना भावनालाई शब्द दियो ।
"यदि सबै चुप लागे भने ?"
वृद्ध आमाले उसलाई हेरिन् ।
"तिमी एक्लै भयौ ?"
उसले मुस्कुराउन खोज्यो ।
"सायद ।"
उनी बिस्तारै भनिन्,
"सत्य बोल्ने मानिसहरू धेरैपटक एक्लै देखिन्छन्, बाबु । तर एक्लोपन र गलत हुनु एउटै कुरा होइन ।"
विजयको आँखाभरि आँसु भरिए ।

त्यो रात उसले टेकसँगको पुरानो च्याट फेरि पढ्यो ।
एउटा सन्देशमा टेकले लेखेको थियो—
"भीड हुँदा बोल्नु सजिलो हुन्छ ।
गाह्रो त भीड छरिएपछि सुरु हुन्छ ।"
त्यतिबेला विजयले त्यसको अर्थ बुझेको थिएन । आज बुझ्दै थियो । आन्दोलनको परीक्षा सडकमा हुँदैन । त्यो त आन्दोलनपछि सुरु हुन्छ । जब ताली बजाउनेहरू धेरै हुन्छन् । जब मौन बस्नेहरू झन् धेरै हुन्छन् । र प्रश्न सोध्नेहरू क्रमशः थोरै हुँदै जान्छन् ।

उसले आफ्नो डायरी खोलेर लेख्यो—
"चुपचाप समर्थन लोकतन्त्रको सबैभन्दा कम देखिने खतरा हो ।
यो अन्धसमर्थनजस्तो आक्रामक हुँदैन ।
यो दमनजस्तो स्पष्ट हुँदैन ।
यो केवल भन्छ—'अहिले नबोलौँ ।'
र यही वाक्य हजारौँ पटक दोहोरिँदा नागरिक चेतना निदाउन थाल्छ ।"
ऊ केहीबेर रोकियो ।
अर्को हरफ लेख्यो—
"सबै मौन मानिस खराब हुँदैनन् ।
धेरैजसो थाकेका हुन्छन् ।
डराएका हुन्छन् ।
व्यस्त हुन्छन् ।
तर लोकतन्त्रका लागि मौनताको परिणाम भने उस्तै हुन सक्छ ।"
उसले अन्तिम वाक्य लेख्यो—
"सत्तालाई केवल अन्धसमर्थनले होइन, असल मानिसहरूको सुविधाजनक मौनताले पनि बलियो बनाउँछ ।"

झ्यालबाहिर रात गहिरिएको थियो । सहर सुतिरहेको थियो । कतै सरकारी उपलब्धिका भिडियोहरू चलिरहेका थिए । कतै आलोचनाका पोस्टहरू लेखिँदै थिए । र धेरै घरहरूमा मानिसहरू आफ्नै संघर्षमा व्यस्त थिए।
विजयले एकाएक महसुस गर्यो—
उसको सबैभन्दा ठूलो डर सरकार थिएन ।
न विपक्ष ।
न सामाजिक सञ्जाल ।
उसको डर त्यो क्षण थियो,
जब समाजका विवेकी मानिसहरूले आफैँलाई भन्नेछन्—
"मेरो बोलाइले के फरक पर्छ र ?"
किनकि इतिहासमा धेरैपटक स्वतन्त्रता ठूलो युद्ध हारेर मात्र हराएको छैन ।
ऊ त विस्तारै हराएको छ—
जब प्रश्न गर्नेहरूले प्रश्न गर्न छाडे,
जब साथीहरूले असहमतिलाई असजिलो सम्झे,
र जब चुपचाप समर्थनलाई जिम्मेवारी ठानियो ।
विजयले डायरी बन्द गर्यो । ऊ साँच्चै अलि एक्लो महसुस गरिरहेको थियो ।
तर उसले टेकको एउटा पुरानो वाक्य सम्झियो—
"एक्लै हुनु र एक्लै बाँकी रहनु फरक कुरा हो ।
कसैले न कसैले फेरि बोल्नेछ ।"
झ्यालबाहिर पूर्वतिर कतै हल्का उज्यालो देखिन थालेको थियो ।
र अजिङ्गरको छायाँ, जति लामो भए पनि, एउटा सत्यलाई पूर्ण रूपमा निल्न सक्दैनथ्यो—
मौनता फैलिन सक्छ ।
तर एउटा प्रश्नले फेरि संवाद सुरु गर्न सक्छ ।
१६ : इतिहास दोहोरिने डर
मानिसहरू इतिहास दोहोरिन्छ भन्छन् । विजयलाई पहिले यो वाक्य अतिरञ्जित लाग्थ्यो । उसलाई लाग्थ्यो—इतिहास पुस्तकमा हुन्छ । मिति, घटना र नामहरूमा सीमित हुन्छ । नयाँ पुस्ताले पुराना गल्ती दोहोर्याउँदैन । उनीहरू अझ सचेत हुन्छन् । अझ आलोचनात्मक हुन्छन् ।
तर उमेरसँगै उसले बुझ्न थाल्यो—
इतिहास ठ्याक्कै दोहोरिँदैन । ऊ नयाँ कपडा लगाएर फर्किन्छ । नयाँ नारा बोकेर आउँछ । नयाँ अनुहार लिएर आउँछ । तर मानिसहरूको आशा, मोह र निराशाको चक्र भने उस्तै रहन्छ ।

एक साँझ विजयले टेलिभिजनमा पुराना राजनीतिक भाषणहरूको भिडियो हेर्दै थियो ।
एउटा क्लिपमा हजारौँ मानिसहरूको भीड देखिन्थ्यो ।
झन्डा ।
ताली ।
उत्साह ।
"अब देश बन्छ !"
"अब कसैले रोक्न सक्दैन !"
"यो अन्तिम आशा हो !"
ती दृश्यहरूले उसलाई आफ्नै बाल्यकालमा पुर्‍याए । त्यो बेला ऊ विद्यालय पढ्थ्यो । बुबासँग टेलिभिजन अगाडि बसेर भाषण सुन्थ्यो । बस्तीका मानिसहरू नेताको नाम उच्चारण गर्दा आँखामा चमक आउँथ्यो । घरेलु वातावरण हुन्थ्यो ।
चिया पसलमा एउटै चर्चा हुन्थ्यो—
"अब त केही हुन्छ ।"
विशेष गरी एउटा समय यस्तो आएको थियो, जब धेरै नेपालीहरूले एउटा नेतृत्वमा असाधारण आशा राखेका थिए ।
राष्ट्रवादको भाषा ।
विकासको वाचा ।
स्थायित्वको सपना ।
सामाजिक सञ्जालदेखि गाउँका चौतारासम्म एउटै भावना फैलिएको थियो—
"यो फरक छ ।"
विजयलाई अझै सम्झना थियो—
उसले बाल्यकालमा कापीको पछाडि एउटा नेताको तस्वीर कोरेको थियो ।
किनकि बुबाले भनेका थिए,
"यसपटक सायद देश बन्छ ।"

तर वर्षहरू बित्दै गए । आशाको ठाउँमा प्रश्नहरू आए । प्रश्नहरूको ठाउँमा निराशा । निराशाको ठाउँमा कटुता । चिया पसलका बहसहरू बदलिन थाले ।
"सबै उस्तै हुन् ।"
"कसैमाथि विश्वास गर्नु हुँदैन ।"
"देश कहिल्यै बन्दैन ।"
"जुन जोगी आए पनि कानै चिरेका ।"
"कुर्सी पाएपछि मती भ्रष्ट ।"


विजयले त्यतिबेला एउटा कुरा बुझ्न सकेको थिएन—
मानिसहरू यति छिटो कसरी बदलिन्छन् ?

आज, वर्तमानलाई हेर्दा, उसलाई त्यही भावना फेरि देखिन थालेको थियो ।
फरक केवल नामहरूको थियो ।
तर्क उस्तै थिए ।
"अहिले आलोचना नगर्नुस् ।"
"अझै समय दिनुस् ।"
"अरूभन्दा त राम्रो छ ।"
"यो अन्तिम आशा हो ।"
र त्यसपछि अर्को पक्षका मानिसहरू—
"सबै नाटक हो ।"
"अब केही हुँदैन ।"
"हामी फेरि ठगियौँ ।"
विजयलाई डर लाग्यो । सरकारभन्दा ठूलो डर । विपक्षभन्दा ठूलो डर ।
उसलाई डर लाग्यो—
हामी फेरि त्यही भावनात्मक चक्रमा त फसिरहेका छैनौँ ?

त्यो रात ऊ आफ्नो बुबासँग धेरै दिनपछि लामो कुरा गर्न बस्यो । बुबाको कपाल लगभग सेतै भइसकेको थियो ।
"तिमीलाई सम्झना छ ?" विजयले सोध्यो, "एक समय तपाईंहरू धेरै उत्साहित हुनुहुन्थ्यो ।"
बुबा मुस्कुराए ।
"कुन समय ?"
"जब सबैलाई लाग्थ्यो—अब देश बन्छ ।"
बुबा केहीबेर मौन रहे ।
"त्यो पहिलो पटक थिएन, बाबु ।"
"के मतलब ?"
"हाम्रो पुस्ताले पनि धेरै पटक 'अब देश बन्छ' भनेको हो ।"
"अनि ?"
"हरेक पटक केही आशा साँचो भयो । केही सपना टुटे ।"
"अनि फेरि ?"
"फेरि अर्को पुस्ताले नयाँ आशा बोकेर आयो ।"
विजय चुप लाग्यो ।
"त्यसो भए हामी कहिल्यै सिक्दैनौँ ?"
बुबाले उसलाई हेरे ।
"हामी सिक्छौँ । तर बिर्सिने पनि छिटो गर्छौँ ।"

त्यो रात विजयले डायरी खोलेर लेख्यो—
"समस्या आशा राख्नु होइन ।
समस्या आशालाई विवेकभन्दा माथि राख्नु हो ।"
उसले अर्को हरफ थप्यो—
"हामीले नेताहरूलाई आवश्यकता भन्दा बढी अर्थ दिन्छौँ ।
उनीहरूलाई समाधान ठान्छौँ ।
र जब उनीहरू असफल हुन्छन्, लोकतन्त्रप्रति नै निराश हुन्छौँ ।"
उसले केही क्षण रोकिने निर्णय गर्यो ।
टेक सम्झियो ।
टेकको विश्वास ।
टेकको मृत्यु ।
र त्यसपछि लेख्यो—
"इतिहास दोहोरिन्छ भन्ने डर त्यसमा छैन कि फेरि कोही लोकप्रिय हुन्छ ।
डर त्यसमा छ कि हामी फेरि आलोचनात्मक चेतना सुम्पेर भावनात्मक लगानी मात्र गर्छौँ ।"

केही दिनपछि उसले एउटा लेख प्रकाशित गर्यो ।
शीर्षक थियो—
"उत्साह र निराशाबीचको देश"
उसले लेख्यो—
हामी बारम्बार दुई चरम सीमाबीच झुलिरहेका छौँ ।
कहिले कसैलाई उद्धारकर्ता बनाउँछौँ ।
कहिले सबैलाई अस्वीकार गर्छौँ ।
तर लोकतन्त्र उद्धारकर्ताको खोज होइन ।
यो संस्थाहरूलाई बलियो बनाउने, निरन्तर निगरानी गर्ने र नागरिक चेतना जोगाइराख्ने अभ्यास हो ।
अन्तिम अनुच्छेदमा उसले लेख्यो—
हामीले विगतका उत्साह र निराशाबाट सिक्न सकेनौँ भने, इतिहास फेरि दोहोरिन सक्छ ।
ठ्याक्कै उही रूपमा होइन, तर उस्तै भावनात्मक संरचनामा ।

लेख प्रकाशित भएपछि प्रतिक्रियाहरू आए ।
कतिपयले लेखे—
"तिमी पुराना र नयाँ सबैलाई एउटै तराजुमा हाल्दै छौ ।"
कतिपयले भने—
"यो त अत्यधिक निराशावाद हो ।"
तर एउटा वृद्ध पाठकले टिप्पणी गरे—
"हामीले धेरै पटक ताली बजायौँ, धेरै पटक गाली गर्‍यौँ । अब सायद प्रश्न गर्न सिक्नुपर्छ ।"
विजयले त्यो टिप्पणी धेरैबेर हेरिरह्यो ।
सायद पुस्ताहरूबीचको संवाद त्यहीँबाट सुरु हुन्थ्यो ।

त्यो रात उसले डायरीको अन्तिम पानामा लेख्यो—
"म इतिहास दोहोरिने डरले आशा त्याग्न चाहन्नँ ।
तर आशाको नाममा स्मृति पनि गुमाउन चाहन्नँ ।
बाल्यकालको उत्साह र वर्तमानको मोहभङ्गबीच सायद एउटा तेस्रो बाटो छ ।
जहाँ नागरिकले विश्वास पनि गर्छ, प्रश्न पनि गर्छ ।
समर्थन पनि गर्छ, तर समर्पण गर्दैन ।"
उसले डायरी बन्द गर्यो ।
झ्यालबाहिर रात शान्त थियो । कतै अर्को पुस्ता फेरि उत्साहित हुँदै थियो । कतै अर्को पुस्ता फेरि निराश हुँदै थियो ।
र विजयले पहिलो पटक स्पष्ट रूपमा बुझ्यो—
इतिहासको सबैभन्दा ठूलो पाठ कुनै नेताको उदय वा पतन होइन । त्यो त नागरिकको स्मृति हो । किनकि जसले आफ्नो स्मृति जोगाउँछ, उसले आशा गर्न पनि सिक्छ, र भ्रमबाट बच्न पनि ।
टाढा क्षितिजतिर बिहानीको हल्का रेखा देखिन थालेको थियो ।
अजिङ्गरको छायाँ अझै समाप्त भएको थिएन ।
तर विजयले डायरीमाथि हात राख्दै मनमनै भन्यो—
"हामीले इतिहास रोक्न सक्दैनौँ ।
तर त्यसबाट सिक्ने वा फेरि दोहोर्याउने निर्णय भने हाम्रो आफ्नै हुन्छ ।"
१७ : नयाँ देवता खोज्ने भ्रम
आन्दोलनको सबैभन्दा ठूलो विडम्बना के थियो ? विजयलाई लाग्थ्यो, यसको उत्तर सत्ता परिवर्तनमा थिएन । न त पूरा नभएका वाचाहरूमा । न त नियुक्ति, विवाद वा भाषणहरूमा ।
सबैभन्दा ठूलो विडम्बना त यो थियो—
मानिसहरूले आन्दोलनलाई गलत रूपमा सम्झिन थालेका थिए ।
कसैले त्यसलाई एउटा नेताको विजयको कथा बनाइदियो ।
कसैले एउटा दलको उद य।
कसैले एउटा पुस्ताको भावुक विस्फोट ।
तर विजयलाई थाहा थियो—
सडकमा उभिएका अधिकांश मानिसहरूले नयाँ देवता खोजेका थिएनन् । उनीहरूले केवल सामान्य राज्य खोजेका थिए ।

उसलाई आन्दोलनको पहिलो दिन सम्झना आयो ।
बिहानदेखि नै सहर अस्वाभाविक रूपमा बेचैन थियो । कलेजका विद्यार्थीहरू । राइड सेयर चलाउने युवाहरू । विदेश जाने तयारीमा रहेका केटाहरू । सुकुमवासी बस्तीका किशोरहरू । कार्यालय बिदा लिएर आएका कर्मचारीहरू । कुनै राजनीतिक प्रशिक्षण शिविरबाट आएका अनुशासित कार्यकर्ता थिएनन् । उनीहरू साधारण मानिसहरू थिए । असाधारण थकान बोकेका ।
एकजना युवाले माइक समातेर भनेका थिए—
"हामीलाई भगवान चाहिएको होइन !"
भीडले ताली बजायो ।
त्यसपछि अर्को स्वर उठेको थियो—
"हामीलाई काम गर्ने कर्मचारी चाहिएको हो !"
त्यो वाक्यमा मानिसहरू हाँसेका थिए ।
तर त्यो हाँसोभित्र एउटा गहिरो सत्य लुकेको थियो ।

विजयले आफूलाई सोध्यो—
त्यतिबेला उनीहरूले के मागेका थिए ?
के उनीहरूले पूर्णता मागेका थिए ?
अचूक नेतृत्व ?
सन्तजस्तो चरित्र ?
चमत्कारी विकास ?
उसले सम्झने प्रयास गर्यो ।
अनि एक-एक गरेर मागहरू उसको स्मृतिमा फर्किए ।
समयमै सेवा ।
कानुनको समान प्रयोग ।
भ्रष्टाचारप्रति न्यूनतम असहिष्णुता ।
जवाफदेहिता ।
गल्ती स्वीकार गर्ने साहस ।
नागरिकलाई सम्मान ।
यति मात्रै ।
देशलाई स्विट्जरल्यान्ड बनाउने माग थिएन ।
दुई वर्षमा समृद्धि ल्याउने सपना थिएन ।
उनीहरूले त केवल यति भनेका थिए—
"हामीलाई न्यूनतम मर्यादा चाहिएको हो ।"

एक दिन विजय पुराना पोस्टहरू पल्टाउँदै थियो ।
आन्दोलनको एउटा तस्वीरमा टेक मुस्कुराइरहेको थियो ।
उसको हातमा प्लेकार्ड थियो—
"हामी नागरिक हौँ, भक्त होइनौँ ।"
विजयले धेरैबेर त्यो तस्वीर हेरिरह्यो ।
टेकलाई नेताहरूका नाम मन पर्थेनन् ।
ऊ बारम्बार भन्थ्यो,
"समस्या मानिसलाई देवता बनाउने बानीमा छ ।"
"किन ?"
"किनकि देवतालाई प्रश्न गरिँदैन ।"
"अनि ?"
"लोकतन्त्रमा प्रश्न नगर्ने बित्तिकै नागरिक भक्त बन्छ ।"
त्यतिबेला विजयले त्यसलाई आदर्शवादी कुरा ठानेको थियो ।
आज त्यसको गहिराइ बुझ्दै थियो ।

आन्दोलन सफल भएपछि मानिसहरूले नयाँ अनुहारहरूमा आफ्ना अधुरा सपनाहरू थुपार्न थाले । कसैले उनीहरूलाई उद्धारकर्ता भने । कसैले अन्तिम आशा । कसैले "अब सबै ठीक हुन्छ" भने ।
र त्यहीँबाट भ्रम सुरु भयो ।
किनकि जब कसैलाई उद्धारकर्ता बनाइन्छ, उसको मान्छे रहने अधिकार खोसिन्छ । उसलाई आलोचनाभन्दा माथि उठाइन्छ । उसका गल्तीहरूलाई नियतले ढाकिन्छ । उसका कमजोरीहरूलाई रणनीति भनिन्छ ।
र उसका समर्थकहरू नागरिकबाट अनुयायीमा बदलिन थाल्छन् ।

एक साँझ समीरसँग फेरि भेट भयो ।
"तिमीहरू धेरै अपेक्षा गर्छौ," समीरले भन्यो ।
विजय मुस्कुरायो ।
"हामीले ?"
"हो । सबै कुरा तुरुन्तै चाहियो ।"
"समीर," विजयले शान्त स्वरमा भन्यो, "हामीले के मागेका थियौँ ?"
"परिवर्तन ।"
"कस्तो परिवर्तन ?"
समीर चुप लाग्यो ।
विजयले अगाडि भन्यो,
"के हामीले देवता मागेका थियौँ ?"
"…"
"के हामीले चमत्कार मागेका थियौँ ?"
"…"
"हामीले त केवल यति भनेका थियौँ—गल्ती नगर भनेर होइन, गल्ती गर्दा स्वीकार गर भनेर । कानुनभन्दा माथि नबस भनेर । नागरिकलाई शत्रु नठान भनेर ।"
समीरको नजर झुक्यो ।
"सायद," उसले बिस्तारै भन्यो, "हामीले आफ्नै अपेक्षालाई गलत सम्झियौँ ।"

त्यो रात विजयले एउटा लेख लेख्यो ।
शीर्षक थियो—
"हामीले नयाँ देवता खोजेका थिएनौँ"
उसले लेख्यो—
हामीले आन्दोलन कुनै उद्धारकर्ताको खोजीमा गरेका थिएनौँ ।
हामीले सामान्य राज्य खोजेका थियौँ ।
उसले अगाडि लेख्यो—
हामीले भ्रष्टाचार शून्य हुन्छ भनेर मागेका थिएनौँ ।
तर भ्रष्टाचारलाई सामान्य नठानियोस् भनेका थियौँ ।
हामीले गल्ती नहोस् भनेका थिएनौँ ।
तर गल्तीलाई स्वीकार गरेर सुधार गर्ने संस्कार होस् भनेका थियौँ ।
हामीले आलोचना सहने लोकतान्त्रिक आत्मविश्वास खोजेका थियौँ ।
अन्त्यमा उसले लेख्यो—
न्यूनतम दायित्वलाई असम्भव आदर्श ठान्ने समाजले अन्ततः आफ्नै अधिकार सानो बनाउँछ ।

प्रतिक्रियाहरू आयो ।
कतिपयले लेखे—
"तिमीहरू आदर्शवादी नै थियौ ।"
कसैले भने—
"जनताले धेरै अपेक्षा गरे ।"
तर धेरै प्रतिक्रियाहरू फरक थिए ।
"हो, हामीले देवता मागेका थिएनौँ ।"
"हामीलाई लाइनमा सम्मान चाहिएको थियो ।"
"हामीलाई नागरिक ठानियोस् भन्ने चाहना मात्र थियो ।"
विजयले ती प्रतिक्रियाहरू पढ्दै महसुस गर्यो—
सायद मानिसहरू आफ्नो मूल माग बिर्सन थालेका थिए ।
सायद उनीहरूलाई सम्झाइदिन आवश्यक थियो ।

त्यो रात उसले डायरी खोल्यो ।
र लेख्यो—
"लोकतन्त्रको संकट कहिलेकाहीँ खराब नेतामा मात्र हुँदैन ।
त्यो नागरिकको कल्पनाशक्तिमा पनि हुन्छ ।
जब नागरिकले आफूलाई भक्तमा रूपान्तरण गर्छ, नेता देवता बन्न थाल्छ ।"
उसले अर्को हरफ थप्यो—
"हामीले उद्धारकर्ता खोजेका थिएनौँ ।
हामीले सेवक खोजेका थियौँ ।
हामीले चमत्कार खोजेका थिएनौँ ।
हामीले न्यूनतम दायित्व खोजेका थियौँ ।"
अन्तिम वाक्य लेख्दा उसका हात स्थिर थिए ।
"यदि नागरिकले आफ्नो न्यूनतम अपेक्षा पनि घटाउँदै जान थाल्यो भने, त्यो लोकतन्त्रको विनम्रता होइन—आत्मसमर्पण हो ।"
उसले डायरी बन्द गर्यो ।
झ्यालबाहिर रात गहिरिएको थियो ।
कतै मानिसहरू अझै नयाँ देवताको खोजीमा थिए ।
कतै पुराना देवताहरूको रक्षा गरिरहेका थिए ।
तर विजयलाई टेकको प्लेकार्ड फेरि सम्झना आयो—
"हामी नागरिक हौँ, भक्त होइनौँ ।"
उसले मनमनै दोहोर्‍यायो—
"हामीले नयाँ देवता खोजेका थिएनौँ ।
हामीले केवल यति खोजेका थियौँ—राज्यले नागरिकलाई नागरिकजस्तै व्यवहार गरोस् ।"
र सायद,
सबैभन्दा ठूलो राजनीतिक माग त्यही थियो ।
सबैले नागरिक हुनुको गर्व गर्न सकोस् ।
किनकि न्यूनतम मर्यादाको माग गर्ने समाजले नै लोकतन्त्रलाई जीवित राख्न सक्छ ।
क्रमशः…
१८ : सफ्ट अथोरिटेरियनको छाया
अधिनायकवादको कल्पना गर्दा विजयको मनमा पहिले एउटै दृश्य आउँथ्यो ।
सैनिक बुटहरूको आवाज ।
कर्फ्यु ।
बन्द रेडियो स्टेशनहरू ।
पत्रकारहरूको गिरफ्तारी ।
कालो सिसा भएका गाडीहरू ।
रातको अँध्यारोमा ढोका ढकढक्याउने अपरिचित हातहरू ।
उसले सोचेको थियो—स्वतन्त्रता खोसिने हो भने त्यसको आवाज ठूलो हुन्छ ।
मानिसहरूले तुरुन्तै थाहा पाउँछन् । तर समयसँगै उसले अर्को कुरा बुझ्न थाल्यो । सबै अधिनायकवाद बुट लगाएर आउँदैनन् । कतिपय मुस्कुराउँदै आउँछन् । कतिपय लोकप्रियताको भाषामा आउँछन् । कतिपय विकासको वाचासहित आउँछन् । र कतिपय त यति नरम हुन्छन् कि मानिसहरूले तिनलाई खतरा नै मान्दैनन् ।

एक दिन विजयले सामाजिक सञ्जाल खोलेर हेर्दा अनौठो दृश्य देख्यो । एउटा भिडियो भाइरल थियो । कुनै अधिकारीलाई सार्वजनिक रूपमा हप्काइएको थियो ।
ताली ।
हासो ।
प्रशंसा ।
"वाह !"
"यस्तै चाहिन्छ !"
"डर हुनुपर्छ !"
कमेन्टहरूको बाढी उर्लिएको थियो ।
अर्कोतर्फ, एउटा लामो नीतिगत विश्लेषण थियो ।
करिब कसैले पढेको थिएन ।
दुई–चार प्रतिक्रिया ।
केही लाइक ।
मौनता ।
अल्गोरिदमले पनि हायजहरूलाई नै पाखा लगाइरहेको थियो ।
विजयलाई अचानक एउटा असजिलो प्रश्नले छोयो—
हामी शासन चाहिरहेका छौँ कि प्रदर्शन ? शासकहरूले जनताको सेवा गर्ने कि आफ्नो विज्ञापनमा रमाउने ?

टेकले एकपटक भनेको थियो,
"लोकतन्त्र अलि बोरिङ हुन्छ ।"
विजय हाँसेको थियो ।
"बोरिङ ?"
"हो ।"
"किन ?"
"किनकि बैठक हुन्छ । बहस हुन्छ । नियम हुन्छ । प्रक्रिया हुन्छ । सबै कुरा तुरुन्तै हुँदैन ।"
"के यो आन्दोलनको उपलब्धी जनताका साधारण आवश्यकताको परिपूर्ति गर्ने बटम लाइनसम्म पनि किन हुन सकेन ?
"अनि ?"
"अधिनायकवाद रोमाञ्चक देखिन सक्छ ।"
त्यतिबेला त्यो कुरा उसलाई मजाकजस्तो लागेको थियो ।
आज, टेक नभएको वर्षौँपछि, उसले त्यसको अर्थ गहिरिएर बुझ्दै थियो ।

समाजमा एउटा नयाँ बानी बस्दै गएको थियो ।
मानिसहरू बोल्नुअघि सोच्थे—
"यसको गलत अर्थ लाग्ला कि ?"
"देशविरोधी भनिएला कि ?"
"पुरानाको समर्थक ठहरिएला कि ?"
"मित्रहरूले के सोच्लान् ?"
विजयले आफ्नै फेसबुक पोस्ट तीनपटक लेखेर मेटाएको दिन सम्झियो । उसलाई कसैले प्रत्यक्ष धम्की दिएको थिएन । तर ऊ डराएको थियो । प्रतिक्रियासँग । बहिष्कारसँग । लेबलसँग । त्यो डर बाहिरी आदेशबाट आएको थिएन । त्यो त भित्रै बस्न थालेको थियो ।
सेल्फ सेन्सरसिप ।

एक साँझ प्रतीक्षाले उसलाई भनिन्,
"तिमी अझै लेख्छौ ?"
"लेख्छु ।"
"डर लाग्दैन ?"
विजय केहीबेर चुप लाग्यो ।
"लाग्छ ।"
"अनि ?"
"डर लाग्नु र नलेख्नु एउटै कुरा होइन ।"
प्रतीक्षा मुस्कुराइन् ।
"म त धेरै पटक लेख्न खोजेर मेटाउँछु ।"
"किन ?"
"थाकेको छु ।"
"केबाट ?"
"आफ्नो नियत प्रमाणित गर्नुपर्ने बाध्यताबाट ।"
विजयसँग उत्तर थिएन ।

त्यो रात उसले पुराना डायरीहरू पल्टायो ।
आन्दोलनका दिनहरू ।
न्यायको माग ।
जवाफदेहिताको आग्रह ।
सार्वजनिक सहभागिताको सपना ।
र त्यसपछि वर्तमान—
भाइरल क्लिपहरू ।
तत्काल प्रतिक्रियाहरू ।
भावनात्मक विभाजन ।
दिनदिनै बदलिने सार्वजनिक क्रोध ।
उसले महसुस गर्यो—
हामी दीर्घकालीन सोच गुमाउँदै गइरहेका छौँ । हामी नीति होइन, दृश्य हेर्न अभ्यस्त हुँदै गइरहेका छौँ । हामी संस्थाभन्दा व्यक्तिलाई केन्द्रमा राख्दै गइरहेका छौँ । र भविष्यभन्दा आजको ट्रेन्डलाई महत्त्व दिन थालेका छौँ ।

उसले एउटा लेख लेख्न सुरु गर्यो ।
शीर्षक थियो—
"सफ्ट अथोरिटेरियनको छाया"
उसले लेख्यो—
अधिनायकवाद सधैँ संविधान निलम्बन गरेर आउँदैन । कहिलेकाहीँ ऊ चुनाव जितेर आउँछ । लोकप्रिय भएर आउँछ । विकासको भाषामा आउँछ । र नागरिकहरूको थकानलाई आफ्नो शक्ति बनाउँछ ।
उसले अगाडि लेख्यो—
जब नागरिकहरूले आफ्ना शब्दहरू आफैँ सेन्सर गर्न थाल्छन्, स्वतन्त्रता कानुनी रूपमा जीवित भए पनि व्यवहारमा कमजोर हुन थाल्छ ।
जब भाइरल राजनीति नीतिभन्दा ठूलो हुन्छ, लोकतन्त्र प्रदर्शनमा सीमित हुन थाल्छ ।
जब दीर्घकालीन संस्थागत सुधारभन्दा तत्कालीन लोकप्रियतालाई प्राथमिकता दिइन्छ, भविष्य वर्तमानको तालीमा बन्धक बन्छ ।
उसले केहीबेर रोकेर अन्तिम अनुच्छेद लेख्यो—
हामीलाई ठूलो तानाशाहको डर मात्र होइन, सानो-सानो सम्झौताहरूको पनि डर हुनुपर्छ ।
किनकि स्वतन्त्रता प्रायः एकैपटक हराउँदैन ।
ऊ सुविधा, मौनता र प्रदर्शनको मोहमा बिस्तारै क्षीण हुँदै जान्छ ।

लेख प्रकाशित भएपछि प्रतिक्रिया तीव्र आयो ।
"तिमी अतिरञ्जना गर्दै छौ !"
"लोकतान्त्रिक सरकारलाई अधिनायकवादी भन्न मिल्छ ?"
"यस्तो लेखले गलत शक्तिलाई फाइदा पुग्छ ।"
तर केही प्रतिक्रियाहरू फरक थिए ।
"म पनि लेख्न डराउँछु ।"
"हामीले कहिलेदेखि आफ्नो विचार पहिले परीक्षण गर्न थाल्यौँ ?"
"सायद समस्या कानूनभन्दा पहिले संस्कृतिमा छ ।"
विजयले ती प्रतिक्रियाहरू धेरैबेर पढिरह्यो ।
उसलाई लाग्यो—
सफ्ट अथोरिटेरियनको सबैभन्दा ठूलो शक्ति डर होइन ।
सहमति हो ।
मानिसहरूले आफ्नै सीमाहरू आफैँ निर्धारण गर्न थालेको क्षण हो ।

त्यो रात टेकको तस्वीरअगाडि बसेर उसले बिस्तारै भन्यो,
"हामीले यस्तो भविष्य कल्पना गरेका थियौँ ?"
मौनता ।
उसलाई टेकको पुरानो आवाज सुनिएजस्तो लाग्यो—
"डर लागे पनि बोल्नुपर्छ ।"
विजय हल्का मुस्कुरायो ।
"हो, टेक ।"
"तर अहिले डर फरक छ ।"
अब सडकमा लाठी थिएन । अश्रुग्यास थिएन । तर मानिसहरू आफ्ना शब्दहरू तौलिरहेका थिए । आफ्नो नियत प्रमाणित गरिरहेका थिए। आफ्नै मौनतालाई विवेकको नाम दिइरहेका थिए ।

उसले डायरीको अन्तिम पानामा लेख्यो—
"सफ्ट अथोरिटेरियनको छायाँमा मानिसहरू आफूलाई स्वतन्त्र ठान्न सक्छन् ।
उनीहरू चुनावमा मत हाल्छन् ।
सामाजिक सञ्जाल प्रयोग गर्छन् ।
हास्छन्, ताली बजाउँछन् ।
तर यदि उनीहरूले आफ्ना प्रश्नहरू आफैँ दबाउन थाले भने, स्वतन्त्रताको आत्मा कमजोर भइसकेको हुन्छ । जुनसुकै शासक आए पनि अल्गोरिदमलाई आफू अनूकुल बनाउँछन् । "
ऊ केहीबेर रोकियो ।
अन्तिम हरफ लेख्यो—
"लोकतन्त्रलाई सधैँ ठूलो शत्रुले मात्र खतरा हुँदैन ।
कहिलेकाहीँ उसलाई सबैभन्दा ठूलो खतरा त्यसबेला हुन्छ, जब नागरिकहरूले सुविधा, भाइरल रोमाञ्च र थकानका कारण आफ्नो आलोचनात्मक चेतना स्थगित गर्छन् । भनिन्छ नि उसलाई विद्वान शत्रुभन्दा मूर्ख मित्र हुने भाइरसले खप्लक्कै निलिसकेको हुन्छ ।"
उसले डायरी बन्द गर्यो । झ्यालबाहिर रात शान्त थियो । कुनै कर्फ्यु थिएन । कुनै सैनिक गस्ती थिएन । कुनै औपचारिक प्रतिबन्ध थिएन ।
तर विजयलाई लाग्यो—
क्षितिजमा फैलिएको त्यो धुम्म छायाँलाई बेवास्ता गर्नु बुद्धिमानी हुँदैन ।
किनकि अजिङ्गर सधैँ गर्जिएर आउँदैन ।
कहिलेकाहीँ ऊ नागरिकहरूको काँधमा हात राख्दै भन्छ—
"चिन्ता नगर ।
तिमी स्वतन्त्र छौ ।
केवल अहिले यो एउटा प्रश्न नसो ध।"
र सायद,
त्यही क्षणबाट स्वतन्त्रताको वास्तविक परीक्षा सुरु हुन्छ।
१९ : आशाको अन्तिम किरण
मानिसहरू प्रायः सोच्छन्—मोहभङ्ग भएपछि आशा समाप्त हुन्छ । विजयले पनि एक समय त्यही सोच्थ्यो । उसलाई लाग्थ्यो, आशा भनेको उत्साह हो । भरोसा हो । कसैप्रतिको विश्वास हो । त्यो भाँचियो भने बाँकी रहने कुरा केवल कटुता हो । तर वर्षौँको राजनीतिक यात्रा, सडकको धुवाँ, साथीहरूको मृत्यु, बहस, असहमति र एक्लोपनपछि उसले अर्को कुरा बुझ्यो—
सबैभन्दा परिपक्व आशा मोहभङ्गपछि जन्मिन्छ ।
त्यो अन्धविश्वास हुँदैन । त्यो भ्रम हुँदैन ।
त्यो त आलोचनात्मक प्रेमजस्तै हुन्छ—
त्रुटि देखेर पनि सुधार सम्भव छ भन्ने विश्वास ।

सहरमा वर्षाको मौसम सुरु भएको थियो । सुकुमवासी बस्तीका साँघुरा गल्लीहरू फेरि हिलोले भरिन थालेका थिए । टिनका छानाहरूमा पानीको आवाज रातभर बजिरहन्थ्यो । कहिलेकाहीँ त्यो आवाज विजयलाई आन्दोलनको भीडजस्तो लाग्थ्यो ।
कहिलेकाहीँ शोकसभाको मौनताजस्तो ।
उसले झ्यालबाट बाहिर हेर्दै सोच्यो—
कति वर्ष बिते ।
कति अनुहार हराए ।
कति नारा बदलिए ।
तर केही प्रश्न अझै उस्तै छन् ।

एक बिहान उसले टेककी आमालाई औषधि लिएर अस्पताल पुर्‍यायो ।
लामो लाइन थियो ।
काउन्टरमा झर्किने कर्मचारी ।
अधैर्य अनुहारहरू ।
फाइल बोकेर दौडिरहेका आफन्तहरू ।
वृद्ध आमाले थकित स्वरमा भनिन्,
"बाबु, यत्रो आन्दोलन गरियो । यस्ता लाइन त उस्तै रहेछन् ।"
विजय मुस्कुरायो ।
"हो, आमा ।"
"केही फेरिएन त ?"
उसले तुरुन्त उत्तर दिन सकेन । केही फेरिएको थियो । मानिसहरू बोल्न सिकेका थिए । प्रश्न गर्न सिकेका थिए । पुरानालाई चुनौती दिन सिकेका थिए । तर धेरै कुरा फेरिएको थिएन । सम्मानजनक सेवा अझै कठिन थियो । न्याय अझै ढिलो थियो । राज्य अझै टाढै थियो ।
"सायद," उसले बिस्तारै भन्यो, "हामीले यात्रा सुरु मात्र गरेका छौँ ।"
पुरानाले पनि भन्थे हामीले गर्दा नयाँले अनि पीडितले बोल्न पाए । तर यो बाहेक अरू केही भएन । कागजमा परिवर्तन तर व्यवहार बदलिएन । कसैको पनि दैलोमा न्याय पुगेन ।

घर फर्किँदा उसले आफ्नो जीवनतिर पनि नजर फर्कायो ।
आन्दोलनको बीचमा छुटेका परीक्षाहरू ।
स्थायी जागिरको अनिश्चितता ।
आर्थिक अभाव ।
आमाको स्वास्थ्य ।
बुवाको बढ्दो उमेर ।
साथीहरू विदेशिन थालेका समाचारहरू ।
कहिलेकाहीँ उसलाई लाग्थ्यो—
देश बचाउने कुरा गर्ने मानिसले आफ्नै जीवन जोगाउन संघर्ष गरिरहेको छ ।
सरकारले पासपोर्ट लिन पहिलेकाले भन्दा सजिलो बनाएको छ ।
उसले आफूलाई सोध्यो—
के म थाकेको छु ?
उत्तर आयो—
हो ।
के म हार मानेको छु ?
उत्तर फेरि आयो—
अहिलेसम्म होइन ।

त्यो रात उसले सरकारबारे अन्तिम पटक एउटा लामो लेख लेख्ने निर्णय गर्यो ।
शीर्षक थियो—
"आशाको अन्तिम किरण"
उसले लेख्यो—
म सरकार असफल होस् भन्ने चाहन्नँ ।
किनकि सरकारको असफलता अन्ततः नागरिककै असफलता बन्छ ।
अस्पतालमा लाइन बस्ने हामी नै हौँ ।
रोजगारी खोज्ने हामी नै हौँ ।
पासपोर्ट बनाउन धाउने हामी नै हौँ ।
उसले अगाडि लेख्यो—
यदि सुधार गर्ने इच्छा अझै बाँकी छ भने, आलोचनालाई शत्रु नठानियोस् ।
गल्ती स्वीकार गर्ने संस्कार विकास गरियोस् ।
संस्थालाई व्यक्तिभन्दा माथि राखियोस् ।
लोकप्रियताभन्दा प्रक्रियालाई सम्मान गरियोस् ।
पीडितलाई बोझ होइन, नागरिक ठानियोस् ।
अनि अन्त्यतिर उसले थप्यो—
हामी सरकार ढलोस् भनेर होइन, सुध्रियोस् भनेर प्रश्न गरिरहेका छौँ ।

तर एउटा अनुच्छेद लेख्दा उसका हात केहीबेर रोकिए ।
उसले टेक सम्झियो ।
रोशन सम्झियो ।
आन्दोलनका मृतकहरू सम्झियो ।
घाइतेहरूको अनुहार सम्झियो ।
वृद्ध आमाहरूको प्रतीक्षा सम्झियो ।
र त्यसपछि लेख्यो—
तर एउटा कुरा अझै बाँकी छ ।
न्याय ।
जबसम्म पीडितहरूले सत्य र न्यायको अनुभूति गर्दैनन्, तबसम्म आन्दोलन इतिहासको अध्याय बन्न सक्दैन ।
किनकि विकासका तथ्याङ्कहरूले अपूर्ण न्यायलाई प्रतिस्थापन गर्न सक्दैनन् ।

लेख प्रकाशित भएपछि धेरै प्रतिक्रिया आए ।
कतिपयले लेखे—
"अब पनि आशावादी ?"
"यति आलोचना गरेर पनि सफलताको कामना ?"
कतिपयले भने—
"हामी पनि सरकार सफल होस् भन्ने चाहन्छौँ ।"
टेककी आमाले भने फोन गरेर यति मात्र भनिन्,
"बाबु, रिसाएर होइन, सच्याएर देश बन्छ भने त्यो राम्रो हो ।"
विजय धेरैबेर मौन रह्यो ।

त्यो रात उसले आफ्नो पुरानो डायरीको अन्तिम पाना खोलेर हेऱ्यो ।
त्यहाँ आन्दोलन सुरु हुनुअघि लेखिएको एउटा वाक्य थियो—
"मलाई यस्तो देश चाहिन्छ जहाँ सामान्य भएर बाँच्न सकियोस् ।"
ऊ मुस्कुरायो ।
कति ठूलो सपना थियो त्यो ।
र कति सामान्य पनि ।
उसले नयाँ हरफ थप्यो—
"आशा भनेको सबै कुरा ठीक छ भन्ने विश्वास होइन ।
सबै कुरा ठीक नभए पनि ठीक पार्न सकिन्छ भन्ने अडान हो ।"
उसले अर्को हरफ लेख्यो—
"न्याय बाँकी छ ।
सुधार बाँकी छ ।
व्यक्तिगत संघर्ष बाँकी छ ।
तर आशा पनि बाँकी छ ।"

झ्यालबाहिर वर्षा रोकिएको थियो । पूर्वतिर हल्का उज्यालो देखिन थालेको थियो । बस्तीका मानिसहरू काममा निस्कने तयारी गर्दै थिए ।
कोही विद्यालय जान्थे । कोही पसल खोल्थे । कोही विदेश जाने कागज मिलाउँथे । जीवन राजनीति रोकिएर बस्दैनथ्यो । ऊ निरन्तर अगाडि बढिरहन्थ्यो ।
विजयले डायरी बन्द गर्यो ।
उसले महसुस गर्यो—
सायद आशाको अन्तिम किरण कुनै नेता होइन । कुनै दल होइन । कुनै भाइरल भाषण होइन । सायद त्यो वृद्ध आमाको न्यायमाथिको विश्वास हो । कुनै विद्यार्थीको प्रश्न हो । लाइनमा उभिएको नागरिकको धैर्य हो । गल्ती स्वीकार गर्ने विनम्रता हो । र हार नमान्ने साधारण मानिसहरूको जिद्दी हो ।
उसले मनमनै बिस्तारै भन्यो—
"म चाहन्छु, यो सरकार सफल होस् ।
तर सफलताको अर्थ ताली मात्र नहोस् ।
न्याय पनि होस् ।
जवाफदेहिता पनि होस् ।
सम्मान पनि होस् ।"
किनकि आशाको अन्तिम किरण भनेको अन्धो भरोसा होइन।
त्यो त स्मृतिसहितको आशा हो ।
घाउ बिर्सिएर होइन,
घाउ सम्झिएर पनि भविष्य सम्भव छ भन्ने विश्वास हो ।
र सायद,
अजिङ्गरको सबैभन्दा लामो छायाँपछि पनि मानिसहरू बाँचिरहने कारण त्यही हो—
उनीहरू निराश हुन जान्दछन्,
तर आशा गर्न छोड्दैनन् । तर न्याय र सुधार त थाँती नै छ ।
२० : अजिङ्गरको मुखबाट
बिहान हुनुअघि आकाश सबैभन्दा अँध्यारो हुन्छ भन्ने कुरा विजयले धेरैपटक सुनेको थियो ।
तर उसले जीवनमा अर्को कुरा पनि सिकेको थियो—
बिहानी आफैँ आउँदैन । कसैले रात काट्नुपर्छ । कसैले दियो निभ्न नदिनुपर्छ । कसैले थाकेका मानिसहरूलाई सम्झाइरहनुपर्छ कि उज्यालो सम्भव छ । र कसैले इतिहास सम्झाइरहनुपर्छ, ताकि मानिसहरू फेरि उही खाल्डोमा नखसून् ।

वर्षौँ बितिसकेका थिए ।
आन्दोलन अब पाठ्यसामग्रीका अनुच्छेदमा सीमित हुन थालेको थियो । नयाँ विद्यार्थीहरूले त्यसलाई युट्युबका क्लिपहरूमा हेर्थे । कसैले त्यसलाई जनताको विद्रोह भन्थे । कसैले राजनीतिक अवसरवाद । कसैले डिजिटल क्रान्ति । कसैले क्षणिक उत्तेजना ।
तर विजयलाई थाहा थियो—
त्यो आन्दोलन कुनै एउटा शब्दमा अट्ने कुरा थिएन । त्यो एउटा पुस्ताको थकान थियो । सम्मान खोज्ने नागरिकहरूको पुकार थियो । पुराना पुस्ताहरू प्रविधि मैत्री हुन नसक्नुको परिणाम पनि थियो ।
सुकुमवासी बस्तीको धुवाँ थियो । खाडीमा पसिना बगाएका बुवाहरूको मौनता थियो । घाइते युवाहरूको आँखा थियो । मृतकहरूको अधुरो सपना थियो ।
र सामान्य भएर बाँच्न चाहने मानिसहरूको साधारण इच्छा थियो ।

त्यो दिन विजयले अन्तिम लेख लेख्न बस्यो ।
धेरै वर्षदेखि उसले लेखिरहेको थियो ।
रिसले ।
प्रेमले ।
आशाले ।
निराशाले ।
कहिले सडकको पक्षमा ।
कहिले संस्थाको पक्षमा ।
कहिले पीडितहरूको आवाज बनेर ।
कहिले आफ्नै भ्रमको आलोचक बनेर ।
आज भने उसलाई लाग्यो—
अब लेखभन्दा बढी एउटा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बेला आएको छ ।
उसले शीर्षक लेख्यो—
"अजिङ्गरको मुखबाट"
उसका औँलाहरू केहीबेर स्थिर रहे ।
अनि ऊ लेख्न थाल्यो ।

हामीले सडक रोजेका थियौँ, किनकि संस्थाहरूले हाम्रो कुरा सुनेका थिएनन् ।
हामीले नारा लगाएका थियौँ, किनकि मौनताले हाम्रो सम्मान जोगाउन सकेको थिएन ।
हामीले प्रश्न गरेका थियौँ, किनकि प्रेम अन्धो समर्थन होइन भन्ने विश्वास गरेका थियौँ ।
हामीले नयाँ देवता खोजेका थिएनौँ ।
हामीले सामान्य राज्य खोजेका थियौँ ।
जहाँ नागरिकलाई नागरिकजस्तै व्यवहार गरियोस् ।
जहाँ गल्ती स्वीकार गरियोस् ।
जहाँ शक्तिभन्दा प्रक्रिया ठूलो होस् ।
जहाँ आलोचना देशद्रोह नबनोस् ।
यदि यो सरकार सफल हुन्छ भने, त्यो कुनै दलको मात्र सफलता हुनेछैन ।
त्यो सडकमा उभिएका ती युवाहरूको आशाको रक्षा हुनेछ ।
टेकहरूको बलिदान व्यर्थ गएको अनुभूति केही कम हुनेछ ।
आमाहरूले आफ्नो प्रतीक्षालाई पूर्णतः निरर्थक ठान्नुपर्ने छैन ।
तर यदि हामीले फेरि आलोचनालाई शत्रु ठान्यौँ,
यदि हामीले प्रक्रियालाई भाइरल प्रदर्शनसँग साट्यौँ,
यदि हामीले न्यायलाई स्थगित गरिरह्यौँ,
यदि नागरिकलाई भक्तमा रूपान्तरण गर्यौँ भने,
खरानीभित्रको आगो ज्वालामुखी बनी इतिहास फेरि दोहोरिन सक्छ ।

उसले केहीबेर रोकिने निर्णय गर्यो । झ्यालबाहिर हेर्यो । बस्तीको गल्लीमा विद्यालय जाने बच्चाहरू दौडिरहेका थिए । एउटा युवाले झोला बोकेर अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने बस समात्दै थियो । एक वृद्धा मन्दिरबाट फर्किंदै थिइन् ।
चिया पसलमा मानिसहरू फेरि राजनीति गरिरहेका थिए ।
देश चलिरहेको थियो ।
देश कहिल्यै रोकिन्न ।

उसले फेरि लेख्यो—
म नयाँ पुस्तालाई एउटा कुरा मात्र भन्न चाहन्छु—
कसैलाई यति धेरै प्रेम नगर कि उसलाई प्रश्न गर्न नसकोस् ।
कसैलाई यति धेरै घृणा पनि नगर कि उसले गरेको राम्रो काम देख्न नसकोस् ।
स्मृति जोगाएर राख्नू ।
किनकि स्मृति नभएको समाज सजिलै भ्रमित हुन्छ ।
संस्थालाई बलियो बनाउनू ।
किनकि असल मानिसहरू सधैँ सत्तामा रहँदैनन् ।
पीडितलाई सम्झिरहनू ।
किनकि न्यायविना विकास अधुरो हुन्छ ।
आशा राख्नू ।
तर आशालाई विवेकबाट अलग नगर ।

टेकको तस्वीर टेबुलमाथि थियो । विजयले धेरै वर्षपछि त्यसलाई उठाएर हेऱ्यो । उसले आन्दोलनको त्यो साँझ सम्झियो ।
रगत ।
धुवाँ ।
भागदौड ।
अधुरो वाक्यहरू ।
अनि टेकको हाँसो ।
"यदि केही फेरियो भने ?"
त्यतिबेला टेकले सोधेको थियो ।
विजयले भनेको थियो,
"त्यसो भए राम्रो ।"
"अनि केही नफेरिए ?"
"फेरि लडौँला ।"
टेक हाँसेको थियो ।
"आशा छ त ?"
"छ ।"
"किन ?"
"किनकि हामीले हार मानेका छैनौँ ।"
आज, यति वर्षपछि, विजयले महसुस गर्यो—
त्यो उत्तर अपूर्ण थियो ।
अब ऊ भन्थ्यो—
"आशा छ, किनकि हामी सिक्न सक्छौँ ।"

उसले अन्तिम अनुच्छेद लेख्न थाल्यो ।
हात हल्का काँपिरहेका थिए ।
मेरो सबैभन्दा ठूलो कामना यो होइन कि अर्को आन्दोलन अझ ठूलो होस् ।
मेरो कामना त यो हो कि जनताले फेरि सडकमा आउनुपर्ने अवस्था नै नआओस् ।
कि न्याय अदालतमै मिलोस् ।
कि आलोचना संसद्भित्रै सुनियोस् ।
कि प्रशासनले नागरिकलाई सम्मान गरोस् ।
कि सरकारलाई सुधार्न सडक अन्तिम विकल्प मात्र बनोस् ।
यदि यस्तो भयो भने, आन्दोलन सफल भएको मान्नेछु ।
यदि यस्तो भएन भने, नयाँ पुस्ताले फेरि सडक रोज्नुपर्ने हुन सक्छ ।
र म केवल यति चाहन्छु—उनीहरूले हाम्रो गल्तीहरू पनि सम्झून्, हाम्रो साहस पनि ।

लेख समाप्त भयो ।
विजयले डायरी बन्द गर्यो ।
लामो समयपछि उसलाई एउटा अनौठो शान्ति महसुस भयो ।
सबै प्रश्नको उत्तर उसँग थिएन ।
न्याय अझै अधुरो थियो ।
देश अझै संघर्षरत थियो ।
आशा अझै जोखिममै थियो ।
तर उसले आफ्नो पुस्ताको अनुभव अर्को पुस्तालाई हस्तान्तरण गरिसकेको थियो ।
बाहिर बिहान भइसकेको थियो ।
सूर्यको हल्का किरण टिनको छानामाथि पर्दै थियो ।
बस्ती बिस्तारै जाग्दै थियो ।
विजयले झ्यालतिर हेर्दै मनमनै भन्यो—
"अजिङ्गर सधैँ बाहिर मात्र हुँदैन ।
ऊ हाम्रो भयमा हुन्छ ।
हाम्रो अन्धसमर्थनमा हुन्छ ।
हाम्रो सुविधाजनक मौनतामा हुन्छ ।
तर उसलाई हराउने शक्ति पनि हामीभित्रै हुन्छ—
प्रश्न गर्ने साहसमा,
स्मृति जोगाउने इमानमा,
र फेरि पनि आशा गर्न सक्ने क्षमतामा ।"
उसले टेकको तस्वीरलाई अन्तिम पटक टेबुलमा राख्यो ।
ढोका खोल्यो ।
बाहिर नयाँ दिन प्रतीक्षामा थियो ।
अनि कथा त्यहीँ समाप्त भएन ।
किनकि कुनै पनि लोकतन्त्रको कथा अन्तिम निष्कर्षमा टुङ्गिँदैन ।
त्यो हरेक पुस्ताले फेरि लेख्नुपर्ने जिम्मेवारी हो ।
र सायद,
सबैभन्दा ठूलो विजय यही हुनेछ—
जनताले फेरि सडकमा आउनुपर्ने अवस्था नआओस् ।
तर यदि आउनै परे,
उनीहरू नागरिक भएर आउन्—भक्त भएर होइन ।
अन्त्य होइन ।
जिम्मेवारीको हस्तान्तरण ।
ऊसले यो भन्दा शक्तिसाली शब्द फुरे मात्र लेख्ने निर्णय गर्यो
र "अन्तिम उत्कर्ष अनि अन्तिम निर्णय" भनी देश र जनताप्रति एकदमै इमानदार हुँदै "अन्तिम मूख्य सत्य अनि न्याय यसैबाट हुन्छ सबैले मनन गरुन्" भन्दै एकदमै जिम्मेबार हुँदै "अबको १ महिना स्टाटस अनि लेख कथा केही पनि नलेख्ने म जनता सामु घोषणा गर्छु" भन्दै सामाजिक सञ्जालबाट यति कुरा फेरि अनि निष्कर्षमा भन्छु भन्दै भन्दै विभत्सतामा भावविह्वल हुँदै "सबैले मनन गरुन् प्लिज, कृपया यत्ति कुरा त सबैले मानिदिनुहोस् , म यसलाई बारबार अनुरोध गर्दछु ।" भन्दै अभिव्यक्त गर्यो

कसैलाई पनि यति धेरै प्रेम नगर कि उसलाई प्रश्न गर्न नसकोस् ।
कसैलाई यति धेरै घृणा पनि नगर कि उसले गरेको राम्रो काम देख्न नसकोस् ।
स्मृति जोगाएर राख्नू ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।