19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुन्दर कवितासङ्ग्रह “बोलूँ कहाँ को सित"

कृति/समीक्षा चिरञ्जीवी दाहाल June 20, 2026, 1:26 am
चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल

कविता कलाको त्यस्तो रूप हो जहाँ भावना, विचार र सपनाहरूलाई सामञ्जस्यपूर्ण ढङ्गले गद्यात्मक वा पद्यात्मक शैलीमा व्यक्त गरिन्छ, जुन कल्पनाशीलता र सौन्दर्यले भरिपूर्ण हुन्छ । कवि र कविता स्वतन्त्रताका संवाहक हुन् । कविले कविताका श्लोकहरू मार्फत उत्पीडन, अत्याचार, निषेध,परम्परा, राज्य र धर्मका अवधारणाहरूबाट टाढा आफ्नो अद्वितीय दार्शनिक, धार्मिक र सत्य-निर्माण संरचनाहरू निर्माण गर्छन् । प्रेरणा, अनुभव, सपना, भावना र विचारहरू आकर्षित गर्छन् । त्यसैले कविता मानव मौलिकताको अद्भुत कला हो ।

कवितालाई जन्म दिने कवि ह्रदयमा मानवीय भावनाहरू अत्यन्त कोमल हुन्छन् । बौद्धिक आयामलाई कविका यिनै कोमल भावनाले भरिपूर्ण बनाउँछन् र केही शब्दहरूसँग प्रेम सम्बन्ध स्थापित हुन पुग्छ । जो शब्दहरूको प्रेमजालमा सहजै आकर्षित हुन्छन् तिनीहरूलाई कवि भन्ने गरिएको छ । भनिन्छ, “ज्ञान कवितामा निहित हुन सक्दैन, कविता ज्ञानमा निहित हुन्छ ।" त्यसैले कविताले आफ्नै भाषा र आफ्नै नियमहरू आफैं उत्पादन गर्छ र सोही कविताबाट कवि जन्मन्छ । भनिन्छ , कविता एउटा पूर्ण मानव जस्तै हो । कविताको शरीर, हृदय र मस्तिष्क हुन्छ । यस मध्ये एउटाको मात्र उपस्थिति देखिएन भने त्यतिबेला कविताको अस्तित्व समेत रहँदैन ।

कविता आत्म-ज्ञानको पहिलो मुहान हो, अस्तित्व र विचारको पुकार हो । यसरी शब्दहरूसँगै उडान भर्ने कार्य नै अभिव्यक्तिको सबैभन्दा तीव्र एवं कलात्मक तथा सुन्दर स्वरूप हो । त्यसैले कविहरू भावना मार्फत जिउने प्रयत्न गर्छन् । कविता त्यस्तो हुनुपर्छ जुन कविताले कविसँग बार्तालाप गर्न सकोस् र कविले पनि कवितासँग बातमार्न सकोस् । यसबाट के प्रष्ट हुन्छ भने कवि र कविताका बीच अन्योन्याश्रित सम्बन्ध हुन्छ ।

वास्तविक कविले सकारात्मक र नकारात्मक तत्वलाई हाँसले पानीबाट दुधलाई छुट्याए जसरी छुट्याउँछन् । जो यसरी सकारात्मक र नकारात्मक तत्व छुट्याउन माहिर हुन्छन् उनीहरू स्वतन्त्र, सरल र सहज भाषामा कविता लेख्न सक्छन् । यसै श्रेणीका व्यक्तिहरू वास्तविक कवि हुन् भने तिनले व्यक्त गरेका सुन्दर अभिव्यक्तिहरू कविता हुन् । तिनै कविताका रङ्गिन र आकर्षक थुँगा टिपेर कवितासङ्ग्रह, नाटक,खण्डकाव्य र महाकाव्यको सुन्दर माला बनाइन्छ । मैले यतिबेला त्यस्तै एउटा सुन्दर माला लिएर नामजप गरे जस्तै सुन्दर छन्द कविताका श्लोकहरू जपीरहेको छु , विविध छन्दहरूसँगै रमाइरहेको छु । छन्द कविताको सौन्दर्य नै यही हो, यसले कविता सिर्जना गर्ने कविलाई मात्र होइन, वाचन गर्ने वाचकलाई समेत कविताका श्लोकहरूमा समाहित गरिदिन्छ जसरी दुधमा पानी समाहित हुन्छ । फ्रान्सेली कवि जीन कोक्टो भन्छन् "कविता यति विशिष्ट, यति अद्वितीय भाषा हो कि यसलाई अन्य कुनै भाषामा अनुवाद गर्न नसकिने मात्र होइन, जुन भाषामा कविता लेखिएको हुन्छ त्यही भाषामा अनुवाद गर्न समेत कठिन हुन्छ ।" यसबाट के बुझिन्छ भने कविले उसको आफ्नै विचार मन्थन गरेर लेखिएका कविताहरूमा दोस्रो व्यक्तिले समीक्षाको वाण चलाउनु मुर्खता मात्र हुन्छ । तर पनि छन्द कविताका एकजना शिल्पी गिरीधारी घिमिरे विशिष्टको हालै मात्र प्रकाशित कवितासङ्ग्रह “ बोलूँ कहाँ को सित " को सामान्य र सतही समीक्षा गर्ने धृष्टता गरिरहेको छु ।

कवितासङ्ग्रह “बोलूँ कहाँ को सित" उल्लेख गरे जस्तै सुन्दर माला बनेको छ । माथि दिइएको कविताको परिभाषा जस्तै कवि घिमिरेले आफ्ना भावना, विचार र सपनाहरूलाई यहाँ यसरी सजाएका छन् , जहाँ कविका मनभित्रका पीडा र व्यथाहरू बोलिरहेका छन् । सङ्ग्रहमा विभिन्न शीर्षकमा ५१ थान कविताहरू सङ्ग्रहित गरिएका छन् ।‌ जसका लागि उनले शार्दूलविक्रीडित,अनुष्टुप, मन्दाक्रान्ता,शिखरिणी, इन्द्रवज्रा, उपजाति जस्ता सुन्दर छन्दहरूको प्रयोग गरेका छन् ।
कृतिको शीर्षक कविता “बोलूँ कहाँ को सित " त्यस्तै प्रकृतिको कविता छ । प्रहरी प्रसासन, राज्यसत्ता र राजनीतिक भ्रष्टाचारले खोक्रो हुँदै गएको देशको अवस्था बारेमा कवि चिन्तित छन् । “ युवाहरू हो सुन" शीर्षकमा कविले सन्देशमूलक कविता प्रस्तुत गर्दै देश विकासका निम्ति युवाहरूलाई आव्हान गरेका छन् । यसैगरी “ रित्तियो गाउँ बस्ती " मा उनले गाउँघरमा अर्मपर्म हराउँदै गएको , गाउँ छोडेर शहर पलायन हुने प्रवृत्तिले गाउँ रित्तिएको गुनासो गर्दै गाउँ समाजप्रति चिन्ता व्यक्त गरेका छन् । यसैगरी उनले कतै समाज , कतै प्रकृति र राष्ट्र प्रेम, संस्कृति र परम्पराका बारेमा प्रसङ्ग उठाएका छन् । कविको जन्मभूमि पुस्तुन लमजुङलाई उनले कवितामा समेट्न बिर्सिएका छैनन् । गणतन्त्र, समाजसेवा र समाजसेवीका विषयमा लेखिएका कवितालाई पनि कविले यहाँ स्थान दिएका छन् । चाडपर्व, मजदुर र किसानका विषयमा कविता लेख्न उनी आफ्नो कर्तव्य ठान्छन् । यहाँ वृद्ध भएका मातापिताको चिन्ता गरिएका भावहरू पोखिएका छन् । राजनीतिका नाममा लोभ, पाप र दुराचारमा लिप्त नेताहरूलाई बाटो नबिराउने सल्लाह दिँदै खबरदारी गर्न समेत कवि पछि पर्दैनन् ।

जे होस् समाजका सबै विषयमा कोरिएका उनका कविता मार्मिक छन् , सुन्दर छन् र कवि जस्तै कविता पनि शालीन छन् । समाज उत्शृङ्खल बन्दै गएको , कविका शालिक ढालेर भ्रष्टाचारीका शालिक ठड्याएको देख्दा उनको मन दुखेको छ । यिनै विसङ्गतिहरूको उनी खुलेर विद्रोह गर्छन् । केही कविताले शान्तिको सन्देश दिएका छन् भने कुनै कविताका श्लोकहरूमा उनी क्रान्तिका कुरा गर्छन् । सबैभन्दा बढी राजनीतिमा व्याप्त छलकपट र भ्रष्टाचारप्रति कविले आफ्नो चिन्ता व्यक्त गरेका प्रसङ्गहरू यहाँ उठाएका छन् ।

छोडेर यो देश कसोरी जाउँ
भूल्ने कसोरी प्रिय देश ठाउँ
वैदेश भो जान्न चलेन गोडी
म जान्न मेरो प्रिय देश छोडी ।।

जन्भूमिप्रति अगाध माया पोख्दै उनले कोरेका यी शब्दहरूले कवितामा मात्र होइन कवि भित्रको राष्ट्रप्रेमको व्याख्या गरिरहनु पर्दैन । कविले कविता मार्फत आफ्नो पीडा र खुशीहरू लेख्दैनन् , कविले जनजनको पीडा , व्यथा र सुख दुःख लेख्छन् , समाजको यथार्थ चित्रण गर्छन् । जसरी “बोलूँ कहाँ को सित " कवितासङ्ग्रहमा कवि गिरिधारी विशिष्टले लेखेका छन् । उनले आम मान्छेको धड्कन सुन्छन् त्यही धड्कनलाई कापीका पानामा उतार्छन् । त्यसैले उनका कविता सुन्दर बनेका छन् ।

जे होस् कवितामा प्रयोग गरिएका भाषा अत्यन्त सरल छन् । कविताको स्वाद जटिल शब्दहरूमा होइन यस्तै सरल शब्दहरूमा पाइन्छ । आम पाठकहरूले बुझ्न सक्ने कविता मार्फत समाधान प्रदान गर्नु, मानवताको नजिक पुग्नु खुशी हुने तरिका पनि हो । समग्रमा कविता सङ्ग्रह पठनीय र सङ्ग्रहणीय बनेको छ । जीवनको उत्तरार्द्धमा पुग्दा पनि कविको यो जोश र जाँगर देख्न पाउनु र यति सुन्दर कविताहरूको रसास्वादन गर्न पाएकोमा कविलाई हार्दिक बधाई दिन चाहन्छु ।

कालिका, चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।