म लाचार र विवश भइरहेको थिएँ, वीणा सिन्हाको कथाकी पात्र गुड्डीको अनुरोधपूर्ण आग्रहबाट। मैले आँखाको परेली ढप्क्याउनासाथ उनको कचकच सुरु हुन्थ्यो।
“मेरो कथा त वीणा सिन्हाले अधुरै छाडिदिनुभयो, तपाईं पूरा गरिदिनुहोस् न?”
आँखाको परेली उघारेर म यताउती हेर्दथेँ, मानौँ गुड्डी नजिकै छन् झैँ गरेर। मसँग मेरो भ्रम मात्र हुन्थ्यो। कसैले आफ्नो क्रियाकलापलाई नजिकैबाट नियालेको नपाएपछि म ढुक्क हुन्थेँ। (गरिमा नारी सिर्जना विशेष २०६७ मा रहेको ‘गुड्डी’ कथाकी पात्रले मलाई लगातार पछ्याइरहेकी छन्।)
गरिमा टेबलबाट उठाएर फरररर... पानाहरू पल्टाएँ। पानाहरू पल्टाउँदा निस्केको हावा मेरो अनुहारभरि छरियो। असार महिना, गर्मीले वाफिएको कोठा। कुर्सीबाट उठेर पङ्खा खोलेँ। चिसो हावा शरीरमा ठोक्किँदा राहत महसुस गरेँ। पुनः कुर्सीमा बसेर आँखा चिम्म गरेँ। सानो कोठामा पङ्खाको चिसो हावा सर्वत्र छरियो।
गुड्डीले मसँग अनुरोध गर्न थालिन्—
“तपाईंले मेरो कथा सुन्नै पर्छ र त्यसलाई पूर्ण गर्नै पर्छ। कथाकारले पात्रको चाहना, भावना, कामना र इच्छालाई पूरा गर्नै पर्छ, किनकि यो लेखकीय धर्मभित्र पर्ने कुरा हो।”
गुड्डीको हटले मलाई गलाउन थाल्यो।
गुड्डी मलाई आफ्नो कथा सुनाउन थालिन्। म एकाग्र भएर उनको कथा सुन्न थालेँ, लेखिदिने विश्वास दिलाउँदै। कति सफल हुन्छु, अनुमान गर्न सकिरहेको छुइनँ। अनुमान नै पूर्णता होइन। प्रयास प्राप्तिनजिक पुग्ने उपाय हो। उपायको प्रयोगले पूर्णतासँग साक्षात्कार हुन सक्छ। गुड्डीका हरेक वाक्यलाई म ध्यान दिएर सुनिरहेको छु।
✶✶
“प्रथम पटक म दोजिया भएको बेला मेरी आमा कोसेली बोकेर मलाई हेर्न आएकी थिइन्। यस्तो बेला छोरीलाई हेर्न जानु र आउनु नराम्रो कुरा होइन।
‘तिमी अल्ट्रासाउन्ड गराऊ।’
‘किन आमा?’ मैले प्रश्नवाचक दृष्टि आमातिर फ्याँकेकी थिएँ।
‘थाहा हुन्छ नि छोरा छ कि? छोरी भए... हाम्रो समयमा यस्तो सुविधा थिएन..., नत्र भने म तिमीलाई जन्म दिनेवालै थिइनँ।’
आमाको मुखबाट यस्ता कठोर शब्द सुनेर मेरा आँखा रसाएर आएका थिए। मैले आमालाई शिरदेखि पैतालासम्म नियालेकी थिएँ। आमाको मुहारमा कुनै पछुतो र आश्चर्यको भाव झल्केको थिएन। मुखबाट फुत्केका शब्दहरूप्रति उहाँ गर्व गरिरहनुभएको थियो क्यार...। कस्तो मन? कस्तो सोच? कस्तो विचार? मेरी आमाको।
म एकपटक मनोसंवाद गर्न विवश भएकी थिएँ— ‘यी मेरी आमा हुन् कि राक्षस?’
आमाको वाक्यले मेरो मुटु छियाछिया भएको थियो। मनमा असङ्ख्य पीडाका धाजा फाटेका थिए। रसिएका आँखालाई मन कठोर गरेर वर्षनबाट रोकेकी थिएँ। स्वास्नी मान्छे भएर पनि स्वास्नी मान्छेको आगमनप्रति कति घृणा व्यक्त गरेकी मेरी आमाले। आमाको कुराको विरोधमा मुख उघार्न मन लागेन मलाई। जन्म दिने आमा हुन्... मन दुख्ला। आमाको मन दुखाउनु छोरा–छोरीको धर्म पनि होइन। सकिन्छ भने अनुरोधसाथ सम्झाउने हो... नत्र सही दिँदा खिइँदैन होला। त्यसमा पनि मेरो विवाह भइसकेकोले आफ्नै संसार थियो।
‘आमा! म यो जुठो रसबरी खान्नँ।’
सानामा मैले एकपटक भाइ सोनुको जुठो खान्नँ भनी प्रतिवाद गरेकी थिएँ। मेरो विरोधको आमा र हजुरआमामा कहिल्यै असर हुँदैनथ्यो। बुवा लैङ्गिक विभेदको विरोधमा मुख उघार्न खोज्नुहुन्थ्यो, तर हजुरआमा कड्किहाल्नुहुन्थ्यो—
“ठिकै छ, मलाई जमाना नदेखाऊ। छोरीले मलाई हेरविचार गर्दिनन्, किनकि तिमीले नै मलाई पालनपोषण गरिरहेको छौ। जबकि छोरीले दाइजो लिई आमाबुवाको घर खाली गरी कर्मघर गइसकेकी हुन्छिन्।”
हजुरआमाको विरोधमा आफ्नो महत्वपूर्ण विचार बुवा उकल्न सक्नुहुन्नथ्यो। आफन्तजन र छिमेकीहरू पनि हजुरआमाकै पक्षमा देखिन्थे। आखिर यो पुरुषप्रधान समाज हो। बुवा आफ्नो विचार थिचाइमा पर्दा पनि मौन हुनुहुन्थ्यो। सायद घरमा रडाको नहोस् भनेर होला।
सानातिना इच्छा पूरा गरिदिँदै र ठूला इच्छा पूरा गरिदिने बुवाको वचनले म दङ्ग पर्दथेँ। हो, मलाई थाहा भएअनुसार भाइ सोनु र ममा कहिल्यै बुवाले विभेद गरेको मैले हेक्का राख्न सकिनँ। अहिले म आफ्नो बुवालाई महान् पुरुषको रूपमा सम्झन बाध्य हुन्छु। बुवाजस्तै सोच, विचार, चाहना र भावना सबै पुरुषहरूमा भइदिएको भए...? यो कल्पनाले मात्र पनि म निमेषभर आनन्दित हुन्छु। निमेषभरको आनन्द जीवनभर रहँदैन र रहन सक्ने कुरा पनि होइन।
भाइ सोनु! आमा र हजुरआमाको पुल्पुल्याइले गर्दा जिद्दी, झर्कालु, रिसाहा, घमण्डी र लिँडेढिपीवाल बनिसकेको थियो। बुवासँग उसको ठ्याक्कै मिल्दैनथ्यो। आफूभन्दा ठूलाको आदर, सत्कार र सम्मान गर्ने कुरा उसमा शून्य थियो।
“सोनु! तिमी गलत मार्ग रोजिरहेका छौ। यो शरीर आफ्नो चाहनामुताबिक मात्र प्रयोग गर्ने सामग्री होइन। यसलाई अरूको इच्छा र निर्देशनमा पनि प्रयोग गर्न जान्नुपर्छ, नत्र त मान्छेले भविष्यमा सबै चिज गुमाउनेछ र फगत उससँग पछुतो, थकथकी मात्र बाँकी रहनेछ। तिमी आफूलाई समयमै सुधार। बितेको समय फर्केर आउँदैन।”
बुवाले भनेका वाक्यहरूलाई म कहिल्यै बिर्सन सक्दिनँ र सक्ने छैन पनि...। भाइ सोनु यस्तो उपदेश सुन्ने पक्षमा थिएन। सायद दुईपैसे टाउको यस्तै हुन्छ क्यार?
आमाको ढिपीले गर्दा मेरो विवाह भयो, मैले नचाहँदा–नचाहँदै पनि। केटो जागिरे भएकाले बुवाले पनि मलाई सम्झाउनुभयो। बुवाको मायालु व्यवहारले पनि मलाई विरोध गर्ने कुरामा रोक लगायो। मेरो श्रीमान् समीरको परिवारमा मान्छे शिक्षित र राम्रा थिए। मलाई पढ्ने कुरामा रोक लगाएनन्, बरु सहयोग नै पाएँ। अहिले त्यसैले नजिकै विद्यालयमा जागिरे छु।
मेरो विवाहपछि हजुरआमाले यो संसार सदाका लागि छाड्नुभयो। उमेर पनि पुगेकै हो।
बुवाआमाले चालै नपाई भाइ सोनु कुसङ्गतमा फसेर दुर्व्यसनी भएछ। बुवाभन्दा पो मैले चाल पाएँ। मैले मेरो श्रीमान्लाई सोनुलाई सम्झाउनका लागि अनुरोध गरेँ। उहाँले सोनुलाई सुधारकेन्द्र पठाउनका लागि बुवालाई कर गर्नुभयो। भाइ मानेनथ्यो..., तर सबैको जिद्दीको अगाडि उसको केही लागेन।
छ महिना पछि सुधारकेन्द्रबाट ऊ सुध्रेर आउँछ भन्ने सबैको आस थियो। सबै इच्छा–चाहना पूरा हुँदा रहेनछन्। सुधारकेन्द्रबाट आएको तीन महिनाभित्र नै पुनः ऊ झन् बढी दुर्व्यसनी भयो। फरमाइस पूरा नहुँदा अब त ऊ घरमा झन् सबैसँग मुख लाग्ने, झगडा गर्ने भइसकेको थियो रे...। उसलाई तीनपटकसम्म सुधारकेन्द्र लगियो।
“कुकुरको पुच्छर ढुङ्ग्रोबाट निकालेपछि जस्ताको तस्तै।”
यो चरितार्थ उसमा लागू भइरहेको थियो। ऊ पहिलेकोभन्दा झन् बढी खराब हुँदै जाँदै थियो भन्ने खबर सुन्दा भित्रभित्रै मलाई पनि नरमाइलो लागिरहेको थियो।
“विवाह गरिदिँदा जिम्मेवारीले गाँज्छ र पो सुध्रन्छ कि?” बुवाआमा र आफन्तजनको भनाइ यस्तो थियो। म र मेरो श्रीमान् ऊ नसुध्रिउञ्जेल विवाह गर्ने पक्षमा थिएनौँ। चिने–जानेकाले छोरी दिने कुरै थिएन।
एकपटक उसले रूपैयाँ नदिएको झोकमा बुवालाई घचेडेर लडाइदिएछ। बुवाले त सुनाउनुभएन, तर आमाले फोनबाट सुनाउँदै ज्वाइँलाईसहित लिएर एकदिन बस्दै आएर सोनुलाई सम्झाउन कर गर्नुभएको थियो। हामी गयौँ।
म त्यतिबेला अर्को पटक दोजिया भएकी थिएँ। पहिलो सन्तान छोरी प्रतीक्षा पाँच वर्ष पुगिसकेकी थिइन्। यसपटक अल्ट्रासाउन्ड गराउने श्रीमान्को इच्छाको बाधक हुन मन लागेन। भ्रूण परीक्षणमा मेल भन्ने रिपोर्टले घरपरिवार सबै खुसी थिए। कस्तो अच्चम! त्यो हर्ष र सुखको विरोधमा म पनि बोल्न सकिरहेकी थिइनँ। गर्भ परीक्षणमा फिमेल भए पनि म गर्भपतनको पक्षमा थिइनँ। “दैवको लीला कसले जान्दछ र!” त्यो अवस्था नै आइपरेन।
माइत जाँदा मैले आमासँग खुसुक्क भनेकी थिएँ—
“आमा! मैले यसपटक त अल्ट्रासाउन्ड गराएँ नि!”
“...”
आमाले मौनसँग केवल पुलुक्क मेरो मुहारतिर हेर्नुमात्र भयो। प्रश्न पनि गर्नुभएन र उत्सुकता पनि देखाउनुभएन। उहाँले केवल एकपटक मलाई नियाल्नुमात्र भयो। पुरुषको महत्वको बढी बखान गर्ने मेरी आमाको मुहारमा नातिको आगमनको पूर्वसंकेत पाउँदा पनि कुनै प्रकारको उल्लासका रेखाहरू देखिँदैनथे। मेरी आमाको पूर्व सोचको परिवर्तित रूपले मलाई भित्रभित्र खुसी तुल्याइरहेको थियो। म अति आनन्दित भइरहेको थिएँ।
मेरी आमाजस्तो सबै स्वास्नी मान्छेको सोच परिवर्तित भइदिएमा अवश्य पनि प्रकृतिले प्रदान गरिरहेको सन्तुलन मानव जातिले भत्काउन सक्ने थिएन होला। कथाकार महोदय, तपाईं मेरो यो कुरासँग कति सहमत हुनुहुन्छ? ए...। म त सोनुको बारेमा पो भन्दै थिएँ...।
✶✶✶
सोनुलाई मैले र समीरले मिहिन ढङ्गले सम्झाउने प्रयास गरेका थियौँ।
“मलाई मात्र के भन्नुहुन्छ दिदी–भिनाजु! म बिग्रनमा मेरो मात्र दोष होइन र छैन पनि। वास्तविक अपराधी त आमा र हजुरआमा हुन्। उहाँहरूले बुवाको आँखा छलेर नचाहिँदा मेरा इच्छाहरू पूरा गरेर मेरो मनोबल नबढाएको भए, मेरो अवस्था यस्तो हुँदैनथ्यो होला?
बालक जहिले पनि निर्मल, शुद्ध र चोखो हुन्छ। ऊ त काँचो माटो हो। यो त निर्माणकर्ताको इच्छाशक्ति र विवेकमा भर पर्ने कुरा हो। अब म दलदलमा फँसिसकेँ... जान्दा–जान्दै पनि आफूलाई नियन्त्रण गर्न सकिरहेको छैन। म के गरौँ?”
सोनु यसो भन्दै झर्केको थियो। आमा उसलाई आश्चर्यचकित दृष्टिले हेरिरहनुभएको थियो। बुवा र हामी हैरानीसाथ उसलाई हेरिरहेका थियौँ।
“सोनु... अझै केही बिग्रेको छैन। तिमी स्वयम् आफूले आफैँलाई नियन्त्रण गर्ने कोसिस गर। भोलि म एकदिन ड्रग सेवन गर्दिनँ भनेर आजै प्रतिज्ञा गर... र फेरि भोलि पनि त्यही प्रतिज्ञा दोहोर्याऊ अनि पर्सि पनि त्यो प्रक्रियाको अभ्यास गर। निश्चित तिमी सफल हुनेछौ...। प्रयास नगरी सफल को भएको छ र!”
“...”
सोनु बोलेनथ्यो। उसको मुहारमा पश्चात्तापको भाव बल्झिरहेको थियो। समय आफ्नै पाराले चिप्लिरहेको थियो।
बुवाको अचानक हृदयघातबाट मृत्यु भएको खबरले म मर्माहत हुँदै माइत गएँ। श्रीमान् पनि बिदा मिलाएर बस्दै जानुभयो। परम्पराअनुसार कोरामा बस्नुपर्यो। मैले तेह्रौँ दिनसम्म अति नियम पालन गर्ने सोच बनाएकी थिएँ। भाइ सोनुलाई कोरामा बस्न अति गाह्रो भइरहेको थियो। उसका आँखा राताराता देखिन्थे। हात र खुट्टाका पिँडौला बारम्बार थिचिरहेको थियो। सायद पीडा कम गर्ने कोसिस गरिरहेको थियो क्यार।
उसको पीडालाई बाँड्ने हामीसँग सामर्थ्य थिएन। मभित्र उसप्रति पलाएको दयाले उसको पीडा कम हुँदैनथ्यो। ड्रग सेवन गर्ने बानी परेकोलाई सेवन गर्न नपाउँदा खेरी साह्रै छटपटी हुँदो रहेछ। उसको पीडायुक्त छटपटीलाई देख्दा मेरी आमा अर्कोपट्टि फर्केर आँसु बगाइरहनुभएको थियो। आमाको मन जतिसुकै सन्तानले आरोप लगाए पनि सन्तानको पीडामा तडपिँदो रहेछ। मलाई पनि त पाँचवर्षे छोरी बिरामी हुँदा त्यस्तै हुन्थ्यो।
“बुवाआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुडामाथि।”
सोनुलाई कोरामा बस्न हम्मेहम्मे भइरहेको थियो। हामी परिवार र नातागोता आउने सबै उसको हिम्मत बढाउने काम गरिरहेका थियौँ। हाम्रो प्रयास विफल हुँदै गरेको सङ्केत उसको मुहारमा झल्किरहेको देखिन्थ्यो। काटेको कुखुराको छटपटी र उसको छटपटीमा म सामीप्यता महसुस गरिरहेकी थिएँ।
आफन्त, छरछिमेकी, ब्राह्मण र हामीसँग कोरामा छटपटाउँदै ऊ भनिरहेको थियो—
“दिदी, भिनाजु, आमा, इष्टमित्र! म यो कामभरिको कोरामा बस्न सक्दिनँ। मलाई यहाँबाट निकालिदिनुहोस्। बरु सुधारकेन्द्र पठाइदिनुहोस्।”
“भाइ! तिमीलाई पहिला पनि तीन–तीन पटक सुधारकेन्द्र पुर्याएकै हो नि! यहाँबाट जान मिल्दैन।” मैले सोनुलाई सम्झाउने प्रयास गरेकी थिएँ।
“दिदी! तपाईं त्यसो नभन्नुहोस्... म यहाँ जिउँदै मर्नेछु। अब मैले जीवन र जगतको महत्व बुझिसकेँ। बुवाको रिक्तताले मलाई पिरोलिरहेको छ। उहाँ हुनुन्जेल मैले उहाँका कुरा सुनिनँ, तर आज उहाँको यथार्थ बोलीले मलाई सुध्रिने प्रयासका लागि घचेटिरहेको छ।”
भाइ सोनु यति भनेर सबैको मुहार अवलोकन गरिरहेको थियो। ऊ समर्थन खोजिरहेझैँ देखिन्थ्यो। हामी सबै एकआपसमा मुखामुख गरिरहेका थियौँ। मनमा उब्जेको कुरा व्यक्त गर्दा परम्पराविपरीत हुने हो कि भन्ने डरले सायद सबैलाई सताएको थियो क्यार!
“तपाईंहरू किन बोल्नुहुन्न? तपाईंहरू पहिला मलाई सुधार्न बारम्बार प्रयास गरिरहनुहुन्थ्यो। म सुध्रिन चाहिरहेको थिइनँ। अहिले म सुध्रिन्छु भनेर वचन दिइरहेको छु, तपाईंहरू मप्रति विश्वास गरिरहनुभएको छैन। विश्वास र भरोसाको धरातल मजबुत भएपछि कठिन कार्य पनि सिद्ध गर्न सकिन्छ। अब म यो कुलतलाई त्यागेर असल मान्छे हुन सक्छु। प्लीज भिनाजु, आजै मलाई सुधारकेन्द्र लगिदिनुस्...।”
सोनु दुवै हात जोडेर सबैसँग बिन्ती गरिरहेको थियो। उसको मुहारमा दृढता झल्कँदै थियो भने आँखामा अनौठो चमक देखिँदै थियो।
कोरामा बसेको बेला पनि बिरामीको अवस्था हेरी बाहिर लगेर पनि दबाइ गर्न सकिन्छ भन्ने ब्राह्मण र सबैको सल्लाहबमोजिम सोनुलाई सुधारकेन्द्र लैजाने निर्णय गरियो। हाम्रो निर्णयप्रति ऊ सन्तुष्ट थियो। हामी पनि ऊ यसपटक अवश्य पनि सुध्रन्छ भन्ने विश्वासमा थियौँ।”
गुड्डीले आफ्नो कथा यसरी टुङ्ग्याएकी थिइन्। मैले पनि भरखरै गुड्डीको कथा लेखिसकेँ। सफल भएँ या भइनँ! आँखाको परेली ढप्क्याउँदा पनि गुड्डीले आफूलाई कचकच गर्न छाडेकीले सायद उनी सन्तुष्ट भइन् झैँ लाग्दैछ मलाई...।