"खोटाङ जिल्ला दिक्तेल बजार... !" बोलको यो गीत लोचन भट्टराईले धेरै पहिलेदेखि गाउँदै आउनुभएको हो । २०८२ मङ्सिरमा नमस्ते आधुनिक लघुकथा मञ्चले मलाई लघुकथा समालोचनामा र लोचन भट्टराईलाई गायनमा योगदान गरेवापत् चितवनको राप्ती गाउँपालिकाको खुरखुरेमा रथारोहण तथा सार्वजनिक अभिनन्दन गरेको थियो । सो अवसरमा यो गीत प्रत्यक्ष सुनेको थिएँ । लोचन भट्टराईले उतिखेरदेखि गाएको दिक्तेल बजारतर्फ म आज दोस्रोपटक जाँदै छु । पहिलोपटक बालसाहित्य सम्मेलनका क्रममा २०७५ मा दिक्तेल बजार पुगेको थिएँ । आज २०८३ साल जेठ ३ गते । अहिलेको सन्दर्भ भनेको चौधौँ लेकवार्ता राष्ट्रिय सङ्गोष्ठीको हो । हिजो र अस्ति ओखलढुङ्गाको हिलेपानीमा सङ्गोष्ठी (लोकज्ञान सम्मेलन) सम्पन्न गरेर अब हामी दिक्तेल जाँदै छौँ ।
घामले पूर्वी डाँडाको खोँचबाट हामीलाई पुलक्क हेर्दै थिए । हामी हिलेपानीमा हाम्रो अनुबन्धित गुडीयानमा पाँच बजे नै आआफ्ना आसनमा बसिसकेका थियौँ । हस्याङफस्याङ गर्दै ध्रुवकुमार घिमिरे गुडीयानमा उदरस्थ हुनेबित्तिकै प्रवीण पुमाले भन्नुभयो, "गुरु ! जाऊँ जाऊँ !!"
मैले भनेँ, "पख्नोस् । कोही छुटेको छ ।" मेरो आसन ढोकैनेर थियो ।
"को ?"
"प्रेमकुमार खत्री, धनप्रसाद सुवेदी र व्याकुल माइला ।"
"ए ! प्रेम सर स्वास्थ्यका कारणले यहीँबाट काठमाडौँ फर्किने, धनप्रसाद सुवेदी पूर्वतयारीका लागि हिजै दिक्तेल । व्याकुल माइला अलिक तल थाक्लेबाट चढ्नुहुने ...।"
गुडीयान हिलेपानीबाट ओरालियो । थाक्ले पुग्दा व्याकुल माइला बाटैमा देखिनुभयो । गुडीयान रोकेर हामी पनि ओर्लियौँ ।
"उः त्यही हो, मेरो जन्मघर । अहिले दाइका भागमा परेको छ ।" निलो जस्ता पाताले छाएको बाटामुनिको घर देखाउँदै व्याकुल माइलाले भन्नुभयो ।
हामीले मनमा साँच्यौँ, त्यस माटो र घरलाई ।
गुडीयान गुड्यो । यसको कामै गुड्ने ।
"हाम्रो खेतीपाती दुधकोसी पारि खोटाङमा छ । त्यतिखेर दुधकोसीमा पुल थिएन । पौडिएर या डुङ्गाबाट आउजाउ गर्थ्यौँ । अहिले त पुल बनेको छ ।" व्याकुल माइलाले भन्नुभयो ।
'कस्ता कस्ता कष्टका दिन थिए, पहिले ।' मैले मनमनै गुनेँ ।
दुधकोसीको पक्की पुल तरेपछि खोटाङको जयराम घाट आयो । चिया खाने कुरो चल्यो ।
धेरैका धेरै थरी कुरा -
"मलाई कालो ।"
"मलाई पनि कालो, तर चिनी नभएको ।"
"मलाई दुध हालेको, तर चिनी नभएको ।"
"मलाई हल्का चिनी ।"
"मलाई अलि चिनी बढी है ।"
"मलाई दुध बडा रङ कडा । अनि बल्ल पो चियाको स्वाद आउँछ ।"
पसले झन्डै बेहोस ।
"चियातिर नलागौँ न हऊ । सोझै जाऊँ । बाटो लामो छ ।" संयोजक प्रवीण पुमाको हुटहुटी ।
"चिया त खाएरै जाऊँ न है ।" व्याकुल माइलाको भनाइ झरेपछि हामी सबै चियाको पर्खाइमा रह्यौँ ।
चिया पाकुन्जेल भनेर कोही कतै कोही कतै । गणेशप्रसाद घिमिरे र म पुलतिर लाग्यौँ । तल घाटमा जाने बाटो सोध्ने हुँदा नराम्रो झपारमा परियो । गणेशजीका कान राता भए । अझै पनि रातै होलान् कि !
घुमाइ, तस्बिर, सेल्फी, सेउली शौच भयो । जयराम घाट, दुधकोसी र पुल चलभाष क्यामरामा कैद भए । चिया पकाउने ठाउँमा पुग्दा भरखर सुरसार । चिया चिया भन्यौँ र अन्तमा मनतातो दुई घुट्को पानीदुध मुखमा हालेर गुडीयानमा चढ्यौँ । कति रमाइलो अनुभव जिन्दगीको !
"हैट ! यति बिहानै चिया खोज्ने ?"
वास्तवमा त्यहाँ अर्कै खाले मनुवा ठहरियौँ कि क्या हो हामी !
जयराम घाटबाट हाम्रो गुडीयान सुइँय्य अगाडि बढ्यो, उकालियो र फरक्क मोडियो । थोरै उकालियो फेरि उसै गरी फरक्क मोडियो । धेरै घुम्ती । उकालो बाटो । बल्ल हामीले पारि हिलेपानी देख्यौँ । पारि ओखलढुङ्गा वारि खोटाङ । यहाँनेर दुधकोसीले दुवैलाई काँधमा बोकेको रहेछ । दुवै जिल्लालाई सिँचेको र थामेको रहेछ । वरदान रहेछ, सुनकोसी । वरदान रहेछ प्रकृति । यही प्रकृतिमा यहाँ किरात सभ्यता मौलाएको रहेछ ।
सात बजेतिर सेउली शौचबाट फर्किँदा राजेन्द्रकुमार आचार्यले एक मुठी वनस्पति लिएर आउनुभयो । व्यासआसनमा बस्नुभयो र एक एक गरेर तिनका नाम र काम (उपयोगिता) बताउनुभयो । ती थिए- धुर्सेली, झुसे खरी, मौवा, धाइरो, रुदिलो, मच्छाइनो, सिरु, वनमारा, काइँयो आदि । यो एक किसिमले हाम्रा रैथाने वनस्पतिविषयक अन्तर्क्रिया नै हुन पुग्यो । चिनेकाले भने, नचिनेकाले चिने । पाइला पाइलामा प्रकृति ! पाइला पाइलामा संस्कृति !!
गुडीयान छापडाँडा, ढुङ्गे बगैँचा, कार्की गाउँ हुँदै डाँडैडाँडा हलेसी पुग्यो, आठ बजेतिर । हलेसीलाई त्रिधार्मिक क्षेत्र भनिन्छ । सनातन हिन्दु, बौद्ध र किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो, यो । हलेसीसित महादेव र भस्मासुरको कथा जोडिएको छ, बुद्धको गाथा जोडिएको छ र किरातहरूका सुम्निमा-पारुहाङका कथा पनि जोडिएका छन् । सबैले आआफ्ना आस्थाअनुसार यहाँ पूजा अर्चना र सम्मान प्रकट गर्दा रहेछन् । सनातनी हिन्दुहरू त हलेसीलाई पूर्वका पशुपतिनाथ भन्दा रहेछन् ।
हामी गुडीयानलाई होटेल हलेसी भिलेजको गुडीगोठमा थन्क्याएर हलेसी दर्शनका लागि प्रस्थान गर्यौँ । माग्ने र पूजासामग्री बेच्नेको लर्को छिचोल्दै हलेसी पुग्यौँ । हलेसी महादेवको दर्शन गर्यौँ । अनिषेधित क्षेत्रमा तस्बिर लियौँ । पहिले २०७५ सालमा आउँदा सायद चाँदीको शिवलिङ्ग थिएन, अहिले स्थापना गरिएछ । त्यतिखेर अलिक होलो थियो, अहिले भिडभाड हुन थालेछ । दर्शनार्थी र पर्यटक बढेको राम्रै हो । बढ बढ । जसले हेरे पनि जो आए पनि हलेसी त हाम्रै हो ।
जयराम घाटदेखिको चियाको तलतल होटल हलेसीले मेटाइदियो । अरूका साथै कपिलश्च तृप्यन्ताम भयो । स्वल्पाहार र चिया हामीले स्वाद लिई लिई खायौँ ।
हलेसीबाट तृप्त भएर थोरै उकालो र धेरै तर्पाएँ तर्पाएँ गुडेपछि गुडीयान छेउ लाग्यो । "यहीँबाट जाने हो, तुवाचुङ ।" प्रवीण पुमाले भनेपछि हामी गुडीयानबाट ओर्लियौँ । अब चढ्नुपर्ने रहेछ, ठाडै उकालो । ठाउँ ठाउँमा ऐसेलु लटरम्मै पाकेका थिए । टिपेर खानमा भन्दा तस्बिर खिचाउनमा सोख देखियो, शशि थापा पण्डितको । षडानन्द पौड्याल, कुलराज निरौला, यज्ञेश्वर निरौला, गायत्री पराजुली, दिलविक्रम आङदम्वे र म पनि ऐसेलु टपाटप टिपेर खानमा अल्झेँ । "साना ऐसेलुका दाना टिपदा ती टपाटप । ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप ।।" लेखनाथका यी पङ्क्ति सम्झिँदै ऐसेलु टपाटप टिपेर खायौँ । चुत्रो पनि पाक्दै थियो । भेटेको खान चुकेनौँ ।
काफलका बिरुवा हुर्किँदै गरेको देख्यौँ । लगाइएको रहेछ । पछि पछि आउनेले खालान् भनेर मन रमायो ।
पर्वतको चुलीमा पुग्यौँ । आहा ! प्राकृतिक दृष्टिले अत्यन्त रमणीय रहेछ, तुवाचुङ । प्राकृतिक दृष्टिले जति सुन्दर र रमणीय छ यो स्थल, त्यसभन्दा बढी सभ्यता र विश्वासका दृष्टिले गौरवयोग्य स्थल पो रहेछ यो । सुने-पढेको थिएँ, तर सुन्नु-पढ्नु र आँखैले देख्नु, स्पर्श गर्नुमा ठुलो अन्तर रहेछ । लेखनाथका पङ्क्ति सम्झना भयो, "... देखेको सुन्तलाभन्दा खाएको सुन्तला मिठो ।" ... हाम्रो संस्कृति देखेर छाती गौरवले ढक्क भयो ।
डाँडाडाँडामा पर्खाल बनेको रहेछ, ढुङ्गालाई सुर्खीले जोडेर । झन्डै चिनको ग्रेटवालको झल्को लाग्यो ।
अवलोकन गर्दै जाँदा एक ठाउँमा प्राचीन लाम्चा लाम्चा ढुङ्गाहरू देख्यौँ । त्यस स्थानलाई छुट्टै ढुङ्गाको पर्खालले घेरेर संरक्षित गरिएको रहेछ । मैले किरात संस्कृतिका विज्ञ प्रवीण पुमासँग जिज्ञासा राखेँ, "तुवाचुङ भनेको के हो र यी ढुङ्गाको ऐतिहासिक सन्दर्भ के छ ?"
उहाँले भन्नुभयो, "तुवाचुङ भनेको पवित्र उच्च पर्वत हो । यो स्थल मुन्दुमसित सम्बन्धित छ । अर्थात् यो मुन्दुमी स्थल हो । यो हेत्छाकुप्पाको आफ्नो ठाउँ राजधानी हो । उहाँका दिदी र बहिनी तयामा र खियामाको तान बुन्ने ठाउँ यही हो । यहाँबाट तल हेत्छाकुप्पाको खेतीकिसानी गर्ने ठाउँ छ । यहीँबाट औद्योगिक क्रान्तिको थालनी भएको हो भन्ने मुन्दुमी मान्यता छ । यसै आधारमा स्थानीय सरकारले पनि यस क्षेत्रलाई कपासबाट धागो बनाउने र तानबाट कपडा बुन्ने 'पकेट एरिया' घोषित गरेको छ ।"
हामीले देख्यौँ, एउटा निलो नामपट्टिकामा सेता अक्षरले 'छकुले/खोक्ची लिपा हेच्छाकुप्पा' लेखेर त्यहाँ सङ्केत गरिएको छ । एक अर्को नामपट्टिकामा 'नाना तयामाको तान बुन्ने थान' लेखिएको छ ।
डा. कुलराज निरौला केही टिपोट गर्नमा व्यस्त हुनुहुन्थ्यो भने अरू लोकवार्ताविद्हरू तस्बिर खिच्न खिचाउनमा तल्लीन हुनुहुन्थ्यो ।
अलिक पर खिमायाले तान बुनिरहेको नवनिर्मित प्रतिमाका वरिपरि उभिएर हामी सबैले तस्बिर खिचायौँ । यहीँ उभिएर शशी थापा पण्डितले खोटाङ र किराती सभ्यता झल्काउने कविता वाचन गर्नुभयो । सो कविता सुनेपछि मलाई लाग्यो, यो कविता त यहाँका स्थानीय पाठ्यपुस्तकमा राख्नयोग्य छ । मैले प्रवीण पुमालाई पनि यो कुरा भनेँ । उहाँ खोटाङ जन्तेढुङ्गाकै बासिन्दा हुनुहुन्छ । हेरौँ, के हुन्छ ?
"यो लिमचिमबुङ हो । मुन्दुममा यो नभई हुन्न ।" एउटा वनस्पति देखाउँदै प्रवीण पुमाले भन्नुभयो ।
तुवाचुङको प्रकृति र संस्कृति देखेर मन रमायो ।
एघार नबज्दै हामी मूल मार्गमा झरेर गुडीयानमा उदरस्थ भयौँ । हामीलाई दिक्तेल पुगेर कार्यक्रममा सहभागी हुनु थियो । नागी, अर्खौले, बिजुले, स्वारा, विप्लाटे, महले, नुनथला, वाताल, मुडे, रत्नपार्क हुँदै गुडीयानले गति लिइरह्यो । मुडे कटेपछि बाटो ओरालियो । गुडीयान थामिई थामिई गुडिरह्यो ।
केही ठाउँमा बाटाको दुवैतर्फ वनजङ्गल, गाउँबस्ती, गाउँबस्ती भएका ठाउँमा मकैका बोट, डाले घाँस, भुइँ घाँस, गोठ, बारी हेर्दै गयौँ । आकाश बादलले छिचिमिरे थियो । दुधकोसी पारि पूर्वोत्तरबाट सोलुखुम्बुले 'आएनौ नि' भनेर पश्चिमोत्तरबाट ओखलढुङ्गाले 'छाडेर गयौ नि' भनेर हामीलाई हेर्दै थिए । हामी डाँडैडाँडा शिखर शिखर हुँदै सवा बाह बजे दिक्तेल बजार पुग्यौँ । खोटाङ जिल्ला दिक्तेल बजार, थरी थरी मान्छे हजार ।
दिक्तेल, नेर्पा, चिउरीडाँडा, निर्मलीडाँडा, पाथेका, खार्मी, जालपा, नुनथला, वुईपा र विजयखर्कलाई मिलाएर अहिले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका बनेको छ र यी सबैको केन्द्र पहिले पनि अहिले पनि दिक्तेल बजार नै हो । दिक्तेलको फैलावट र सौन्दर्यले हामीलाई लोभ्याइरह्यो ।
२०७५ सालमा बालसाहित्य सम्मेलनमा आउँदा शुभम् फाउन्डेसन हेर्न आएको सम्झना पनि ताजै छ । अहिले त झन् हाम्रो गास, बास र गोष्ठीकक्ष नै यहीँ रहेछ । स्थानीय संयोजक सूर्य राई र डा. धनप्रसाद सुवेदीलगायत स्वागतका लागि तैनाथ हुनुहुँदो रहेछ ।
"उः त्यो पूर्वतिर देखिने भेक नेर्पा हो, मेरो घर त्यहीँ छ ।” डा. धनप्रसाद सुवेदीले औँलाले देखाउँदै भन्नुभयो ।
खाना खाएर एक सुरले बासतिर झर्दै थिएँ, पछाडिबाट आवाज आयो, "सर सर नमस्कार, कपिल सर होहन ?"
फर्की हेरेँ । चिरपरिचित अनुहार - सविता ढकालको । दिक्तेल र प्युठानका बालसाहित्य सम्मेलनमा समेत सहभागी हुनुभएको । अनुहार सुशीला ढकाल र डा. यादेवी ढकालसित दुरुस्त मिल्ने ।
"हो, म कपिल लामिछाने नै हुँ ।"
"चिन्नुभो ? म सविता ढकाल । अहिले त म यहीँ शिक्षण गर्छु नि ।"
"किन नचिन्नु, आफ्नु मान्छेलाई !"
यही फराकिलो प्राङ्गणका बिचमा जापानिज कटुस लटरम्मै फुलेको थियो, हाम्रो मन जस्तै ।
म आफूलाई छुट्याइएको कोठामा पुगेँ । तेजप्रकाश श्रेष्ठ, ध्रुव घिमिरे र म एउटै कोठामा परेछौँ । ठुलो कोठा, ठुला ठुला (किङ साइजका) सफासुघ्घर ओछ्यान । मनै रमायो । यति सानदार कोठा पाएर के गर्नु ? ओछ्यानमा पुर्लुङ्ङ पल्टिने अवसर भने पाइएन ।
दिनको सवा दुई बजिसकेको थियो । सभाकक्षमा सभासद्हरू जुटिसकेका थिए । हामी पनि लऱ्याङतऱ्याङ गर्दै सभाकक्षमा प्रवेश गरेर आसनस्थ भयौँ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र टेम्के तुवाचुङ प्रतिष्ठान स्थानीय आयोजक र लोकवार्ता परिषद् नेपाल आयोजक रहेको सङ्गोष्ठीको उद्घाटन सत्र सुरु भयो । लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्रा.डा. भवेश्वर पंगेनीको अध्यक्षता, वरिष्ठ साहित्यकार पर्खनबहादुर राई (८८) को प्रमुख आतिथ्य, व्याकुल माइला, खोटाङका पूर्व सांसद टङ्क राई, नगर प्रमुख तीर्थराज भट्टराई, लोकवार्ता परिषद् नेपालको सल्लाहकार म प्रा.डा. कपिल लामिछाने आदिको विशिष्ट आतिथ्य रहेको गोष्ठीको समुद्घाटन सत्रको सञ्चालन भोगेन्द्र राईले गर्नुभयो । हामीलाई सानी नानीका हातबाट ब्याच जस्तै 'तेजुरी' लगाइयो । तेज र मैले सुटुक्क सानी नानीले 'तेजुरी' लगाइदिँदाका तस्बिर लियौँ ।
सो अवसरमा सरस्वती माविका निवृत्त शिक्षक श्यामबहादुर राई, कालिका माविका प्रअ विष्णुबहादुर गुरुङ, जेपी राई, धनचन्द्र राई, राममन वेदना, नामी शेर्पा, रविन सुनुवार, सविता ढकाल, चित्र सुवेदी, टङ्क थापा, देवी खत्री, दिपसन किरात राई, सूर्य राई आदिको पनि उपस्थिति रह्यो । मेरा लागि केही पूर्वपरिचित र धेरै नयाँ अनुहार ।
कार्यक्रममा परम्परागत काष्ठकलाको निरन्तर जगेर्ना गरेवापत चन्द्रबहादुर विकलाई फेटा गुथाएर केही नगद सहित सम्मान गरियो । उहाँका तीन पुस्ता यसै कर्ममा जुटेको थाहा पाइयो ।
चन्द्रबहादुर बानियाले पछि नभ्याउने हुनाले उद्घाटन सत्रमै भाका संस्कृति बारेको कार्यपत्र प्रस्तुत गर्नुभयो । रमाइलो भाका संस्कृति ओरालो लाग्दै रहेछ ।
उद्घाटन सत्रका वक्ताहरूले खोटाङमा पाइलैपिच्छे लोकसंस्कृति रहे पनि त्यसको अभिलेखीकरण र प्रवर्धन हुन नसेकेको अवस्थामा मुन्दुम पदमार्गबाट यसमा केही उत्साह थपिएको बताए । १२ भन्दा बढी राई भाषाको मूल थलो खोटाङ किरात सभ्यताको केन्द्र पो रहेछ ।
किरात राईहरू मुन्दुमप्रति गौरव गर्दा रहेछन् । वास्तवमा मुन्दुम भनेको किरात राई संस्कृतिको अलिखित वा मौखिक विधान हो, पद्धति हो, धर्मशास्त्र हो । चाडपर्व, कृषिकर्म, संस्कार र वरव्यवहार सबै मुन्दुमद्वारा निर्दिष्ट विधानद्वारा गरिँदो रहेछ ।
उद्घाटन सत्र सकेर ठुलो साँझमा हस्याङफस्याङ गर्दै मझुवाकालिकाको दर्शन गर्न पुग्यौँ । पर्वतको उच्च काखमा अवस्थित छ, मझुवाकालिकाको मन्दिर । माथिबाट दिक्तेल बाजार झलमल्ल देखियो । पहिलेभन्दा धेरै उन्नति गरेछ, दिक्तेलले । दिक्तेल बजारलाई दिनको उज्यालोमा भन्दा रातको उज्यालोमा हेर्दा यसको मुहार हँसिलो पाएँ । खुसी लाग्यो । रात परेकाले मझुवागढी भने पुग्न सकिएन । सो धोकै रह्यो ।
दोस्रो दिन जेठ ४ गते दिक्तेलको सेरोफेरोको घुमघाम तथा भोजनपश्चात् प्रा.डा. ध्रुवकुमार घिमिरेको अध्यक्षतामा सङ्गोष्ठी सम्पन्न भयो । सङ्गोष्ठीमा डा. कुलराज निरौला, गायत्री पराजुली, अम्बादत्त भट्ट, टङ्क राई, जेपी राई, विनोद आचार्य, भोगेन एक्ले, इमान राई, बिषन राईले विभिन्न विधिव्यवहार, संस्कार, संस्कृति र मुन्दुमी उपचार पद्धतिबारे आआफ्ना कार्यपत्र प्रस्तुत गर्नुभयो । बाँसको परम्परागत र सांस्कृतिक उपयोग बारे पनि विशद विमर्श भयो । भित्र पत्रको प्रस्तुति भइरहँदा बाहिर परिसरमा सिमसिमे पानी र साकेलाको धुनले श्रोतालाई जुरुक जुरुक बनाइरहेको थियो ।
बेल बेलामा पानी दर्के पनि तुरुन्तै बिदो भइहाल्थ्यो । गोष्ठी समापन गरेर हतार हतार साकेलामा सहभागी भयौँ । साकेला किरात राईहरूको संस्कृति हो । चण्डी पूर्णिमादेखि सुरु भएको साकेला सिलीले पूरै किरात क्षेत्र गुञ्जायमान भइरहेको थियो । हिजो मझुवाकालिका दर्शन गरेर फर्किंदा बाटैमा गुडी रोकेर हामी पनि त्यहाँ बजारमा प्रदर्शन भइरहेको साकेला सिलीमा सहभागी भएका थियौँ । आज यहाँ साकेला प्रस्तुत भइरहँदा पनि हामीले जानी नजानी फन्को लगायौँ, साकेलाका बारेमा जानकारी लियौँ । वास्तवमा साकेला नाच होइन, अभिनय हो । यसको हरेक ताल, लय र मुद्रामा मुन्दुम हुन्छ, सभ्यताको सङ्केत र अभिनय हुन्छ भन्ने मान्यता रहेको छ । चण्डी पूर्णिमादेखि उँभौली पर्व आरम्भ भएको हो र अब आउने पूर्णिमासम्म हरेक राई बस्तीमा साकेला सिली प्रस्तुत गर्ने गरिन्छ । मङ्सिर महिनामा पर्ने उँधौली पर्वका अवसरमा पनि यसै गरी साकेला सिली प्रस्तुत हुन्छ । साकेला एउटा संस्कृति रहेछ । साकेला किरात संस्कृतिको संवाहक पनि रहेछ ।
शुभम् फाउन्डेसनको विशाल आँगनीमा साकेला सिली प्रस्तुत भइरहँदा ''स्वै ढोले स्वै, अर्को ढोले खोइ !!"को ठाउँमा ''स्वै ढोले स्वै, किरात राज्य खोइ !!" भनेको पो सुनेँ । खै के खै के !
साकेला प्रस्तुति सकेपछि पहेँला अक्षता लगाउने र पञ्चामृत खाए झैँ सानो काठको चौँठीबाट सुरापान गर्ने गराउने चलन रहेछ । यहाँ पनि सो चलनको पालन भयो ।
सङ्गोष्ठीमा ज्ञानको रन्काले र साकेलामा नृत्य र ढोलक झ्याम्टाका धुनले दिलदिमाग झन्झनाइरह्यो । सयौँ थुँगा फूलका हामी सँगै थियौँ । संस्कृति फरक फरक ! अनुभूति फरक फरक !!
दिक्तेलले हामीलाई लोभ्याइरह्यो ! किरात संस्कृतिका सुम्निमा-पारुहाङले सनातन हिन्दु संस्कृतिका शिव-पार्वतीले हामीलाई आसिक दिइरहे । किरात सभ्यता र संस्कृतिको केन्द्र दिक्तेलले हामीलाई मुहुनी लगायो र हामी दिक्तेलका काखमा मिठो निद्रामा सुत्यौँ ।
निद्रामा पनि साकेला सिली र लोचन भट्टराईको मधुर स्वर गुन्जिइरह्यो- स्वै ढोले स्वै, अर्को ढोले खोइ !! हुर्र हा हा ! हुर्र हा हा !! - खोटाङ जिल्ला दिक्तेल बजार !
सतुङ्गल