जून !
तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ,
तिमी बिना सरकार त चल्ला
तर संसद नि ?
तिमी बिना संसदीय समिति त चल्लान ,
तर संवैधानिक परिषद नि ?
तिमी बिना बजेट त आउला ,
तर बजेट कार्यान्वयन नि ?
तिमी बिना न्यायपालिका त चल्ला ,
तर न्यायपरिषद नि ?
तिमी बिना संसद त चल्ला ,
तर कार्य व्यवस्था समिति नि ?
त्यसैले , जून !
तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ।
मैले पटक्कै मन नपराउने ,
तर मलाई नै नभै नहुने ।
मैले मेरो ठोस काम देखाउन ,
तिमी बाहेकले हुन्न ।
चाहे संसद नियमावली होस ,
कि चाहे संसदीय पात्रो ।
त्यसैले , जून !
तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ।
तिमी प्रमुख प्रतिपक्षी दलको नेता बाहेक
अरू जोसुकै भैदिएको भए ...
मेरो कामलाई
संसदप्रति जवाहदेहि कस्ले बनाउने ?
मेरो परीक्षित कामको
संपरीक्षण कस्ले गर्ने ?
मैले पेश गरेको विधेयकको
पूरक विधेयक कस्ले ल्याउने ?
मेरो नीति-कार्यक्रमको
संशोधन प्रस्ताव कस्ले हाल्ने ?
मेरो भाषणको बजेटमा
खर्च कटौतीको प्रस्ताव कस्ले गर्ने ?
त्यसैले , जून !
तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ।
तिमीलाई जनताले जनतान्त्रिक पद्धति मार्फत ...
बेल घेर्ने ,
नाराबाजी गर्ने ,
मर्यादित संसदलाई ,
मर्यादाको सिमाभित्र ,
अवरोध गर्ने देखि ,
वहिस्कार गर्ने सम्मको
अधिकार दिएका छन् ,
किनकि , जून !
तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ।
कहिलेकाहीँ तिमी ...
राजनीतिक नियुक्तिको अंशवण्डामा
लुटपुटिएको देख्छु ,
विश्वविद्यालयको उपकुलपति देखि ,
क्याम्पस प्रमुखको कुर्सीसम्म ।
सामुदायिक बनको अध्यक्ष देखि ,
उपभोक्ता समितिको सदस्यसम्म ।
खानेपानी देखि कुलोपैनीसम्म ।
हाटबजारदेखि पशुबजारसम्म ।
तहै तहको चास्नीमा रमिरहँदा ,
लोकतान्त्रिक मतको
अवमूल्यन नगर ।
आफैंले सिफारिस गरेकाहरुले ,
काम बिगार्दा समेत
मुकदर्शक नबन ।
किनकि , जून !
तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ।