बिहानी उज्यालो थिएन। सूर्य क्षितिजमा उदाएको थियो, तर उसको किरण धुवाँको बाक्लो पर्दाभित्र हराइरहेको थियो। आकाशले आफ्नो नीलोपन गुमाइसकेको थियो। बारुदको कालो धुलोले त्यसलाई खरानीको रङमा रङ्गाइदिएको थियो। हावाले जलेका घरहरूको गन्ध बोकेर बस्तीभरि भौतारिइरहेको थियो। सधैं बालबालिकाको हाँसोले गुञ्जिने गल्लीहरू आज मौन थिए। भित्ताहरूमा गोलीका प्वाल थिए। सडकहरूमा भग्न सपनाका इँटा छरिएका थिए। यही उजाड संसारमा एउटा बालक बस्थ्यो। उसको नाम थियो रायान अल नूर। उसको कथा हजारौँ वास्तविक सिरियाली बालबालिकाको सामूहिक पीडाको प्रतिनिधित्व थियो।
रायान बाह्र वर्षको थियो। तर उसका आँखामा सयौँ वर्षको इतिहास जमेको जस्तो देखिन्थ्यो। उसको अनुहारमा बाल्यकालको चञ्चलता थिएन। त्यहाँ अकालमै बुढ्यौलीको छायाँ थियो। युद्धले उसको उमेर चोरेको थियो। ऊ जन्मिएको केही वर्षमै सिरियाको भूमिमा बन्दुकको आवाज सामान्य बनेको थियो। उसको पहिलो सम्झना आमाको लोरी थिएन। उसको पहिलो सम्झना विस्फोटको गर्जन थियो। उसले पहिलो पटक देखेको आतिशबाजी कुनै उत्सवको थिएन। त्यो त घरमाथि खसेको बमको आगो थियो।
कुनै समय उसको घर सानो थियो। माटोको थियो। तर त्यहाँ प्रेमको उज्यालो थियो। बिहान आमाले तातो रोटी पकाउँथिन्। बुबाले खेतको कुरा गर्थे। सानी बहिनीले घरभरि गीत गाउँथी। गरिबी थियो। तर अभाव थिएन। किनकि प्रेम धनी थियो। घरको भित्तामा झुन्डिएको पुरानो घडीले समय मात्र होइन, परिवारको आत्मीयता पनि गनिरहेको थियो। साँझ उनीहरू एउटै थालमा खाना खान्थे। उनीहरूका सपना साना थिए। तर ती सपनामा युद्ध थिएन।
एक रात सबै कुरा परिवर्तन भयो। आकाश अचानक गर्जियो। युद्धले कुनै सूचना दिएन। उसले कुनै ढोका ढकढकाएन। एउटा भीषण विस्फोटले रात चिरेर आयो। धरती काँपिन्। घरका भित्ताहरू ढले। धुलोले सबै कुरा ढाकिदियो। रायान होस गुमाएर उठ्दा उसको संसार भग्नावशेषमा बदलिइसकेको थियो। ऊ आमालाई खोज्दै चिच्यायो। बुबालाई पुकार्दै दौडियो। बहिनीको नाम करायो। तर उत्तर कतैबाट आएन। मौनता मात्र आयो। माटोमुनि पुरिएका प्रियजनहरूले अब कुनै आवाज दिन सक्दैनथे। त्यस दिन युद्धले एउटा घर भत्काएको थिएन। एउटा बालकको सम्पूर्ण ब्रह्माण्ड भत्काएको थियो।
त्यसपछि रायान अनाथ बन्यो। स्मृतिले उसलाई अनाथ बनायो। उसले आफ्नै आँखाले आफ्नै जीवन पुरिएको देखेको थियो। त्यसपछि उसलाई एउटा शरणार्थी शिविरमा पुर्याइयो। त्यहाँ सयौँ पाल थिए। हजारौँ अनुहार थिए। प्रत्येक अनुहारमा फरक कथा थियो। तर सबैका आँखामा एउटै पीडा थियो। पानीका लागि लामो लाइन थियो। औषधिका लागि प्रतीक्षा थियो। रोटीका लागि संघर्ष थियो। भोकले धर्म सोध्दैनथ्यो। चिसोले राष्ट्रियता बुझ्दैनथ्यो। पीडाले कुनै भाषा बोल्दैनथ्यो। त्यहाँ सबै मानिसहरू केवल बाँच्न खोजिरहेका थिए।
शिविरमा एउटा वृद्ध शिक्षक थिए। उनको नाम सामिर थियो। विद्यालय भत्किएको थियो। तर शिक्षाप्रतिको उनको विश्वास अझै भत्किएको थिएन। उनी बालुवामाथि अक्षर लेखाउँथे। ढुङ्गालाई चक बनाउँथे। आकाशलाई छाना बनाउँथे। उनी बालबालिकालाई भन्थे, "पुस्तकहरू बाँचुन्जेल सभ्यता मर्दैन।" रायानले पहिलो पटक आफ्नो नाम लेख्यो। त्यो अक्षर सुन्दर थिएन। तर त्यो अक्षर आशाको पहिलो बीउ थियो। शिक्षकको आँखामा चमक आयो। युद्धले धेरै कुरा जितेको थियो। तर एउटा अक्षर लेख्ने साहस उसले अझै हराउन सकेको थिएन।
रातहरू रायानका लागि सबैभन्दा कठिन हुन्थे। ऊ निदाउन खोज्थ्यो। तर निद्रा ऊसँग रिसाएकी थिई। हल्का आवाज पनि बमजस्तै लाग्थ्यो। चर्को उज्यालो देख्नेबित्तिकै उसको शरीर काँप्थ्यो। सपना र यथार्थको दूरी मेटिइसकेको थियो। उसको मन एउटा भग्न भवन थियो। जहाँ हरेक दिन स्मृतिका इँटा खसिरहेका थिए। मानिसका शरीरका घाउ देखिन्छन्। तर मनका घाउ अदृश्य हुन्छन्। ती घाउहरू समयले होइन, करुणाले मात्र निको पार्न सक्छ।
एक दिन एउटा मनोवैज्ञानिक राहत टोलीसँग शिविरमा आइन्। उनले सबै बालबालिकालाई चित्र बनाउन भनिन्। कसैले हरियो बगैँचा कोर्यो। कसैले नदी। कसैले चरा। रायानले एउटा घर कोर्यो। तर घरमाथि आगो थियो। आकाश कालो थियो। एउटा कुनामा एउटा सानो चरा उड्न खोजिरहेको थियो। चित्र हेरेर ती महिला लामो समय मौन रहिन्। उनले बुझिन् युद्धले बालकको कल्पनालाई पनि बन्दी बनाइसकेको थियो। त्यो चित्र कला थिएन। त्यो एउटा राष्ट्रको मौन चित्कार थियो।
महिनौँपछि खबर आयो कि केही गाउँहरूमा युद्ध कम भएको छ। कतिपय परिवार फर्किन थाले। रायान पनि आफ्नै गाउँ फर्कियो। उसले बाटोभरि हरियाली खोज्यो। बाल्यकाल खोज्यो। तर उसले भेट्यो भत्किएका घरहरू। चर्किएका सडकहरू। खरानीले ढाकिएको मस्जिद। उसको विद्यालय अझै उभिएको थियो। तर त्यसका भित्तामा गोलीका दाग थिए। कक्षाकोठामा बेञ्च थिएन। झ्यालका सिसा फुटेका थिए। कालोपाटी चर्किएको थियो। तर एउटा झ्यालबाट सूर्यको किरण भित्र पसिरहेको थियो। त्यो किरण मानौँ भन्न खोजिरहेको थियो अन्धकार स्थायी हुँदैन।
भत्किएको कक्षाको एउटा कुनामा रायानले एउटा पुरानो पुस्तक भेट्टायो। धुलोले ढाकिएको थियो। केही पाना च्यातिएका थिए। उसले त्यो पुस्तकलाई छातीमा अँगालो हाल्यो। त्यो पुस्तक केवल कागज थिएन। त्यो उसको हराएको बाल्यकालको अन्तिम अवशेष थियो। ज्ञानको एउटा सानो दीप थियो। युद्धले भवन भत्काउन सक्छ। तर विचारलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्दैन भन्ने अनुभूति उसले त्यही क्षण गर्यो।
देशमा नयाँ अन्तरिम शासन स्थापना भएको थियो। सडक मर्मत हुन थाले। केही अस्पताल खुले। बजारमा फेरि मानिसहरू देखिन थाले। तेल र ग्यासका संरचनाहरू सञ्चालनमा आउन थाले। मुद्राको मूल्य केही स्थिर देखिन थाल्यो। तर अर्थतन्त्रको सामान्यीकरणले मात्र समाज निको हुँदैन। मानिसको मनमा बस्ने डर कुनै आर्थिक सूचकाङ्कले मापन गर्न सकिँदैन। विश्वास पुनर्निर्माण गर्न भवनभन्दा धेरै समय लाग्छ। एउटा राष्ट्रको आत्मा सिमेन्ट र इँटाले होइन, न्याय, करुणा र स्मृतिको सम्मानले निर्माण हुन्छ।
युद्ध औपचारिक रूपमा कम भएको भनिए पनि पूर्ण शान्ति अझै आएको थिएन। कतै जातीय तनाव थियो। कतै सशस्त्र झडप। कतै नयाँ विस्थापन। कतै पुराना घाउ फेरि बल्झिरहेका थिए। शान्ति केवल युद्धको अनुपस्थिति होइन। शान्ति त मनमा डर मर्ने अवस्था हो। सिरियाले अझै त्यो क्षण प्राप्त गर्न सकेको थिएन।
एक साँझ रायान भग्न घरको एउटा ढुङ्गामाथि बसेर अस्ताउँदै गरेको सूर्य हेरिरहेको थियो। उसको मनमा आमाको मुस्कान आयो। बुबाको हात सम्झियो। बहिनीको गीत सम्झियो। ती सबै अहिले स्मृतिका नागरिक बनिसकेका थिए। उसले आँसु पुछेन। किनकि कहिलेकाहीँ आँसु नै सत्यको अन्तिम भाषा हुन्छ। मौनता नै सबैभन्दा गहिरो साहित्य हुन्छ।
त्यस दिनदेखि उसले एउटा डायरी लेख्न थाल्यो। उसले लेख्यो "यदि कुनै दिन कसैले मलाई मेरो बाल्यकाल कहाँ बित्यो भनेर सोध्यो भने म भन्नेछु बारुदको छायाँमा। यदि कसैले मेरो विद्यालय कहाँ थियो भनेर सोध्यो भने म भन्नेछु धुलोभित्र। यदि कसैले मेरो खेलौना के थियो भनेर सोध्यो भने म भन्नेछु भत्किएको इँटा। तर यदि कसैले म किन अझै बाँचेको छु भनेर सोध्यो भने म उत्तर दिनेछु किनकि आशा अझै मरेकी छैन।"
समय बिस्तारै अघि बढ्यो। रायान किशोर बन्यो। उसले शिविरका साना बालबालिकालाई पढाउन सुरु गर्यो। उसले उनीहरूलाई वर्णमाला मात्र सिकाएन। उसले उनीहरूलाई डरभन्दा ठूलो सपना देख्न सिकायो। उसले उनीहरूलाई भन्यो, "हामी युद्धका सन्तान होइनौँ। हामी भविष्यका निर्माता हौँ।" ती शब्दहरू कुनै भाषण थिएनन्। ती एक घाइते आत्माको प्रतिज्ञा थिए।
एक दिन एउटा विदेशी पत्रकारले रायानलाई सोध्यो, "तिमीलाई अहिले सबैभन्दा धेरै के चाहिएको छ?" रायान केही क्षण मौन रह्यो। त्यसपछि उसले शान्त स्वरमा भन्यो, "हामीलाई यस्तो संसार चाहिन्छ, जहाँ बालबालिकाले बमको आवाज होइन, विद्यालयको घण्टी सुन्न पाऊन्।" पत्रकारले आफ्नो कलम रोके। किनकि त्यो उत्तर समाचारको शीर्षकभन्दा धेरै ठूलो थियो। त्यो सम्पूर्ण मानव सभ्यतामाथि उठेको नैतिक प्रश्न थियो।
रात फेरि आयो। धेरै वर्षपछि आकाशमा तारा स्पष्ट देखिए। रायानले तिनलाई गन्न खोज्यो। उसलाई लाग्यो,सायद आकाशले पनि घाउ निको पार्न थालेको छ। उसले हात फैलायो। हावाले उसको अनुहार छोयो। त्यो हावा अझै पूर्ण शान्त थिएन। तर त्यसमा जीवनको हल्का सुगन्ध मिसिन थालेको थियो। ऊ मुस्कुरायो। त्यो मुस्कान सानो थियो। तर इतिहासमा धेरै महान् परिवर्तन यस्तै साना मुस्कानबाट सुरु भएका छन्।