19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कुहिरोभित्रको आलाप

कथा विमल लामिछाने June 22, 2026, 11:56 pm
विमल लामिछाने
विमल लामिछाने

त्यो गाउँको नाम देशको कुनै पनि आधिकारिक नक्सामा अंकित थिएन, तर रैथानेहरू त्यसलाई ‘कुहिरोको खोच’ भन्थे । हिउँदमा बाक्लो हुस्सुले छोपेर संसारबाटै अलग गराउने र असारमा बादलका काला थुप्राहरू पहाडका कन्दरामा ठोक्किने एउटा रहस्यमयी खोच, जहाँ बग्ने खोलाको पानी जति कञ्चन थियो, त्यहाँका मानिसहरूको भविष्य उति नै धमिलो देखिन्थ्यो ।

वि.सं. २०५२ सालको सुदूर फागुनपछि त त्यो खोचमा केवल रैथाने हावाको सुसेली मात्र फेरिएन, पुराना लोक कथाहरू ब्युँझिए र मानिसका मनहरू सदाका लागि संशयको चिसो ओतमुनि ओइलाए । बाल्यकालमा सोनामका लागि गाउँ केवल एउटा पहाड, खोल्सो र मकैबारीको सिमाना मात्र थिएन; त्यो त अनौठा लोककथा र अदृश्य शक्तिहरूको जिउँदो रङ्गमञ्च जस्तो लाग्थ्यो । साँझ परेर गोधूलि ओर्लिँदै गर्दा हजुरआमाले सधैँ कोइलाको मधुरो रापछेउ राखेर भन्नुहुन्थ्यो, ‘चिस्यानको रातमा चिहानडाँडातिर झुक्केर पनि आँखा नसोझ्याउनू सोनाम, त्यहाँ राँके, मसाने र सेउरे भूतहरू हातमा आगोका लामा–लामा लप्का लिएर नाच्छन् । जसले ती रातका चम्चमाउने छायाहरूसँग आँखा जुधाउँछ, उसको आत्मा त्यही घारीभित्र हराउँछ ।’

एक साँझ, असारको झमझम झरी परिरहेको बेला आमाले सोनामलाई निद्राले भारी भएका आँखाहरू मिच्दै ओछ्यानबाट जुरुक्क उठाउनु भयो र खोल्सापारिको थुम्को देखाउनुभयो । अँध्यारो पहाडको छातीमा आगोको एउटा चटकीले नचाउने ‘करविरे मसान’ जस्तो आकृति सल्किरहेको देखिन्थ्यो, जसको दायाँबायाँ साना–साना झिल्काहरू नाचिरहेका थिए । तर अचम्म, त्यो आगोका लप्काहरूसँगै केही अपरिचित र अजैब नाराहरू पहाडी हावामा पौडिँदै आइरहेका थिए, जुन कुनै पनि पुराना भूतका कथाहरूसँग मिल्दैनथे ।

बुबा तेन्जिङले अँध्यारो बार्दलीमा उभिएर एउटा लामो सुस्केरा हाल्दै भन्नुभएको त्यो वाक्य सोनामको मानसपटलमा सधैँका लागि गाडियो– ‘त्यो कुनै मसान होइन, त्यो त गाउँ पसेको एउटा नयाँ विद्रोहको रक्ताम्मे आँधी हो, जसले पुरानो राज्यसत्तालाई ढलाउन खोजिरहेछ । जब जिउँदा मान्छेहरू नै भूत बनेर रातको सन्नाटामा हिँड्न थाल्छन्, तब पुराना रैथाने भूतहरू आफैँ डराएर बसाइँ सर्दा रहेछन् ।’ केही महिनामै त्यो रहस्यमयी आगोको ताँतीसँगै बन्दुकका भीषण गर्जनहरू सुनिन थाले, जसले रातको नीरवतालाई काँचझैँ टुक्रा–टुक्रा पारिदिन्थ्यो र मान्छेहरू बिहानको घाम झुल्किँदासम्म आफ्नै छाया देख्दा पनि तर्सने भइसकेका थिए ।

सोनामले बिस्तारै राजनीतिको त्यो जटिल चक्र बुझ्दै गर्दा सिङ्गो गाउँ दुईवटा अदृश्य र समानान्तर सत्ताको कसिलो चक्रव्यूहमा फस्यो । दिउँसोको उज्यालोमा गाउँमा राज्यका सिपाहीहरू बुटका भारी र भयभीत आवाज निकाल्दै आउँथे, उनीहरूका आँखामा गाउँलेका प्रति अविश्वास हुन्थ्यो र हातमा कडा हतियारसहितको त्रासदी । घर–घर खानतलासी गर्नु र विद्रोहीहरू कहाँ लुकेका छन् भन्दै बुबाआमालाई केरकार गर्नु उनीहरूको नियमित दिनचर्या बनिसकेको थियो । तर, जब सूर्य पहाडको ओत लाग्थ्यो र कुहिरोले सिङ्गो गाउँलाई आफ्नो साम्राज्यभित्र लुकाउँथ्यो, तब अर्को सत्ता ब्युँझन्थ्यो ।

अनुहारमा कालो कपडा बाँधेका, काँधमा भरुवा र थ्री–नट–थ्री बन्दुक भिरेका मानिसहरू सन्नाटा चिर्दै ढोका ढक्ढक्याउन आइपुग्थे । उनीहरू समानता, मुक्ति र नयाँ बिहानीका कुरा गर्थे, तर उनीहरूको बोलीको पछाडि बन्दुकको चिसो नाल भिरेका जवान मुक्तीसेनाको बटालियन तैनाथ हुन्थ्यो । एक रात, सोनाम र उसकी बालसखी माया एउटा पुरानो गोठको कुनामा परालको ओछ्यानमा सुतिरहेका थिए । अचानक दुईजना बन्दुकधारी भित्र छिरेर कडा तर अनौठो रूपमा चिनिएको स्वरमा बोले– ‘हामी जनमुक्ति सेना हौँ, तल चौतारामा क्रान्तिकारी सांस्कृतिक साँझ छ, हेर्न हिँड्नुस् । डरले काँप्दै सोनाम र माया उनीहरूको पछि–पछि ओरालो झरे, जहाँ जूनको मधुरो उज्यालोमा गाउँलेहरू लाचार भई एउटै ताँतीमा बाँधिएर हिँडिरहेका थिए । त्यो रात चौतारामा लालझण्डाको छहारीमा गीतहरू त गाइए, तर भोलिपल्ट बिहान मात्र सोनामले बुबाको कानाखुसीबाट थाहा पायो, त्यो रात बन्दुक बोकेर गाउँलेलाई डाक्ने अरू कोही नभएर उनीहरूकै आफ्नै मामाका छोराहरू आलोक र प्रभात थिए । क्रान्तिको त्यो बाक्लो तुँवालोले रगतको गाढा साइनोलाई पनि बन्दुकको नौलो रङमा निलेको थियो ।

वि.सं. २०५६ साल असार ८ गतेको त्यो बिहानी प्रकृतिले पनि आफ्नो भित्री रोदन लुकाउन खोजेझैँ ओसिलो र शान्त थियो । पहाडी खोचमा मकैका पातहरू हरिया र रसिला देखिनथे, जसमा असारको झरीका थोपाहरू मोतीझैँ टल्किरहेका थिए । सोनाम पानी भर्नका लागि खोल्साको कुवातिर जाँदै गर्दा गाउँको एउटा पुरानो, पानी नआउने धारोको भित्तामा एकजना नौलो र अपरिचित तन्नेरी बसिरहेको देख्यो । उसको काखमा एउटा फलामको सानो र चिसो डल्लो थियो, जसलाई ऊ निकै स्नेहपूर्वक कपडाको टुक्राले सफा गरिरहेको थियो । सोनामले कौतूहलवश उसलाई हेर्यो, तर त्यो तन्नेरीले ओठमा एउटा फिक्का, उदास मुस्कान ल्याएर आँखा चिम्लियो । सोनामलाई के थाहा, त्यो फलामको डल्लो एउटा भयानक ग्रिनेड थियो र त्यो तन्नेरी विद्रोही टोलीको सुरक्षा पहरेदार थियो, जो आफ्नो अन्तिम समयको प्रतीक्षा गरिरहेझैँ शान्त देखिन्थ्यो । त्यसको ठीक दुई घण्टापछि, गाउँको भूगोल र इतिहास सधैँका लागि बदलियो ।

सोनाम र उसका आमाबुबा डाँडाको पाखोमा मकै गोडिरहेका थिए, जहाँ असारको छिप्पिएको घाम र पसिनाको गन्धबिच अचानक आकाश नै च्यातिने गरी ‘ड्याम्म–ड्याम्म’ को आवाज गुञ्जियो । गाउँका सम्मानित शिक्षक सूर्य सरको ठूलो घरलाई राज्यका सयौँ हतियारधारी सिपाहीहरूले चारैतिरबाट घेरा हालिसकेका थिए, जहाँ भित्र विद्रोहीहरूको एउटा थकित सांस्कृतिक टोली सेल्टर लिएर बसेको थियो ।

केही बेरमै आकाशको छाती चिर्दै एउटा विशाल सैनिक हेलिकोप्टर मडारिन थाल्यो, जसको भयावह आवाज र भुइँमा सिपाहीहरूको दौडधुपले सिंगो गाउँलाई क्षणभरमै एउटा खुला युद्धमैदानमा परिणत गरिदियो ।

सोनाम र डाँडामा रहेका गाउँलेहरू असहाय दर्शक बनेर आफ्नै आँखा अगाडि आफ्नो गाउँ दनदनी बलिरहेको र रगतमा डुबेको हेरिरहन विवश भए । आक्रमण लगातार आठ घण्टासम्म चलिरह्यो, बन्दुकको आवाज र बमको विष्फोटले पहाडका कन्दराहरू थर्किए र चराहरूले चिरबिर गर्न समेत बिर्सिए । साँझपख जब बारुदको नीलो धुवाँ अलिकति मत्थर भयो, सिपाहीहरूले सूर्य सरको घरबाट केही युवायुवतीहरूलाई लामबद्ध गरेर बाहिर निकाले । ‘हामी कलाकार हौँ, हामी आत्मसमर्पण गर्छौँ ।’ भन्ने कारुणिक चिच्याहट हावामा तैरियो, तर प्रत्युत्तरमा केवल राइफलहरूको निर्मम ठ्याङ–ठ्याङ सुनियो र एकपछि अर्को गर्दै ११ जना कलिला जनकलाकारहरू करेसाको बारीका डिलमा ढले ।

कसैको हातमा मादल थियो, कसैको हातमा मुरली र कसैको आँखामा अधुरा सपना । सिपाहीहरूले ती शवहरूलाई एउटै ढिकमुनि घिसार्दै थुपारे र घरकै सल्लाका दाउराहरू बालेर आगो लगाइदिए । गाउँको हावामा डढेको मान्छेको मासु र बारुदको यस्तो गन्ध फैलियो, जसले गाउँलेहरूको भोक, निन्द्रा र बाँच्ने चाहना समेत खोसिदियो । भोलिपल्ट, बन्दुकको धम्कीबिच सिपाहीहरूले गाउँका पुरुषहरूलाई जम्मा पारेर एउटा ठूलो र गहिरो सामूहिक खाल्डो खन्न लगाए, जहाँ सोनामका बुबाले पनि आफ्नै हातले ती ११ जना निर्दोष सपनाहरूलाई माटोमुनि पुर्नुपर्यो ।

त्यस कारुणीक घटनाको झन्डै २७ वर्ष बितिसकेछ, समयको नदीले धेरै पानी बगायो र देशको राजनीतिक क्षितिज बदलियो, तर कुहिरोको खोचमा अझै पनि त्यो अतितको प्रतिध्वनि मेटिएको छैन । त्यहाँ अहिले एउटा भव्य र सेतो शहीद स्मारक खडा गरिएको छ, जहाँ ती ११ जना कलाकारहरूको नाम सुनौला अक्षरले कुँदिएको छ । तर सोनाम, जो अहिले बैँस ढल्केको प्रौढ भइसकेको छ, हरेक वर्ष असारको महिना आउँदा र आकाशमा बादल मडारिँदा आफ्नो कान थुन्ने गर्छ ।

जब त्यो बाटो भएर ऊ हिँड्छ, उसलाई लाग्छ माटोमुनि पुरिएका मादल, मुर्चुङ्गा र मुरलीहरू अझै पनि एउटा मधुरो, आलापजस्तो धून बजाइरहेका छन् र खोलाको सुसेलीमा उनीहरूकै अधूरा गीतहरू बगिरहेका छन् ।

देशले व्यवस्था त फेर्यो, तर कलिलै उमेरमा माटोमुनि पुरिएका ती सपनाहरूको वास्तविक मूल्य यो देशले कहिल्यै चुकाउन सकेन, र त्यो कुहिरोभित्रको आलाप आज पनि उस्तै अजैब र कारुणिक सुनिन्छ । बाङमाको त्यो रातो करेसो र माडी खोलाको चिसो बगर अझै पनि साक्षी छन् कि, क्रान्तिका नाममा निभाइएका ती ११ वटा जीवनका दियोहरू केवल इतिहासका सुक्खा अक्षर मात्र थिएनन्, ती त सिंगो पहाडले देखेका उज्याला सपना थिए । आज सिंहदरबारका सुसज्जित गल्लीहरूमा लालझण्डाहरू हावामा फरफराउँदा र नयाँ शासकहरू सत्ताको सुगन्धमा मदहोश हुँदा, सायद उनीहरूले बिर्सिसके, त्यो कुर्सीको जग रोल्पाको त्यही सामूहिक खाल्डोमा पुरिएका मुरली र मादलका टुक्राहरूले बनेको हो ।

समय त निर्दयी खोला जस्तै बहिरहन्छ, जसले रगतका गाढा टाटा त बिस्तारै पखाल्ला, तर ती कलिला कलाकारहरूको अधुरो आलापलाई कुहिरोको यो खोचबाट कहिल्यै देश निकाला गर्न सक्ने छैन । जबसम्म असारका काला बादलहरू पहाडका छातीमा ठोक्किरहनेछन्, तबसम्म यो रहस्यमयी खोंचले बालुवाटार र सिंहदरबारलाई एउटै मौन प्रश्न सोधिरहनेछ– ‘मुक्तिको त्यो भयानक गीतमा आफ्नै सन्तानको रगत मिसाएर बनेको यो नयाँ संसार आखिर कसका लागि थियो’ ?

(२०५६ असार ८ गते, रोल्पाको माडी–५ बाङमामा तत्कालीन प्रहरी प्रशासनबाट ११ जना कलिला जनकलाकारहरूको सामूहिक हत्या गरिएको कारुणिक र क्रूर ऐतिहासिक घटनाका आधारमा सिर्जित ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।