गाउँको सरकारी स्कुलबाट कडा मिहिनेतका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएपछि आकृतिका आँखामा एउटै लक्ष्य थियो, डाक्टर बन्ने । तर, सपना जति उज्यालो थियो, यथार्थको बाटो त्यति नै अँध्यारो र चुनौतीपूर्ण ।
आकृतिका बुबा साधारण किसान थिए, जसका हत्केलामा फुट्तै, कुच्चिँदै गरेका ठेला र निधारबाट दिनहुँ पसिना चुहाएर गरेको कडा मेहनत नै परिवारको जीविका धान्ने आधार थियो ।
एउटा साँघुरो, ओसिलो भाडाको कोठा । खाना पकाउने, खाने र आराम गर्ने बेडमाथि कन्सल्टेन्सीका मोटा–मोटा किताब र घुँग्रीएका डाक्टरी अक्षरले रंगाएका कपीहरू छरपष्ट छन् । टेबलमा बलिरहेको मधुरो बत्तीनै आकृतिको नजिकका साथी बनेको छ । कति रात उनी भोकभोकै सुतिन्, कति दिन चिया र बिस्कुटको भरमा नाम निकाल्ने ‘इन्ट्रान्स’ को तयारीमा जुटिरहिन् । सहरका चिल्ला गाडी र रङ्गीन चमकले उनलाई कहिल्यै लोभ्याएन । उनलाई केवल गाउँमा बिरामी पर्दा पैसा र डाक्टर नपाएर छट्पटाएका छिमेकीहरू र छोरीलाई डाक्टर बनाउन आफ्नो सर्वस्व दाउमा राख्ने बाबुआमाको अनुहार मात्र याद आउँथ्यो ।
एकातिर मेडिकल प्रवेश परीक्षाको कठिन प्रतिस्पर्धा, अर्कोतिर घट्दै गएको समय र बढ्दै गएको पारिवारिक ऋण । आकृति कहिलेकाहीँ मध्यरातमा एक्लै रुन्थिन् । तर, प्रत्येक पटक आँसु पुछ्दै उनले फेरि किताब पल्टाउँथिन् । संघर्षको पराकाष्ठा नै त्यही थियो– जहाँ मन टुट्थ्यो, तर सपनाले हार्न मान्दैनथ्यो ।
अहिले आकृति स्टाप नर्स भइसकेकी छन् । अघिल्लो रातको अठार घण्टा लामो ड्युटीको भारी आकृतिका आँखाहरूमा निकै गाढा थियो । भर्खरै एउटा गम्भीर बिरामीको ‘कोड ब्लु’ (भ्mभचनभलअथ) सम्हालेर निस्किएकी उनलाई थकाइ र भोकले रिँगटा लागिरहेको थियो ।
ऐना अगाडि उभिएर आफ्नो सेतो कोटको टाँक लगाउँदै उनले ऐनामा आफ्नै आकृति हेरिन् । यो सेतो रङ पवित्रता, सेवा र समर्पणको प्रतीक त थियो, तर यसभित्र लुकेका आर्थिक अभाव, सामाजिक उपेक्षा र शारीरिक शिथिलताका नीला दागहरू भने सायद अस्पतालको यो चम्किलो बत्तीमा पनि कसैले देख्न सक्दैनथे ।
अस्पतालको यो लामो र चिसो करिडोरमा औषधि र स्पिरिटको एउटा विशिष्ट गन्ध हावामा सधैँ तैरिरहन्थ्यो, जसले उनको जीवनको सम्पूर्ण सुगन्धलाई निलिसकेको थियो ।
बुवाको वर्षौँको पसिना, आमाको गहना बन्धकी, घरखेत र दुहुना भैसीमाथि थपिएको दश–बाह्र लाखको ऋणले किनेको त्यो नर्सिङ अध्यायनको प्रमाणपत्र पनि उनलाई एउटा गह्रौँ भारी जस्तो लाग्थ्यो । आकृतिलाई आफ्नै सेतो एप्रनभित्रका नीला दागहरु निर्दयी समाजले नदेखे हुन्थ्यो भन्ने लाग्छ ।
कलेज पढ्दाका उज्वल सपनाको उडान भर्न तयार भएकी आकृति जब कर्मक्षेत्रको धरातलमा ओर्लिन्छिन्, तब उनले थाहा पाइन् कि, यहाँ मानवताको सेवा मात्र होइन, श्रमको चरम शोषण पनि हुँदो रहेछ ।
सुरुवाती दिनहरूमा ‘स्वयम्सेवक’ को नाममा विना पारिश्रमिक रातभर पसिना बगाउँदाका ती क्षणहरू सम्झिँदा आज पनि उनको मुटु थर्थराउँछ । सरकारी अध्ययनका तथ्यांकहरूले भन्थे, ‘निजी अस्पतालहरूमा थोरै पारिश्रमिकमा लामो समय जोताइन्छ ।’ तर, आकृतिका लागि यो केवल अध्ययनको ओभानो तथ्यांक थिएन, यो त उनको दैनिक जीवनको भोगाइ थियो ।
करिव ३ वर्षको अनुभव (प्राक्टिस वर्क) सकाएपछि पारश्रमिक सम्झौतापछिको यो पहिलो ड्यूटी समाल्न वार्डभित्र छिर्नेबित्तिकै आकृतिका कानमा बिरामीका छटपटी र आफन्तका आर्तनादहरू गुन्जिन थाल्थे । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डले एक नर्सको भागमा बढीमा ४ देखि ५ जना बिरामी हुनुपर्छ भन्छ, तर वास्तविकताको धरातलमा आकृति एक्लैले चालिस जना बिरामीको जीवनको डोरी थामिरहेकी थिइन् । कसैलाई सुई लगाउनु थियो, कसैको स्लाइन बदल्नु थियो, त कसैलाई औषधिको सूक्ष्म मात्रा मिलाउनु थियो ।
एक शरीर र चालिसतिर बाँडिएको ध्यान ! मेसिन जस्तै चल्नुपर्ने बाध्यताका बीच अघिल्लो बेलुका मात्रै एउटा बिरामीका आफन्तले झर्किएर भुटेको शब्द उनको कानमा अझै गुन्जिरहेको थियो– “केबल एउटा सुई लगाउने त हो नि सिस्टर ! यति काम गर्न पनि यत्रो नखरा ?” त्यो बेला आकृतिको धैर्यको बाँध टुट्न खोजेको थियो, तर सेतो कोटको मर्यादाले उनलाई मौन रहन बाध्य तुल्यायो । उनले ती आफन्तलाई बुझाउन सकिनन् कि त्यो एउटा सुई लगाउनुअघि उनले बिरामीको मुटुको धड्कन, रक्तचाप र औषधिले गर्ने भयानक प्रतिक्रियाको कति ठुलो मानसिक हिसाब–किताब गरेकी हुन्थिन् ।
नर्सहरुको मन त काँचकै त हो नि ! जब उनको अगाडि कसैको प्राणपंखी उडेर जान्छ, तब आफन्तको चित्कारले उनको छाती चिरिन्छ । चाहँदा चाहँदै पनि बचाउन नसकेका ती आँखाहरूलाई जब उनी आफ्नै हातले बन्द गरिदिन्थिन्, उनको मन भित्रभित्रै रुन्थ्यो, आत्मा भक्कानिन्थ्यो । तर, उनलाई आँसु देखाउने छुट छैन । किनकि आफ्ना आँसुलाई मुटुको गहिराइमै लुकाएर उनले अर्को बेडमा छट्पटाइरहेको बिरामीको अगाडि उभिएर भन्नु पथ्र्यो, “नआत्तिनुस्, औषधिले काम गर्दैछ, तपाईँलाई चाँडै निको हुन्छ ।”
बिहानको मिर्मिरेमा जब सारा संसार ओछ्यानको मिठो निद्रामा हुन्थ्यो, उनी आफ्नो व्यक्तिगत रहर, इच्छा र मनको कुनै कुनामा थाती राखिएका रङ्गीन सपनाहरूलाई डेराको एउटा अँध्यारो कुनामा ताल्चा मारेर हस्पिटलतिर दौडन्थिन् । उनको हातमा घडी त थियो, तर त्यो आफ्ना लागि समय हेर्न होइन, बिरामीको ‘पल्स’ नाप्नका लागि मात्र चल्थ्यो । प्रसूती गृहको लेबर रुमदेखि आपत्कालीन कक्षसम्मको दौडधुपले उनको खुट्टा मात्र होइन, आत्मा नै गलाईदिन्थ्यो दिनदिन ।
आकृतिको तलव तोकिएको ड्यूटी पनि दुई महिना विते । तर, आजपनि ड्युटी सकेर अस्पतालको प्रशासन शाखामा पुग्दा उनले अर्को प्रहार सहनुपर्यो । दुई महिनादेखि रोकिएको तलब माग्दा म्यानेजरले टेबुल ठोक्दै रुखो स्वरमा भने, “अहिले हस्पिटल घाटामा छ आकृति जी, केही समय त्यसै काम गर्नुस्, अनुभव पनि त थपिँदै छ नि !”
आकृतिको मन अमिलो भएर आयो । घरमा आमाको औषधि सकिएको थियो, बहिनीको कलेजको शुल्क तिर्नु थियो । तर, कयौं रातभरिको उनको पसिनाको मूल्य यहाँ ‘अनुभव’ को खोक्रो कागजमा साट्न खोजिँदै थियो । नेपाल नर्सिङ संघको दिवस मनाइरहँदा भित्तामा झुण्ड्याइएको ‘सुरक्षित र सम्मानजनक कार्यव्यवस्था’ को नारा उनलाई एउटा भद्दा मजाक जस्तो लाग्छ । मन्त्रीका भाषण र आश्वासनका लहरहरू अस्पतालका भित्ताहरूमा ठोक्किएर हराउँथे, तर नर्सहरूको थाप्लोमा न सुरक्षा थपिन्थ्यो, न त उचित पारिश्रमिक नै ।
साँझ ड्युटी सकेर थाकेको शरीर घिसार्दै घर फर्कँदै गर्दा छिमेकी ठूलीआमाले गेटमै भेटेर नाक खुम्च्याउँदै भनिन्, “छोरी मान्छे भएर रातभरि कता हिँड्छे कुन्नी ? यसको त घर–व्यवहार कहिल्यै मिल्दैन ।”
आकृतिले केही बोलिनन् । उनलाई थाहा थियो, रातभरि अर्काको ज्यान जोगाउन गरेको संघर्ष र पवित्र सेवालाई यो संकुचित समाजका आँखाहरूले कहिल्यै सकारात्मक देख्ने छैनन् । उनले आकाशतिर हेरिन् र लामो सुस्केरा फेरिन् । नर्सिङ काउन्सिलमा दर्ता भएका लाखौँ साथीहरूमध्ये आधाभन्दा बढीले पराइ मुलुकको बाटो रोजिसकेका यादहरु गुञ्जिए । फेसबुकमा अस्ट्रेलीया र बेलायतका उज्यालो तस्बिरहरू पोस्ट गर्दै कामको कदर र पसिनाको मूल्य पाइरहेका साथीहरूका स्टासस र उमंगताका फोटाहरु सामाजिक सञ्जालमा देख्दा उनलाई आफ्नो विवशतालाई गिज्याए झै लाग्थ्यो । उनी आर्थिक अभावकै कारण विदेशिने प्रक्रियाका लागि आवश्यक खर्च जुटाउन नसकेर यही देशको जर्जर स्वास्थ्य प्रणालीको एउटा सानो, सस्तो पुर्जा बनेर घोटिन बाध्य थिइन् ।
कोठामा पुगेर जब उनले त्यो सेतो कोट फुकालेर ह्याङ्गरमा झुण्ड्याइन्, उनलाई लाग्यो, यो कोट मात्र होइन, यो त एउटा यस्तो परिचय हो जसले समाजको सेवा त गर्छ, तर आफैँ भने सधैँ उपेक्षित र उत्पीडित रहन्छ । उनले आफ्नो डायरी पल्टाइन् र ओसिलो आँखामा चस्मा अढ्याएर एउटा वाक्य लेखिन्ः “म बिरामीको घाउमा मलम लगाउँछु, तर मेरो आफ्नै आत्मामा लागेका यी शब्द र व्यवस्थाका चोटहरू निको पार्ने कुनै औषधि होला र ?”
कोल्टे फेर्छिन्, थकित शरिर र अनिधो आँखा जबरजस्त चिम्लिएर मनलाई शान्ति दिलाउन खोज्दा खोज्दै भेन्टिलेसनबाट छिरेको उज्यालोको टक भूँइमा टप्किन्छ । आज फेरि त्यही संघर्षको दैनिकी, त्यही चालिस बिरामी, त्यही सामाजिक उपेक्षा र त्यही १०–१२ हजारको न्यून तलबको अपेक्षित दिनगन्तीको रुटिङ मनभरि लिएर आँखा मिझ्दै उठिन् ।
आकृतिलाई लाग्छ, म किन नर्स बनेकी थिए ? उनको मस्तिष्कको एउटा कुनामा गाउँको त्यो पुराना धुमिल सम्झना ताजा भएर आयो, जहाँ हैजा फैलिएका बेला उनकी सानी बहिनीले सही उपचार र हेरचाह नपाएर उनकै काखमा ऐया.. ऐया.. भन्दै दम तोडेकी थिइन् । स्वास्थ्यकर्मीको अभावमा बितेकी बहिनीको त्यो अन्तिम नजरले उनलाई धेरै पढेर नर्स बन्ने मनोबल दिएको थियो ।
निराशाको यो औंसीको रातका बीच पनि एउटा मधुरो दियो बलिरहेकै थियो । हिजो मात्रै एकजना गम्भीर घाइते युवक निको भएर घर फर्कँदै गर्दा उनलाई एउटा सानो कागजको टुक्रा थमाएर गएका थिए, जसमा लेखिएको थियो, “सिस्टर, तपाईँको सेवा, मनोवल उच्च राख्ने उत्प्रेरणा र सहनशिलताले मलाई औषधीले भन्दा छिटो निको बनायो । तपाईँ हुनुहुन्छ र त हामी बाच्छौँ । तपाईजस्तै नर्स सबै अस्पतालका विरामीले पाउन्, थ्यांक यू ।”
त्यो कागजको टुक्रालाई मुटुमाथि राख्दै आकृतिले लामो सुस्केरा हालिन् । उनको सेतो एप्रनले छोपिएका नीला डामहरुमा मलम लगाएझै भयो । यो शब्दले आकृतिलाई थप जिम्मेवारी बोध गरायो । उत्साह थप्यो । मनका पीडाहरु क्रमशः शान्त भए । उनलाइ लाग्यो कि, संसारमा पैसा र सम्मान कमाउने बाटाहरू अनेक होलान्, तर अरूको ओठमा मुस्कान फर्काएर पाउने यो आत्मसन्तुष्टि विरलै प्राप्त हुन्छ । उनी एउटा यस्तो दियो थिइन्, जो आफैँ पग्लिएर अरूको अन्धकार हटाउन अभिशप्त थिइन् । ओठमा त्यही फिक्का तर गर्विलो हाँसो सजाएर, आफ्ना नीला दागहरूलाई सेतो एप्रनले छोप्दै, आकृति भोलिपल्टको अर्को युद्धका लागि तयार भइन् । ०००
दमक, झापा