झमझम असारे झरी परिरहेको थियो । आकाश तिरमिराउँदै कालो बादल मडारिइरहँदा गैरी खेतका गह्राभरी पानी टिलपिलाएको थियो । गाउँ नै उथलपुथल हुने गरी असारको रौनक सुरु भइसकेको थियो, टुसुक्क बस्ने फुर्सद कसैलाई थिएन । न त कसैलाई थकाईको पर्वाह थियो, न त भोकको ।
लगभग पच्चीसवर्ष अघिको कुरा हो, ‘गैरी खेतको रोपाईँ’ । पेन्ट काटेर बनाइएको अर्धानु हाफ पेन्ट र ट्र्यालिङको आधाबाहुले सर्टको पहिरनमा काँधमा एउटा कोदाली भिरेर म पनि रोपाईँमा जाँन तयार भएँ ।
गाउँ सुनसान छ, मान्छहरु सबै खेत खेतमा ब्यस्त छन् । बाटामुनीका माल्दाइको गैरी खेतको रोपाईँमा भने निक्कै ठूलो तामझाम देखिन्थ्यो । पाँच, छ हल गोरु नारिएका थिए, रोपाहार, ब्याडे र बाहुसे गरी पचिस, तीस जना खेताला खेतका शीरैमा स्थायी बसेको थाप्लेढुंगामा भेला हुँदै थिए । भित्ताघरे दाइको छोरा रमेश र टारीघरे कान्छीकी छोरी चञ्चले ठिटी सुन्तली पनि कम्मरमा घुमको लपेतो बाँधेर पिलपिले फरीया उडाउँदै विउ काडेको पर्म तिर्न त्यही रोपाइँमा गैरीखेत झर्दै रहेछन् ।
बँधुवा कोरली फुत्किँदा उफ्रिएझै काँन्ला र पोथ्रा नाघ्दै हिँडेकी सुन्तलीले खित्का छोड्दै प्रश्न तेस्र्याइहालि – ‘ए काका, गैरी खेतको रोपाईँमा हो ?’ मैले भने– हो । ‘ए ल आउँदै गर्नु है काका..’ उनीहरु अघि बढे ।
त्यो वेला, असार सुरु हुनासाथ गाउँमा एउटा बेग्लै तरङ्ग आउँथ्यो । आकाशमा काला बादलका धब्सा मडारिँदै गड्याङ गुडुङ गर्नु, धररर पानी परिहाल्नु, एकै छिनमा फेरी घाम देखिनु र भ्यागुताको ‘ट्याँर–ट्याँर’को गुन्जायस नै रोपाईँको साइत बनेर आउँथ्यो ।
सोह्रहाते पटुकीले कम्मरमा फेरा बाँधेर काँधमा काठको ठूलो फ्याउरी भिरेका टारीघरे काँईला बाजेले वर–पिपल चौतारीबाटै ठूलो स्वरमा घोक्रो फुलाए– ‘असार भनेको मानो खाएर मुरी उब्जाउने महिना हो है, यसमा अल्छी गर्न हुन्न नि, सबैले समयमा नै काम शुरु गर... ।’ तर हाम्रा लागि त असार भनेको काम मात्र कहाँ थियो र ? त्यो त वर्षभरीकै सबैभन्दा ठूलो उत्सव पनि थियो ।
पर्तिरका पदम काकाले खेतका मुहाने आँठाको जरुवा भुल्भुलाएको रुखमुनी भित्तामा सीमेभूमे, नागनगिनी, जलकन्या फलाकेर धुपधुवाँइ गरि एकमुठी धानको विउ रोपेपछि बल्ल रोपाई शुरुभयो ।
बिहानैदेखि माइला दाइले हलगोरु नारेर हिलाम्मे खेतमा दाँदे कुदाइरहेका थिए । काठको दाँदेमाथि चढेर ठिङ्ग उभिएका माइला दाइले जब गोरुलाई ‘हुर्र... बुरुक्क’ भन्दै हाँक्थे, तब हिलो र पानीको छिटा उछिट्टिएर सिधै खेतको आलीमा टेसिएका रोपाहारका गालासम्म पुग्थ्यो । रमेश कोदालीले आली ताछ्दै माथिल्लो गह्राबाट तल्लो गह्रा चियाउँदै थियो । त्यहाँ सुन्तली र उसका दौंतरी दिदीबहिनीहरू कम्मरमा पटुका बाँधेर, हरियो विउको मुठो हातमा लिई लामबद्ध भई भाउजुहरुसँग असारे गीतमा भाका मिलाउँदै थिए ।
‘ए काले दाइ ! आली मात्रै तास्ने कि यता विउको मुठो पनि फ्याक्ने हो ? कि मन अन्तै डुल्यो ?’ सुन्तलीले कम्मर मर्काउँदै, हातको विउ हल्लाएर रमेशलाई जिस्क्याई । उसको ओठमा खेलिरहेको त्यो चञ्चल मुस्कानले रमेशको छातीभित्र कता–कता ढ्याङ्ग्रो ठोक्यो ।
रमेश के कम ? उसले दायाँ हातमा फ्याउरी समात्यो र माथिल्लो गह्राको धमिलो पानीलाई बलियो गरी हुत्यिायो ।... ‘सैलुङ्गे डाँडामा कुहिरो लाग्यो...’ भन्दै सुन्तलीले टाउको निहुराउन नपाउँदै हिलो मिश्रित पानीको फोहोरा सुन्तलीको पिठ्युँ र गालामा बजारियो । सुन्तली चिच्याई र छिमेकी कमिनी भाउजू र मगर्नी दिदीलाई गुहार्न थाली । त्यसपछि त के चाहियो र ! छेउघरे, धने, मणी, दाहाल कान्छा, भवानी र बलरामहरु कुर्लिदै बाहुसे गरिरहेका थिए । धनेले तल्लो गह्रामा हिलो चब्ल्याङ के पारेको थियो, कमली बुरुक्कै उफिएर तीनकान्ला मुनी हिलो छ्यापिहाली । आली ताछ्ने बाहुसे र धान रोप्ने रोपाहारबीच हिलो छ्यापाछापको युद्ध नै चल्यो । कोही हिलोमा चिप्लिएर लड्थे, कोही अरूलाई लडाउँथे । अनुहारभरी हिलो लत्पतिए पनि त्यहाँ लुकेको हाँसो हिराजस्तै चम्किलो देखिन्थ्यो । अहा, बगैचामा गुलाफको फूलले कहाँ त्यति सौन्दर्य दिन्छ र ?
मध्यान्तरतिर झरी अझ दर्कियो । जिउ चिसोले थरथर काँप्न थालेपछि सबैजना खेतको डिलमा रहेको ठूलो बरको रूखमुनि ओत लागे । सबैका ओठ बैजनी भइसकेका थिए । त्यतिबेलै कसिलो कम्मर भएकी मगर्नी दिदीले आफ्नो पटुकाको खोपिल्टोबाट लेकको भोट्टे सुर्ती र चुर बेर्ने पाते कागज निकालिन् । त्यो देख्नासाथ रमेश र उसका साथीहरूको आँखा चम्किए । रमेशले अलि ठालु पल्टिँदै भन्यो, ‘ए दिदी, अलिकति सुर्ती र चुर बेरिदेऊँ न, चिसोले ज्यान नै कक्रक्कै पारिसक्यो ।’
कमिनी भाउजूले मुसुमुसु हाँस्दै आफ्नै हत्केलामा सुर्ती मलीन् र चुर बेरेर रमेशको हातमा थमाइदिँदै सलाई कोरिदिइन् । रमेशले ठूलो मान्छे बन्ने धुनमा चुरोटको कडा धूवाँ स्वाट्ट... गरेर भित्र तान्यो । तर, त्यो कडा धूवाँले उसको श्वास नली समातिहाल्यो, अर्थात सर्किएछ । रमेशको अनुहार रातोपिरो भयो र ‘घ्यार्र–घ्यार्र’ गर्दै यस्तो खोकी आयो कि आँखाबाट आँसुका धारा बग्न थाले । रमेशको त्यो बेहाल देखेर मगर्नी दिदीले पेट मिचीमिची हाँस्दै भनिन्, ‘हैट लाटो ! अझै आमाको दूध गन्हाउँछ, ठूलो मान्छे भएर चुरोट, तमाखु झै सूर्तीको लुँडो तान्न खोज्छ !’ उनको त्यो कुरा सुन्नासाथ चौतारीमा रहेका रोपाहार, बाहुसे र जोताहा सबै गललल हाँसे । सुन्तलीले त हाँस्दाहाँस्दै रमेशलाई जिस्काउन भ्याई ‘गइएला है आल्लारे बैंशैमा.. फेरि सबै गलल.. हाँसे ।
त्यो खोकी र सामूहिक हाँसोको न्यानोपनमा असारको चिसो कता भाग्यो, कसैले पत्तै पाएनन् । दर्किरहेको पानीकै बीचमा कमिनी माइली भाउजूले बाँसका चोयाको ठूलो नाङ्लोमा मकै–भट्मास, साँधेको गुन्द्रुक, आँपको अचार, तिलको छोप हालेको आलु र माटोको कचौरोमा अमिलो–मीठो दही–चिउरा बोकेर आइन् । सबैको दृष्टी आँपको अमिलो अचारमा थियो । मुखभरी पानी बोकेर हिलो लतपतिएका हातहरूले नै सबैजना एउटै नाङ्लोमा झुम्मिए । जाँडको अमिलो कडा बास्नाले वातावरण झन् रोमान्चक बन्यो । त्यहाँ कुनै जातको भेद थिएन, न त धनी र गरीबको सीमा नै । थियो त केवल एउटै माटोको सुगन्ध, एउटै भोक र अर्म पर्मको एउटै आत्मीय धून । अनि असारे गीत ।
सबैले आफ्नो कर्मपूरा गरिरहेका, रोपाहार बाहुसेहरु उत्साहित हुँदा हुँदै अर्थात जाँगर नमर्दा नै रोपाईँ सकियो । साँझपख गोधुली भएसँगै आकाश अलि उघ्रियो । थकित तर सन्तोषी मन लिएर, खुट्टाको हिलो छ्याप –छ्याप पार्दै रमेश र सुन्तली गाउँको उकालो चढ्दै थिए । रमेशले सुन्तलीलाई चिमोट्तै भन्यो, ‘भोलि त मेरो खेतको पालो है सुन्तली ?’ सुन्तलीले लाजले आँखा झुकाउँदै विउको मुठो भूइँमा खसाली र मुसुक्क हाँसेर अघि बढी । अलि माथि पुगेर फनक्क फकिएर रमेशलाई ढाडस दिँदै भनि– तिम्रो खेतको रोपाईमा त पोहोरको जस्तो फुलाएका रोटी र तामाको अचार ल्याउँछौ नि । रमेशले भन्यो– तिमी र हुलाकी माइलीभाउजु त हो भान्से ... ।
असारको त्यो हिलो, त्यो हाँसो र त्यो अर्मपर्मको गाथा गाउँको माटोमा यसरी भिजिसकेको थियो, जुन वर्षौंसम्म पनि कसैको स्मृतिबाट मेटिनेवाला थिएन ।
आज पच्चीस वर्षपछि कंक्रिटका सहरमा बसेर झ्यालबाट बर्सिरहेको पानीलाई नियाल्दा, मन अमिलो भएर आउँछ र स्मृति फेरि त्यही गैरी खेतको आलीमा पुगेर बजारिन्छ । समयको गतिसँगै गाउँ बदलियो, प्रविधि भित्रियो र अर्मपर्मको त्यो आत्मीयता आधुनिकताको ओझेलमा बिलायो; सायद रमेश र सुन्तली पनि आ–आफ्नै जिन्दगीको फरक गोरेटोमा व्यस्त होलान् । तर, असार आउनासाथ आज पनि मेरो मानसपटलमा त्यही हिलो छ्यापाछापको युद्ध, मगर्नी दिदीको त्यो सुर्ती–चुर, नाङ्लोको दही–चिउरा र सुन्तलीको त्यो चञ्चल मुस्कान ताजा भएर आउँछ ।
सुख–सुविधा जतिसुकै बढे पनि, हृदयको कुनै कुनामा आज पनि त्यही अमिट चाड अर्थात ‘असार पन्द्र’ माटोको सुगन्ध र जातभात भन्दा माथि उठेको निश्छल गाउँले प्रेमको न्यानोपन जीवन्त छ, जसलाई न त समयले पखाल्न सक्यो, न त सहरको कोलाहलले नै मेटाउन सक्यो । फेरि सम्झिन्छु, अहा ...! कति रमाईलो गैरी खेतको त्यो रोपाईँ ।