19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झोला, जागिर र म

संस्मरण/स्‍मृति रमाकान्त शर्मा June 22, 2026, 11:44 pm
रमाकान्त शर्मा
रमाकान्त शर्मा

नजिक जस्तो लागे पनि चारघण्टा त कराकर हिड्नु पर्छ त्रिपुरकोटबाट दुनै पुग्न । कालागौडा नपुगे सम्म चिया, नास्ता खाने ठाउँ पनि छैन । बीच बीचमा खच्चरहरुको हुल, घण्टीको टिन टिनको संगित । बाटो छेउ तथा भेरीको किनार तर्फ काठका फलेकहरुले बारिएको, काठकै फलेकहरुले बारी कोठा निकालिएको चारकोठे घरमा चिया र नास्ता पसल । पसियो त्यसै चिया नास्ता पसलमा चिया नास्ताको लागि । हिडाइले थाकेको हुनाले धेरै बोल्न पनि मन लागेको छैन । चिया नास्ता बनाउने कोठा र हामी बसेको पाहुना बसेर चिया नास्ता खाने कोठाको फलेकले प्रत्यक्ष अनुहार हेर्न छेके पनि फलियाले कुरा सुन्न र सुनाउन रोकेको छैन । हामी भएको कोठामा विद्यालय र शिक्षकहरुका कुरा निस्के । कुरा हुदै थियो पल्लो कोठामा भएको २२ ÷२५ बर्षको युवा चिया पसलेले आप्mनो कुरा थपी हाले । आजकल जिल्ला शिक्षा अधिकारी कालो झोला बोकेर खुर खुर दौडने र कति बेला कुन विद्यालयमा पुग्ने निश्चित नहुने हुनाले शिक्षकहरु १० बज्न नपाउदै विद्यालयमा पुग्नको लागि हतार हतारमा हिड्न थालेका छन् । विद्यालयमा दैनिक जान्छन् । उनले कालो झोलाको कुरा निकाले । हुन पनि म एकै ठाउँमा धेरै नबस्ने चिया पनि मौका परे खाने अन्यथा सरासर हिड्ने हुनाले मलाई अनुहारले ठम्याउन सक्दा रहेनछन् । त्यस कालागौडाको सानो ठाउँबाट जुफालको उकालो लागे पनि लामो समय पछाडि बोक्ने कालो झोला देखिने, दुनै तर्फ लागे पनि त्रिपुराकोट तर्फलागे पनि परै डाडाले छेल नपारे सम्म देखिने हुनाले होला मलाई भन्दा पनि महिले बोक्ने झोलालाई चिन्दा रहेछन् । त्यस पसलमा आउने धेरै शिक्षक र कर्मचारी पनि हुन्छन् । त्यहाँ बस्ने शिक्षकले एक पटक जिल्लाको शिक्षाको बारेमा कुरा गर्ने नै भए । अनि मेरो बारेमा त्यस ठाउँमा पटक पटक कुरा चल्दो रेहछ । ती चिया पसले भाइले त्यही झोलाको कुरा निकाले । मोरो बोलीले मलाई चिन्दा रहेनछन् । मलाई रमाइलो लाग्यो । भाई यता आउनुस् त भनेर बोलाए अनि कुनामा राखिएको मेरो झोला देखाउदै भने, यही त होइन त्यो जि शि अ को कालो झोला । चिया पसले भाइ अलिकति लजाउदै अलिकति हास्दै हो भनेर मेरो मुखमा हेरे । झोला देखे पछि मलाई पनि चिने । केही समय गफगाफ भयो । चिया चना खाइयो र दुनै तर्फको धुले बाटोमा धुलो उडाउदै पाइला अगाडि बढाइयो । म भन्दा मैले बोक्ने झोला परिचित रहेछ त्यस ठाउँमा ।

हुन त झोला सम्वन्धमा म सानो छदाको व्यवहार र मेरो सानी छोरीको ब्यवहार मिल्छ । मेरो बा बाग्लुङ्ग सदरमुकाम पुगेर वा अन्यत्र गएर आउदा पिडीकोे थाममा झुण्डाइएको झोला कतिवेला मौका मिलाएर छामौ जस्तो लाग्थ्यो मालाई । त्यस्तै मेरो छोरीलाई हुदो रहेछ । म काठामाण्डौ गएर वा जागिरबाट घरमा पुग्दा सानी छारीले अहिले सम्म पनि मेरो झोला नहेरी छाडदिनन् । कहिले झोलामा खानेकुरा हुन्छ कहिले हुदैन । केही नयाँकुरा हुन्छ केही पुरानै तर एक पटक हेरेर त्यसमा भएका सवैकुरा एक एक छोरीले केलाएकी हुन्छिन् । कहिले म नजिकै भएको अवस्थामा, हेरकी छैनन् होला भन्ने मान्दा मान्दै पनि हेरी सकेकी र सानासाना कुराको याद गरी सकेकी हुन्छिन् । झोलामा ल्याएको केही कुरा दिन खोज्दा त्यस कुराको बारेमा छोरीले थाह पाइसकेको कुराले म जिल्ल पर्छु ।

भोट जान बैशाख १२ गते विहानै दुनैबाट निस्केका थियौ, स्रोतव्यक्ति शेरबहादुर र म । पछाडि बोकेको त्यही कालो झोला अटेस मटेस थियो । विहान सेवेरै उठेर दुई घण्टा जति यात्रा गरे पछि , धारापनी भन्ने ठाउँबाट केही अगाडी पुगे पछि एकजना सहताराको परिचित व्यक्ति विपरित दिशाबाट आउदै रहेछन् । मेरो झोला देखेछन् र भने झोलाको च्यान खुला छ । म आत्तिदै हेर्छु त झोलाको आधिभाग च्यान खुलेको छ । म झसंग भए कसरी यस्तो भयो । पन्ध्र स्रोह्र दिनको लागि खाजा, फेर्नकोलागि सामान्य एक जोर कपडा, औषधी र सियो धागो समेतका धेरै सामान अटाएको थिएँ त्यो झोलामा । केही समान खस्यो कि भन्ने डर लाग्यो तर फर्कने कुरा भएन । सवै सामान फोसलेर झोलामा के के छ र के के खस्यो भनेर केलाउने कुरा पनि भएन । झोला टनाटन थियो । आँखाले भ्याउने जति पछाडि तर्फको बाटो नियाले र च्यान लगाए । १५/ १६ दिनको लागि राखेको कुनै सामन खसेको भए के गर्ने होला भन्ने डार पनि लाग्यो । १६ दिनको पैदल यात्र पछि फोक्सुण्डो तालकोबाटो फर्केर दुनै पुग्दा सम्म धन्नै केही हराएको जस्तो लागेन ।

जागिरको तीन चार बर्ष मात्र भएको थियो । एक दिन केशरमहल शिक्षा मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेको थिएँ । मलाई शिक्षा मन्त्रालयका कर्मचारीले खासै चिन्दैनथे । शिक्षा मन्त्रालको कर्मचारी प्रशासनमा कुनै शाखा अधिकृतको सरुवाको कुरा चल्दै रहेछ । त्यसै क्रममा कर्मचारी प्रशासनको उपसचिवले त्यसलाई झोला बोकाए बल्ल खान्थ्यो भनेको स्पस्ट सुने । कुरा के रहेछ भने कुरामा उल्लेख भएका व्यक्ति कुनै जिल्ला शिक्षा कार्यालयमा शिक्षा प्रसाशन, निरीक्षण समुहका शाखा अधिकृत रहेछन् । उनले पाएक पर्ने जिल्लाको शाखा अधिकृतमा सरुवा खोजेका रहेछन् । त्यसको लागि विभिन्न ठाउँबाट भनसुन पनि गर्न लागाएका रहेछन् । शिक्षा मन्त्रालयमा शाखा अधिकृत दिएको अझै नजिकमा खोज्दछ भन्ने परेको रहेछ । झोला बोकाउने भनेको जागिरबाट बिदा गर्ने भनिएको हैन रहेछ । शाखा अधिकृतबाट विद्यालय निरीक्षकमा सरुवा गरेमा उनलाई स्वाद खान्छ वा दुःख पाउछ भनेर व्यङ्ग गरेका रहेछन् । झोला बोकाउने भनेको उनलाई विद्यालय निरीक्षकमा सरुवा गर्ने भनेको रहेछ । आँफु सधै झोला बोकेर विद्यालय पुग्ने, त्यसरी धेरै विद्यालयमा पुग्दा आँफुले राम्रै गरेको छु भन्ने लाग्थ्यो । एक विद्यालयमा सिकेका कुरा अर्को विद्यालयमा पु¥याउने, शिक्षकहरुसंग छलफल गर्ने, समुदायका व्यक्तिहरुसंग अन्तरक्रिया गर्ने, समुदायलाई समुदाय उमेरका सवै वालवालिका विद्यालयमा भर्ना गर्न र विद्यालयमा सहयोग गर्न अनुरोध गर्ने, त्यसैमा आफुलाई गौरव गर्ने गर्थे ।

मैले आदर्श ठानेको, अनुभव आर्जन गर्न पाइने, आर्जन गरेको अनुभव बाँड्न पाइने, गाउँगाउँ र समाजमा घुम्दा समाजबाट धेरै कुरा सिक्न पाइने, समाजको संस्कृति, रहन सहन, कला, समस्या, समाजका भोगाइहरु जानकारी हुने भन्ने ठानेको विद्यालय निरीक्षक पदलाई शिक्षा मन्त्रालयमा झेले भनिदो रहेछ । त्यो पद त दण्डित गरेर पठाउने पो रहेछ । झोलामा विहान वेलुकीलाई आवश्यक सामग्री बोकेर हिड्नेलाई अंग्रेजीमा व्यागप्याकर भनिदो रहेछ । नेपालीमा झेले जागिर पनि भनिदो रहेछ । शब्दको अर्थ जस्तो भए पनि, कसैले नकारात्मक रुपमा लिए पनि म भने यस्तो जागिरलाई कार्यालयको टेवलमा बसेर गर्र्नेे तथा टिप्पणी उठाउने, निर्णयको लागि पेश गर्ने, फाइल सार्ने, दिनभर एकै ठाउँमा बस्ने जागिर भन्दा धेरै उत्तम ठान्दथे र ठान्दछु । विद्यालय निरीक्षक हँुदा मलाई झोला बोक्नु र विद्यालय विद्यालयमा पुग्नु अनिवार्य थियो । शाखा अधिकृतमा सरुवा गर्नको लागि म कहिल्यै पनि शिक्षा मन्त्रालयमा गइन । दुई बर्षको लागि क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चल काठमाण्डौमा शाखा अधिकृतको जागिर खाँदा अनुभव गरे एकै ठाउँमा बसेर गर्ने शाखा अधिकृत भन्दा विद्यालय निरीक्षक धेरै उत्तम रहेछ ।

विभागीय प्रमुख, माथिल्लो पदका कर्मचारी, कार्यालय प्रमुख मात्र होइन तल्लो तहका कर्मचारीहरुले पनि सामान्य फाइल ब्याग समेत कार्यालय सहयोगी, मातहतको कर्मचारी र सेवाग्राहीलाई बोकाएर हिडेको देखेको छु । त्यसो गर्दा आफुलाई ठुलो व्यक्ति भएको महसुस गरेको पनि देखेकै कुरा हो । कहिले काही दुईवटा झोला भएको कारणले साथी सरह एक छिनलाई सहयोगको लागि झोला बोक्न दिइए होला तर झोला बोकाउन पाएकोमा मख्ख परिएन । प्रस्ट भन्दा म आफुले गौरवका साथ आप्mनो झोला आफै बोक्ने गरेको छु ।
डोल्पाको जिल्ला शिक्षा अधिकारी हुँदा एक पटक आजको शिक्षा पत्रिकाका सम्पादक सुदर्शन सिग्देलले फोनबाट सोध्दै हुनु हुन्थ्यो, जागिर कसरी चल्दै छ ? मेरो जबाफ थियो म बूढो विद्यालय निरीक्षक, मैले झोला छाडेको छैन र मलाई झेले जिल्ला शिक्षा अधिकारी भने पनि हुन्छ ।

शिक्षा मन्त्रालय देखि स्रोत केन्द्र सम्मको मुख्य काम विद्यालय, विश्व विद्यालय तथा शैक्षिक सस्थाहरुलाई परेका समस्या समाधानमा सहयोग पु¥याउने, गुणस्तरीय शिक्षा दिन उत्प्रेरित गर्ने हो । त्यसको लागि अनुगमन निरीक्षणको सबै भन्दा महत्वपूर्ण स्थान हुन्छ । मेरो विचारमा जहिले सम्म अनुगमनलाई प्रभावकारी पार्न सकिदैन त्यतिवेलासम्म शिक्षामा सुधार सम्भव पनि छ्रैन । जहिले देखि शिक्षा मन्त्रालय विद्यालयको शिक्षा सुधारमा लाग्ने छ , त्यतिबेला फिल्डमा खटेर काम गर्ने विद्यालय निरीक्षकहरुलाई सम्मान गर्ने छ र राम्रा मान्छेहरुलाई विद्यालयमा पुग्नको लागि उत्प्रेरित गर्ने छ । इमान्दार विद्यालय निरीक्षकहरु पुरस्कृत हुने छन्, विदेश जानेमा पहिलो प्राथमिकता विद्यालय निरीक्षकले पाउने छन् । विद्यालयको बास्तविक समस्या बुझेका र समाधानको उपाए समेत संगालेका विद्यालय निरीक्षकहरुको कुरा सुन्ने छ र नीति निर्माणमा सहभागी गराउने छ । त्यसैले मेरो झोला प्रति मेरो अगाद सम्मान छ । एक डायरी, टर्च, तौलिया, एक जोर फेर्ने कपडा हुने मेरो झोलामा अहिले एक ल्यपटप पनि हुने गरेको छ र इन्टरनेटकोलागि एक राउटर डिभाइस पनि थपिएको छ । जय होस् म भन्दा परिचित मेरो कालो झोला ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।