19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मोबाइल डुब्दाको पछुतो

कथा बद्री अधिकारी June 20, 2026, 1:24 am
बद्री अधिकारी
बद्री अधिकारी

रातको नौ बजिसकेको थियो। जिल्ला प्रशासन कार्यालयको सानो बैठककक्ष। टेबलमा चिसो समोसा र चिया। बाहिर चोकमा कुकुर भुकेको आवाज। कहिलेकाहीँ लाटोकोसेरोले काट्थ्यो। कोठाभित्र पाँचजना पदाधिकारी। सबैको अनुहारमा थकान। थकानभन्दा गहिरो कुरा थियो—असजिलो मौनता।


टेबलको कुनामा प्लास्टिकको बोरा। भित्र ४९६ वटा नष्ट पारिएको मोबाइल। सिसा, प्लास्टिक, ब्याट्रीको गन्ध मिसिएको दुर्गन्ध। तीन घण्टा अघि यिनै मोबाइल विद्यार्थीका हातबाट लिइएको थियो। पानीको ड्रममा डुबाएर, लौरोले मिचेर। परीक्षा मर्यादा भङ्ग गरेको आरोपमा।


जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले चियाको कप उठाए। हात अलिक काँप्यो। राखिदिए। कानुनको किताब र प्रशासनिक बाध्यताबीच अड्किएको मान्छे।


"खाइदिऊँ न सरहरू। चिसो भइसक्यो समोसा," उनले संयमित स्वरमा भने। आदेश दिने स्वर थिएन।


कोही बोलेनन्।


शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखले बिस्तारै बोलिन्। उनको स्वर नरम थियो। सहनशीलता उनको पहिचान थियो।


"हामीले अघि गरेको काम। वर्षौँपछि फर्केर हेर्दा, हामी आफैँसँग आँखा जुधाउन सक्छौँ होला त सरहरू?"


प्रश्न हावामा झुन्डियो।


जिल्ला प्रहरी कार्यालयका प्रमुखले सिधा जवाफ दिए। उनको स्वरमा नरमपन थिएन। आफ्नो तर्कमा अडिने दृढता थियो।


"म्याम, भावनाले प्रश्न सोध्दैमा कानुन बदलिँदैन। त्यो क्षणको माग थियो। मागलाई नकारेर बस्नु पनि अर्को गल्ती हुन्थ्यो।"


राष्ट्रिय परीक्षा बोर्डका क्षेत्रीय प्रतिनिधिले बीचको बाटो रोजे। न समर्थन, न प्रतिवाद। सन्तुलित स्वरमा बोले।


"सर म्याम, तथ्य दुईटा छन्। एउटा—नक्कल र मोबाइलको दुरुपयोगले परीक्षाको विश्वसनीयता खाइरहेको थियो। अर्को—विद्यार्थीको सम्पत्ति जफत गरेर नष्ट गर्नु कानुनी प्रक्रिया होइन। हामी यहाँ दुई वटा मूल्यबीच उभिएका छौँ। एउटा छोड्दा अर्को जोगिन्छ। त्यही द्वन्द्वमा हामी छौँ अहिले।"


"माग र कानुन फरक कुरा हो सर," शिक्षा इकाइकी प्रमुखले फेरि बिस्तारै भनिन्। उनले कसैलाई हप्काइनन्। सम्झाइन्।


"हामीले सिकाउने मान्छे हौँ। सिकाउन नसकेर मात्र सजाय दिने बाटो रोज्यौँ कि?"


प्रमुख जिल्ला अधिकारीले टेबलमा राखिएको फाइल औँलाले थिचे। उनको बोलीमा प्रशासनिक कडाइको छनक थियो। कानुन बुझेर बोलेको तौल थियो।


"म्याम, हामीले कानुन नबुझेर निर्णय गरेका होइनौँ। नियम विपरीत कामको परिणाम के हुन्छ भन्ने उदाहरण चाहियो भन्ने माथिको निर्देशन थियो। परीक्षा मर्यादा भङ्ग भयो भने सिंगो प्रणालीमाथि प्रश्न उठ्छ। हामी प्रशासक हौँ। प्रणाली जोगाउन कडाइ गर्नुपर्ने बाध्यता हुन्छ। त्यो बाध्यतालाई मैले क्रोध भनेर बुझिनँ।"


क्षेत्रीय प्रतिनिधिले टाउको हल्लाए। उनको बोली सन्तुलित रह्यो।


"सरले भन्नुभएको प्रणालीको कुरा ठिक हो। गत वर्ष झापामा एउटा केन्द्रमा मोबाइलकै कारण प्रश्नपत्र लिक भयो। १२ हजार विद्यार्थीको परीक्षा रद्द भयो। त्यो क्षति ठूलो थियो। तर अर्कोतिर, हामीले ४९६ वटा सम्पत्ति नष्ट गर्‍यौँ। क्षति कम गर्न खोज्दा अर्को क्षति गर्‍यौँ। दुवै पक्षको वजन बराबर छ मेरो नजरमा।"


"नियम मजाक होइन सर। म मान्छु," शिक्षा इकाइकी प्रमुखले सहमति जनाइन्। स्वरमा झोक थिएन, पछुतो थियो।


"तर नियम सिकाउने जिम्मा हाम्रो पनि हो नि। हामीले विद्यार्थीलाई मोबाइल भनेको के हो, किन हलभित्र लैजान हुँदैन भनेर कति पटक बुझायौँ? कति पटक वैकल्पिक बाटो देखायौँ? हामी सिकाउन कमजोर भयौँ। अनि सजाय दिन बलियो भयौँ। यो स्वीकार गर्न मलाई गाह्रो छैन।"


जिल्ला शिक्षा कार्यालयका प्रमुखले आत्मस्वीकार गरे।


"शिक्षा इकाइकी म्यामले ठीक भन्नुभयो। हामी शिक्षक हौँ। हाम्रो पहिलो औजार चक डस्टर हो, ड्रम होइन। विद्यार्थीलाई समयको मूल्य, अनुशासनको अर्थ बुझाउन नसक्नु हाम्रो कमजोरी हो। त्यो कमजोरीको सजाय हामीले निर्जीव मोबाइलमा निकाल्यौँ।"


प्रहरी प्रमुखको जवाफ फेरि कडा आयो। तर चिच्याएर होइन, विचारमा अडिग रहेर।


"कमजोरी स्वीकार गरेर समस्या समाधान हुँदैन सर। मैदानमा उत्रिनुस्। चार सय जनालाई छुट दिन थाल्यौँ भने भोलि चार हजार उभिन्छन्। कानुनको डर नभएपछि अनुशासन टिक्दैन। मैले वर्दी लगाएको त्यही डर कायम राख्न हो।"


साँझको एउटा दृश्य अकस्मात् उनको आँखाअघि झल्झली आयो।


परीक्षा केन्द्रको आँगनमा लामो लाइन लागेको थियो। विद्यार्थीहरू एकपछि अर्को गर्दै ड्रमतिर बढिरहेका थिए। कसैले ओठ टोकिरहेका थिए, कसैले आँसु लुकाइरहेका थिए।


लाइनको बीचमा एउटी छात्रा थिइन्। उनले मोबाइल छातीमा कस्सेर च्यापेकी थिइन्।


"छिटो गर, पछाडि लाइन छ," एक कर्मचारीले भनेको थियो।


छात्राले मोबाइल झन् बलियोसँग समातिन्।


"सर, यसमा मेरी दिदीको अन्तिम भिडियो छ।"


कर्मचारी केही बोलेन।


"भिडियो मात्रै कपी गरिदिनुस् न सर..."


पछाडिबाट हतार गर्ने आवाज आयो।


अन्ततः उनले मोबाइल ड्रममा हालिन्।


पानी छचल्कियो।


छात्रा केही क्षण त्यहीँ उभिरहिन्। मानौँ मोबाइल होइन, आफ्नै कुनै टुक्रा पानीमा डुबेको हेरिरहेकी होस्।


एसपीले त्यतिबेला अनुहार अर्कोतिर फर्काएका थिए।


अहिले भने त्यो दृश्य हटाउन खोज्दा झन् स्पष्ट हुँदै फर्किरहेको थियो।


क्षेत्रीय प्रतिनिधि फेरि बीचमा आए। सन्तुलन मिलाउन खोजे।


"एसपी सरको डरको तर्क व्यवहारिक हो। अनुशासन बिना परीक्षा हुँदैन। तर म्यामको बुझाइको तर्क पनि व्यवहारिक हो। डरले विद्यार्थी मोबाइल लुकाउँछ, चलाउन छोड्दैन। हामीले परीक्षाअघि दुई हप्ता अभियान चलाएका भए, कति विद्यार्थी आफैँ मोबाइल बुझाउँथे होलान्? हामीले समय दिएनौँ, ड्रम दियौँ।"


"डरले अनुशासन आउँछ सर, संस्कार आउँदैन," शिक्षा इकाइकी प्रमुखले प्रतिवाद गरिन्। आँखा झुकाएर।


"डरले विद्यार्थी हलमा मोबाइल लुकाउँछ। संस्कारले मोबाइल बोकेरै पनि चलाउँदैन। हामीले कुन रोज्यौँ?"


प्रमुख जिल्ला अधिकारीले झ्याल खोले। बाहिर अँध्यारो। उनको स्वर फेरि प्रशासनिक भयो।


"मैले कानुन पढेको छु। सम्पत्तिको हक संविधानमा प्रष्ट उल्लेख छ। हामीले प्रक्रिया मिच्यौँ। त्यो गल्ती हो। तर प्रशासन चलाउँदा कहिलेकाहीँ 'परिणाम' र 'प्रक्रिया' बीच द्वन्द्व पर्छ। त्यो द्वन्द्वमा हामीले परिणाम रोज्यौँ। कडा भयौँ। किनकि कडा नभए 'कमजोर प्रशासन' को बिल्ला भोलि हाम्रै छातीमा टाँसिन्थ्यो। त्यो बिल्ला टाँस्न नदिन मैले दस्तखत गरें।"


क्षेत्रीय प्रतिनिधिले यो पटक अलि गहिरो कुरा निकाले। अझै सन्तुलित।


"सर, 'कमजोर प्रशासन' को बिल्ला टाँसिनु र 'कानुन मिच्ने प्रशासन' को बिल्ला टाँसिनुमा कुन भारी होला? हामीले पहिलो डरले दोस्रो गर्‍यौँ। अब दोस्रोको मूल्य तिर्नुपर्ने बेला आयो। परीक्षा बोर्डले पनि हामीलाई सोधिरहेको छ। हामीले मर्यादा जोगायौँ कि मर्यादा नै मिच्यौँ?"


प्रहरी प्रमुखले टोपी टेबलमा राखे।


"म्याम, विवेक र कानुन जुध्दा मैले सधैँ कानुन रोज्छु। किनकि विवेक फरक फरक हुन्छ। कानुन एउटै हुन्छ। यदि आज हामीले 'विवेक' को नाममा एउटा छात्रालाई छुट दियौँ भने, भोलि अर्को छात्राले पनि 'मेरो विवेक फरक छ' भन्छ। अनि परीक्षा के हुन्छ?"


"त्यसैले कानुनले प्रक्रिया दिएको छ सर," शिक्षा कार्यालयका प्रमुखले भने। बोलीमा पश्चाताप।


"जफत गर्नुपर्थ्यो। लिलाम गर्नुपर्थ्यो। रकम विद्यार्थी कल्याणमा जानुपर्थ्यो। हामीले प्रक्रिया बिर्सेर परिणामलाई हतार गर्‍यौँ। हतार शिक्षकको स्वभाव होइन। त्यो हाम्रो कमजोरी हो।"


प्रमुख जिल्ला अधिकारीले फाइल खोले। भित्र 'मोबाइल नष्ट गर्ने निर्णयको टिप्पणी' थियो। उनको दस्तखत तल।


"यो दस्तखत मेरो हो। प्रशासनिक प्रमुखको हैसियतले मैले गरेको हुँ। कडाइ गर्नुपर्छ भन्ने तर्क मेरै थियो। तर कडाइको अर्थ नष्ट गर्नु होइन भन्ने मैले बुझिनँ। कडाइ भनेको नियम लागू गराउनु हो। नियम लागू गर्न ड्रम चाहिँदैन। गल्ती गर्नेहरू पछुतोबाट पखालिन सक्छन्। गल्तीलाई अस्वीकार गर्नेहरू सदा समाजको नजरबाट गिर्ने गर्दछन्।"


शिक्षा इकाइकी प्रमुखले बोराको जिपर अलिकति खोलिन्। एउटा भाँचिएको मोबाइल निकालिन्। पछाडि "मेरो आमा" लेखिएको स्टिकर। उनले मोबाइल छोइनन्। केवल हेरिन्। सहनशीलताले उनलाई चिच्याउन दिएन। स्वर भावुक थियो।


"सरहरू, यो स्टिकर हेर्नुस्। यो मोबाइल भाँच्दा कति जनाको आमा रोएकी होलान्? हामीले कडाइ गर्‍यौँ। तर करुणा बिर्सियौँ। करुणा नभएको कडाइ भनेको दमन हो।"


प्रहरी प्रमुखले केही क्षण मौन रहे। त्यसपछि मात्र बोले।


"म करुणाको विरोधमा छैन म्याम। तर करुणा देखाउने ठाउँ र समय हुन्छ। परीक्षा हल त्यो ठाउँ होइन।"


क्षेत्रीय प्रतिनिधिले सन्तुलनको अन्तिम तर्क राखे।


"ठाउँ होइन भन्ने कुरामा म एसपी सरसँग सहमत छु। तर समय हामीले नै बनाएका होइनौँ र? परीक्षाको सूचना दिँदा, अभिभावक भेलामा, कक्षाकोठामा हामीले त्यो समय बनाएका भए, आज ड्रम बनाउनुपर्थ्यो र? हामीले समय बनाउन सकेनौँ। त्यसैले अहिले मूल्य तिर्दैछौँ।"


कोठामा लामो मौनता छायो।


अन्त्यमा प्रमुख जिल्ला अधिकारीले भने। स्वरमा प्रशासनिक कडाइ थियो, तर त्यो कडाइ अब आफैँप्रति थियो।


"साथीहरू, मैले कानुन बुझेर पनि कानुन मिचें। प्रशासकको हैसियतले कडाइ गर्नुपर्छ भन्ने तर्क दिएँ। तर कडाइको सीमा नाघें। अब हामीले के गर्नुपर्छ भने, अदालतमा सत्य बोल्नुपर्छ। हामीले प्रक्रिया मिच्यौँ भनेर स्वीकार्नुपर्छ। र सबैभन्दा पहिले, आफ्नो कमजोरी स्वीकार्नुपर्छ। हामी शिक्षक हौँ। सिकाउन कमजोर भयौँ। त्यो कमजोरीको सजाय विद्यार्थीले भोग्नु भएन।"


शिक्षा इकाइकी प्रमुखले टाउको हल्लाइन्। स्वर अझै नरम।


"माफी माग्नुपर्छ सर। विद्यार्थीसँग। अभिभावकसँग। आफ्नै विवेकसँग। माफी माग्दा पद सानो हुँदैन। पदको गरिमा बढ्छ।"


प्रहरी प्रमुखले टोपी फेरि टाउकोमा राखे।


"मेरो तर्क उही छ। कानुनको डर चाहिन्छ। तर आजको छलफलपछि एउटा कुरा बुझें। डर मात्रै काफी छैन। डरसँगै बुझाइ पनि चाहिन्छ। त्यो बुझाइ दिने जिम्मा हामीले लिएनौँ।"


क्षेत्रीय प्रतिनिधिले अन्तिममा सबैलाई हेरे। उनको निष्कर्ष सन्तुलित थियो।


"सर म्याम, हामीले दुईवटा गल्ती गर्‍यौँ। एउटा—विद्यार्थीलाई समयअगावै बुझाउन सकेनौँ। अर्को—बुझाउन नसकेपछि सजायलाई मात्र रोज्यौँ। अब तेस्रो गल्ती नगरौँ। सत्य लुकाउने गल्ती। अदालतमा जाऔँ। तथ्य राखौँ। अनि भनौँ, हामी सिक्दैछौँ।"


बाहिर प्रकृतिले नयाँ बिहानीको संकेत गर्दै थिइन्। कुखुराको प्रथम डाकोले त्यो कुरालाई समर्थन गर्दै थियो। रात सकिन लागेको थियो। आकाशको पूर्वी सिरान उज्यालो हुँदै थियो।


पाँचैजना उठे। कोही कसैसँग आँखा जुधाउन सकेका थिएनन्।


जाँदा जाँदै प्रमुख जिल्ला अधिकारीले भने,


"यो कथा ड्रमबाट सुरु भयो। अब पछुतोबाट अन्त्य गरौँ। कानुनको परिधिमा बसेर।"


कोठा खाली भयो। टेबलमा चिसो चिया। कोठाको कुनामा ४९६ वटा मौन मोबाइल अनि त्यसभित्र त्यति नै परिवारको स्मृति, बितेका आफन्तको दुर्लभ तस्बिर, सङ्ग्रहित स्वरहरू र विद्यार्थीका हजारौँ नोट्सका पानाहरू सुरक्षित रहेर पनि गुम्सिरहेका थिए।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।