"सरले बोलाउनुभएको हो?"
मैले टेबलमा रहेको कर्मचारी सञ्चय कोषको परिचयपत्रतिर देखाएँ । उनी सोफामा बस्दा कुर्सीले हल्का चर्किने आवाज निकाल्यो ।
"तपाईंको जोडी त भगवान्ले फुर्सदमा बनाएझैँ रहेछ ।"
उनले मुस्कुराउन खोजे, तर ओठको कुनामात्र हल्का तन्कियो ।
"कसै-कसैको जोडी बनाउँदा भगवान्ले निकै मिहिनेत गर्नु भएछ जस्तो लाग्छ, सर ।"
मैले परिचयपत्रको फोटोतिर औँला राखेँ ।
"म त श्रीमतीको फोटोको कुरा गर्दै थिएँ ।"
उनको नजर फोटोमा पुग्यो । केही बेर त्यहीँ अडियो ।
"राम्री त थिई... त्यही भएर होला ।"
"के भयो र?"
उनले लामो सास फेरे ।
"सरुवा भएर आएको एक जना मास्टरलाई घरमै राखेको थिएँ । गाउँमा डेरा दिने चलन पनि थिएन । बिरामी छु भन्थ्यो, घर जानुपर्छ भन्थ्यो । विश्वास गरेर राखेँ । एक दिन ऊ पनि हरायो, मेरी श्रीमती पनि ।"
कोठाभित्र केही क्षण पङ्खाको घर्रघर्र आवाज मात्र सुनियो ।
"छोराछोरी?"
"दुई जना छन् । सानाले त हरेक साँझ ढोकातिर हेर्छ ।
कहिलेकाहीँ दौडँदै बाहिर निस्कन्छ र भन्छ, 'आमा आउनुभयो?'"
उनले टेबलको कुनामा औँला घुमाए ।
"छोरीले केही भन्दिन । तर भाइ निदाएपछि चुपचाप रुँदी रहिछ ।"
म मौन रहेँ ।
"बजारमा मिस्त्री काम गर्ने एक जनाले त्यो मास्टरको घर पत्ता लगाएँ। उनी त्यही गाउँका रहेछन् । उनले भनेअनुसार, उसको पहिले नै घरपरिवार रहेछ । मेरी श्रीमती त दिनभरि रुँदी रहिछे रे । न भाषा मिल्नु, न खानापान । संस्कार पनि फरक । सौताको हेपाइ अति चर्को रे । कसैले लगिदिने भए फर्किन चाहन्छु भनेकी छे रे ।"
"फर्काएर ल्याउनुहुन्छ?"
यसपटक उनले सिधै मेरो आँखामा हेरे ।
"छोराछोरीले आमा पाउँछन् भने किन नल्याउनु?"
"रिस उठ्दैन?"
"उठ्न त उठ्छ नि", उनी रोकिए । "तर राति छोराछोरीले आमाको ठाउँ खाली देखेर रुँदा त्यो रिस आफैँ ओइलाउँछ ।"
"ऊ फेरि गइन् भने?"
"त्यो त उसकै भागको कुरा भयो सर । मेरो भागमा त ढोका खुला राख्ने नै हो ।"
हामीबिच कुरा भएको दुई महिनापछि उनी मेरो कार्यालयमा आए ।
यसपटक हातमा परिचयपत्र थिएन, अनुहारमा उज्यालो थियो ।
"सर, त्यो मिस्त्रीले ल्याइदिए ।"
म केही बोलिनँ ।
उनको मुस्कानमा पत्नी भेट्टाएको पुरुषभन्दा पनि आमा फिर्ता पाएका दुई बालबालिकाको खुसी झल्किरहेको थियो ।
पोखरा, नेपाल