19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत ईश्वर पोखरेल June 28, 2026, 6:29 pm
ईश्वर पोखरेल
ईश्वर पोखरेल

बर्खामास अकासमा तारा झलमल्ल
अकासभरि तारा देख्दा इन्द्र अलमल्ल

बियाडमा बिउ सुक्यो; सुक्यो– खेतको हिलो
भैसी बाँध्न यो घाममा कता ठोकौं किलो!
घाँस हाल्यो भैसी ठान्छ— ‘घाँस हो कि पराल?’
मनमनै भन्दो होला— ‘भयो, खान्न; नहाल् ।’

रोपाइँको; खेतालाको छैन- हल्लखल्ल
अकासभरि तारा देख्दा इन्द्र अलमल्ल

ओइलाएको लहरामा कता फलोस् बोडी?
बोडी टिप्न आउने मान्छे पनि आउन छोडी
नहर सुक्यो, खोला सुक्यो, दह पनि सुक्यो
‘पानी पार्छु' भन्ने बादल कता लुक्यो; लुक्यो!

पँधेरामा पालो पनि आउँछ- बल्लबल्ल
अकासभरि तारा देख्दा इन्द्र अलमल्ल

बोझेपोखरी, ललितपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।