19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अकबरी सुन

कथा बद्री अधिकारी June 22, 2026, 11:47 pm
बद्री अधिकारी
बद्री अधिकारी

गर्मीको मौसममा मध्यान्हको समय, त्यसमा पनि चर्को घाम लागिरहेको कारणले गर्दा घाँस काट्न जाने आँट ममा पलाइरहेको थिएन । म कोठामा रहेको पलङमा ढल्किरहेकी थिएँ । माया, मेरी नन्द, बोर्डिङ गइसकेकी थिइन् । धर्मानन्द, मेरो झड्केलो ससुरा, पनि ऊतिरकी छोरी मायासँगै खाना खाएर पान खान बजार निस्किसकेकोले म घरमा एक्लै थिएँ । मेरो लोग्ने योगेश भारतको बाटा कम्पनीमा सेल्सम्यानको काम गर्ने गर्दथ्यो । ६ महिनाअघि एक हप्ताको बिदामा घर बसेर फर्केको थियो । मेरो लोग्नेले बाबुको सारै आदर, सम्मान र माया गर्दथ्यो । झ्वाट्ट देख्नेहरूले झड्केलो छोरो र बाबु हुन् भनी अनुमान गर्न सक्दैनथे । साँच्चै, मेरो लोग्नेलाई बाबुको आज्ञापालक पुत्र भन्दा हुन्थ्यो । ससुरा, नन्द र म मात्र घरमा बस्दथ्यौँ । ६ वर्षअगाडि नै सासू खसेकी रे ! मेरो लोग्ने योगेश र मायाको पालनपोषणमा सासूले विभेद गरिनन् भन्दथे गाउँलेहरू । म यो घरमा आएदेखि मैले पनि त्यो कुरालाई महसुस गरिरहेकी थिएँ ।

हाम्रो सानो चारकोठे एकतले पक्की घर थियो । एउटा बैठक कोठा, अर्को भान्सा अनि एउटामा म र नन्द सुत्ने गर्दथ्यौँ । अर्को कोठा ससुराले प्रयोग गर्ने गर्दथे । दुई महिनाअघिको कुरा होला– मसँग अति मिल्ने पल्लो टोलकी बिर्खेकी स्वास्नीले भनेकी थिइन् – “तेरी सासू खसेपछि पो भर्खर तेरा ससुरालाई बैँस चढेछ कि क्या हो ! अस्ति नै बजार जाँदै थिएँ, तेरो ससुराले खुब टिठ्याएर हेरिरहेको रहेछ । मलाई त लाज पो लागेर आयो । कस्तो नकच्चरो, मान्छेले देखे के सोच्लान् भन्ने पनि ख्याल नराखेको...” । मैले कुनै प्रकारको समर्थन र विरोध गरिनँ । सिधै भनौँ न, प्रतिक्रिया नपाएर होला उनी पनि मौन भएकी थिइन् । बिर्खेकी श्रीमतीको कुराले म सशङ्कित भएकी थिएँ ससुराप्रति ।

माउसुलीको टिक्–टिक् स्वरतिर मेरा आँखा टाँसिन पुगेका थिए । मैले भित्तामा दौडँदै गरेको माउसुलीलाई देखेथेँ, जो चुपचाप बसिरहेकी पुतलीलाई आक्रमण गर्न दौडिरहेको थियो । हेर्दाहेर्दै माउसुलीले पुतलीलाई एकै छाक बनायो । विवश पुतली उसको आहारा हुनबाट जोगिन सकिन । त्यो दृश्यले मेरो शरीरमा एक प्रकारको भय उत्पन्न भएको थियो । अनौठो त्रास उत्पन्न हुँदै थियो मनभित्र । कस्तो विचित्र संयोग ! भित्तामा माउसुली सन्तुष्टि प्राप्त गर्न सकेकोमा पेट फुलाएर आनन्दसाथ बसिरहेको थियो । मेरो मस्तिष्कमा एउटा विचार उत्पन्न भयो । मस्तिष्कले आफूलाई भनेझैँ लाग्यो – “तँ र माउसुलीको आहारा बनेकी पुतलीको जीवनमा कुनै प्रकारको सामीप्यता त उत्पन्न हुँदैन !?”

मस्तिष्कले उब्जाएको प्रश्नमाथि मभित्रको विवेकले विरोध गरेको थियो । “अस्मिता...... व्यर्थ शङ्का नगर । सबै शङ्काहरू यथार्थ नजिक पुग्छन् भन्न सकिन्न । शङ्काले लङ्का हान्छ रे ! के यो मेरो शङ्का मात्र हो त ? ऊ मेरो ससुरा ।” एक महिनाअगाडिदेखि ससुराको हेराइमा केही फरक परेझैँ लागिरहेको थियो । कताकता उसका आँखामा वासनाका ज्वारभाटाहरू सल्बलाएझैँ लाग्न थालेको थियो । उसका आँखाहरू आफ्ना उरोजमा टाँसिएझैँ मलाई भान हुँदै थियो । म उसको अगाडि आउनुपर्दा साडीको सप्को राम्रोसँग मिलाउँथेँ । एउटै घरमा भएपछि जतिसुकै सचेतना अपनाए पनि कार्यको सिलसिलामा सचेतना घरीघरी पुग्दैनथ्यो । उसले पनि मेरो त्यो परिवर्तनबारे केही अड्कल गरेको थियो कि ! म किटानसाथ अनुमान गर्न सकिरहेकी थिइनँ ।

उसको मनभित्र मेरो शङ्का मुताबिकको चाहना छ या छैन ? पछिल्लो पटक मेरो श्रीमान् आएर फर्केदेखि झन् उसले मेरो बढी ख्याल गरिरहेको थियो । ऊ बजारबाट आउँदा आजकल खाली हात आउँदैनथ्यो । स्याउ, अङ्गुर, बिस्कुट, भुजिया, चाउचाउ, लिची, कोला, आँप आदि प्रकारका फलफूल तथा खानेकुरा लिएर आउँथ्यो । छोरी घरमा हुँदा “भाउजूलाई दिनू, तिमीहरू खाओ” भनी मायालाई दिन्थ्यो । उनी घरमा नहुँदा मलाई दिने गर्दथ्यो । “खाएको ज्यान काम लाग्छ, तिम्रो लागि ल्याइदिएको” भन्दा म बोल्दिनथेँ । बोल्न उचित ठान्दिनथेँ । “तिम्रो लागि ल्याइदिएको ?” यो वाक्यभित्र कुनै आशय लुकेको छ या छैन ! ऊ पचास वर्ष पुग्यो होला । पचास वर्षमा लोग्ने मान्छे बुढो हुँदैन । शरीर बुढो भए पनि मन बुढो हुँदैन रे ! यो उखानको स्मरणले म आत्तिन्थेँ । मेरो मानसिकतालाई कसले बुझ्ने ? म कसैलाई आफ्नो शङ्काको साझेदार बनाउन पनि सकिरहेकी थिइनँ, सक्ने कुरा पनि भएन ।

मेरो लोग्ने योगेश पनि घरमा थिएन । भए पनि भन्न सक्ने कुरा भएन । प्रमाणबिनाको सत्यले आफैँलाई गिराउँथ्यो । कसरी भन्ने आफ्नो ससुराले आफूलाई अप्ठ्यारो पाराले हेर्छ भनेर । प्रमाणबिनाको यथार्थलाई कसले पत्याउने ? प्रमाण पुगे पनि यस दुनियाँमा कतिपय कुरालाई उजागर गर्न मिल्दैन, सकिँदैन । निल्न, चपाउन र थुक्न नसकेर म भित्रभित्रै पिल्सिरहेकी थिएँ । लगाउने र सफा–सुधार गर्ने बानीमा उसको निकै परिवर्तन आइरहेको थियो । तिलचाम्ले कपालमा दैनिक बास्नावाला तेलको प्रयोग, शाश्वत दाह्री कटाइ र सफा लुगा लगाउने सौख पलाएको थियो । त्यो कुरालाई सहजै जो–कोहीले अनुमान गर्न सक्दथ्यो । यो कुरा मैले मात्र सोचेको होइन, अरूहरूले पनि अनुमान गरेका रहेछन् ।

पल्लो गाउँकी टङ्केकी बुहारी, जो मेरी हितैषी साथी थिइन्, घाँस काट्दा मसँग भनेकी थिइन् – “अस्मिता ! आजकल तिम्रो ससुरा निकै गुण्डिन थालेका छन् हगि !” मैले उनलाई पुलुक्क हेरेकी थिएँ । उनका आँखामा अनौठो जिज्ञासा लुकेझैँ लागेको थियो मलाई ।

“खोइ ! मलाई त उस्तै लाग्छ ।”

“केही परिवर्तन चाहिँ आएको छ बूढामा । घर फर्कँदा उसको हात खाली हुँदैन, केही न केही फलफूल बोकेकै देखिन्छ कि योगेशले निकै पैसा पठाएकोले खर्च गर्ने सौख पलाएको हो कि ?” उनले मेरो अनुहारमा आउँदै गरेको भावलाई पढ्ने कोसिस गर्दै भनेकी थिइन् ।

“खासै पैसा पठाउँदैनन्... धेरै कमाइ भए पो पठाउनु ।”

“आजकल तेरो निकै हेरविचार गर्छन् कि कसो ?”

“....” मैले बोलेर जवाफ गर्न उचित ठानिनँ । मेरो मौनतालाई देखेर उनले के ठानिन् ।

सहानुभूति प्रकट गर्दै उनले भनेकी थिइन् – “अस्मिता ! आजकलका मानिसहरू भए–नभएका अरूका कुरा गर्दा रहेछन् । अर्काको कुरा नगरी मान्छेलाई खाएको पच्दैन कि कसो ! तिमी र तिम्रो ससुराको बीचमा शङ्का–उपशङ्का गर्दा रहेछन्, मलाई सारै नराम्रो लाग्यो ।”

“नबिराउनू, नडराउनू” भनेझैँ आरोप भन्ने कुरा त सीतालाई पनि धोबीले लगाएको थियो ।

“हो त नि....” – उनले समर्थन गरेकी थिइन् । म हतार–हतार घाँस काट्न थालेकी थिएँ । चाँडै भारी पुर्‍याएर “घरमा थुप्रै काम छ” भनी म उनीसँग बिदा भएर घरतिर लागेकी थिएँ । ससुरा र मेरो बीच गरिएको सामाजिक शङ्काले मुटु सुइराले घोचेझैँ गरी चस्स दुखेको थियो । श्वास फुल्नुका साथै हृदयको गति तीव्र भएको थियो । टङ्केकी बुहारीसँग पनि रिस उठेको थियो । रिसको झोकमा म मनमनै फत्फताएकी थिएँ – “आफू खराब छे होली, अरूहरूलाई पनि त्यस्तै देख्छे ।” घाँसको भारी बोकेर घर पुगेकी थिएँ ।

घरको मूलढोकामा लगाउने एउटा साँचो ससुरासँग र एउटा मसँग हुन्थ्यो । मैले टाढैबाट उसलाई घरको बरन्डामा बसिरहेको देखेथेँ । नजिक पुग्नेबित्तिकै उसको मायालु स्वर कानमा ठोकिएको थियो ।

“बुहारी ! यति धेरै घाँस किन ल्याएको, आखिर दिनहुँ ल्याउनैपर्छ । गर्मीमा मरिहत्ते गर्नुहुँदैन है । आफ्नो शरीरको पनि ख्याल राख्ने गर । तिम्रो लागि केही सामानहरू ल्याई भित्र राखिदिएको छु ।”

“भोलि बिहानसम्म पुग्छ, धेरै भएर के बिग्रन्छ र !” मैले उसको अन्तिम वाक्यलाई ध्यानै नदिएझैँ गरी प्रतिउत्तर दिएकी थिएँ, गोठतिर लाग्दै ।

गोठबाट फर्केर आउँदा ऊ बरन्डामा थिएन, सायद बजारतिर निस्किसकेको थियो क्यार । “उसले मेरा लागि के ल्याएछ ?” मनमा उत्सुकता जन्मिएको थियो । दिमागले तुरुन्तै मलाई गाली गरेको थियो – “तँ किन उत्सुक हुन्छेस् ? जेसुकै होस्.... तँभित्र पनि उसको क्रियाकलापले आकर्षण पैदा हुन थाल्यो कि क्याहो ?” आफ्नो दिमागको गालीले उत्सुकताको घाँटी निमोठेको थियो ।

माउसुलीको टिक्–टिक् आवाजले मन त्रासबाट सङ्क्रमित हुन पुगेको थियो । डरबाट सङ्क्रमित भएको मन आत्तिँदो रहेछ । “माउसुली....., पुतली......” आत्तिँदा छटपटीसाथ बर्बराएकी थिएँ । “योगेश, मेरो प्राण ! म तिमीलाई कसरी भनूँ, तिम्री अस्मिताले आफूलाई रक्षा गर्न सक्छे कि सक्दिन । म लाचार छु, विवश छु । योगेश, मलाई माफ गर... । म बुझ्न सकिरहेकी छुइनँ तिम्रो बुबालाई र उहाँको भावना र चाहनालाई ।”

भित्तामा टाँसिएर बसेको माउसुलीको पुच्छर हल्लाइले पनि आफूलाई गिज्याइरहेझैँ लागेको थियो । म आफूलाई भित्रभित्रै क्रमिक रूपले गलिरहेझैँ लागिरहेको थियो । आँगन बढार्ने र भात पकाउने काम बाँकी नै भएकाले बढार्नका लागि कुचो बोकेर बाहिर निस्केकी थिएँ । आँगनको पल्लो छेउमा आफ्ना र छिमेकीहरूका कुखुराहरू चरिरहेका थिए ।

एउटा अजङ्गको भाले कोरली लखेट्न व्यस्त देखिन्थ्यो । कोरली बुताले भ्याएसम्म भागिरहेको थिई । कोरली भाग्दाभाग्दै थकित भएर मुख बाउँदै भुइँमा थचक्क बसी, आत्मसमर्पण गर्दै बुताले नभ्याएपछि । भाले निर्ममतापूर्वक आफू सन्तुष्ट हुने क्रममा लीन थियो । म त्यो दृश्यले आत्तिएकी थिएँ ।

“म किन आत्तिएकी ? अहिलेसम्म त उसले कुनै अशिष्टता देखाएको छैन ।” – म मनमनै बर्बराएकी थिएँ । नन्द पनि काकाकोमा बस्ने गरी गएकी थिइन् । ऊ अनि म....., यत्रो सिङ्गो घर, कसरी रात बिताउने ? प्रश्न र सोचाइले मेरो गिदी थिलथिलो हुँदै थियो । “ससुरा धर्मानन्द के मैले कल्पना गरेजस्तै अधर्मी होला ?” दिमागमा प्रश्नहरू तँछाडमछाड गर्दै थिए ।

“अस्मिता ! हिजोआज तिमीलाई के भएको छ, जतिखेर पनि टोलाएको देख्छु । हातमा कुचो बोकेर के सोचिरहेकी छ्यौ ?” – पल्लो घरकी काकीको स्वरले म झस्केकी थिएँ ।

“केही भएको छैन...., ठीकै छ ।” – अत्याहटलाई लुकाउने प्रयासका साथ मैले भनेकी थिएँ ।

“कि योगेशको सम्झनाले टोलाउन थाल्यौ ?” – उनी मलाई जिस्क्याउँदै हाँसेकी थिइन् । म पनि प्रतिउत्तरमा मन नलागी–नलागी हाँसिदिएकी थिएँ, आँगन बढार्न थाल्दै । बढारिसकेर भान्साको लागि घरभित्र पसेकी थिएँ ।

ससुराप्रति शङ्का बारम्बार मेरो मनमा किन उब्जिरहेको थियो ? लोग्ने मरेर बसेकी विधवालाई उसले ल्याएको कारणले त म बढी सशङ्कित भएकी होइन ? खोइ ? भात पकाइसक्दा पनि ऊ आएको थिएन । बेलुकीको आठ बजिसकेको थियो । भात खानु कि रुङ्नु ? ढिलो भए भात खाएर राखिदिनू भन्ने गरेको थियो । खान पनि सकिरहेकी थिइनँ । सधैँ त धेरै रातिसम्म बाहिर बस्दैनथ्यो । रक्सी खाएर मत्थु भएको देखेको थिइनँ... तर घरिघरी हल्का बियर चाहिँ खाने गर्दथ्यो । “साथीहरूको करले अलिकति बियर खाएँ” भन्दथ्यो । मात्ने गरी खाएको मलाई थाहा थिएन । कुरा त्यति लुकाउने स्वभावको थिएन । मन नलागी–नलागी भात खाएकी थिएँ ।

मेघगर्जनको साथ हावा चलिरहेको थियो । सायद पल्लो गाउँतिर वर्षा सुरु भइसकेको थियो क्यार । सबै कोठाहरूका झ्याल क्रमसँग बन्द गरी पर्दा झारेकी थिएँ । ससुराको कोठा र आफ्नो कोठामा लालटिन बालेर मूलढोकामा गजबार लगाएकी थिएँ । पलङमा पल्टेर निदाउने प्रयास गर्दा पनि निद्रा लागिरहेको थिएन । भविष्यप्रतिको चिन्ताले पिरोलिरहेको थियो । “जे लेखेको छ त्यही हुन्छ ।” आँट जारी नै थियो । साहसलाई उमार्ने मेरो प्रयास सफलताको नजिक पुग्न सकिरहेको थिएन । फाट्टफुट्ट वर्षा सुरु हुन थालिसकेकोले म निदाउने उपक्रम गरिरहेकी थिएँ ।

००

“ढक्ढक्.... ढक्ढक्....” ढोका ढक्ढक्याइले ऊ आएको सङ्केत गरिरहेको थियो । मैले भित्तेघडीमा आँखा पुर्‍याएकी थिएँ । रातको एघार बजिसकेको थियो । सायद ऊ मातेर आयो होला । मेरो मनमा अनेकौँ कुराहरू खेल्न थालेका थिए ।

“ढक्ढक्.... ढक्ढक्.... बुहारी, ढोका खोल न ।” ससुराको स्वरले मेरो सोचाइ भङ्ग भएको थियो । हातमा झुन्डिएको लालटिनलाई प्यासेजमा राख्दै ढोका खोल्न अगाडि बढेकी थिएँ । ढोकाको गजबार खोल्दै ढोका आफूतिर तानेकी थिएँ । मुटुको गति तीव्र भइरहेको थियो । भय र त्रासले फोक्सो कामीको खलाँतीझैँ हुँदै थियो । नाकका प्वालहरू फुलिरहेका थिए । शरीरमा एक प्रकारको कम्पन उत्पन्न भइरहेको थियो । बाहिर बिजुली चम्किँदै थियो क्षणक्षणमा । ऊ बिस्तारै अगाडि बढ्दै थियो । अचानक चट्याङ परेको आवाज वातावरणमा छरियो । आफू उभिएको ठाउँ हल्लिएझैँ लाग्यो ।

“अम्मई......!” काहाल्लिएर म उसलाई अँगालो मार्न पुगेथेँ र ऊ पनि । उसको मुखबाट निस्केको रक्सीको गन्ध नाकमा ठोकिएको थियो । उसका दुवै हात मेरो पिठ्युँमा बेरिएका थिए । उसका पाखुरामा झन् कसिलोपन बढेझैँ लागिरहेको थियो मलाई । उसको बन्धनबाट मुक्त हुनका लागि मैले आफ्ना दुवै हातका हत्केलाले आफ्नो छातीको उभारसँग टाँसिएको उसको समतल चौडा छातीलाई ठेलेर अलग हुने चेष्टा गरेकी थिएँ । उसले सहजै बन्धनमुक्त गरिदियो । मैले बल प्रयोग गर्नुनै परेनथ्यो ।

“बुहारी ! यतै कतै नजिकै चट्याङ पर्‍यो क्यार ।”

“........” नबोलिकन लालटिनको मधुरो प्रकाशमा उसको अनुहारमा आउँदै–जाँदै गरेको भावलाई मात्र म पढ्ने प्रयास गर्दै थिएँ ।

“बुहारी ! तिमी नरिसाऊ ल..., आज मैले पहिलाकोभन्दा अलि बढी पिएको छु ।” – उसको दुःखी स्वर वातावरणमा छरिएको थियो ।

“.........” म केवल टुलुटुलु ऊ र उसको क्रियाकलापलाई प्यासेजको एक छेउमा उभिएर हेरिरहेकी थिएँ । मेरा हात–खुट्टाहरू लगभग काँप्ने स्थितिमा पुगिसकेका थिए । उसले फर्केर ढोकामा आग्लो लगायो । ऊ लालटिन बोकेर आफ्नो कोठातिर बढ्दै मलाई सोध्दै थियो – “बुहारी ! तिमीले खाना खायौ ? मलाई तिम्रो असाध्यै माया लाग्छ । मैले सुनेको एउटा कुरा तिमीसँग भन्ने विचार गरेको थिएँ तर भैगो..., तिमी रिसायौ क्यार ।”

ऊ मेरो प्रतिउत्तरको प्रतीक्षा नगरी लालटिन बोकेर आफ्नो कोठाको ढोकानजिक पुगेको थियो । म प्यासेजमा ठिङ्ग उभिएर ट्वाल्ट्वालती हेरिरहेकी थिएँ । लालटिन प्यासेजको भुइँमा राखेर आफ्नो कोठाको ढोका खोली ऊ भित्र पसेर कोठाको ढोका ढ्याम्म ढप्क्यायो ।

भुइँमा राखेको लालटिन बोकेर म आफ्नो कोठाभित्र पसेकी थिएँ । ढोकामा आग्लो लगाउन बिर्सेकी थिइनँ ।

“ऊ अहिले कोठामा के गर्दै होला ?” – म आफूले आफैँसँग मनमनै कुरा गरिरहेकी थिएँ । “कस्तो अचम्मको मान्छे...! म तिमीलाई असाध्यै माया गर्छु भनेर सरम बेगर नै कसरी भन्न सकेको ! ऊ मसँग के भन्न चाहन्थ्यो ? के उसलाई ज्ञान छैन म उसकी बुहारी हुँ भन्ने ?” नाता भुल्ने गरी मान्छे वासनाले अन्धो हुन्छ, मेरो मनले मलाई धिक्कार्न थाल्यो ।

“अस्मिता, ऊ तैले कल्पना गरेजस्तो मान्छे नहुन पनि सक्छ । अरूका कुराले ऊप्रतिको विकृत भावना दोब्बर भएको हुन सक्छ ।” उसको अनुहारमा देखिएको पीडा, आँखामा टिलपिलाइरहेको आँसुलाई तैँले चिन्न र बुझ्न पो सकिरहेकी छैनस् कि ! “दुईटी आइमाईलाई भोगेको मान्छे, तेस्री आइमाईको खोजीमा हुँदैन ?” मनले पुनः मसँग प्रश्न गर्दै थियो । प्रश्नको उत्तर निकाल्न असमर्थ थिएँ । किनकिन मनको एउटा कुनामा अझै शङ्का नै उब्जिरहेको थियो ।

मलाई पिसाबले च्याप्न थालेको थियो । ढोका खोलेर बाहिरिन डर लागिरहेको थियो । अति भएपछि के गर्नु र... । सतर्कताका साथ ढोका खोलेर बिरालोको चालमा शौचालयतिर बढिरहेकी थिएँ । हावाहुरी र मेघगर्जन बन्द भइसकेको थियो । उसको कोठाको ढोकानेर पुगेर म अडिएकी थिएँ, चियो गर्न मन लागेर । ढोकाको पल्लामा काठे किराले खाएका प्वालहरू थिए । मैले आफ्नो उत्सुकतालाई दबाउन नसकेर ती प्वालबाट भित्रको दृश्य हेर्न थालेकी थिएँ । ऊ ढोकातिर अनुहार फर्काएर खाटमाथि बसिरहेको थियो । उसका आँखाबाट आँसु बगेर गालासम्म आइरहेको थियो । उसको मुहार एक प्रकारको दयनीय, निन्याउरो देखिन्थ्यो । एक हातमा रहेको तौलियाले आँसु पुछ्ने काम गर्दै चुरोटको कस छिटोछिटो लिइरहेको थियो । उसको दयनीय अवस्थालाई देखेपछि लागेको पिसाब आफैँ हराएर गयो । पिसाब हराएकोले कोठातिर फर्केकी थिएँ । सतर्कताका साथ ढोका बन्द गरेर आफ्नो ओछ्यानमा पल्टेकी थिएँ ।

निदाउने प्रयास मेरो विफल भइरहेको थियो । मान्छे यस्तै अनेकौँ सोच्दासोच्दै विक्षिप्त हुँदो रहेछझैँ मलाई लागिरहेको थियो । “कतै म....!” योभन्दा अगाडि म सोच्न सकिरहेकी थिइनँ । मेरो मस्तिष्कले मलाई साथ दिइरहेको थिएन ।

०००

बिहान निकै समय बितेपछि आँखाहरू उघ्रेका थिए । बाहिर घाम लागिसकेको थियो । ऊ उठेको थिएन । सधैँ त बिहानै उठ्ने बानी थियो उसको । चिया पकाइसक्दा पनि ऊ उठेको थिएन । घरको अन्य काममा व्यस्त भएकी थिएँ । घडीमा बिहानको दस बज्न लागिसकेको थियो । उसलाई बोलाउन मन लागिरहेको थिएन । नन्द पनि काकाको घरबाट आइपुगेकी थिइनन् । बुहारीको कर्तव्यबोधले उसलाई उठाउनका लागि घोक्रेठ्याक लगाइरहेको थियो । आखिर एउटै घरमा बसेपछि एकअर्काको हेरविचार नगर्ने कुरा मानवीय कार्यभित्र पर्दैन भन्ने ममा ज्ञान थियो । मलाई आफ्नो कर्तव्यले पुनः घच्घच्याएको थियो । आफ्नो कर्तव्यपालन गर्ने उद्देश्यका साथ म उसको कोठातिर लागेकी थिएँ ।

बेलुकीजस्तै ढोकाको प्वालबाट हेर्दा ऊ खाटमा उत्तानो परेर सुतिरहेको थियो । जागा थियो या निद्रामा, अनुमान गर्न सकिरहेकी थिइनँ । ढोका ढक्ढक्याएकी थिएँ ।

“बुहारी ! ढोका खुल्लै छ..., भित्रै आऊ ।”

ढोका ठेलेर कोठामा प्रवेश गरेकी थिएँ । नजिकैको मुडामा बस्ने सङ्केत गरिरहेको थियो, शिरदेखि खुट्टासम्म निहाल्दै । उसको हेराइमा कुनै प्रकारको वासना थिएन । करुणा, माया र स्नेह झल्केझैँ लाग्दथ्यो । उसप्रति मभित्र रहेको अनास्था, अनादरको भावका मात्रा उसका हरेक वाक्यले घटाउँदै गइरहेको थियो ।

“बुहारी ! म आजकल तिमीलाई धेरै फरक देखिरहेको छु पहिलाभन्दा । मलाई थाहा छ, यो तिम्रो लगाउने र घुम्ने उमेर हो । अस्ति नै आउँदा योगेशलाई तिमीलाई पनि लिएर जा भनेको थिएँ..., उसले आलटाल गरेको थियो । सायद घरायसी समस्यालाई बुझेर होला..... । अब त मायाले पनि दुई छाक भात पकाएर स्कुल जान भ्याउँथी होला.....।”

“......” उसको मुखबाट निस्केका हरेक शब्दहरूले म आश्चर्यचकित हुँदै थिएँ । सायद आफ्नो अनुमान गलत साबित हुँदै गएको देखेर त्यस्तो लागिरहेको थियो होला । कल्पनाविपरीतको यथार्थसँग साक्षात्कार हुँदा मान्छे कहिले आत्तिँदो रहेछ भने कहिले आनन्दित हुँदोरहेछ । त्यसबेला मेरो मनको समुद्रमा हर्ष, आनन्द, खुसीका लहरहरू तैरिरहेका थिए । सिलिङतिर हेरेकै ऊ आफ्नो कुरो अगाडि बढाइरहेको थियो ।

“मैले हिजो अलि बढी पिएको देखेर तिमी मसँग रिसायौ होली ? मानिसहरू मेरो बारेमा चाहिँदा–नचाहिँदा कुरा गर्दा रहेछन् । हिजो साथीले भन्दा पो म छक्क परेँ... । एकपाखे भएर बाँच्ने मेरो रहर होइन, ईश्वरको मर्जीको अगाडि मेरो के लाग्छ र ?” – उसको थकित र लाचार स्वर कोठामा छरिएको थियो ।

मेरो मनमा बसिरहेको ऊप्रतिको अनादर सबै रित्तिइसकेको थियो । पवित्र मन भएको ससुरालाई मनमनै आफूले “ऊ” भन्ने शब्द प्रयोग गरेकोमा पछुतो लाग्दै थियो । मभित्र उहाँप्रति आदर, सत्कार र सम्मानको भेल चल्न थाल्यो । आलस्य शरीर फूलको थुँगाजस्तो भएझैँ लाग्दै थियो ।

“बुहारी ! मेरो टाउको असाध्यै दुख्दै छ, के ज्वरो आएको छ ? छाम त ।” दायाँ हत्केलाले आफ्नो निधार छाम्दै उहाँ बर्बराइरहनुभएको थियो ।

मुडाबाट उठेर नबोलिकनै मैले उहाँको निधार र नाडी छामेकी थिएँ । उहाँलाई निकै ज्वरो चढेको थियो ।

“बुहारी ! तिमी र मेरी छोरीमा के फरक छ । मैले योगेशलाई कहिल्यै अर्को बाबुपट्टिको छोरा ठानेको छुइनँ र ठान्ने पनि छुइनँ ।” उहाँको पीडादायी स्वरले म मैनजस्तै पग्लिरहेकी थिएँ ।

“बुबा, दुनियाँको कुरा किन सुन्ने ? अकबरी सुनलाई कसीको आवश्यकता पर्दैन, किनकि तेजाबमा डुबाउँदा पनि उसको वास्तविक स्वरूपमा परिवर्तन आउँदैन ।” मैले श्रद्धापूर्वक भनेकी थिएँ उहाँको अनुहारतिर हेर्दै, कुनै कुराको वास्तै नगरी ।

उहाँ मेरो पाखुरालाई मायालु ढङ्गले सुम्सुम्याइरहनुभएको थियो । मैले उहाँको स्पर्शबाट एक प्रकारको आमाको माया–ममताजस्तै आडभरोसा पाइरहेकी थिएँ । सहयोग र भरोसा प्राप्तिबाट म एक प्रकारको सुखानुभूति गरिरहेकी थिएँ । कताकता उहाँको स्पर्शले आमाको स्मरण गराइरहेको थियो । मेरो अनुहारमा खुसीका रेखाहरू सल्बलाइरहेका थिए ।

“बुबा ! तपाईँ आराम गरिरहनुहोस् है ! म ग्लुकोज बनाएर ल्याउँछु ।” – भन्दै म सिधा उभिएकी थिएँ ।

“भइगो, बुहारी ! अब मलाई आफैँ निको हुन्छ ।” उहाँले मेरो पाखुराबाट आफ्नो हात हटाउँदै भन्नुभएको थियो ।

“मैले भनेको मान्नुभएन भने, बुबा, म फेरि तपाईँसँग रिसाउँछु नि !” – आफ्नो चञ्चलतालाई दबाउन नसकेर म हाँस्दै यति भनेर कोठाबाट बाहिरिएकी थिएँ उहाँप्रति आदर, सम्मान र सत्कारको भाव बोकेर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।